हामीकहाँ सम्पादन सम्बन्धी तालीम कतै नपाइने भएकाले यो काम व्यक्तिको तजबिज र अनुभवमा निर्भर छ। अर्कातिर प्रकाशनगृहले तह तहमा सम्पादक राखेर काम गराउने परिस्थिति नहुँदा सबै कुरा एउटैले भ्याइदिनुपरेको छ।
वसन्त थापा
धरानमा हुर्किएको म। केटाकेटी उमेरदेखि नै पुस्तकालयहरूको संगतमा परें। अग्रजहरूले २०१६ सालमै खोलेका थिए लक्ष्मी वाचनालय हाम्रो टोलमा। उहाँहरूको देखासिकीमा हामीले पनि छेवैमा बाल पुस्तकालय खोलेका थियौं। केटाकेटी रहर। २००४ सालमा खुलेको सार्वजनिक विद्या भवन धरानकै ठूलो पुस्तकालय छँदै थियो।
धरानको त्यस वेलाको माहोल अलि सिर्जनात्मक, साहित्यिक थियो। कविगोष्ठी, संगीत-नाटक भइरहन्थे। पत्रपत्रिका आइराख्थे, पढन्तेहरूसँगको संगत हुन्थ्यो। यही माहोलले सानैदेखि पाठ्यपुस्तक बाहेकका सामग्री पनि पढ्ने बानी लगायो।
धरानमा कलेज पढ्दा ताका विराटनगरबाट हिमालचुली साप्ताहिक प्रकाशन हुन्थ्यो। सम्पादक हुनुहुन्थ्यो विपिनदेव ढुंगेल। उहाँसँग चिनजान भयो। मलाई उहाँले समाचार लेख्न हौस्याउनुभयो। म कनीकुथी लेख्थें, छापिन्थ्यो पनि। तर नाम हुन्नथ्यो, संवाददाता मात्र लेखिन्थ्यो। नाम नै छापिएको त कुनै एउटा पत्रिकामा कविता आउँदा मात्र हो। पहिलोपल्ट आफ्नो मुद्रित नाम देखेर यति सम्मोहित थिएँ कि हेरेको हेर्यै भएको थिएँ।
काठमाडौँ आएपछि संयोगले समीक्षा साप्ताहिकमा जोडिन पुगें। सम्पादक मदनमणि दीक्षितको लेखाइ महात्मा गान्धीलाई टक्कर दिने खालको थियो, मुश्किलले बुझिने। हातले लेख्न नभ्याएका वेला उहाँ प्रायः मुखले टिपाउनुहुन्थ्यो, म कागजमा उतार्थें। यो सन् १९७३ तिरको कुरा हो। डटपेन, बलपेनको चलन आइसकेको थिएन। अगाडि मसीको भाँडो राखेर कलम चोप्दै लेखिन्थ्यो।
आफ्नो लेखोट टिपाउने क्रममा उहाँले एक दिन ‘बलेको विश्वास’ भन्नुभयो। मलाई उकुसमुकुस लागेर सोधें, “माड्साब, विश्वास बल्ने कुरा कसरी भयो?” उहाँले भन्नुभयो, “किन हुँदैन? हुन्छ, लेख्नुहोस्।” मैले अलि परम्परागत हिसाबले सोचेको रहेछु- बलियो, दृढ वा प्रगाढ विश्वास यस्तै अरू केही शब्द हुनु पर्छ भन्ने। यसलाई मैले माड्साबबाट सिकेको सम्पादनको गुरु मानेको छु।
यसै पनि उहाँ अरूले लेखेको सच्याएर बस्ने सम्पादक होइन। उहाँ विचारको तन्द्रामा रहनुहुन्थ्यो धेरै जसो- के सम्पादकीय लेख्ने, केलाई मुख्य समाचार बनाउने, आफ्नो स्तम्भ कसरी पूरा गर्ने भन्नेमा। लेखका खुद्रामसिना कुरा सच्याउन सहायक सम्पादक थिए- शंकर लयाल, पाल्पातिरका। मैले जे लेख्यो प्रायः काटछाँट बेगरै छापिन्थे। समाचार लेखन त मेरो काम नै भइहाल्यो। वेलाबखत सम्पादन पनि गरिटोपल्नुपर्यो। रहरले भन्दा पनि परिस्थितिले।
