अँध्यारोमा निस्कने गोलसिमल रहस्यमयी पन्छीका रूपमा रहेको त छ नै, यसको मूल प्रजाति लाटोकोसेरालाई संसारका विभिन्न सभ्यतामा अज्ञानता चिर्ने प्रतीकका रूपमा लिइन्छ।
टेक घर्ती मगर
सिमलचरी, रातकी रानीचरी, खरानीबाट बनेको चरी, पान्टोटे, रातमा कराउने रतनचरी। कतिपय ठाउँमा त यसको आवाजलाई भूतको आवाज समेत भन्ने गरिन्छ। पहाडी क्षेत्रमा यी सबै नामले पुकारिने एउटै चरा हो, गोलसिमल।
गोलसिमलबारे बुझ्न सजिलोका लागि लाटोकोसेराको चर्चा गरौं। संसारभरि २२५ थरीका लाटोकोसेरा पाइन्छन् भने नेपालमा २३ प्रजातिका। सबै प्रजातिको आनीबानी र रूपरंग फरक फरक हुन्छ। निशाचर अर्थात् रातमा सक्रिय हुने शिकारी वर्गको मांसाहारी चरा भए पनि प्रजाति अनुसार साँझ-बिहान तथा दिउँसो र निस्पट्ट अँध्यारोमा मात्र सक्रिय हुन्छ।
रातमा सक्रिय हुने भएकाले कतिपय ठाउँमा यसलाई अलौकिक शक्ति भएको प्राणी मानिन्छ। प्रजाति अनुसार हिमाल, पहाड र तराईको घना जंगल, भीरपहरा, कृषि क्षेत्र, मानव बस्ती विभिन्न ठाउँमा पाइन्छ।
लाटोकोसेरो अन्तर्गतकै एक प्रजाति हो, गोलसिमल। विद्यालयका हाजिरीजवाफ प्रतियोगितामा रातमा बास्ने चराको नाम सोध्दा जवाफ ‘गोलसिमल’ आउँछ। तर गोलसिमल कस्तो हुन्छ भनेर सोधियो भने अलमलमा परिन्छ। किनकि धेरैले सुन्ने गरेको भए पनि यसलाई देख्न गाह्रो छ।
अंग्रेजीमा ‘माउन्टेन स्कोप्स आउल’ तथा वैज्ञानिक नाम ‘ओटुस स्पाइलोसेफालस’ रहेको रहस्यमयी गोलसिमल अरू केही नभएर लेकाली उलूक हो। दिनको समयमा अन्य चराले देख्न मुश्किल पर्ने रूखको टोड्का एवं घना झाडीभित्र शान्तसँग बस्ने यो चरा निस्पट्ट अँध्यारोमा मात्र आहाराको खोजीमा निस्कने र कराउने गर्छ।
केहीले अन्दाजको भरमा कुक्कु एवं कोइली प्रजातिको चरा पनि भन्ने गर्छन्। धेरै ठाउँमा पहाडी बीउकुहियोलाई पनि गोलसिमल भनेको पाइन्छ। गोलसिमल मेचीदेखि महाकालीसम्मको पहाडी इलाकामा पाइन्छ। यसलाई कतै सिमलचरी, कतै रातकी रानीचरी, कतै खरानीबाट बनेको चरी, कतै पान्टोटे, कतै रातमा कराउने रतनचरी पनि भनिन्छ।
कथा र किंवदन्तीमा गोलसिमल
बाग्लुङ जिल्लाको पश्चिम भेगतिर गोलसिमल अर्थात् लेकाली उलूकबारे एउटा रोचक किंवदन्ती छ। धेरै पहिले घना जंगलबीच झमक्क साँझ परेको वेला प्वाँख नभएको एउटा चरा भुइँमा आलापविलाप गर्दै थियो। वरिपरि भएका चराले देखेपछि सबैले एक-एक वटा प्वाँख दिए। सबै चराको प्वाँख त्यो चराको शरीरमा राखेपछि अरूभन्दा अत्यन्तै सुन्दर देखियो। अरू चरालाई भने प्वाँख दिएको चित्त बुझेन।
उनीहरूले प्वाँख खोस्ने सल्लाह गर्न थाले। त्यो चाल पाएपछि ‘प्वाँख खोस्, प्वाँख खोस्’ भन्दै उडेर गयो। अँध्यारो भइसकेकाले अरू चराले कहाँ गयो भन्ने पत्तै पाएनन्। कुनै चराले नदेख्ने र नभेट्ने ठाउँमा गएर बस्न थाल्यो।
सबै चराको प्वाँख हुने भएकाले दिनमा कसैले नदेख्ने ठाउँमा लुकेर बस्छ र सबै चरा सुतिसकेपछि चकमन्न अँध्यारोमा उठेर ‘प्वाँख खोस्, प्वाँख खोस्’ भन्दै कराउन थाल्छ। कसैले यो चरा देखेमा शुभ हुने विश्वास गरिन्छ।
