अन्तरजातीय प्रेमविवाह गरेका दलित युवकलाई गैरदलित युवतीको परिवारले अपहरण र बलात्कारसम्मको कसूरमा मुद्दा लगाउने डरलाग्दो प्रवृत्ति देखिएको छ।
मोबाइलमा असार २३ गते बिहान एकाएक प्रहरी कार्यालयबाट सन्देश आयो, “तपाईंको छोराले एक जना केटीलाई अपहरण गरेको छ।”
यति सुन्ने बित्तिकै दाङको लमहीकी पार्वती रसाइली झस्किइन्। के गर्ने, कसो गर्ने भन्ने मेसै पाइनन्।
केहीबेर सम्हालिंदै छोरा रविलाई फोन गरिन्। तर रविको मोबाइल ‘स्वीच्ड अफ’ रहेछ।
हतपत माइली छोरीलाई सुनाइन्। वैदेशिक रोजगारका लागि साउदी अरबमा रहेका श्रीमान्लाई भने खबर गर्न नसकेको उनी बताउँछिन्। “उहाँलाई गाह्रो होला भनेर फोन गर्न सकिनँ,” पार्वती भन्छिन्।
हतारिंदै वडा प्रहरी कार्यालय, लमही पुगिन्। प्रहरीले ‘रवि घरमा आएको छ कि छैन’ भनेर सोधपुछ गरे। पार्वतीले आफ्नो सम्पर्कमा नभएको जवाफ फर्काइन् र रविबारे प्रहरीलाई नै सोधिन्।
प्रहरीले बताएपछि बल्ल थाहा पाइन्, रवि त प्रेमिकालाई लिएर फेरि भागेका रहेछन्। “मैले त प्रहरीमा गएपछि मात्र थाहा पाएँ, केटी लिएर भागेको रहेछ,” उनी थकथकाउँदै सुनाउँछिन्।
छोरासँग सम्पर्क भएमा प्रहरी कार्यालयमा ल्याइदिने वाचा गरेर घर फर्किइन्।
पार्वतीले छोराका कारण प्रहरी कार्यालय जानुपरेको यो पहिलो पटक होइन। पति राजकुमार विदेशमा छन्। जेठी छोरी पनि विवाह गरेर विदेशतिरै छन्। माइली छोरी नेपालगन्जमा अध्ययनरत छिन् भने कान्छो रवि पढाइ छोडेर फर्निचर उद्योगमा काम गर्दै थिए। त्यसैले घरपरिवारमा आउने झैझमेला पार्वतीले नै सल्टाउनुपर्छ।
छोराको अन्तरजातीय प्रेमका कारण नौ वर्षदेखि मुद्दामामिला झेल्दै आएको उनी बताउँछिन्। गाउँकै गैरदलित युवतीसँगको प्रेमसम्बन्धका कारण सिंगो परिवारले नै सास्ती खेप्दै आएको पार्वतीको भनाइ छ। “नौ वर्ष भयो, छोराले प्रेम गरेका कारण कहिले प्रहरीमा, कहिले अदालत गइराखेका छौं,” उनी भन्छिन्।
रवि विरुद्ध बलात्कार, साइबर अपराध र अपहरण तथा शरीर बन्धकको कसूरमा उजुरी परेको छ। रवि असार अन्तिम साता हिमालखबरको सम्पर्कमा आए।
असार २२ मा २२ वर्षीय रवि गाउँकै २२ वर्षीया युवतीलाई लिएर भागे। दुवै जनाले मन्जुरीमै विवाह गरेको रवि सुनाउँछन्। युवतीको परिवारले भने यो तथ्यलाई अस्वीकार गर्दै आएको छ।
रवि भने परिवारले स्विकार नगर्ने देखिएपछि भागेकाे बताउँछन्। “हाम्रो जात मिल्दैन। उन (युवती)को परिवारले स्विकार्दैन। केही उपाय नलागेपछि भाग्यौं,” रवि भन्छन्।
