राजतन्त्र फर्किने सम्भावना नरहेको थाहा हुँदाहुँदै पनि केही ज्योतिषीले चर्चा बटुल्नकै लागि भविष्यवाणी गर्दै आएको देखिन्छ।
राजा फर्काउने अभियानमा लागेका संस्कृतिविद् जगमान गुरुङले गत वैशाख ६ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै जेठ १५ गते गणतन्त्रको अन्त्य भएर राजतन्त्र फर्किने भविष्यवाणी गरे। त्यसलाई बल दिंदै गुरुङले भने, “हाम्रो मान्यता अनुसार कुनै व्यक्तिको मृत्युलाई उनको जन्ममितिले परिभाषित गर्छ। ठीक त्यस्तै, गणतन्त्रको घोषणा जेठ १५ गते भएको हो। त्यसैले यसको अन्त्य पनि जेठ १५ गते हुनेछ।”
संस्कृतिविद् गुरुङ मात्र होइन, अरूले पनि राजतन्त्र फर्किने विषयमा थुप्रै भविष्यवाणी गरेका छन्। आफूलाई ज्योतिषी बताउने कतिपय व्यक्तिले ‘राजा फर्किन्छन्’, ‘हृदयेन्द्र श्रीपेच सहित फर्किन्छन्’, ‘ज्ञानेन्द्र शाह तेस्रो पटक राजा बन्छन्’ लगायत भविष्यवाणी गरे। सामाजिक सञ्चालमा यस्ता भविष्यवाणी भाइरल पनि बने।
राजतन्त्रबारे भविष्यवाणी गर्ने अर्का चर्चित ज्योतिषी थिए, पुष्कर खतिवडा। गत वर्ष उनले २०८१ सालमै राजतन्त्र फर्किने भविष्यवाणी गरेका थिए। “२०८१ साल नबित्दै राजा गद्दीमा नफर्किए म जन्मजात कैदी हुन तयार छु,” खतिवडाले भनेका थिए।
उनी त्यतिमै रोकिएनन्। खतिवडाले देशका बारेमा पनि भविष्यवाणी गरेका थिए। राजतन्त्र फर्किएपछि देश बलियो हुने जिकिर गर्दै उनले भनेका थिए, “नेपाल विश्वको सबैभन्दा शक्तिशाली देश बन्छ।”
अर्का ज्योतिषी ओजराज लोहनीले त २०७६ सालमै राजा फर्किने भविष्यवाणी गरेका थिए। फागुन ४ गतेसम्म राजा फर्किने भविष्यवाणी गर्दै लोहनीले भनेका थिए, “फागुन ५ गतेबाट देश साढेसाती मुक्त हुन्छ। अनि देशमा वास्तु मिलेको छैन। कात्तिक १२ गतेसम्म चुनौती छ, त्यसपछि सुख-शान्ति आउँछ।”
अर्का चर्चित ज्योतिषी अर्जुन क्षेत्रीले पनि २०८० सालमा राजा फर्किने भविष्यवाणी गरेका थिए। क्षेत्रीले गीतामा हात राख्दै भनेका थिए, “म गीता छोएर भन्छु– नेपालमा २०८० सालसम्म राजतन्त्र फर्केन भने म जीवनभरि ज्योतिषीको काम नै गर्दिनँ।”
२०७६ सालदेखि शुरू भएको ज्योतिषीहरूको ‘राजतन्त्र फर्किने’ भविष्यवाणी अझै रोकिएको छैन। पछिल्लो पटक यसमा संस्कृतिविद् जगमान गुरुङ थपिएका हुन। गत महीना हिमालखबरसँगको कुराकानीमा गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाह र राजावादी आन्दोलन गरिरहेका राजनीतिक दलकै कारण आफ्नो भविष्यवाणी नमिलेको आरोप लगाए। आफूले भने अनुसार पूर्व राजा शाह र राप्रपाले काम नगरेकाले राजतन्त्र फर्काउने उद्देश्य पूरा नभएको उनको भनाइ थियो।
“मैले जेठ ११ देखि श्री ५ एक्सनमा उत्रिनुपर्छ भनेको थिएँ, तर उतातिर चियाबारीमा गएर बसे। जेठ १३ गते जनतासँग आह्वान गर्नुपर्छ भनेको थिएँ, आह्वान पनि आउँदैन,” गुरुङले राजावादीको आन्दोलन उल्लेख गर्दै भने, “अनि प्रधानमन्त्री केपी शर्मा ओलीले जे जे भने, त्यही अनुसार गरे। बिजुलीबजारतिर, नारायणचौरतिर, सिफलतिर, रत्नपार्कतिर गएर राजा पाइन्छ?”
राजतन्त्र नफर्किने थाहा हुँदाहुँदै पछिल्लो समय ज्योतिषीहरू किन भविष्यवाणी गरिरहेका छन्? नमिल्ने भविष्यवाणी गरेर किन जोखिम मोलिरहेका छन्?
