आफूले परिकल्पना गरेको साहित्य तीर्थ कपिलधाममा आफैं यति छिटो ढलोटको प्रतिमा बनेर बस्नुपर्ला भनेर विष्णुराज आत्रेय (लाटो साथी)ले सोचेका थिएनन् होला। उनको अधूरो सपनालाई पूर्णता दिन अब को अघि सर्ला?
अलका आत्रेय चूडाल
कुरो हो, मध्य सेप्टेम्बर २०२२ को कुनै एक अपराह्नको। अमेरिकाको जीवन्त शहर न्यू योर्कका हरेक चोक र गल्ली जस्तै सेन्ट्रल पार्क पनि उत्तिकै जीवन्त थियो। ८४३ एकड क्षेत्रमा फैलिएको पार्कमा हिंड्ने, दौडने, केटाकेटी भुलाउने, प्रेमालापमा रमाउने, आराम गर्ने, बाजा बजाउने, नाच्ने, रिक्शा र घोडागाडीमा अतिथिहरूलाई राखेर घुमाउने, पिकनिक गर्ने, शारीरिक व्यायाम गर्ने, तत्काल चित्र बनाएर बेच्ने आदि आआफ्ना रुचि र पेशाका काम गर्ने, शिशुदेखि वयोवृद्धसम्म हरेक उमेरका मानिसहरू त्यहाँ प्रशस्त थिए। सीमित समयमा मैले त्यो विशाल पार्क हिंडेर त के सक्थें, एकचौथाइ पनि छिचोल्न सकिनँ।
दिनभरिको थकानले आलसतालस भएकी म झोलामा बोकेको पानी पिएर एकछिन आराम गर्न त्यहाँको फलैंचामा पल्टिएँ। पल्टिएकी मात्र के थिएँ, केही पर हान्स क्रिस्टियान एन्डरसन (ईसं १८०५-१८७५) को विशाल मूर्ति देखें। मभन्दा अलिक पर बसेका डेनिस लेखक एन्डरसन आफ्नै कथाको किताब द अग्ली डक्लिन (अनुहार नपरेको हाँसको टिउरो) पढिरहेका थिए भने उनको खुट्टाको छेउमा एउटा सानो चिटिक्कको हाँसको मूर्ति पनि थियो। केटाकेटीहरू कोही एन्डरसनको काँधमा त कोही काखमा चढेका थिए।
अलिक पर अंग्रेज लेखक लुइस कैरोल (ईसं १८३२-१८९४)ले लेखेको प्रसिद्ध काल्पनिक कथा ‘एलिस इन वन्डरल्यान्ड’ का पात्रहरूको धातुको विशाल प्रतिमा थियो। विचित्र लोकमा पुगेकी एलिस, उनको खरायो अनि विचित्र पात्रहरू रहेका त्यस प्रतिमामाथि चढेर साना साना केटाकेटीहरू रमाइरहेका थिए। ती प्रतिमाहरू अत्यन्त बलिया र अटल थिए। परीकथाका लेखक र परीकथासँग सम्बन्धित भएकाले होला, त्यहाँ केटाकेटी झुम्मिएका। यी प्रतिमाहरू उनीहरूलाई चढ्न सजिलो हुने गरी बनाइएका थिए। अलिक पर उचाइमा विलियम शेक्सपियर, रोबर्ट बर्नस, सर वाल्टर स्कटहरूका विशाल कदका आकर्षक प्रतिमा थिए। तिनीहरूसँगै साहित्यसँग कुनै सरोकार नभएका कोलम्बस पनि थिए। ती मूर्तिमा न त केटाकेटीहरूको आकर्षण थियो, न त तिनमा सजिलै चढ्न नै सकिन्थ्यो। उनीहरू केटाकेटी मन नपराउने जस्ता भएर आआफ्ना ठाउँमा गमक्क परेर उभिएका थिए। त्यस विशाल पार्कको त्यस विशाल परिसरलाई ‘लिटेररी वाक्’ (साहित्यिक भ्रमण) भनिंदो रहेछ।
