घरभित्रै र सरकारी स्कूलमा समेत अंग्रेजी भाषाको आकर्षण बढिरहेका वेला नेपाली भाषा जोगाउन जापानी नागरिकले जस्तो आफ्नो भाषाप्रति माया र गर्व गर्ने परिवेश सिर्जना गर्नुपर्छ।
श्याम राना मगर
‘के नेपाली भाषा मर्छ? शायद!’
भाषाबारे लेखक वसन्त थापाको लेखको शीर्षक हो, यो। २०८१ वैशाख १ मा कान्तिपुर मा प्रकाशित थापाको लेखमा एकातिर प्रभावशाली बन्दै गएको अंग्रेजी भाषा, त्यसमाथि बृहत्तर समाज नै अंग्रेजीको पछि दगुर्दा नेपाली भाषाको ओरालो यात्रा कसरी तीव्र बन्दै छ भनेर चर्चा गरिएको छ।
लेखक थापाको भाषाबारे चिन्तन-मन्थन घतलाग्दो त छँदै छ, नेपाली भाषाको दयनीय अवस्थालाई सुधार्ने जमर्को गर्न ढिला भइसकेको पनि बोध गराउँछ। नेपालीभाषी समुदायबीचमै नेपाली भाषा किन दयालाग्दो बन्दै गएको होला?
भाषावैज्ञानिक जर्ज भान ड्रिमको पनि नेपाली भाषाको बेहाल अवस्थाबारे यस्तै चिन्ता छ। गत वर्ष पोखरामा भएको कुराकानी मा बढ्दै गएको विदेशगमनले पनि नेपाली भाषा जोगाउने चुनौती थपिएको ड्रिमको भनाइ थियो। अहिलेकै गतिमा नेपालीको विदेशगमन यथावत् रहेमा निकट भविष्यमै नेपाली भाषा मर्न सक्ने भाषावैज्ञानिक ड्रिमको आकलन छ।
हुन पनि कैयौं अंग्रेजी शब्द नेपाली जस्तै भइसके। पेटबोलीमै घुसिसकेका अंग्रेजी शब्दका मूल नेपाली शब्द गायब हुँदै गएका छन्। जस्तो- कसैसँग माफी माग्नुपरे आजभोलि ‘क्षमा पाऊँ’ अथवा ‘माफ गर्नुहोस्’ भन्दा पहिले मुखबाट ‘सरी’ आइहाल्छ। छुस्स अंग्रेजी नघुसाई नहुने प्रवृत्ति मौलाइसकेको छ।
के नेपालीमा जस्तै अन्य भाषामा पनि अंग्रेजी मिसिंदै गएको छ त?
पक्कै, विश्वव्यापी बन्दै गएको अंग्रेजीको अतिक्रमण अन्य भाषामा पनि बढिरहेको छ। संसारको जुन कुना पुगे पनि बोल्न मिल्ने, थोरैधेरै अंग्रेजी जसले पनि बुझिहाल्ने, लेख्य लिपि पनि सरल। यसै अंग्रेजी भाषाको प्रभुत्व बढेको होइन! नेपाली जस्तै हजारौं वर्ष पहिले चल्तीमा आइसकेका कैयौं प्राचीन भाषालाई कान्छो भाषा अंग्रेजीले अत्याएकै छ।
विदेशगमन बढिरहेको नेपालमा त नेपाली भाषालाई अंग्रेजीले अत्याउन थालेको छ भने आप्रवासन बढिरहेका देशमा कस्तो होला? अहिले संसारमा धेरै आप्रवासन बढिरहेका देशमा जापान पनि एक हो। जापानमा अंग्रेजी भाषाको प्रभाव कस्तो होला? यसैबारे चर्चा गरौं।
आठ महीनाअघि मैले पनि नेपाल छोडेको थिएँ। जापान छिरेदेखि जापानी भाषा छिचोल्न नसक्दा भोग्नुपरेका हैरानी भनिसाध्य छैन। कति वेला आफैंलाई प्रश्न गर्छु, जापानीहरूले किन अंग्रेजी भाषा कम प्रयोग गरेका होलान्?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विदेशी नागरिकले केही सहयोग चाहिएमा अंग्रेजीमै संवाद गर्न सक्छन्। विमानस्थल कर्मचारीदेखि होटलसम्म पुर्याउने ट्याक्सी चालकले अंग्रेजीमै सहजीकरण गरिदिन्छन्। विमानस्थलबाट पुग्नुपर्ने गन्तव्य पहिल्याउन त्यति गाह्रो छैन। प्रायः लेखपढ गर्न जान्नेहरू सामान्य अंग्रेजीमा संवाद गरिदिन्छन् नेपालमा।
जापान भने अलि भिन्न छ। जापानका अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएदेखि सबैभन्दा पहिले आइपर्ने समस्या नै भाषाको हो। उसै पनि नौलो ठाउँको वस्तुस्थिति थाहा नहुँदा अलमलमा परिन्छ। झन् दोहोरो सञ्चारको माध्यम भाषै नमिल्दा कस्तो होला?
