सम्मेलनका प्रमुख वक्ता डेभिड गेल्नरले ‘नेपाल बिग्रियो, खत्तम भयो’ भन्ने निराशाजनक भाष्यप्रति कटाक्ष गर्दै विगत सम्झिए, “म ५० वर्षअघि नुवाकोटका तामाङ गाउँ पुग्दा त्यहाँ पाइन्ट लगाउने एउटै मान्छे थिएनन्। एक जना एसएलसी गरेको मान्छे थिएन। समाज गरीबीले असाध्यै थिचिएको थियो।”
त्रिभुवन विश्वविद्यालय केन्द्रीय मानवशास्त्र विभागको अन्तर्राष्ट्रिय सम्मेलन (२०–२१ जुलाई)मा ३०० भन्दा बढी अध्येता एक ठाउँमा भेला भई १०० भन्दा बढी अनुसन्धानात्मक कार्यपत्रमाथि छलफल गरिए। अमेरिका, चीन, भारत, बाङ्लादेश जस्ता १० भन्दा बढी देश र २५ वटा विश्वविद्यालयका प्राज्ञ र विद्यार्थी त्यसमा सहभागी थिए। सहभागीमाझ डिजिटल क्रान्तिले बदलिरहेको समाजको चित्र, एआईको आक्रामकताले सिर्जना गरेको भय, महिला र दलितलाई भइरहेका आक्रमण र त्यसका विविध पाटाबारे मात्र चर्चा भएन, आदिवासी ज्ञान मार्फत प्रकृति दोहनले जीर्ण हुँदै गएको विश्व बचाउन सक्ने विमर्शमाथि भइरहेका प्राज्ञिक अध्ययन उपर पनि निकै छलफल भयो।
दलीय हस्तक्षेपका कारण विद्यार्थी जति सबै विदेश पलायन भएकाले हाम्रो शिक्षा अभ्यास, तिनका गुण र जागरूकता खस्कँदै गएको प्रलाप सुन्दा सुन्दा वाक्कदिक्क भइरहेको वेला सम्मेलनमा युवाको जमघट निकै लोभलाग्दो थियो। आखिर युवा त सकिएका रहेनछन्, कहाँबाट ओइरिए त यी युवा? दुई दिनसम्म चलेको यो बौद्धिक भेला मानवशास्त्र विभागले कसरी सम्पन्न गर्यो? कहाँबाट स्रोत जुटायो? विभागीय प्रमुख प्रा. विनोद पोखरेल भन्छन्, “यो स्थानीय स्रोतसाधन जुटाएर गरिएको हो। हाम्रा विद्यार्थीको स्वयंसेवी भावना नभएको भए यो सम्मेलन सम्पन्न गर्न सम्भव नै थिएन। उनीहरू सम्मेलन सफल पार्न अहोरात्र खटे। क्राउडफन्डिङ समेत उठाए।” हुन पनि सहभागीको दर्ता र स्वागत गर्नेदेखि हलहरूमा यता र उता दगुर्ने, हल व्यवस्थापन गर्ने तथा अडिओ–भिडिओ खिच्ने समेतका काम विद्यार्थी स्वयंसेवकले गरिरहेको देखिन्थ्यो। आयोजक समितिका सदस्य तथा विभागका सहप्राध्यापक जनक राईको भनाइमा पनि युवा स्वयंसेवी विद्यार्थीको सक्रियता नभएको भए सम्मेलन सफल नै हुने थिएन।
VIDEO
सम्मेलन आयोजक समितिका सदस्य तथा विभागका सहप्राध्यापक सुरेश ढकालका भनाइमा युवामा मानवशास्त्र अध्ययनप्रति रुचि बढ्दै गएकाले सम्मेलनमा अध्येताको राम्रो सहभागिता हुन गयो। युवाको उल्लेख्य सहभागिताबारे ढकाल भन्छन्, “मानवशास्त्र सम्बन्धी काठमाडौंमा हुने सम्मेलन असाध्यै महँगा हुन्छन्। त्यो खर्च विद्यार्थीले वहन गर्न सक्दैनन्। हामीले विद्यार्थीलाई एक हजार मात्र शुल्क लिएका थियौं भने अरूलाई पनि जम्मा दुई हजार शुल्क तोकेका थियौं।”
