अहिलेका तीज गीत समानता र न्यायको कुरा उठाउनुभन्दा पनि या बजारको खोल ओढेर सस्तो मायाप्रीतिमा अल्झिएका छन् या त हजुरआमाकै पालाको जस्तो पतिप्रतिको भक्तिभाव दर्शाइरहेका छन्।
निर्जला अधिकारी
तीज धार्मिक मात्र नभएर सांस्कृतिक पर्व पनि बनिसकेको छ। त्यसैले यस पर्वमा महिलाले आफ्ना पीडा, वेदना र विद्रोहलाई गीत-संगीत मार्फत बाहिर निकाल्ने चलन लामो समयदेखि चलिआएको देखिन्छ। पछिल्लो समय त यो एक सांस्कृतिक उत्सव नै बनेको छ। तीजको छेको पारेर नयाँ नयाँ गीत बजारमा आउने गरेका छन्।
हरेक वर्ष आउने तीजका गीत कस्ता हुन्छन् त? केही समयदेखि तीजका गीतलाई गहिरिएर हेर्दा तीन चरण पाउँछु। पहिलो, जति वेला महिलासँग शिक्षा र समान हकको अधिकार थिएन। त्यति वेलाका तीजका गीतमा दुःख, वेदना, परिवार र भगवान्प्रतिको भक्तिभाव मात्र भेटिन्छ।
दोस्रो, विशेषतः २०४६ सालको राजनीतिक परिवर्तन वरिपरिको समय। जब महिला समानताका लागि विद्रोह गर्ने अवस्थामा पुगिसकेका थिए। २०६० सालपछिको समयलाई तेस्रो चरणमा राख्न सकिन्छ। महिलालाई राजनीतिक तथा सामाजिक न्यायको प्रत्याभूति केही मात्रामा भएको यस अवधिका तीज गीतले बजार र खोक्रो स्वच्छन्दतामा बढी ध्यान दिएको देखिन्छ।
भक्तिभाव र दुःख-वेदना
तीज आउने वेला हजुरआमाले गीत गाउनुहुन्थ्यो। करीब ९० वर्ष बाँचेकी हजुरआमाले गाउने त्यो वेलाका केही गीत टिपोट गर्न पाएँ। ती गीतमा नौ दशकको सामाजिक इतिहास झल्किन्छ। त्यसलाई पहिलो चरणमा राखेर गहिरिएर हेर्दा हजुरआमाका पालाका गीतमा भक्तिभाव, दुःख र वेदना बढी पाइन्छ।
जेठा हाम्रा जेठाजु
चौका बस्ने पण्डित
गोबर फाल कान्छो भाइ भन्छन् बरीलै
न स्वामी तिमीलाई मन खाने पेच
न स्वामी तिमीलाई ईख बरीलै
धार्नीको कोदालो
बिसौलीको आरी
कमाइदेउ कामीदाइ मन बरीलै।
महिलाको सामाजिक पहिचान नभएको त्यस समयमा घरधन्दा, पारिवारिक दुःख, वेदना र झमेला नै तीज गीतका विषय बन्थे। न महिलालाई पढ्ने सुविधा थियो न त आफ्नो रुचिको जीवनको रोजाइ। बिहे र लोग्नेसँगको सम्बन्ध नै जीवनको पहिलो र अन्तिम सत्य थियो। त्यसैले हामीसम्म आइपुगेका हाम्रा हजुरआमाका गीतमा दुःख, वेदना र भक्तिभाव बाहेक अरू चिज विरलै पाइन्छ।
विद्रोह र प्रतिरोधी चेतना
समयक्रमका हिसाबले २०४६ सालपछिका गीतमा विद्रोहको चेत भेटिन्छ। जनआन्दोलनपछिको राजनीतिक परिवर्तनसँगै तीज गीतका विषयवस्तुमा पनि ठूलो परिवर्तन आएको पाइन्छ। आमा र दिदीहरूले गाएका तीज गीत सुन्दा महिला शिक्षा, समान अधिकार, दाइजो प्रथा, बहुविवाह, समान अंशका विषय मुखरित भएका छन्।
उठ उठ दिदीबहिनी अब डर छैन
एउटा मात्र हातले ताली बज्दैन
एक हात पुरुष त एक हात नारी हो
अधिकार दुवैको बराबरी हो।
छोराछोरी बिहा गर्न छन् भनेर बाबाले
सालको पात टिपेर नलाउ आमाले
सालको पात टिपेर नलाउ दुना टपरी
हामी बिहे गर्दैनौं मन नपरी
बिहा गर्ने वेला भएसी सक्छौं हामी बोलन
पर्दैन बाबाले आँगन पोलन।
माथि उल्लिखित तीज गीत त केही उदाहरण भए। दोस्रो चरण अर्थात् २०४६ देखि २०६० सालसम्म आइपुग्दा तीज गीतमा विद्रोह र परिवर्तनका विषयवस्तु बढी भेटिन्छन्, जुन मेरी हजुरआमाका पालाका गीतमा थिएनन्।
स्वतन्त्रता, बजार र उन्मुक्तता
