परम्परागत अबीर-केशरीको सट्टा पछिल्लो समय बजारमा छ्यासछ्यास्ती आएका गुणस्तरहीन रङ दलिंदा प्राचीन सम्पदामा कुँदिएका इतिहास क्रमशः मेटिंदै छन्।
राजा रणजित मल्लका पालामा २७१ वर्षअघि बनेको सम्पदा हो, भक्तपुर दरबार स्क्वायरस्थित स्वर्णद्वार। प्यागोडा शैलीको छानो रहेको, मल्ल राजाहरूकी कुलदेवी तलेजुलाई समर्पण गरिएको यो द्वार तामामा सुनको जलप लगाएर बनाइएको छ।
अहिले द्वारको दायाँ-बायाँ रहेका देवताका दुई प्रतिमाको टाउको र निधारमा प्वाल देखिन्छ। बायाँतिर भैरव अनि दायाँतिरको भगवतीको मूर्ति छ। यस द्वारलाई दैनिक हजारौं पर्यटकले छुन्छन्। भक्तपुरवासी बिहान बिहान पूजा गर्छन्। मानिसहरूको लामो समयदेखिको स्पर्श र बजारमा छ्यासछ्यास्ती पाइने रासायनिक पूजा सामग्रीको असरले मूर्तिको मौलिक स्वरूप गुमेको इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्। “भक्तपुर दरबार क्षेत्रका अरू मूर्ति पनि खिइरहेका छन्। पादपीठमा रहेका अभिलेख अबीर-केशरी चुहिएर फाटेका छन्,” उनी भन्छन्, “रङ-तेलले पूजा नगरिने मूर्ति भने केही भएका छैनन्।”
श्रेष्ठले भने जस्तो दृष्टान्त राष्ट्रिय कला संग्रहालयको ढोकैअघि रहेका हनुमन्त भैरव (हनुमान्) र नरसिंह मूर्तिमा देखिन्छ। ढोकाको दायाँतिर रहेको हनुमन्त भैरवलाई कम पूजा गरिन्छ। त्यसैले यसको अभिलेख पनि प्रस्ट छ। धेरै पूजा गरिने, ढोकाको बायाँतिर रहेको नरसिंह मूर्तिको अभिलेख चाहिं फाटेको छ।
भक्तपुरको राष्ट्रिय कला संग्रहालयको ढोकामा रहेका नरसिंह र हनुमान् मूर्तिमा रहेका अभिलेख। एकै समयमा लेखिएका भए पनि धेरै पूजा गरिने मूर्तिको अभिलेख खिइएको छ भने अर्कोकाे प्रस्ट पढ्न सकिने खालको छ। सबै तस्वीर : अजय हाकुजू/हिमालखबर
भक्तपुरका राजा भूपतीन्द्र मल्लले नेपाल संवत् ८१८ मा बनाउन लगाएको प्रवेशद्वारमा रहेका दुवै मूर्तिको पादपीठमा तिथिमिति एकै छ। इतिहासविद् श्रेष्ठका अनुसार उति वेला शत्रु राज्यबाट हुने आक्रमणमा जित दिलाउने विश्वासले हनुमान् र नरसिंहलाई द्वारमा राखिन्थ्यो। नरसिंहलाई प्राकृतिक विपद् र महामारीबाट जोगाइदिने देवताका रूपमा लिइन्थ्यो। “त्यसैले अहिलेसम्म पनि भूकम्प जाँदा बाहिर निस्कन नसक्ने वृद्धवृद्धा, बालबालिका, अशक्त र रोगीहरू जमीनमा बूढी औंलाले थिचेर नरसिंह नरसिंह भन्छन्,” श्रेष्ठ भन्छन्, “यस्ता दुर्लभ मूर्ति फेरि बन्दैनन्। त्यसैले मुखै दुलो पर्नेगरी फूलपाती, मिठाई कोच्न बन्द गरिनुपर्छ। मूर्तिलाई छोएर होइन, हेरेर पूजा गर्ने प्रचलन बसाइनुपर्छ।”
