रसुवामा ठूलो जनधनको क्षति गरेको भोटेकोशीको बाढी तिब्बतमा वर्षाका कारण होइन, हिमताल विस्फोट वा दुर्घटनाका कारण निम्तिएको हुनसक्ने विज्ञहरूको आकलन छ।
मंगलबार रसुवास्थित भोटेकोशी नदीमा एक्कासि उर्लिएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाउँदै सडक, जलविद्युत् सहितका कैयौं संरचनामा ठूलो क्षति गरेको छ। बिहान ३ बजेतिर भोटेकोशीमा तिब्बतबाट प्रवेश गरेको बाढीबाट १८ जना बेपत्ता भएको रसुवागढी प्रहरी कार्यालयले जानकारी दिएको छ। बाढीका कारण रसुवागढी, त्रिशूली ३ (ए), त्रिशूली ३ (बी) सहितका जलविद्युत् आयोजनामा क्षति गरेको छ। चीन जोड्ने सडक पूर्णतया अवरुद्ध छ। बाढीले कैयौं सवारीसाधन र संरचना बगाएको जिल्ला प्रशासन कार्यालय, रसुवाले जनाएको छ।
उक्त क्षेत्रमा पानी नै नपरेको अवस्थामा एक्कासि त्यति भयावह बाढी के कारणले आयो भन्ने प्रश्न भने अनुत्तरित छ। रसुवागढी नाकाबाट केही तल रहेको टिमुरेस्थित जलमापन केन्द्रका अनुसार बिहान ३ बजेर १० मिनेटमा नदीमा जलसतह छिनभरमै ३.५ मिटर बढेको थियो। रसुवागढीबाट १३ किलोमिटर तल रहेको स्याफ्रुबेसीस्थित जलमापन केन्द्रमा बिहान साढे ३ बजे ३.६५ मिटर रहेको जलसतह १० मिनेटभित्रै ५.३७ मिटर पुगेको देखिएको थियो।
यसअघि तिब्बती क्षेत्रमा ठूलो पानी परेका कारण भोटेकोशीमा बाढी आएको अनुमान गरिएको थियो। तर विज्ञहरू त्यस भेगमा वर्षात्का कारण बाढी आएको नदेखिएको बताउँछन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक विनोद पोखरेल भन्छन्, “मैले तिब्बती क्षेत्रको मौसम पूर्वानुमान तथा भू-उपग्रह तथ्यांक विश्लेषण गर्दा बाढी आउनेगरी पानी परेको फेला पारिनँ। उक्त क्षेत्र त्यति ठूलो परिमाणमा बाढी आउनेगरी पानी पर्ने भूभाग नै होइन।”
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी पनि पानी परेर एक्कासि बाढी आएको नदेखिएको बताउँछन्। उनी भन्छन्, “हामी यस घटनाको कारणबारे अध्ययन गरिरहेका छौं, तर प्रारम्भिक अध्ययन गर्दा तिब्बतमा पानी परेर होइन, हिमताल विस्फोट वा अन्य दुर्घटनाका कारण बाढी आएको हुनुपर्छ।”
विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको विज्ञप्तिमा पनि वर्षाका कारण बाढी नआएको उल्लेख छ। विश्व मौसम संगठनको भू-उपग्रहमा आधारित प्रणाली मार्फत हेर्दा भोटेकोशी जलाधार क्षेत्रमा बितेको २४ घण्टामा पानी परेको नदेखिएको महाशाखाले जनाएको छ। महाशाखाले भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमताल रहेको र हिमताल विस्फोट भएको हुन सक्ने शंका गर्दै बाढीको यकीन कारण पत्ता लगाउन तथा असर आकलनका लागि भू-उपग्रह तस्वीर प्राप्तिको प्रक्रिया शुरू गरेको बताएको छ।
सम्भाव्य कारण हिमताल विस्फोट
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक जोशी तिब्बती क्षेत्रमा कतिपय हिमतालहरू विस्फोटनको जोखिममा रहेको र तीमध्ये कुनै विस्फोट भएर बाढी आएको हुन सक्ने बताउँछन्।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक पोखरेल पनि हिमताल विस्फोट, मानव निर्मित ताल फुटेको वा कुनै पूर्वाधार निर्माण सम्बन्धी दुर्घटनाका कारण बाढी आएको अनुमान गर्छन्। उनी भन्छन्, “चीनले केही साताअघि तिब्बतमा मुहान भएका नदीको तटीय क्षेत्रमा सावधानी अपनाउन सूचना जारी गरेको थियो। अहिले पानी नपरेका वेला नै बाढी आउनुले केही गडबडी भएको शंका गर्न सकिन्छ।” चीनले असार दोस्रो साता तिब्बतमा मुहान भएका नदीको तटीय क्षेत्रमा सावधानी अपनाउन नेपाल सरकारलाई सूचना पठाएको थियो।
