विषालु च्याउबाट हुने मृत्यु रोक्ने बलियो उपाय वेलैमा तिनको पहिचान गरेर सचेतना फैलाउनु हो, तर हाम्रा सरकारी निकायमा च्याउविज्ञ एक जना पनि छैनन्।
कमल मादेन
नेपालमा विषालु च्याउ खाएर वार्षिक औसत २० जनाको ज्यान जाने गरेको तथ्यांक छ। यसरी मृत्यु हुनेमा च्याउका पुरानै पारखी पनि हुन्छन्। खानयोग्य च्याउमा विषालु मिसिएको भेउ नपाउनु र ‘पहिल्यैदेखि खाँदै आएको त हो नि’ भनेर सम्भावित जोखिमलाई कम आँक्नु परिवारकै लागि महँगो पर्दै आएको थुप्रै घटनाले देखाउँछन्।
विषालु पनि झट्ट हेर्दा खानयोग्य च्याउ जस्तै देखिन्छन्। अहिलेसम्म नेपालमा विषालु च्याउका १०० जति प्रजाति पहिचान गरिएका छन्। तीमध्ये ३० वटा अत्यन्त विषालु मानिन्छन् (नेपालका च्याउहरू , २०७४, पृ. ७३)। वैज्ञानिक नाम ‘एमानिता फलोइडिस’ रहेको च्याउका सबैभन्दा धेरै विषालु प्रजाति छन्। ‘डेथ क्याप’ पनि भनिने यी प्रजातिलाई सबैभन्दा प्राणघातक मानिन्छ।
विश्वमा विषालु च्याउका कारणले हुने मृत्युमध्ये ९० प्रतिशतको कारण यही प्रजाति हुने गरेको छ जुन दक्षिण तथा उत्तर अमेरिका, यूरोप, जापान र उत्तर तथा दक्षिणएशियामा पाइन्छ। एमाटक्सिन र फलोटक्सिन नामका घातक रसायन हुने यो च्याउको असर देखिन ६ देखि २४ घण्टासम्म लाग्छ। यसमा उल्टी हुने, पखाला लाग्ने, पेट र टाउको दुख्ने, हृदयको गति बढ्ने, बेहोश हुने जस्ता समस्या देखिन्छन्। वेलैमा उपचार नपाए कलेजो र मिर्गौलामा गम्भीर क्षति पुगेर तीनदेखि सात दिनभित्र मानिसको मृत्यु हुन सक्छ।
एमानिता फलोइडिसको पुच्छर सेतो र नली आकारको हुन्छ जुन हरियो-पहेंलो झिल्लीले ढाकिएको हुन्छ। माथिल्लो भागमा गाढा हरियो-जैतुन रङको अन्डाकार टोपी हुन्छ। टोपीको मुन्तिर रहेका पातला, पंक्तिबद्ध ब्लेड जस्ता सेता वा हल्का रंगीन संरचनालाई गिल्स भनिन्छ जसमा यसका बीउ हुन्छन्। गिल्समै अमानिटिन नामक विषाक्त पदार्थ पनि हुन्छ। डाँठको बीचमा सेतो घेरो अनि मुनिपट्टि थैलो जस्तो संरचना हुनु यसको विशेष चिनारी हो। एमानिता फलोइडिस बढीजसो पतकर भएको ठाउँमा उम्रन्छ। शरद् ऋतुमा र आर्द्रतापूर्ण वातावरणमा यो बढी फस्टाउँछ।
एमानिता काइसेरिया। तस्वीर स्रोत : विद्युतीय सञ्जाल
च्याउको एमानिता वंश अन्तर्गत विश्वभर ६००-७०० प्रजाति छन्। नेपालमा यसका ५६ प्रजाति रहेकामा २४ वटा जति विषालु पहिचान भएका छन् (मसरुम्स अफ नेपाल , २०२४, पृ. २९३–३१२)। तर तिनलाई चिन्न गाह्रो हुन्छ। जस्तो- एमानिता लंगिस्ट्रिएटा खान हुने च्याउ जस्तै देखिन्छ, तर विषालु हो। नेपालमा पाइने अर्को विषालु च्याउ एमानिता वेर्ना हो।