चार दशकदेखि इतिहास, संस्कृति र पुरातत्त्वबारे अध्ययन गर्दै आएका श्रेष्ठको अवलोकनमा मूर्ति बाहेकमा रहेका अभिलेख पनि जोखिममा छन्। जस्तो- भक्तपुर दरबार क्षेत्रमै रहेको निर्भय देवको पालाको नेसं १२५ को शिलालेख। छेवैमा रहेको इनारबाट पानी तान्ने टेकाका रूपमा वर्षौं घोटिंदा यो शिलालेख खिइसकेको छ। आराध्यदेवलाई केही गुठी जग्गा अर्पण गरिएको बेहोरा रहेको यो शिलालेखमा भक्तपुरलाई श्री खोप्पु भनिएको छ।
पूर्व मध्यकालको जनजीवन, आर्थिक पाटो, गुठी व्यवस्था, भाषासम्मको ज्ञान दिने अभिलेख अब सादा ढुंगोमा परिणत भएको भन्दै श्रेष्ठ चिन्ता व्यक्त गर्छन्। “कुन अभिलेख कसरी फाटिरहेछन्, पूजा गर्दा प्रयोग गरिने अबीरले कसरी सम्पदा मारिरहेको छ भन्ने कुरा वेलैमा नबुझाइए अरू सम्पदा पनि क्रमशः मासिनेछन्,” उनी भन्छन्।
मेटिंदो इतिहास
पशुपतिनाथ मन्दिरको पश्चिमतर्फको बाहिरी द्वारबाट जयवागीश्वरीतिर जाने बाटोमा विश्वामित्रेश्वरको छैटौं शताब्दीतिरको एकमुखे शिवलिंग र छेवैमा साँढेको मूर्ति छ। लिच्छविकालीन यस्ता शिवलिंग र साढे पाशुपत क्षेत्रमा अरू पनि छन्। तर स्थानीयले दैनिक पूजापाठ गर्ने विश्वामित्रेश्वर अरूको तुलनामा बढी खिइएको छ। पशुपति क्षेत्र विकास कोषले निकाल्ने पाशुपत क्षेत्रको सांस्कृतिक सम्पदा (मूर्त र अमूर्त) स्मारिकामा लेखिए अनुसार विश्वामित्रेश्वरका दुई हातमध्ये दायाँमा रुद्राक्ष र बायाँमा कमण्डलु लिइएको छ। तर अहिले शिवलिंगमा झट्ट हेर्दा यी कुरा प्रस्ट देखिंदैन। कोषका पुरातत्त्व अधिकृत सुशीलकुमार गौतमका अनुसार ५० वर्षअघिसम्म पनि यस मूर्तिमा रहेका सबै कुरा प्रस्ट छुट्टिन्थ्यो। “बिग्रन थालेको धेरै भएको छैन। पछिल्लो समय रसायन मिसिएका अबीर र धूपदीपको प्रयोगले होला, मूर्ति र साँढेमा रहेका आकृति हराए।”
लिच्छवि शासनमा एकै कालखण्डमा बनेका साँढेका दुई प्रतिमामा देखिएको बदलाव।
पशुपति प्रांगणभित्र रहेको, विश्वामित्रेश्वरकै छेउमा रहे जस्तो छैटौं शताब्दीकै साँढेको आकृति भने अहिले पनि स्पष्ट छ। २० वर्षयता सर्वसाधारणलाई छुन र पूजापाठ गर्न निषेध गरिएकैले यो जोगिएको अनुमान गर्न सकिन्छ।
वनकालीस्थित यस देवीमूर्तिमा रहेको अभिलेख खिइएको छ ।
गौतमका अनुसार वनकाली मन्दिरमा रहेको देवीको लिच्छविकालीन मुख्यमूर्ति पनि केही दशकयता निकै खिइसकेको छ। हातमा शस्त्र बोकेर वेतालमाथि नाचिरहेकी देवीको मूर्तिमा रहेको अभिलेख अहिले पढ्न सकिंदैन। इतिहासविद् धनवज्र वज्राचार्यले २०३० सालमा प्रकाशन गरेको लिच्छविकालीन अभिलेखमा रहेको उक्त शिलालेखको संस्कृत भाषाको मूलपाठ र अनुवाद यस्तो छ-