मौसमविद् पोखरेल बाढी आउनेगरी पानी पर्ने पूर्वानुमान दुई-तीन साता अगावै गर्नै नसकिने बताउँछन्। “त्यति वेला सचेतना अपनाउन सूचना दिइनु र अहिले बाढी आउनुले कतै यो कुनै दुर्घटनाबाट सिर्जित त होइन भन्ने आशंका गर्न सकिन्छ,” उनी भन्छन्।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार पछिल्ला दिनमा चिनियाँ पक्षले बाढी आउन लागेको जानकारी औपचारिक र अनौपचारिक कुनै रूपमा पनि नेपाल पक्षलाई दिएको थिएन। उनी भन्छन्, “एक्कासि बाढी आइसकेपछि मात्र हामीले थाहा पाएका हौं, बाढी आउन लागेको कुनै जानकारी दिइएको थिएन।”
बाढी आइसकेपछि पनि चिनियाँ पक्षले यसको कारणबारे जानकारी नदिएको उनी बताउँछन्। “सीमाक्षेत्रका चिनियाँ पक्षलाई सोध्दा उनीहरूले पनि यसको कारण बताएका छैनन्,” उनी भन्छन्। “गृह मन्त्रालय मार्फत चिनियाँ दूतावाससँग सोध्दा बाढीको कारण थाहा नभएको भन्ने जवाफ प्राप्त भएको छ।” तर चीनले बाढीको कारण पत्ता लगाउनेबारे समन्वय गर्न तयार रहेको जानकारी दिएको पनि उनी बताउँछन्।
रसुवागढीको भूउपग्रह तस्वीर। रातो रेखाले देखाएको लेन्दे खोलामा बाढी आएको थियो।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक जोशीका अनुसार पनि चीनले बाढीको कारणबारे सूचना दिएको छैन। अहिले मात्रै होइन, विगतमा पनि जल तथा मौसमको सूचना र तथ्यांक चीनले दिने नगरेको उनी बताउँछन्। “तिब्बती क्षेत्रको जल तथा मौसमको औपचारिक तथ्यांक उपलब्ध गराउने संयन्त्र र व्यवस्था नै छैन,” उनी भन्छन्।
पाँच वर्षअघि सार्वजनिक एक अध्ययन प्रतिवेदनले नेपाल, तिब्बत र भारतको हिमाली भेगमा ४७ वटा हिमताल फुट्ने जोखिममा रहेको देखाएको थियो। यसमध्ये तिब्बतमा २५ वटा, नेपालमा २१ वटा र भारतमा एउटा हिमताल जोखिमयुक्त रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को अध्ययनले देखाएको थियो। इसिमोडको अध्ययनले कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा तीन हजार ६२४ वटा हिमताल भेटिएको उल्लेख गरेको थियो। तीमध्ये दुई हजार ७० वटा नेपालमा, एक हजार ५०९ वटा तिब्बतमा र ४५ वटा भारत भेटिएका थिए। अध्ययनहरूले जलवायु परिवर्तनका कारण हिमालय तीव्र गतिमा पग्लिइरहेकाले हिमतालहरू विस्फोटको उच्च जोखिममा रहेको औंल्याउँदै आएका छन्।
तर तिब्बतमा रहेका हिमतालहरूको अवस्था तथा त्यस क्षेत्रको तथ्यांक साटासाट गर्ने प्रणाली अहिलेसम्म स्थापना भएको छैन। चीनले त्यस्ता सूचना दिन आनाकानी गर्दै आएको सरकारी अधिकारीहरूको दाबी छ। त्यस्तो सूचना उपलब्ध हुन सके हिमताल विस्फोटको जोखिम तथा त्यसबाट निम्तिने दुष्परिणामबारे सचेत गराउन र मानवीय क्षति कम गर्न सकिन्छ। तर तिब्बतमा रहेका हिमताल कुन अवस्थामा छन्, त्यसबारे नेपालसँग सूचना छैन। यसअघि तिब्बतमा हिमताल विस्फोट हुँदा नेपालमा ठूलो क्षति भएको अनुभव छ।
इसिमोडको सन् २०११ को अध्ययनमा विगतमा २४ वटा हिमताल विस्फोटका ठूला घटना रेकर्ड भएको उल्लेख छ, जसमध्ये १० वटा नेपाली भूभागमा भएका थिए भने १० वटा तिब्बतको हिमाली क्षेत्रमा भएका थिए। हिमताल विस्फोटपछि नेपालका नदीमा ठूलो बाढी आएको थियो। २०७३ असारमा चीनको तिब्बतस्थित गोंगाबासेङ्सु हिमताल विस्फोट भएर सिन्धुपाल्चोकको भोटेकोशी नदीमा बाढी आउँदा ४५ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजना बगाएको थियो।
