परीक्षा शुरू भइसक्दा पनि पाठहरू भ्याउन मुश्किल परेको त्रिविको स्नातकोत्तर नेपाली विषयको पाठ्यक्रममा पाँचबुँदे कमजोरी औंल्याउँदै प्राध्यापकहरूले परिमार्जनका लागि दबाब दिइरहेका छन्।
काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा मूल विषय नेपाली लिएर स्नातकोत्तर तहको पहिलो सेमेस्टर पढ्दै आएकी तुलसा भट्टराई यही असार १० देखि परीक्षामा व्यस्त छिन्। तर यसपालि उनले परीक्षामा बस्नुअघि पाठहरू दोहोर्याएर हेर्नसम्म पाइनन्। जेठ अन्तिम सातासम्म पनि थुप्रै पाठ पढाइनै बाँकी थिए। “प्राध्यापकहरू कक्षामा नियमित नआएर वा अरू कारणले कक्षा रोकिएको होइन,” उनी भन्छिन्, “कोर्स नै यति लामो छ कि नियमित पढ्दा पनि एउटा सेमेस्टरभित्र सकिंदैन।”
रत्नराज्य क्याम्पसमा बेलुकीको शिफ्टको पढाइ अपराह्न ४ः३० बाट शुरू हुन्छ। तर पाठ्यक्रम भ्याउने चटारोकै कारण विद्यार्थी ३ बजे नै पुग्न बाध्य थिए। “कोर्स भ्याउनै यस्तो परेपछि परीक्षा के राम्रो होला र?” भट्टराई भन्छिन्, “अर्को सेमेस्टर पनि यस्तै हुने डरले कति साथी त नेपाली विषय नै छाडिदिने बताउँदै थिए।”
त्रिवि केन्द्रीय क्याम्पसमा अध्ययनरत एक छात्र पनि यस्तै गुनासो गर्छन्। परीक्षा आउन एक साता बाँकी छँदा पनि पाठ्यक्रम नसकिएपछि अध्यापकहरूले नियमित कक्षा बाहेक ह्वाट्सएप तथा मेसेन्जरबाट पनि पढाए। पाठ भ्याउने हतारोमा विद्यार्थीले विषयवस्तु राम्ररी बुझे/नबुझेको कुरा प्राथमिकतामै परेन। ती छात्रका अनुुसार ह्वाट्सएपमा नेपाली एमए पहिलो सेमेस्टर २०८० नामको समूह बनाएर ‘पाठ सम्पादन’ पढाइएको थियो। ‘नेपाली साहित्यको इतिहास’ पनि अनलाइनबाट पढाइयो। “भर्ना भइहालियो। अहिले निल्नु न ओकल्नुभएको छ,” उनी भन्छिन्।
अध्यापकहरूका अनुसार स्नातकोत्तर तहका १६ पत्र सबैमा समस्या छ। यिनमा पनि खासगरी पहिलो सेमेस्टरको भाषाविज्ञान र फरक सेमेस्टरहरूमा रहेका पाश्चात्य साहित्य र समालोचना सम्बद्ध पाठ्यांशहरूमा पाठहरूको अत्यधिक चाप छ। यी विषय विद्यार्थीले स्वाध्ययनबाट बुझ्न पनि मुश्किल मानिन्छ।
सामान्यतया पुसमा शुरू हुने पहिलो सेमेस्टर ६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने डीन कार्यालयको निर्देशिका छ। यस अनुसार असार मसान्तसम्म परीक्षा लिइसक्नुपर्छ। यसपालि परीक्षा निर्धारित समयमै भए पनि विद्यार्थीले सेमेस्टर प्रणालीको मर्म अनुसार आवधिक पत्र तयार पार्ने सहितका केही काम भ्याएनन्। अन्तिम परीक्षाअघि पूर्व सत्रान्त अर्थात् आन्तरिक परीक्षा पनि लिनुपर्ने अभ्यास छ। पठनपाठन नसकिएकाले यसपालि धेरैतिर आन्तरिक परीक्षा लिन नभ्याइएको अध्यापकहरूको गुनासो छ।