...प्रासादपिण्डं स्थलं सद्भित्त्यामृतवर्मणा
...प...शिलापट्टकम्।
(भर्तुः पुण्य) विवृद्धये भवगतिक्लेशक्षयायात्मनः
भाय्र्या श्रीकलहाभिमानिनृपतेर्लब्ध्वा प्रसादोदय(म्)
अर्थात्,
अमृतवर्माले..............मन्दिरको इलाकालाई राम्रो पर्खालले.....शिलापत्र (राखियो)।
श्रीकलहाभिमानी राजाकी पत्नीले उहाँबाट निगाह पाएर पतिको पुण्य बढोस् तथा आफ्नो मोक्ष होस् भनी....(देवता स्थापना गर्नुभयो)।
वज्राचार्यले उतार गर्दाताका नै थुप्रै ठाउँमा अक्षरहरू हराइसकेको उक्त अभिलेखमा रहेको ‘कलहाभिमानी’ शब्दबाट यो मूर्ति अंशुवर्माकी पत्नीले पतिको पुण्यकामना गर्दै राख्न लगाएको बुझिन्छ। ऐतिहासिक ग्रन्थहरूमा उक्त शब्दले अंशुवर्मालाई जनाउने गरेको उल्लेख छ। तर अभिलेखमा पत्नीको नाम छैन। उक्त पुस्तकमा पनि यही कुरा लेखिएको छ-
‘श्रीकलहाभिमानी राजाकी रानीले आफ्नो पतिको पुण्य बढोस् भनी तथा आफ्नो मोक्ष होस् भनी देवता स्थापना गरेको बुझिन्छ। यस अभिलेखमा उल्लिखित अमृतवर्मा को हुन्, थाहा पाउन सकिएको छैन। उनले यहाँ रहेको देवमन्दिरको वरपर पर्खाल बनाउन लाएको बुझिन्छ। सायद अमृतवर्मा अंशुवर्माका नातेदार होलान्।’
पुरातत्त्वविद् गौतम चाबहिल, जयवागीश्वरी लगायत स्थानका अन्य मूर्ति र अभिलेख पनि दिनहुँ चढाइने अबीर-केशरीले पुरिएको बताउँछन्। “अबीरले खायो भन्दा धर्म विरोधी कुरा गर्यो भन्छन्, तर सम्पदाहरू हेर्दाहेर्दै गुम्ने स्थिति छ,” उनी भन्छन्।
मैतीदेवी मन्दिरको मूलढोका अगाडि पूर्वतिर सिरान गरेर सुतेको वेतालको मूर्ति छ। दर्शनार्थीहरू वेताललाई पूजा गरेर मात्र मन्दिरभित्र देवीलाई पूजा गर्न जान्थे। तर नेपाल संवत् ६९० मा बनेको वेतालको ताम्रमूर्ति खिइएर कामै नलाग्ने भई पटक पटक फेरिइसकेको छ। पछिल्लो पटक ६ महीनाअघि फेरिएको पुजारी तीर्थज्योति वज्राचार्य बताउँछन्। उनका अनुसार पुरानो मूर्तिको मुख, निधार र पैतालामा प्वाल परेको थियो। “मूर्तिको मुखमा सधैं पेडाहरू कोचिएको हुन्थ्यो। चढाइएको पानी त्यहीं जम्थ्यो। त्यसैले छिटै जीर्ण भएको होला,” उनी भन्छन्।
मन्दिरभित्र धूपबत्ती बाल्दा कस लागेर मूर्तिहरू नचिनिने भएपछि वज्राचार्यले केही समययता धूपबत्ती बाहिरै बाल्नुपर्ने व्यवस्था गराएका छन्। “पूजा नै नगर भन्न त मिल्दैन। तर प्राचीन मूर्तिहरूलाई ध्वाँसोबाट जोगाउन यस्तो गरेका हौं। कतिले बुझ्छन्, कतिले बुझ्दैनन्,” उनी भन्छन्।
खिइनुका कारण
