सात वर्षअघि संघीय सरकारले अघि सारेको डाङडुङे डाँडालाई ‘फिल्म सिटी’ बनाउने योजनालाई मूर्त रूप दिन अहिले बागमती प्रदेश सरकार जुटेको छ।
छिनछिनमै फेरिने मौसम। बादलुले ढाकेका थुम्का। हरियाली पाटन। एकनासले चरिरहेका चौंरी। उत्तरमा ठिंग उभिएका हिमाल।
पहिलो पटक डाङडुङे डाँडा पुग्दा यस्तै रोमाञ्चक दृश्य देखिन्छ। मन एकतमासको हुन्छ। चौंरीको घाँटीमा बाँधिएका घण्टीको आवाजले ध्यान भंग गर्छ।
दोलखाको भीमेश्वर नगरपालिका-९ मा अवस्थित यही डाङडुङे डाँडामा ‘फिल्म सिटी’ बनाउन लागिएको छ। समुद्री सतहदेखि दुई हजार ९००–तीन हजार ४०० मिटरको उचाइमा रहेको डाँडाबाट देखिने नीलो आकाश, हिमालको काख, हरियाली चौर, वनजंगल र पर्वतशृंखलाका दृश्यले मनै लोभ्याउँछन्।
दोलखासँगै प्रदेशकै आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुग्ने भएकाले ‘फिल्म सिटी’ बनाउने योजना अघि बढेको बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामा बताउँछन्। “डाङडुङे डाँडामा बन्ने फिल्म सिटीले फिल्म उद्योगको भविष्य, दोलखाको आर्थिक र सामाजिक रूपान्तरणमा योगदान पुर्याउने विश्वास लिएका छौं,” मुख्यमन्त्री लामा भन्छन्।
प्रदेशको बजेटमा ‘फिल्म सिटी’
बागमती प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि पनि डाङडुङ डाँडामा ‘फिल्म सिटी’ उपयुक्त हुने जनाएको छ। प्रदेश सरकारले ‘फिल्म सिटी’ निर्माण योजनालाई चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेटेको छ। प्रदेशभित्रको मौलिकता एवं सांस्कृतिक विविधता झल्काउने किसिमका फिल्म निर्माणलाई प्रोत्साहन गर्ने तथा पर्यटकीय क्षेत्र दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटीका रूपमा विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ।
.jpeg)
बागमती प्रदेश सरकारले पूर्वाधार निर्माण गर्न एक करोड ३५ लाख रुपैयाँ छुट्याएको छ। त्यस्तै, दोलखामा साहसिक खेल पर्यटन सम्बन्धी सम्भाव्यता अध्ययन गर्न १२ लाख रुपैयाँ विनियोजन गरिएको छ। दोलखाको अनलाइन पर्यटन पोर्टल निर्माणका लागि पनि १० लाख रुपैयाँ छुट्याइएको बागमतीका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले बताउँछन्। “प्रदेशमा फिल्म सिटी बनाउने सकिने सम्भावना छ भनेर काम देखाउने हाम्रो प्रयास हो,” मन्त्री काफ्ले भन्छन्, “विगतमा सरकारको स्पष्ट भिजन नभएकाले कुरा भयो, काम भएन। अब हामी काम गर्न लागिपरेका छौं।”
प्रदेश सरकारले छुट्याएको बजेटबाट पदमार्ग बनाइनेछ। डाङडुङ डाँडा पुग्ने पर्यटकको सुरक्षाको प्रबन्ध मिलाइने उनी बताउँछन्। त्यसका लागि सुरक्षाकर्मीको व्यवस्था गर्न पहल गरिने उनको भनाइ छ। “वनको बाटो भएकाले सुरक्षाका लागि सीसीक्यामेरा मार्फत निगरानी गर्नुपर्नेछ। सूचना प्रविधिको पनि व्यवस्थापन गर्नुपर्नेछ,” उनी भन्छन्।
यसअघि संघीय सरकारले पनि फिल्म सिटीका लागि बजेट विनियोजन गरेको थियो। केही संरचना बनेका छन् भने सम्भाव्यता अध्ययन गरिएको छ। अध्ययनमा डाङडुङे डाँडामा ‘फिल्म सिटी’ बनाउन सकिने उल्लेख छ।
अब विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नुपर्नेछ। त्यसका चाहिने बजेट प्रदेश सरकारले मात्र व्यवस्था गर्न नसकेको अर्थमन्त्री काफ्ले सुनाउँछन्। योजनालाई निरन्तरता दिन बजेट विनियोजन भएको र डीपीआरको बजेटका लागि पहल भइरहेको उनको भनाइ छ।
कस्तो छ डाङडुङे डाँडा?