त्रिवि नेपाली केन्द्रीय विभागका प्राध्यापक अशोक थापा ६ महीने सेमेस्टरका लागि बनाइएको पाठ्यक्रम एक वर्षमा पनि नसकिने खालको रहेको टिप्पणी गर्छन्। उनका अनुसार एक सेमेस्टरमा कुल १८० दिन हुनेमा बिदा कटाउँदा पढाइ हुने दिन ६० जति मात्र हो। तर भाषाविज्ञान विषयमै १०१ वटा शीर्षक छन्। अर्थात्, एउटा शीर्षकलाई एउटा पूरै पिरियड पनि दिन पाइँदैन। “यो सबै अवैज्ञानिक पाठ्यक्रमले निम्त्याएको समस्या हो,” थापा भन्छन्।
रत्नराज्य क्याम्पसकी उपप्राध्यापक बिन्दु शर्मा यसपालि अघिल्ला वर्षहरू जस्तो विद्यार्थीलाई पाठ अनुसार प्रायोगिक अभ्यास गराउनै नभ्याएको सुनाउँछिन्। “यस्तो समस्या पहिले कहिल्यै आएको थिएन। नयाँ पाठ्यक्रममा जबर्जस्ती पाठ थोपरिएकाले यस्तो भएको हो,” उनी भन्छिन्।
समस्याका चाङ
अध्यापकहरूको अनुभवमा नयाँ पाठ्यक्रममा पाठहरू यति थपिएको छ कि नियमित समयतालिकामा पढाइसक्नै मुश्किल छ। जस्तो- अघिल्लो चोटि दोस्रो सेमेस्टरमा पढाइ हुँदै आएको ‘सामान्य भाषाविज्ञान’ विषय अहिले पहिलो सेमेस्टरको पहिलो पत्रमा छ। अघिल्लो चोटि यसमा सैद्धान्तिक र प्रायोगिक गरी चार वटा अध्याय रहेकामा अहिले थपेर ६ वटा पुर्याइएको छ।
पहिले चौथो सेमेस्टरमा ‘आधुनिक नेपाली उपन्यास’ शीर्षकमा पाँच सर्जक र तिनका उपन्यास पढाइ हुन्थे। त्यस्तै, तेस्रो सेमेस्टरमा ‘आधुनिक नेपाली कथा’ अन्तर्गत आठ कथाकार र तिनका रचना पढाइन्थे। अहिले यी दुवै शीर्षकलाई दोस्रो सेमेस्टरको ‘नेपाली आख्यान’ अध्यायमा गाभिएको छ। पढाउनुपर्ने उपन्यास र उपन्यासकार पनि पाँचबाट थपेर ६ पुर्याइएको छ।
पुस्तक र पाठ्यक्रममा रहेका उस्ताउस्तै विषयवस्तु।
पहिले दोस्रो सेमेस्टरमा रहेको ‘आधुनिक नेपाली खण्डकाव्य’ मा ६ खण्डकाव्य र तिनका रचनाकारबारे पढाइ हुन्थ्यो। तेस्रो सेमेस्टरमा पनि ‘आधुनिक नेपाली महाकाव्य’ शीर्षकमा पाँच महाकाव्यकारबारे पढाइन्थ्यो। नयाँ पाठ्यक्रममा यी सबै पाठलाई ‘नेपाली महाकाव्य र खण्डकाव्य’ शीर्षकमा गाभेर तेस्रो सेमेस्टरमा हालिएको छ। यसरी गाभ्दा के ध्यान पुर्याइएको छैन भने, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र माधव घिमिरे खण्डकाव्य र महाकाव्य दुवैतिर दोहोरिएका छन्। कक्षाकोठामा एउटै कुरा दोहोर्याएर पढाउनुपरिरहेको छ। अझ गम्भीर कुरा त छुट्टाछुट्टै रहँदा नै क्रेडिट आवर ३ र पाठ्य समय ४८ घण्टाका दरले रहेका यी शीर्षक गाभिंदा पनि उति नै समयभित्र पढाइसक्नुपर्ने बाध्यता छ।
प्राध्यापकहरूका अनुुसार त्रिवि नेपाली केन्द्रीय विभागको अगुवाइमा बनाइएको यो पाठ्यक्रम संविधानले परिकल्पना गरेको लोकतान्त्रिक र समावेशी सिद्धान्तको समेत प्रतिकूल छ जहाँ लैंगिक, वैचारिक र क्षेत्रीय दृष्टिले एकपक्षीयता र पूर्वाग्रह झल्कन्छ। पहिलो सेमेस्टरमा अनिवार्य रहेको ‘नेपाली फुटकर कविता’ शीर्षक पाठमा प्रगतिवादका स्थापित नामहरू भूपि शेरचन, गोपालप्रसाद रिमाल समेटिएका छैनन्।
