एकपछि अर्को फिल्म असफल भएपछि निराश बलिउड अभिनेता आमिर खानलाई सफलताको सास भरिरहेको सितारे जमीन पर यस्तो फिल्म हो, जसमा धर्तीका सिताराले हृदयको झंकार सुसेल्छन्।
जो बाँकी लोगों से अलग होते हैं, उनके लिए किसी को लड्ना पडता है।
हिन्दी फिल्म सितारे जमीन परको यही एउटा वाक्यले धेरै हदसम्म पूरै फिल्मको सार बोकेको छ। जहाँ बास्केटबल प्रशिक्षक गुलशन अरोडा (आमिर खान)लाई आमा प्रितो (डली अहलुवालिया) आफ्ना लागि लड्न नसक्नेहरूका लागि लड्नुपर्ने सम्झाउँदै यो वाक्य भन्छिन्। शारीरिक तथा मानसिक रूपमा जो अरूभन्दा केही फरक छ, उसका लागि कसै न कसैले लड्नुपर्ने प्रितोको तर्क हुन्छ।
हुन पनि समाजमा सबै समान हुँदैनन्। एकै परिवारकै सदस्यमा पनि समानता हुँदैन। कोही रङमा फरक छन्, कोही सोचमा, कोही शारीरिक त कोही मानसिक अवस्थामा भिन्न छन्। शारीरिक र मानसिक रूपले भिन्न भएकालाई समाजले हेर्ने दृष्टिकोण एउटै हुँदैन, उनीहरूलाई ‘अक्षम’ ठानिन्छ।
खासमा उनीहरू अरूभन्दा फरक मात्र हुन्, कमजोर होइनन्। शारीरिक तथा मानसिक रूपमा फरक हुनुमा पनि उनीहरूको के दोष? जोकोही पनि हुनसक्थ्यो, सक्छ। फिल्ममा एउटा डायलग छ, ‘हमारी किस्मत हाथों पर नहीं, क्रोमोजोम्स पर लिखी होती है।’
अहिले पनि समाजमा फरक हुनुलाई गलत ठानिन्छ। त्यो दृष्टिकोण तोड्न कोही न कोही त अघि सर्नुपर्छ। जसरी फिल्ममा आमिर खान प्रशिक्षक गुलशन अरोडाका रूपमा आउँछन् र बौद्धिक अपांगता भएका खेलाडीको क्षमता उजागर गरिदिन्छन्।
गुलशन अरोडाले पनि एकाएक बौद्धिक अपांगता भएका खेलाडीलाई अपनाएका होइनन्। किनभने अरूलाई अपनाउनुअघि मानिसले आफूलाई अपनाउनुपर्छ। जबकि बास्केटबल प्रशिक्षक अरोडाले पनि आफ्नै व्यक्तित्वलाई सहज रूपमा लिएका हुँदैनन्। आफ्नो उचाइलाई लिएर निकै संवेदनशील हुन्छन्।
आमाले ‘टिंगु’ भनेर बोलाउँदा रिसाउँछन्। प्रायः भन्ने गर्छन्, मेरो उचाइ औसत हो, सानो होइन। तर उनै अरोडा बौद्धिक रूपमा फरक व्यक्तिलाई ‘पागल’ भन्छन्। तिनै व्यक्तिले अन्ततः मानसिक रूपमा फरक भएका खेलाडीलाई अपनाएका मात्र छैनन्, हृदयमा राखेका पनि छन्।
तिनै गुलशन अरोडा अर्थात् आमिर खान वरिपरि घुम्छ, फिल्मको कथा। जो एक होनहार तर निराश बास्केटबल प्रशिक्षक हुन्। नैराश्यकै बीच रक्सी पिएर गाडी चलाएका उनले सजायस्वरूप बौद्धिक अपांगता भएका खेलाडीलाई बास्केटबल प्रशिक्षण गर्ने जिम्मेवारी पाउँछन्। जब प्रशिक्षण दिंदै जान्छन्, तब उनको सोचाइ नै बदलिन्छ।
प्रशिक्षकका रूपमा उनले बौद्धिक अपांगता भएकाहरूलाई सिकाएका मात्र छैनन्, उनीहरूबाट सिकेका पनि छन्। कहिले प्रशिक्षकका रूपमा उनी हकार्छन् त कहिले खेलाडीले उनलाई हर्काछन्। जस्तो- एउटा खेलमा हारको मुखमा पुगेको टोलीले ‘फ्री थ्रो’ पाउँछ। त्यति वेला प्रशिक्षक अरोडा खेलाडीलाई उत्साहित बनाउन कराउँछन्। यस्तो गर, उस्तो गर भनिरहन्छन्। त्यही तनावबीच एकाएक एक खेलाडी सत्वीर बोल्छन्, ‘सर, पहले आप चूप हो जाइए!’

