हिजोआज पर्यायवाची रूपमा बुझ्न थालिए पनि पारम्परिक अर्थमा चैत्य भनेको शान्त र चित्ताकर्षक अध्यात्मस्थल हो भने स्तूप त्यहाँ बनाइने मूर्त संरचना।
बसन्त महर्जन
हिजोआज स्तूप र चैत्यलाई एकै अर्थमा बुझ्न थालिएको छ। जस्तो, काठमाडौं उपत्यकाका प्रख्यात स्वयम्भू र खास्ति स्तूपलाई चैत्य वा विशेष आदर राखी महाचैत्य भन्ने गरिएको पाइन्छ। मानौं, स्तूप र चैत्यबीच कुनै भेद छैन र यी पर्यायवाची शब्द हुन्। तर यस्तो बुझाइ सही होइन। यी दुई शब्दको अर्थ र ऐतिहासिकताको अनुशीलन गरिए तथ्यसम्म पुग्न सकिहालिन्छ। यस्तो चिन्तन रोचक र ज्ञानवर्द्धक मात्र नभई तत्कालीन इतिहास र बौद्ध संस्कृति बुझ्न पनि सहायक सिद्ध हुन्छ।
स्तूपको सामान्य अर्थ दिवंगत व्यक्तिहरूको सम्झनामा अस्तुको थुप्रो राखेर बनाइने वास्तुविशेष हो। थालनीमा सामान्य रहेको यस्तो वास्तुशैली क्रमशः थप विकास हुँदै गएको पाइन्छ। सिद्धार्थ गौतमले बुद्धत्व प्राप्ति गरेर सारनाथमा धर्मचक्र प्रवर्तन गर्नुअघि तपस्सु र भल्लुक नामका दुई व्यापारी दाजुभाइ उनलाई भेट्न गएका थिए। बुद्धले दिएको शिक्षाबाट अनुगृहीत भई उनलाई तिनीहरूले चिउरा र चाकु दान गरे। फर्कने वेला उनीहरूले बुद्धसँग आफ्नो समीपमा राखेर पूजा गरिरहन मिल्ने केही चिनो मागे। बुद्धले उनीहरूलाई आफ्नो केश दिई पठाए। दाजुभाइले आफ्नो देश उत्कल जनपदमा त्यो केश राखेर स्तूप बनाए जसलाई बौद्ध साहित्यमा ‘केशस्तूप’ भन्ने गरिएको छ।
सारिपुत्र र मौद्गल्यायनको मृत्युपछि उनीहरूको पनि अस्थि राखी स्तूप बनाइएको थियो। भिक्षु आनन्दको एक प्रश्नमा बुद्धले पनि सम्यक् सम्बुद्ध, प्रत्येक बुद्ध, अर्हत र चक्रवर्ती राजाहरूको मृत्युपछि अस्थिधातु राखी स्तूप बनाउन सकिने भनेका थिए। यद्यपि स्तूप के हो र कसरी बनाउनुपर्छ भन्नेमा उनको कुनै व्याख्यान पाइँदैन। न त समग्र बौद्ध साहित्यमा यसको प्रस्ट जवाफ छ। पालि त्रिपिटकमा स्तूपलाई ‘थूप’ लेखिएकोसम्म भेटिन्छ।
बुद्धको परिनिर्वाणपछि अस्थिधातु राखेर आठ वटा तथा अँगार र अस्थिधातु नापिएको भाँडो राखेर थप दुई स्तूप बनाइएको पाइन्छ। यी स्तूपको निर्माणशैली र आकारप्रकारबारे पनि बौद्ध साहित्यमा चर्चा छैन। शायद बुद्धकालीन समाजमा दिवंगतका स्मृतिमा स्तूप बनाउनु अति सामान्य कुरा थियो, त्यसैले यसको शैली चर्चाको विषय नै रहेन। अहिले पनि यही सामान्य भावमै स्तूपहरू बनिरहेका छन्।
मूर्त–अमूर्त भेद