युवती पनि परिवारले नस्विकारेपछि भागेको बताउँछिन्। “हामी एकअर्का विना नबाँच्ने भइसकेका छौं। मेरो परिवारले फेरि उस (रवि)लाई उजुरी हालिहाल्छ,” उनी भन्छिन्, “बरु अब विवाह गरौं भन्ने सल्लाह गरेर भागेका हौं।”
त्यस दिन उनले दिदीलाई फेसबूक मेसेन्जरमा ‘रविसँग गएँ, मलाई नखोज्नू’ भनेर मेसेज गरेकी थिइन्। त्यसपछि मोबाइल अफ गरेर बसेकी उनी परिवारले छुट्याउने र रवि विरुद्ध मुद्दा लगाउने डरले भागेको सुनाउँछिन्।
उनी सानैदेखि गीत गाउँथिन्। एकदिन अर्कै विद्यालयमा गायन प्रतियोगितामा सहभागी हुन गएकी थिइन्। रवि पनि हेर्न गएका थिए। उनीहरूबीच त्यहीं पहिलो भेट भयो। दुवै साथी बने।
रविका साथीहरूको डान्स क्लब थियो। रवि नृत्य गर्थे भने उनी गीत गाउँथिन्। दुवैको रुचि मिलेपछि क्लब आउन थालिन्। यसरी सरकारी विद्यालयमा पढ्ने रवि र निजी विद्यालयमा पढ्ने उनको भेटघाट बाक्लियो।
एकदिन रविले प्रेमप्रस्ताव राखे, उनले पनि स्विकारिन्। त्यति वेला उनी १४ वर्षकी मात्र थिइन्।
गाउँमा भेटघाट बाक्लिन थालेपछि केटीको परिवारले पनि चाल पायो। त्यसपछि रविलाई बोलाएर अलग बस्न चेतावनी दियो। बालिकाको परिवारको दबाब बावजूद अलग हुन नसकेको रविको भनाइ छ। “उनको परिवारले मलाई बोलाएर नभेट्न भनेको हो, तैपनि भेटिरह्यौं,” उनी भन्छन्।
बलात्कार र अपहरणको कसूर!
२०७४ फागुन १३ को साँझ दुवै जनाले लमही बजार नजीकै आँप बगैंचामा भेट्ने सल्लाह गरे। गाउँमा दिउँसो भेटघाट गर्न समस्या रहेकाले साँझमा भेट्ने सल्लाह गरेको उनीहरू सुनाउँछन्। अँध्यारो भइसकेको थियो। दुवै जना बसेर कुराकानी गरिरहेको वेला चौकीदारले देखे। राति किन बगैंचामा आएको भनेर केरकार गरे।
त्यसपछि नजीकै रहेका प्रहरी आए। उनीहरूले पनि केरकार गरे। दुर्व्यवहार गर्न खोजे। केहीबेर चर्काचर्की भयो। त्यसपछि रविलाई छोडिदिए भने बालिकालाई प्रहरी कार्यालय लगे। बिहान उनको परिवारलाई खबर गरियो।
एकरात प्रहरी हिरासतमा बसेकी उनले सबै कुरा परिवारजनलाई भनिन्। प्रहरीले पो दुर्व्यवहार गरेको सुनाइन्। परिवारजनले केही सुनेनन्, बरु रवि विरुद्ध जबर्जस्ती करणीमा उजुरी दिएको उनी बताउँछिन्। “मेरो कुरा कसैले सुनेन। मलाई प्रहरीले दुर्व्यवहार गरेको हो भनेकी हुँ। तर रविलाई बलात्कारको उजुरी हाल्न लगायो,” उनी भन्छिन्।
त्यसको भोलिपल्ट फागुन १४ मा रवि विरुद्ध दाङ जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणीको उजुरी दर्ता भयो। रविलाई पक्राउ गरियो। त्यसपछि जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्यो, जति वेला रवि १४ वर्षका मात्र थिए।
