नियम, मर्यादा, शिष्टाचार, अनुशासन, सभ्यता सबै थोकलाई ताकमा राखेर सवारी चलाउने विद्यमान परिपाटीमा सिंगो मुलुककै शासनपद्धति प्रतिविम्बित भए झैं लाग्छ।
वसन्त थापा
विदेशमा केही काल बिताएर नेपाल फर्किंदा कवि/नाटककार बालकृष्ण सम औधी आह्लादित भएको र हवाईजहाज बिस्तारै ओर्लन लाग्दा काठमाडौं उपत्यका, यहाँका डाँडाकाँडा र उत्तरतिरको हिमाल देखेर आफ्नो देशमा आइपुगें भन्ने भावनाले उनको मनमा खुशीको पारावार नभएको कुरा उनले एउटा संस्मरणमा लेखेका थिए। आफ्नो हर्षातिरेकको भावना उनले जसरी आलंकारिक शब्दहरूमा उनेर व्यक्त गर्न नसके पनि हामी जस्ता जनसाधारण जोकोहीलाई आफ्नो देश फर्कंदा दार्शनिक कवि समलाई जसरी नै सीमाहीन खुशीको अनुभूति हुन्छ। आफ्नै घर फर्कनुको बेग्लै आनन्द। बन्धुबान्धव तथा परिवारजनसित हुने पुनर्मिलनको खुशी नै अर्को।
अचेल जहाजबाट म काठमाडौं नामको यो खाल्डो र यसलाई वरिपरि घेरेर उभिएका पहाड अनि तिनमा टाँसिएका बस्तीहरू हेर्नलाई भने त्यति विघ्न व्यग्रता महसूस गर्दिनँ जति दुई-तीन दशकअघि गर्थें। झ्यालतर्फको सीट पनि माग्दिनँ, ओहोरदोहोर गर्ने बाटोछेउको सीट माग्छु। नरवानरहरूले चिथोरेर विद्रूप पारेको प्रकृतिको मुहार हेरेर मन पुलकित हुँदैन। अन्धा दौडमा लागेका तिनै नरवानरद्वारा सिर्जित कंक्रिट र इस्पातको जंगल देखेर बरु हृदय सन्त्रस्त हुन्छ। केही चुत्थाहरूले देशलाई चुत्था बनाइरहेछन्। थोत्रो पारिरहेछन्, जर्जर कंकालमा परिणत गरिरहेछन्। तर आखिर देश त आफ्नै हो।
कवि दार्शनिक समले त्यसै लेखेका होइनन्- ‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि’ भनेर। केही काल विदेशी भूमिमा बिताएर अरू नेपाली झैं म पनि अतिशय माया बोकी जब नेपाल फर्किन्छु तब मलाई लाग्छ म ‘टाइम मशिन’मा प्रवेश गरेको छु जसले मलाई एक शताब्दी अगाडिको समयमा पुर्याएको छ। उता भर्खरै मैले एक्काइसौं शताब्दीमा दौडिरहेको विश्वलाई छाडेर आएको छु। यता समय घस्रिरहेछ चिप्लेकीराको गतिमा।
