अन्तर्वार्ता पत्रकारिताको अभिन्न अंग हो, तर अन्तर्वार्ता जान्दैमा समग्र पत्रकारिता बुझिन्छ भन्ने भ्रम पाल्नु हुँदैन।
भानुभक्त आचार्य
टेलिभिजन अन्तर्वार्ताको विधामा एक जमानाका ‘स्टार’ हुन्, सञ्चारकर्मी विजयकुमार। टेलिभिजनमा उनको अन्तर्वार्ता आउनुअघि नेपाल टेलिभिजनमा प्रस्तुत हुने अन्तर्वार्ता निरस र पट्यारलाग्दा हुन्थे। विजयकुमारले नै टेलिभिजनमा सक्रिय शैलीको चाखलाग्दा अन्तर्वार्ताको शृंखला शुरू गरे, जसको नाम थियो ‘दिशानिर्देश’। उनले यस अन्तर्वार्ता कार्यक्रमलाई करीब दुई दशकसम्म विभिन्न टेलिभिजनबाट चलाए।
जब २०७३ पुस १९ मा टेलिभिजनबाट यूट्यूब च्यानलमा आइपुगे ‘दिशानिर्देश टीभी ’ का नाउँले, उनको जादूगरी अन्तर्वार्ताको रङ फिका लाग्न थाल्यो। हुन सक्छ, समसामयिक घटनाक्रमलाई बुझ्ने दृष्टिकोण यथार्थपरक भएन वा नयाँ मिडिया प्लेटफर्मका प्रयोगकर्ताको स्वभावलाई राम्ररी बुझ्न सकेनन्। फलतः प्रधानमन्त्री केपी शर्मा ओलीसँगको पछिल्लो वार्तालाप लगत्तै विजयकुमार हिजोका आफ्नै प्रशंसकबाट आलोचनामा परे।
जर्नालिज्म : प्रिन्सिपल एन्ड प्राक्टिस का लेखक टोनी हार्कपले भनेका छन्- अन्तर्वार्ता पत्रकारिताको आत्मा हो। पत्रकारिताको शुरू भएकै दिन अन्तर्वार्ता जन्मिएको हो र पत्रकारिता रहुन्जेल यो रहन्छ।
तर अन्तर्वार्ताकार विजयकुमारले प्रधानमन्त्रीसँग लिएको पछिल्लो अन्तर्वार्ताले पत्रकारिताको पहरेदारीको भूमिकामा योगदान गर्दैन। किनभने सत्ता वा शक्तिमा रहेका व्यक्तिलाई जनताप्रति जवाफदेह बनाउनेभन्दा आफ्नो व्यक्तिगत जनसम्पर्क सृदृढ पार्न खोजे जस्तो देखिन्छ।
रेडियो, टेलिभिजन हुँदै अहिले नयाँ मिडियामा आइपुग्दा कैयौं सञ्चारकर्मीले अन्तर्वार्ता लिइरहेका छन्, दिइरहेका छन्। पत्रकारिताका दृष्टिकोणले सबै अन्तर्वार्ताकार र अन्तर्वार्ता त चर्चा गर्नलायक पनि हुँदैनन्, सकिंदैन पनि। अर्को, कुनै एक अन्तर्वार्ताकारबारे लेखै लेखेर टिप्पणी गर्नु उपयुक्त पनि हुँदैन। तर विजयकुमार फरक छन्, उनी कुनै जमानाका ‘स्टार’ अन्तर्वार्ताकार हुन्।
त्यसैले यस लेखमा विजयकुमारले प्रधानमन्त्री ओलीसँग लिएको अन्तर्वार्ता, सामाजिक सञ्जालमा ओइरिएका आलोचनात्मक टिप्पणी र पत्रकारिताका प्राध्यापकलाई सिकाउने यत्न गरिएको पडकास्टमा उनले गरेका तर्क-वितर्कबारे चर्चा गरिएको छ।
प्रधानमन्त्रीसँगको अन्तर्वार्ता
विजयकुमारले प्रधानमन्त्री ओलीसँग लिएको एक घण्टा ४३ मिनेट ५९ सेकेन्ड लामो वार्तालाप साउन १ मा ‘दिशानिर्देश टीभी’ को यूट्यूब च्यानलमा प्रकाशित भयो। यसमा संविधान, सरकार, विदेश नीति, पूर्व राष्ट्रपति विद्या भण्डारीको नेकपा (एमाले) राजनीतिमा फिर्ती, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका विषयमा अलि बढी नै अनौपचारिक कुराकानी गरिएको छ।