मसरुम्स अफ नेपाल मै उल्लेख भए अनुसार नेपालमा क्लोरोफाइलम च्याउ पनि पाइन्छ। यसका दुई प्रजाति क्लोरोफाइलम ह्य्राकोडिस र क्लोरोफाइलम मोलिब्डाइट्स छन्। ह्य्राकोडिस खान नहुने जनाइए पनि उक्त पुस्तकमा मोलिब्डाइट्सबारे केही उल्लेख छैन। यद्यपि विभिन्न अनुसन्धानात्मक लेख अनुसार मोलिब्डाइट्स पनि विषालु च्याउ हो र खानयोग्य जस्तै देखिने हुँदा धेरै जना झुक्किने गरेका छन्। सन् २०२२ मा प्रकाशित केस सेरिज अफ क्लोरोफाइलम मोलिब्डाइट्स इन्टक्सिकेशन इन सिसिली : एन ‘एलाइन’ मसरुम स्पेसिस इन यूरोप शीर्षक लेखले यो च्याउसँग झुक्किनेमा धेरैजसो इटालियनहरू रहेको औंल्याएको छ।
मसरुम्स अफ नेपाल मा लेपिओटाका ६ प्रजाति, गलेरिना प्युमिला, कर्टिनेरियसका सात प्रजाति, ओम्फालोटस ओलेरियस आदि च्याउ पनि सूचीकृत छन्। पुस्तकमा ती खान हुने/नहुने उल्लेख नगरिए पनि अन्य बाहिरी अनुसन्धानले यिनलाई विषालु नै भनी पहिचान गरेका छन्। गलेरिना प्युमिला नेपालमा ललितपुर, फूलचोकीबाट महेश अधिकारीले सन् २०११ मा संकलन गरेका थिए। कार्टिनेरियस जातका च्याउमा ओरेलानाइन नामक विष हुने विषालु ढुसीबारे लेखिएका लेखहरूमा जनाइएको छ।
सामान्यतः च्याउका कुल प्रजातिमध्ये औसतमा ३० प्रतिशत विषालु र १० प्रतिशत अति विषालु हुने मान्यता छ। नेपालमा च्याउका एक हजार १७३ प्रजाति सूचीकृत छन्। यस हिसाबले यहाँका ३५१ प्रजाति विषालु र ११७ प्रजाति निकै विषालु हुनुपर्छ। यद्यपि आधिकारिक तथ्यांकमा विषालुको संख्या १०० मात्र छ।
नेपालमा अध्ययन
नेपालमा च्याउको अध्ययन-अनुसन्धान १९औं शताब्दीको मध्यतिर शुरू भएको हो। जेडी हूकरले सन् १८४८ मा पूर्वी नेपालमा नमूना संकलन गरेका थिए। सन् १९४९ मा पश्चिम नेपालका नमूना पनि जुटाइए। नेपालको च्याउ अध्ययनमा सन् १९६० को दशकसम्म विदेशीको संलग्नता ज्यादा देखिएकामा फाट्टफुट्ट नेपाली वनस्पतिविद्को पनि ध्यान नगएको होइन। तिनको अध्ययन च्याउमै केन्द्रित भने थिएन। सन् १९६४ मा क्यालिफोर्निया बोटानिकल सोसाइटीमा प्रकाशित डीडी भट्टको लेख ‘प्लान्ट्स कलेक्शन इन नेपाल’ मा च्याउका बारेमा पनि उल्लेख थियो।
वनस्पति विभागमा कार्यरत महेशकुमार अधिकारीले भने सन् १९७६ मा च्याउमै पूरै केन्द्रित भई ‘च्याउ एक चर्चा’ लेख लेखेका थिए। तिनै अधिकारी र एमसी सिंको संयुक्त लेख सन् १९७७ मा जर्नल अफ न्याचुरल हिस्ट्री म्यूजियम मा ‘सम फ्लेसी फन्गाई फ्रम काठमाडौं, नेपाल’ शीर्षकमा प्रकाशित भयो। त्यसपछि पनि च्याउ सम्बन्धी लेखनलाई निरन्तरता दिएका अधिकारीले यसैलाई विषय बनाएर सन् १९९६ मा फ्रान्सबाट विद्यावारिधि नै गरे। उनको सोही विद्यावारिधिको शोधपत्र हो, मसरुम्स अफ नेपाल जुन सन् २००० मा पुस्तकाकारमा प्रकाशन भयो। त्यसयता सन् २०१४ र सन् २०२४ मा गरी यो तेस्रो संस्करणसम्म आइपुगेको छ।
