माओवादीले २२ वर्षअघि अपहरण गरेर लगेका आफ्ना बाबा फर्किने प्रतीक्षामा बसिरहेकी प्रीति थारू कुम्भ अड्डा बेपत्ता योद्धा स्मृति पार्कमा बेपत्ता परिवारका कथा सुनाइरहेकी छन्।
बर्दियाको ठाकुरबाबा नगरपालिकाको भुरकैयामा भदौ २ गते बेपत्ता परिवारका वेदना सुनेपछि हामी बारबर्दियास्थित कुम्भ अड्डा बेपत्ता योद्धा स्मृति पार्कको गेटमा पुग्यौं। गेटमै टिकटघर थियो। काउन्टरमा थिइन्, प्रीति थारू।
सशस्त्र द्वन्द्वकालमा बर्दिया जिल्लाभरिमा मारिएका र बेपत्ता पारिएकाहरूको स्मृतिमा बनाइएको पार्क घुमाउने जिम्मा लिएका थिए, पार्कका अध्यक्ष निरञ्जन चौधरीले। उनी राज्य पक्षबाट पीडित परिवारका सदस्य थिए। उनका शिक्षक बाबालाई सेनाले बेपत्ता पारेको थियो।
द्वन्द्वपीडित प्रीति थारू। तस्वीरहरू: अजय हाकुजू/हिमालखबर
शुरूमा प्रीतिले काउन्टर नजीकै संग्रह गरी राखिएका बेपत्ता पारिएका २५८ जनाले प्रयोग गर्ने चिनो देखाइन्। ती सबैका आआफ्ना कथा थिए। बेपत्ता हुनुअघि उनीहरूले प्रयोग गर्दै आएका सामग्री जस्तै विवाहमा लगाउने जुत्ता, अफिस जाँदा लगाउने पोशाक, मेडिकलमा बिरामी जाँच्ने उपकरण, कृषि कर्म गर्ने सामग्री, खाना खाने थाल आदि संग्रहालयमा राख्न संकलन गरिएको रहेछ। ३५ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनभित्र दशवर्षे द्वन्द्वलाई झल्काउने स्तम्भ लगायत स्मृतिचिह्न बनाइएका छन्।
प्रीति पनि द्वन्द्वकालमा माओवादी पक्षबाट बेपत्ता पारिएका प्रेमबहादुर थारूकी छोरी हुन्। २२ वर्षअघि माओवादीले उनका बाबालाई गाउँबाटै अपरहण गरेर लगेका थिए।
२३ वर्षीया प्रीतिलाई पार्क व्यवस्थापनले जागीर दिएको छ। दुई वर्षदेखि पार्क घुमाउने ‘मेमोरी गाइड’ र बेपत्ताहरूको कथालेखनको जिम्मेवारी निर्वाह गर्दै आएकी प्रीति आफ्ना बाबा लगायत पाँच जनाको कथा लेखिसकेको बताउँछिन्। उनी बीबीएस दोस्रो वर्षमा अध्ययनरत छिन्।
कुम्भ अड्डा बेपत्ता योद्धा स्मृति पार्कमा राखिएका द्वन्द्वमा बेपत्ता पारिएका नागरिकका स्मृतिचिह्न।
प्रीतिसँग उनका बाबाको इतिहास कोट्याउन लाग्यौं। अघिसम्म हँसीमजाक गरिरहेकी प्रीतिको अनुहार बाबाको कुरा आएपछि एकाएक निन्याउरो भयो। उनी कतै हराए जस्तो भइन्।
माओवादीले बर्दियाको बाँसगढी नगरपालिका-८, ककौराका प्रेमबहादुर थारूलाई २०६० चैत ३ गते राति २ बजेतिर लगेको थियो। त्यसरी लगिएका बाबाको अझै अत्तोपत्तो छैन। उनी बाबाको प्रतीक्षामा छिन्। बाबा बेपत्ता हुँदा प्रीति एक वर्षकी थिइन्। दादा (दाइ) प्रीतम थारू तीन वर्षका थिए। यति भन्दै गर्दा प्रीतिका आँखा रसाए। उनी आँसु पुछ्दै बोलिन्, “एउटा मूल खम्बा नै नँहुदा धेरै अप्ठ्यारो हुँदो रहेछ। हामीले त बाबा कस्तो हुनुहुन्थ्यो र बाबाको माया कस्तो हुन्छ भन्ने महसूस पनि गर्न पाएनौं।”
आमाको दुःख
