सीके राउत नेतृत्वको जनमत पार्टीमा आन्तरिक विवाद बढ्दै जाँदा नेता-कार्यकर्ता पनि अराजक बन्दै गएका छन् भने फरक गुटका आफ्नै नेतालाई मोसो दल्न थालेका छन्।
निलम्बनमा परेपछि जनमत पार्टीका उपाध्यक्ष दीपककुमार साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव र केन्द्रीय सदस्य वीरेन्द्र साहले असार २७ गते रौतहटमा ‘जनसंवाद यात्रा’ शुरू गरे। कार्यकर्तासँग भेटघाट गर्दै अघि बढेको यात्राको तेस्रो दिन असार २९ मा भने बाराको कार्यक्रम भने सुखद भएन। जनमतकै कार्यकर्ताले मोसो दले।
जनमतकै केन्द्रीय सदस्य विकासकुमार सिंह र रामबाबु साह सहित कार्यकर्ताले मोसो छ्यापेका हुन्। बाराको महागढी नगरपालिकास्थित दहियार गाउँको चौकमै दिउँसो मोसो छ्यापिएको हो। “कार्यकर्तालाई सत्यतथ्य कुरा बताइरहँदा असह्य भएर पार्टी अध्यक्ष चन्द्रकान्त राउतकै निर्देशनमा केही व्यक्तिहरूले गुन्डागर्दी शैलीमा मोसो छ्यापेका हुन्,” सुरेन्द्र भन्छन्।
आफ्ना विरुद्ध पार्टीमा अनर्गल प्रचार गरेर निलम्बन गरिएको घटनाबारे जनताका बीचमा सत्यतथ्य राख्ने र धरातलमा गएर जनआवाज सुन्ने उद्देश्यले जनसंवाद यात्रा शुरू गरेको उनको भनाइ छ। ‘संघर्ष र सत्य : प्रतिष्ठादेखि विकल्पसम्म’ नारा दिएर थालिएको यात्राको तेस्रो दिनमै नेता-कार्यकर्ताबाट दुर्व्यवहार भयो।
योजनाबद्ध रूपमै मोसो छ्यापिएको देखिन्छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा मोसो छ्यापिरहँदा विशेष तरीकाले भिडिओ बनाउन समेत निर्देशन दिइएको छ।
अध्यक्ष राउतले पनि यस घटनालाई सामान्य रूपमा लिएको देखिन्छ। अध्यक्षको सचिवालयले फेसबूकमा प्रतिक्रिया जनाउँदै पार्टीको पैसा ठग्नेहरूलाई बाराका जनताले कारबाही गरेको भनेको छ। फेसबूकमा लेखिएको छ, ‘जनमत पार्टीको एक करोड ९० लाख हाकाहाकी लिएर भागेका दुई जना फरार ठगहरूलाई जनताले कारबाही गरेका छन्।’
के हो आर्थिक विवाद?
कोषाध्यक्ष सुरेन्द्र विरुद्ध एक करोड ९० लाख रुपैयाँ हिनामिना गरेको आरोप छ। पार्टी कार्यालयको भाडा तिर्ने रकम र खातामा जम्मा भएको पैसा हिनामिना गरेको तथा पार्टी पदाधिकारीबाट नै संकलन गरेको रकमको हिसाबकिताब नबुझाएको जनमतले जनाएको छ।
जनमतका तर्फबाट प्रवक्ता शरदसिंह यादवले ‘ठगी सम्बन्धी कसूर’ मा कोषाध्यक्ष सुरेन्द्र विरुद्ध उजुरी दिएका थिए। त्यसमा जिल्ला अदालत, ललितपुरले गत जेठ ४ गते सुरेन्द्रलाई धरौटीमा छाडेको छ। यो मुद्दा विचाराधीन छ।
मुद्दामामिला हुनुअघि नै जनमत पार्टीले कोषाध्यक्ष सुरेन्द्रलाई गत फागुन २५ मा निलम्बन गरेको थियो। त्यस्तै, उपाध्यक्ष दीपककुमार साह र केन्द्रीय सदस्य वीरेन्द्र साह पनि निलम्बनमा छन्।
आफूले आर्थिक हिनामिना नगरेको सुरेन्द्रको भनाइ छ। अदालतमा विचाराधीन मुद्दा भएकाले धेरै बोल्न नमिल्ने उनी बताउँछन्। “झूटो आरोप लगाएर चरित्रहत्या गर्ने प्रयास भएको छ। मुद्दा चलिरहेकाले सबै हिसाबकिताब अदालतमा बुझाउँछु,” सुरेन्द्र भन्छन्।
पार्टीले लगाएको आरोपका विषयमा कार्यकर्ता र जनतालाई सत्यतथ्य बताउन भेटघाटमा निस्केको उनको भनाइ छ। तर जनमतका प्रवक्ता शरदसिंह यादव पार्टीको झन्डा, ब्यानर र लोगो प्रयोग गरी नेतृत्व विरुद्ध अनर्गल प्रचार गरेको आरोप लगाउँछन्। “निलम्बनको अवस्थामा आन्तरिक संघर्ष गर्नुको सट्टा पार्टी विरुद्ध भ्रम छर्ने नियतले यात्रा गरिरहेका छन्,” प्रवक्ता शरद भन्छन्, “पार्टीको निर्देशनमा मोसो छ्यापिएको होइन। मोसो छ्याप्नु राम्रो नभए पनि कार्यकर्ताले आक्रोश पोखेको अर्थमा लिनुपर्छ।”