ताप्लेजुङबाट संकलित चाम्रे च्याउ। तस्वीर स्रोत : कमल मादेन
तेस्रो संस्करणमा नेपालमा च्याउका १३४ परिवार, ४२९ जात अन्तर्गत एक हजार १७३ प्रजाति सूचीकृत छन्। दोस्रो संस्करणमा यो संख्या क्रमशः १०८, ३५७ र एक हजार २७१ थियो। अर्थात् १० वर्षको अन्तरालमा च्याउका प्रजाति ९८ वटाले घटेको पाइयो। जबकि यही अन्तरालमा यहाँ नयाँ परिवार र जातका अरू पनि च्याउ फेला परेका थिए। तीमध्ये तीन वटा त विश्वकै लागि समेत नौला थिए। खासमा यसरी संख्या घट्नुको कारण हो– पहिलेको तथ्यांकमा थप अध्ययन हुनु र आवश्यक संशोधन गरिनु।
संसारभरि जीवजन्तु वा वनस्पतिका वैज्ञानिक नाम सबै पहिलेकै कायम रहन्छन् भन्ने छैन। पहिले एउटा नाम दिइएको वनस्पति पछि अर्कै परिवारको रहेको अध्ययनले देखाउन सक्छ। हिजोआज डीएनएबाट पनि च्याउ पहिचान गरिन्छ। डीएनएबाट यति मिहिन तरीकाले निर्क्योल हुन्छ कि स्वरूप काटीकुटी मिलेका आधारमा एउटै प्रजातिमा राखिएकाहरू भिन्नाभिन्नै प्रजातिका हुन सक्छन्। अनि भिन्नाभिन्नै मानिंदै आएकाहरूको प्रजाति एकै ठहरिन पनि सक्छ। तब पहिले कायम रहेको संख्यामा घटबढ हुन सक्छ।
यसबाट नेपालको च्याउ अध्ययनमा पर्याप्त नभए पनि सजगतापूर्वक पुनरावलोकन भएको बुझिन्छ। सन् २०११ यता वनस्पति विभागले नेपालमा पाइने विभिन्न वनस्पति वर्गको तथ्यांक अद्यावधिक गर्दै आएको छ। च्याउको तथ्यांक अद्यावधिक चाहिं अधिकारीले नै व्यक्तिगत तवरमा गरिरहेका छन्।
उपभोग्य च्याउ
हिजोआज शहरतिर उत्पादन गरिने डल्ले च्याउ (बटन मसरुम) एगारिकस जात अन्तर्गत पर्ने एगारिकस बाइस्पोरस हो। यसलाई १७औं शताब्दीमा पेरिसमा घोडाको मल र पातको सडेको मिश्रणमा उमार्न थालिएको थियो। ‘पेरिस मसरुम’ पनि भनिने यही च्याउ १८औं शताब्दीको शुरूतिर इङ्ल्यान्ड र अमेरिका पनि पुग्यो। १९औं शताब्दीमा यसको बीउ तयार पार्ने प्रविधि विकास भयो। नेपालमा भने २०३५ सालतिर मात्र खेती हुन थालेको हो। विसं २०४० देखि २०५० को बीचमा पोखरा, चितवन, धरान, इलाम, काभ्रेपलान्चोक आदि ठाउँमा यसको विस्तार भयो। प्राकृतिक रूपमा पनि नेपालमा एगारिकसका एक दर्जन प्रजाति छन्। ती एकाध बाहेक सबै खान हुन्छ।
सबैभन्दा धेरै विषालु च्याउ हुने एमानिताका खान हुने प्रजाति पनि छन्। नेपालमा यसका १३ वटा प्रजाति खाने गरिन्छ। तर गहिरिएर हेर्दा पनि यसका सबै प्रजाति उस्तै देखिने भएकाले विषालु पर्ने जोखिम रहन्छ। यद्यपि उहिल्यैदेखि जंगली च्याउ खाँदै आएका स्थानविशेषका समुदायसँग तिनलाई पहिचान गर्ने पुर्खौंदेखिको ज्ञान हुन्छ। जस्तो- जंगलमा बस्ने चेपाङ समुदाय च्याउ खानमा पनि निपुण हुन्छ। तिनले खाने गरेकै आधारमा एउटा प्रजातिको नाम एमानिता चेपांगिएना राखिएको छ।