दुई सन्तानलाई स्कूल पढाउन आमा प्रेमकुमारीले धेरै मिहिनेत गरिन्। “आमाले हामीलाई पढाउन थुप्रै संघसंस्थासँग गुहार माग्नुभयो। त्यसपछि महिला उत्थान मञ्चले हामीलाई वर्षमा एक पटक स्कूल ड्रेस र कापी-कलम सहयोग गर्थ्यो,” प्रीति भन्छिन्, “त्यही संस्थाले आमालाई सिलाइकटाइ तालीम दियो। त्यसपछि आमाले सिलाइबाट अन्य खर्च जोहो गर्न थाल्नुभयो।”
प्रेमकुमारीका दिनरात सहज थिएनन्। एकातर्फ दुई सन्तानलाई शिक्षादीक्षा दिनु थियो भने अर्कातर्फ माओवादीले लगेपछि बेखबर बनेका लोग्ने खोज्ने कष्टदायी दैनिकी छुट्टै थियो। “शुरूमा आमालाई सहयोग गर्ने कोही थिएनन्। बाबालाई खोज्न एक्लै निस्किनुहुन्थ्यो। उहाँ मलाई काखमा च्यापेर लगभग ४०-४५ किलोमिटर लामो पैदलयात्रापछि गुलरिया पुग्नुहुन्थ्यो। बाटोमा घना जंगल पर्थ्यो,” प्रीति पुराना दिन सम्झिन्छिन्, “बाबालाई खोज्न सहज होला भनेर आमाले साइकल पनि सिक्नुभयो। पछि साइकल लिएर जानुहुन्थ्यो। तैपनि काकाले साइकलमा ताल्चा लगाइदिनुहुन्थ्यो। बाबालाई खोज्न जान पनि दिनुहुन्नथ्यो। आमा जबर्जस्ती जानुहुन्थ्यो। घरबाट कहिल्यै बाहिर ननिस्केकी आमा बाबाको खोजीमा एक्लै काठमाडौंसम्म पनि पुग्नुभयो।”
प्रीतिलाई बाबाबारे खूब जान्न मन लागेपछि आमासँग सोधिन्। “आमाले सुनाएपछि थाहा भयो, किसानका छोरा उहाँ एकदमै मिलनसार हुनुहुन्थ्यो। सबैसँग मिल्ने र हाँस्ने स्वभाव थियो,” उनी भन्छिन्।
यति सुनाउँदै गर्दा प्रीति भावुक भइन्। एकछिन रोकिइन्। लामो सास तानिन्। आमाले आफूहरूलाई हुर्काउँदा गरेको संघर्ष सम्झेर हो वा बाबाको स्मरणले हो, बरबरी आँसु झारिन्। त्यसपछि बिस्तारै बोलिन्, “बाबालाई कपाल काट्न असाध्यै मन पर्थ्यो रे, त्यही भएर कपाल पनि काट्नुहुन्थ्यो रे।”
प्रीतिका बाबासँगै गाउँका उनका साथी उत्तम थारू र खेमराज थारूलाई पनि माओवादीले सँगै अपहरण गरेर लगेका थिए। उनका बाबा र ती दुई साथी छिमेकी गाउँ डमौलीमा एक महिला साथीलाई पुर्याउन गएका थिए। त्यहाँबाट फर्किंदै गर्दा बाटामा तीनै जनालाई माओवादीले समाते।
तीन जनामध्ये खेमराजलाई आँखामा पट्टी बाँधेर कटर्नियाको जंगलमा छाडिदिए भने उनका बाबा र खेमराजलाई आफूहरूसँगै लगे। प्रीति भन्छिन्, “बाबाको एकदमै मिल्ने साथी उत्तम थारू सेनामा थिए। आमाले धेरै सम्झाउनुहुन्थ्यो, उत्तमको संगत छाडिदेऊ भनेर। तर बाबाले साथीलाई छाड्न सक्नुभएन। उहाँ गाउँमा आएपछि बाबासँगै घुम्नुहुन्थ्यो। सेनालाई साथी बनाएको निहुँमा बाबा बेपत्ता पारिनुभयो। गाउँलेहरू सबै यस्तै भन्छन्।”
परिवारबाटै उपेक्षा
प्रीतिलाई बाबा घरमा नहुँदाको कमी त्यति वेला महसूस भयो, जति वेला ठूलाबाबाले परिवारभित्रै विभेद गर्न थाले। प्रीति आमा र दाइसँग संयुक्त परिवारमा बस्थिन्। परिवारमा ठूलीआमा र हजुरआमाले निकै हेला गर्दथे। प्रीति र उनका दाइले वर्षमा एक जोर मात्र नयाँ लुगा पाउँथे। त्यो पनि आमाले झगडा गरेर माग्नुपर्थ्यो।