धेरै पछि हिमाल द्वैमासिक पत्रिकाको सम्पादक बनें। खूब मिहिनेत गरें। केही सैद्धान्तिक र अरूका अनुभव पनि पढें। सिकें, अनुभव सँगालें। पत्रिकाको सम्पादक नरहेपछि शुरू गरियो पुस्तक सम्पादन, ‘हिमाल किताब’ नामको पुस्तक प्रकाशन संस्था अन्तर्गत। (अहिले त्यो एस.एस.बी.प्रेस भएको छ) ‘हिमाल किताब’ बाट छापिने नेपाली किताबको सम्पादन गर्ने जिम्मा मेरो थियो अंग्रेजी सम्पादन गर्ने जिम्मा दीपक थापाको।
काम गर्दागर्दै सिकेको हो मैले सम्पादन कार्य। आफैंले सिकेर जानेको हुनाले म भुइँफुट्टा सम्पादक हुँ। विना गुरुको शिष्य भुइँफुट्टा नै कहलिन्छ। धेरैबाट सिकें हुँला अलिअलि। हामीकहाँ सम्पादनबारे कतै तालीम, प्रशिक्षण पाइँदैन। कुनै कोर्स छैन। त्यसैले म संयोगले, जानी-नजानी यो काममा जोडिएको हुँ।
पुस्तक र पत्रकारिता
मेरो अनुभवमा पत्रपत्रिका र पुस्तकको सम्पादन प्रक्रियामा अन्तर भए पनि मूल कुरा उस्तै उस्तै हो। पत्रिकाको सम्पादकले के समाचार पस्किने, कुनलाई ब्यानर बनाउने, कुनलाई बक्समा राख्ने, सम्पादकीय के लेख्ने भन्नेमा ध्यान दिन्छ। पुस्तकको सम्पादक चाहिं तयारी, आइडियाको चरणदेखि प्रकाशन नहुन्जेल सबै प्रक्रियामा संलग्न हुन्छ।
पत्रकारिताको सम्पादन मुख्य रूपमा सब-एडिटरसँग जोडिएको हुन्छ, जसको कामलाई अंग्रेजीमा ‘सबिङ’ गर्नु भनिन्छ। सबिङको काम गर्नेलाई चलनचल्तीमा ‘कपी एडिटर’ पनि भनिन्छ। पुस्तकका हकमा चाहिं विदेशतिर ठूला ठूला प्रकाशनगृहमा सब-एडिटरसँगै एक्विजिशन एडिटर, कमिसनिङ एडिटर, स्पोन्सरशिप एडिटर आदि पनि हुन्छन्।
शुरूमा कुन विषयमा पुस्तक बन्न सक्छ र कसले लेख्न सक्छ भनेर लेख्न लगाइन्छ वा प्राप्त पान्डुलिपिमा कुनलाई छाप्ने त्यो ठेगान हुन्छ। हातले लेखिने वेलामा म्यानुस्क्रिप्ट भनिएकामा टाइप गर्न थालिएपछि त्यसैलाई टाइपस्क्रिप्ट भन्न थालिएको हो। टाइपस्क्रिप्ट वा पाण्डुलिपि लाइन एडिटरकहाँ पुगेपछि उसले आद्योपान्त पढेर के के कमजोरी छन्, के सुधार्नुपर्छ भन्ने सुझाव दिन्छ। अनि लेखकसँगको सल्लाहमा लेखनको परिमार्जन गरिन्छ। पुस्तकले एउटा स्वरूप ग्रहण गरिसकेपछि त्यो सब-एडिटर वा कपी एडिटरकहाँ पुग्छ। उसले तथ्यातथ्य, व्याकरण, वाक्य संरचना सहित हरेक चिजलाई सूक्ष्म तरीकाले हेर्छ र सुधार्ने काम गर्छ।
