भिक्षु-भिक्षुणी देख्यो कि तिनमा बुद्धका गुण तत्काल खोजिहाल्नु र केही कमीकमजोरी देख्नासाथ ठूलै ‘इस्यू’ भेटे जसरी कोकोहोलो मच्चाउनु मनासिब होइन।
गौतम बुद्धको जीवन चरित्रबारे सामान्य जानकारी रहेको र त्यही स्तरमा बौद्ध समाज देखेका आधारमा कतिपय व्यक्ति अमिल्दो टिप्पणी गरिरहेका हुन्छन्। उनीहरू भन्छन्, “बुद्धको आदर्श भन्नु घरपरिवार छाडेर हिंड्नु हो, तर बौद्धहरू वैवाहिक जीवन बिताउँछन् र घरसम्पत्ति जोडेर बस्छन्। ठूल्ठूला व्यापारी बौद्ध नै छन्। बुद्धको उपदेश अनुसार जीवन निर्वाह गर्ने कोही छैनन्।”
तर यो दृष्टिकोण भ्रमपूर्ण छ। यहाँ बुझ्नुपर्ने कुरा के भने, बुद्ध र बौद्ध एउटै होइनन्। सामान्यतः जीवन-जगत्को कुरा बुझिसकेको र जन्म-मृत्युको चक्रबाट मुक्त भइसकेकालाई बुद्ध भनिन्छ। बुद्धका अनुयायीका रूपमा रहेका भिक्षु-भिक्षुणी र उपासक-उपासिका चाहिं बौद्ध हुन्। बौद्ध धर्मदर्शनको अध्ययन र साधना गर्न घरबार छाडेर संघको सदस्यका रूपमा प्रव्रजित भएकालाई भिक्षु-भिक्षुणी भनिन्छ भने घरगृहस्थमै रहेर बौद्ध धर्मको साधना गर्नेलाई उपासक-उपासिका भनिन्छ। उपासक-उपासिकाहरू घरगृहस्थमा रहेर व्यापार-व्यवसाय चलाउनुका साथै आयआर्जनमा पनि लागिरहेका हुन्छन्।
भिक्षु-भिक्षुणीको काम विहारमा रहेर बौद्ध धर्मदर्शनको अध्ययन तथा साधना गर्नु हो। उनीहरूलाई व्यापार-व्यवसाय तथा आयआर्जन गर्ने स्वीकृति छैन। त्यसैले विहारको सञ्चालन तथा भिक्षु-भिक्षुणीका लागि आवश्यक खर्चको जोहो उपासक-उपासिकाले गरिरहेका हुन्छन्। शीलवान् भिक्षु-भिक्षुणीको साधनाबाट उपासक-उपासिकाले धर्मदेशनाका रूपमा फाइदा लिन्छन्। त्यस बापत श्रद्धा सहित दान गर्छन्। दानलाई तृष्णाक्षय र पुण्यप्राप्तिको उपायका रूपमा लिइन्छ। बुद्धले भिक्षु-भिक्षुणी तथा उपासक-उपासिकाको जीवन निर्वाहका लागि धेरै कुरा निर्दिष्ट गरेका छन्। बौद्ध जगत्मा बुद्ध, धर्म र संघलाई त्रिरत्न भनिन्छ। त्रिरत्नमा संघको प्रतीकका रूपमा भिक्षु-भिक्षुणीलाई लिइन्छ। यस अनुसार यो वर्गको महत्त्व ठूलो छ।
घरबार छाड्नुपर्ने, यौनसम्बन्ध राख्न नहुने तथा विवाह गर्न नहुने नियम भिक्षु-भिक्षुणीका निम्ति हो, गृहस्थ उपासक-उपासिकाका लागि होइन। बुद्धले सबैलाई शील पालना गर्न जोड दिएका छन्, तर भिक्षु-भिक्षुणी र गृहस्थका लागि सबै शील समान रूपमा निर्दिष्ट गरिएका छैनन्। गृहस्थले पञ्चशील र रुचि भएको खण्डमा अष्टशील पालना गर्ने हो। भिक्षु-भिक्षुणीले त १० शीलका अतिरिक्त अनेकौं नियम पालना गर्नुपर्छ। बौद्ध समाजमा यी सामान्य कुरा हुन्। तर बाहिरबाट सरसर्ती देख्नेहरूले नबुझेर सबैलाई एउटै डालामा राखिदिंदा अर्थको अनर्थ भइदिन्छ।
प्रव्रजित र गृहस्थमा भेद किन?