सत्वीरले यति बोल्दा फिल्म हेरिरहेका दर्शक पनि झस्किन्छन्। एकाएक सन्नाटा छाउँछ।
खेलाडीहरू माया पनि गर्छन्, जिस्क्याउँछन्। कहिले ‘डफर’ भनेर जिस्क्याउँछन् त कहिले ‘ये कोच गधा है’ भनेर ऐना देखाउँछन्। अन्त्यसम्म आइपुग्दा त बौद्धिक अपांगता भएका व्यक्तिहरूले प्रशिक्षकलाई ‘सबका अपना-अपना नर्मल होता है’ भन्ने बुझाइमा पुर्याइदिन्छन्।
भनिन्छ नि, अमृत होस् वा विष, जीवन बचाउन र नष्ट गर्न धेरै होइन, थोरै भए पुग्छ। त्यस्तै, फिल्मका केही संवादले जीवनभर सिक्न नसकेका कुरा एक वाक्यमै सिकाइदिन्छन्, जीवनबोध गराउँछन्।
फिल्ममा अभिनय गरेका सुनील, सत्वीर, लोटस, शर्माजी, गुड्डु, राजु, बन्टु, गोलु, करीम, हरगोविन्द बौद्धिक अपांगता भएका व्यक्ति हुन्। केही डाउन सिन्ड्रोमसँग जुधिरहेका छन्। उनीहरूलाई बास्केटबल प्रशिक्षण गर्न सिकाउने जिम्मेवारी पाएका प्रशिक्षक आफूले ‘नर्मल’ व्यक्तिलाई मात्र खेल्न सिकाउने तर्क गर्छन्। त्यति वेला उनीहरूको रेखदेख गरिरहेका करतार पाजी (गुरुपाल सिंह)ले प्रशिक्षक अरोडासँग गर्ने संवादले हृदय छुन्छ, चेतनाको ढोका खोलिदिन्छ।
जस्तो- करतार पाजी बौद्धिक अपांगता भएका खेलाडीको पृष्ठभूमिसँगै उनीहरूको स्वभावबारे प्रशिक्षकलाई बुझाउँदै भन्छन्, ‘घर तो एक समय के बाद बूढा हो जाता है, लेकिन ये वो लोग हैं जो घर को कभी बूढा नहीं होने देते।’
यो संवाद सुन्दा प्रशिक्षक अरोडा मात्रै होइन, फिल्म हेरिरहेका दर्शक पनि सोचमग्न हुन्छन्। किनकि आजको संसारमा हरेक मानिस आफूलाई जटिल र संवेदनशील देखाउन चाहन्छ। आफूभित्रको बालापनलाई मारेर समाजले खडा गरिदिएको ‘गम्भीर हुनु परिपक्व व्यक्ति हुनु हो’ भन्ने कथन वरिपरि उभिन्छ।
त्यसैले त मान्छेले गम्भीर बन्ने ध्याउन्नमा वयस्क नहुँदै दिल खोलेर हाँस्न भुलिसकेको हुन्छ। परिवारकै सदस्यसँग पनि ख्यालठट्टा गर्न बिर्सिसकेको हुन्छ। अबुझ ठानिने डरले प्रश्न गर्न छाडिसकेको हुन्छ। अझ जवानीमै पातपतिंगर झरेको बूढो रूख जस्तो भइसकेको हुन्छ।
फिल्ममा बौद्धिक अपांगता भएका व्यक्तिले निराश बास्केटबल प्रशिक्षकलाई बूढो हुन दिंदैनन्। जिस्किन्छन्, जिस्क्याउँछन् त कहिलेकाहीं गिज्याउँछन् पनि। एकअर्काबारे पनि ख्यालठट्टा गर्छन्। शर्माजी (ऋषि साहनी) त जिस्किंदै प्रशिक्षकलाई उनकी श्रीमती राम्री लाग्ने गरेको भनिदिन्छन्।