अन्तर्वार्ताको शुरूआतमै आफू सामान्यतः ‘दुई किसिमका अन्तर्वार्ता गर्दिनँ’ भनेर विजयकुमार कुराकानी शुरू गर्छन्- एउटा चिथोर्ने शैलीको अन्तर्वार्ता र अर्को, हो हजुर मात्र भन्ने शैलीको अन्तर्वार्ता। त्यसपछि उनी अन्तर्वार्ता शुरू गर्छन्। यसलाई तेस्रो किसिमको अन्तर्वार्ता भन्न सकिन्छ, किनकि यसमा अति चाप्लुसी झल्किन्छ।
प्रधानमन्त्रीले कुनै व्यावसायिक पत्रकारलाई अन्तर्वार्ता दिएको भन्दा पनि आफ्नै कार्यकर्तासँग गरेको कुराकानी जस्तो लाग्थो, अनावश्यक विशेषण र चाप्लुसीपूर्ण भाषाको प्रयोगले। प्रधानमन्त्रीलाई कुनै प्रश्नले बिझाउला कि भन्नेमा प्रश्नकर्ता सचेत भए जस्तो देखिन्छ। हिजोका विजयकुमारले यस्तो अन्तर्वार्ता गर्लान् भनेर उनका अधिकांश दर्शकले सोचेकै थिएनन् होला। यस्तो अन्तर्वार्ताले पत्रकारितामा कुनै योगदान गर्दैन।
अन्तर्वार्ताका बीचबीचमा असान्दर्भिक कुरा, हल्लाखल्ला, तेस्रो व्यक्तिको प्रवेश लगायतले प्रधानमन्त्रीसँगको कुराकानीकै गरिमा घटाएको महसूस हुन्छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको अन्तर्वार्ताको दुई मिनेट २१ सेकेन्डमा एक जना प्रधानमन्त्रीका लागि चिया लिएर आइपुग्छन्। त्यो गतिविधि ‘रेकर्डेड’ भिडिओमा स्पष्ट देखिन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको अन्तर्वार्ताको स्क्रिनसट।
त्यसपछि अन्तर्वार्ताकारले आफूलाई पनि चिया ल्याइदिन आग्रह गर्छन्। यो गतिविधि यूट्यूबमा लाइभ प्रसारण गरिएको कार्यक्रम थिएन। यसलाई सम्पादन गरेर हटाउन सकिन्थ्यो। अझ कतिपय प्रसंगमा अन्तर्वार्ताकार धेरै बोल्ने, अनावश्यक सन्दर्भ जोडेर आफ्नो विद्वत्ता, दार्शनिकता छाँट्ने र प्रधानमन्त्रीलाई ‘हो’ वा ‘होइन’ भन्न लगाउनेमा केन्द्रित बनेका छन्।
यसमा धेरै नकारात्मक टिप्पणी आएका छन्। यो लेख तयार पार्दासम्म तीन हजार ४४२ प्रतिक्रिया पुगेका थिए, जसमा अधिकांश नकारात्मक छन्। जस्तो कि ‘विजयजी, तपाईं ओशो तपोवन गएर बस्नुस्, तपाईंको खरो पत्रकारिता सकिएछ’ देखि ‘यो प्रायोजित अन्तर्वार्ता हो, तपाईं पूरै लम्पसार पर्नुभएछ’ भन्ने सम्मका प्रतिक्रिया छन्। अझ कतिपय प्रतिक्रियामा त अपाच्य शब्द राखेर गाली समेत गरिएको छ।
अन्तर्वार्ता कि टक शो?
हजारौं आलोचनामध्ये अन्तर्वार्ताकारलाई सबैभन्दा घोचेको प्रतिक्रिया हो, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक लेखनाथ पाण्डेको। लेखनाथ लेख्छन्, ‘होइन, यी विजयकुमार दाजुले अन्तर्वार्ता लिएका हुन् कि दिएका हुन्, प्रधानमन्त्रीलाई?’