***
एउटा हिन्दू पौराणिक कथा अनुसार सगर राजाले अश्वमेध यज्ञ गर्न एउटा सेतो घोडा छोडे। घोडा जता मन लाग्यो उतै गयो। घुम्दै जाँदा त्यो घोडा कपिल ऋषिले तपस्या गरिरहेको स्थान कपिलवस्तु आइपुग्यो र तपस्या गरिरहेका ऋषिको नजीक गएर चर्न थाल्यो। घोडाको खोजीमा पछि-पछि त्यहाँ पुगेका सगर राजाका छोराहरूले ध्यानमा बसेका तिनै कपिल ऋषि नै घोडा चोर भएको ठहर गरे र ऋषिलाई मार्न जाइलागे। यज्ञको नियम थियो– घोडा लैजानेसँग युद्ध गरी जितेर घोडा फिर्ता लानुपर्ने वा युद्ध हारेमा यज्ञ पनि असफल हुने। बित्थामा आरोप लगाएर लड्न तम्सिएका सगर राजाका छोराहरूको हल्लाखल्लाले ऋषिको ध्यान भंग भयो। अति नै रिसाएर कपिल ऋषिले आँखा खोलेका मात्र के थिए, राजाका सबै छोराहरू त्यहीं जलेर भस्म भए। अकालमा मरेका सगर राजाका छोराहरूको उद्धार गर्न गंगा नदीलाई स्वर्गबाट ल्याउनुपर्ने भयो। त्यसका लागि सगर राजाका धेरै जना सन्ततिले प्रयास गरे। अन्ततः तेस्रो पुस्ताका राजा भगीरथले स्वर्गबाट गंगा ल्याएपछि ती सबैको उद्धार भयो।
अश्वमेध घोडा।
यस कथाले बताएको घटना भएको स्थान कपिलवस्तुको पूर्व-पश्चिम राजमार्गको बनगाईबाट तीन किलोमिटर उत्तर-पश्चिमतर्फ अवस्थित रहेको ठहर गरी त्यस स्थानको नाम ‘कपिलधाम’ राखियो। यो सांख्यदर्शनका प्रणेता कपिल मुनिको तपस्या भूमि हो। राजा भगीरथले तपस्या गरेर गंगा ल्याएको भूमि पनि यही हो। तिनै कपिल ऋषि र अश्वमेधको घोडाको सम्झनामा त्यहाँ कपिल मुनिको मूर्ति, कपिल मुनिले पानी पिउने कुवालाई विस्तार गरेर स्थाणु तीर्थ र अश्वमेध घोडाको उद्यान बनाइयो। साथै, विविध देवताका मन्दिरहरू पनि बनाइए। कति मूर्ति र मन्दिरहरू दानवीर दाताहरू वा आफ्ना पितृका स्मृतिमा तिनका सन्ततिले पनि बनाए। वरपर यस ठाउँबारे प्रचार भयो। मन्दिर दर्शन गर्न र घुम्न मानिसहरू आउन थाले। नजीकै यस्तो कुनै सार्वजनिक स्थल नभएको हुँदा यस स्थानको महत्त्व बढ्यो।
केही समयअघि त्यहाँ घुम्न आउने किशोरकिशोरीहरूले सिमेन्टले बनाइएको अश्वमेध यज्ञको प्रतीकात्मक घोडामा चढेर मोबाइलमा सेल्फी खिच्दा घोडाको कानै भाँचिएछ। यसै वैशाखमा म त्यहाँ पुग्दा बिचरो सगर राजाको अश्वमेधको घोडा भाँचिएको कान लिएर उभिएको थियो। कपिलधामका अध्यक्ष शंकरप्रसाद आचार्यले हाँसी-हाँसी यो कुरा हामीलाई सुनाउनुभयो। कुरा सुन्दा त हाँसउठ्दो नै थियो र फोटो खिच्न, सामाजिक