मेयर बालेनले शुरू गरेको ‘बूक फ्री फ्राइडे’ कार्यक्रमले काठमाडौंका सामुदायिक विद्यालयको पढाइमा परिवर्तन ल्याएको मात्रै छैन, विद्यार्थीलाई ‘खेलाउँदै, सिकाउँदै’ सिर्जनशील बनाइरहेको छ।
दुई वर्षअघि कालीकोटको खाँडाचक्र नगरपालिका-६ स्थित सरस्वती माविमा पढ्दै गर्दा राजनबहादुर शाहीले कम्प्युटर देखेका त थिए, तर चलाउन त के छुन समेत पाएका थिएनन्। कक्षा ७ का विद्यार्थी शाही शिक्षकले कम्प्युटर चलाएको टाढैबाट हेर्थे। “स्कूलमा त एउटा मात्र ल्यापटप थियो, त्यो पनि सरले छुन दिनुहुन्नथ्यो,” शाही भन्छन्।
अहिले भने उनले कम्प्युटरलाई टाढैबाट हेर्नु पर्दैन। विद्यालयको कम्प्युटर ल्याबमा बसेर ‘कोडिङ’ गर्छन्, ‘वेबपेज’ बनाउन। “स्कूलको ‘वेबपेज’ बनाएपछि आफ्नै ‘वेबपेज’ बनाउने सोचेको छु,” हरेक शुक्रबार कम्प्युटर ल्याबमा भेटिने शाही भन्छन्, “भविष्यमा एप डेभलपर बन्ने सपना छ।”
कालीकोटबाट काठमाडौं आएका शाही महाराजगन्जस्थित बाँसबारी माध्यमिक विद्यालयमा भर्ना भए। कालीकोटमा छँदै कम्प्युटर चलाउने सपना देखेका उनले काठमाडौं आएपछि सिक्न त खोजे, तर सरकारी स्कूलको पढाइ र आर्थिक अवस्थाले सम्भव भएन।
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा सञ्चालन गरेको ‘बूक फ्री फ्राइडे’ कार्यक्रमले भने कम्प्युटरसँग जोडिदियो। कालीकोटमा छँदा कल्पना पनि गर्न नसकेको डिजिटल दुनियाँमा अहिले उनी रमाइरहेका छन्।
बाँसबारी विद्यालयमा शुक्रबार कोडिङ सिक्दै राजनबहादुर शाही।
शुक्रबारे ‘बूक फ्री फ्राइडे’ कार्यक्रमले सामुदायिक विद्यालयमा किताब बाहिरका सीप सिकाउने उद्देश्य राखेको छ। यही कार्यक्रम अन्तर्गत शाही कम्प्युटर विज्ञानका प्रशिक्षकसँग प्रत्येक शुक्रबार ‘एसडीएमएल (सिम्पल डोमेन मोडलिङ ल्यांग्वेज)’ सिकिरहेका छन्। यो ‘वेबपेज’ बनाउन चाहिने प्रक्रिया हो। बाँसबारी माविमा उनीसँगै २५ विद्यार्थी ‘कोडिङ’ सिकिरहेका छन्।
बाँसबारी विद्यालयकै कक्षा ८ मा पढ्ने कृतिका चापागाईं भित्तेचित्र कोरिरहेकी छन्। सानैदेखि चापागाईंलाई रङसँग विशेष लगाव थियो। घर र स्कूलमा चित्र कोर्ने वातावरण थिएन। ‘बूक फ्री फ्राइडे’ भने भित्तेचित्र कोर्ने मेलो बन्यो। “भित्तेचित्र बनाउन सिक्न थालेको दुई वर्ष भयो,” चापागाईं भन्छिन्, “अब त शुक्रबार आउने बित्तिकै आज नयाँ के सिक्न पाइने हो भनेर खुल्दुली हुन्छ।”
उनले विद्यालयकै पर्खालमा पुस्तक, फूल, चरा, ध्यान गरिरहेका मानिसका आकृति बनाएकी छन्। कापीका पानामा त कति हो कति कोरेकी छन्। अब त कागजमा मात्र होइन, विद्यालयको भित्तामा पनि आफैंले कल्पना गरेको चित्र बनाउने गरेको सुनाउँदै भविष्यमा ललितकला क्षेत्रमा लाग्ने बताउँछिन्।