पुरातत्त्व विभागका रसायनशास्त्री राजेशप्रसाद सिंह मूर्ति र अभिलेखहरू खिइनुमा पूजा गर्दा चढाइने सामग्रीलाई मुख्य कारण मान्छन्। उनका अनुसार पछिल्लो समय बजारमा जथाभावी आएका रसायनयुक्त पूजा सामग्रीले मूर्तिलाई निकै असर पुर्याएका छन्। अहिले अबीर-केशरी भनी बेचिने वस्तुमा नाइट्रोजन/हाइड्रोजन आदिको मिश्रण हुन्छ जसले ढुंगादेखि धातुसम्मलाई खियाइदिन्छ। मिठाईमा हुने गुलियो रसायनले मूर्तिलाई चिरा पारिदिन्छ। लामो समय जमेर बसेको तेलले ढुंगाको मौलिक रङ खाइदिन्छ। “यस बाहेक वातावरण पनि कारण हुन सक्छ,” बिग्रिएका मूर्तिको मर्मत समेत गर्दै आएका सिंह भन्छन्, “वर्षा, हावा, पानीले पनि असर गर्छ। बढी क्षति चाहिं पूजा सामग्रीकै कारणले पुगेको देखिन्छ।”
कलाकार लोक चित्रकारका अनुसार बजारमा उपलब्ध रङहरू यति हानिकारक छन् कि तिनको टीका लगाउँदा मानिसका निधार र हातमा पनि असर परिरहेको छ। तिनै रङ प्राचीन सम्पदामा पनि घसिने गरेको छ।
भक्तपुर दरबार क्षेत्रस्थित स्वर्णद्वारमा रहेका भगवती र भैरवका मल्लकालीन मूर्ति जीर्ण अवस्थामा।
संस्कृतिविद् गोविन्द टण्डन पहिले पहिले मूर्तिमा बजारिया नभएर परम्परागत रङहरू प्रयोग हुने गरेको र सोही कारण प्राचीन सम्पदाहरू युगौंसम्म टिक्न सकेको बताउँछन्। उनका अनुसार परम्परागत रङ बोटबिरुवा र प्राकृतिक खनिजबाट बन्थे। रातो रङ रक्तचन्दन, अनार, गुलाफ र गुर्जा फूल सुकाएर बनाइन्थ्यो। हरियो रङ बनाउन मेहन्दी, सल्लाको पात वा पालुंगो प्रयोग गरिन्थ्यो। पहेंलो रङ सुकाएको बेसारबाट र बैजनी रङ चुकन्दरबाट निकालिन्थ्यो। टण्डन भन्छन्, “अहिले त दूध पनि शुद्ध छैन। रसायनयुक्त दूध चढाइँदा शिवलिंग नै छियाछिया भएका छन्। आरतीमा प्रयोग गरिने तेलमा बोसो जमेको भेटिन्छ।”
बजारमा उपलब्ध रङहरू कति हानिकारक छन् भन्ने सार्वजनिक स्वास्थ्य तथा वातावरण विकास केन्द्रले गरेको एउटा अध्ययनले पनि प्रस्ट पार्छ। केन्द्रका वैज्ञानिक रामचरित्र साहले होलीमा प्रयोग गरिने रङहरूमा शीशा, निकल, कपर, सिलिका भेटिएको नेपाली टाइम्स लाई बताएका छन्।
नेपाल सरकारले सन् २०१५ मा घर रङ्याउने र अन्य प्रयोजनका रङहरूमा शीशाको मात्रा अधिकतम ९० पीपीएमभन्दा हुन नहुने सीमा तोकेको थियो। तर सन् २०२१ मा केन्द्रले नेपालमा बिक्री हुने ६२ थरी इनामेल र रङहरूको अध्ययन गर्दा कम्तीमा ३० वटामा शीशाको मात्रा बढी भेटेको थियो।
बजारमा नयाँ आएका रङ र इनामेल लगाउँदा मन्दिरका टुँडाल पनि चाँडै खिइन थालेको रसायनशास्त्री सिंह बताउँछन्। “अहिले धेरैजसो टुँडाल बिग्रिएका छन्। बिग्रिसकेकालाई पुरानै अवस्थामा फर्काउन सक्दैनौं। थप नबिग्रियोस् भनेर संरक्षण मात्र गर्न सकिने हो,” उनी भन्छन्।