एमानिता चेपांगिएना प्रजातिको च्याउ। तस्वीर स्रोत : विद्युतीय सञ्जाल
यस्तै बर्खाको शुरूमा पलाउने, आलुका साना दाना जस्तो खैरो, कालो च्याउलाई पूर्वी नेपालतिर पड्के च्याउ भनिन्छ जुन स्क्लेरोडर्मा जातमा पर्छ। यो च्याउका नेपालमा १० प्रजाति सूचीकृत छन्। तीमध्ये तीन वटा खाने गरिन्छ। विशेषतः सखुवाको रूख वरिपरि पलाउने यो च्याउ खाँदा कुरुमकुरुम गर्छ। ललितपुर, फूलचोकीमा सन् २००० मा यसको नयाँ प्रजाति पत्ता लाग्यो जुन विश्वकै लागि पहिलो थियो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानबाट आनुवंशिक तहको अध्ययन गरिएकाले यसको नाम पनि स्क्लेरोडर्मा नास्टी राखिएको थियो। अर्थात् नास्टका पछाडि डबल आई जोडेर यस्तो नाम दिइएको थियो। तर अन्तर्राष्ट्रिय वनस्पति नामकरण संहिता अनुसार नाममा यसरी डबल आई थपिने पुरुष व्यक्तिको नामबाट प्रजातिको नामकरण गर्दा मात्र हो। संस्थाका हकमा यसो गर्न मिल्दैन।
फूलचोकीबाट संकलन गरिएका आधारमा वनस्पतिविद् अधिकारीले भने आफ्नो पुस्तकमा उक्त प्रजातिको नाम स्क्लेरोडर्मा फूलचोकिएन्सिस प्रस्ताव गरेका छन् (पृ. ३५०)। ठाउँको नामबाट राख्दा अन्तिम अक्षर आई र ए आदि भए त्यसमा ईएनएसआईएस थपेर वैज्ञानिक नाम बनाउने चलन छ। यस्ता जात र प्रजातिको नाम ल्याटिन भाषामा राख्ने गरिन्छ।
पूर्वी नेपालतिर, खासगरी चारकोसे जंगलमा धमिराको गुँडबाट पलाउने च्याउलाई देउले भनिन्छ जुन टर्मिटोमाइसिस जातमा पर्छ। नेपालमा यस परिवारका नौ प्रजाति पाइएका छन्। कुनै प्रजाति असारको पहिलो, दोस्रो साताबाट त कुनै भदौतिर पलाउँछन्। प्रायः यी सबै खाने गरिन्छ। यही च्याउ अन्यत्र पनि नपाइने होइन ।
गत असार ६ मा सुनसरीको रामधुनी-७ बाट राज मादेनले संकलन गरेको देउले च्याउ।
नेपालका वनमा पाइने अर्को स्वादिष्ट च्याउ चाम्रे हो। अरू जातसँग मिल्दोजुल्दो देखिने भए पनि चाम्रेको खास जात लेन्टिनस हो। छिप्पिएपछि चाम्रो हुने यो च्याउका नेपालमा ११ प्रजाति सूचीकृत छन्। अधिकारीको पुस्तकमा यसका तीन प्रजाति खानमा प्रयोग हुँदै आएको उल्लेख छ। तर यस पंक्तिकारको अनुभवमा यसका सात प्रजाति खाने गरिन्छन्।
हामीकहाँ पाइने अर्को च्याउ हो, ठूलो रातो च्याउ। यो पहाड र हिमाली क्षेत्रका रूखका ठुटामा पलाउँछ। लेइटिपोरस जातको यो च्याउका तीन प्रजाति नेपालमा उपलब्ध छन्। तीमध्ये खानामा उपयोग हुँदै आएको लेइटिपोरस सल्फुरियस औषधिजन्य गुणयुक्त मानिन्छ।
सोलुखुम्बुमा लेइटिपोरस सल्फुरियस प्रजातिको च्याउको तरकारी खान लागेका स्थानीय। तस्वीर स्रोत : कमल मादेन