चैत्य भने स्तूप जस्तो मूर्त संरचना होइन। पालि वाङ्मयमा अनेकौं प्रसंगमा चैत्य शब्दको उल्लेख छ जसले स्तूपको अर्थसँग तादात्म्य राख्दैनन्। चैत्य र स्तूपले बेग्लाबेग्लै अर्थ बोक्छन्।
बोधिवृक्षमुनि बसेर बुद्धत्व पाएका सिद्धार्थ गौतमले बुद्धत्वप्राप्ति गरेपछि दोस्रो साताको पहिलो दिनदेखि बोधिवृक्षलाई निरन्तर हेरिरहे। भनिन्छ, उनले बोधिवृक्षलाई कृतज्ञता व्यक्त गर्दै एक सातासम्म ‘नेत्रपूजा’ गरे। सोही महिमाका कारण बोधिवृक्ष ‘अनिमिस चैत्य’ कहलियो। पूर्वतिर रहेको अनिमिस चैत्य र पश्चिमतिर आफू उभिएको ठाउँबीचको दूरीमा बुद्धले एक सातासम्म चंक्रमण (हिंड्दै गरिने एक प्रकारको ध्यानविधि) गरे। त्यसैले उक्त ठाउँलाई ‘चंक्रमण चैत्य’ नाम दिइयो। गौतम बुद्ध एक समय यमक प्रतिहार्य गरी देवलोकमा वर्षावास सिध्याई संकाश्यनगर (श्रावस्तीभन्दा ३० कोश टाढा)मा ओर्लिए। त्यस क्रममा दाहिने खुट्टा सबैभन्दा पहिले परेको स्थानलाई ‘अचल चैत्य’ नाम दिइयो। पालि वाङ्मयमा यी र यस्ता विभिन्न चैत्यको उल्लेख बग्रेल्ती पाइन्छ। बज्जी गणराज्यको हितका सम्बन्धमा बुद्ध र भिक्षु आनन्दबीचको संवादमा चैत्यको प्रसंग पनि आएको छ। त्यो यस्तो छ–
बुद्ध– आनन्द, तिमीले सुनेका छौ? जुन ती वज्जीहरूका (नगर) भित्रका तथा बाहिरका चैत्यस्थानहरू हुन्, तिनीहरूलाई वज्जीहरूले सत्कार गर्छन्। गौरव गर्छन्, मान गर्छन् तथा पूजा गर्दछन्। तिनीहरूका निमित्त पहिले दिइरहेका, पहिले गरिरहेका धार्मिक बलि (पूजा)लाई लोप गर्दैनन्?”
भिक्षु आनन्द– भन्ते, जुन ती वज्जीहरूका (नगर) भित्र तथा बाहिरका चैत्यस्थानहरू हुन्, तिनीहरूलाई वज्जीहरूले सत्कार, गौरव, मान गर्छन् र तिनीहरूको निमित्त पहिले दिइरहेका, पहिले गरिरहेका धार्मिक बलिलाई लोप गर्दैनन् भन्ने कुरा मैले सुनेको छु।
बुद्ध– आनन्द, जुन ती वज्जीहरूका (नगर) भित्र तथा बाहिरका चैत्यस्थानहरू हुन्, तिनलाई जबसम्म वज्जीहरूले सत्कार, गौरव, मान तथा पूजा गर्छन् र तिनका निमित्त पहिले दिइरहेका धार्मिक बलिलाई लोप गर्दैनन् तबसम्म आनन्द, वज्जीहरूको वृद्धि नै सम्झनुपर्छ, परिहानि होइन।’ (दीघनिकाय, महापरिनिब्बान सुत्त)
