खडेरीका कारण धान रोपेको खेतमा धाँजा फाटेपछि मधेशका किसानलाई खाद्यान्न संकट हुने चिन्ताले पिरोल्न थालेको छ।
जल तथा मौसम विज्ञान विभागले वैशाख २३ मा यस वर्ष औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण सार्वजनिक गर्यो। रेडियोमा सुनेको वर्षा बढी हुने समाचारले जनकपुरधाम उपमहानगरपालिका-१६ का झगरु यादवको अनुहारमा मुस्कान ल्यायो।
करीब दुई बिघा जग्गामा धानखेती गर्दै आएका उनले यस पटक राम्रो उब्जनी हुने आश गरेका थिए। किनकि गत वर्ष समयमै रोपाइँ नगर्दा उत्पादन राम्रो हुन सकेको थिएन।
झन् जेठ दोस्रो साता मनसुन भित्रिएको खबरले त उत्साहित बनायो। “मनसुन कोशीतिर आयो भनेर सुन्ने बित्तिकै खेत सम्याउन शुरू गरेको थिएँ,” यादव भन्छन्, “धानको बीउ सोहर्नमा लागेको थिएँ।”
हाते पम्पको सहायताले रोपाइँ गर्दै किसान।
उनको विश्वास थियो, कोशीमा पुगेको मनसुन एक-दुई दिनमै मधेशमा पुग्छ। हुन पनि कोशीको छेउमै छ, मधेश। रोपाइँका लागि गाउँमा मजदूरलाई पनि भनिसकेका थिए। “पानी पर्न थालेपछि सबैभन्दा पहिला मेरो खेतमा आएर रोपाइँ गर्नुपर्छ, बीउ पनि तयार छ भनेर छरछिमेकी र मजदूरलाई भनेको थिएँ,” यादव भन्छन्।
तर उनको खुशी धेरै दिन टिकेन। फेरि मौसम विभागले नै मनसुन कमजोर भएको सूचना प्रवाह गर्यो। “मनसुन कमजोर भएको खबर सुन्दा नै मैले खडेरी आउँछ कि भन्ने सोचेको थिएँ,” उनी भन्छन्, “त्यस्तै भो, खडेरी आयो। रोपेको धान सुक्यो।”
वर्षा नहुँदा रोपाइँ गर्न बाँकी खेत।
मधेशका किसानको अवस्था उनको भन्दा पृथक् छैन। साउन दोस्रो सातासम्म पनि वर्षा भएको छैन। मधेशमा खडेरी परेको छ। मधेशका किसान रोपिसकेको धान कसरी जोगाउने र बाँकी खेतमा रोपाइँ गर्ने भन्ने चिन्तामा छन्।
कतिपय ठाउँमा रोपाइँ हुने सकेको छैन। आकाशे पानीको भरमा खेती गर्ने किसान समस्यामा छन्। जसोतसो वैकल्पिक सिंचाइको भरमा खेती गरेका किसानको खेतमा पनि धाँजा फाटेको छ। कतिपय ठाउँमा पानीको अभावले धानको बीउ पहेंलो हुन थालेको छ। पानीका लागि किसानले मठमन्दिरमा पूजापाठ पनि गर्न थालेका छन्।
पानी नपरेपछि धनुषाधामस्थित धनुष मन्दिरमा पूजा गर्दै किसान।
मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म ४७ प्रतिशत मात्र रोपाइँ भएको छ।
अर्कातिर, खानेपानीको पनि समस्या देखिएको छ। यो समस्या समाधान गर्न स्थानीय सरकार सक्रिय भएका छन्। समस्या देखा परेका ठाउँमा खानेपानी वितरण गरिरहेका छन्।
मधेश सरकारले पनि खानेपानीको समस्या समाधान गर्न पहल थालेको छ। मुख्यमन्त्री सतीशकुमार सिंह मधेश प्रदेशलाई खेडेरी क्षेत्र घोषणा गरेर आवश्यक पर्ने ठाउँमा पानीको प्रबन्ध गरिरहेको बताउँछन्। अहिले सबैभन्दा बढी समस्या खानेपानीको देखिएकाले प्रदेश सरकार त्यसमै केन्द्रित भएको सिंहको भनाइ छ। “खानेपानीको समस्या देखिएको क्षेत्रमा नेपाली सेना सहित सुरक्षाकर्मीको सहयोगमा जिल्ला जिल्लामा पानी पुर्याउने काम भइरहेको छ,” मुख्यमन्त्री सिंह भन्छन्।
खाद्य संकटको चिन्ता
अत्यधिक गर्मीले धान रोपेको खेतमा चिरा परेका छन्। खडेरीको कारण मधेशमा खाद्यन्न संकट हुने चिन्ता बढेको छ। जबकि पाँच दशकअघि मधेशबाट धान निर्यात हुन्थ्यो। विशेष गरेर किसानले भारतमा धान बेच्थे। सबैला नगरपालिका-३ का महेन्द्र साहु अन्न बेच्न जाने गरेको सुनाउँछन्।
मधेशका पनि विभिन्न बजारमा धान बेच्ने गरेको उनलाई हिजै जस्तो लाग्छ। “मैले १० वटासम्म बयलगाडामा अन्न बेचेको छु,” साहु भन्छन्, “गाउँघरका किसानसँग धान-चामल खरीद गरी भारतको बजारसम्म पुर्याएको छु।”