भनिन्छ, ‘ग्रेट एडिटर्स आर बोर्न, गुड एडिटर्स आर मेड अर सेल्फमेड’। यस हिसाबले म जन्मजात नभएर ‘सेल्फमेड’ (स्वनिर्मित) हुँ। मैले सम्पादन पढेर होइन, परेर सिकेको हुँ। अघि नै भने ‘लर्निङ बाई डुइङ’। शब्दहरूसँग खेल्ने र जिज्ञासु बानीले मान्छेलाई सम्पादन कार्यतिर डोर्याउँछ। फेरि सम्पादनको रमाइलो नरमाइलो जे भने पनि यसमा अर्काले लेखेको कुरामा खेल्न पाइन्छ। सम्पादकले आफ्नै सिर्जना निकाल्छ निकाल्दैन भन्न सकिंदैन। आफैंले एउटा वाक्य पनि सिर्जना गर्नु, केही कुरा जन्माउनु निकै गाह्रो काम हो। मौलिक सिर्जना भनेको बाटै नभएको ठाउँमा बाटो बनाउनु हो। सम्पादन त अर्काले बनाएको बाटामा हिंड्नु हो। यद्यपि अरूको सिर्जनामा काम गर्दा सम्पादकको मनभित्र सुषुप्त अवस्थामा रहेको लेख्ने चाहनाले अलिकति तृप्ति पनि पाउँछ होला।
गत असार अन्तिम साता बूकवर्म फाउन्डेशनद्वारा काठमाडौंमा आयोजित लेखन-सम्पादन अन्तरक्रिया कार्यक्रममा बोल्दै वसन्त थापा।
अचेल किताबहरूमा शुद्धाशुद्धि हेर्ने कुरालाई भाषा सम्पादन भनेर अलग्गै लेखिएको हुन्छ। तर त्यो सबै कपी एडिटिङभित्रै पर्ने कुरा हो। किताब सम्पादनको कुरा गर्दा पहिले एकसरो पढ्नुपर्छ। आफू त्यो विषय-क्षेत्रको जानकार हो कि होइन, त्यस विषय उपर न्याय गर्न सकिन्छ सकिंदैन भन्ने बिचार्नुपर्छ। किनभने कोही पनि सर्वज्ञाता हुँदैन। त्यसैले आफ्नो जुन विषयमा दखल हो, त्यही मात्र गर्नुपर्छ। सम्पादन किन जरुरी छ त भन्दा अंग्रेजीमा ‘थ्री सी’ का कारण भनिन्छ- ‘करेक्ट’, ‘क्लियर’ र ‘कन्साइज’। अर्थात् मिथ्या विवरण पर्न नदिने, पाठकलाई सम्प्रेषण गर्न खोजिएको कुरा प्रस्ट बनाउने र पाठलाई बोझिलो हुन नदिई छरितो बनाउने। पत्रिकामा ठाउँको अभाव हुने भएकाले कन्साइज वा संक्षेपीकरणको महत्त्व बेसी छ। पुस्तकमा ठाउँ यथेष्ट हुने भएकाले अटाउनकै लागि मन नलागी-नलागी रचनाको अंश हटाउनुपर्ने बाध्यता हुँदैन। तर करेक्ट र क्लियर त हुनै पर्यो।
मैले अहिलेसम्म फिक्शन वा उपन्यासको सम्पादन गरेको छैन, कथासम्मको गरेको छु, त्यो पनि अनूदित कथाहरूको। उपन्यास सम्पादन गरिदिन अनुरोध नआएको होइन। तर त्यो मेरो क्षेत्र नभएकाले त्यता गइनँ, जान्नँ। किनभने यसमा भाषा मिलाएर मात्र पुग्दैन, कथनोपकथन, चरित्र निर्माण, कथाको सिलसिला, प्लट, कथानकको प्रस्तुति सबै हेर्नुपर्छ। मतलब, यसको सम्पादन गैरआख्यानको जस्तो सरल रेखामा जाँदैन। फेरि, सम्पादक भनेको सुँडेनी मात्र हो। नजानेको कुरा पनि सम्पादन गर्न थाल्यो भने त सुँडेनीले नै सुत्केरी व्यथा बेहोरेको जस्तो हुन्छ।
बूकर प्राइज विजेता किरण देशाईंको पुस्तक इन्हेरिटेन्स अफ लस बारे मैले कतै पढेको थिएँ, त्यसको पाण्डुलिपि १५ सय पृष्ठको थियो रे। छापिंदा ५-६ सय पृष्ठमा खुम्चियो। तर त्यसैले बूकर प्राइज जित्यो। त्यसरी लेखेको कुरा काट्न कुनै लेखकले मान्ला? बरु छाप्दिनँ भन्ला। लेखक र सम्पादकबीच कुन तहको समझदारीबाट त्यो सम्भव भयो होला?