अघिल्लो पाठ्यक्रममा ‘आधुनिक नेपाली फुटकर कविताको विकासक्रम’ शीर्षकमा स्वच्छन्दतावादी, प्रगतिवादी र प्रयोगवादी धारा तथा समसामयिक चरणहरूको पढाइ हुन्थ्यो, पहिलो सेमेस्टरमा। अहिले कविताको विकासक्रमलाई ‘नेपाली साहित्यको इतिहास’ खण्डमा समेटिएको छ। यस अन्तर्गत ‘नेपाली कविताका आधुनिक कालका प्रमुख धारा, प्रतिभा र प्रवृत्ति’ शीर्षकमा पनि स्वच्छन्दतावादी, प्रयोगवादी र समसामयिक धारा मात्र छन्। प्रगतिवादी धारा पूरै हटाइएको छ।
साहित्यकार तथा प्राध्यापक मुरारि पराजुली प्रगतिवादी धारालाई छुटाउँदा नेपाली कविता इतिहासको अध्ययन अधुरो हुने बताउँछन्। “प्रगतिवादमा पनि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, युद्धप्रसाद मिश्र, केवलपुरे किसान, गोपालप्रसाद रिमाल लगायतलाई छुटाउनै हुन्न,” उनी भन्छन्।
‘नेपाली फुटकर कविता’ खण्डमा यदुनाथ पोखर्याल, ज्ञान दिलदास, मोतीराम भट्ट, बहादुरसिंह बराल, लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, मोहन कोइराला, वैरागी काइँला, ईश्वर वल्लभ र तोया गुरुङ गरी १२ कविका कविता छन्। तर समाजवादी र लोकतान्त्रिक भावना मुखर हुने योगमाया, गोपालप्रसाद, युद्धप्रसाद, केवलपुरे किसान, गोकुल जोशी, भूपि शेरचन आदिका कविता बहिष्कारमा परेको प्राध्यापक थापा बताउँछन्।
पाठ्यक्रममा समेटिएका ५७ लेखकका ६२ पाठमध्ये महिला लेखकका दुइटा मात्र छन्– पारिजातको शिरीषको फूल र तोया गुरुङको कविता। अघिल्लो पाठ्यक्रममा रहेका पारिजातका कथाहरू ‘मैले नजन्माएको छोरो’, ‘साल्गीको बलात्कृत आँसु’ र ‘नाटकको चौथो चरण’ अहिले हटाइएको छ।
अघिल्लो पाठ्यक्रम र नयाँ पाठ्यक्रमका पाठहरू। नयाँ पाठ्यक्रममा प्रयोगात्मक अभ्यासका लागि पाठ तोकिएको छैन।
नयाँ पाठ्यक्रममा महिला, जनजाति, निम्नवर्गीय, सीमान्तीकृतका आवाज उपेक्षा गरिएको उपप्राध्यापक शर्मा बताउँछिन्। उनका अनुसार पारिजातको कथा हटाएर हरिहर खनालको ‘आकाश छुने डाँडो मुनि’ कथा समेटिएको छ। क्षेत्रीयताका सवालमा तराईको परिवेश बोक्ने भवानी भिक्षुको कथा, उपत्यकाको सांस्कृतिक महत्त्व झल्काउने विजय मल्लको नाटकलाई यसपालि ‘व्यक्ति प्रतिभा अध्ययन’ पाठबाट हटाइएको छ। “पाठ्यक्रममा न्यून संख्यामा रहेको तराई–मधेश, काठमाडौं उपत्यका र महिलाको प्रतिनिधित्व पनि अब समाप्त भएको छ,” शर्मा भन्छिन्।
अहिलेको पाठ्यक्रम सान्दर्भिक पाठहरूले रहित सिद्धान्तको थुप्रो जस्तै बन्न पुगेको प्राध्यापकहरूको अर्को आरोप छ। अघिल्लो पाठ्यक्रममा पहिलो सेमेस्टरमा ‘पाश्चात्य साहित्य सिद्धान्त र वाद’ अन्तर्गत विम्बवाद बुझाउन ईश्वर बल्लभको आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन् , यथार्थवाद बुझाउन लीलबहादुर छेत्रीको बसाइँ र रमेश विकलको नयाँ सडकको गीत, प्रकृतिवाद बुझाउन गोविन्द गोठालेको पल्लो घरको झ्याल , अस्तित्ववाद बुझाउन शिरीषको फूल , विश्वेश्वरप्रसाद कोइरालाको तीन घुम्ती अनिवार्य पढाइन्थे। अहिले सिद्धान्त बुझाउने परिपूरक पाठहरू नतोकी वादहरूको परिचय, प्रवर्तन र विकासप्रक्रिया, मुख्य प्रकार, मान्यता, शक्ति र सीमाको व्याख्या मात्र राखिएको छ। पाठ छान्ने जिम्मा शिक्षककै तजबिजमा छाडी ‘उपयुक्त सिद्धान्तहरूमा केन्द्रित रही प्रायोगिक अभ्यास’ गर्न भनिएको छ।