मैले सन् २००६ मा संखुवासभामा ग्यानोडर्मा लुसिडमको आकर्षक नमूना भेटेको थिएँ जसलाई महेशकुमार अधिकारीबाट रुजु पनि गराएको थिएँ। यो औषधिजन्य च्याउ परम्परागत चिनियाँ र आयुर्वेदिक चिकित्सा प्रणालीमा हजारौं वर्षदेखि प्रयोग हुँदै आएको बताइन्छ। यसले रोगप्रतिरोधक क्षमता बढाउने, उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल नियन्त्रण गर्ने, क्यान्सरमा उपयोगी हुनेसम्मका कुरा लेखिएको भेटिन्छ। यही कारणले तुलनात्मक रूपमा महँगोमा बिक्री हुने यो च्याउको मूल्य सुक्खा मौसममा अझ आकाशिने गरेको छ। यसरी हेर्दा ग्यानोडर्मा लुसिडम निर्यात गर्न सक्ने हो भने आर्थिक रूपमा पनि निकै महत्त्वपूर्ण सावित हुन सक्छ। तर यस्ता थुप्रै च्याउ वनमा त्यसै खेर गइरहेछन्।
संखुवासभाबाट संकलन गरिएको ग्यानोडर्मा लुसिडम। तस्वीर स्रोत : कमल मादेन
नयाँ प्रजातिको खोज
काठमाडौं, कीर्तिपुरस्थित केन्द्रीय वनस्पति विभागका हरि अर्यालले सन् २०१६ मा पत्ता लगाएका टर्मिटोमाइसिस जातका दुई नयाँ प्रजाति विश्वकै लागि नयाँ खोज बने। अर्घाखाँची र पाल्पा जिल्लाबाट संकलन गरिएकाले अर्यालले तिनको नाम पनि टर्मिटोमाइसिस अर्घाखाँचेन्सिस र टर्मिटोमाइसिस पाल्पेन्सिस राखेका छन्। अधिकारीले चाहिं आफ्नो पुस्तकमा तिनको नाम थोरै फरक पार्दै अर्घाखाँचिएन्सिस र पाल्पाएन्सिस प्रस्ताव गरेका छन् (पृ. २२९ र २३३) जुन अन्तर्राष्ट्रिय वनस्पति नामकरण संहितासँग ठ्याक्कै मेल खान्छ। तर अर्यालले दिएका नाम करीब उस्तै रहेकाले यी दुई प्रजातिका हकमा थप प्रस्ताव नगरिएकै भए पनि खासै फरक पर्दैनथ्यो कि? बरु यसो गर्दा पहिल्यैदेखि प्रचलनमा रहेका अन्य नाम पनि प्रभावित हुन सक्छन्। जस्तो- नेपालको एक रैथाने सुनाखरीको नाम हाबेनेरिया पाल्पेन्सिस राखिएको छ।
वनस्पति वा जन्तुको नयाँ प्रजातिको खोज गर्न नमूना संकलनदेखि अध्ययन-अनुसन्धानसम्मको लामो प्रक्रियाबाट गुज्रिनुपर्छ। नयाँ प्रजाति पुष्टि भए त्यसलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहिले अन्तर्राष्ट्रिय वनस्पति नामकरण संहिताका प्रावधानभित्र पर्ने नाम दिई जर्नलमा प्रकाशन गर्नुपर्छ। फूल फुल्ने वनस्पतिको खोजमा खासै कडा प्रावधान नभए पनि च्याउको हकमा अलि जटिल नै छ। जर्नलमा विश्वकै निम्ति नयाँ भनेर प्रकाशित त हुन्छ, तर अन्तर्राष्ट्रिय मान्यता पाइदिंदैन। टर्मिटोमाइसिस पाल्पेन्सिस र टर्मिटोमाइसिस अर्घाखाँचेन्सिसलाई नै हेरौं। जर्नलमा प्रकाशन भएर नेपालमा सूचीकृत भएर पनि यी दुई प्रजाति अहिलेसम्म विश्व जैविक विविधता सूचना सञ्जालमा समेटिएका छैनन्। यहाँ प्रश्न उठ्छ, यी प्रजातिले प्राविधिक अन्तर्राष्ट्रिय संस्थाबाट मान्यता नपाउनु प्राविधिक समस्या मात्र हो कि यिनको पहिचानमै कमजोरी देखिएको हो? डीएनए तहको अध्ययन पो नपुगेको हो कि?