गोलसिमलबारे खोजबिन गर्दै जाँदा अनेकौं घतलाग्दा रहस्य भेटिन्छन्। पूर्वदेखि पश्चिमसम्म अनेक किंवदन्ती, अनुश्रुति र लोकविश्वास भेटिन्छ। यसलाई नेपाली परम्परामा धानको कुन्युँमा वास गर्ने धान्यलक्ष्मी अर्थात् धानको देवीको प्रतीक पनि मान्ने गरिन्छ। यसले रातबिरात विरहको घडीमा हिउँदका महीना वनजंगलबाट कारुणिक लयमा ‘गोलसिमल गोलसिमल’ अलाप्छ। यही स्वरका आधारमा यसलाई ‘गोलसिमल’ चरा पनि भनेको पाइन्छ।
गाउँघरमा यसको प्रसिद्ध नाम हो, सिमलचरी। यसलाई लिएर गीत, कविता पनि रचना गरिएका छन्। गोलसिमल चराले कवि हृदयमा समेत ठाउँ पाएको छ। राष्ट्रकवि माधवप्रसाद घिमिरेले राजेश्वरी खण्डकाव्यमा यसको संकेत गरेका छन् भने एउटा कविताको शीर्षक नै ‘गोलसिमल’ राखेका छन्। त्यस्तै, जनकवि केशरी धर्मराज थापाको एउटा खण्डकाव्यको नाम नै गोलसिमल हो।
किरात सभ्यतासँग जोडिएर आउने गोलसिमलको बेग्लै कथा छ। लेखक अर्जुनबाबु माबुहाङले ‘लिम्बू जातिको मुन्धुम र इतिहास’ मा धान नाचको उत्पत्तिसँग फाङ्बुङ्मा (गोलसिमल) चराको चर्चा हुने उल्लेख गरेका छन्। उहिले सावा येहाङहरूले बाली थन्क्याउन छित्याउन थालेछन्। एकातिर धान र अर्कातिर परालको कुन्युँ। जति छित्यायो उति धानको रास मात्र बढ्दै गएपछि खोजबिन गरेछन्। परालको कुन्युँमा फाङ्बुङ्मा चराको गुँड भेटिएछ। चरालाई धपाउन थालेछन्।
चरालाई धपाउँदा ‘हाहाहा...’ गर्दै धान माड्ने क्रमबाट धान नाच्न र पालाम गाउन थालिएको विश्वास गरिन्छ।
केही गर्दा पनि चराले छोडेनछ। त्यसपछि आगो लगाएछन। चरा त सबै प्वाँख डढेर निस्किएछ। अनि अरू चरासँग प्वाँख मागेर लगाएपछि उडेछ। त्यसैले बूढापाका अहिले पनि फाङ्बुङ्मा चरा कराउनुलाई सह मान्छन्।
लेखक माबुहाङले अर्को लेखमा पनि यसबारे उल्लेख गरेका छन्। मुन्धुम अनुसार उहिले ताप्लेजुङ इखाबुको पशुपन्छीको उत्पत्तिस्थलमा गोलसिमल चरा (फाङ्बुङ्मा) थियो। पखेटा र पुच्छर विनाको त्यो चराले रूखको पात प्वाँख जस्तै जडेर उड्ने कोशिश गर्दा सकेन। अन्ततः साप्परिमेम्परि बाँस (मालिंगोभन्दा पनि सानो प्रजातिको बाँस)को पात प्वाँख र पुच्छर बनाउँदा भने उड्न सक्यो।
त्यस्तै, लेखक रोशन शेरचनले दशकअघि लेखेको ‘मान्छे चराप्रति ऋणी छ’ लेखमा यसबारे उल्लेख गरेका छन्। उनले भनेका छन्- गोलसिमल भने मेरा निम्ति नयाँ चरा हो। अपरिचित। गोलसिमल खरानीबाट उड्ने भनिएको छ। खरानीबाट उड्ने भनेको के? खरानीबाट उठ्ने अर्थात् बौरिने भनेको त होइन? नत्र त त्यस्तो विशेषता भएको चराका विम्बहरू प्रयोगमा आइसक्नुपर्थ्यो। खरानीबाट उठ्ने चरा हो भने त हामीकहाँ नै फिनिक्स रहेछ। ग्रीसतिर ताकिरहनु पनि परेन।
कवि ऋषभदेव घिमिरेले यसबारे कविता नै कोरेका छन्। उनले ‘गोलसिमल’ शीर्षकको कविताका पंक्ति यस्ता छन् :
गोलसिमल अद्वितीय चरो।
ऊ गाउँदै होला
आजभोलि तिमीले नसुनेको हुनसक्छ
ऊ एउटै स्वरले गाउँदै होला देशको गीत
गाउँदै होला- गोलसिमल! गोलसिमल!