त्यसपछि पार्वतीले अदालत धाउने क्रम चलिरह्यो। समाजको डर थियो। छोरालाई के होला भनेर मनमा पीर पनि थियो। “श्रीमान् विदेशमा हुनुहुन्थ्यो। छोरीहरू सानै थिए। एक्लै अदालत धाउन थालें,” उनी भन्छिन्।
पाँच महीनापछि २०७५ असार १२ मा जिल्ला अदालतका न्यायाधीश हेमन्तराज रावलको एकल इजालासले रविलाई सफाइ दियो। प्रेमसम्बन्ध भए पनि जबर्जस्ती करणी नभएको भन्दै अदालतले सफाइ दिएको थियो। “अदालतको फैसलाले राहत मिल्यो,” पार्वती भन्छिन्।
अदालतबाट सफाइ पाए पनि रविको पढाइ छुट्यो। मुद्दा लाग्ने बित्तिकै स्कूलले निकालेको थियो। बलात्कारको आरोप लागेकाले अर्को विद्यालय जान पनि अप्ठ्यारो भयो। पार्वतीलाई पनि सामाजिक तथा आर्थिक रूपमा सकस भयो। “गाउँ-समाजमा मुख देखाउन नमिल्ने भयो। पाँच महीना रोएरै काटें,” उनी भन्छिन्।
मुद्दामामिला भएपछि पार्वतीले छोरालाई पनि सम्झाइबुझाइ गरिन्। उनीहरूलाई एकअर्काबाट टाढा राख्न बर्दिया पठाइन्। त्यहाँ रवि फर्निचर उद्योगमा काम गर्न थाले। बालिकालाई पनि परिवारले प्यूठान पठाएको थियो, स्कूल पढ्न।
एक वर्षपछि फेरि दुवै जना फोन सम्पर्कमा आए। फोनमा कुराकानी भएको अर्को दिन भेट्न बोलाएको रवि सुनाउँछन्। “बोलाएपछि म दाङबाट प्यूठान पुगें,” रवि भन्छन्, “भेट भएपछि दुवै रोयौं।”
फेरि प्रेमसम्बन्ध जोडियो। यो चाल पाएपछि बालिकाका परिवारजनले दाङ ल्याएर अर्को स्कूलमा भर्ना गरिदिए। परिवारले अलग हुन दबाब दिए पनि उनीहरूको सम्बन्ध झन् झन् गाढा हुँदै गयो।
२०८० वैशाखमा उनीहरू घरबाट भागे। विवाह गर्न भनेर बर्दियास्थित फुपूको घर पुगेको रवि सुनाउँछन्। किशोरीको परिवारले फेरि प्रहरीमा उजुरी दियो।
एक सातापछि दुवैलाई पक्राउ गरेर बर्दियाबाट दाङ ल्याइयो। उमेर नपुगेको भन्दै प्रहरीले दुवैलाई परिवारको जिम्मा लगायो।
त्यसपछि कक्षा १२ उत्तीर्ण गरेर उनी काठमाडौं आइन्। संगीत अध्ययनमा लागिन्। तैपनि घरमा बस्न सहज भएन। उनका अनुसार परिवारकै सदस्य पनि ‘फलाना जातीको मान्छेकाे पछि लागेको’ भनेर राम्रोसँग बोलचाल गर्दैनथे।
त्यही वेला रविसँग पनि उनको खटपट भयो। त्यो कुरा दिदीले चाल पाइन्।
एकदिन रविले ‘मलाई छोडिस् भने फोटो सार्वजनिक गरिदिन्छु’ भनेर धम्क्याए। दुवैसँग निकटता दर्साउने तस्वीर थिए। रविले तिनै तस्वीर मेसेज गरेर धम्क्याएको उनी सुनाउँछिन्।
त्यही वेला परिवारजनलाई प्रहरीमा उजुरी गर्न सजिलो भयो। २०८१ माघ २३ मा उनले रवि विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिइन्। रविलाई दाङबाट पक्राउ गरेर काठमाडौं ल्याइयो। प्रहरी वृत्त, दरबारमार्गको हिरासतमा २४ दिन बिताएपछि ५० हजार रुपैयाँ धरौटीमा उनी रिहा भए। साइबर अपराध सम्बन्धी मुद्दा जिल्ला अदालतमा विचाराधीन छ।