पाठ्यक्रम लेखनका लागि गठित विषय समितिका सदस्य समेत रहेका पाटन बहुमुखी क्याम्पसको नेपाली विभागका पूर्व प्रमुख प्राध्यापक धर्मराज अधिकारी कोरा सिद्धान्त मात्रले विद्यार्थीलाई सिर्जनशील लेखक बनाउन नसकिने टिप्पणी गर्छन्। “पाठ दिइनुपर्नेमा अहिले सिद्धान्त अनुसारको प्रायोगिक अभ्यास गर्न भनिएको छ,” उनी भन्छन्, “यस्तोमा अध्यापकहरूले आफूलाई रुचिकर पाठ मात्र विद्यार्थीलाई दिए भने परिणाम राम्रो हुँदैन।”
तेस्रो सेमेस्टरमा ऐच्छिक विषय अन्तर्गत चार वटा पाठ छन्– ‘भाषिक अध्ययन परम्परा’, ‘नेपाली लोकवार्ता’, ‘आप्रवासी नेपाली साहित्य’ र ‘एशियाली साहित्यको अध्ययन’। यीमध्ये ‘नेपाली लोकवार्ता’ मा मात्र २० अंकको प्रयोगात्मक पत्र राखिएको छ। यसले गर्दा अन्य तीन विषय रोज्ने विद्यार्थीको प्राप्तांकमा प्रत्यक्ष प्रभाव पर्ने उपप्राध्यापक शर्मा बताउँछिन्। “प्रायोगिक अंक नपाइने भएकैले विद्यार्थीले रुचि हुँदाहुँदै पनि बाँकी विषय नछान्ने जोखिम रहन्छ,” उनी भन्छिन्, “त्यसैले धेरैजसो विद्यार्थी के गर्ने, के नगर्ने भन्ने अन्योलमा परे।”
पाठ्यक्रमको पृष्ठभूमि
स्नातकोत्तर तहको नयाँ पाठ्यक्रम नेपाली केन्द्रीय विभागका तत्कालीन प्रमुख प्राध्यापक खगेन्द्र लुइँटेलको नेतृत्वमा तयार पारिएको हो। त्रिवि ऐन अनुसार विभाग प्रमुख नै पाठ्यक्रम विषय समितिको प्रमुख हुन्छ। तर यो पाठ्यक्रम लागू भएको साता दिनदेखि नै विवादमा परिरहेको छ।
पाठ्यक्रममा विधागत रूपमा रचना छनोट गर्न विषय समितिमा १९ जना प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकलाई नियुक्त गरिएको थियो। के के समेट्ने भनेर केन्द्रीय विभागका प्राध्यापकहरूलाई मस्यौदा पनि लेख्न लगाइयो। मस्यौदा तयार पारिए पनि लुइँटेलले त्यसबारे समितिमा छलफल नै नचलाएको प्राध्यापक थापा बताउँछन्। विषय समितिमा पनि आफू अनुकूल ताली बजाउनेहरूलाई मात्र नियुक्ति दिइएको उनको आरोप छ। “प्रश्न र टिप्पणी नगरून् भनेरै समितिमा नियतवश जुनियर, उपप्राध्यापकहरूलाई राखिएको थियो,” थापा भन्छन्, “न नेपाली विषयका शिक्षकहरूसँग देशव्यापी छलफल भयो न त प्रदेश अनुसारको कार्यशाला राखियो।
प्राध्यापक अधिकारी पनि मुलुकभरि पढाइने पाठ्यक्रम निर्माण चरणदेखि नै लुइँटेलको कब्जामा परेको बताउँछन्। “लुइँटेल सरले मस्यौदा सम्बोधन गर्नै खोज्नुभएन। एकलौटी बनाउनुभयो। त्यसपछि बैठकमा असहमति जाहेर गरें,” उनी भन्छन्, “छलफल गरिए अनुसारको पाठ्यक्रम आएन भन्दा उहाँले अब यस्तै भयो, यही लागू हुन्छ भन्नुभयो।”