सिमलचरी गोलसिमल नेपाली समाजमा एउटा चर्चित विरहिणी विम्ब हो। सिमलचरी भन्ने बित्तिकै एउटी टुहुरी, निरीह र अवहेलित चेलीको तस्वीर हामीसामु आउँछ, जो सौतेनी आमाको अत्याचार खेप्न अभिशप्त छ। सानो छँदा अगेनाको छेउमा पलेटी कसेर बस्दा हजुरआमाले सिमलचरीको आहान सुनाउनुहुन्थ्यो। हजुरआमाबाट सिमलचरीका दुःखदायी वृतान्त सुन्दा हाम्रा परेली निथ्रुक्कै भिज्थे (यमबहादुर दुरा, ‘चरी बिम्ब : गोलसिमलदेखि कर्याङ-कुरुङसम्म’, गोरखापत्र , २०७३ पुस २)।
‘मंसीर महीनामा खलाबाट जति धान ओसारे पनि नसकिएपछि किसानले धानमा आगो लगाएर घर हिंडे। धानभित्र लुकेकी बूढी (सिमलचरी) डढेर लडिछ। अरू चराको प्वाँख सापट लिएर उडी। तर आफ्नो प्वाँख नउम्रिएपछि सापटी फिर्ता दिनुपर्ने भएकाले राति ‘गोलसिमल’ को आवाज निकालेर कराउन थाली। यो हल्ला सुनेपछि किसानले प्रायश्चित्तस्वरूप धानको बिटामा बूढी (सिमलचरी) बसाल्ने वेला पूजाआजा गरी सिमलचरीलाई स्थापना गर्छ। दाइँ हाल्दाका दिन दँगेराहरूले नदेख्ने गरी सिमलचरीलाई धानको रासभित्र घुसार्दछ (धर्मराज थापा, गण्डकीको सुसेली )।
फेरि सुदूरपश्चिमतिर बेग्लै परिचय दिएको पाइन्छ। डोट्याली शब्दकोशमा सिमलचडीलाई १२ रङ भएको अति सुन्दर, जोख्दा एक तोला जतिको मात्र वजन हुने, राति मात्र बोलेको सुरिलो र मीठो स्वर, टाढासम्म सुनिने, ढुंगामा उम्रेको झ्याउमा गुँड बनाउने एकप्रकारको चरो भनेर उल्लेख गरिएको छ।
लेखक सौरभले पनि यसबारे लेखेका छन्। उनको ‘अग्निपन्छीको एथेन्स उडान’ शीर्षकको कोसेली मा प्रकाशित लेखमा फिनिक्ससँग दाँजिएको छ।
फिनिक्स शब्दको सर्वप्राचीन उल्लेख पश्चिमका हेरोडोटसले गरेका छन् इसापूर्व पाँचौं शताब्दीमा। यो यस्तो चरा हो, जो स्वयं आगो उत्पन्न गरेर खरानी हुन्छ र त्यसैबाट पूर्ण नयाँ कायामा उब्जिएर उड्छ। पूर्वीय अनुवाद हुन्छ- अग्निपन्छी। ‘फिनी’ तृणासन हो संस्कृतमा। सिमलचरी जल्दा तृणासन (परालासन) मै हुन्छे हाम्रो कथामा। घाँसबोधक पुलाबाट पराल भएको हो नेपालीमा। यसैले तृण र पराल भन्नु एउटै हो। विज्ञानले पनि धानलाई घाँस अर्थात् ग्रामिनेई परिवारमा राखेको छ। सिमलचरी जलेर खरानी हुन्छे- हाम्रो कथाले भन्छ। र, कशको अर्थ खरानी पनि हो। तर, अरू चराका प्वाँखहरू सापटी लिएर ऊ उड्छे अर्थात् अति रंगीन हुन्छे- हाम्रो कथाले भन्छ। अर्थात् पाँचौं शताब्दीअघि ग्रीकहरूले त्यो हाम्रो अग्निपन्छीलाई टिपे।
सभ्यतासँगको साइनो
सौरभको लेखमा उल्लेख भए अनुसार प्रतिष्ठित चराविज्ञ हरिशरण नेपाली (काजीदाइ) र सिक्किमका रोजन ढुंगेलले सिमलचरी भनेको स्कोप्स उल भन्ने वृत्तान्त यथार्थपरक रहेको छ। तर नेपालमा अभिलिखित २३ थरीका लाटोकोसेरोमध्ये उलूक मात्र लेकाली उलूक, लोखर्के उलूक र चित्री उलूक गरी तीन प्रजाति र चित्री उलूकको एक उपप्रजाति छन्। यिनै मध्येबाट पनि नाम नै तोकेर फलानो स्कोप्स उल भनेको भए आममानिसलाई बुझ्न अझ सजिलो हुन्थ्यो।
