बुटवलबाट प्रदेश राजधानी दाङ सरेसँगै प्राथमिकताबाट हटेको लुम्बिनी जोड्ने पर्यटन मार्ग दशकसम्म अधुरै रहेकाले पर्यटकले धूलो र हिलोमा ओहोरदोहोर गर्नुपरिरहेको छ।
खडेरीले मधेशमा धानको बेर्ना सुक्दै छ। छेउकै लुम्बिनीका बासिन्दाले भने तीन पटक रोपाइँ गरेका छन्। त्यो पनि खेतमा होइन, सडकमा। “सरकारको ध्यान जान्छ कि भनेर यो असारमा पनि तीन पटक सडकमा धान रोप्यौं,” बुटवल उपमहानगरपालिका-११, नहरपुरका राम थापा भन्छन्, “तर सरकारले देखेन।”
थापाले भने जस्तै बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकलाई सहज हुने बेलवास-बेथरी पर्यटन मार्ग बनाउन सरकारले १० वर्षदेखि चासो दिएको छैन। पर्यटन मार्गले नै पर्यटकलाई सास्ती दिइरहेको छ। बुटवलबाट लुम्बिनी घुम्न छोटो बाटो रोज्ने आन्तरिक तथा बाह्य पर्यटक हिलो र धूलोका कारण समस्या झेलिरहेका छन्।
लुम्बिनी गेटबाटै शुरू हुने पर्यटन मार्ग नहरपुर, मोतीपुर हुँदै बेथरीसँग जोडिन्छ। तर बेलवासदेखि मोतीपुरसम्मकै सडक निर्माण अलपत्र छ। पुरानो पक्की सडक भत्काएर भताभुंग पारिएको छ। घाम लाग्दा धुलाम्य हुन्छ। सवारीसाधन गुड्दा उड्ने धूलोले हिंडिसक्नु हुँदैन। आसपासका घर समेत धुलाम्य बन्छन्।
पानी पर्दा त्यही धूलो हिलोमा परिणत हुन्छ। भत्काएको सडकमा हिलो जमेर हिंड्नै सकिंदैन। पानी जम्दा खेत जस्तै बन्छ। त्यसैले वेलावेला नहरपुरवासी सडकमै धान रोपेर विरोध जनाउँछन्। त्यति गर्दा पनि निर्माणको जिम्मा लिएको लुम्बिनी प्रदेश सरकारलाई कुनै फरक नपरेको थापा गुनासो गर्छन्।
नयाँ बनाउन भनी भत्काइएको सडकमा निर्माण सामग्री असरल्ल छन्। यसले दुर्घटना समेत बढाइरहेको छ। वर्षौंसम्म सडक अलपत्र परेपछि मोतीपुरकी रिता भट्टराई लगायतको टोली पटक पटक सडक पूर्वाधार कार्यालयमा पुगेको थियो।
तर सडक पूर्वाधार कार्यालयले वास्तै गरेन। सरकारी बेवास्ता र ठेकेदारको लापरवाहीले १० वर्षसम्म सडक बनेको छैन। “हिलो र धूलोको सास्ती छँदै छ, दुर्घटना पनि निकै बढेका छन्,” भट्टराई भन्छिन्, “बरु हामीलाई पहिलेकै सडक ठीक थियो।”
बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकलाई सहज रूपमा ओहोरदोहोर गराउन बेलवास-बेथरी पर्यटन मार्ग बनाउन शुरू गरिएको हो। यो पर्यटन मार्ग २१ किलोमिटर लामो छ। यो मार्ग प्रयोग गरेर बुटवलबाट लुम्बिनी पुग्दा १० किलोमिटर दूरी छोटिन्छ।
तर तीन वर्षमा सक्नेगरी १० वर्षअघि तामझाम सहित शुरू भएको मार्ग कहिले कसरी सकिने हो भन्ने टुंगो छैन। बरु निर्माणमा समस्या भएको भन्दै अहिले लुम्बिनी प्रदेश सरकार ठेक्का तोड्ने तयारीमा छ।
पश्चिमबाट लुम्बिनी घुम्न आउने पर्यटकलाई बुटवलबाट सीधै बुद्ध जन्मस्थल लैजान र ल्याउन आर्थिक वर्ष २०७२/७३ मा बेलवास-बेथरी पर्यटन मार्ग निर्माण शुरू गरिएको थियो। शुरूआतमा रणनीतिक सडक अन्तर्गत दुई अर्ब ८० करोड रुपैयाँको लागतमा संघीय सरकारले निर्माण अघि बढाएको थियो।