अहिले त उनको कला देखेर आफन्त चकित पर्दै सोध्छन्, ‘बोर्डिङ स्कूलले पो गराउँछ त यस्तो। सरकारी स्कूलमा पनि यस्तो हुन्छ र?’ यसरी सोध्ने आफन्त तथा छरछिमेकीलाई उनी पनि हाँस्दै उत्तर दिन्छिन्, “बोर्डिङमा त पैसा तिरेर मात्र सिकिन्छ, हामी त निःशुल्क सिकिरहेका छौं।”
बाँसबारीमै कक्षा ९ मा पढ्ने अनिशा श्रेष्ठ संगीत सिकिरहेकी छन्। शुक्रबार कहिले आउला भन्ने लाग्ने गरेको उनी सुनाउँछिन्। श्रेष्ठलाई सानैदेखि गीतसंगीतमा रुचि थियो। उनकै सहपाठी बिन्दास अधिकारी बुद्धिचालको प्रशिक्षण लिइरहेका छन्।
यस विद्यालयमा मात्र कक्षा ४ देखि ९ सम्मका ३४६ विद्यार्थी ‘बूक फ्री फ्राइडे’ कार्यक्रम अन्तर्गत विविध क्रियाकलापमा सहभागी भइरहेका छन्। उनीहरूमध्ये सिर्जनात्मक सिकाइ र शिक्षामा सीप विधा अन्तर्गत भित्तेचित्रमा ३०, कथावाचनमा ३१, कोडिङमा २५, नेतृत्व विकासमा ३१, स्काउटमा ३५, अध्ययन संस्कृतिमा ३५, संगीतमा ३००, बावा (बालबालिका र वातावरण)मा ३१, स्टिम (विज्ञान, प्रविधि, इन्जिनीयरिङ, कला र गणित)मा ३५, प्लम्बिङमा १८, मूर्तिकलामा २२ र मोबाइल रिपेयरिङमा २२ जना विद्यार्थी प्रशिक्षण लिइरहेका छन्।
कक्षा ९ का विद्यार्थीलाई दिइने मोबाइल रिपेयरिङ तालीम बढी प्रभावकारी बनेको विद्यालयकी प्रधानाध्यापक नारायणी तिमल्सिना बताउँछिन्। त्यस्तै, प्रशिक्षक श्रीकृष्ण प्रजापति एक वर्षको तालीममा विद्यार्थीले मोबाइलको डिस्प्ले परिवर्तन गर्ने, सफ्टवेयरको समस्या जाँच्ने, सोल्डरिङ गर्ने (मोबाइलको समस्या पत्ता लगाउने) लगायत सीप सिकेको बताउँछन्। उनीहरूले रमाईरमाई सीप सिकेको उनको भनाइ छ। “कति विद्यार्थीले त विद्यालयमा शिक्षकहरूको बिग्रिएको मोबाइल पनि बनाइदिएका छन्,” प्रशिक्षक प्रजापति भन्छन्।
यति वेला बाँसबारी मावि जस्तै काठमाडौं महानगरका ८७ वटै सामुदायिक विद्यालयका विद्यार्थी ‘बूक फ्री फ्राइडे’ कार्यक्रम अन्तर्गत विभिन्न सीप र सिर्जनाका विधामा प्रशिक्षण लिइरहेका छन्। जसले विद्यार्थीको क्षमता प्रस्फुटनमा सघाउ पुगेको बालुवाटारस्थित पञ्चकन्या आधारभूत विद्यालयकी प्रधानाध्यापक विनिता रञ्जित बताउँछन्। यसले निजी विद्यालयका विद्यार्थी र अभिभावकलाई पनि आकर्षित गरेको बताउँदै प्रधानाध्यापक रञ्जित भन्छिन्, “सबैभन्दा राम्रो भित्तेचित्र बनाउन जानेका छन्। यो कार्यक्रम नआएको भए बालबालिकाका रुचि र क्षमतालाई किताबका पाठहरूले थिच्थे होलान्।”
‘बूक फ्री फ्राइडे’ के हो?
काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले २०७९ सालको चुनावी घोषणापत्रमा शिक्षालाई प्राथमिकतामा राखेर ६ वटा कार्यक्रम सञ्चालन गर्ने वाचा गरेका थिए। त्यसमध्ये एउटा बुँदामा भनिएको थियो, ‘हप्तामा एक दिन सामुदायिक विद्यालयमा सीप, उद्यमशीलता, खेलकूद, संगीत, कला तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्था गरिनेछ।’
त्यसलाई सम्बोधन गर्न मेयर साहले ‘बूक फ्री फाइडे’ कार्यक्रम ल्याएका हुन्। यो कार्यक्रम पहिलो वर्ष नै शुरू गरे। यो कार्यक्रम कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई दुई समूहमा बाँडेर सञ्चालन गरिंदै आएको छ। पहिलो, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई सिर्जनात्मक सिकाइ अन्तर्गत २५ विधामा प्रशिक्षण दिने गरिएको छ।
जसमा बालबालिका तथा वातावरण (बावा), विज्ञान, प्रविधि, इन्जिनीयरिङ, कला र गणित (स्टिम), भित्तेचित्र (म्युरल), संस्कृति र सम्पदा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, नाट्य, व्यक्तित्व विकास, उद्यमशील सोच, पठन संस्कार छन्। त्यस्तै, योग, संगीत, ड्रोन, एनिमेशन र गेमिफिकेशन, कोड (कोडिङ), स्काउट, फिल्म निर्माण, फोटोग्राफी/क्यामेरा र प्रविधि (फिल्म निर्माण), नृत्य, कथावाचन, चरित्रवान् नेतृत्व, मेन्टरशिप लगायत छन्।
दोस्रो समूह कक्षा ८ देखि १० सम्मका विद्यार्थीका लागि १० वटा विधा तोकिएका छन्। जसमा कृषि र शहरी खेती, सौन्दर्यकला र कपाल डिजाइन, काष्ठकला, पाककला, फेशन डिजाइन र लुगा सिलाइ, घरको वायरिङ र विद्युतीय कार्य, परम्परागत र आधुनिक ढुंगाइँटा निर्माण (विपद् तयारी), मोबाइल र इलेक्ट्रोनिक्स मर्मत, पाइप जडान (प्लम्बिङ), स्केचिङ र मूर्तिकला छन्। विद्यार्थीले आफ्नो रुचि अनुसार विधा छनोट गर्छन्।
हरेक विधाको शैक्षिक पाठ्यक्रम नै बनाइएको छ। जसका लागि ९० घण्टा छुट्याइएको छ। प्रशिक्षणपछि सिकाइ परीक्षण पनि गर्ने गरिएको छ।
पढाइमा परिवर्तन
पहिलो पटक आर्थिक वर्ष २०७९/८० सालमा कक्षा ९ र १० का विद्यार्थीलाई शिक्षामा सीप भनेर कार्यक्रम लागू गरिएको थियो। त्यसका लागि महानगरले दुई करोड रुपैयाँ छुट्याएको थियो। त्यस वेला ५६ वटा विद्यालयमा सञ्चालन भएको कार्यक्रममा दुई हजार ७०० विद्यार्थी सहभागी थिए।
त्यसको सफलतापछि कार्यक्रमलाई थप सुधार गरेर कक्षा ४ देखि ८ सम्मका विद्यार्थीका लागि सिर्जनशील सिकाइ भनेर लागू गरिएको हो। त्यसपछि सहभागी विद्यार्थी संख्या पनि बढ्यो। आव २०८०/८१ मा ८२ वटा सामुदायिक विद्यालयका २३ हजार ६१९ विद्यार्थी शुक्रबार पुस्तक बाहिरको सीप सिक्न उत्साहित भए। यस वर्ष बजेट पनि बढाएर नौ करोड ९३ लाख रुपैयाँ पुगाइएको थियो।
आव २०८१/८२ मा काठमाडौंका ८७ वटा सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको छ। अहिले भने कक्षा ९ सम्मका लागि मात्र यो कार्यक्रम लागू गरिएको छ। एसईईको तयारीमा असर नपरोस् भनेर कक्षा १० मा कार्यक्रम रोकिएको काठमाडौं महानगरको शहरी योजना आयोगका शिक्षा विज्ञ शैलेन्द्र झा बताउँछन्।