हवाईजहाज जमीनमा ओर्लेर के रोकिन्छ स्वचालित द्वार भएको बसले ओसार्छ यात्रुहरूलाई टर्मिनल भवनमा। बस त सबै अन्तर्राष्ट्रिय विमानस्थलहरूमा यात्रु ओसार्न प्रयोग हुने अन्तर्राष्ट्रिय स्तर र ब्रान्डको नै छ, तर बसले तय गर्ने दूरी अति छोटो छ- मुश्किलले ३०० मिटर। परापूर्वकालको स्थितिमा बाँच्न अभ्यस्त नेपालीका लागि त यो कुनै नौलो कुरा होइन। तर शांग्रिलाको कथाबाट तानिएर आएका विदेशीले त पहिलो धक्का पाउँछ बसले तय गरेको दूरी र त्यसले पुर्याएको एराइभल टर्मिनल भवनबाट। विदेशका कुनै पनि एअरपोर्टबाट पहिलो पटक आउने आगन्तुकलाई लाग्छ- ऊ पाँचतारे होटलबाट एकाएक काठमाडौं सुन्धाराको कुनै लजको रिसेप्सनमा आइपुगेको छ।
एउटा सार्वभौम मुलुकको राजधानी हो भाइ! तर के गर्ने, चीन या भारतको प्रादेशिक एअरपोर्ट सामुन्ने यो खडा हुन सक्तैन। उनीहरूका अघिल्तिर फुच्चे लाग्छ अन्तर्राष्ट्रिय नामधारी हाम्रो एअरपोर्ट र साँच्चै छ पनि। टाढाको के कुरा गर्ने, चीनको कुन्मिङ र छङ्दु या भारतको ब्याङ्लोर एअरपोर्टको विशाल इमारतका अघिल्तिर यो ससानो छाप्रो प्रतीत हुन्छ। सुरुङ सदृश छ यसको प्रवेश कक्ष र होचो छतको अध्यागमन कक्ष।
यसो त राजा त्रिभुवनको नाउ बोकेको र उनी राजा छँदै चालू भएको राजधानीको यो विमानस्थल पहिले गौचर कहलिन्थ्यो। किनभने त्यो ठाउँ चरनभूमि थियो साँच्चिकै गाईहरू चर्ने। यतिका दशकमा यसले एकाधिक काया फेर्दै अहिलेको स्वरूप लिएको छ। यसलाई अन्तर्राष्ट्रिय भन्न थालिएको पनि दशकौं भयो। तर यसका यावत् अवयवहरू हेर्दा यसलाई राष्ट्रिय स्तरको भन्दा माथिल्लो तहमा राख्न सकिंदैन। यसको लघु आकारले नै यसलाई अन्तर्राष्ट्रिय हुनबाट रोक्छ।
कुनै वेला आफ्नै देशवासीहरू पनि लाखौंको संख्यामा विदेश ओहोरदोहोर गर्न सक्छन् भन्ने भविष्यमुखी चेत नभए पनि पर्यटनबाट आम्दानी गरेर धनधान्य हुने उम्मेद राख्ने मुलुकले समयमै यसको विस्तार र पुनर्निर्माण गर्नुपर्थ्यो, कम्तीमा पनि आजभन्दा ३० वर्षअघि। त्यो त हुन सकेन नै, अर्को २० वर्षमा पनि केही हुन सक्ने सम्भावना देखिंदैन। यस लघु आकारको साँघुरो र फुच्चे टर्मिनल भवनलाई ‘बुटिक’ भनेर लाज छोपिरहेका छन् सरकारी ओहोदावालहरूले। भनाइ छ- वचने का दरिद्रता? वचनमै किन कन्जुस्याइँ गर्ने?
यस्ता मामिलामा नेपाली पैदायसी खप्पीस छन्। काले नाउको व्यक्तिलाई कृष्ण भनेर फुर्क्याइदियो। तर त्यसो भन्दैमा त्यस व्यक्तिको त्वचाको रंग फेरिने होइन। त्यही हाल छ यस टर्मिनल भवनको। के हुँदा कुनै एअरपोर्ट बुटिक हुन्छ? साँघुरो हुँदा? गज्मौरो हुँदा? भीडभाड हुँदा? अस्तव्यस्त र भद्रगोल हुँदा?