२०६० सालपछिको समयका तीज गीतमा दुःख, वेदना र विद्रोहभन्दा बढी स्वतन्त्रता र बजारले ल्याएको परिवर्तनका विषयवस्तु बढी भेटिन्छन्। अझ पछिल्लो समय त कस्तो साडी लगाएर माइत जाने, लोग्नेलाई कसरी रिझाउने जस्ता विषय आइरहेका छन्। तीज गीत भनेर बजारमा आए पनि रत्यौली जस्तो लाग्ने जवानी र प्रेमका विषयवस्तुको बाहुल्य छ। तीजले महिलाका विषयलाई छलफलमा ल्याउनेभन्दा बजारले तीजलाई नियन्त्रण गरे जस्तो देखिन्छ।
‘अरेली काँडैले मलाई चस्सै चस्सै’, ‘बिस्ताराले पोल्यो’, ‘चिटिक्कै भाछु रे यी राता चुराले’, ‘कमाउने नि मै रमाउने नि मै’ जस्ता बोलका गीत तीजमा आइरहेका छन्। कतिपय गीतले स्वतन्त्रताका कुरा बढी गरेका छन् भने कतिले बजारमा जे बिक्छ त्यही कुरा बोलेका छन्। अझ २०७० सालपछिका तीज गीत हेर्दा २०४६ देखि २०६० सालको समयको गीतमा जस्तो विषयवस्तुको गहिराइ भेटिंदैन।
गीतले स्वतन्त्रता र स्वच्छन्दता बोले जस्तो देखिए पनि समग्रमा तीज गीत फरक तवरले हजुरआमाकै पालामा फर्किएको देखिन्छ। राजनीतिक चेत, न्याय, सामाजिक तथा सांस्कृतिक जागरण र विद्रोहका विषयवस्तु साह्रै कम आएका छन्। तेस्रो चरण अर्थात् २०६० सालपछिका तीज गीतमा स्वतन्त्रता, बजार र उन्मुक्ततालाई जोड दिएको पाइन्छ।
हल्ला बढी, गुदी कम
असार नलाग्दै शुरू भएको तीज गीत आउने क्रम अझै रोकिएको छैन। यस वर्ष तीज गीतको बाढी नै आएको छ। एउटै सर्जकका दर्जन जति तीज गीत पनि भेटिन्छन्। तथापि अधिकांश गीतमा ‘नाच्छु’ र ‘रमाउँछु’ बाहेक अरू केही बोलेको भेटिंदैन।
ओइ बाटुली ओइ सुन्तली
उनी छन् र पो गाजलुको अर्थ छ
नत्र भने जिन्दगी व्यर्थ छ।
नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको संगीत तथा समीक्षा अधिकारी, खेम सेन्चुरी र दीपिका बयुम्बूको स्वर रहेको यस गीतमा पुरुष विना महिलाको अस्तित्व र श्रृंगारलाई व्यर्थ ठानिएको छ। भर्खरै बहुविवाहलाई कानूनी मान्यता दिने विषयबारे चर्को बहस भएको छ। आमाको नाममा नागरिकता दिने विषय चर्चामा छ। तर यस वर्षका तीज गीतले त्यस्ता कुनै विषयलाई उठाएको भेटिंदैन। न त महिलाले झेल्नुपरेका कानूनी, सामाजिक र सांस्कृतिक उल्झन तीज गीतमा अटाएका छन्।
अहिलेका तीज गीत विशुद्ध मनोरञ्जनका लागि मात्र लेखिएको जस्तो देखिन्छ। भिडिओमा चर्को खर्च। मिडियामा गीत प्रचारका लागि दौडधूप। तैपनि विषयका हिसाबले केही उल्लेखनीय काम भए जस्तो देखिंदैन, केही अपवाद बाहेक। हुनत अहिले बजारमा आएका अधिकांश गीतका रचनाकार पुरुष भएकाले महिलाको वास्तविक आवाज तीज गीतमा नभेटिएको हुन सक्छ।
हुन्न खाली गाजल र लाली लगाउँछु यो सालैमा
नाच्छु रमाई उनको हात समाई मादलुको तालैमा।
मानसिंह खड्काको शब्द, हरिदेवी कोइरालाको संगीत र टीका पुनको स्वरमा रहेको यस गीतमा पनि लोग्ने र मायालुको हात समाएर नाच्ने बाहेक अरू विषय उठाइएको छैन। केही गीत अपवाद पनि छन्। तीजको गीत कस्तो हुनुपर्छ भनेर गीत मार्फत नै सुझाइएको पनि छ।
तीजको गीत छाडा बनाउनेलाई
असारमा तीज मनाउनेलाई
तीजका गीत कस्ता हुन्थे सुन
पारिपारि आएका ढाकाटोपी लाएका
तिनै होलान् हाम्रा बाबा लिन आएका
यूट्यूबमा भिउज खोज्नेहरू
तीजलाई रत्यौली सोच्नेहरू
तीजका गीत कस्ता हुन्थे सुन...