राम्रो सिर्जना निस्कन लेखक र सम्पादकबीच गहिरो समझदारी हुनै पर्छ, तर सम्पादक जतिसुकै जान्ने भए पनि लेखकप्रति हाबी हुन हुँदैन। उसको जुन शैली र निजत्व छ, त्यसलाई कायम राख्नुपर्छ। केही परिवर्तन गर्नुपर्ने देखिए आवश्यक सुझाव र विकल्प चाहिं दिन सकिन्छ। लेखकले केही जानेको छैन, जेसुकै काटे पनि हुन्छ भन्ने सोच राख्न हुन्न। उसको अभिव्यक्तिको शैली सम्पादकले चलाइदियो भने लेखन एकनासको भइदिन्छ। लेखकका केही शब्द बेठाउँमा परेका छन् भने यताउता मिलाउन सकिन्छ, अगाडिको खल्तीमा राख्नुपर्ने सामान पछाडिको खल्तीमा पुगेछ भने जस्तो। सम्पादकले आफ्नो शब्द र वाक्यहरू सकेसम्म घुसाउन हुँदैन।
शैली पुस्तिका बनाएका मिडिया, प्रकाशन संस्थाका हकमा सम्पादन गर्दा त्यसलाई अनुसरण गर्न सकिन्छ। तर शैली पुस्तिका बनाउने संस्था कति नै होलान् र? अर्कातिर नियमित तलब दिएर सम्पादक राख्ने प्रकाशन संस्था पनि कहाँ होलान्? प्रायले किताबको काम आएपछि बल्ल सम्पादक खोज्ने हुन्। नेपालमा सम्पादकको टीम नै राखेर काम गर्ने परिस्थिति अझै बनिसकेको छैन।
सम्पादन सम्बन्धी तालीम, सम्पादकीय प्रणाली सहितका विषयलाई लिएर सन् १९९० तिर भारतमा पनि निकै गुनासो चलिरहेको सुनिन्थ्यो। त्यता अहिले धेरै व्यवस्थित भइसकेको अवस्था छ। सबै काम प्रणालीगत रूपमा हुन्छ। प्रकाशन उद्योग विकसित भइनसकेको हाम्रो अवस्था उनीहरूसँग तुलना नै हुन सक्दैन। यहाँ त एउटै मान्छेले सबै कुरा भ्याउनुपर्ने हुन्छ।
अचेल शब्दहरूको प्रयोगमा सोचविचार नगर्ने प्रवृत्ति खूबै देखिन्छ। जसलाई जे मन लाग्यो फ्याट्ट लेखिहाल्ने। अनि एउटा शब्द समातेपछि त्यसलाई छाड्दै नछाड्ने। जस्तो, कसैले पनि फलानाको ‘मृत्यु भयो’ भनेर लेखेको हम्मेसि देखिंदैन। नेपाली भाषामा मृत्युलाई बताउने राम्रा-नराम्रा सबै खालका शब्द धेरै छन्- ‘स्वर्गे भयो,’ ‘सिलटिमुर खायो’, ‘मास छर्न गयो’ लगायत थुप्रै। यो हाम्रो भाषाको सबल पक्ष हो। तर यस्तो लाग्छ, मिडियाको प्रयोगमा सबैको ‘निधन’ मात्र हुन्छ, ‘देहावसान’ हुँदैन, कोही ‘बित्नुभयो’ हुँदैन। ‘परलोक’ वा ‘स्वर्गे’ भन्दा पनि त हुन्थ्यो नि।
अहिले असाध्यै चलिरहेको अर्को शब्द हो, आकलन। ‘आजको कार्यक्रममा ४० जना जति थिए भन्ने मेरो आकलन छ’ भन्ने जस्ता वाक्य प्रयोग भइरहेका हुन्छन्। आकलन भनेको अनुमान होइन। कुनै कुरालाई समग्रमा विश्लेषण गरेर मूल्यांकन गर्दा जे निष्कर्षमा पुगिन्छ त्यो आकलन हो। तर यो शब्द अन्दाज, अड्कल वा अनुमानको अर्थमा प्रयोग भइरहेको देखिन्छ जुन गलत प्रयोग हो।
