परम्परागत मिडियालाई डिजिटल मिडियाले उछिन्न लागेको, खासगरी भिडिओ सामग्रीको प्रभाव बढिरहेको देखेका सोजन प्रजापति पत्रकारिताले आफूलाई सोही अनुसार ढाल्न ढिलो भइसकेको ठान्छन्।
चार वर्षअघिको उकुसमुकुस ताजै छ, काठमाडौंका सोजन प्रजापतिलाई। छटपटी भएपछि साँझपख शहरका पुरातात्त्विक स्थलहरूको चक्कर लगाउँथे। तिनमा कुँदिएका सम्पदा हेर्दै घण्टौं टोलाउँथे। नयाँ काम गर्ने हुटहुटी थियो उनलाई। तर के गर्ने र कसरी गर्ने- दिमागमा कुनै चित्र कुँदिएको थिएन।
सन् २०२० मा जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखबाट मेकानिकल इन्जिनीयरिङमा स्नातकोत्तर पूरा गरेपछि सोजनले केही समय त्यहीं बसेर एआई र थ्रीडी प्रविधिमा काम गरे। तर उनलाई नेपालमै प्रविधि क्षेत्रमा धेरै अवसर रहे जस्तो लाग्यो। तत्काल जहाजको टिकट काटिहाले।
स्वदेश त फर्किए तर शुरूमा के गर्ने, कहाँबाट थाल्ने अत्तोपत्तो भएन। केही समयपछि एउटा योजना बनाए- आफूले जर्मनीमा तीन वर्ष सिकेको ज्ञान यहाँका विद्यार्थीलाई सिकाउने। यो सोच पछाडिको उत्प्रेरणा के थियो भने, यहाँ उनले प्राविधिक विषयका विद्यार्थीले पढाइपछि काम नपाएको गुनासो व्यापक सुने। अर्कातिर प्राविधिक कम्पनीहरू पनि महीनाको लाखौं तलब दिन तयार हुँदा समेत दक्ष जनशक्ति नपाउने गुनासो गरिरहेका थिए। यिनै दुईखाले गुनासोको बीचमा सोजनले अवसर देखे।
उनले कलंकीमा रहेको एड्भान्स कलेज अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी अन्तर्गत रहनेगरी छुट्टै ‘टेक्नोलोजी रिसर्च सेन्टर’ खोले। कलेजकै एउटा विभागका रूपमा रहेको उक्त सेन्टरबाट उनले विद्यार्थीलाई अनुसन्धानात्मक सीप दिए। अध्ययनपछि उनीहरू कुशल ‘एप डेभलपर’ भएर निस्किए। त्यही क्रममा विद्यार्थीसँग मिलेर सोजनले स्पीकअप नेपाल खोले, सन् २०२१ मा। सामाजिक मुद्दाहरू उठाउँदै बहस चलाउने यो डिजिटल मञ्च अहिले यति सशक्त बनिसकेको छ कि राज्य सञ्चालकहरूसम्मै प्रभाव छाड्न सफल छ।
“यहाँ शिक्षक-विद्यार्थी मिलेर काम गर्दैनन्। मलाई त्यो ग्याप तोड्नु थियो। अर्को, मैले यहाँ सरकार र जनताबीच साँच्चैको पुल बनिदिने माध्यम पनि देखिनँ,” ३३ वर्षीय सोजन भन्छन्।
हिमाल मिडिया मेलामा डिजिटल सामग्री सिर्जनाबारे छलफलका क्रममा सोजन प्रजापति र पत्रकार अनिता भेटवाल।
आमसञ्चारमाध्यमले विषय उठाए पनि त्यसलाई टुंगोमा नपुर्याई बीचैमा छाडिदिने गरेकामा आफूले त्यो अभाव पुर्नेगरी काम गरेको उनलाई लाग्छ। सोजनका अनुसार स्पीकअपकै माध्यमबाट उनीहरूले २१ वटा मुद्दालाई समाधानकै तहसम्म पुर्याइसकेका छन्।
