चीनमा भेटिएको लाइकेन (झ्याउ)को नयाँ प्रजातिको वैज्ञानिक नामकरण नेपालका वनस्पति अनुसन्धाता शिव देवकोटाको नामबाट गरेर विश्वका चार वैज्ञानिकले उनलाई वनस्पति जगत्मा अमर बनाइदिएका छन्।
कमल मादेन
वनस्पतिशास्त्रका विद्यार्थी र अध्येताहरू नयाँ नयाँ वनस्पति पत्ता लगाउने ताकमा खोजबिनमा जुटिरहेका हुन्छन्। वनस्पति पत्ता लगाएपछि तिनको वैज्ञानिक नामकरण स्थाननाम, नदीनाला, हिमाल, उपत्यकासँगै वनस्पति क्षेत्र सम्बद्ध व्यक्तिका नामबाट पनि गरिन्छ। १२ जना नेपालीको नामबाट २३ प्रजाति र एक उपप्रजातिको नाम राखिएकोबारे मैले २०६९ असार १६ गतेको अन्नपूर्ण पोस्ट् दैनिकमा ‘वनस्पतिको नेपाली नाम’ शीर्षकको लेख लेखेर चर्चा गरेको थिएँ।
त्यसपछि पनि नेपालीका नामबाट वनस्पतिका नाम थपिंदै गए। ती वनस्पति र नाम दिइएका व्यक्तिबारे क्रमशः लेख्दै गएँ। वनस्पतिको नाम राखिएका व्यक्तिहरूबारे एकीकृत रूपमा हिमाल खबरपत्रिका को २०७८ भदौ अंकमा ‘वनस्पतिको नाममा बाँच्नेहरू ’ शीर्षकको लेख छापियो। त्यसमा पहिलेको सूचीमा आठ जना नेपालीको नाम थपिएर २० नेपालीका नामबाट ३३ प्रजातिका वनस्पतिको वैज्ञानिक नामकरण गरिएको उल्लेख छ। लेखमा सम्बन्धित व्यक्ति (खडानन्द शर्मा बाहेक) र वनस्पतिको तस्वीर पनि प्रकाशित छन्।
सन् १९२८ मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले नेपालको वनस्पति संकलन कार्यमा नेपाल सेनाका मेजर लालध्वज सुनुवारलाई नियुक्त गरेका थिए। सुनुवारले १९२९ को वसन्त ऋतुमा भारत, देहरादूनका फरेस्ट रिसर्च इन्स्टिच्यूटका बीएल गुप्तासँग पश्चिम, मध्य र पूर्वी नेपालमा वनस्पतिका नमूना र बीउ संकलन गरेका थिए। सन् १९३१ मा सुनुवारको देहावसान भएपछि उनले गर्दै आएको कामको नेतृत्व खडानन्द शर्माले गरे।
शर्मा सन् १९३७ मा ‘वनस्पति फाँट’ (हाल वनस्पति विभाग)का प्रमुख नियुक्त भएका थिए। उनले बेलायत पठाइएको बीउबाट त्यहीं उमारिएको एक वनस्पतिको वैज्ञानिक नाम उनै शर्माको सम्मानमा सन् १९४१ मा प्रिमुला शर्मी राखिएको छ। प्रिमुला शर्मी नेपाल, भारत र बर्मामा समुद्री सतहबाट २,६०० देखि ५,३०० मिटरसम्मको उचाइमा पाइएको छ।