मान्छे वेलाबखत अन्योलमा पर्छ। त्यही स्थितिलाई अलमल र द्विविधा पनि भन्न सकिएला। तर अचेलका पत्रपत्रिकामा मान्छे केवल ‘उल्झन’ मा पर्न थालेको छ। यो शब्द नेपालीमा आएकामा मलाई आपत्ति होइन। तर यसरी एउटा शब्दलाई च्याप्दा समानार्थी अरू शब्द हराउने डर हुन्छ।
अर्को शब्द छ ‘सहज’। मिडियामा ‘सहज बाटो’ लेखिएको देखिन्छ। हुनुपर्ने त सजिलो बाटो हो। रट्दा रट्दा मान्छेले जेलाई पनि सहज भनिदिन थाले। सहजको आफ्नै माने छ। जस्तो- सहज ज्ञान, सहज वृत्ति। यसमा सजिलो ज्ञान, सजिलो वृत्ति भन्न मिल्दैन। सजिलोलाई प्रतिस्थापन गर्ने शब्द होइन सहज। त्यस्तै आजभोलि कसैलाई पीर पर्दैन, पीडा हुन्छ। सबैतिर पीडा मात्र सुनिन्छ। पीर शब्द हराउन बेर छैन।
भ्रष्टाचार शब्दलाई नै लिऔं। यो भनेको खालि घूस लिने-दिने नभएर पतित आचरण पनि हो। बलात्कारीलाई पनि भ्रष्टाचारी भन्न सकिन्छ। तर अहिले यो शब्दले घूस लेनदेनलाई मात्र बुझाउँछ। अर्थात्, यसको अर्थ संकुचन भयो। त्यस्तै पहिले ज्ञान-विद्या दिने व्यक्तिलाई आदरपूर्वक बोलाउन प्रयोग गरिने गुरुजी शब्दले अहिले गाडी चालकलाई बुझाउन थालेको छ। यसलाई अर्थ विस्तार भनौं या अर्थ संकुचन। लेखकको अल्पज्ञान तथा सम्पादकको अक्षमताका कारण गलत कुरा निस्किदिन्छन्।
सम्पादन गद्यको मात्रै गरिन्छ कि कविताको पनि सम्पादन हुन सक्छ भन्ने प्रश्न पनि उठ्छ। मेरो विचारमा कविताको सम्पादन हुन सक्छ र हुनु पनि पर्छ। नामुद ब्रिटिस कवि टी एस इलियट आफ्नो समयमा एउटा ठूलो प्रकाशनगृहको ‘पोयट्री एडिटर’ रहेको तथ्यले यसबारे केही बताउँछ।
पुस्तक सम्पादनसित जोडिएका केही प्राविधिक लाग्ने विषयहरू पनि छन्। जस्तै- कोष्ठक, उद्धरण चिह्न, योजक, विभाजक या अन्य संकेत चिन्ह, विसर्ग, अल्पविराम, अर्धविराम आदिको सही प्रयोगउपर सम्पादकले ध्यान पुर्याउनुपर्छ। पङ्क्तिभित्र ठेलिएको इन्डेन्टलाई कति भित्र राख्ने, कुन साइजको फन्टमा राख्ने, ‘आइटालिक्स’ कति खेर चलाउने यी पनि कम महत्त्वका विषय होइनन्। विसर्ग राखेर कसैले मःमः लेख्यो भन्दैमा त्यो शुद्ध हुँदैन। कोही वाक्यको शुरूआत र वर्णमा अर्धविराम दिएर गर्छन्। मेरा लागि भने त्यो ग्राह्य छैन। त्यसले भाषाको सुन्दरतालाई बढाएको पनि मलाई लाग्दैन।
भाषाको विचलन