अधिकारीका अनुसार विषय समिति बैठकमा पाठ्यक्रमबारे विस्तृत छलफल नगरी बाहिरी शीर्षक र संरचना मात्र सरसर्ती देखाइन्थ्यो। “अझै छलफल बाँकी होला भनेको त एक्कासि पाठ्यक्रम आइसकेछ। पछि हेर्दा पाठहरू थोपरिएको, लुइँटेल सरले आफ्नै कुरा लाद्नुभएको पाइयो,” उनी भन्छन्।
पाठ्यक्रम लेखनमा संलग्न बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक शालिग्राम पौडयाल भने पाठहरू आरोप लगाइए जसरी लामा नरहेको दाबी गर्दै पहिले व्यक्तिकेन्द्रित अध्ययन बढी हुने गरेकामा अहिले प्रवृत्तिगत अध्ययनलाई जोड दिइएको बताउँछन्। यद्यपि सन्दर्भ सामग्री छनोटमा लुइँटेल हावी हुँदा त्यस्ता सामग्री अलि बढी भए जस्तो उनलाई पनि लाग्छ। “सन्दर्भ सामग्री राख्ने कुरामा छलफल नै भएको थिएन, कोर्सबारे मात्र भएको थियो,” उनी भन्छन्, “तर व्यक्तिगत कारणले पछिल्ला बैठकमा उपस्थित हुन नसकेकाले के भयो भनेर अन्तिमसम्म हेर्न पाइएन।”
विषय समितिका अर्का सदस्य रहेका धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक दीपक न्यौपानेलाई पाठ्यक्रममा समेटिएको ‘विधा सिद्धान्त’ शीर्षक पाठ केही जटिल र लामो भए जस्तो लाग्छ। पाठहरू दोहोरिएको, असमान र असमावेशी भएकोबारे भने आफू उपत्यका बाहिर बस्ने भएकाले सबै कुरा हेर्न नसकेको, प्रत्येक एकाइमा के के छ भनेर समितिमा छलफल नभएको बताउँछन्। “जसले नेतृत्व गरेको हो, उसका इच्छा पनि त्यहाँ हावी हुँदा रहेछन्। आफ्नै स्वार्थमा पनि कति पाठ राखिने रहेछ। खासगरी यसमा स्थायी समितिको भूमिका हुँदो रहेछ,” उनी भन्छन्।
विषय समितिले तयार पारेको पाठ्यक्रम पारित गर्ने वा नगर्ने अन्तिम निर्णयको अधिकार स्थायी समितिलाई हुन्छ। विषय समिति सदस्यमध्येबाटै छानिने तीन सदस्यीय स्थायी समितिमा तत्कालीन विभागप्रमुख लुइँटेलसँगै प्राध्यापकहरू लक्ष्मणप्रसाद गौतम र सुकुम शर्मा थिए।
विषय समितिमा विज्ञ सदस्य रहेकी प्राध्यापक सावित्रा मल्ल कक्षपति आफूलाई पाठ्यक्रम पास गर्ने अन्तिम बैठकमा मात्र बोलाइएको बताउँछिन्। “यो पाठ्यक्रममा छलफल नै कम भए जस्तो लाग्छ,” उनी भन्छिन्, “पास गर्नुअघि हामीलाई कम्तीमा केही दिनअघि पढ्न दिइनुपर्थ्यो, तर पाइएन। अहिले नराम्ररी फसियो।”
समिति अध्यक्ष लुइँटेल भने डीन कार्यालयबाट पाठ्यक्रम बनाउन चिठी आएदेखि नै विभागका सबै शिक्षक डाकेर छलफल चलाएको, उपत्यकाका सबै क्याम्पसका नेपाली विभाग प्रमुख र शिक्षकहरूलाई संरचना तयार पार्न लगाएको, तिनकै सुझाव अनुसारको मस्यौदा एकीकृत गरेर विषय समितिबाट पास गरिएको बताउँछन्। “अहिले मेरो विपक्षमा केही व्यक्तिले प्राध्यापकहरूलाई उचालेर यस्तो विवाद निकालेका छन्,” उनी भन्छन्, “यसले केही फरक पर्दैन। सबै कुरा प्रक्रिया अनुसार नै भएको छ। स्थायी समितिले नै पास गरे पुग्नेमा हामीले यसपालि विषय समितिबाट समेत पास गरेर ल्याएका हौं। त्यसपछि प्राज्ञिक परिषद्, शिक्षाध्यक्ष सबैबाट पास भएर आएको हो।”