पछिल्लो समय मधेशमा खेतीपाती घट्दै गएको छ। झन् अतिवृष्टि र अनावृष्टिको चपेटामा पर्दा हरेक वर्ष उत्पादन कम हुँदै गएको उनी सुनाउँछन्। अहिले त खडेरी परेकाले खाद्य संकट हुने उनको चिन्ता छ। “यस पटकको खडेरी ३० वर्षपछि आएको हो,” उनी भन्छन्, “पहिले खडेरी हुँदा पनि भात खान समस्या भएको थियो।”
सिंचाइको अभावले पनि मधेशमा खेती घट्दै गएको छ। मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार मधेशमा कुल खेतीयोग्य क्षेत्र पाँच लाख सात हजार ७४० हेक्टर छ। त्यसमध्ये आर्थिक वर्ष २०८०/८१ सम्म दुई लाख ७३ हजार ४१० हेक्टर अर्थात् ५८.४१ प्रतिशत क्षेत्रमा मात्र सिंचाइ पुगेको छ।
रोजगारी सिर्जना र गरीबी निवारणमा महत्त्वपूर्ण भूमिका रहेको कृषि क्षेत्र मधेश प्रदेशको मेरुदण्ड नै हो। मधेश प्रदेश सरकारले दोस्रो आवधिक योजनामा कृषिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा स्वीकार गर्दै ‘मधेशले देशलाई खुवाउने अभियान’ अघि बढाएको थियो।
वर्षा नहुँदा सुक्खा बनेका नदीनाला।
आव २०७९/८० मा प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३५.२ प्रतिशत थियो। त्यस्तै, देशको कुल कृषि गार्हस्थ्य उत्पादनमा यस प्रदेशको योगदान १९.१ प्रतिशत थियो।
मधेश प्रदेश खाद्यान्नको भण्डारका रूपमा पनि परिचित छ। आव २०७८/७९ मा मधेश प्रदेशको ६ लाख २० हजार ३७९ हेक्टर जमीनमा खेती गर्दा २२ लाख १० हजार ९८९ मेक्ट्रिक टन खाद्यान्न उत्पादन भएको थियो। खाद्यान्न बालीमध्ये धान मधेशको प्रदेशको मुख्य बाली हो।
आव २०७८/७९ मा मधेश प्रदेशमा तीन लाख ८१ हजार ८९८ हेक्टरमा धान खेती गरिएकामा १३ लाख ८९ हजार २०५ मेक्ट्रिक टन धान उत्पादन भएको थियो। मधेशमा धान खेतीको उत्पादकत्व प्रतिहेक्टर ३.६४ मेट्रिक टन छ, जुन देशको औसत उत्पादकत्व ३.४७ मेट्रिक टनभन्दा बढी हो।
मधेशमा ६५ प्रतिशत खेतीयोग्य जमीन छ। कुल खेतीयोग्य जमीनको करीब ७८ प्रतिशतमा खाद्यान्न, ११ प्रतिशतमा दलहन, चार प्रतिशतमा नगदे बाली र तीन प्रतिशतमा तेलहन बालीको खेती हुँदै आएको छ। देशको कुल उत्पादनमध्ये करीब २०.५२ प्रतिशत खाद्यान्न, २०.७ प्रतिशत फलफूल र २५.८८ प्रतिशत तरकारी मधेशमै उत्पादन हुन्छ।
प्रदेशका बहुसंख्यक कृषक एक हेक्टरभन्दा कम जमीनमा खेती गर्छन्। खडेरीका कारण रोपाइँ हुन नसकेपछि उनीहरूलाई खाद्य संकटको चिन्ताले पिरोल्न थालेको छ।
मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री संघीय सरकारलाई आवश्यक सहयोगका लागि दीर्घकालीन र अल्पकालीन योजना दिइसकेको बताउँछन्। प्रदेशले दिएको सुझाव अनुसार संघीय सरकारले तत्काल काम गरेको खण्डमा केही समस्या समाधान हुने उनको विश्वास छ। “अहिले गण्डक नहरमा पूर्ण रूपमा पानी दिएमा बारा, पर्सा र रौतहटको समस्या समाधान हुन्छ,” मन्त्री क्षेत्री भन्छन्, “अन्य क्षेत्रमा साउन १२ देखि स्यालो ट्युबवेल वितरण गर्दै छौं। त्यसले केही राहत होला।”
अब केही दिनमा पानी परेन भने किसानलाई राहत वितरण गर्नेगरी योजना अघि बढाउने उनी बताउँछन्। नयाँ तथ्यांक संकलन गरेर खडेरी प्रभावित किसानलाई राहतको व्यवस्था मिलाउन आवश्यक पहल गरिने मन्त्री क्षेत्रीको भनाइ छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि साउन ८ मा मधेश प्रदेशको महोत्तरी र बारा जिल्लाका विभिन्न स्थानको अवलोकन गरेर समस्यामा रहेका किसानलाई सहयोगको आश्वासन दिएका छन्।