दुई साताअघिको कुरा हो, अनुवादक समाज र नेपाल प्रज्ञा-प्रतिष्ठान मिलेर एउटा छलफल कार्यक्रम आयोजना गरेका थिए। छलफलको विषय लेखिएको थियो- ‘एआई’ (कृत्रिम बौद्धिकता)। अनुवादक समाजको संस्थापक अध्यक्षको नाताले निम्तो पाए पनि म त्यसमा गइनँ। तर ‘कृत्रिम बौद्धिकता’ शब्द प्रयोग भने मलाई चित्त बुझेन। दुई दिनजति त्यसबारे लेखूँ कि नलेखूँ भनेर घोरिएँ। अनि तेस्रो दिन आएकै इमेलमा ‘रिप्लाई अल’ गरेर लेखें, “मित्रहरू, मेरो विचारमा कृत्रिम बौद्धिकता गलत अनुवाद भयो। हुनुपर्ने कृत्रिम प्रज्ञा हो। प्रकारान्तरले कृत्रिम बुद्धि, दिमाग, अक्कल, मगज पनि भन्दा हुन्छ। तर बौद्धिकता चाहिं मिल्दैन।”
मित्र भिक्टर प्रधानले ‘कृत्रिम बौद्धिकता’ अनुवाद ठीक नरहेकामा समर्थन जनाए। उनले ‘म त त्यसलाई कृत्रिम नभनी नक्कली अक्कल भन्छु, हरेक ठाउँमा संस्कृतकै शब्द प्रयोग गर्नुपर्ने केही छैन’ भनेर इमेल पठाए। मैले प्रज्ञा-प्रतिष्ठानका सदस्य-सचिवको इमेलमा पनि यो कुरा पठाएको थिएँ। तर यस विषयमा जवाफ दिनुपर्ने अनुवादक समाज वा प्रज्ञा-प्रतिष्ठानका पदाधिकारी अझै मौन हुनुहुन्छ। उहाँहरूले कि यो कारणले ठीक छ भन्नुपर्यो, होइन भने उपयुक्त शब्द बताउनुपर्यो। त्यसबाट हामी सही कुरा सिक्ने थियौं। अंग्रेजी मूल शब्दलाई हामीले नेपालीमा ल्याउँदा धेरै त्रुटि गरेका छौं। तिनलाई सच्याउनु जरूरी छ।
नेपाली हाम्रो माध्यम र कामकाजी भाषा भए पनि यसमा धेरै विचलन आएको, कसैले नियमन नगरिरहेको दुरवस्था छ। यसलाई संरक्षण गर्ने, अनुशासन सिकाउने कोही छैन। बरु पहिले गोर्खा भाषा प्रकाशिनी समिति थियो जो पछि नेपाली भाषा प्रकाशिनी समिति बन्यो। भाषानुवाद परिषद् थियो। तिनले एक तहसम्म नियन्त्रण र नियमनको काम गरेका थिए। अहिले संस्था र निकाय धेरै भए पनि जिम्मेवारी पूरा गरिरहे जस्तो लाग्दैन। विद्वान् पनि किन हो, चूप बसेका छन्। उहाँहरूलाई किन नबोलेको भन्दा जवाफ आउँछ, ‘यहाँ बोलेर के नै हुन्छ र!’
भाषा बर्खामा उर्लने खोला जस्तै हो। त्यसलाई बाँधेर नहर बनाउन सकिए बिजुली उत्पादन, सिंचाइ गर्न मिल्छ। नबाँधे जताततै विनाश गर्छ। त्यसैले भाषालाई पनि अनुशासनमा बाँध्नै पर्छ। तर यो पनि भुल्नुहुन्न नहरबाट पनि पानी छचल्किएर बाहिर त निस्कन सक्छ। भाषालाई पनि छचल्किने ठाउँ दिनुपर्छ। भाषा व्याकरणको जकडबन्दमा बसिरहँदैन।
केटाकेटीमा पढेको पारसमणिको कविता मलाई अहिले पनि याद छ- ‘कवि कविता होस्, कविता कवि होस्, कविता तब पो हुन्छ, भाव भए पो हुन्छ, शब्द थुपारी के हुन्छ?’