सञ्जालमा राखिहाल्न जहाँ पनि तम्सिने किशोरहरूलाई गाली गर्न पुग्ने प्रशस्त मसला पनि। तर हामी गरीब देशका नेपालीको सानो उद्यानमा बल्लतल्ल बनाएको एउटा सिमेन्टको घोडा, बिचरो त्यसले कति जनाको लात धानोस्! हाम्रा केटाकेटी र किशोरहरू रमाइलो गर्न र खेल्न कहाँ जाऊन्? कहाँ न्यू योर्कका धातुका मूर्तिहरू जो आफूमाथि जोसुकै र जतिसुकै उफ्रिए पनि सहन सक्ने क्षमता र तागत राख्छन्, अनि कहाँ कपिलधामको बालुवा र सिमेन्टले बनेको सगर राजाको अश्वमेधको सेतो घोडा। कपिलधामको सेतो घोडा सगर राजको अश्वमेधको घोडा जस्तो सक्कली कहाँ हो र! बिचरो अहिले भाँचिएको कान लिएर घाइते अवस्थामा उभिएको छ।
कान चुँडिएको यस घोडाले मलाई रमेश विकलको ‘मधुमालतीको कथा’ को आलुघोडाको सम्झना गरायो। विकलको कथाको शंकरको जस्तो अवस्था छ हामी नेपालीहरूको जोसँग आफ्ना इच्छा, चाहना र कल्पनाको प्रतीक नीरपानी रङको प्लास्टिकको आलुघोडा मात्र छ, जुन सजिलै किचिमिची हुन्छ। हाम्रा सपना त ठूला छन्: गौरीलाई वायुपंखी घोडामा राखेर स्वच्छन्दसँग चारैतिरका नदीनाला, समुद्र, पहाड, झरना, जंगल, बादल, हिउँ इत्यादिका मनोहर दृश्य हेर्दै उनीसँग हावामा उड्ने; तर यथार्थ त्यसभन्दा कोशौं पsssर छ, जहाँ हाम्रा सपना र रहरहरू गौरीका बाबुको कालो गाडीले गरीब शंकरको आलुघोडालाई आफ्ना पांग्राले किचिमिची पारे जसरी नै चकनाचुर पारिएका छन्।
गरीब शंकरले वायुपंखी घोडामा गौरीलाई लिएर उड्ने ठूलो सपना देखे जस्तै कपिलधामलाई साहित्यिक र धार्मिक केन्द्र बनाएर पर्यटकीय आकर्षण बढाउने सपना एक लेखकले देखे। सपना त सबैले देख्छन्, तर लेखकीय सपनाको कल्पनाशक्ति विचित्रको हुन्छ। त्यसैले उसले देख्ने सपना पनि खास हुन्छ। यस्तै एउटा खास सपना देख्ने एक नेपाली साहित्यकार थिए। नयाँ-नयाँ सपना देख्ने र हरेश नखाई तिनलाई पूरा गर्ने लहडमा डटिरहने, त्यसैमा आफूलाई समर्पित गर्ने उनको जीवनशैली थियो। उनले कहिले कालिदासलाई नेपाली भनी प्रमाणित गर्न घुँडा कसेर अनुसन्धान गरी ‘हिमालयो नाम नगाधिराजः’ लेखे। कहिले संस्कृतलाई घरको बोलचालको भाषा बनाउँछु भनी परिवारलाई नेपाली बोल्न रोक लगाएर संस्कृत मात्र बोल्न लगाए। फेरि शंकराचार्यले सानो उमेरमै पढेका हुन् भनेर ८ वर्षकी छोरीलाई घरमै पाणिनीको अष्टाध्यायी , कालिदासको रघुवंश , अमरसिंहको अमरकोष , अन्नम्भट्टको तर्कसंग्रह , विश्वनाथ भट्टाचार्यको न्यायसिद्धान्तमुक्तावली , ईश्वरकृष्णको सांख्य कारिका आदि घोक्न लगाएर ९ वर्षमा पूर्वमध्यमाको परीक्षा दिन लगाए। बनारसको काशी हिन्दू विश्वविद्यालयमा नेपाली विश्वविद्यालयको अतिथि प्राध्यापकको दरबन्दी मिलाएर ‘नेपाल चेयर’ खडा गर्न पहल गरे। संस्कृत व्याकरणका पिता पाणिनीको नेपाल सम्बन्ध प्रमाणित गर्न पाणिनी उपन्यास लेखे। संस्कृत भाषाको सूत्रमा आधारित पाणिनीय व्याकरणका नियम जस्तै अंग्रेजी भाषाको व्याकरण पनि सूत्रमा लेख्न आंग्ल कौमुदी को रचना गरे। नेपाल टेलिभिजन मा पहिलो पटक बाल कार्यक्रम ‘संस्कृतम्’ को आरम्भ गरे। यी त मात्र केही उदाहरण हुन्। उनी सफल हुँदै गए र नयाँ सपना देख्ने हौसला पनि बढ्दै गयो।
ती नवस्वप्नदर्शी साहित्यकारको नाम हो, प्रा. डा. विष्णुराज आत्रेय (लाटो साथी)। उनको जीवनको पछिल्लो नयाँ सपना आफ्नो गृहजिल्ला कपिलवस्तुको विकास, देश-विदेशमा त्यसको परिचय गराउने र १०८ नेपाली साहित्यकारको प्रतिमा भएको साहित्य तीर्थ वा साहित्य उद्यान बनाउने थियो। आयुर्वेदका प्रणेता महर्षि पतञ्जलि, महर्षि ऋष्यश्रृंग र गौतम बुद्धले समेत अध्ययन गरेको भूमि यही कपिलवस्तु हो र प्राचीन कपिलवस्तुका राजा शुद्धोदनका पूर्वजहरूले राज्य गरेको यस क्षेत्रको नाम तिनै ऋषिको नामबाट कपिलवस्तु रहन गएको भन्ने प्रमाणित गर्न पुराण, शास्त्र र बौद्ध साहित्य अट्ठकथा आदिबाट प्रमाण ल्याएर अनुसन्धान गरी पुराण र शास्त्रहरू पर्गेलेर उनैले कपिलधाम, पतञ्जलि, शान्ताकुञ्ज, सिंगीघाट, कपिलधाम महात्म्य जस्ता कृतिहरू रचना गरे। ती स्वप्नदर्शी साहित्यकार कहिले शास्त्रीय ग्रन्थका पानाहरूमा त कहिले कपिलवस्तुका निर्जन जंगलहरूमा घुमेर प्रमाणको खोजी गर्थे।
स्थानीय व्यक्तिहरूको सक्रियतामा आयुर्वेदिक उपचार गृहका निमित्त कपिल आरोग्य मन्दिरको नाममा सरकारले धार्मिक वनको रूपमा दर्ता गरी हस्तान्तरण गरेको करीब ७५ बिघा क्षेत्रफलमा कपिलधामको परिकल्पना गरियो। नवपरिकल्पित कपिलधाममा कपिल मुनिको मूर्ति राख्दाराख्दै विष्णुराज आत्रेयले अर्को पनि सपना देखे। नेपालका साहित्यकारहरूको प्रतिमा राखेर त्यस पवित्र स्थानलाई नेपालको साहित्य तीर्थ बनाउने।
साहित्य तीर्थ स्थापनाका लागि भूमिपूजा गर्दै विष्णुराज आत्रेय (दायाँ रातो लुगामा)।