स्वार्थको द्वन्द्व
लुइँटेललाई विषय समितिका सदस्यहरूलाई छलेर आफूखुशी पाठ्यक्रम बनाएको आरोप लाग्नुका पछाडि पाठ्यक्रममै समेटिएका केही सन्दर्भ सामग्री पनि कारण देखिन्छन्। उनले पदीय दुरुपयोग गर्दै निजी प्रकाशनबाट प्रकाशित आफ्नै कृतिहरूलाई सन्दर्भ सामग्रीका रूपमा राखेको प्राध्यापकहरूको दाबी छ। लुइँटेलले तेस्रो सेमेस्टरको ‘नेपाली आप्रवासी साहित्य’ विषयमा आफ्नै कृतिका सन्दर्भ सामग्री राखेको भन्दै २१ प्राध्यापकले मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालय, उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय र नेपाली विभागलाई ध्यानाकर्षणपत्र बुझाएका छन्।
२०७० सालको पाठ्यक्रममा आठ ठाउँमा लुइँटेलका रचना सन्दर्भ सामग्रीका रूपमा रहेकामा अहिले आफ्नै नेतृत्वमा पाठ्यक्रम तयार पार्दा ५७ स्थानमा आफ्ना कृतिलाई सन्दर्भ बनाएको, गाइड बूक र स्मारिकाका लेख समेत घुसाएको अध्यापकहरूको आरोप छ।
त्रिविको नेपाली विभागका अहिलेसम्म भएका विभागीय प्रमुखहरू।
अघिल्लो पाठ्यक्रम अन्तर्गत पहिलो सेमेस्टरको ‘नेपाली साहित्यको इतिहास’ पाठमा लुइँटेलका कविता सिद्धान्त र नेपाली कविताको इतिहास, कविताको संरचनात्मक विश्लेषण, नेपाली उपन्यासको इतिहास, नेपाली काव्य समालोचना, नेपाली नाट्य समालोचना, नेपाली निबन्ध समालोचना पुस्तकबाट सन्दर्भ सामग्री राखिएका थिए। अहिले तेस्रो सेमेस्टरको ‘आधुनिक नेपाली समालोचना’ शीर्षक पाठ्यांशमा पनि उनका आधुनिक नेपाली समालोचना, नेपाली काव्य समालोचना, नेपाली नाट्य समालोचना, डायस्पोराको सैद्धान्तिक स्वरूप जस्ता पुस्तकले ठाउँ पाएकै छन्।
यसपालि उनले अझ बढेर सम शतवार्षिकी, महाकवि देवकोटा व्याख्यान माला लगायत स्मारिकामा प्रकाशित लेख पनि घुसाएका छन्। लुइँटेलले कविता संग्रहहरूमा लेखेका भूमिका समेत पाठ्यक्रमको सन्दर्भ-सूचीमा भेटिन्छन्। तेस्रो सेमेस्टरको ‘आप्रवासी साहित्य’ शीर्षक पाठ्यांशमा समेटिएको अमेरिका, क्यानडा, उत्तर अमेरिकाका नेपाली कवि र कविता संग्रहको भूमिका तिनैमध्येको एक उदाहरण हो।
आप्रवासी नेपाली साहित्यका पाठ लुइँटेलले आफ्नै पुस्तक डायस्पोराको सैद्धान्तिक स्वरूप (पैरवी प्रकाशन, २०७९) पुस्तकबाट जस्ताकै तस्तै सारेको देखिन्छ। पुस्तकमा रहेकोे ‘डायस्पोराको ऐतिहासिक सन्दर्भ र अर्थ’, ‘डायस्पोराको परिभाषा र स्वरूप’ शीर्षक लेख उक्त पाठको एकाइ र उपएकाइमा छ। सोही पुस्तकका ‘डायस्पोराको निर्माणप्रक्रिया’, ‘डायस्पोराको विकासप्रक्रिया’, ‘डायस्पोरा र डायस्पोरा साहित्यका विशेषता’, ‘डायस्पोराको वर्गीकरण’, ‘नेपालबाहिर नेपाली साहित्य र नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण’ शीर्षक सामग्री पनि टपक्कै टिपिएका छन्। ‘आप्रवासी नेपाली साहित्य’ मा उनले आफ्नो पुस्तकका १८ वटा सन्दर्भ सामग्रीलाई ठाउँ दिंदा अन्य नौ लेखकका गरी जम्मा ११ वटा सामग्री समेटिएका छन्।