यो जमघटमा नेपालको विविधतामाथि अध्ययन गर्न चाहने युवा अध्येताहरू त थिए नै, नेपाली इतिहासमाथि गहिरो अध्ययन गरिरहेका ऐतिहासिक जोन ह्वेल्टन र नेपाली समाजको नाडी केलाएका मानवशास्त्री डेभिड गेल्नर जस्ता व्यक्तित्वको समेत ‘प्राज्ञिक मन्तव्य’ राखिएको थियो। ५० वर्षअघि नै मानवशास्त्रीय अध्ययन गर्न नेपाल आइपुगेका अक्सफोर्ड युनिभर्सिटीका पूर्व प्रोफेसर गेल्नर जस्ता पाका प्राज्ञहरू विशेष रूपमा आमन्त्रित थिए।
मानवशास्त्री डेभिड गेल्नर।
विश्वभर बोल्न र लेख्न स्वतन्त्र वातावरण गुमिरहेको वेला नेपाल जस्तो खुला परिवेशमा यस्ता प्राज्ञिक सम्मेलन बढिरहेका छन्। काठमाडौंमा एक महीनाअघि मात्र ‘एशोसिएशन फर एशियन स्टडीज इन एशिया’ नामक यस्तै एउटा भव्य अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो भने मानवशास्त्र विभागको सम्मेलन लगत्तै सोसल साइन्स बहाःको अर्को तीनदिवसीय सम्मेलन २५ जुलाई अर्थात् अस्ति भर्खर सकिएको छ, जसले समाजमा के–कस्ता अध्ययन–अनुसन्धान भइरहेका छन् भन्ने जान्नेबुझ्ने मौका दिएको छ। ५० वर्षअघि अध्ययनका निम्ति येले विश्वविद्यालयबाट नेपाल आएका डेभिड गेल्नर सम्मेलनका प्रमुख वक्ता थिए। उनले ‘नेपाल बिग्रियो, खत्तम भयो’ भन्ने निराशाजनक भाष्यप्रति कटाक्ष गर्दै भने, “म ५० वर्षअघि नुवाकोटका तामाङ गाउँ पुग्दा त्यहाँ पाइन्ट लगाउने एउटै मान्छे थिएनन्। एक जना एसएलसी गरेको मान्छे थिएन। समाज गरीबीले असाध्यै थिचिएको थियो। तर त्यति वेलाको नेपाल र अहिलेको नेपालमा आकाश–पातालको फरक भइसकेको छ।”
हरेक आयोजनाका केही कमी–कमजोरी पक्कै हुन्छन्। यस्ता कमजोरी सम्मेलनमा पनि थियो। मान्छेको चाप बढी भएका कारण ससाना हलमा आफूले सुन्न चाहेको विषयमा बस्न नपाएको भन्ने सहभागीको गुनासो सुनिन्थ्यो। केही विदेशी मानवशास्त्रीले युवा अध्येताले कम समयमा आफ्नो अनुसन्धानलाई प्रभावकारी रूपमा व्यक्त गर्ने क्षमता विकास गर्नुपर्ने सुझाव दिइरहेको भेटिन्थ्यो। विभागीय प्रमुखले सम्मेलनमा मधेश र मुसलमान सम्बन्धी पेपरहरू नआएकामा दुखमनाउ गरिरहेका थिए। यसका बावजूद यति चाहिं भन्नै पर्ने हुन्छ– सम्मेलनको आयोजना र यसको भव्य सफलताले यी कमजोरीलाई ढाक्ने काम गर्यो।