यो लाटो साथीको लहड थियो, जसका लागि ठूलो समर्पण र त्याग चाहिन्थ्यो। यो सपना पनि सानो थिएन। ‘मधुमालतीको कथा’ को शंकरको वायुपंखी घोडा ल्याउने सपना जस्तै महत्त्वाकांक्षी थियो। शंकर राति निद्रामा बरबराए जस्तै उनी पनि अर्बुद रोगले थलिएर अस्पतालको शय्यामा लडेका वेला पनि कपिलधाम! कपिलधाम! भनी बर्बराउँथे। यो आग्रह देखेर उनको परिवार पनि शंकरका बा-आमा जत्तिकै आजित भएको थियो।
शकुन्तलाको प्रतिमा र विष्णुराज आत्रेय।
उनी कतै जाँदा कुनै लेखकका वा अन्य कुनै किसिमको पनि प्रतिमा देखे भने हत्त न पत्त कपिलधाममा पनि यस्तै राख्नुपर्छ भनेर कल्पना गरिहाल्थे। ब्रातिस्लावामा मृग शावकसँग एक नारीको प्रतिमा देखेर उनलाई कालिदासकी शकुन्तलाको सम्झना आयो र मलाई हतार हतार फोटो खिच्न लगाए। अनि भने, “कपिलधाममा पनि यस्तै राख्नुपर्छ।”
ती स्वप्नदर्शी साहित्यकारले त्यहीं एउटा नयाँ सपना देखिसकेका थिए। मैले पनि सकेसम्म राम्रो फोटो खिचिदिएँ। उनले फेसबूकमा पोस्ट गरे:
क्व वयं क्व परोक्षमन्मथो मृगशावैः सह वर्धितो जनः। (अभिज्ञान शाकुन्तल , अंक २)
विदूषकले शकुन्तलाप्रतिको उनको आकर्षण थाहा पाउला भन्ने भयले राजा दुष्यन्तले भने, “कहाँ हामी शहरमा हुर्के बढेका र कहाँ मृग शावकहरूसँग हुर्किएकी भिन्नै यिनी।”
एक दिन त मैले उनको यो महत्त्वाकांक्षी सपनादेखि दिक्कै लागेर सोधें, “यसरी व्यक्ति व्यक्तिलाई गुहारेर प्रतिमा बनाएर कसरी साहित्य तीर्थको भविष्य बन्छ? कहिले त्यहाँ मूर्तिहरू बनेर भरिएला! कसरी यसको संवर्द्धन र संरक्षण हुन्छ? कहिलेसम्म हजुरले गुहार मागिरहने? कसरी सम्भव होला र यो?”
जवाफमा उनले भने, “बनाउन दे न कति सकिन्छ। मूर्ति राख्न सकियो भने त संरक्षण पनि भइहाल्छ नि! म कामको थालनी गर्ने निमित्त मात्र हुँ। यसलाई अघि बढाउने जनशक्ति भविष्यमा आफैं तयार हुन्छ।”
यस्तो समर्पण र विश्वास देखेर म अवाक् हुन्थें। तर मन मनमा त्यो समर्पण देखेर मलाई औधी माया लागेर आउँथ्यो।
विष्णुराज आत्रेयले धेरै जनासँग गुहार मागे। उनले चिनेका साहित्यकारका परिवारलाई गुहारे। साहित्यकारहरूका घर घर धाए। हजारौंलाई फोन सम्पर्क गरे। कति संस्थालाई गुहारे। कति साहित्यकारका परिवारलाई सम्झाए, बुझाए, पितृहरूप्रतिको दायित्वबोध गराए, कपिलधामको महिमा गान गरे। कहिलेकाहीं त मलाई गरुड पुराण भन्ने पुरोहितले दानको महिमा बखानेको जस्तो पनि लाग्थ्यो। केही लाख रुपैयाँ खर्च गरेर प्रतिमा बनाउने अनि त्यसलाई लगेर कपिलधामको अनकन्टार निर्जन स्थानमा लगेर राख्न राजी गराउन सजिलो काम थिएन।