आमनागरिक, विशेष गरेर धार्मिक र परम्परागत मूल्यमा विश्वास राख्ने वर्गमा भविष्यवाणीले गहिरो असर पार्छ। पछिल्लो समय जनतामा देखिएको चरम निराशाका कारण राजतन्त्रको विषयले चर्चा पाउने गरेको छ। त्यसलाई राजावादी ज्योतिषीहरूले उपयोग गर्न खोजेको विश्लेषकहरूको मत छ।
अर्कातिर, सामाजिक सञ्जालमा चर्चा पाइने गरेको छ। यूट्यूबमा यस्तै भिडिओले धेरै ‘भ्युअर’ बटुल्ने गरेका छन्। त्यसैले पनि ज्योतिषीहरूले राजतन्त्रको विषयलाई लिएर भविष्यवाणी गर्ने गरेको विश्लेषकहरूको भनाइ छ।
राजनीतिक विश्लेषक कृष्ण पोखरेल राजनीतिक प्रणालीले आधारभूत अपेक्षा पनि पूरा गर्न नसक्दा जनताले वैकल्पिक बाटो खोज्न थालेको बताउँछन्। यस्तो वैकिल्पक बाटोमा कहिले धर्म त कहिले अतीतको स्मृति आउने पोखरेलको भनाइ छ। “राजा भनेको धर्म, अन्धविश्वाससँग जोडिएको हुन्छ। राजालाई विष्णुको अवतार मानिन्छ। राजतन्त्र अन्धविश्वासमा चल्छ,” पोखरेल भन्छन्, “राजसंस्थाप्रतिको ‘नोस्टाल्जिया’ र वर्तमानप्रतिको असन्तुष्टि जोडिंदा यस्तो विश्वासको ज्वार उठ्छ।”
अहिले भ्रष्टाचार, बेरोजगारी, महँगी र अस्थिरताबाट जनता थाकेको उनी जनाउँछन्। यस्तो अवस्थामा जनताले स्वत: विकल्प खोज्ने उनको भनाइ छ। “जब व्यवस्थाले समाधान दिन सक्दैन, तब ज्योतिषीका शब्द सत्य लाग्न थाल्छ जनतालाई,” पोखरेल भन्छन्।
मनोविद्हरू यसलाई धार्मिक आस्थासँग जोड्छन्। नेपालमा धार्मिक आस्था र भाग्यप्रतिको विश्वास गहिरो रहेकाले भविष्यवाणीले आकर्षित गर्ने गरेको मनोविज्ञ मिन्भा जोन्छेको ठम्याइ छ। “धार्मिक आस्था र भाग्यप्रतिको विश्वास गहिरो रहेको समाजमा भविष्यवाणीले मनोवैज्ञानिक राहत दिन्छ,” मनोविद् जोन्छे भन्छिन्, “खासगरी जब भविष्यमा केही राम्रो हुने भनिन्छ, मानिसले त्यो कुरामा सजिलै विश्वास गर्न सक्छ। यसले सबै समर्थकलाई खुसी पनि मिल्छ।” त्यसैले राजतन्त्रका विषयमा भविष्यवाणी गर्ने गरिएको उनको मत छ।
यस्ता भविष्यवाणी पहिले पनि सफल भएका थिएनन्। तैपनि यस्ता भनाइ लोकप्रिय हुने गरेकाले भविष्यवाणी गर्ने गरिएको उनको विचार छ।
गम्भीर राजनीतिक बहसभन्दा रोचक र भावनात्मक हुने भएकाले पनि यस्तो भविष्यवाणीमा मान्छे रमाउने गरेको विश्लेषक पोखरेलको भनाइ छ। “जब नेताहरूको लोकप्रियता घट्छ, तब उनीहरू परोक्ष वा अपरोक्ष रूपमा यस्ता भावनात्मक मुद्दालाई प्रयोग गर्छन्,” उनी भन्छन्।
नेपालको संविधानले धर्मनिरपेक्षता, गणतन्त्रात्मक शासन प्रणालीको व्यवस्था गरेको छ। राजसंस्था फर्काउन या त राजनीतिक उथलपुथल हुनुपर्छ या संविधान संशोधन। संविधान संशोधन गर्न पनि दुईतिहाइ बहुमत चाहिन्छ।
यो सबै थाहा हुँदाहुँदै राजावादीले भविष्यवाणीका रूपमा भावनात्मक मुद्दालाई प्रयोग गरिरहेको पोखरेलको बुझाइ छ। “संविधानको धारा परिवर्तन नगरी राजसंस्थाको पुनरागमन सम्भव छैन। त्यो प्रक्रिया लामो, जटिल र जोखिमपूर्ण हुन्छ,” उनी थप्छन्, “जो राजा फर्किन्छ भनेर भविष्यवाणी गरिरहेका छन्, उनीहरूको कमाइ खाने भाँडो बनेको मात्र हो।”
नेपाल ज्योतिष परिषद्का उपमहासचिव दीपक शर्मा दाहाल पनि केहीले चर्चा बटुल्न ‘राजतन्त्र फर्किन्छ’ भनेर भविष्यवाणी गरिरहेको बताउँछन्। उनी पनि संवैधानिक व्यवस्थाकै जिकिर गर्छन्। “राजतन्त्र फर्काउन संविधान संशोधन गर्नुपर्यो। त्यसका लागि दुईतिहाइ बहुमत ल्याउनुपर्यो। दुई-चार साना पार्टी लागेर तत्काल राजतन्त्र आउने सम्भावना कतै देखिंदैन,” दाहाल भन्छन्, “केहीले चर्चा बटुल्न मात्र मनगढन्ते कुरा बोलिरहेका छन्।”
यस विषयमा मात्र होइन, अन्य कुरामा पनि भविष्यवाणी गर्न कति सम्भव छ? परिषद्का उपमहासचिव दाहाल यो साह्रै गाह्रो कुरा रहेको बताउँछन्। “राजतन्त्र फर्किने भविष्यवाणी गर्ने भनेको दुई-तीन महीना तालीम प्राप्त गरेकाहरूले हो, जसले आफूलाई ज्योतिषी भन्छन्,” दाहाल थप्छन्, “साँच्चै ज्योतिष विद्या लिएकाहरू यसरी हावामा बोल्दैनन्। यसरी किटान गरेर बोल्न त गहिरो अध्ययन चाहिन्छ।”