यहाँ शर्माको चर्चा गर्नुको कारण उनका परिवारको सम्पर्कसूत्र थाहा पाउन सकिन्छ कि भनेर हो। उनका परिवारजन कहाँ छन् भन्ने हालसम्म थाहा पाउन सकिएको छैन। यसैले अहिलेसम्म उनको तस्वीर समेत प्राप्त हुन सकेको छैन। वनस्पति विभागका पूर्व महानिर्देशक डा. समरबहादुर मल्लले भारतमा नाथुराम गोड्सेले महात्मा गान्धीलाई गोली हानी हत्या गरेपछि खडानन्द शर्मा नेपालमा भूमिगत भएको र त्यसपछि कहिल्यै बाहिर देखा नपरेको यस पंक्तिकारलाई बताएका थिए।
गोड्से राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का सदस्य थिए। मल्लका अनुसार शर्मा पनि आरएसएसका सदस्य थिए।
माथि उल्लिखित नेपालीको नाममा ३३ वनस्पति प्रजाति बाहेक अर्को एउटा वनस्पति पनि छ। तर त्यो प्रजाति स्तरको होइन, ‘भेराइटी’ मात्र हो। भेराइटीे कुनै ठाउँविशेषमा प्रजातिविशेषमा देखिने केही फरक संरचनाका आधारमा नामकरण गरिन्छ। यस्तो फरक संरचना अलि ठूलो भूभागमा व्यापक रूपमा देखिएमा सम्बन्धित प्रजातिको उपप्रजाति नै मानिन्छ।
त्यो भेराइटी लोफिओलेपिस निशिओका भेराइटी सञ्जीव-राईई हो। यो वनस्पति वरिष्ठ वनस्पतिविद् डा. केशवराज राजभण्डारीले नामकरण गरेका हुन्। यो वनस्पति मुस्ताङमा संकलन गरिएको हो। यसको काण्डका रौंको संरचना लोफिओलेपिस निशिओकामा भन्दा फरक देखिएको उल्लेख छ।
लोफिओलेपिस निशिओका वनस्पतिको प्रचलित नाम होइन। यो सिर्सियम निशिओकाको सिनोनिम अर्थात् उपनाम हो। संसारभरिको वनस्पतिको नाम उपलब्ध हुने वेबसाइट प्लान्ट्स अफ द वर्ल्ड अनलाइन र इन्टरन्याशनल प्लान्ट नेम्स इन्डेक्स दुवैमा लोफिओलेपिस निशिओका भेराइटी सञ्जीव-राईई वा सिर्सियम निशिओका भेराइटी सञ्जीव-राईई समावेश छैन। यसको अर्थ अन्तर्राष्ट्रिय स्तरमा यो स्वीकृत भइनसकेको वा अस्वीकृत नाम हो। यसैले होला, नेपालबाटै सन् २०२२ मा प्रकाशन भएको प्लान्ट्स अफ नेपाल (जिम्नोस्पर्म्स एन्ड एन्जिओस्पर्म्स) मा पनि समावेश छैन। यसकारण पंक्तिकारले नेपालीको नाममा नामकरण भएको सूचीमा लोफिओलेपिस निशिओका भेराइटी सञ्जीव-राईई समावेश नगरेको हो।
अब वनस्पति नामकरणतर्फ नै लागौं। व्यक्तिको नामबाट वनस्पतिको वैज्ञानिक न्वारान गर्ने क्रममा पछिल्लो पटक २०७९ र २०८१ सालमा निर्मल पुर्जा र संगीता राजभण्डारीको नामबाट पनि नामकरण भएको छ। यी बाहेक नेपालमा नपाइने एक प्रजातिको नाम एक नेपाली वैज्ञानिकको नामबाट राखिएको छ। यस लेखमा त्यही नयाँ प्रजातिबारे चर्चा गरिंदै छ।
एपोनिमी र एपोनिम
कुनै व्यक्ति वा वस्तुको नामबाट जीवको वंश, प्रजाति वा वस्तु, स्थान, रोग आदि नामकरण गरिने प्रक्रियालाई एपोनिमी भनिन्छ। यस प्रक्रियाबाट राखिने नामलाई एपोनिम भनिन्छ।