नेता सुरेन्द्रले भने ज्यान मार्ने उद्देश्यले आक्रमण भएको भन्दै जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी दिएका छन्। उनले लुगा पनि बुझाएका छन्। “प्रज्वलनशील पेट्रोलियम पदार्थ मिश्रित वस्तुहरू प्रयोग गरेर ज्यान मार्ने नियतका साथ आक्रमण गरिएको छ,” उनी भन्छन्, “चरित्रहत्या गर्नुका साथै पार्टीले मानव अधिकार सम्बन्धी सामान्य पक्षको ख्याल नगरी आवाज निमोठ्ने गतिविधि अगाडि बढाएको छ।”
अराजक गतिविधि
अहिले आफ्नो नेतालाई मोसो छ्यापेका जनमतका कार्यकर्ताले यसअघि अरूलाई पनि दुर्व्यवहार गरेका छन्। २०७८ कात्तिक ४ मा नेपाल खानेपानी संस्थान, जनकपुरधामका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार गरेका थिए। उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएर जनमतका जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहाको नेतृत्वमा मोसो दलेपछि नगर परिक्रमा गराइएको थियो।
त्यस्तै, जनमतका जिल्ला अध्यक्ष ओमविक्रमकै नेतृत्वमा २०७८ पुस १९ मा ट्रकमा आगजनी गरिएको थियो। आगलागीमा संलग्न रहेको आरोपमा प्रहरीले अध्यक्ष ओमविक्रमसँगै जनमतका जिल्ला नेता चन्द्र साह र नवीन पण्डितलाई पक्राउ गरेको थियो। उनीहरू विरुद्ध मुद्दा दायर गरिएको थियो।
त्यस्तै, २०७८ माघ १२ गते जनकपुरमा जनप्रतिनिधि चढेको गाडीमा तोडफोड गरेका थिए। राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न गइरहेका हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं र उपमेयर रेणुका पौडेल सवार गाडी तोडफोड गर्दै दुर्व्यवहार गरेका थिए। त्यस्तै, जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतीश साह सवार गाडीमा पनि तोडफोड गरेका थिए।
२०७८ सालमा जनकपुरमा तोडफोडमा उत्रिएका जनमतका कार्यकर्ता।
चुनावअघि मात्र होइन, सरकारमा आएपछि पनि जनमत पार्टीका नेता-कार्यकर्ताको व्यवहारमा परिवर्तन आएन। अहिले मधेश प्रदेशको नेतृत्व जनमत पार्टीले नै गरिरहेको छ। तर मधेशमै जनमतका नेता तथा कार्यकर्ता अराजक गतिविधि गरिरहेका छन्।
राजनीतिक विश्लेषक एवं वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका उपप्राध्यापक वीरेन्द्रप्रसाद साह नयाँ भनिएका दलमा पनि पुरानै शैली देखिएको बताउँछन्। “जनमत पार्टीले समाजमा इन्जिनीयर, डाक्टर डिग्रीधारीको पार्टीका रूपमा पहिचान बनाउन खोजिरहेको थियो, तर राजनीतिक संस्कारमा आपराधिक गतिविधिबाट टाढा हुन सकेन,” उनी भन्छन्, “जनकपुरको खानेपानी संस्थानका कर्मचारीलाई मोसो दलेर अमानवीय गतिविधि गर्दा स्याबासी दिने नेताहरू विरुद्ध नै अहिले त्यस्तो अभ्यास दोहोरिएको छ।”
फरक मत राख्ने व्यक्तिलाई मोसो दल्ने र नेतृत्व वर्गले त्यसलाई प्रोत्साहन गर्ने अभिव्यक्तिले जनमत पार्टीमा निरंकुशता बढ्दै गएको नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीको भनाइ छ। “सरकारको नेतृत्व गरिरहेको दलभित्रै आफ्नै नेतालाई आक्रमण र अपमानित गर्ने क्रियाकलाप कानूनी शासनका बर्खिलाप छन्, आपराधिक क्रियाकलापलाई बढावा दिने कदम हुन्,” पूर्व गृह राज्यमन्त्री समेत रहेका अन्सारी भन्छन्।
आफ्नै नेतालाई मोसो दल्ने कार्यलाई राजनीतिक विश्लेषक रोशन जनकपुरी जनमत पार्टीमा असहिष्णु व्यवहार बढ्दै गएको रूपमा अर्थ्याउँछन्। “दलहरूमा नेताहरूको आउनेजाने क्रम र मनमुटाव भइरहन्छ,” जनकपुरी भन्छन्, “फरक मतलाई स्वाभाविक रूपमा लिंदै लोकतान्त्रिक व्यवस्थाको आधारभूत समझदारीलाई कायम राख्न नसक्नु नेतृत्वको कमजोरी हो।”
मानव अधिकारका दृष्टिकोणले पनि मोसो दल्ने कार्य गलत भएको अधिकारकर्मी बताउँछन्। समाजमा अमर्यादित कार्यलाई कुनै स्थान नरहेको उल्लेख गर्दै राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय, जनकपुरधामका प्रमुख बुद्धनारायण सहनी हरेक व्यक्तिले कानूनी पद्धतिको ख्याल गर्न जरूरी रहेको बताउँछन्। “कसैले कसैलाई कुनै निहुँमा मोसो दल्नु अमानवीय र अनुचित कार्य हो,” उनी भन्छन्।