अहिलेसम्मकै ठूलो मानिएको विदेशी मुद्राको अवैध कारोबारको मुद्दामा ‘भरिया’ लाई थुनामा पठाइएको छ भने मुख्य अभियुक्त अर्थात् ‘मालिक’ लाई धरौटीमा छाडिएको छ।
विदेशी मुद्राको अवैध कारोबारको आरोपमा सिन्धुपाल्चोकका ४३ वर्षीय कुसाङ लामा थुनामा बसेको साढे पाँच महीना बित्यो। कुसाङलाई प्रहरीले गत चैत ४ गते राति ११ बजे २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको यूरो तथा अमेरिकी डलर सहित काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा कुसाङको भूमिका अवैध मुद्रा चीनसम्म पुर्याउने भरियाका रूपमा रहेको खुलेको थियो। गाउँकै नारायण पौडेलका मानिसले त्यो सामान चीन पुर्याइदिन भन्दै ट्रकमा राखिदिएको उनले अनुसन्धान अधिकारीदेखि अदालतसम्मका साविती बयानमा बोलेका छन्।
साक्षीको बयानपछि अनुसन्धान अधिकारीहरूले पौडेलले प्रयोग गर्ने मोबाइल नम्बरहरूको ‘लोकेशन ट्र्याक’ गर्दा सामान ट्रकमा ‘अपलोड’ गर्दा नारायण पनि घटनास्थलमै रहेको देखिएको थियो। कुसाङ पक्राउ परेको केही समयपछि पौडेल मोबाइल ‘अफ’ गरेर भागेका थिए। राजस्व अनुसन्धान विभागको अनुसन्धानमा करीब साढे २५ करोड रुपैयाँको विदेशी मुद्राका मालिक पौडेल रहेको पाइएको थियो।
त्यसपछि पौडेललाई फरार प्रतिवादी बनाएर गत वैशाख २ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। अवैध मुद्रा सम्बन्धी कसूरमा पक्राउ परेकालाई प्रहरीले २४ घण्टाभित्र राजस्व अनुसन्धान विभागको जिम्मा लगाउनुपर्छ। त्यसपछि अनुसन्धान र अभियोजनको बाँकी काम विभागको हुन्छ। मुद्दा दायर भएको दुई महीनापछि असार ३२ मा पौडेल सुटुक्क अदालतमा हाजिर भए। त्यही दिन उनको बयान भयो।
नारायण पौडेललाई धरौटीमा छाड्ने र कुसाङ लामालाई थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश।
न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको एकल इजलासले त्यही दिन पौडेलसँग ३५ लाख रुपैयाँ धरौटी बुझी रिहा गरिदियो। पौडेललाई धरौटीमा छाड्न दिइएको आदेशमा ‘अवैध विदेशी मुद्रा बरामद हुँदा उनले प्रयोग गरेको भनिएको मोबाइल अर्कैको नाममा रहेको’ भन्ने बयानलाई प्रमुख आधार मानिएको छ।
अपराध आफ्नो, मोबाइल अर्काको
पौडेलले प्रयोग गर्दै आएको भनिएको मोबाइल उनको नाममा नरहेको राजस्व अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। नेपाल टेलिकमको त्यो मोबाइल नम्बर युनिता खत्रीको नाममा छ। तर युनिताको नाममा निकालिएको मोबाइल नम्बर चलाउने नारायण पौडेल नै हुन् भन्ने अनुसन्धानमा संकलित प्रमाणहरूबाट छर्लंग हुन्छ। अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइमा अवैध कारोबारीहरू अपराधबाट जोगिन अरूकै नाममा निकालिएका मोबाइल प्रयोग गर्छन्। नारायणले समेत त्यही चलाखी गरेको देखिन्छ।
अवैध मुद्रा बरामद हुनु केही समयअघि युनिताको नाममा दर्ता भएको मोबाइल नम्बरबाट ट्रक चालक कुसाङसँग २८ पटक कुराकानी भएको कल डिटेल रेकर्ड (सीडीआर)बाट खुल्छ। कुसाङसँग कुराकानी हुँदा नारायणले चलाउने मोबाइलको ‘लोकेशन’ टोखामै देखिएको थियो। कुसाङ पक्राउअघि र पछि भने छोरा दीपेश र युनितासँग नारायणको बाक्लो कुराकानी भएको देखिन्छ। अपराह्नदेखि मोबाइल बन्द नहुन्जेल दीपेशसँग २१८ पटक र युनितासँग १६९ पटक कुराकानी भएको सीडीआरबाट खुल्छ।