यसबाट बुझिन्छ, बज्जी गणराज्यको नगरभित्र र बाहिर सप्तम्बक, बहुपुत्रक, सारन्दद, चापाल आदि चैत्य निकै प्रसिद्ध थिए। महापरिनिर्वाण सूत्रमा पनि बुद्धले यी चैत्य निकै रमणीय र प्रिय भएको भिक्षु आनन्दलाई बताएका थिए। यसबाट के बुझिन्छ भने, तत्कालीन समाजमा चैत्य भनेको सुन्दर, शान्त अनि चित्ताकर्षक स्थल हो। जस्तो- ढुंगैढुंगाको एउटा उद्यानलाई ‘पाषाण चैत्य’ भनिएको पाइन्छ। तर चैत्य शब्दले स्थलविशेषलाई मात्र नबुझाउने प्रसंग पनि पालि वाङ्मयमा छ। जस्तो, एक पटक कोशल नरेशले बुद्धका सामुन्ने उनका उपदेशहरूको खूब प्रशंसा गर्छन्। उनी दरबार फर्किएपछि बुद्धले भिक्षुहरूलाई भन्छन्, “प्रसेनजित महाराजले धर्मचैत्यको भाषण गरेर जानुभयो। भिक्षुहरू, तिमीहरूले पनि धर्मचैत्य बुझ, यसलाई पूरा गर र धारण गर। यो धर्मचैत्य सार्थक र शुद्ध ब्रह्मचर्य सम्बन्धी हो भनेर बोध गर।” यसबाट के बुझिन्छ भने, बौद्ध धर्ममा अति महत्त्व दिइएको ब्रह्मचर्यलाई पनि चैत्य भनिंदो रहेछ।
चैत्य शब्दको अर्थ विभिन्न तरीकाले दिइएको पाइन्छ। भुवनलाल प्रधानको वर्णन यस्तो छ, “बौद्ध स्मारकलाई चैत्य भनिएकोमा तीन विचार पाइन्छ। पहिलो विचार अनुसार चित्तलाई सधैं धर्ममा जागरूक गर्ने अर्थात् चैतन्य दिने हुनाले यसलाई चैत्य भनेको हो। दोस्रो विचार अनुसार भगवान् बुद्धको चितावशेष (चिता अवशेष) अर्थात् हाड, खरानी, आदि चितामा बाँकी रहेको वस्तु राखेर बनाइएकाले ‘चैत्य’ भनिएको हो। तेस्रो भनाइ अनुसार असल जति सबै चित्तका गुण एकै ठाउँ बटुलिएकाले चित्त वा चैत्य भनिएको हो।”
हेमराज शाक्यले सधैं जागृत अवस्थाको चैतन्य स्वरूप चित्रलाई, श्रद्धाभक्तिले प्रतिष्ठापित पूजनीय स्थानलाई र कुशलमूल संग्रह गरी सञ्चित वस्तुलाई पनि चैत्य भनिन्छ भनी अर्थ लगाएका छन्। यी दुवै लेखकले एउटै लेखमा चैत्य र स्तूपबीच भेद गरेका भने छैनन्। उनीहरूका लागि चैत्य र स्तूप पर्यायवाची हुन्।
ऐतिहासिकता
बुद्धकालीन समाजमा बुद्ध र बौद्धका लागि चैत्य र स्तूप नौला विषय थिएनन्। यसको अर्थ हो, यी कुरा बुद्धभन्दा अघिदेखि नै प्रचलित थिए। चैत्य र स्तूपको उल्लेख ऋग्वेद, अथर्ववेद, शतपथब्राह्मण तथा सूत्र साहित्यहरूमा पनि छ। बुद्धले तिनलाई परम्पराकै रूपमा आफ्ना उपदेशहरूमा समेटेको अनि बौद्धहरूले यसलाई पछि अझ व्यापकता दिएको बुझ्न सकिन्छ।
बुद्धको महापरिनिर्वाणपछि बौद्धहरूले स्तूपलाई महापरिनिर्वाणको प्रतीकका रूपमा लिएको बौद्ध कलाको इतिहास अध्ययनबाट थाहा हुन्छ। बौद्धहरूले स्तूप निर्माणलाई व्यापकता दिएपछि कालान्तरमा यो बौद्ध धर्मसँग मात्र सम्बद्ध रहे जस्तो प्रतीत हुन पुग्यो। मौर्य सम्राट् अशोकको बौद्ध धर्ममा अवतरणपछि यसले अझ व्यापक रूप