सुरक्षा जाँचपास गरेर यात्रु प्रतीक्षा कक्षसम्म आइपुग्दा नै भाषाको समस्याले पिरोल्छ। अर्थात भाषा समस्याको पहिलो अध्याय विमानस्थल ओर्लेदेखि नै शुरू हुन्छ।
जापानको अध्यागमन कार्यालयको तथ्यांक अनुसार सन् २०२४ मा जापानमा अस्थायी र लामो अवधिको बसाइका लागि अनुमति पाउने विदेशीको संख्या ३७ लाख ६८ हजार ९७७ पुगेको छ। जुन आँकडा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो। सन् २०२५ को पूवार्द्धतिर आइपुग्दा यो आँकडा बढ्दै गएको छ।
जापानमा जुन अनुपातमा विदेशी आप्रवासी बढ्दै छन्, त्यही अनुपातमा भाषा, संस्कृति पनि आदानप्रदान हुन सकेमा बसाइ सहज हुन सक्थ्यो। तर जापानी त्यतातिर लागेका छैनन्, अर्थात् अंग्रेजीतिर आकर्षित छैनन्। आफ्नै भाषालाई माया गर्छन्। जसले गर्दा अंग्रेजी बोल्ने आप्रवासी भए पनि जापानी भाषा बुझ्ने कोशिश गर्नै पर्छ।
जापान आउनुअघि लागेको थियो- सामान्य अंग्रेजी संवाद गर्न सकिहाल्छु, चली त हाल्छ नि! तर जापान आइपुगेपछि थाहा भयो, परिस्थिति भिन्नै रहेछ। अल्पकालीन बसाइँमा आएका विदेशीले पनि धेरै ठाउँमा ठक्कर खानुपर्दो रहेछ। सबैभन्दा पहिलो जुधाइ भने जापानी भाषाबाटै शुरू हुन्छ।
अहिले म जापानी भाषाको सिकारु हुँ। दैनिक व्यवहारमा ठोक्किन आइपुगेका जापानीसँग प्रश्न गर्छु, “तिमीहरू किन अंग्रेजी भाषा बोल्दैनौ?”
उनीहरू विना हिचकिचाहट भन्छन्, “मलाई आउँदैन, त्यसैले बोल्दिनँ।”
हाम्रो परिवेश भने बेग्लै छ। हामी ‘अंग्रेजी भाषामा राम्रोसँग संवाद गर्न सक्दिनँ’ भन्नै संकोच मान्छौं।
मैले अंंग्रेजीमा कुराकानी गर्न खोज्दा जापानी स्ट्रक्चरल इन्जिनीयर बान डोले सहजै भने, “मलाई अंग्रेजी बोल्न आउँदैन।”
इन्जिनीयर जस्तो पढालेखा मान्छेसँग कुराकानी गर्न अनुवादकको सहारा लिनुपर्यो। कुराकानी गरुन्जेल अलिकति भनकसम्म पनि आउन दिएनन् कि उनलाई अंग्रेजी नजानेकामा थकथकी छ। यता म भने जापानी भाषा नजान्दा व्यर्थै लज्जा मानिरहेको थिएँ।
नेपालमा भने अंग्रेजी विना केही गर्नै सकिन्न भन्ने भाष्य बनाइएको छ। विश्वको शक्तिशाली राष्ट्रमा गणना हुने जापानलाई अंग्रेजी भाषा बाधक नबनेको यथार्थ हो।
जापानीहरू किन बोल्दैनन् अंग्रेजी?