नारायणले अदालतमा बयान दिंदा ‘आफ्नो नाममा नभएको मोबाइलबाट आफूले कसैसँग कुराकानी नगरेको’ बयान दिएर उम्कन खोजेका छन्। तर उक्त मोबाइल नारायणले नै प्रयोग गर्ने गरेको ट्रक चालक कुसाङले मात्र होइन, नारायणका सहोदर भाइ राजकुमारले समेत बयान दिएका छन्। राजकुमारले राजस्व अनुसन्धान विभागमा गरेको कागजमा भनेका छन्, ‘९७६१...६६ बाट मेरो मोबाइल नम्बरमा मेरो दाजु नारायण पौडेलले फोन गर्नुहुन्थ्यो।’
घटनाको वरिपरि १७९ पटकसम्म फोनवार्ता हुने सीमधनी युनिता खत्री चाहिं को हुन्? अभियोगपत्रमा युनिता र नारायणको नाता सम्बन्ध यकीन खुल्दैन। तर जानकारहरूका अनुसार युनिता र नारायण ‘लिभिङ’ मा बसेका छन्। पत्नी लक्ष्मी शेर्पा पौडेलको मृत्युपछि नारायण र भोटेकोशी गाउँपालिकाको लिस्ती गाउँकी युनिता सँगै बस्दै आएका छन्। काठमाडौंका कतिपय जग्गाजमीन दुवैको संयुक्त नाममा रहेको र कारोबार भएको समेत मिसिलमा उल्लेख हुनुले यी दुईबीचको घनिष्ठता स्वतः प्रस्ट हुन्छ।
नारायणको घरमा काम गर्ने सुजताले अनुसन्धान विभागमा गरेको कागजमा उनीहरू परिवार सरह बस्ने गरेको बताएकी छन्। सामान बरामद भएकै दिनदेखि नारायण घर नआएको र युनिता तथा नारायणका छोरा दीपेश भने भोलिपल्ट बिहानै निस्किएपछि नफर्किएको सुजताले बताएकी छन्। ‘युनिताले घरबाट निस्कँदा घर राम्रोसँग रेखदेख गर्नू भनी गएकी हुन्,’ सुजताले अनुसन्धानका क्रममा भनेकी छन्।
प्रहरीले तस्करीको मुद्रा बरामद गरेपछि दीपेश र युनिता पनि मोबाइल ‘अफ’ गरेर भागेका थिए। आफूले नियमित चलाउने मोबाइल बन्द गरेर नारायणले भने हरिबहादुर भण्डारीको मोबाइल चलाउन थालेको सीडीआरको रेकर्डबाट खुल्छ। हरिबहादुरले चलाउने मोबाइल नम्बर तारा रेग्मीको नाममा दर्ता छ। ताराको नाममा दर्ता मोबाइल नम्बरबाट नारायणले ट्रक चालक कुसाङलाई सम्पर्क गरेको सीडीआरबाट खुलेको छ। हरिबहादुर नारायणका गाडी चालक हुन्।
यसरी निकै चलाखीपूर्वक अरूका नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गरेर नारायण कसूरबाट चोखो हुन खोजेको देखिन्छ। त्यसलाई अदालतले समेत पत्याएर धरौटीमा छाडिदिएको छ। अवैध मुद्राका मालिकलाई धरौटीमा छाडेर भरियालाई मात्रै थुनामा पठाउने आदेश बदरको माग सहित सरकारी वकीलको कार्यालयले पाटन उच्च अदालतमा पुनरावेदन दिए पनि आदेश आइसकेको छैन।
बयानमा पनि ठगी
टोखाको सिन्धु मेटेरियल्स प्रालिको गोदाममा लगेर अवैध विदेशी मुद्रा ट्रकमा लुकाइएको अनुसन्धानबाट खुलेको छ। नारायणकै उपस्थितिमा यूरो र डलर ‘अपलोड’ गरिएको कुसाङले अनुसन्धानका क्रममा बताएका छन्। नारायणसँग गफ गरिरहेका वेला कालो वर्णको अग्लो मानिस आफ्नो गाडीबाट झरेको देखेको कुसाङले खुलाएका छन्। “मेरो गाडीबाट झरेको देखेर के गरेको भनेर सोध्दा नारायणले ‘मेरो केटा हो’ भन्दै ‘केटा काम सकियो?’ भन्दै सोधेका थिए,” कुसाङले भनेका छन्। त्यसपछि राम्रोसँग जानू भनेर नारायण त्यहाँबाट निस्किएको पनि उनले बताएका छन्।
सिन्धु मेटेरियल्सका लगानीकर्तामध्ये नारायण पनि एक हुन्। सिन्धु मेटेरियल्समा नारायण सहित राजकुमार भन्ने हरिबहादुर भण्डारी, जीवनकुमार भण्डारी र तुलसी भण्डारीको संयुक्त लगानी छ। यो कुरा जीवनकुमारले विभागमा गरेको कागजमै खुलाइएको छ। जीवनकुमार र हरिबहादुर दाजुभाइ हुन्। नारायणले अदालतमा बयान दिंदा भने आफू कम्पनीमा नरहेको जिकिर गरेका छन्। ‘सिन्धु मेटेरियल्सको सञ्चालक तीन–चार वर्षअघिसम्म थिएँ, अहिले छैन। म सञ्चालक होइन।’ अदालती बयानमा नारायणले भनेका छन्।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ का वडाध्यक्ष रहेका जीवनकुमारले हिमालखबर सँग नारायण सिन्धु मेटेरियल्समा अहिले पनि आबद्ध रहेको बताउँछन्। एक करोड अधिकृत पूँजी रहेको कम्पनीमा नारायणको ४० प्रतिशत शेयर रहेको उनको भनाइ छ। “कानूनी रूपमा नारायण अहिले पनि यस कम्पनीका शेयरधनी हुन्,” उनी भन्छन्, “तर दुई वर्षदेखि कम्पनीमा सक्रिय छैनन्।”