यसपछि उनीहरू अलग भए। बोलचाल बन्द भयो। हिरासतबाट निस्केपछि रवि काठमाडौंमै बस्न थाले। ‘राइड शेयरिङ’ चलाएर खर्च जुटाइरहेका छन्।
केही समयपछि फेरि दुवै सम्पर्कमा आएको उनीहरू सुनाउँछन्। कुराकानी हुन थाल्यो। अनि उनीहरूले बिहे गर्ने सुर कसे। “अब बिहे गरौं भनेर भागेका हौं,” युवती भन्छिन्।
उनीहरू भागेको थाहा पाएपछि युवतीको परिवारले प्रहरीमा उजुरी दिएको हो। रविको परिवारले भने सुरक्षाको माग गर्दै राष्ट्रिय दलित आयोगमा मौखिक जानकारी गराएको छ।
प्रेमविवाह गर्दा मुद्दा
रवि मात्र होइन, धेरैजसो दलित युवाले गैरदलित युवतीसँग प्रेमविवाह गर्दा अपहरण तथा शरीर बन्धकदेखि बलात्कारसम्मको कसूरमा मुद्दा खेप्नुपरेको छ। यसको अर्को उदाहरण सिरहाको बरहथवा नगरपालिका-४ का सत्येन्द्रकुमार राम (चमार) हुन्।
सत्येन्द्र र बरहथवा-५ की नेहा रौनियारले २०८१ पुस ३ मा जिल्ला अदालत, कपिलवस्तुमा कानूनी विवाह गरे। बिहेपछि दुवै जना काठमाडौं आए। काठमाडौं अध्ययन गरिरहेका सत्येन्द्र ललितपुरमा बस्थे।
विवाह गरेर काठमाडौं आएको थाहा पाएपछि नेहाको परिवारले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा बालविवाहको कसूरमा उजुरी दियो। त्यसपछि प्रहरीले पुस १६ मा दुवै जनालाई पक्राउ गरेर सर्लाही लग्यो। सत्येन्द्रलाई बालविवाहको कसूरमा जिल्ला अदालतमा पेश गर्यो भने नेहालाई परिवारको जिम्मा लगायो। सत्येन्द्र पुस १८ मा ३० हजार रुपैयाँ धरौटी बुझाएर छुटे। जिल्ला अदालतले बालविवाहको मुद्दालाई खारेजी गरिदिएको छ।
परिवारले नेहा फेरि उसैसँग जाने आशंका गर्दै घर बाहिर निस्किनै दिएन। त्यस विरुद्ध सत्येन्द्रले पुस २२ मा सर्वोच्च अदालतमा रिट दायर गरे। माघ २० मा सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले जन्मदर्ताका आधारमा दुवैको उमेर पुगेकाले परिवारले छुट्याउन नहुने आदेश दियो।
नेहालाई सत्येन्द्रसँगै बस्न दिनुपर्ने आदेश गर्दै सर्वोच्चले भनेको थियो, ‘नेहा रौनियारलाई समेत यिनका बुबा सुरेन्द्र साह रौनियारले सत्येन्द्रकुमार रामसँग गरिएको विवाहबाट छुटाउने उद्देश्यले निजलाई घरमा नै राखी निजको श्रीमान्सँग भेटघाट गर्न तथा पारिवारिक जीवन व्यतीत गर्न समेत बाधा-अवरोध पुर्याउने उद्देश्यले बन्धक बनाई निजको संवैधानिक र कानूनी हक समेतमा बाधा पारेको देखियो।’
बाग्लुङका प्रभात बसेलले पनि यस्तै हैरानी खेप्नुपर्यो। बाग्लुङ नगरपालिका-९, तित्याङका प्रभातले गैरदलित युवतीसँग २०७९ फागुनमा बिहे गरे। युवतीको परिवारले स्विकारेन, बरु छुट्याउन खोज्यो। त्यसपछि दुवै भागेर भारत गए।