एउटा उदाहरण हो, सुमद रानी थारूको घटना। नेपालगन्जमा भाडाको कोठामा बसेर पढ्दै आएकी २२ वर्षीया सुमद रानीको २०८० वैशाख २९ मा हत्या भयो। घटनामा संलग्न रहेको प्रमाण हुँदाहुँदै प्रहरीले आरोपीलाई पक्राउ नगरेको पीडित परिवारको आरोप थियो। उनीहरूले २०८१ जेठ २६ देखि काठमाडौं, माइतीघरमा आन्दोलन थालेका थिए। १३ दिन बित्दा पनि सरकारले सुनेको थिएन। यसबीच स्पीकअप नेपालले उनीहरूको न्यायका लागि ‘डिजिटल’ माध्यमबाट सरकारलाई दबाब दियो। असार ११ मा स्पीकअप नेपाललाई सिंहदरबारबाट फोन आयो। उनीहरूकै माध्यमबाट सरकारले पीडित परिवारसँग वार्ता गर्यो। त्यसको आठ दिनपछि बाँके प्रहरीले आरोपितलाई भारतबाट पक्राउ पनि गरिहाल्यो। अहिले उक्त मुद्दा अदालतमा विचाराधीन छ।
सोजनका अनुसार उनीहरूले सामाजिक महत्त्वका चार वटा मुद्दामा नीतिगत रूपमै संशोधन गराएका छन्। काठमाडौं महानगरले हालै महानगर अन्तर्गतका कुनै पनि विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने भनी गरेको व्यवस्था त्यसको उदाहरण हो।
स्पीकअप नेपाल ठूलो जमातमा फैलिसकेकै थियो। अब सोजनलाई ‘भिडिओ कन्टेन्ट’ मा काम गर्ने हुटहुटी जाग्यो। दुई वर्षअघि काठमाडौं दरबार क्षेत्रको त्रिशूल चोकमा बसेर तलेजु भवानीको मन्दिर नियाल्दै थिए जुन १५६४ सालमा राजा महीन्द्र मल्लले बनाउन लगाएका हुन्। काठमाडौं, क्षेत्रपाटीमा जन्मे-हुर्के पनि उनले तलेजुलाई यति गहिरिएर पहिले कहिल्यै नियालेका थिएनन्। मनमा प्रश्नहरू थिए- त्यति प्राचीन समयमा मन्दिरका यी बुट्टा कसरी र कति दिन लगाएर कुँदिए होलान्? मन्दिर बनाइयो नै किन होला? तलेजु स्थापनासँग जोडिएको दर्शन के हो?
उनले यी जिज्ञासा साथीहरूलाई राखे। तिनले उल्टै प्रश्न गरे। परस्परको यही अनभिज्ञताले सोजनको मनमा अर्को योजना जन्मियो- पहिले तलेजुबारे राम्ररी अध्ययन गरेर आफू बुझ्ने अनि अरूको जिज्ञासा मेटाउन भिडिओ बनाउने। तब उनी उपत्यकाको सभ्यता, सम्पदा र संस्कृति खोतल्नतिर लागे। दर्शनशास्त्रीहरूसँग भेटे। तन्त्र, शिवशक्ति, वज्रयान र शाक्त परम्परा बुझाउने ठेलीहरू खोले। झन्डै एक वर्षको अध्ययनपछि उनी एउटा निष्कर्षमा पुगे- नेपाल बुझ्न नेपालमण्डल बुझ्नै पर्ने रहेछ।
यही बोधपछि उनले आफ्नो नयाँ भिडिओ माध्यमको नाम नेपालमण्डलसँगै जोडेर राखे, काठमाडौंका कथा। त्यसमा उनी उपत्यकाका सम्पदा, धर्म-संस्कृति, दर्शन र जात्रा-पर्वका विषयमा छोटा भिडिओ ‘अपलोड’ गर्न थाले। पहिलो भिडिओ ‘के काठमाडौं उपत्यका मञ्जुश्रीको तरबारले पहाड काटेपछि बनेको हो त?’ शीर्षकमा थियो। साथीको मोबाइलबाट खिचिएको जम्मा दुई मिनेटको त्यो भिडिओ दुई दिनमै दुई लाख पटकभन्दा धेरै हेरियो।
त्यसयता पनि सोजनले खड्ग, अष्टमात्रिका, अजिमा, भाटभटेनी देवी, असन, गुँला पर्व, कुमारी, वहा र महाविहार, धुन्या आदिका विषयमा गरी ८० वटा जति भिडिओ बनाइसके। दुई मिनेटसम्मका यी भिडिओ एक वर्षमा २० मिलियनभन्दा धेरै पटक हेरिएका छन्। काठमाडौंका कथालाई सबै सामाजिक सञ्जालमा गरेर एक वर्षमै ९० हजारले ‘फलो’ गरेका छन्।