लियो। बुद्धको महापरिनिर्वाणपछि अस्थिहरू आठ भाग लगाएर विभिन्न देशले आठ ठाउँमा स्तूप बनाएका थिए भने अशोकले ती स्तूपबाट अस्थिधातु झिकी ८४ हजार स्तूप बनाएको उल्लेख पाइन्छ। तत्कालीन समाजमा वैदिकहरू मात्र नभएर जैनहरू पनि स्तूप बनाउँथे। मथुराबाट प्राप्त शुंगकालीन र आन्ध्र प्रदेशको गुन्टूर जिल्लाको वड्डमनु नामक गाउँमा दुई जैन स्तूपको प्राप्तिबाट यो कुरा प्रमाणित हुन्छ। तर बौद्ध धर्ममा यसको प्रयोग बढ्दै जाँदा अन्य समुदायमा घट्दै गयो।
चैत्य पनि पहिल्यैदेखि बेग्लै र विशिष्ट अर्थमा प्रयुक्त थियो। सम्भवतः उति वेला भनिने गरेको चैत्य अहिलेको भाषामा सुन्दर र मनमोहक उद्यान हो। तर यो यस्तो उद्यान आध्यात्मिक भावले पनि युक्त हुनुपर्यो। बुद्धकै प्रसंगमा उल्लिखित चैत्यले पनि यो कुराको पुष्टि गर्छन्। चैत्यहरूको मात्र प्रदक्षिणा गरेर धर्मलाभ हुँदैन भन्ने बुद्धवचनले तत्कालीन समाजमा यो धार्मिक आस्थासँग सम्बद्ध रहेको बुझिन्छ।
स्तूपप्रति अत्यन्त श्रद्धा राखी पूजा-सत्कार गर्ने संस्कृति आजभोलि पनि पाइन्छ। स्तूप निर्माणलाई ठूलै महत्त्व दिने क्रममा पछिका बौद्धहरूले यसलाई जहाँ पायो त्यहीं बनाउने नभएर विशिष्ट अर्थ दिने ठाउँको खोजी गर्न थाले। त्यस्तो ठाउँ चैत्य नै थियो। चैत्य (स्थान)मा स्तूप वास्तुकला थपिंदा कसैलाई आपत्ति भएन। स्तूपलाई तिब्बती भाषामा ‘छोर्तेन’ शब्द प्रयुक्त छ। ‘छोर्’ शब्दले शुद्ध र ‘तेन’ शब्दले स्थान भन्ने अर्थ दिन्छ। अर्थका दृष्टिले चैत्य र स्तूपलाई शुद्ध र पवित्र मात्र नभएर धर्मको प्रतीकका रूपमा पनि लिइन थाल्यो। सम्भवतः पछि चैत्यस्थलहरूमा स्तूपको निर्माण हुन थाल्यो वा चैत्यको अर्थ स्तूपमा समाहित भयो। यसरी स्तूप र चैत्य बेग्लाबेग्लै विषयवस्तु भएर पनि कालान्तरमा एउटै अर्थमा प्रयोग हुन थाले।
पालि वाङ्मयमा चैत्यले श्रद्धा, आस्था र सौन्दर्यले भरिपूर्ण स्थल बुझाउँछ। अझ यसले ‘धर्म चैत्य’ दर्शनलाई नै पनि जनायो जुन अमूर्त कुरा हो। यस अर्थमा चैत्यले धेरै कुराको अर्थबोध गराउँछ, कुनै ठाउँ वा वास्तुविशेष मात्र होइन। रूख, घर आदिलाई पनि चैत्य भनिएको पाइन्छ। स्तूप पनि त्यस्तै श्रद्धास्थल हो। तसर्थ स्तूप पनि चैत्य नै हुन जान्छ, तर स्तूपको अर्थ वा भौतिक संरचनाले सम्पूर्ण चैत्यलाई प्रतिविम्बन गर्दैन। अर्थात् भौतिक दृष्टिकोणबाट अर्थ्याउँदा चैत्य अन्तर्गत स्तूप पर्न सक्छ, तर स्तूप अन्तर्गत चैत्य पर्दैन।