फिल्मी संसार मात्रै होइन, वास्तविक जीवनमा पनि उनी उस्तै रमाइला छन्। फिल्म शूटिङका क्रममा शर्माजीले हरेक व्यक्तिलाई ‘आई लभ यू’ भनेर धन्यवाद दिने गरेका थिए। अझ उनकी आमा प्रेमचन्द साहनीले एक अन्तर्वार्तामा छोरासँग खेल्दाखेल्दै आफ्नो उमेर कसरी बित्यो भन्ने पत्तै नपाएको बताएकी छन्।

अर्का पात्र गुड्डु (गोपीकृष्णन बर्मा) पानीसँग डराउँछन्, जनावरसँग नजीक हुन्छन्। उनलाई हरेक व्यक्तिको अँगालो चाहिन्छ। फिल्ममा मात्रै होइन, वास्तविक जीवनमा पनि उनी त्यस्तै छन्। मनमा लागेको भनिहाल्ने, गल्ती हुन्छ भनेर नडराउने र उत्सुक भएर प्रश्न सोधिहाल्ने गर्छन्। उनी डाउन सिन्ड्रोम भएका व्यक्ति हुन्।
त्यसैले त फिल्ममा मात्र होइन, हाम्रो जीवनमा पनि कहींकतै सुनील, सत्वीर, लोटस, शर्माजी, गुड्डु, राजु, बन्टु, गोलु, करीम, हरगोविन्द हुनु भनेको धर्तीका सितारासँग जिउनु हो। यी र यस्तै जीवनसँग जोडिएका कुरा देखाएर बौद्धिक अपांगता भएका मानिसले पनि सामान्य जीवन बाँच्न सक्छन् भन्ने फिल्मले महसूस गराउँछ।
फिल्मको क्लाइमेक्स त झन् प्रभावशाली छ। जब फाइनल खेलमा सितारे टोली हार्छ, दर्शकलाई पनि चिमोट्छ, नरमाइलो लाग्छ। किनकि त्यति वेला हामी प्रशिक्षक गुलशन अरोडाको दृष्टिकोणबाट खेल हेरिरहेका हुन्छौं। तर जब सितारे टोली ‘हामीले पनि जित्यौं, हामी दोस्रो भयौं’ भन्दै खुशियाली मनाउन थाल्छ, त्यसपछि प्रशिक्षकको मात्र होइन, दर्शकको पनि दृष्टिकोण फेरिन्छ। यस्तो लाग्छ, साँचो जित त ‘स्कोरबोर्ड’ मा होइन, हृदयमा हुने रहेछ। हार-जित अंक मात्रै होइन, हेर्ने दृष्टिकोण पनि रहेछ।
सलल बगेको फिल्ममा केही उल्झन पनि छन्। फिल्मका पात्रको जीवनलाई यस्तो कोणबाट देखाइएको छ, कि उनीहरू समाजका लागि कति उपयोगी हुन सक्छन्। ताकि आममानिसले सजिलै उनीहरूलाई स्वीकार गर्न सकून्। यस्तोमा उनीहरूले दैनिक जीवनमा भोगिरहेको कठिनाइ भने छुटे जस्तो महसूस हुन्छ।
जस्तो, गुड्डु पानीसँग डराउँछ, जीवजन्तुलाई माया गर्छ। मुसा डुबेर मर्न लागेको देखाएर गुड्डुलाई पानीमा जाने हौसला दिइन्छ। त्यसपछि उसको पानीसँगको डर हट्छ। यस्तै अन्य पात्रका कथालाई भने फिल्ममा भन्न सकिने ठाउँ खाली देखिन्छ।