करोडौंको सम्पत्ति
टोखामा नारायणको आलीशान घर छ। घर खानतलासी गर्दा ५०० को भारतीय नोट ४७ थान बरामद भएको थियो। यस बाहेक नारायणको नाममा थली-डाँछीमा ६ आना दुई पैसा जग्गा छ। सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा नारायणको नाममा नौ रोपनी १४ आना तीन दाम जग्गा पनि छ।
काठमाडौंको डिल्लीबजारमा नारायणको स्वामित्वमा एक रोपनी तीन आना एक पैसा तीन दाम जग्गा समेत देखिएको छ। डिल्लीबजार घरजग्गा कारोबारमा उपत्यकाकै महँगोमध्येको क्षेत्र पर्छ। डिल्लीबजारमा प्रतिआना जग्गाको मूल्य कम्तीमा पनि एक करोड रुपैयाँभन्दा माथि रहेको कारोबारमा संलग्नहरू बताउँछन्। प्रतिआना न्यूनतम मूल्य एक करोड मान्ने हो भने पनि यो जग्गाको मोल १९ करोड रुपैयाँ हुन आउँछ।
यत्रो सम्पत्ति नारायणले सीमापार तस्करीबाट जोडेको बताइन्छ। चीन पठाउन ठिक्क पारिएको ठूलो परिमाणको अवैध विदेशी मुद्रा सुन तस्करीसँग गाँसिएको हुन सक्ने प्रहरी अधिकृतहरू बताउँछन्। डलर, हुन्डी र सुनका अवैध कारोबार आपसमा जोडिन्छन्। तर राजस्व अनुसन्धान विभागले यो अवैध रकम सुन तस्करीमा जोडिन्छ वा जोडिंदैन भन्नेबारे अनुसन्धान नै गरेन। प्रहरीले बरामद भएको मुद्रा २४ घण्टाभित्र विभागमा बुझाउनुपर्ने कानूनी व्यवस्थाका कारण सुन तस्करीसँग जोडेर अनुसन्धान गर्ने समय नै नपुगेको जनाएको छ। विभागले भने प्रहरीले पहिले अनुसन्धान नगरेर पछि विभागलाई दोष दिन खोजेको आरोप लगाएको छ।
अनुसन्धानको जिम्मा पाएका सरकारी निकायबीच आपसमा दोषारोपण चले पनि मुद्दाको मिसिलबाट विदेशी मुद्राको अवैध कारोबार सुन तस्करीमा जोडिने छनक पाइन्छ। टोखास्थित नारायणको घरमै चिनियाँ नागरिकको आउजाउ हुने गरेको कामदारहरूले विभागमा गरेको कागजमा उल्लेख छ। ‘वेलावेला चिनियाँ नागरिकहरू आउने गरेको देखेको हुँ,’ नारायणको घरमा चार महीनादेखि घरेलु कामदारका रूपमा बसेकी खोटाङकी सुजना हेमरमले विभागमा गरेको कागजमा भनेकी छन्। उनका श्रीमान् मिलन विक, जो घर बनाउने मिस्त्रीको काम गर्छन्, मिलनले समेत आफूले बिदाका दिन कोठामा बसेको वेला चिनियाँहरू आउनेजाने गरेको धेरै पटक देखेको बताएका छन्।
नारायण र उनका पारिवारिक सदस्यको विगतले समेत यस्तै संकेत गर्छ। भाइ राजकुमार नेकपा (माओवादी केन्द्र)बाट २०७४ सालमा भोटेकोशी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएकै वेला २२ किलोग्राम सुन तस्करीमा मुछिएका थिए। उनले संगठित गिरोह खडा गरेर तस्करी गरेको आरोप लागेको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पेम्बा दोर्जेबाट १४ किलोग्राम र विष्णु गौतमबाट एक किलोग्राम सुन बरामद गरेको थियो। अनुसन्धानबाट १२ जनाको समूह बनाएर संगठित तस्करी गरेको खुलेको थियो। उनीहरूले सात किलोग्राम सुन भने पहिल्यै बेचिसकेका थिए।
पौडेल परिवारका चारै दाजुभाइ अवैध कारोबारमा मुछिएका थिए। अवैध कारोबारको दुनियाँमा कुख्यात उनीहरू सजायबाट भने बारम्बार जोगिंदै आएका छन्। अवैध धन्दामा नारायण र कुसाङबीचको सम्बन्ध सीडीआरबाट प्रस्ट देखिए पनि अदालतले भरियालाई जेल हालेर मालिकलाई धरौटीमा छाड्ने पुरानै प्रवृत्ति दोहोर्याएको छ। यसपालि पनि नारायण ‘कानूनको आँखामा धूलो हालेर’ उम्कन सफल भएका छन्।