यस्तो रहस्यमय पन्छी नै लेकाली उलूक हो। यो लाटोकोसेरो पहाडी भेगको एक हजार ५०० मिटरदेखि तीन हजार मिटरबीच घना जंगलमा प्रायः एक्लै बस्ने र राति निस्पट्ट अँध्यारो भएपछि मात्र सक्रिय हुने स्वभावको हुन्छ। दिउँसो रूखको टोड्का एवं झाडीभित्र बस्छ। विश्व संरक्षण संघका अनुसार यसको अवस्था कम चासो भएको प्रजातिमा पर्छ।
ससाना कानजुरा भएको शरीरको माथिल्लो भागमा मैलो खैरो काला ठाडा धर्सा र तल्लो भाग अलि अस्पष्ट मसिना थोप्ला र फुर्सी खैरो तेर्सा धर्सा हुन्छन्। नेपालको भौगोलिक विविधताले गर्दा दुई उपप्रजाति रातो खैरो रङको पश्चिममा र कैलो रङको पूर्वमा पाइने सम्भावना औंल्याइएको छ। लाटोकोसेरा भए पनि प्रजाति अनुसार साँझ, बिहान, दिउँसो र प्रजननकालमा मात्र कराउने खालका पनि हुन्छन्। तर गोलसिमल अन्धकार रातमा वर्षभरि नै कराउँछ।
अन्य ऋतुकालभन्दा शरद् ऋतुमा बढी कराउने गर्छ। करीब तीन-तीन सेकेन्डको फरकमा आवाज निकाल्ने गर्छ। यो कराएको आवाज सयौं मिटर टाढासम्म सुन्न सकिन्छ। रातको समयमा सक्रिय हुने भएकाले धेरै कुरा अनौठो लाग्ने नै भए।
फिनिक्स चरालाई आगोमा डढिसकेपछि खरानीबाट फेरि जिउँदो हुने पन्छी भनेर चिनिन्छ। प्राचीन ग्रीक, इजिप्ट र पर्सियन सभ्यताको विकासक्रममा पुरातात्त्विक महत्त्वका ठाउँमा निर्माण गरिएका चराको चित्रको बनावटका आधारमा के निष्कर्षमा पुग्न सकिन्छ भने, टाउकामाथि शिरको लामो कल्की र निकै लामो पुच्छरलाई हेरेर तुलना गर्दा भारतीय उपमहाद्वीपमा पाइने भाले मुजुरको आकृतिलाई बढाइचढाइ गरी बनाइएको आकृति भन्न सकिन्छ।
गोलसिमलको कथा भने अहिलेसम्म थुप्रै साहित्य र लोककथा मार्फत श्रुतिपरम्पराका रूपमा पुस्तान्तरण हुँदै आएको छ। यसलाई समेटेर थुप्रै कथा, कविता र काव्य रचना भएका छन्। तथापि यो कुक्कु, कोइली, बीउकुहियो प्रजातिको चरा नभएर लाटोकोसेरो नै हो। किनकि माथिका कथामा धान र गोलसिमलको सम्बन्ध हरेक ठाउँमा जोडिएर आएको छ। धानमा दाइँ हाल्ने वेला कुन्युँमा काठ वा बाँसको अग्लो घोचा गाडिएको हुन्छ। कुन्युँको धान खान मुसा आकर्षित हुने र त्यही अग्लो घोचामा बसेर कराउन र मुसा पक्रेर आहारा बनाउन लाटोकोसेरालाई सजिलो हुने नै भयो।
लाटोकोसेरो प्रजाति अनुसार माछा, सर्प, भ्यागुतो, खरायो, बिरालो र चरामा निर्भर हुन्छ भने घना जंगलमा बस्ने गोलसिमलको मुख्य आहारा अन्नबाली खाने मुसा नै हो। मुसा, चरा लगायत कीराफट्यांग्रा अन्नपात खान आकर्षित हुन्छन्। मुसा, चरा, सर्प लगायत कीराफट्यांग्रा र सरीसृपलाई लाटोकोसेराले खाएर नियन्त्रण गर्न र पर्यावरणीय सन्तुलन कायम राख्न सघाउ पुर्याउँछ जसले अन्नपातको सुरक्षा हुन्छ। विश्वका धेरै सभ्यतामा यस चरालाई अज्ञानता चिर्ने प्रतीकका रूपमा लिइन्छ भने हिन्दू संस्कृतिमा लाटोकोसेरो धनकी देवी लक्ष्मीको वाहनका रूपमा पुजिन्छ।