पत्रकारिता पढाउने मान्छेले नै टिप्पणी गरेपछि विजयकुमारले पनि प्रतिक्रिया जनाएका छन्। कसैको नाम नलिई ‘मास्टरसाब’ लाई इंगित गरेर प्रत्युत्तरस्वरूप ५५ मिनेट ४९ सेकेन्ड लामो भिडिओ बनाएका छन्, ‘मिडिया मास्टर क्लास’ भनेर। यसमा उनले प्रधानमन्त्री ओलीसँग गरिएको कुराकानी ‘टक शो’ हो, अन्तर्वार्ता होइन भन्ने तर्क पेश गरेका छन्। साथै, प्रधानमन्त्रीसँगको वार्तालापमा आफूले बढी बोलेको स्विकार्दै ‘टक शो’ भएका कारण त्यसलाई स्वाभाविक मान्नुपर्ने तर्क गरेका छन्।
त्यसलाई प्रमाणित गर्न अन्तर्वार्ताकारले इन्टरनेट वा च्याटजीपीटीको सहारा लिएर जोसुकैले हेर्न सक्छ भन्दै दुई वटा ‘स्क्रीनशट’ देखाएका छन्। त्यसमा अन्तर्वार्तामा प्रस्तोता सामान्यतः ३० प्रतिशत बोल्छ भने टक शोमा ५० प्रतिशत बोल्छ भन्ने देखाइएको छ।
अन्तर्वार्ताकार विजयकुमारले सोधेकै प्रश्न मैले पनि च्याटजीपीटी र गूगललाई सोधेको थिएँ। दुवैले अन्तर्वार्ताको प्रस्तोताले सामान्यतः २० प्रतिशत बोल्ने गरेको जवाफ दिए।
च्याटजीपीटी र गूगलले दिएको जवाफ।
अझ चाखलाग्दो कुरा त विजयकुमारले प्रधानमन्त्री ओलीसँग लिएको अन्तर्वार्ताको पहिलो ४५ सेकेन्डमा भनेका छन्, “नमस्कार सम्माननीय प्रधानमन्त्रीज्यू, सबैभन्दा पहिला म समयका लागि आभारी छु। अचानक संयोगवश यस अन्तर्वार्ताका लागि मौका मिल्यो। फेरि आभारी छु।”
यसको मतलब उनले अन्तर्वार्ता नै लिएका हुन्। तर वार्तालापका क्रममा उनको विद्वत्ता, दर्शन लगायत थपिंदा यो न अन्तर्वार्ता जस्तो भयो न त पडकास्ट र टक शो। तथापि उनले यस कार्यक्रमलाई टक शो दाबी गरे।
कस्तो मास्टर क्लास?
दिशानिर्देश टीभी यूट्यूब च्यानलको ब्यानरमा अंग्रेजीमा ‘स्टोरिज् एन्ड सोसाइटी’ (कथाहरू र समाज) लेखिएको छ। आठ वर्षअघि शुरू भएको यस च्यानलमा शुरूआती वर्षमा विजयकुमारले अन्य टीभी च्यानलका लागि लिएका अन्तर्वार्ता हाल्ने गरिएको थियो। पछि उनले पडकास्ट भन्दै केही भिडिओ एपिसोड सार्वजनिक गरे। त्यसपछि संवाद वा अन्तरसंवाद शीर्षकमा कुराकानीको शृंखलालाई निरन्तरता दिएका छन्।
प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्तापछि नयाँ शृंखला शुरू गरेका छन्, मिडिया मास्टर क्लास। यस पडकास्टमा विजयकुमारले भनेका छन्, “स्क्रीनमा किन यति धेरै बोल्छु? म इन्टरभ्यू लिने मान्छे होइन, थिइनँ, हुन्नँ। म टक शो होस्ट हुँ। अन्तर्वार्ता अतिथिकेन्द्रित हुन्छ। टक शो होस्ट भनेको के हो? होस्टले आफ्नो व्यक्तित्वको प्रतिनिधित्व गरेर एक प्रकारको सम्पर्क कायम गर्ने प्रयास गर्न सक्छ। अन्तर्वार्ता लिन जोसुकैले सक्छ, किनभने उनीहरूसँग स्मार्टफोन छ। ठूलो वा सानो होइन, तर यी दुई सञ्चालक फरक हुन्।”
सञ्चारकर्मी विजयकुमारको ‘मास्टर क्लास’ भिडिओको स्क्रिनसट।
विजयकुमारले त्रिविका उपप्राध्यापक लेखनाथलाई आफूले बढी बोल्नुका कारणबारे जवाफ दिन खोजेका छन्। तर अन्तर्वार्तामा दुनियाँका नाम लिंदा विजयकुमारले त्रिविको पत्रकारिताका ‘मास्टर’ को नाम किन भन्न सकेनन्? त्रिविमा पत्रकारिता पढाउने प्राध्यापक उसै कम छन्। त्यसमा उनको यूट्यूब टक शोमा प्रतिक्रिया दिने अझै सीमित होलान्। नाम नलिएर ‘मास्टरजी’ को गोपनीयता बचाउन खोजेको कि हियाउन?