तर ठूलाबाबाका छोराछोरी भने राम्रा लुगा लगाउँथे, मीठोमसिनो खानेकुरा खान्थे। “एउटै घरमा पनि ठूलाबाबाका छोराछोरी बोर्डिङ स्कूलमा पढ्थे, हामी सरकारी स्कूलमा। हाम्रो भागको खाजा ठूलीआमाले फ्याँकिदिनुहुन्थ्यो,” प्रीति भन्छिन्, “हामी खानलाउन तड्पिनुपर्थ्यो। यस्तो लाग्थ्यो, बाबा भइदिएको भए हामी पनि नयाँ लुगा लगाउँथ्यौं, बोर्डिङमा जान्थ्यौं।”
माओवादीले बाबालाई लग्दा उनका आमाबाबाको विवाह भएको पाँच वर्ष मात्र भएको थियो। त्यसपछि उनकी आमा एक्लै संघर्ष गर्न बाध्य भइन्। परिवारले साथ नदिएपछि प्रीतिका दादाले १० कक्षा पढेर पढाइ छाड्नुपर्यो।
जिल्ला प्रशासन कार्यालय, बर्दियाको तथ्यांकमा सशस्त्र द्वन्द्वकालमा विद्रोही पक्षबाट प्रीतिका बाबा सहित १६ जनालाई बेपत्ता पारिएको छ। प्रीतिको भनाइमा ती सबैको कथा करीब उस्तै उस्तै छ। उनी भन्छिन्, “कसैको बाबालाई लगिएको छ, कसैको दाजुभाइलाई लगिएको छ।”
समाजको अगुवा ‘बरघर’
श्रीमान् बेपत्ता पारिंदा प्रीतिकी आमा जम्मा १७ वर्षकी थिइन्। कलकलाउँदो उमेरमा दुई बच्चा काखी च्यापी प्रीतिको आमालाई गाउँ, समाज र आफ्नै परिवारसँग समेत संघर्ष गर्नुपर्यो। यो अथाह कष्टसाध्य यात्रापछि अन्ततः उनको संघर्ष र इमानदारीले रङ देखायो। उनी सिंगो गाउँको नेता ‘बरघर’ का रूपमा चयन भइन्। बरघर थारू समाजभित्रका मुद्दामामिला फर्छ्योट गर्ने अधिकार पाएको सामुदायिक नेतालाई भनिन्छ।
गाउँमा हुने सानातिना झैझगडा, वादविवाद मिलाउने, गाउँमा आइपरेको समस्या समाधान गर्न सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने, गाउँको विकासका लागि आएको बजेटबारे गाउँलेलाई जानकारी गराउने, बैठक बसाउने, कुलो, पानी, पँधेरो लगायतका काममा गाउँलेसँग समन्वय र सहकार्य गरी सहजीकरण गर्ने काम बरघरले गर्छन्। गाउँमा कसैको विवाह, व्रतबन्ध, कसैको मृत्यु वा कोही विरामी परेको खण्डमा गाउँमा जिम्मेवारी बाँडफाँड गर्ने काम पनि बरघरकै हुन्छ। प्रीति भन्छिन्, “आमा गाउँको बरघरमा छनोट हुनुभएको छ। अहिले त ठूलीआमा र हजुरआमाले पनि माया गर्नुहुन्छ।”
प्रीतिको भनाइमा घरका सबै काम दादा र भाउजूले सम्हाल्दै आएका छन्। घरमा दुई-चार वटा बाख्रा छन्। ती बाख्रालाई घाँस दिएर आमा दिनभरि गाउँकै काममा खटिन्छिन्। अहिले प्रीतिको दैनिकी सामान्य लयमा फर्किए जस्तो देखिए पनि २२ वर्षदेखि बाबाको प्रतीक्षामा रहेका प्रीति र उनकी आमाको आस अझै मरेको छैन।
सरकारले उनको परिवारलाई अन्य बेपत्ता परिवारलाई झैं राहतस्वरूप किस्ताबन्दीमा १० लाख रुपैयाँ दिएको त छ, तर द्वन्द्वपीडित परिवारलाई जे राहत दिने वाचा गरिएको थियो, त्यो केही पनि पूरा गरिएको छैन। प्रीति यसका निम्ति पनि आमासँग सम्बन्धित निकायमा धाइरहेकी छन्। यसरी दौडधूपमा लाग्दा उनका बाबा कहिल्यै विस्मृतिमा गएनन्। दशवर्षे द्वन्द्व त गयो, तर प्रीतिको मानसपटलमा बिर्सन नसकिने घाउ छाडेर गयो।
प्रीति आमासँगै सास रहुन्जेल बाबाको आसमा बाँचिरहने सुनाउँछिन्। उनी भन्छिन्, “म बाबाको माया पर्खेर बसिरहेकी छु। एक दिन त छोरी भन्दै आउनुहुन्छ होला नि?”
VIDEO