इतिहास तथा संस्कृतिविद् श्रेष्ठले सम्पदा जोगाउनका लागि ‘छोएर होइन, अबीर-पानीले होइन, मनले मानेर, हेरेर दर्शन-पूजन गरौं’ भन्दै सचेतना फैलाउँदै आएका छन्। यही सन्देश आफ्ना विद्यार्थीलाई पनि बाँडिरहेका छन्। “सम्पदामा रसायनयुक्त सामग्रीको प्रयोग रोक्न सकिन्छ। यससँगै हाम्रो व्यवहार पनि परिवर्तन गर्नुपर्छ। भगवान्को मुखै पोल्नेगरी बत्ती कोच्न हुँदैन,” उनी भन्छन्।
पुरातत्त्व विभागका प्रमुख सौभाग्य प्रधानांग सम्पदाहरूको पूजा गर्ने काम आस्थासँग जोडिएकाले पूजापाठ हठात् रोक्नुले सही समाधान नदिने बताउँछिन्। उनका बुझाइमा पूजापाठ अमूर्त सम्पदा हो भने मूर्तिहरू मूर्त सम्पदा। मूर्त सम्पदालाई जीवन्त राख्न अमूर्त सम्पदाको पनि भूमिका हुन्छ। मन्दिर र मूर्ति बनाइएकै पूजापाठ गर्नका लागि हो। “त्यसैले पूजापाठलाई सीधै रोक्न असम्भव हुन्छ। विकल्पमा यस्ता रासायनिक वस्तुलाई निषेध गर्न सकिन्छ। पूजा सामग्री चढाउन छुट्टै ठाउँ बनाउन सकिन्छ,” उनी भन्छिन्।
पशुपतिको पश्चिमतिरको बाहिरी प्रवेशद्वारछेउमा रहेको विश्वामित्रेश्वर शिवलिंग।
प्रधानांगले भने जस्तै अभ्यास केही वर्षयता काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा देख्न सकिन्छ। त्यहाँ पहिले विष्णुको मूल मूर्तिमा सीधै पूजा सामग्री र नैवेद्य चढाइने गरेकामा अहिले प्रतीकात्मक रूपमा बाहिरै अर्को मूर्ति राखेर त्यहीं चढाइन्छ। मूल मूर्तिलाई परैबाट दर्शन गर्ने प्रचलन बसाइएको छ।
मूर्ति जोगाउने कानूनी व्यवस्था पनि छ। प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा १२ मा कुनै पनि सम्पदा नियतवश भत्काए, विरूप पारे, दुरुपयोग गरे २५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद सजाय हुन सक्ने उल्लेख छ। तर सर्वसाधारणले गर्ने पूजामा मूर्तिलाई क्षति पुर्याउने नियत नहुने भएकाले कानून आकर्षित नहुने भन्दै प्रधानांग प्राचीन सम्पदा रहेका क्षेत्रमा सम्पदालाई असर नपुग्नेगरी पूजा गर्न छुट्टै ठाउँ तोक्नुपर्नेमै जोड दिन्छिन्। “यसका लागि गर्नुपर्ने पहिलो काम भनेको स्थानीयमा जागरण ल्याउनु हो,” उनी भन्छिन्।
सम्पदा पुनःस्थापना अभियानका सदस्य रोशन मिश्र विश्व सम्पदा सूचीमा रहेका क्षेत्रमा बढी ध्यान दिइनुपर्ने ठान्छन्। “भारतमा पनि रासायनिक पूजा-सामग्रीले सम्पदा बिग्रिएपछि विश्व सम्पदा क्षेत्रमा पूजा गर्न अलग्गै ठाउँ छुट्याएर मुख्य सम्पदालाई परैबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ। सम्पदा बचाउने चेतना जगाउन सक्दा नेपालमा पनि यो काम गाह्रो छैन,” उनी भन्छन्।
VIDEO
यी पनि पढ्नुहोस्