नेपालमा डायस्पोरिक साहित्यको विमर्श र अध्ययनको शुरूआत गर्ने व्यक्तिका रूपमा स्थापित प्राध्यापक गोविन्दराज भट्टराईका एउटै सामग्री नपारिएकामा त्रिवि केन्द्रीय नेपाली विभागका पूर्व प्रमुख दयाराम श्रेष्ठ आश्चर्य व्यक्त गर्छन्। पछिल्लो समय पाठ्यक्रम निर्माणमा व्यक्ति हावी हुने गरेको र पाठ्यक्रमका लागि बनाइने समितिहरू पार्टीका मान्छेलाई नियुक्ति दिने अखडा बनिरहेको उनको आरोप छ। “आप्रवासी नेपाली साहित्यको कुरा गर्दा गोविन्दराज भट्टराईका ग्रन्थ पहिला आउँछन्। यहाँ उनैलाई छुटाएर आफू र आफ्नालाई मात्र भागबन्डा गरेको प्रस्टै देखिन्छ,” श्रेष्ठ भन्छन्।
लुइँटेलले पत्नी लीला लुइँटेलका लेखलाई पनि पाठ्यक्रममा ठाउँ ठाउँमा सन्दर्भ सामग्री बनाएका छन्। तेस्रो सेमेस्टरको ‘नेपाली समालोचना’, ‘आधुनिक नेपाली कविताको उत्तरवर्ती चरण’ लगायत पाठमा उनका पुस्तकलाई सन्दर्भ सामग्री बनाइएका छन्। यसअघिका पाठ्यक्रममा कहिल्यै नअटाएकी लीलालाई लुइँटेलले आफू विभागाध्यक्ष र पाठ्यक्रम निर्माण समितिको प्रमुख भएकै वेला ठाउँ दिंदा स्वार्थको द्वन्द्व देखिएको भन्दै अध्यापकहरूले आलोचना गरेका छन्।
नेपालमा पुस्तक लेखनको २०० वर्षे इतिहासमा विधागत गरिमाका लागि चिनिएका अरू थुप्रै स्थापित ग्रन्थ हुँदाहुँदै लुइँटेलले तिनलाई पन्छाएर आफू र आफ्नालाई च्यापेको प्राध्यापक थापा बताउँछन्। “यसरी मनोमानी गरेर पाठ्यक्रमलाई पारिवारिक विशेष अंक बनाउनु ज्यादती हो,” उनी भन्छन्।
प्राध्यापकहरूले डीन कार्यालय र नेपाली केन्द्रीय विभागमा गत फागुन १ गते बुझाएको ध्यानाकर्षणपत्रमा पाठ्यक्रमको छानबिन र परिमार्जनको अपील गरेका छन्। लुइँटेल भने पाठ्यक्रममा आफ्ना पुस्तकको सन्दर्भ सामग्री पहिल्यैदेखि रहँदै आएकाले अहिले हुनु पनि अन्यथा नरहेको बताउँछन्। बरु पाठ्यक्रममा आफ्ना सामग्री राख्न दबाब दिएका विभिन्न दलमा आबद्ध केही व्यक्तिले भाग नपाएपछि अहिले विरोध जनाएको उनको प्रत्यारोप छ।
हिलो छ्यापाछ्याप
नेपाली केन्द्रीय विभागका पूर्व प्रमुख लुइँटेल पाठ्यक्रम समावेशी र पहिलेभन्दा व्यवस्थित बने पनि प्राध्यापक रमेश भट्टराई र उनकी पत्नी त्रिविकी पूर्व रेक्टर सुधा त्रिपाठीले अन्य प्राध्यापकलाई उचालेर बखेडा झिकेको आरोप लगाउँछन्। पाठ्यक्रम निर्माणका वेला भट्टराईले पत्नी सुधाको रचना पार्न चारतिरबाट दबाब दिएको र नपाएपछि अहिले विरोध गरेको उनको दाबी छ।
“यी दुईले मेरा विरुद्ध के मात्र गरेका छैनन्। सबै प्रमाण बाहिर ल्याए यिनीहरू धर्तीमा टेकेर हिंड्न सक्ने हुँदैनन्। २०४० सालदेखिका घटना बोल्न बाध्य नपारून्,” लुइँटेल चुनौती दिन्छन्।