सन् २०१७ मा प्रकाशित लिआङ मोरिटाको अध्ययन ले एशिया महाद्वीपमै जापानीको अंग्रेजी भाषाको कमजोरी दोस्रो नम्बरमा रहेको उल्लेख छ। जापानमा रहेको नेपाली समुदायले समेत जापानीको अंग्रेजी भाषाको ज्ञानलाई लिएर ख्यालठट्टा गर्छ। खानपिन गरेको वेला त प्राथमिक तहको शिक्षा पार नगरेका नेपालीले पनि जापानीलाई अंग्रेजी पढाउन सक्ने दाबी गर्छ।
इन्टरन्याशनल सर्भे सोसाइटीले सन् २०१७ मा गरेको सर्वेक्षणमा जापानमा पनि १३ प्रतिशत जनसंख्याले अन्य भाषाको पनि ज्ञान राख्ने गरेको उल्लेख छ। अहिले लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकमा जापानी नागरिक कियोले नेपाली भाषामै भिडिओ बनाइरहेका छन्। जापानमा बस्ने नेपालीका लागि बनाएका जानकारीमूलक भिडिओ रुचाइएका पनि छन्।
अर्थात् जापानीहरू अन्य भाषामा त्यत्तिकै दखल राख्न सक्छन्, जति अन्य देशका नागरिकले सक्छन्। स्वदेशभित्रै भने उनीहरूलाई जापानी भाषा बाहेक अन्य भाषाको ज्ञान आवश्यक पर्दैन। अंग्रेजी जान्नुपर्छ भन्ने बाध्यता छैन, आकर्षण पनि देखिंदैन।
यति हुँदाहुँदै जापानले आउँदो पुस्तालाई अंग्रेजीमा अब्बल बनाउन खोजिरहेको देखिन्छ। जापानमा किशोरकिशोरीले अंग्रेजी भाषा सिकिरहेको खबर सञ्चारमाध्यममा आउने गरेको छ। विदेशीका लागि प्रकाशित हुने पत्रिका गिजिन पोस्ट मा अंग्रेजी भाषा अध्यापन गराउने शिक्षकको माग गरेको विज्ञापन देख्दा पनि अंग्रेजी भाषालाई पनि ध्यान दिन थालेको संकत मिल्छ।
२५ वर्षअघि जापानी प्रधानमन्त्री केइजो ओबुचीले जापानमा अंग्रेजी दोस्रो प्रयोग हुने भाषा बन्ने घोषणा गरेको खबर द गार्जियन मा छापिएको थियो। जापानमा उक्त घोषणाको खूब विरोध पनि भएको थियो। केही हदसम्म देशका लागि फाइदाजनक देखिए पनि दीर्घकालीन रूपमा घातक हुने भन्दै विरोध गरिएको थियो। त्यति वेला विरोध गर्दा ‘अंग्रेजी उत्तर होइन’ भनिएको थियो।
त्यति हुँदाहुँदै जापानमा समयसापेक्ष अंग्रेजी भाषा सिकाइका लागि सरकारले विभिन्न रणनीतिक योजना अघि सारिरहेको छ। तैपनि प्रधानमन्त्री ओबुचीले घोषणा गरेको २५ वर्षपछि पनि जापान अंग्रेजी भाषा सिक्ने/सिकाउनेभन्दा भिन्न दौडमा छ।
बर्सेनि जन्मदर घटिरहेको जापानले काम गर्ने जनशक्तिको चरम अभाव खेपिरहेको छ। जापानले जुन दरमा विदेशी कामदार भित्र्याइरहेको छ, त्यसका आधारमा अंग्रेजी भाषाले प्राथमिकता पाउला भन्न सकिन्छ। जापानी नागरिकको आफ्नो भाषाप्रतिको लगावले भने तत्काल अंग्रेजीको प्रभाव बढ्ने संकेत देखाउँदैन।
जापानी भाषाको चर्चा गर्नुको ध्येय नेपाली भाषाको सुदृढीकरणका लागि जापानी जुक्ती कामलाग्दो हुन सक्छ कि भन्ने नै हो। नेपाली भाषा मजबूत बनाउन गर्नुपर्ने काम त धेरै छन्। त्यसबारे भाषा-विमर्शले बाटो देखाउला नै। नेपाली भाषा जोगाउने नेपालीभाषीले नै हो। जापानीको सिको गर्न सकियो भने आउँदा दिन नेपाली भाषाका लागि पनि पक्कै सुखद हुनेछ।
यी पनि पढ्नुहोस् :