देश संघीयतामा गएपछि संघीय सरकारले हात झिक्यो। संघीय सरकार मातहतको सडक डिभिजन कार्यालय, बुटवलले २०७५ सालमा यो मार्ग लुम्बिनी प्रदेश सरकारलाई सुम्पेको थियो।
अहिले सडक पूर्वाधार कार्यालय, रुपन्देहीले पर्यटन मार्गको रेखदेख गरिरहेको छ। तर कहिले सडक क्षेत्र विवाद, कहिले बजेट अभाव त कहिले निर्माण कम्पनीले काम नगर्दा पर्यटन मार्ग निर्माण अलपत्र छ। “एकातिर बजेट छैन। अर्कातिर पेश्की लगेको बजेटबाट पनि निर्माण कम्पनीले कामै गर्दैन,” सडक पूर्वाधार कार्यालयका प्रमुख लालु गिरी भन्छन्।
पर्यटन मार्ग निर्माणको जिम्मा लिएको लुम्बिनी प्रदेश सरकारले शुरूआतका दुई वर्ष प्राथमिकताको सूचीमा राखेको थियो। तर बिस्तारै प्रदेश सरकारले बजेट छुट्याउन छोडेपछि निर्माण अघि बढेन। बुटवलबाट प्रदेश राजधानी दाङ सारिएसँगै यो सडक पनि प्राथमिकतामा पर्न छोडेको पूर्व भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीको भनाइ छ। “प्रदेश राजधानी बुटवलमा छँदासम्म प्रदेशको नमूना सडक बनाउने भन्ने थियो। त्यति वेला विवाद भएका घर भत्काउने, विद्युत्, टेलिफोन लगायतका पोल सारेर निर्माणको काम अगाडि बढाएका थियौं,” पूर्व मन्त्री चौधरी भन्छन्, “राजधानी जब दाङ सर्यो, पर्यटन मार्गको प्राथमिकता हरायो।”
लुम्बिनी सरकारले पर्यटन मार्गका लागि आर्थिक वर्ष २०७६/७७ मा ३० करोड रुपैयाँ छुट्याएको थियो। त्यही वर्ष कुलो व्यवस्थापन गर्न मात्र एक करोड रुपैयाँ विनियोजन गरेको थियो। तर पछिल्ला तीन आर्थिक वर्षमा प्रदेश सरकारले पर्यटन मार्गका लागि बजेट विनियोजन गरेको छैन।
संघीय सरकारले योजना सुम्पिए पनि आवश्यक रकम नदिएकाले पर्यटन मार्गका लागि बजेट विनियोजन गर्न नसकिएको लुम्बिनीका पूर्वाधार विकासमन्त्री भूमीश्वर ढकालको भनाइ छ। “बहुवर्षीय योजना भएकाले अझै पनि बजेट आयो भने काम गर्न सकिन्छ,” केन्द्रसँग बजेट मागिएको बताउँदै ढकाल भन्छन्, “संघीय सरकारले योजना मात्र थोपर्ने होइन, बजेट पनि पठाउनुपर्छ।”
पर्यटन मार्गको दुवैतिर लस्करै बिजुलीका १७७ वटा पोल थिए। सबै हटाएर पर्यटन मार्गलाई असर नपर्नेगरी २२३ नयाँ पोल गाडिएका थिए। त्यति वेला स्थानीय बासिन्दासँग छलफल गरेर काम गरिएको पूर्व मन्त्री चौधरीको भनाइ छ। “हरेक विवादमा स्थानीयको बैठक बसालेर पर्यटन मार्ग अगाडि बढाएका थियौं,” उनी भन्छन्।
३५ करोड भुक्तानी, सडक अधुरै
पर्यटन मार्गको बुटवल-बेताहनी साढे आठ किलोमिटर क्षेत्रको ठेक्का बज्रगुरु कान्छाराम जेभीले पाएको थियो। कुलो र दुवैतिरको सडक जोड्दा १६ किलोमिटर हुन्छ। यो सडकखण्डको निर्माण तीन वर्षमा सक्नेगरी २०७३ सालमा ६० करोड ९१ लाख ९० हजार ३८३ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
अहिलेसम्म निर्माण कम्पनीले १० करोड ५३ लाख रुपैयाँ पेस्की सहित ३५ करोड ३५ लाख ७५ हजार रुपैयाँ लगेको छ। तर २०७६ असार मसान्तसम्म बनाइसक्नुपर्ने पर्यटन मार्ग अहिलेसम्म बनेको छैन। बरु विभिन्न बहाना बनाएर निर्माण कम्पनीले पटक पटक म्याद थपेको छ। पछिल्लो पटक थपिएको म्याद २०८१ चैतमा सकिएको छ।
