विदेशबाट फर्केर एकपछि अर्को गर्दै केरा खेती, बाख्रापालन, आँप खेती र बंगुरपालन सफल नभएपछि निराश बनेका सरोज राईको मुहारमा पाखाबारीमा फलेको ‘ड्रागन फ्रूट’ ले मुस्कान ल्याएको छ।
पाखाबारीमा ड्रागन फ्रूट खेतीका लागि पिलर ठड्याउँदै गर्दा धेरैले खोटाङको रावाबेंसीका सरोज राईको खिल्ली उडाए। खिसीटिउरी गर्ने पनि उत्तिकै थिए। जसले जे भने पनि उनले हरेस खाएनन्, आफ्नो काममा लागिरहे।
बरु वर्ष दिन नबित्दै पाखाभरि ड्रागन फ्रूट फलाएर देखाइदिए। पिलर ठड्याएर बनाएको पाखो अहिले ड्रागन फ्रूटले हराभरा छ। “ड्रागन फ्रूटका लागि पिलर ठड्याउँदै गर्दा ‘साइको भएछ’ भनेर खिल्ली उडाए, मान्छेहरू हाँसे,” राई खुशी हुँदै सुनाउँछन्, “पहिलो पल्ट फल पाउँदा सन्तोषको सास फेरें। काम गर्दा त हुने रहेछ।”
ड्रागन फ्रूट खेती शुरू गर्दा धेरैले खिल्ली उडाउनुको कारण थियो, यसअघि गरेका चार वटा व्यवसाय। केरा खेती, बाख्रापालन, आँप खेती र बंगुरपालन गर्दा लाखौं रुपैयाँ डुबाएका थिए। ती सबैमा सफलता नपाएका उनी ड्रागन फ्रूट खेतीतिर लाग्दा परिवारले नै पत्याउने अवस्था थिएन। अहिले भने सबैले पत्याएको उनको भनाइ छ। “पोहोर दुई हजार किलो ड्रागन फ्रूट बिक्री भयो। यसपल्ट उत्पादन बढ्ने अनुमान छ,” उनी भन्छन्।
.jpg)
उसो त खेतीपातीमा भविष्य खोज्ने उनको कुनै योजना थिएन। त्यसैले वैदेशिक रोजगारीका लागि २०६६ सालमा यूएई पुगे। त्यहाँ तीन वर्ष बिताए। त्यसपछि गाउँमै केही इलम गर्ने योजना बुने। विदेशमा दुःख गरेर कमाएको पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै स्वरोजगार बन्ने प्रयत्न गरे।
२०७१ सालमा केराखेती शुरू गरे। केराका बोट राम्रै फलिरहेका थिए। तर बाख्राले खाएर हुर्कनै पाएनन्।
त्यसपछि उनी बाख्रापालनमा लागे। बाख्रामा सात लाख रुपैयाँ लगानी गरे। “तुलनात्मक रूपमा खर्च अनुसार आम्दानी पनि सन्तोषजनक नै थियो,” उनी सम्झिन्छन्।
तर बाख्रापालनमा जनशक्तिको अभाव भोगे। कर्मचारीले नियमित काम गरिदिएनन्, बरु काम छोड्दै गए। “एक्लैले बाख्राको हेरचाह सम्भव भएन। त्यसपछि बाख्रापालन पनि छाडें,” राई सुनाउँछन्।
दुई वटा व्यवसायमा सफलता नपाए पनि उनी निराश भएनन्। केही न केही इलम त गर्नै पर्ने थियो। त्यसपछि आँपको पालो आयो। बारीमा आँपका बोट रोपे। मिहिनेत पनि गरेका थिए। तर बिरुवा हुर्किंदै गर्दा छरछिमेकीका बाख्राले खाइदिए। त्यसमा आफ्नै बाख्रा पनि थपिए। केही जोगिएका आँपका बिरुवा अहिले पनि छन्।
त्यसपछि उनी बंगुरपालनतिर लागे। त्यसमा १८ लाख रुपैयाँ लगानी गरेका थिए। बंगुर हुर्किंदै गर्दा उनलाई आशा जागेको थियो। “उत्पादन सन्तोषजनक थियो, तर बजार पाइनँ,” राई भन्छन्, “अर्कातर्फ बंगुरमा महामारी फैलियो। टिकाउन सकिएन, असफल भएँ। बजार पाउन पनि कठिन भयो।”
.jpg)