देशको राजधानी काठमाडौंबाट करीब ११८ किलोमिटर पूर्वमा पर्ने डाङडुङे डाँडा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। पर्यटकीय क्षेत्र खरिढुंगाबाट साढे ६ किलोमिटर यात्रा गरेपछि डाङडुङे डाँडा पुगिन्छ, जुन सेतीदेवी सामुदायिक वन क्षेत्रमा पर्छ। यस क्षेत्रमा ५० प्रजातिका प्राणी र १४ प्रजातिका गुराँस पाइन्छन्।
.jpeg)
उत्तर-पूर्वमा रहेका गणेश, जुगल र गौरीशंकर हिमालको दृश्य मनमोहक लाग्छ। त्यस्तै, स्वयम्भू, फूलचोकीसँगै लाङटाङ र धौलागिरि हिमशृंखलाले पनि मन लोभ्याउँछन्। सिन्धुपाल्चोकदेखि ओखलढुंगासम्मका भूदृश्य आकर्षक लाग्छन्। दोलखाको कालिन्चोक जस्तै डाङडुङे डाँडालाई पनि आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने विज्ञहरू बताउँछन्।
नेपाली विविधता, भौगोलिक र प्राकृतिक सुन्दरतालाई संसारभर पुर्याउने माध्यमका रूपमा डाङडुङे डाँडालाई विकास गर्न सकिने नेपाल खुला विश्वविद्यालयका ग्लोबल मिडिया र सञ्चार विषयका प्राध्यापक धनबहादुर खड्का बताउँछन्। “फिल्म सञ्चारको सबैभन्दा सशक्त माध्यम हो। जसले दर्शकलाई आफूले भन्न खोजेको सवाल झ्वाट्टै बुझाउन सक्छ,” खड्का भन्छन्, “यस्तो सशक्त माध्यमलाई प्रवर्द्धन गर्ने सरकारी तथा निजी क्षेत्रको सहकार्य अनिवार्य हुन्छ।”
सपनाका डेढ दशक
डाङडुङे डाँडामा ‘फिल्म सिटी’ बनाउने योजना अघि सारेको डेढ दशक पुगिसकेको छ। संघीय सरकारले २०६८ सालमा ‘फिल्म सिटी’ निर्माणको प्रारम्भिक प्रक्रिया थालेको थियो। आर्थिक वर्ष २०७०/७१ मा दुई करोड रुपैयाँ बजेट विनियोजन गरेर गुरुयोजना प्रारम्भ गरिएको थियो।
२०७३ सालमा सरकारले डाङडुङे क्षेत्रको एक हजार ५०० रोपनी जग्गामा फिल्म सिटी निर्माण गर्ने निर्णय गरेको थियो। त्यसपछि चैत १५ मा चलचित्र विकास बोर्ड र वन मन्त्रालयबीच वन क्षेत्रमा पर्ने जग्गा फिल्म सिटी निर्माणका लागि दिने सहमतिमा हस्ताक्षर भएको थियो।
२०७५ चैतमा भएको लगानी सम्मेलनमा सरकारले तयार पारेको परियोजनामा फिल्म सिटीको योजना पनि परेको थियो। राष्ट्रिय लगानी बोर्डले तयार पारेका देशभरका ४३ वटा परियोजनामा पर्यटन पूर्वाधारतर्फ दोलखाको डाङडुङे डाँडामा अन्तर्राष्ट्रिय फिल्म सिटीको योजना समावेश थियो।
.jpeg)
फिल्म सिटी बनाउन यस क्षेत्रको पूर्वाधार निर्माणमा अहिलेसम्म ५० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। लामोसाँघु-जिरी सडकको खरिढुंगादेखि डाङडुङे डाँडासम्म ६ किलोमिटर सडक कालोपत्रे गर्न, फिल्म सिटी क्षेत्रमा बिजुली, खानेपानी लगायत पूर्वाधारमा सरकारी लगानी भएको छ।
त्यसपछिका केही वर्ष यो योजना ओझेल पर्यो। २०८१ सालमा सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक भएपछि फेरि चर्चामा आएको हो। प्रतिवेदन अनुसार ७६.२५ हेक्टर क्षेत्रमा बन्ने फिल्म सिटीका लागि भौतिक पूर्वाधार निर्माण गर्न ३२ करोड रुपैयाँ लाग्नेछ। त्यस्तै, प्राविधिक र सुधारात्मक संरचनामा ७४ करोड ३७ लाख रुपैयाँ लाग्ने अनुमान छ। हाल दर र प्रतिवेदनमा केही परिवर्तन गरेर संरचना निर्माण अघि बढाउने तयारी भइरहेको बागमतीका अर्थमन्त्री काफ्ले बताउँछन्।