हिमालय क्षेत्रका हिमतालको विषयमा लामो समयदेखि अध्ययन गर्दै आएका काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. रिजनभक्त कायस्थ तिब्बतमा थुप्रै जोखिमयुक्त हिमताल रहेकाले तीमध्ये कुनै फुटेर बाढी आएको हुन सक्ने बताउँछन्। उनी भन्छन्, “हामी भू-उपग्रह तस्वीरहरूको पहुँच प्राप्त गरी अध्ययन गर्ने क्रममा छौं, त्यसपछि मात्रै यकीन कारण थाहा होला।”
जोखिममा हिमताल
इसिमोड र यूएनडीपीले सन् २०१८ मा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले नेपाल, तिब्बत र भारतको हिमाली भेगमा ४७ वटा हिमताल फुट्न सक्ने जोखिममा रहेको देखाएको थियो। यीमध्ये तिब्बतमा मात्र २५ वटा रहेको उल्लेख गरिएको छ। प्रतिवेदनमा ती हिमताल फुट्ने जोखिम रहेकाले नियमित अनुगमन गर्न पनि सुझाइएको थियो। तर अनुगमन हुन सकेको छैन।
उक्त प्रतिवेदनका लेखकमध्येका एक, हिमताल विज्ञ समज्वल वज्राचार्य सन् २०१५ को तथ्यांकका आधारमा उक्त प्रतिवेदन तयार गरिएको बताउँछन्। त्यसयता जलवायु परिवर्तनको असरका कारण हिमाली क्षेत्रमा तापक्रम बढेर हिउँ पग्लिने क्रम उच्च भएकाले जोखिम थप बढेको हुन सक्ने उनको भनाइ छ। तर एक दशकयता हिमताल सम्बन्धी त्यस स्तरको अध्ययन भएको छैन। वज्राचार्य भन्छन्, “हिउँ घट्ने र हिमतालमा पानी थपिने क्रम तीव्र भएकाले हरेक वर्ष अध्ययन गरिनुपर्ने हो, हिमतालमा अनुगमन प्रणाली राखिनुपर्ने हो। तर एक दशकयता ठूलो स्तरमा अध्ययन नै हुन सकेको छैन, यसले हाम्रो खेलाँची देखाउँछ।”
अध्ययन नहुँदा उच्च हिमाली क्षेत्रमा भइरहेको परिवर्तनबारे धेरै जानकारी छैन।
पछिल्लो समय हिमताल विस्फोटबाट हुने जोखिम बढिरहेको देखिएको छ। २०८१ साउनमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित पर्यटकीय गाउँ थामेमा आएको भेलबाढीले सिंगो गाउँलाई तहसनहस पारेको थियो। यो विपत्ति उपल्लो क्षेत्रका दुई वटा हिमताल फुटेर आएको बाढी सिर्जित थियो। एउटा हिमताल फुटेर तल्लो स्थानको अर्को तालमा खसेको र त्यो पानी सोहोरिएर एकै पटक उर्लिंदा थामेमा विपत्ति निम्तिएको अध्ययनले देखाएको थियो।
२०८१ वैशाखमा गोर्खाको वीरेन्द्र ताल फुट्दा पनि बूढीगण्डकी नदीमा बाढी आएको थियो। २०८१ असार २२ राति दोलखाको रोल्वालिङ खोलामा आएको बाढीले रोल्वालिङ पदमार्गमा पर्ने डोगाङका होटल र घर गरेर आठ वटा संरचना बगाएको थियो। एक व्यक्ति हराएका थिए। यो बाढी पनि हिमताल फुटेर आएको अनुमान गरिएको छ।
विगतमा हिमताल विस्फोटका कैयौं ठूला घटना भइसकेका छन्, जसले धेरै क्षति गरेको छ। सन् १९८५ मा सोलुखुम्बुको डिगच्छो हिमताल फुट्दा १२ जनाको मृत्यु भएको थियो भने त्यस क्षेत्रमा नाम्चे जलविद्युत् आयोजना सहित कैयौं संरचना बगाएको थियो। सन् १९७७ मा हिमताल विस्फोटपछि दूधकोशी नदीमा आएको बाढीले तीन जनाको ज्यान लिएको थियो।
सन् १९८१ मा तिब्बतको सिरेनमाचो हिमताल विस्फोट भएर आएको बाढीले नेपाल–चीनको मितेरी पुल बगाउँदै सुनकोशी जलविद्युत् आयोजनाको ड्याममा क्षति गरेको थियो।
हरितगृह ग्यासको उत्सर्जनले निम्त्याएको विश्वव्यापी जलवायु परिवर्तनका कारण हिमताल जोखिममा परेको मानिन्छ। विश्वव्यापी तापमान वृद्धिले हिमतालको संख्या र आकार बढेको तथा हिमनदीको आकार घटेको अध्ययनहरूले देखाएका छन्। हिमालको औसत तापक्रम हरेक वर्ष ०.०५६ डिग्री सेल्सियसले बढ्दै गएको छ।
हिमताल विज्ञ वज्राचार्य हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावसँगै हिमतालको आकार तीव्र ढंगले बढ्दा जोखिमयुक्त हिमतालको संख्या पनि बढिरहेको हुन सक्ने बताउँछन्। हिमतालको आकार बढ्दै जाँदा पानीको चापका कारण वा भूकम्प र हिमपहिरोले गर्दा फुट्ने जोखिम हुन्छ।