याद गर्नुपर्ने के हो भने ‘कन्स्पिरेसी थ्योरी’ ले राजनीति त चल्छ, तर पत्रकारिता चल्दैन। त्यस्तै, किसुनजी वा कुनै रिम्पोचेको सिद्धान्तले पत्रकारिता बुझिन्न। पत्रकारिता बुझ्न पत्रकारिताकै सिद्धान्तसँग अभ्यस्त हुनुपर्छ।
पत्रकारिताले चौथो अंगको प्रतिनिधित्व गर्छ। यसको मतलब हो, सत्ता र शक्तिमा रहेकाहरूलाई जनताप्रति जवाफदेह बनाउनु। त्यसका लागि अन्तर्वार्ताले अत्यन्तै रचनात्मक भूमिका खेल्छ। तर सत्ताधारी मानिसलाई प्रिय लाग्ने प्रश्न सोधेर चौथो अंगको भूमिका निर्वाह गर्न सकिन्न। अन्तर्वार्ताका नाउँमा भीआईपीसँग संगत बढाएर वा बालुवाटार र सिंहदरबारका भोजभतेरमा सामेल भएर सही अर्थमा पत्रकारिता गरेको मानिंदैन।
पार्टी र सत्तारूढ दलबाटै आलोचना भइरहेको समयमा प्रधानमन्त्री ओलीलाई आफ्नो सफाइ पेश गर्न मौका दिने र शुरूमै कुनै आलोचनात्मक प्रश्न नसोध्ने पृष्ठभूमिमा भएको अन्तर्वार्तालाई धेरै दर्शकले ‘प्रायोजित’ भनेर आलोचना गरेका छन्। त्यसबाट बच्न उनी एउटा ‘मास्टर’ को मुखुन्डो अघि सारेर दुनियाँलाई पढाउन, आफ्नो शैली र अन्तर्वार्ताको प्रतिरक्षा गर्न कस्सिए जस्ता देखिन्छन्। जे होस्, ‘मास्टर क्लास’ को पहिलो एपिसोडले उनका प्रशंसक वा दर्शकको शंका निवारण गर्न सकेको छैन।
अन्त्यमा, कुनै समयमा एउटा अन्तर्वार्ताको शैलीमा पारंगत भइयो वा अहिलेको समयमा ‘भाइरल’ भइयो भन्दैमा समग्र पत्रकारिता बुझ्न सकिन्न। अझ स्पष्ट शब्दमा अन्तर्वार्ता पत्रकारिताको अभिन्न अंग हो, तर अन्तर्वार्ता जान्दैमा समग्र पत्रकारिता बुझिन्छ भन्ने भ्रम पाल्नु हुँदैन। प्रमसँगको अन्तर्वार्ता मुन्तिर एक जना टिप्पणीकर्ताले भनेका छन्- ‘विगत जतिसुकै सौर्यवान् भए पनि त्यसले वर्तमानको बोझ उचाल्न सक्दैन।’ हरेक अन्तर्वार्ताकारले यति बुझे पुग्छ।