नेदरल्यान्ड्सको नेचरलिस बायोडाइभर्सिटी सेन्टरबाट प्रकाशन हुने पर्सूनिया जर्नल को भोलम ४८ (२४ जनवरी २०२२)मा ‘फ्रम क्रेडल टु ग्रेव ? अ ग्लोबल हटस्पट एन्ड न्यू स्पेसिस अफ द जिनस लोबारिया डिस्कभर्ड इन द हिमालयज् एन्ड हेङ्दुवान माउन्टेन्स ’ शीर्षकको लेखमा नेपालका वनस्पति वैज्ञानिकको नाममा एक अर्को एपोनिम थपिएको छ। उक्त एपोनिम हो, ‘लाइकेन’ अर्थात् झ्याउ समूहमा थपिएको ‘लोबारिया देवकोटीई’। यस प्रजातिको लाइकेन अहिलेसम्म नेपालमा पाइएको छैन।
यसको नामकरण डा. शिव देवकोटाको नामबाट गरिएको हो। उनले लोबारिया वंशकै अर्को प्रजाति लोबारिया पिन्डरेन्सिस्मा उच्चकोटिको अनुसन्धान गरेकाले उनको सम्मानमा नामकरण गरिएको जनाइएको छ। स्वीट्जरल्यान्ड, चीन र हङकङका पाँच संस्थामा आबद्ध चार वैज्ञानिकले देवकोटाको नामबाट लाइकेनको नामकरण गरी उनलाई सम्मान गरेका हुन्। यो सम्मान नेपाली वैज्ञानिकहरूलाई हालसम्म दिइएका सम्मानभन्दा यस अर्थमा फरक छ कि, यो प्रजाति नेपाल बाहिरबाट रिपोर्ट गरिएको छ। लाइकेन अनुसन्धानकर्मी नेपाली वैज्ञानिकहरूमध्ये यस्तो सम्मान पाउने देवकोटा पहिलो हुन्।
लोबारिया पिन्डारेन्सिस्को अवलोकन गर्दै शिव देवकोटा।
त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा स्नातकोत्तर (सन् २००३) गरेका देवकोटाले स्वीट्जरल्यान्डको बर्न विश्वविद्यालयबाट सन् २०१७ मा इकोलोजी र इभोलुशन विषयमा विद्यावारिधि गरेका छन्। उनले देशका विभिन्न जिल्लामा पुगेर करीब २० वर्षदेखि जंगली च्याउ, लाइकेन र यार्सागुम्बाका विभिन्न विधामा अनुसन्धान गरिरहेका छन्। यस अवधिमा विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय जर्नलमा उनका तीन दर्जनभन्दा बढी लेख प्रकाशन भएका छन्। उनले नेपालका लागि केही नयाँ प्रजाति पनि पत्ता लगाएका छन्।
देवकोटाले देशभित्र विभिन्न समुदायमा लाइकेनको प्रयोग, नेपालबाट संकलन गरिने लाइकेनको अन्तर्राष्ट्रिय व्यापार र त्यसबाट उठेको राजस्वको विश्लेषण पनि गरेका छन्। यसका साथै, उनले लाइकेन र जंगली च्याउहरूको संरक्षण, पारिस्थितिक भूमिका र वैज्ञानिक समुदायमा यसको महत्त्वबारे राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा विभिन्न माध्यम मार्फत उजागर गरेका छन्।
के हो लाइकेन?