यस कथित बुटिक एअरपोर्टको सुरुङनुमा आगमन कक्षको प्रवेशद्वारमै राखिएको छ बुद्ध प्रतिमा। त्यसको छेउ लेखिएको छ- ‘नेपाल भगवान् बुद्धको जन्मभूमि’। हिन्दू सम्राट् फर्काउने र पुनः हिन्दू राष्ट्र बनाउने तुमुल नारा सडकमा उठिरहेको पृष्ठभूमिमा यो उक्ति आफैंमा जोक जस्तो लाग्छ। लेख्नका लागि लेखिदियो, पुग्यो।
आगमन कक्षको प्रवेशद्वारमा राखिएको बुद्ध प्रतिमा। तस्वीर स्रोत : टीआईए
हेर्दा त पहाडका टाकुराहरूमा विशालकाय शिव प्रतिमाहरू ठडिएका र ठड्याइँदै गरेका देखिन्छन्। भगवान् बुद्धका लागि जुन श्रद्धा, भक्ति र समर्पण थाइल्यान्डमा छ, जुन भव्यताका साथ त्यहाँ बौद्ध मन्दिर, मठ तथा स्मारक निर्मित र संरक्षित छन् त्यो हेरी भगवान् बुद्धको जन्मभूमि भन्न सुहाउने गरी कुनै सचेत प्रयास केही छ गरिएको नेपालमा?
अध्यागमन काउन्टर छन् पासपोर्टमा ‘एराइभ्ड’ भनेर छाप लगाउने अधिकृतले भित्रपट्टि स्वीच थिचेपछि छेउको पस्न हुने ढोका खुल्ने गरी विदेशकै नकलमा बनाइएका। ती काउन्टरमाथि राखिने सूचनापाटीहरू वेलावेला फेरिइरहने गर्छन्, शायद हाकिम फेरिएपिच्छे। पहिले ‘फरेन सिटिजन’, ‘नेपाली सिटिजन’, ‘टुरिस्ट विथ भिसा’, ‘टुरिस्ट विदाउट भिसा’, ‘सार्क सिटिजन’ इत्यादि लेखिएका हुन्थे। सार्क भन्ने कुराको भविष्य त यो सुरु हुँदादेखि नै डार्क थियो। अहिले यो नाम केवल त्रिदेवी मार्गमा रहेको अफिस भवनको साइनबोर्डमा सीमित हुन पुगेको छ।
एक ताका ‘नेपाली एन्ड इन्डियन सिटिजन’ भनेर लेखिएको एउटै पाटी झुन्ड्याइएको थियो। पासपोर्ट वा भिसा नचाहिने भन्दैमा नेपाली र इन्डियन दुवैलाई एकै ठाउँमा गाभ्ने काम सद्दे दिमाग भएको मानिसले गर्न सक्ने काम होइन। तर त्यसरी लेखिएको पाटी त्यहाँ थियो र निकै समय रह्यो। अहिले भने ‘फरेन सिटिजन’ बाहेक ‘इन्डियन सिटिजन’ भनेर अलग्गै काउन्टर राखिएको छ। इन्डियासितको ‘विशेष सम्बन्ध’ लाई जताउन हो या इन्डियनहरू विशिष्ट कोटिका पाहुना हुन् भनेर देखाउन हो इन्डियनका लागि त्यो छुट्टै पाटी राख्नेहरूलाई नै थाहा हुने कुरा हो।
असलमा त्यति विधि टाउको दुखाइरहनुपर्ने कुरा होइन यो। एक ठाउँमा ‘नेपाली न्याशनल’ र अर्कातिर ‘नन-नेपाली न्याशनल’ दुई खालका नामपाटीबाटै सिद्धिने काम हो। नेपाल आउने गैरनेपालीहरूमा कसैले भिसा लिएर आएका हुन सक्छन्, कोही ‘अन अराइभल भिसा’ लिने हुन सक्छन्, इन्डियनहरू परिचयपत्रकै भरमा प्रवेश पाउन सक्छन् तर ती सबै हुन गैरनेपाली। त्यसैले ती सबै एउटै ‘नन-नेपाली न्याशनल’ कोटिमै पर्छन्। तर नेपाली सरकारी हाकिमहरूलाई ‘सिटिजन’ को ठाउँमा ‘न्याशनल’ शब्द पनि राख्न सकिन्छ र त्यो अझ बढी सटीक हो भन्ने कुराको हेक्का नरहेको देखिन्छ।