अन्तर्राष्ट्रिय मान्यता पाउन आईसीएन (इन्टरन्याशनल कोड अफ नोमेन्क्लेचर फर एल्गी, फन्गी, एन्ड प्लान्ट्स) अनुसार माइक्रोब्यांक वा इन्डेक्स फन्गोरम आईडी लिनुपर्छ। यी दुई प्रजातिबारे छापिएको जर्नलमा यिनको त्यस्तो कुनै आईडीको उल्लेख छैन। त्यसैले यिनले मान्यता नपाएका हुन्। यो कसरी पनि बुझिन्छ भने, नेपालमा यिनैको जस्तो प्रक्रियाबाट खोज गरिएको स्क्लेरोडर्मा नास्टी विश्व जैविक विविधता सूचना सञ्जालमा समेटिएको छ। जर्नलमा प्रकाशित लेखमा यसको माइक्रोब्यांक नम्बर ८३५२७७ छ।
च्याटजीपीटीबाट प्राप्त विवरण अनुसार पाल्पेन्सिस र अर्घाखाँचेन्सिसका हकमा जर्नलमा प्रकाशित लेखलाई आधार बनाएर माइक्रोब्यांक आईडी लिने सम्भावना अझै छ। अर्को विकल्प चाहिं पुनः नमूना जुटाएर आनुवंशिक अध्ययन सहितको नयाँ डेटा उच्चस्तरीय जर्नलमा प्रकाशन गर्ने हो। तर यस अवधिमा अरू कसैले ती प्रजातिबारे अध्ययन गरी फरक नाममा दर्ता गराइसकेको पनि हुन सक्छ। तब पहिल्यै गरिएको र पछि गरिने दुवै मिहिनेत खेर गइदिन्छ।
यसबीच नेपालमा केही दशकयता संकलित च्याउबारेका थुप्रै तथ्य जैविक विविधता र अन्य अन्तर्राष्ट्रिय डेटा प्रणालीमा पुगिसकेका भने छन्। यस काममा च्याउ तथा झ्याउ सम्बन्धी अध्येता शिव देवकोटाको विशेष योगदान छ।
अन्त्यमा, हामीकहाँ च्याउबारे पर्याप्त अध्ययन भएको छैन। च्याउ सरकारी तहबाटै बेवास्तामा छ। गोदावरीस्थित च्याउको हर्बेरियम अस्तव्यस्त छ। वनस्पतिविद् अधिकारीले छाडेपछि हर्बेरियम व्यवस्थित बनाउन छाडिएको अनुसन्धाताहरू बताउँछन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय वनस्पति विभाग र स्वयम्भूस्थित प्रकृति संग्रहालयमा पनि च्याउको नमूना व्यवस्थापन राम्रो छैन। पछिल्ला दिन च्याउ अध्ययनमा शोधपत्र तयार पार्ने विद्यार्थी निकै कम छन्।
यसको प्रत्यक्ष असर वनस्पति विभागमा पनि देखिन्छ। सरकारी निकायमा एकै जना च्याउविज्ञ छैनन्। हामीकहाँ पाइनेमध्ये कति च्याउ विषालु र कति चाहिं खानयोग्य हुन् भन्नेबारे पूर्ण खोज हुन अझै बाँकी छ। विषालु च्याउबाट हुने मृत्यु रोक्ने एक मात्र उपाय वेलैमा अध्ययन-अनुसन्धान गरेर तिनको पहिचान गर्नु हो। पहिचान भएपछि त तिनका बारेमा विद्यालय-विश्वविद्यालयका पाठ्यक्रममा समेटेर जनचेतना फैलाउन सकिन्छ।