प्रव्रजित हुनुको तात्पर्य समाजबाट आफूलाई अलग पार्नु र निश्चित उद्देश्यका लागि दीक्षित हुनु हो। यस अर्थमा भिक्षु-भिक्षुणी अध्ययन तथा साधनामा समर्पित असामाजिक व्यक्तिहरू हुन्। साधनामा समर्पित हुनुपर्नेहरू अन्य जञ्जालमा फसे उद्देश्य पूर्ति असम्भवप्रायः भइदिन्छ। सोही कारण धर्मको अध्ययन तथा साधनामा तल्लीन भइरहन सक्नेलाई बौद्ध जगत्मा विशेष स्थान दिएर मान-सम्मान गरिन्छ। घरगृहस्थी त्यागी प्रव्रजित भई भिक्षु-भिक्षुणी बन्नु स्वयंका लागि त गौरवको कुरा बन्छ नै, तिनको दर्शन मात्रले गृहस्थहरूको चित्त समेत प्रसन्न र प्रमुदित भइदिन्छ।
प्रव्रजितहरू घरपरिवार तथा समाजबाट टाढिए पनि जिम्मेवारीबाट मुक्त हुँदैनन्। उनीहरूसँग पनि अनेकौं कमीकमजोरी हुन्छन्। तिनले गर्ने अभ्यास ती कमजोरी हटाउनकै लागि हो। तर थोरै समयमा सबै कमीकमजोरी हटाइसक्ने र बुद्ध गुण प्राप्त गरिसक्ने बुझाइ कल्पना मात्र हो। तसर्थ भिक्षु-भिक्षुणी देख्यो कि तिनमा बुद्धका गुण तत्काल खोजिहाल्नु र केही कमीकमजोरी देख्नासाथ ठूलै ‘इस्यू’ भेटे जसरी कोकोहोलो मच्चाउनु मनासिब होइन।
भिक्षु-भिक्षुणी भए पनि मार्गफलमा आबद्ध भइनसकेकाहरूमा अन्य विकार जस्तै अहं पनि बाँकी हुन सक्छ। तसर्थ उपासक-उपासिकाबाट दान लिने कुरा पनि उनीहरूको दैनिक खर्च व्यवस्थापनसँग मात्र नभएर त्यो अहंकार हटाउने विषयसँग पनि जोडिएको छ। दानले त्यो अहं क्षय गराउन सघाउँछ। अर्कातिर दान नदिंदा र कमाइ मात्र गरिरहँदा उपासक-उपासिकामा पनि लोभ र तृष्णा बढिदिन सक्छ। दान दिने बानी गर्दा त्यस्तो तृष्णा कम हुँदै जान्छ। यस हिसाबले दान दुवै पक्षका लागि उत्तिकै महत्त्वपूर्ण छ। सोही कारण बौद्ध समाजमा दान धर्मसाधनाकै एउटा पक्षका रूपमा छ।
बाहिरबाट बौद्ध समाजको आलोचना गर्नेहरूमा अर्को प्रवृत्ति पनि छ- भिक्षु-भिक्षुणीमा मात्र नभएर साधारण बौद्धहरूमा समेत बुद्धका गुण खोज्ने र त्यो नपाए असन्तुष्टि पोख्दै नकारात्मक टिप्पणी गर्ने। यस सन्दर्भमा पनि के बुझ्नुपर्छ भने, बुद्ध र बौद्ध दुई फरक विषयवस्तु हुन्। बौद्ध धर्मदर्शन अनुसार बोधिसत्त्व भई बोधिचर्या गर्दै सम्पूर्ण पारमीहरू पूरा गरी क्लेशावरण र ज्ञेयवरण हटाई बुद्धत्वलाभ गरेकालाई बुद्ध भनिने हो।
बुद्धको शिक्षा अनुसरण गर्छु भनी जीवनदृष्टि त्यतैतिर लगाउने जनसमुदाय चाहिं बौद्ध हो। सबै बौद्धको स्तर एउटै हुँदैन। धर्मपालनाका दृष्टिले कतिपय अवस्थामा कतिको विचलन देखिन सक्छ। तर यो नितान्त व्यक्तिगत कुरा हो। त्यसैले सबै बौद्धहरूमा साक्षात् बुद्धको खोजी गर्नु आफैंमा अतिवादी दृष्टिकोण वा बौद्ध समाजलाई हेर्ने हचुवाको हेराइ मात्र हो।
भिक्षु-भिक्षुणीका सवालमा अलि फरक दृष्टिकोण अपनाउन सकिएला। बुद्धले देखाएको बाटोमा लाग्न र सोही अनुसार शिक्षा-साधना गर्न घरगृहस्थमा बाधा हुने भनेर उनीहरूले सबथोक त्यागेका हुन्छन्। तर उनीहरू पनि गन्तव्य पुगिसकेका नहुन सक्छन्। यत्ति हो, उनीहरूले गृहस्थीले भन्दा अलि बढी शील पालना गर्न र अध्ययन-अध्यापनमा समय दिन सक्छन्। तर बुद्धले दिएका धर्म सम्बन्धी शिक्षाको जानकार हुनु नै सम्पूर्ण प्राप्ति होइन। यसबाट पण्डित होइएला। बुद्धको उद्देश्य पण्डित तथा विद्वान्को उत्पादन गर्नु होइन।
बौद्ध धर्मको अभ्यास दुई प्रकारबाट गरिन्छ। निर्दिष्ट शील पालना गर्दै धर्मको अध्ययन-साधना मार्फत प्रज्ञा प्राप्त गरी जीवन-जगत्लाई बुझ्नु अर्हत्व पाउनु हो। यसलाई श्रावकयान भनिन्छ। यसका लागि अनेकौं तह पार गरेर शुरूमा मार्गफलका रूपमा श्रोतापन्न हुनुपर्छ। श्रोतापन्नको तात्पर्य बौद्ध धर्मदर्शनमा बल्ल सोझिनु हो। त्यसपछिका चरण अझ बेग्लै छन्। अर्को मार्ग हो, बोधिसत्त्व भई सबैको हितमा समर्पित हुने र अन्त्यमा स्वयं गौतम बुद्ध जस्तै सम्यक् सम्बुद्ध हुने। यो श्रावकयानभन्दा बढी कठिन र दीर्घकालको साधना हो। यसलाई बोधिसत्त्वयान वा महायान पनि भनिन्छ।
श्रोतापन्न वा बोधिसत्त्वको अवस्थामा पुगिनसकेका भिक्षु-भिक्षुणीलाई पृथक् जन भनिन्छ। यस्ता व्यक्तिको अनुहार वा बानीव्यहोरामा बुद्धका आदर्शहरू खोजेर बस्नु ठूलै भ्रममा पर्नु हो। यस्तो दृष्टिकोण लिएर बुद्ध तथा बौद्धका सम्बन्धमा निर्माण गरिने विचार अन्ततः भ्रमोत्पाद मात्रै हुन्छ।