हाकिमी रोब देखाउन त नेपालका सरकारी कर्मचारीहरू यसै पनि दुई कदम अगाडि हुन्छन्। यसैले अनावश्यक सोधीखोजी गर्न पनि उनीहरू चुक्दैनन्। कुन देश पुगेर आएको भनी सोध्ने उनीहरूको सरोकारको विषय नै होइन, तर सोध्ने गर्छन्। जुन देशबाट आएको हो त्यसको अध्यागमनको छाप त पासपोर्टमै हुन्छ।
हुन त देश बाहिर जाने वेलामा पनि जाने मुलुकको वैध भिसा हुँदाहुँदै कहाँ जान लागेको मात्रै होइन किन जान लागेको भनी सोध्ने र जाने उद्देश्य पुष्टि गर्ने कागजात देखाइमाग्ने पनि गर्छन् अध्यागमनका कुनै कुनै कर्मचारीले। मानौं उनीहरू भिसा जारी गर्ने दूतावासका कर्मचारी हुन्। उनीहरूले त्यस्ता प्रश्न गर्ने र कागजात देखाइमाग्ने हर्कतको कुनै तुक छैन। केवल सोझा र सीधालाई हैरानी दिनु मात्र हो। खोज्नुपर्नेसित नखोज्ने र सोध्नुपर्नेलाई भने नसोध्ने उनीहरूको तालपछाडिको गुह्य त भर्खरै जगजाहेर भएको छ।
अध्यागमनबाट उम्केपछि आउँछ भन्सारको चक्कर। भनाइ नै छ- ‘भन्सार कि धन्सार’। धन्सार भएकैले होला बडो अनौठो चक्कर बुनिएको छ यस कथित ‘भन्सार घोषणा क्षेत्रमा’। हरेक यात्रुले कडा सुरक्षा जाँचबाट गुज्रनुपर्छ। हाते झोला र सामानलाई एक्सरे मशिनमा हाल्नुपर्छ। लगाएको घडी, कम्मरपेटी, टोपी, ज्याकेट र जुत्ताधरि खोल्नुपर्छ। साथमा भएको पर्स, सिक्का, मोबाइल फोन, धातुका सानोभन्दा सानो वस्तु ट्रेमा राखेर एक्सरे मशिनमा छिराउनुपर्छ। मानिस आफैं पनि इलेक्ट्रोनिक ढोकाबाट छिर्नुपर्छ।
ढोकाको छेउमै सशस्त्र प्रहरीको हतियारधारी प्रहरी खडा रहेको हुन्छ। सामान जाँच्ने एक्सरे मशिन र इलेक्ट्रोनिक ढोका अघिल्तिर यात्रुहरूको लामो कुँडुलो लाग्छ। झन् एकै चोटि दुई-तीन वटा फ्लाइट आएका वेला त समय पनि त्यत्तिकै खान्छ। यस्तो किसिमको सामान खोतलखातल र जीउ समेत खानतलासी गरिने कडिकडाउ जाँच अन्यत्र पनि हुन्छ, तर प्रस्थान कक्षमा हुन्छ जहाज चढ्नुभन्दा अघि। बन्दूकधारी प्रहरी तैनाथ गरेर भन्सार एरियामा यात्रुहरूको जाँचपडताल कतै गरिन्न।
नेपालीहरूलाई त पाइला पाइलामा यस्तो हैरानी बेहोर्ने बानी परिसकेको छ, विदेशीहरू भने उदेक मान्छन् यस्तो सास्ती भोग्नुपरेकामा। तर अठारौं शताब्दीको शांग्रिला खोज्दै आएका निरीह उनीहरू के नै पो गर्न सक्छन् र फुकालेको जुत्ता हातमा बोकेर इलेक्ट्रोनिक ढोकाबाट छिर्न बाहेक?