शुरूआतमा भानुभक्त आचार्यको पहेंलो प्रतिमा उनकै समाजसेवी भाइ हरिराज शर्माले राखिदिए। ‘मलाई दार्जीलिङको भानुको प्रतिमाले लोभ्याएको थियो’ भन्दै दाजु जस्तै साहित्यसेवी भावनामा बहकिए उनी पनि। यस्ता महान् कार्यहरू बहकिनेहरूले नै मात्र गर्न सक्छन्। यसरी नेपाली साहित्यका आदिकविको प्रतिमा राखेर साहित्य तीर्थ कपिलधाममा साहित्यकारहरूको प्रतिमा स्थापनाको शुभारम्भ भयो।
साहित्य तीर्थ स्थापनाको प्रारम्भिक चरणमा शंकरप्रसाद आचार्य र विष्णुराज आत्रेय।
एक-एक गर्दै प्रतिमा बन्दै गए, अनावरण हुँदै गए। होस्टेमा हैंसे गर्ने सहयोगी हात र मनहरू थपिंदै गए। हौसला बढ्दै गयो। दानवीर र पितृभक्त परिवारले वा साहित्यसेवी संस्थाले पैसाको जोहो गरेर प्रतिमाहरू बनाए। साहित्य तीर्थको कुनै गुरुयोजना थिएन, किनभने त्यसका लागि कुनै बजेट थिएन। पितृको दिशा दक्षिण भनेर मूर्तिहरू दक्षिण-पूर्व फर्काएर लहरै राखिए। एउटा लहर भरियो अनि अर्को लहर थालियो।
नेपाली संस्कृति अनुसार बेहुला, राजा र सम्मानित व्यक्तिलाई छाता ओढाउनुपर्छ भनी प्रतिमाहरूलाई छाता ओढाइयो। बत्ती बाल्नुपर्छ भनेर बत्ती बाल्ने फलामको बार लगाइयो। परिवार र संस्थाहरूले आफूखुशी र आफ्नो गच्छे अनुसार मूर्ति बनाएर लगे: कसैले सेता ढुंगाका, कसैले काला ढुंगाका, कसैले ढलोटका त कसैले कास्टिक मार्बलका: सेता, काला, खैरा, पहेंला। मूर्ति राखिनु ठूलो कुरो थियो। एकरूपता वा गुरुयोजनाको त कुरै थिएन। ‘त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये’ को शैली थियो! जस्तो आउँछ विना आपत्ति त्यस्तै स्वीकार गर्ने। मूर्ति बनेर आउनु नै ठूलो कुरा!
परिकल्पना १०८ साहित्यकारको प्रतिमा राख्ने थियो, तर एकचौथाइ कार्य सम्पन्न नहुँदै नरभक्षी कोरोना आयो। साहित्य र साहित्यकारको उद्यानलाई कसैको आँखा लाग्यो। साहित्य तीर्थका स्वप्नदर्शी विष्णुराज आत्रेयलाई अर्बुदरोग लाग्यो। उनी अस्पतालको शय्याबाट पनि प्रतिमा बनाउन निर्देशन र सल्लाह दिइरहन्थे। तर दैवले साहित्य तीर्थका परिकल्पनाकारलाई उनको परिकल्पना साकार गर्न धेरै समय दिएन। साहित्य तीर्थको सपना र रोगको लडाइँमा रोगले जित्यो र उनको निधन भयो। उनको निधनपछि यस यज्ञ कार्यमा पछि आएर जोडिएका हिमलाल ज्ञवाली पनि ईश्वरका प्रिय भए।
गत वैशाखमा त्यसै साहित्य तीर्थमा थप दुई प्रतिमाको अनावरण गरियो: प्रा. डा. विष्णुराज आत्रेय (लाटो साथी) र हिमलाल ज्ञवालीको। अरूलाई प्रतिमा बनाउन प्रेरित गर्नेहरू स्वयं प्रतिमा भएर त्यहाँ बसे।