त्यसयता भने न सरकारले म्याद थपेको छ न त निर्माण कम्पनीले काम नै गरेको छ। निर्माण कम्पनीले काम नगरेपछि सम्झौता तोड्ने प्रक्रियामा लागेको सडक पूर्वाधार कार्यालय, रुपन्देहीका वरिष्ठ इन्जिनीयर कृष्ण पण्डित बताउँछन्। अहिले पेस्की रकम जफत गर्ने प्रक्रिया चलिरहेको र त्यसपछि ठेक्का सम्झौता तोडिने पण्डितको भनाइ छ। “पेस्की रकम जफत गर्न नबिल ब्यांकलाई पत्राचार गरेका थियौं। तर नबिल ब्यांकले नगरेपछि राष्ट्र ब्यांकलाई पत्राचार गरेका छौं,” सूचना अधिकारी समेत रहेका वरिष्ठ इन्जिनीयर पण्डित भन्छन्, “पेस्की रकम जफत भएपछि ठेक्का प्रक्रिया तोड्नेछौं।”
तीन खण्डमा निर्माण गर्न ठेक्का दिइएको बेलबास-बेथरी पर्यटन मार्गको दुई खण्डको काम सकिएको छ। दुवै खण्ड गरेर अहिलेसम्म ८५ प्रतिशत निर्माण सकिएको पूर्वाधार कार्यालयले जनाएको छ। तेस्रो खण्डको काम भने जस्ताको तस्तै छ।
समयमै काम नसकिंदा लागत पनि बढेको छ। दुई अर्ब ८० करोड रुपैयाँ अनुमान गरिएको मार्गको लागत बढेर अहिले तीन अर्ब ५० करोड पुगेको छ। पर्यटन मार्गमा सडकपेटी र साइकल लेनको काम बाँकी छ।
नहर सुन्दरीकरण र हरियाली प्रवर्द्धनका काम पनि अधिकांश क्षेत्रमा बाँकी नै छ। योजना अनुसार पर्यटन मार्ग निर्माण गर्न थप एक अर्ब रुपैयाँ चाहिने भएको छ। “अहिले अलपत्र मार्ग मात्रै सकौं भनेका थियौं, तर यसका लागि समेत बजेट आएन। समस्या भयो,” पूर्वाधार विकास कार्यालयका प्रमुख गिरी भन्छन्।
योजना एकातिर, निर्माण अर्कातिर
नहरको दायाँ-बायाँ चार-चार लेनको सडक छ। पर्यटन मार्ग निर्माण हुनु पूर्व नहरमा पर्यटकलाई डुंगा सयर गराउने र सडकमा सवारीमा राखेर गुडाउने योजना सुनाइएको थियो। तर निर्माण सकिएको स्थानमा पनि डुंगा चलाउन मिल्ने पूर्वाधार बनेको छैन।
सडकको बीचबाट बग्ने नहर।
सडक आसपास हरियाली बनाउने योजना थियो। आसपासमा हरियाली प्रवर्द्धन गर्नेगरी कुनै संरचना बनाइएको छैन। एकातिर निर्माण नसकिने, अर्कातिर योजना अनुसार पर्यटन मार्ग नबनेपछि पर्यटन व्यवसायी पनि खिन्न छन्। “एकातिर योजना अनुसार पूर्वाधार निर्माण नहुनु र अर्कातिर समयमा निर्माण नसक्नु दुवैमा सरकारको कमजोरी छ,” लुम्बिनी टूर एन्ड ट्राभल्स एशोसिएशनका उपाध्यक्ष कुलचन्द्र पाण्डे भन्छन्, “पर्यटन मार्गको जसरी प्रचार गरियो, त्यस अनुसार निर्माणमा ध्यान दिइएन।”
बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रभागमा राखेर मुलुककै पर्यटन प्रवर्द्धन गर्ने राष्ट्रिय लक्ष्य छ। त्यो लक्ष्य पूरा गर्न पनि पर्यटन मार्ग तत्काल निर्माण गर्नुपर्ने होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी माधवकुमार नेपाल बताउँछन्। “राष्ट्रिय लक्ष्य अनुसार पश्चिम नेपालको प्रमुख शहर बुटवलबाट पर्यटकलाई सीधै लुम्बिनी लैजान निर्माण थालिएको पर्यटन मार्ग अलपत्र छाड्नु हुँदैन,” नेपाल भन्छन्, “तीनै तहका सरकारको समन्वयमा तत्काल काम अगाडि बढाउनुपर्छ।”