पहाडका गाउँघर बसाइँसराइले रित्तिंदै गएको वेला पाल्पाको जल्पा क्षेत्रस्थित ढोलीमारा गाउँ भने शहरको आकर्षणबाट टाढै छ।
जुद्धबहादुर गुरुङ
एउटा ठाउँको यात्रामा निस्केको वेला अचानक अर्कै ठाउँ जानुभएको छ? गत चैत अन्तिम साता त्यस्तै भयो। लुम्बिनीबाट पोखरा फर्किरहेको म एकाएक पाल्पातिर हुइँकिएँ।
लुम्बिनीबाट फर्किंदै गर्दा बुटवलमा एक्कासि भेटिए, नारायणप्रसाद आचार्य र नूनबहादुर थापा। आचार्य पाल्पाबाट प्रतिनिधि सभा सदस्य हुन् भने थापा पाल्पाको पूर्वखोला गाउँपालिकाका अध्यक्ष। त्यही भेटले पाल्पातिर डोर्यायो।
दुवै जनाले वेलाबखत मलाई पूर्वखोला आउन निम्तो दिने गरेका थिए। समुदाय र स्थानीय सरकारले गरेको कामको अवलोकन गरी सुझाव-सल्लाह दिन बारम्बार आमन्त्रण गरिरहन्थे। मैले भने टार्दै आएको थिएँ। दुवै जनाको घर पूर्वखोला गाउँपालिका हो।
यस पटक टार्न सकिनँ र बीच बाटोबाटै पूर्वखोलातिर हुइँकिएँ। पहिलो दिन तानसेनमा रात बिताएर अर्को बिहानै बर्तुडतिर लाग्यौं। आर्यभन्ज्याङ, चितिपानी, जीवनपुर, जल्पा हुँदै गाउँपालिकाको केन्द्र पूर्वखोला पुग्यौं। त्यस क्रममा पूर्वखोलाका विभिन्न वडामा भएगरेका काम अवलोकन गर्ने अवसर जुर्यो। नागरिकसँग अन्तरक्रिया गरियो।
स्थलगत अवलोकनका क्रममा जल्पा क्षेत्रको ढोलीमारा गाउँले भने एकाएक आकर्षित गर्यो। आकर्षणको कारण थियो, शून्य बसाइँसराइ। गाउँपालिका अध्यक्ष थापाले यस गाउँबाट शहरतिर बसाइँसराइ नहुने गरेको सुनाए।
पहिले पत्याउन गाह्रो भयो। हिमाली र पहाडी क्षेत्रका मात्र होइन, तराईका गाउँघर समेत शहरतिरको बसाइँसराइले रित्तिँदै छन्। गाउँपालिका अध्यक्षले भनेका कुरामा ढुक्क हुन नसकेर अन्य जनप्रतिनिधि, शिक्षक तथा स्थानीय बासिन्दासँग कुराकानी गरें। त्यसपछि पक्का भयो, ढोलीमाराबाट कोही पनि बसाइँ गएका रहेनछन्।
यस गाउँबाट किन कोही शहरतिर गएनन्? यसको चित्तबुझ्दो उत्तर गाउँकै शभू माध्यमिक विद्यालयका शिक्षक चित्रबहादुर कुँवर मगरले दिए। उनले एक वाक्यमा भने, “ढोलीमारामा परिवारका सदस्यबीचको आत्मीय सम्बन्ध, सामाजिक सद्भाव र सरसहयोग नै प्रमुख कडी हो।”
पूर्वखोला गाउँपालिका-२ स्थित जल्पा क्षेत्रमा पर्छ, ढोलीमारा गाउँ। समुद्री सतहबाट एक हजार २०० देखि एक हजार ४०० मिटर उचाइमा अवस्थित यस गाउँमा ८६ घरधुरी रहेको अभिलेख छ। यहाँ मगर जातिको बाक्लो बसोबास छ।
गाउँपालिकाको तथ्यांक अनुसार ७९ प्रतिशत मानिस कृषिमा आबद्ध छन्। त्यस्तै, व्यापारमा ११ प्रतिशत, सेवा क्षेत्रमा पाँच प्रतिशत र अन्य पेशामा पाँच प्रतिशत संलग्न छन्।
अधिकांश कृषिमा संलग्न भएकाले होला, लुम्बिनी प्रदेश सरकारले समुदायमा आधारित किबी खेतीको पकेट क्षेत्र घोषणा गरेको छ। यसका अतिरिक्त खुसार्नी, काउली, बन्दा, प्लास्टिक टनेलभित्र च्याउ, गोलभेंडा, काँक्रो, अदुवा, लसुन, तितेकरेली, बोडी लगायत तरकारी उत्पादन गरिंदै आएको छ। यस गाउँमा उत्पादित तरकारी समुदायकै पहलमा नजीकका बजार तानसेन र बुटवलसम्म पुर्याइन्छ।
यस्तै, बस्ती नजीकैको कबुलियती वनको लगभग २५ हेक्टर क्षेत्रफलमा सामूहिक अम्रिसो खेती गरिएको छ। यसबाट उत्पादित अम्रिसाकोे फूल खरीद गर्न व्यापारी गाउँमै आइपुग्ने शिक्षक चित्रबहादुर सुनाउँछन्। यही अम्रिसो बिक्रीबाट वार्षिक तीन लाख रुपैयाँ हाराहारी आम्दानी हुन्छ।