कपिलधाममा स्थापना गरिएको विष्णुराज आत्रेयको प्रतिमा।
कपिलधाममा अहिलेसम्म २६ जना साहित्यकारका प्रतिमा स्थापना गरिएका छन्। आफूले परिकल्पना गरेको साहित्य तीर्थमा यति छिटो ढलोटको प्रतिमा बनेर बस्नुपर्ला भनेर त लाटो साथीले सोचेका थिएनन् होला। यो कुरा हामी उनको कपिलधाम लहडका प्रत्यक्षदर्शीले पनि सोचेका थिएनौं। प्रतिमा अनावरणका दिन मलाई लाग्यो: आफ्नो परिकल्पना बीच बाटोमै अड्किएको देख्दा हरदम सक्रिय लाटो साथीले के सोच्दा हुन्? उनी आफैंले राखेको उपनाम सार्थक गर्न ती प्रतिमाहरूका बीचमा बसेर आफ्नो सुस्ताएको सपनालाई मौनतापूर्वक टुलुटुलु हेरेर बसिरहँदा होलान्। एउटा कलमवीर साहित्यकारले देशका लागि योभन्दा बढी अरू के नै गर्न सक्थ्यो र! विष्णुराज आत्रेयको राष्ट्रप्रेम र साहित्यप्रेम जीवनभर उनको कलमको मसीबाट थोपा थोपा गरी चुहिरह्यो र ४४औं कृतिको ‘प्रूफ’ हेरिनसक्दै उनी अर्को लोकको यात्रामा जान बाध्य भए।
***
अस्ट्रियाको साल्जबर्गमा मोत्चार्ट बसेको घर हेर्न र भिएनामा उनको मूर्ति अगाडि फोटो खिच्न पर्यटकहरूको घुइँचो लाग्छ। एक पटक मेरा श्रीमान्को सुझाव आयो: हामीले पनि नेपालमा लोकगायक झलकमान गन्धर्वको शालिक र उनी बसेको घर सर्वसाधारण र पर्यटकका लागि खुला गर्न सके त त्यहाँ पनि यत्तिकै भीड लाग्दो होला। नेपाल पनि कला, संगीत र साहित्यमा कोहीभन्दा कम छैन। लोकगायक झलकमानको त शालिक बनेको छैन, तर धर्मराज थापा र मास्टर मित्रसेन थापाको प्रतिमा कपिलधामको साहित्य तीर्थमा राखिसकिएको छ।
आज ईसं २०२५ अगस्टको अपराह्न, अस्ट्रियाको राजधानी भियना। यो शहर न्यू योर्कको तुलनामा धेरै सानो र शान्त छ। शहरको केन्द्र वीन नदीको किनारमा लगभग २४ एकड क्षेत्रफलमा रहेको स्टाट पार्क अर्थात् नगर उद्यान पनि न्यू योर्कको सेन्ट्रल पार्कभन्दा शान्त छ। त्यहाँको तलाउका हाँसहरूलाई चारा दिएर थाकेपछि केही केटाकेटी नजीकका रूखका हाँगाहरूमा र केही बाल उद्यानमा खेल्दै छन्। चौरमा घाम ताप्दै विद्यार्थी पढिरहेका छन्, कोही गफिंदै छन्, कोही खाँदै छन्, कोही ध्यानमग्न छन्। पर्यटकहरू तस्वीर खिच्न व्यस्त छन्। चारैतिर फूल फुलेका छन्। उद्यानको वरिपरि अस्ट्रियाका प्रसिद्ध गीतकार र संगीतकारहरू फ्रान्च शुबेर्ट, फ्रान्च लेहर, रोबेर्ट स्टोल्च र केन्द्रमा योहान स्ट्राउसको सुनौलो पूर्ण कदको प्रतिमा छन्। म विश्वविद्यालयबाट घर फर्कंदै गर्दा बाटोमा पर्ने त्यसै उद्यानको फलैंचामा एकछिन थकाइ मारेर मथिंगलका प्रश्नहरू समेट्दै छु:
भियनास्थित योहान स्ट्राउसको प्रतिमा र विष्णुराज आत्रेय दम्पती।
अघिल्लो महीना म कपिलधाममा थिएँ। कठै त्यहाँका ती साना केटाकेटीहरू तिनलाई खेल्ने उफ्रने कुनै उद्यान छैन! बिचरा ती साहित्यकारहरू तिनलाई भेट्न विरलै कोही त्यहाँ पुग्छ! अस्ति वैशाखमा हामीले रंग्याएको कपिलधामको चौतारामा को गएर बस्यो होला? ती साहित्यकारहरू एक्लै आत्तिए होलान्, कसले त्यहाँ गएर तिनलाई सुमसुम्यायो होला? योहान स्ट्राउससँग फोटो खिच्न यहाँ पर्यटकको लाम लागेको छ। के कपिलधाममा रहेका साहित्यकारसँग कसैले तस्वीर खिचायो होला? ती २४ जना पुरुषका बीचमा एक मात्र नारी साहित्यकार लोकप्रिया देवीलाई कति पट्यार लाग्दो होला? उनले कहिले अर्की नारी साहित्यकार साथी पाउलिन्? कपिलधामको साहित्य तीर्थ न्यू योर्कको लिटरेरी वाक र भियनाको स्टाट पार्क जसरी कहिले आवाद हुन सक्ला! त्यहाँको अश्वमेध यज्ञको कान चुँडिएको घोडाको उपचार कसले गरिदेला? कहिलेदेखि उसले अलि बलियो भएर धेरै बालबालिका र किशोरकिशोरीलाई बुइ चढाउन र मनोरञ्जन दिन सक्ला! लाटो साथी मभन्दा ३० वर्षअघि न्यू योर्क आइसकेका थिए। उनी भिएनाको स्टाट पार्क पनि आइसकेका थिए। यीमध्ये कुन पार्कले उनलाई कपिलधाममा साहित्य तीर्थ बनाउन प्रेरणा दियो होला? लाटो साथीको त्यस साहित्य तीर्थलाई पूर्णता दिन नयाँ जोश लिएर अब को अघि सर्ला? अमेरिका र अस्ट्रियाको सरकारले जस्तै नेपालको सरकारले साहित्य तीर्थको संरक्षण र संवर्द्धनको जिम्मा लेला कि नलेला?
कपिलधाममा अहिलेसम्म प्रतिमा स्थापना भएका साहित्यकारहरू : आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौड्याल, कुमारबहादुर जोशी, कुलचन्द्र कोइराला, कृष्णप्रसाद दुवाल, जनकवि केशरी धर्मराज थापा, टीकाराम पन्थी, पं. दधिराम मरासिनी, पं. रश्मिराज अर्ज्याल, पूर्णप्रसाद ब्राह्मण, भवानी भिक्षु, भीमकान्त पन्थी, मंगलकुमार उपाध्याय नेपाल, मास्टर मित्रसेन थापा मगर, मोतीराम भट्ट, यादवनाथ कोइराला, राजीवलोचन जोशी, लीलाध्वज थापा, लेखनाथ ज्ञवाली, लोकप्रिया देवी जोशी, वासु शशी, विश्वेश्वरप्रसाद कोइराला, विष्णुराज आत्रेय (लाटो साथी), सरदार रुद्रराज पाण्डे, हर्षबहादुर बुढामगर, हिमलाल ज्ञवाली।
(लेखिका प्रा. डा. विष्णुराज आत्रेय ‘लाटो साथी’ की छोरी हुन्।)