चार वटा व्यवसायमा सफलता प्राप्त गर्न नसकेपछि परीक्षणकै रूपमा ड्रागन फ्रूटतिर लागेको उनी सुनाउँछन्। ड्रागन फ्रूटबारे सामाजिक सञ्जालमा चर्चा भएको देखे। के-कसरी खेतीपाती गरिंदो रहेछ भनेर अध्ययन गरे, यूट्यूबमा भिडिओ हेरे। सामान्यतः आँप, लिची, कटहर र केरा फल्ने गर्मी ठाउँमा ड्रागन फ्रूट फल्ने थाहा पाए।
त्यसपछि ड्रागन फ्रूट खेतीबारे अध्ययन गर्न भारतको हैदराबाद पुगे। अध्ययनपछि ‘सी भेराइटी’ को ड्रागन फ्रूटका २०० बिरुवा लिएर घर फर्किए।
अनि शुरू गरे, रावाबेंसी गाउँपालिका-६, हौंचुर पाखुरेको पाखाबारीमा ड्रागन फ्रूट खेती। पाखुरेमा चिउरे माटो छ। पाँच किलोमिटर तल रहेको रावा खोलाबाट बालुवामिश्रित माटो निकाले। ट्र्याक्टर मार्फत घर नजीकै लगेर थुपारे। अनि डोकोमा बोकाएर पाखाका ससाना कान्लामा थुप्रैथप्रो बनाए। त्यही थुप्रोमाथि ड्रागन फ्रूटको बिरुवा लगाइएको उनी बताउँछन्।
हैदराबादबाट ल्याएको बिरुवा हुर्किंदै गएपछि सुनसरी र झापाबाट पनि थप बिरुवा ल्याए। धान र मकै फल्ने जग्गामा पनि ड्रागन फ्रूट लगाए। एक-दुई वर्षपछि आफैंले नर्सरी उत्पादन गर्न थाले। त्यसयता बाहिरबाट बेर्ना ल्याउन परेको छैन।
अहिले करेसाबारी र घरको पेटी समेत ड्रागन फ्रूटले ढाकिएका छन्। “ड्रागन फ्रूट पनि परीक्षण खेती नै थियो। गाईवस्तु, बाख्राले नखाने भएका कारण समस्या छैन,” राई ढुक्क हुँदै भन्छन्, “जंगल छेउछाउको ड्रागन फ्रूटलाई बाँदरले पनि नछोएपछि हाइसन्चो छ।”
उनले पाखुरेको करीब १८ रोपनी सुक्खा पाखालाई ड्रागन फ्रूटले हराभरा बनाएका छन्। बगानमा हाल दुई हजार ७०० बोट लगाइएका छन्। त्यसमध्ये एक हजार ६०० बोटले फल दिन थालिसकेका छन्। उत्पादित ड्रागन फ्रूट प्रति किलोग्राम ३५० र होलसेलमा ३०० रुपैयाँमा बिक्री गर्दै आएका छन्। “शुरू शुरूमा त प्रतिकेजी ८०० रुपैयाँसम्म बिक्री भयो,” ड्रागन फ्रूट खेतीमा १७ लाख लगानी गरिसकेका राई भन्छन्, “बल्ल लगानी फिर्ता आउन थालेको छ।”
.jpg)
दिक्तेल बजार र ऐंसेलुखर्क बजारका फलफूल पसलमा ड्रागन फ्रूट पुर्याउने गरेका छन्। पाखुरेमा उत्पादित फल कोसेलीका रूपमा विराटनगर, धरान र काठमाडौंसम्म पुग्ने गरेको छ। उनको पौरख हेर्न जाने र ड्रागन फ्रूट किनेर लैजाने पनि उत्तिकै हुन्छन्।
ड्रागन फ्रूटलाई प्रायः कात्तिक-मंसीरमा काटछाँट गर्नुपर्छ। वरपर खनेर मलसँगै सिंचाइ गर्नुपर्छ। यो फल प्रायः जेठ अन्तिम सातादेखि मंसीरसम्म निरन्तर फल्ने र पाक्ने गर्छ। यस समयमा पाकेको फल टिप्न र बिक्री गर्न भ्याइनभ्याइ हुन्छ। “एउटै बोटबाट ६ महीनामा ५४ केजीसम्म फल टिपेको छु,” राई भन्छन्।
बगानमा ‘सी भेराइटी’, ‘ए भेराइटी’, ‘रोयल रेड’ र ‘रेड मलेशियन’ प्रजातिका ड्रागन फ्रूट लगाइएका छन्। त्यसमध्ये ‘सी भेराइटी’ छिटो बढ्ने र आम्दानी दिने प्रजाति रहेको उनी सुनाउँछन्। विदेशमा कमाएको र सरसापट गरेको पैसा कृषिमा लगाएका उनी भन्छन्, “अब ड्रागन फ्रूट खेतीलाई नै निरन्तरता दिंदै बृहत् बनाउने योजना छ।”