श्रीकृष्ण बम मल्लको शब्द र संगीत तथा लक्ष्मी मल्लको स्वरमा रहेको यस गीतले भने तीजका गीतलाई फर्केर हेर्छ। साथै, बजारमा बेच्नकै लागि मात्र भनेर बनाइएका तीज गीतलाई एक तवरले झटारो पनि हान्छ।
प्रत्येक वर्ष तीज नजिकिंदै गर्दा केही पुराना र नाम चलेका सर्जकका गीतको प्रतीक्षा मिडिया, दर्शक र स्रोता सबैलाई हुने गर्छ। विष्णु माझी पनि त्यस्तै नाम हो। तर यसपालिको उनको गीतले परिवर्तनका लागि आवाज उठाउनुको सट्टा ‘म त नराउरी तिम्रै छोरो राम्रो’ भनेर हीनताबोध मात्र पालेको देखिन्छ। यसबाट अहिलेको समाज कैयौं वर्ष अगाडिको झैं लाग्छ।
खोली पर्खी आउँदा आउँदै तिर्खा मेटाउँला
बाँचे भने मेरी आमा फेरि भेटौंला
म त नराउरी आमै म त नराउरी
तिम्रै छोरो राम्रो आमै म त नराउरी।
छोरी भएर जन्मनुलाई गुनासोकै रूपमा लिएर लेखे झैं लाग्ने यस गीतले पनि कुण्ठा र हीनताबोध बाहेक अरू केही बोल्दैन। ‘म त नराउरी’ भन्ने पंक्ति धेरै पटक दोहोरिनुले गीतलाई झन् पश्चगामी बनाएको छ।
केको बयान गर्नु र चाउरी पर्या गालाको
छोटो कथा भन्छु है हाम्रो पालाको
जूनको भरमा पानी भर्थ्यौं टाढा हुन्थ्यो पँधेरो
अहिले पो गाउँमा बत्ती आयो मनमा अँध्यारो
गाउँघरमै हुर्किएँ बुझिएन के हो धन
शहरमा छ चारतले घर खुशी छैन मन।
शिला आलेको शब्द, शर्मिला गुरुङको संगीत तथा शिला आले र शर्मिला गुरुङको स्वर रहेको यस गीतले पुरानो समय र गाउँघरलाई सम्झन्छ। तथापि अहिलेको समाजको विषय बोले झैं देखिंदैन। अधिकांश गीतहरूले कि अति पुरानो समयबारे बोलेका छन् कि त बजारबारे। तीज गीतले वर्तमान समाज र महिलाको स्थितिबारे जे बोल्नुपर्ने हो, त्यो बोलेको पटक्कै देखिंदैन।
अहिलेका तीज गीत हेर्दा भद्दा शब्द, चर्को तडकभडक र बाजागाजाको आधिपत्य देखिन्छ। बलिउड सिनेमाका गीत झैं लाग्ने प्रायः तीज गीतले आफ्नै इतिहास बोकेको पाइँदैन। आधुनिक जस्तो सुनिएका गीतले समानता र न्यायभन्दा पनि बजारको खोल ओढेर हजुरआमाकै पालामा फर्काए जस्तो महसूस गराउँछन्।