गाई, भैंसी, बाख्रा, बंगुर, कुखुरा लगायत पशुपन्छी त पाल्ने भए। यसका अतिरिक्त सामूहिक होमस्टे पनि सञ्चालनमा छ। त्यसमा ३७ घरधुरी जोडिएका छन्। जसमध्ये १२ घरमा खाने र सुत्ने व्यवस्था मिलाइएको छ। पाहुना आइराख्छन्। विशेष गरेर सामुदायिक वन, सहकारीका सदस्य, महिला समूह, कलेजका शिक्षक तथा विद्यार्थी अध्ययन भ्रमणका लागि जल्पा कबुलियती वनमा पुग्ने गरेका छन्।
होमस्टे बसाइका लागि प्रतिव्यक्ति प्रतिरात एक हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। साँझको खाना, बिहानको खाजा र रातिको सुताइ त्यसमै समेटिन्छ। ढोलीमारा पुग्ने पर्यटकले साइकल यात्रा, पदयात्रा, मगर संस्कृतिको अवलोकन समेत गर्न पाउँछन्।
ढोलीमारा गाउँको अर्को आकर्षण हो, चुलीडाँडा। यो डाँडा लगभग एक हजार ७८० मिटर अग्लो छ। यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ढोलीमारावासी प्रयासरत छन्। पर्यटकीय गन्तव्य बन्न लायक पनि छ। प्राकृतिक रूपमा सुन्दर र सांस्कृतिक रूपमा धनी छ।
चुलीडाँडाबाट उत्तरका सुन्दर हिमशृंखला अवलोकन गर्न सकिन्छ। पूर्वदेखि पश्चिमसम्म मकालु, सगरमाथा, गौरीशंकर, लाङटाङ, गणेश, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायत हिमचुली लहरै सेताम्य देखिन्छ। अन्य तीनैतिर हरियाली डाँडाकाँडा लहरै उभिएका छन्। अझ दक्षिणतर्फ केही डाँडाकाँडा छिचोलेर हेर्दा तराई देखिन्छ। बर्दघाट तथा विनय त्रिवेणी क्षेत्रको अवलोकन गर्न सकिन्छ।
मगर संस्कृति र चालचलनले आगन्तुकलाई आकर्षित गर्छ। गाउँसम्म सडक पुगेको छ। पाल्पा सदरमुकाम तानसेनबाट गाउँपालिकाको केन्द्र पूर्वखोलासम्म गाडी आउँछ। गाउँपालिकाका सबै वडा लगायत ग्रामीण बस्ती सडक सञ्जालले जोडिएका छन्।
गाउँमा आवश्यक आधारभूत भौतिक संरचना पनि छन्। कबुलियती वनको अम्रिसो खेतीसँगै सामुदायिक खेती प्रणालीको अध्ययन गर्न पनि आगन्तुक आइरहन्छन्। स्थानीय बासिन्दालाई वनभोजका लागि आवश्यक पर्ने छहारी वा टहरा, खानेपानी, शौचालयको प्रबन्ध गरिएको छ।
स्थानीय बासिन्दालाई आवश्यक स्वास्थ्य, शिक्षा, बिजुली, खानेपानी, सञ्चार, सिंचाइ लगायत आधारभूत सुविधा गाउँमै उपलब्ध छन्। घर घरमा इन्टरनेटको व्यवस्था छ।
भौगोलिक हिसाबले पनि यो गाउँ उपयुक्त छ। हावापानी राम्रो छ भने गर्मीमा ज्यादै गर्मी र जाडोमा ज्यादै जाडो नहुने गरेको स्थानीय बासिन्दा सुनाउँछन्। धेरै समथर नभए पनि धेरै भिरालो भूभाग पनि छैन।
स्थानीय शिक्षक चित्रबहादुरका अनुसार एक-अर्काबीचको आपसी सम्बन्ध, सद्भावले बाँधिराखेको छ। एकआपसमा आत्मीयता तथा समान व्यवहार र सहयोगले छिमेकी गाउँका मानिसलाई पनि लोभ्याउँछ। जसले गर्दा गत वर्ष छिमेकी माथगाढीकाबाट चार परिवार बसाइँ सरेर आएको उनी सुनाउँछन्।
सामाजिक, आर्थिक तथा वातावरणीय पक्षले ढोलीमारावासीलाई गाउँमै बाँधेर राखेको छ। सबै भौतिक सुविधा भएकाले शहरको आकर्षणले तानेको छैन। अर्कातिर स्थानीय बासिन्दामा उच्च महत्त्वाकांक्षा पनि नरहेको गाउँपालिका अध्यक्ष नूनबहादुर थापा सुनाउँछन्।
भौगोलिक अवस्थिति, सामाजिक संरचना, आर्थिक विकास तथा स्वच्छ वातावरण लगायत समाजमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अन्य विविध तत्त्वले मानिसलाई सन्तुष्ट बनाउँदो रहेछ। त्यसैले सामाजिक सद्भाव, आर्थिक विकास र समृद्ध समाज निर्माणले बसाइँसराइमा कमी ल्याउँछ।
(गुरुङ पर्यटन विज्ञ हुन्।)