शब्द ब्रह्म हो, त्यसलाई आदरपूर्वक प्रयोग गर्नुपर्छ। शब्दहरूको जञ्जाल वा थुप्रोले मात्र केही अर्थ बोक्दैन। तर यही प्रवृत्तिको प्रतिच्छाया स्वभावतः हामीले छाप्ने किताबहरूमा परिरहेको छ। गल्ती शुरूमै सच्याइएन भने बारम्बार दोहोरिएर त्यही अभ्यास बनिदिन्छ।
यस प्रसंगमा जर्ज अर्वेलको भनाइ स्मरणयोग्य छ- ‘इफ थट करप्ट्स ल्यांग्वेज, ल्यांग्वेज अल्सो करप्ट्स थट।’ मतलब, तपाईंले प्रयोग गर्ने शब्दले तपाईंको विचारलाई पनि खलबल्याइरहेको हुन्छ। त्यसैले लेख्दा आफूले जे भनेको हो, पाठकले त्यही हिसाबले बुझ्छ कि बुझ्दैन भन्नेमा ध्यान दिइनुपर्छ। तपाईं कुनै कुरा वा ठाउँको वर्णन गर्नुहुन्छ भने तपाईंले लेखेको पढेर पाठकको मनमा त्यसको चित्र आउनुपर्यो। नत्र तपाईं एक थोक भन्नुहुन्छ, पाठकले अर्कै बुझिदिन्छ।
अर्को चाहिं हामी शब्दहरूको स्रोतबारे घोत्लिन्छौं। यो त हिन्दी वा अंग्रेजी भयो भन्छौं। तर नेपाली भाषामा अंग्रेजीको प्रयोग यति भरमार भइसकेको छ कि अब रोक्नै सकिंदैन। जस्तो- अंग्रेजीको ‘क्यान्सर’ शब्दका लागि हामीसँग ‘अर्बुद रोग’ छ। वेलाबखत यही शब्द चलाऔंला पनि। तर क्यान्सर यति चल्तीमा छ कि अर्बुदसँग त्यसलाई प्रतिस्थापन गर्ने सामर्थ्य देखिंदैन।
यस्तै सन्दर्भमा भारतीय लेखक जावेद अख्तर एउटा उदाहरण दिन्छन्, “यह हल एअर-कन्डिसन्ड है।” सर्वनाम र क्रियापद बाहेकका सबै शब्द अंग्रेजी भए पनि उनी यो पूरै वाक्यलाई हिन्दी भन्छन्। हामीकहाँ पनि लगभग यस्तै भइसक्यो। अंग्रेजीको ग्लासलाई हामीले गिलास बनायौं। फिल्मलाई फिलिम बनाएका छौं। तसर्थ जातीय विजातीय, आगन्तुक शब्द भनेर विभेद गर्नु हुँदैन। यसले हामीलाई संकीर्णतातिर डोर्याउँछ। अंग्रेजीलाई समृद्ध भाषा भनिन्छ, त्यहाँ ५-६ लाख शब्द होलान्। रूप परिवर्तित शब्दहरू जोडेमा त आठ-दश लाख पनि पुग्न सक्छन्। उपनिवेश कायम गरेर अंग्रेजहरूले उपनिवेशहरूबाट भौतिक सम्पत्ति मात्र होइन, शब्दहरू पनि लगेका छन्। भारतबाट लगिएका बरन्डा, आल्मीरा, लाठी, लाठीचार्ज जस्ता शब्द उदाहरण हुन्। हुँदाहुँदा नेपालीबाट पनि ‘गोर्खा’, ‘शेर्पा’ आदि लगेका छन्। अंग्रेजीमा शेर्पा शब्दले अब जाति वा व्यक्ति मात्र बुझाउँदैन। ‘ही इज माई शेर्पा’ भन्दा ‘ऊ मेरो सहयोगी हो’ भन्ने बुझिन्छ।