विद्यार्थी संख्या घटेकाले अघिल्लो वर्षको तुलनामा बजेट विनियोजन पनि कम भएको थियो। यस वर्ष महानगरले सात करोड रुपैयाँ छुट्याएको थियो। “शुरूआतमा कक्षा ९ का विद्यार्थीका लागि छोटो अवधिको ‘पाइलट प्रोजेक्ट’ का रूपमा कार्यक्रम शुरू गरेका थियौं। त्यो सफल भएपछि सुधार गर्दै अहिले काठमाडौंका सबै सामुदायिक विद्यालयमा लागू गरेका छौं,” झा भन्छन्।
उनका अनुसार आव २०८२/८३ का लागि अहिले कार्यक्रम बनाउने र बजेट छुट्याउने प्रक्रिया चलिरहेको छ। हरेक वर्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुधारका कार्यहरू भएको र यस वर्ष पनि मुख्य गरी चुस्त पाठ्यक्रम नै बनाएर अघि बढ्नेगरी महानगर काम गरिरहेको उनको भनाइ छ।
अहिले काठमाडौंका सामुदायिक विद्यालयका ५९ हजार ८९७ विद्यार्थी हरेक शुक्रबार सीप सिकिरहेका छन्। यसले विद्यार्थी क्षमता बढाउनुका साथै पढाइमा पनि रुचि जगाएको छ। विद्यार्थी आन्तरिक मात्र होइन, बाहिरका प्रतियोगितामा पनि प्रतिस्पर्धी बनेका छन्। यसले पढाइमा परिवर्तन ल्याएको छ। विद्यार्थीसँगै शिक्षकलाई पनि फाइदा पुगेको बाँसबारी माविकी प्रधानाध्यापक तिमल्सिना सुनाउँछिन्।
विद्यालयमा ‘खेल्दै, सिक्दै’ भनेर ल्याइएको शुक्रबारे कार्यक्रमले विद्यार्थीको क्षमतासँगै आत्मविश्वास पनि बढाएको बाँसबारी माविकी प्रधानाध्यापक तिमल्सिना सुनाउँछिन्। सबैभन्दा राम्रो त कक्षा ४ का विद्यार्थीले कक्षा ८ का विद्यार्थीसँग घुलमिल भएर सिकिरहेका छन्। यसले विद्यार्थीलाई जिज्ञासु बनाएको उनको भनाइ छ।
शुक्रबारे कार्यक्रमका लागि काठमाडौं महानगरले पठाएका प्रशिक्षक विद्यार्थीलाई सिकाउँदै।
यसबाट प्रभावित भएर अहिले निजी विद्यालयले पनि ‘बूक फ्री फ्राइडे’ कार्यक्रममा समेट्न माग गरिरहेको महानगरका शिक्षा विज्ञ झा बताउँछन्। काठमाडौंका ६७२ वटा निजी विद्यालयमा दुई लाख ८० हजार ६२६ विद्यार्थी अध्ययनरत छन्। “निजी विद्यालयले पनि चासो देखाएका छन्। आगामी दिनमा सहकार्य गरेर जान सक्छौं,” उनी भन्छन्, “अहिलेसम्म त हामीलाई पनि सिकाइ नै भइरहेको थियो। अब विद्यालयकै शिक्षकलाई तालीम दिन सक्ने बनाएर कार्यक्रम अगाडि बढाउँछौं।”
अहिलेसम्म महानगरले नै प्रशिक्षक पठाउँदै आएको छ। विद्यालयमा एक जना फोकल शिक्षक राखिन्छ। महानगरको अबको योजना तिनै फोकल शिक्षकलाई थप तालीम दिएर सक्षम बनाउने र तिनैबाट विद्यार्थीलाई प्रशिक्षण गर्ने तयारी छ।
शिक्षकलाई नै प्रशिक्षण दिन लगाउँदा कार्यक्रम अहिले जस्तै प्रभावकारी नहुने हो कि भन्ने विद्यालयहरूलाई चिन्ता छ। त्यसैले बाँसबारी विद्यालयकी प्रधानाध्यापक तिमल्सिना विद्यालयकै शिक्षकलाई प्रशिक्षक बनाउने कार्य चुनौतीपूर्ण हुने बताउँछिन्। “विद्यालयकै शिक्षकलाई तालीमको मुख्य प्रशिक्षक बनाउनु व्यावहारिक हुँदैन। कति शिक्षकको अवकाश लिने वेला भएको छ, कति शिक्षकको रुचि फरक हुन्छ,” उनी भन्छिन्, “फेरि नयाँ प्रशिक्षक आउँदा विद्यार्थीले नयाँ शिक्षक पाउँछन्। उनीहरू उत्साहित पनि हुन्छन्।”
VIDEO