शुरूका सात महीना भिडिओ निर्माणमा एक्लै खटिएका उनलाई अहिले पूर्व विद्यार्थी एलिस श्रेष्ठ र सन्दीप महर्जनले पनि अनुसन्धानमा सघाउँछन्। सम्पदा र धर्मशास्त्रको पाटो एलिस अनि जात्रापर्व हेर्ने जिम्मा सन्दीपलाई छ। चार वर्षअघिको जस्तो उकुसमुकुस सोजनलाई अहिले छैन। बरु आफ्नो कामबाट खुुशी छन्। “पैसा कमाउनकै लागि त अर्को व्यवसाय छँदै थियो,” उनी भन्छन्, “तर शोखका लागि गरेको कामले पनि अहिले कमाइरहेको छ। विभिन्न ब्रान्डले कोलाबोरेशन गरेका छन्।” सोजनले बनाएका भिडिओ मार्फत बजारमा आफ्ना ब्रान्ड चिनाउन विभिन्न कम्पनीले लाखौं खर्चिएका छन्। उनी भिडिओको ‘थिम’ मा मिल्ने ब्रान्डको मात्र विज्ञापन गर्छन्। उनी भन्छन्, “त्यति चाहिं हरेक कन्टेन्ट मेकरले ख्याल गर्नुपर्छ।”
फेरिएका दर्शक/पाठक
चार वर्षदेखि डिजिटल कन्टेन्ट बनाइरहेका सोजनको अनुभवमा नेपाली दर्शक/पाठक जसरी परम्परागतबाट नयाँ मिडियामा आकृष्ट भए, त्यसरी नै भविष्यमा उनीहरू भिडिओ सामग्रीमा बढी भर पर्नेछन्। अहिलेका सञ्चारमाध्यमले यो पक्षमा ध्यान नदिए त्यति वेला पत्रकारको धेरै काम ‘डिजिटल कन्टेन्ट क्रिएटर’ ले नै गरिरहेका हुन सक्छन्। “पत्रकारको भन्दा डिजिटल कन्टेन्ट मेकरको कन्टेन्टमा धेरै दर्शक तानिनु भनेको मूलधारका मिडियाले काम गर्न नसकेको देखिनु हो,” उनी भन्छन्, “त्यसैले मिडियाहरूले दर्शकको रुचि अनुसार भिडिओ सामग्रीमा पनि लगानी बढाउनै पर्छ।”
भिडिओ निर्माणमा सोजनको सूत्र हो, गहन कुरालाई पनि सरल तरीकाले छोटो समयमा बुझाउने। उनलाई लाग्छ- कसैले आफूले देखाउन खोजेको कुरा छरितो तरीकाले भन्न सक्दैन भने उसले त्यो विषय राम्ररी बुझेकै रहेनछ भन्ने हो। फेरि, लामो भिडिओ निश्चित दर्शकले मात्र हेर्छन्। प्रायलाई त्यसमा झुम्मिइरहने फुर्सद हुँदैन। “यस्तोमा हामीले ‘हुक’ लगाएर दर्शक तान्नुपर्छ,” उनी भन्छन्, “त्यो ‘हुक’ भनेको कुनै पनि कुरा आकर्षक शैलीमा भन्नु हो।”
दर्शकलाई कन्टेन्टमा अड्याइराख्न कति मुश्किल छ भन्ने सोजनकै भिडिओहरू नियाल्दा पनि बुझिन्छ। सामाजिक सञ्जालमा चार लाखभन्दा धेरै भ्यूज भएका उनका दुई मिनेट जति लम्बाइका भिडिओ दर्शकले औसतमा १८ सेकेन्ड मात्र हेरेका छन्।
उनका अनुसार भिडिओमा बोल्दा व्यक्ति आत्मविश्वासी सुनिनुपर्छ। सामग्री पस्कँदा प्रामाणिक सूचना मात्र दिइनुपर्छ। यो काममा थुप्रै चुनौती पनि मोल्नुपर्ने भएकाले अप्ठेरो परिस्थितिमा प्रमाणले नै आफूलाई जोगाउने उनको अनुभव छ। जस्तो- एक पटक रातो मच्छेन्द्रनाथको जात्राबारे बोल्दा स्थानीय युवकहरूले उनलाई गालीगलौज गरे। ज्यानको धम्की दिए। “मैले खोजेका प्रमाण सुरक्षित थिए। त्यसैले धम्कीले नराम्रो लागे पनि डराएको थिइनँ,” उनी भन्छन्, “मैले नजानेका कुरा पनि होलान्। ती पनि सिकाइदिनुस् न त भनेपछि त्यो कुरा त्यसै सेलायो।”