लाइकेनलाई नेपालीमा झ्याउ भनिन्छ। पश्चिम नेपालतिर यसलाई झुलो, तारे र बुधना पनि भनिन्छ। पूर्वतिर राई, लिम्बूहरूले याडवेन भन्छन्। हामी लेउ (एल्गी)सँग परिचित छौं। एल्गी पानीमा, चिसो र ओसिलो ठाउँमा रहन्छ। सुक्खामा यो बाँच्न सक्दैन। अधिकांश एल्गी स्वतन्त्र रूपमा जीविकोपार्जन गर्छन्। केही एल्गी भने ढुसी (फंगस्)सँग सहजीवितामा रहन्छन्, अर्थात् मिलेर बाँच्छन्।
एल्गी र फंगस् आपसमा यसरी मिलेर बस्छन् कि तिनीहरू छुट्टिए भने जीवित रहनै सक्दैनन्। यी दुई नङ र मासु जसरी मिलेर रहनेलाई लाइकेनाइज्ड एल्गी भनिन्छ। ट्रेबक्सिया, सिम्बायोक्लोरिस, एस्ट्रोक्लोरिस, ट्रेन्टेपोल्हिया, नोस्टोक, साइटोनेमा आदि लाइकेनाइज्ड एल्गीहरू हुन्।
फंगस् अर्थात् ढुसी पानी, जमीन जतासुकै हुन्छ। यसमा हरितकण नहुने भएकाले अन्य बिरुवा जसरी सूर्यको प्रकाशको उपस्थितिमा आफ्नो भोजन आफैं बनाउन सक्दैन। यसले अरू जीव वा वस्तुबाट आहारा लिन्छ। मरेका बोटबिरुवा, जनावरको अंग, पात, काठ, माटो आदिबाट पोषण लिन्छ। खाना प्राप्त गर्न यसले हाइफी (साना धागो जस्ता भागहरू) फैलाउँछ र ती हाइफी उक्त वस्तुभित्र पस्छन्। यी हाइफीले एन्जाइम निकालेर खाना सडाउँछन् र त्यसको रस सोस्छन्। केही फंगस्ले वनस्पतिको जराको टुप्पामा रहेर जमीनबाट आवश्यक पदार्थ सोस्न मद्दत गर्छन्। केही फंगस् परजीवी हुन्छन्।
लाइकेनाइज्ड एल्गी र फंगस्बाट लाइकेन बन्छ। यो अत्यन्त संवेदनशील जीव हो। यो अक्सर प्रदूषित वातावरणमा बाँच्न सक्दैन। यसमा एल्गी भित्रपट्टि हुन्छ। एल्गी नसुकोस् भनेर बाहिरबाट फंगस्ले ढाकेको हुन्छ। लाइकेन पानीभित्र बाँच्न सक्दैन। केही लाइकेन कहिलेकाहीं पानीले ढाकिने ठाउँ वा नदी, झरना, तालको किनारामा रहन सक्छ। यसले वायुमण्डलमा भएको नाइट्रोजन ग्यासलाई बिरुवाले उपयोग गर्न सक्ने रूपमा रूपान्तर गर्छ। यसबाट माटोको उर्वराशक्ति बढ्छ। नाइट्रोजन माटोको मुख्य पोषक तत्त्व हो।
लाइकेनको मुख्य शरीरलाई थालस भनिन्छ। थालसका आधारमा लाइकेन तीन किसिमका हुन्छन्- क्रुस्टोज, फोलिओज र फ्रुटिकोज। क्रुस्टोज चट्टान वा रूखका बोक्रामा हत्तपत्त उप्काउन नसकिने गरी चपक्क टाँसिएको हुन्छ। फोलिओज पातहरू जस्तो देखिन्छ। यसको माथिल्लो र तल्लो सतह फरक देखिन्छ। फ्रुटिकोज चाहिं झार जस्तो देखिन्छ र प्रायः ठाडो वा झुन्डिएर रहने लहरा जस्तै हुन्छ।
फोलिओज प्रकृतिको लाइकेन हो, लोबारिया। यो शब्द ल्याटिन भाषाको ‘लोबस’ बाट आएको हो। लोबसको अर्थ हुन्छ– खण्ड वा टुक्रा। लोबारिया वंशको लाइकेनको थालस लोब अर्थात् खण्ड खण्ड परेको हुन्छ। यसैका आधारमा यस वंशको नाम लोबारिया राखिएको हो।