युवतीको परिवारले ‘स्वीकार गर्छौं’ भनेर नेपाल बोलायो। उनीहरू फर्किएपछि भने युवतीको परिवारले जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा प्रभात विरुद्ध बलात्कार र अपहरण तथा शरीर बन्धकको कसूरमा उजुरी दियो। जेठ ७ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गर्यो।
राइडर एवं यूट्यूबर समेत रहेका प्रभातका पक्षमा सामाजिक सञ्जालमा आवाज उठ्यो। उनलाई अन्याय भएको भन्दै सडकमा प्रदर्शन भयो। संसद्मा समेत उनको पक्षमा आवाज उठ्यो। उनलाई जिल्ला अदालतले जेठ ३२ मा दुई लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दियाे। यस मुद्दामा उनले अदालतबाट सफाइ पाइसकेका छन्।
दलितको अपराधीकरण, कारण र सामाजिक विश्लेषण गरिएको कारागारमा दलित पुस्तकमा २०७९ सालमा कारागारमा कैदी र थुनुवाको संख्या २७ हजार ४४७ रहेकामा दलित समुदायका चार हजार ९४३ कैदी र दुई हजार ६५९ जना थुनुवा रहेको उल्लेख छ।
५० प्रकृतिका अपराधमा जेलमा रहेका दलितमध्ये जबर्जस्ती करणीको मुद्दा खेप्नेको संख्या धेरै छ। जेलमा रहेका चार हजार ९४३ कैदीमध्ये एक हजार ७८५ जना अर्थात् ३६.११ प्रतिशत जबर्जस्ती करणीको मुद्दा खेपिरहेका छन्। अध्ययनको निचोडमा भनिएको छ, ‘प्रायजसो दलित र गैरदलितबीचका अन्तरजातीय प्रेमसम्बन्ध, विवाहमा यस प्रकारका मुद्दाहरू पाइएको छ।’
यस्ता घटनामा अभिभावकले छोरीलाई ललाइफकाइ वा करकापमा पारेर मुद्दा दर्ता गर्न बाध्य बनाउने गरिएको अध्ययनमा देखिएको छ। अन्तरजातीय प्रेमविवाह कसूरमा पैरवी गर्दै आएका अधिवक्ता मोहन सशंकर कानूनमा छिद्र नभए पनि नियत गलत भएकाले दलित युवकले मुद्दा खेप्नुपरिरहेको बताउँछन्। “गैरदलितले दलितलाई स्विकार गर्दैन। त्यसपछि बलात्कार, बालविवाहदेखि अपहरणको कसूर लगाइदिन्छ,” सशंकर भन्छन्, “न्यायसम्म दलित समुदायको पहुँच पनि छैन, जसले गर्दा सजिलै फसिराखेका छन्।”
यस्ता मुद्दामा नेपाल प्रहरीले अनुसन्धान गर्छ। सरकारी वकीलको कार्यालयले अदालतसम्म पुर्याउँछ। समाजले अन्तरजातीय विवाहलाई नस्विकार्ने तथ्य प्रहरी प्रशासनले बुझे पनि बेवास्ता गरिरहेको उनको भनाइ छ। सबैले बुझ्दाबुझ्दै अन्तरजातीय प्रेमविवाह दलितलाई प्रहार गर्ने अस्त्र बनेको उनको जिकिर छ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा पनि आयोगले जेल अनुगमनका क्रममा बलात्कारको कसूरमा दलित युवकलाई फसाएको पाइएको बताउँछन्। यस विषयलाई लिएर पटक पटक सरकारलाई सुझाव पनि दिएको विश्वकर्माको भनाइ छ। “दलित युवक यस्ता कसूरमा धेरै जेल पर्नुमा एउटा कारण अन्तरजातीय प्रेमविवाह हो,” उनी भन्छन्।