कन्टेन्टको बजार
नेपालमा डिजिटल ‘कन्टेन्ट क्रिएशन’ को बजार भर्खरै फुल्दै छ, फक्रन अझै समय लाग्छ। यस्तो स्थितिमा क्रिएटरलाई जुनसुकै विधामा सामग्री बनाउने सहुलियत छ। सोजनका अनुसार विश्वमा सबैभन्दा धेरै बिक्ने सामग्री धर्म सम्बन्धी हो। विश्वमा क्रिश्चियन र इस्लामपछि सबैभन्दा धेरै बौद्ध र हिन्दू छन्। काठमाडौंमा बौद्ध र हिन्दूका ठूला तीर्थस्थल पशुपति, बौद्ध र स्वयम्भू छन्। तिनमा आधारित ‘कन्टेन्ट’ को बजार ठूलो हुन सक्छ। “मेरो रुचि चाहिं उपत्यकाको सम्पदा, धर्म र दर्शन हो,” उनी भन्छन्, “अब यही काठमाडौं उपत्यकाको आँखाबाट विश्वलाई हेर्ने किसिमको कन्टेन्ट बनाउँदै जानेछु।”
सोजनलाई लाग्छ- अहिले डिजिटल कन्टेन्ट क्रिएशन र पत्रकारिता फरक जस्तो देखिएका छन्। डिजिटल माध्यममा दर्शक जेमा झुम्मिएका छन् ती पत्रकारिताका सिद्धान्तबाट उत्पादित सामग्री होइनन्। तर पत्रकारिताले अन्य माध्यमबाट दिने सामग्रीभन्दा बढी प्रभावकारी देखिंदै छन्। यस्तोमा पत्रकारले लेखेका समाचारलाई पनि डिजिटल ‘कन्टेन्ट’ मा ढालिए तिनले दर्शक/पाठकमा बढी छाप पार्न सक्छन्। आखिर जुन माध्यमबाट गए पनि दर्शकसम्म सही सूचना पुर्याउनु हो।
“मोबाइल र इन्टरनेटका कारण अहिले पत्रिकामा छापिएको भन्दा अनलाइनमा आएको समाचारको पहुँच धेरै छ,” उनी भन्छन्, “लेखिएको भन्दा भिडिओ समाचारमा दर्शक झुम्मिन्छन्। तस्वीर, भिडिओ, अडिओ सबै एकैचोटि आउने भएकाले पनि दर्शक यतातिर तानिएका छन्।”
विकसित देशका मिडियाले भिडिओ सामग्री उत्पादनका लागि छुट्टै तयारी थालिसकेका छन्। मोबाइलमा हेर्न मिल्ने अनि सामाजिक सञ्जाललाई उपयुक्त सामग्री उत्पादनमा लगानी बढाएका छन्। नेपाली मिडियाले पनि यसै अनुसार जनशक्ति तयार पार्नुको विकल्प नरहेको सोजन बताउँछन्। भिडिओ मार्फत दर्शक तान्न उनीसँग यस्ता टिप्स छन्- सातामा कम्तीमा दुइटा भिडिओ तयार पार्ने। दर्शकलाई जे बुझाउनुपर्ने हो, त्यो पहिलो र दोस्रो वाक्यमा भनिसक्ने। मतलब, पहिलो वाक्य नै यस्तो होस् जसले दर्शकलाई च्याप्पै समातेर राखिरहोस्। यससँगै भिडिओमा कथा र पात्र पनि चाहिन्छ। पात्रलाई जोड्दै कथा भन्ने शैलीमा दर्शक रमाउँछन्।
कथा भन्ने र सूचना पस्कने शैलीमा नयाँ प्रविधिलाई आत्मसात् नगरे हिजो घोडालाई मोटरसाइकलले विस्थापन गरे जसरी भोलि परम्परागत सञ्चारमाध्यमलाई नयाँ मिडियाले विस्थापन गर्न सक्छ। यस्तोमा त्यसमा आश्रित थुप्रै जनशक्ति बेरोजगार हुन सक्छन्। “समयको बदलाव वेलैमा चिनेर आफूलाई नबदले भोलि चाहेर पनि समय पाइँदैन। त्यसैले मिडिया र कन्टेन्ट क्रिएटरका लागि अहिलेको बदलाव चुनौतीसँग अवसर पनि हो,” सोजन भन्छन्।
VIDEO