अपराधशास्त्रले हरेक व्यक्तिलाई सम्भावित अपराधीका रूपमा हेर्छ। न्यायशास्त्रले अपराधी प्रमाणित नभएसम्म हरेकलाई निर्दोष मान्छ। लाग्छ एअरपोर्टको भन्सार कार्यालयले अपराधशास्त्रको सिद्धान्तलाई अनुसरण गर्ने गरेको छ। भन्सार कार्यालयको दृष्टिमा स्वदेशी विदेशी हरेक यात्रु सम्भावित तस्कर हुन् सुनचाँदी र विदेशी मुद्रा अवैध तरीकाले भित्र्याउने। त्यसैले नेपाली र अंग्रेजी दुवै भाषामा बडे बडे अक्षरमा लेखिएका सूचना बोर्डहरू छन् जसमा कसैले सुनचाँदी, भन्सार महसूल लाग्ने कुनै वस्तु वा ठूलो परिणाममा विदेशी मुद्रा लिएर आएको छ भने त्यसको ‘घोषणा’ गर्न अनुरोध गरिएको छ। सूचनासँगै सुनको बिस्किट, चुरा, बाला, सिक्री आदिको तस्वीर पनि दिइएको छ। त्यतिले नपुगेर त्यही बेहोराको सूचना लाउडस्पीकरमा बारम्बार दोहोर्याउने गरिन्छ।
यस्तो लाग्छ ‘भन्सार घोषणा क्षेत्र’ भनिएको त्यो एरिया कुनै ‘कन्सन्ट्रेशन क्याम्प’ वा युद्धबन्दीहरू थुनिएका कुनै शिविर हो जहाँ यसरी नै लाउडस्पीकरद्वारा हिदायत, निर्देशन वा चेतावनी दिने गरिन्छ। बिछट्टै छ सुनको महिमा र आकर्षण नेपालमा। सुनको भूत नलागेको शायदै कोही होला। व्यापारी त यसै भइहाले, राष्ट्रसेवक, राष्ट्रनेताका सन्तति, राष्ट्रप्रहरी हर कोहीमाथि यसको भूत सवार छ। एअरपोर्ट भन्सारको आँखा पनि त्यसैमाथि थुरिएको छ। ड्रग्स, विस्फोटक पदार्थ, हातहतियार या आतंककारीलाई सहयोग पुग्ने कुनै वस्तु उसका आँखामा पर्दैन। पर्छ त केवल त्यही पहेंलो रंगको बहुमूल्य धातु।
थाहा छैन कुन राष्ट्रिय विभूतिको आइडिया हो सारा आगन्तुकलाई यसप्रकार सन्त्रस्त पार्ने यो तरीका। भन्सारको काइदा कानून, रूल-नियमबारे सभ्य तरीकाले पनि जनाउ दिन सकिन्छ। प्रथमतः जहाजमै प्रत्येक यात्रुको हातमा भन्सार महसूल लाग्ने/नलाग्ने वस्तुबारे जानकारी कुनै कागज छापेर दिन सकिन्छ। त्यस बाहेक अध्यागमन काउन्टरबाट पनि त्यस्तो कागज हात हातमा पार्न सकिन्छ। त्यसो भएमा यो असभ्य नौटंकी गरिराख्नुपर्ने थिएन। यो सबै नौटंकी गर्ने हो भने के अर्थ रह्यो ग्रीन र रेड च्यानल राखेको?
यसपछि जहाजबाट सामान आइपुग्नलाई लाग्ने समय र अन्योल बेग्लै छ। कति वेला कुन चक्करदार काउन्टरमा सामान आउँछ त्यसबारे जानकारी दिनलाई कुनै आधुनिक प्रविधिमा भन्दा गाउँघरमा अझै कायम रहेको कटुवाल कराउने प्रथामा भर परेको देखिन्छ। कुनै एअरलाइन स्टाफले वा कुनै परिचारकले कराएर फलाना काउन्टरमा जानोस् भन्छ र त्यहीं गएर सामान कुर्नुपर्ने हुन्छ। अनिश्चित समयको पर्खाइपछि जब सामान आइपुग्छ त्यसलाई राख्न कुनै सद्दे ट्रली फेला पर्दैन। चारै पांग्रा राम्ररी चल्ने ट्रली कमै पाइन्छन्। धेरैजसो खोरन्डो अवस्थाका हुन्छन्।
अनि कसले हो सामान अड्याउने स्टीलको पातोलाई मेलैसित हरेक ट्रलीबाट झिकेको? स्टीलको बलियो छेकबारको पातो नहुनाले ससाना सुटकेश ट्रलीबाट पछिल्तिर खस्न सक्छन् र खस्छन् पनि। स्टीलको पातो गुमाएका वा झिकिएका ट्रली नै बढी छन्। कुनैमा भने स्टील पाताको ठाउँमा सेतो रंग पोतेर प्लाइउड वा बाक्लो प्लास्टिकको पातो राखिएको छ। निश्चय पनि प्लाइउड या प्लास्टिक पाताको तुलनामा स्टीलको पातो मूल्यवान् हुन्छ। यो एक जनाले मात्र गर्न सक्ने काम त पक्कै होइन। संगठित गिरोह नै हुनुपर्छ स्टीलको पातो झिकेर ट्रलीलाई अंगभंग पार्ने। किन कसैको ध्यान जाँदैन यसप्रति?