मानवशास्त्री अमर विक गलत आरोपमा दलित युवक फसाइनुमा राज्यका निकाय दोषी रहेको आरोप लगाउँछन्। प्रहरी प्रशासनदेखि अदालतसम्म दलित र गैरदलितबीच विवाह हुन दिनु हुँदैन भन्ने मान्छे रहेको उनको जिकिर छ। “दलित केटाले मेरी छोरी वा बहिनीलाई अपहरण, बलात्कार, बेचबिखनमा पार्यो भनेर उजुरी आउँछ। प्रहरी प्रशासनले प्रारम्भिक अनुसन्धान नगरीकनै मुद्दा प्रक्रिया अगाडि बढाउँछ,” उनी भन्छन्, “भागी विवाह गर्नुपर्ने बाध्यता हुनाले फसायो, बलात्कार गर्यो, अपहरण गर्यो र बेचबिखन गर्यो भन्न गैरदलित परिवारलाई सजिलो हुन्छ।”
अध्येता जेबी विश्वकर्मा बलात्कार, बालविवाह, अपहरणका मुद्दामा दलित पर्नुका चार कारण रहेको बताउँछन्। पहिलो, समाजमा रहेको जातीय अहंकारले गैरदलितले दलितसँगको विवाह स्वीकार गर्न सक्दैन। दोस्रो, बदलाको भावना पनि यसमा जोडिएको उनको भनाइ छ। “परिवार मात्र नभएर सिंगो समुदाय लागिपरेको हुन्छ। दलित भएर हाम्री छोरीचेलीसँग विवाह गर्ने भन्ने इगोले काम गर्छ,” अध्येता विश्वकर्मा भन्छन्।
तेस्रो, दलित र गैरदलितबीचको घटनामा केही विशेष छ भन्ने बुझ्नुपर्छ। तर प्रहरीले अनुसन्धानका क्रममा जातका कारणले भइरहेको भनेर नहेर्ने गरेकाले दलित युवक सजिलै कानूनी फन्दामा पर्ने गरेको उनको भनाइ छ।
चौथो, कानून कार्यान्वयनमा राज्यले ध्यान नदिंदा पनि समस्या भएको विश्वकर्मा बताउँछन्। विवाहका लागि उमेरको हद पछाडि कारण र यसबारे सचेतना नहुँदा दलित युवक फसिरहेको उनी औंल्याउँछन्।
अन्तरजातीय विवाहबारे अध्ययन गरेका अनुसन्धाता सीपी अर्याल गैरदलितभित्र ब्राह्मण, क्षेत्री र जनजातिबीचको प्रेमविवाह केही हदसम्म स्विकार्ने ठाउँमा समाज पुगे पनि दलित र गैरदलितबीचको नस्विकार्ने गरेको बताउँछन्। अर्यालले माओवादी लडाकूबीचको अन्तरजातीय विवाह र सम्बन्धविच्छेदबारे अध्ययन गरेका छन्।
दलितसँगको अन्तरजातीय विवाह नस्विकार्नुमा हिन्दूवादी समाज र जातव्यवस्था कारण रहेको उनको ठम्याइ छ। “बिहेको जुन लक्ष्मणरेखा कोरेका छन्, त्यो पार भयो भने सम्पूर्ण नाता, कुटुम्ब, परिवार समाजबाटै बहिष्कृत हुनुपर्छ,” अर्याल भन्छन्, “प्रेमविवाहलाई सीधै धार्मिक आस्था विरुद्धको प्रहार भनेर बुझ्छन्। यसको प्रभाव भविष्यमा पर्न सक्छ भन्ने ठानेका हुन्छन्।”
जातीय विभेद घटाउने विभिन्न तरीकामध्ये अन्तरजातीय विवाह पनि एक हो। यसले समाजमा अन्तर्घुलन गराउन सहयोग पुग्छ। तर दलित र गैरदलितबीचको विवाह बढ्दै गएसँगै मुद्दामामिला पनि थपिंदै छन्।