त्यस्तै, प्रशिक्षक अरोडा पिता बन्न चाहँदैनन्। शुरूआतमा बाल्यकालको आघातले उनी पिता बन्न नचाहेको देखाइन्छ। बाल्यकालको आघातले गर्दा उनलाई लाग्छ, उनी असल बुबा बन्न सक्दैनन्। तर कथाको मध्यतिर आएर उनी भन्न थाल्छन्, ४० वर्षपछि गर्भधारण गर्दा समस्या आउन सक्छ र बच्चा डाउन सिन्ड्रोमबाट ग्रस्त हुन सक्छ।
फिल्मको शुरूआतमा एउटा छनक र अन्त्यमा आउँदा अर्को विषयलाई कारण देखाउँदा अलमल हुन्छ। प्रशिक्षक अरोडाको सकारात्मक परिवर्तन देखाइँदै गर्दा यस्तो कथन उनकै चरित्रसँग मेल खाँदैन।
फिल्मले बौद्धिक अपांगता भएका बालबालिकालाई सधैं खुशी र राम्रो छवि बनाएर पस्केको छ। हरेक व्यक्तिका आफ्ना सीमा हुन्छन्। बौद्धिक अपांगता भएका व्यक्तिका पनि आफ्ना सीमा हुन्छन्। सधैं ‘राम्रो छवि’ पछि दौडिंदा उनीहरूका सीमा बिर्सिएको जस्तो भान हुन्छ।
तैपनि आर.एस. प्रसन्नाको निर्देशन कथालाई भावनात्मक गहिराइ र हास्य रसको सन्तुलन दिन सफल छ। मुख्य पात्र गुलशन अरोडाको भूमिकामा आमिर खानको उत्कृष्ट अभिनयकै कारण एक जटिल, आत्मकेन्द्रित र निराश व्यक्तिलाई बौद्धिक अपांगता भएका व्यक्तिहरूको जीवन बुझाइले सबैलाई स्विकार्न सक्ने व्यक्ति बनाएको प्रस्ट देखिन्छ। लालसिंह चड्डा र सलाम बेंकी फिल्म असफल हुँदा निराश बनेका आमिर खानलाई सितारे जमीन परले भने सफलताको अर्को उचाइमा पुर्याइदिएको छ। फिल्म क्षेत्रबाट टाढिने घोषणा समेत गरेका खानले यस फिल्मबाट भने ऊर्जा प्राप्त भएको बताउँदै आएका छन्।
प्राविधिक दृष्टिकोणबाट फिल्म उच्च गुणस्तरको छ। सम्पादन तीव्र र संयमित छ, जसले कथानकलाई अनावश्यक रूपमा लम्बिन दिंदैन। खेलका दृश्यको कोरियोग्राफी र छायांकनले दर्शकलाई बास्केटबल कोर्टको उत्साहमा डुबाउँछ। त्यसमा पनि बौद्धिक अपांगता भएका खेलाडीको दैनचर्या र प्रशिक्षणको परिवेशलाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ।
अटिज्म वा डाउन सिन्ड्रोमबाट प्रभावित व्यक्तिलाई फिल्ममा सहभागी गराउनु कम चुनौतीपूर्ण होइन। यो निर्णय सजिलो पनि थिएन होला, तर उनै चुनौतीपूर्ण मानिएका पात्रले आफ्नो निर्दोषपन, साहस र मिहिनेतले कथालाई भावनात्मक गहिराइ दिएका छन्। अनि, विविधताले नै समाजलाई बलियो बनाउने सन्देश पनि दिएका छन्।