भट्टराई पनि अरूलाई झूटो आरोप लगाउने लुइँटेलको पुरानै बानी रहेको भन्दै आफूहरूले पाठ राख्न दबाब दिएको प्रमाणित गर्न चुनौती दिन्छन्। “सुधा अस्ट्रेलिया बस्न थालेको एक वर्षभन्दा बढी भइसकेकाले उनले यो पाठ्यक्रम हेर्न पाएकी नै छैनन्,” उनी भन्छन्, “मैले पनि लुइँटेलजीले बनाएको पाठ्यक्रमबारे एक शब्द कतै बोलेको छैन। बुझ्ने प्राध्यापकहरूले आफैं मुद्दा उठाएका हुन्।”
भट्टराईका अनुसार पाठ्यक्रममा कमजोरी भने निकै छन्। देशभरका प्राध्यापकलाई एक पटक राम्ररी पढ्न दिइए स्तर प्रस्ट हुने उनी दाबी गर्छन्। उनी भन्छन्, “२१औं शताब्दीको पाठ्यक्रममा के के समेटिनुपर्थ्यो, कसरी प्रतिनिधित्व हुनुपर्थ्यो, विद्यार्थीका लागि अनुकूल छ कि छैन, पाठ्यक्रम व्यक्तिगत प्रभावबाट कति मुक्त हुनुपर्थ्यो भन्ने प्रश्नहरूको जवाफ खोजिए सबै थाहा भइहाल्छ।”
पाठ्यक्रम सुधार्न दबाब दिने प्राध्यापकहरूको नेतृत्व गरिरहेका अशोक थापाले मुख्य गरी पाँच बुँदा अघि सारेका छन्।
पहिलो : सैद्धान्तिक, अभ्यासात्मक र प्रयोगात्मक दृष्टिले पाठ्यांशहरूको उद्देश्य प्रस्ट पारिनुपर्ने। उदाहरणका रूपमा थापा पहिलो सेमेस्टरमा रहेको भाषाविज्ञानमा कुन पाठ्यांशलाई प्रायोगिक कार्य बनाउने भन्ने स्पष्ट नरहेको बताउँछन्।
दोस्रो : पाठ्यक्रममा पाठहरू तोकिएको शैक्षिक अवधिमा पढाइसकिने जति मात्र राखिनुपर्ने।
तेस्रो : ५७ स्थानमा एकै व्यक्तिका सन्दर्भ सामग्री राखिनु साटो अरू लेखकका पनि राम्रा गुरुग्रन्थ समेटिनुपर्ने।
चौथो : पाठ्यक्रमले संवैधानिक व्यवस्था अनुसार समता, राष्ट्रिय आवश्यकता र देशको परिवर्तित सन्दर्भ समेत सुनिश्चित गर्नुपर्ने भनी शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपले तोके बमोजिम लैंगिक, जातीय, क्षेत्रीय आदि रूपमा समावेशी बनाइनुपर्ने।
पाँचौं : पहिलो सेमेस्टरमा रहेको नेपाली कविताका आधुनिक कालका प्रमुख धारा, प्रतिभा र प्रवृत्ति उपशीर्षकमा प्रगतिवादी धारा ढिक्कै हटाएर स्वच्छन्दतावादी धारापछि एकैचोटि प्रयोगवादी धारा राखिएकोमा सच्याइनुपर्ने।
VIDEO
थापा कसैले उचालेर नभई आफ्नै प्रेरणाले पाठ्यक्रम सुधार्न आवाज उठाइरहेको दाबी गर्छन्। “यसरी बोल्दा सरुवाबढुवाको डर हुन्छ। अरूका लागि हुन्थ्यो त जागीर धरापमा पारेर किन बोल्दो हुँ? नेपाली विषय जोगाउनका लागि बोलेको हुँ,” उनी भन्छन्।
त्रिवि केन्द्रीय नेपाली विभागका प्रमुख कृष्ण न्यौपाने भने प्राध्यापकहरूको ध्यानाकर्षणपत्र आए पनि डीन, विद्यापरिषद्, प्राज्ञिक परिषद् सहितका अनेक तहबाट पारित भइसकेकाले पाठ्यक्रम परिमार्जन गर्न झन्झटिलो हुुने बताउँछन्। समावेशिताका सन्दर्भमा उनी हरेक कुरा एउटै पाठ्यक्रममा समेट्न नसकिने तर्क गर्छन्। “तापनि समय अनुसार पाठ्यक्रम परिमार्जन हुन्छ नै। अहिले परीक्षणकालमा छ, हेर्दै जाऔं। यहाँबाट भन्दा पनि डीन कार्यालयले हेर्ने हो, कुरा भइरहेको छ,” न्यौपाने भन्छन्।
(सम्पादन: प्रदीप खतिवडा , भाषा: प्रद्युम्न खनाल )
यी पनि पढ्नुहोस्