पहिले लोबारिया वंशमा १०० जति प्रजाति सूचीकृत थिए। तर सन् २००० पछि गरिएको आणविक वंशवृक्षीय अध्ययनबाट यस वंशमा करीब दुई दर्जन प्रजाति मात्र छन्। पहिले लोबारियाभित्र सूचीकृत अधिकांश प्रजातिको आनुवंशिक संरचना अन्य वंशसँग मिल्ने पाइएपछि तिनलाई अन्य वंशमा स्थानान्तरण गरिएको छ।
संसारभर लाइकेनका २०-२२ हजार प्रजाति छन्। लाइकेनको वंश (जिनस)को नाम फंगस्बाट राखिन्छ। यसको अर्थ, फंगस्को वंशको पहिचानबाट लाइकेन वंशको नाम निर्धारण गरिन्छ। लाइकेनको वंशको पहिचान फंगस्बाट हुन्छ। यो भनेको फंगस्को वंश नै लाइकेनको वंश हो। वंशपछि लेखिने शब्द (एपोनिम) चाहिं प्रजाति बुझाउने शब्द हो।
लोबारिया देवकोटीई
लोबारिया वंशमा थालस प्रायः ठूलो र पाता जस्तो आकारको हुन्छ। यो रूखको बोक्रा वा चट्टानमा टाँसिएको हुन्छ। थालसको सतह प्रायः झुर्रिएको वा खाल्डो परेको देखिन्छ। जुन हरियो-खैरो रङको हुन्छ। लाइकेनको प्रजातिको रङ एल्गीको आधारमा निर्धारण हुन्छ। अर्थात् एल्गी कस्तो रङको हुन्छ, लाइकेनको रङ पनि झन्डै त्यस्तै हुन्छ।
लोबारिया वंशको एक नमूना चीनको युनान प्रान्तको हेङ्दुवान पर्वत शृंखलाबाट संकलन गरिएको थियो। त्यो नमूना वैज्ञानिक जगत्का निम्ति नयाँ थियो। चीन र स्वीट्जरल्यान्डका चार वैज्ञानिकले उक्त नमूनाको वैज्ञानिक नामकरण नेपाली वनस्पतिविद् डा. शिव देवकोटाको सम्मानमा लोबारिया देवकोटीई गरे। यससँगै २३ जना नेपालीको नाममा वनस्पतिका ३६ वटा वैज्ञानिक एपोनिम बन्न पुगेको छ।
लोबारिया देवकोटीई। तस्वीर सौजन्य: एम.एक्स. याङ
नेपालमा अहिलेसम्म लोबारिया देवकोटीईको नमूना संकलन भएको छैन। यसको थालस हरियो, चिरिएको, चाउरिएको पात जस्तो देखिन्छ। खाल्डा जस्ता डोबहरू देखिन्छन्। यी डोब कुनै जनावरले बालुवा वा हल्का ओसिलो माटोमा टेक्दा परेको खोपिल्टा जस्ता हुन्छन्।
यसको थालस १० देखि २० सेमीसम्म चौडा हुन्छ। थालसको मुनिको भाग पहेंलो-सेतो वा हल्का खैरो हुन्छ। यसमा जरा जस्ता देखिने राइजिनहरू हुन्छन। राइजिनको लम्बाइ दुईदेखि चार मिलिमिटरसम्म लामो हुन्छ। लोबारिया भनेको वास्तवमा फंगस् हो। लोबारिया फंगस्को पेल्टिजिरेसी परिवार अन्तर्गतको एक वंश हो।
लोबारिया देवकोटीई भनेको फंगस्को लोबारिया वंश र ग्रीन एल्गी अन्तर्गत सिम्बिओक्लोरिस रेटिकुलाटा प्रजातिबाट बनेको लाइकेन हो। यो लोबारिया फंगस् र सिम्बिओेक्लोरिस रेटिकुलाटाको प्राकृतिक गठबन्धन हो। डिभिजन अफ लाइफ साइन्स एन्ड सेन्टर फर चाइनिज मेडिसिन, द हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका वैज्ञानिक एम. एक्स. याङ र अरूहरूले विश्वमै लाइकेनको नयाँ प्रजाति पत्ता लगाई यसको नाम शिव देवकोटाको सम्मानमा राखेर उनलाई वनस्पति क्षेत्रमा अमर बनाइदिएका छन्।