अब निस्कनोस् कुनै सुरतले एराइभल टर्मिनल बाहिर निस्कने सुरुङबाट। बाहिर यात्रुको कदम के पर्यो ट्याक्सीवालाहरू यसरी झुम्मिन्छन् मानौं तपाईं शिकार हो र उनीहरू शिकारी कुकुर। किन पालैपालो लाइनमा आएर ट्याक्सीले यात्रुलाई लैजान सक्दैन जस्तो सभ्य देशमा हुन्छ?
भन्छन्- कुनै ठाउँको सडक ट्राफिक त्यस देशको व्यवस्थापकीय औकात देखाउने दर्पण हो। हाम्रो यहाँको त्यो दर्पण हेरेर यूरोप, अमेरिका वा विकसित देशबाट काठमाडौं पहिलो पटक आउने आगन्तुक अत्यासमा पर्छ। पहिलो त ट्राफिक सञ्चालनको कुनै नियम भए जस्तो उसले पाउँदैन, भए पनि कसैबाट त्यसको पालना भए जस्तो उसले देख्दैन। यस्तो अवस्थालाई जनाउन अंग्रेजीमा ‘फ्री फर अल’ भन्ने गरिन्छ। यस्तै अर्थ दिने अंग्रेजीमा अर्को पनि शब्द छ- ‘जंगल राज’। त्यसलाई नेपालीमा अर्थ्याउँदा ‘जसको शक्ति उसको भक्ति’ भन्न सकिन्छ।
नियम, मर्यादा, शिष्टाचार, अनुशासन, सभ्यता सबै थोकलाई ताकमा राखेर सवारी चलाउने यहाँ विद्यमान परिपाटीमा सिंगो मुलुककै शासनपद्धति प्रतिविम्बित भए झैं लाग्छ। कविवर माधव घिमिरेले ‘गाउँछ गीत नेपाली’ शीर्षक प्रसिद्ध कवितामा ‘सभ्यता वास बसेथ्यो आएर यहीं साँझमा’ भनेर लेखेका छन्। अहिलेको थिति र पद्धति हेर्दा लाग्छ, उनले भनेको त्यो सभ्यता वास बसेको बस्यै छ अझै निद्राबाट बिउँझेको छैन, निश्चेष्ट सुतिरहेछ।
मुलुकमा २० लाख पर्यटक भित्र्याउने डिङ हाकिन्छ। १५ लाख त यसै वर्ष भित्र्याइछाड्ने लक्ष्य रहेको फूर्ति गर्छन् सरकारी हाकिमहरू। अहिले ११ लाख चानचुन टुरिस्ट आउँदा नै यो बेहाल छ। सभ्यता सुतिरहेको यस ठाउँमा प्रथमतः नेपालले चाहे जसरी टुरिस्ट ओइरिन गाह्रै छ। नेपालीहरूको बढ्दो आवागमनलाई नै धान्न गाह्रो परिरहेको अहिलेको एअरपोर्टले कथम् १८-२० लाख टुरिस्ट आइहाले कसरी धान्ला? के हाम्रो यस बुटिक एअरपोर्टमा पैरो नजाला?