नेपाली शब्दकोशमा त ९० हजारदेखि एक लाख जति शब्द मात्र होलान्, त्यो पनि एउटै शब्दका भिन्न रूपहरू समेत राखेर। यस्तोमा हामीले अंग्रेजी, हिन्दी, उर्दु, फारसी भनेर शब्दलाई पन्छाउन थाल्यौं भने अगाडि बढ्न सक्दैनौं। बरु तिनलाई कसरी ठीकसँग प्रयोग गर्ने भन्ने ख्याल गर्नुपर्छ। प्रयोग सही हुनुपर्यो, पाठकले त्यही अर्थमा बुझ्नुपर्यो। तिनको नागरिकता चाहिं खोज्दै नहिंडौं।
हामीसँग टूरिस्टलाई बुझाउन पर्यटक, घुमन्ते, घुमक्कड शब्द पनि छन्। तर म वेलाबखत टूरिस्ट पनि लेखिदिन्छु। किनभने यसलाई नेपाली जनजिब्रोले ग्रहण गरिसक्यो। अर्कातिर हाम्रो भण्डारमा एउटा शब्द पनि थपियो नि !
जंगबहादुरको पालामा आएको मुलुकी ऐनको नाम अहिले मुलुकी संहिता भएछ। मलाई अचम्म लाग्छ कि त्यो ऐन शब्दले कसको टाउको दुखेको रहेछ र संहिता भन्नुपरेको हो? ऐन पराइ भाषाको वा अरबी भाषाबाट आएको र संहिता चाहिं संस्कृतको भनेर राखिएको हो कि? यो स्पष्टतः शब्दको राजनीतिका कारणले भएको हो।
नेपाली भाषाको शब्द प्रयोग पनि मनपर्दी ढंगले हुन थालेको छ। त्यो समस्याकै रूपमा देखिएको छ। शब्दहरू जथाभावी ढंगले लेखिएका छन्, एकरूपता छैन। यसमा हामी प्रयोगकर्ताको दोष छैन। जो आफूलाई वैयाकरण, भाषाविद् भन्छन्, उनीहरूकै मत मिल्दैन। त्यसैले एउटा मानक शब्दकोश अझै बन्न सकेन। भाषाशास्त्री र व्याकरणविदहरूको विवाद कायमै छ। यस्तोमा मध्यम मार्ग भनेको नेकशुले (नेपाली कसरी शुद्ध लेख्ने) समूहद्वारा सुझाइएको नियम पालना गर्नु व्यावहारिक हुन सक्छ। यसमा स्वनामधन्य व्यक्तिहरू जोडिएका छन्। सही बाटो नपक्रँदासम्म बरु यसैले समाधान देला। हामी भाषाका प्रयोगकर्ता वा अभ्यासकर्ता हौं। भाषाविद्हरूले एउटा मार्ग निर्धारण गरिदिनुपर्यो, हामी त्यही बाटो हिंड्छौं।
प्रज्ञा-प्रतिष्ठानको शब्दकोश त छ, तर त्यो एकदमै गिजोलियो। अहिले २०४० सालको शब्दकोशलाई आधार मान्ने कुरा छ। तर त्यसमा पनि शेर्पालाई पातलो ‘स’ बनाइयो, शाहलाई मोटै ‘श’ राखिएको छ। यो कस्तो भेदभाव हो? दुइटै ‘श-स’ को प्रविष्टि दिइएको छ त दुवै मान्नुपर्यो। पदयोग र पदवियोग उपर पनि निकै विवाद छ। प्रयोगकर्ता अन्योलमा छन्, अचेल चलनचल्तीमा आएको शब्द प्रयोग गर्ने हो भने ‘उल्झन’ मा छन्।
(बूकवर्म फाउन्डेशनद्वारा असार अन्तिम साता काठमाडौंमा आयोजित लेखक, पत्रकार र सम्पादकहरू उपस्थित लेखन-सम्पादन अन्तरक्रिया कार्यक्रममा व्यक्त मन्तव्यको सम्पादित अंश।)