रेलमा गोर्खा सैनिकसँग भएको भेटले बीएस्सीका विद्यार्थी चन्द्रभान पाण्डेयको जीवनको बाटो मात्र बदलिएन, केही दिनका लागि तराई छोडेर पहाड उक्लिएका उनी विज्ञान-गणित शिक्षक बनेर उतै रमाए।
महारानी लाल कुमारी (एमएलके) महाविद्यालयको बीएस्सीका विद्यार्थी चन्द्रभान पाण्डेय भारतको बलरामपुरबाट घर फर्किंदै थिए, कृष्णानगर। साथीहरूसँगै रेलमा चढ्ने बित्तिकै सुटुक्क भित्र छिरेका एक युवक पाकेटमार जस्तै लाग्यो। कपिलवस्तुको कृष्णानगरबाट पारि भारतको बढनी स्टेशन हुँदै दैनिक रेलमा आउजाउ गर्ने उनले पाकेटमार भनेर चिनिहाले।
चन्द्रभान र साथीहरूले नियालेको चाल पाएपछि त्यो पाकेटमार रेलमा सवार अधबैंसे दम्पतीको छेउमा बस्यो। उनीहरूले नजर त लगाइरहेकै थिए, तर पाकेटमारले एकैछिनमा खल्ती काटिहाल्यो।
चन्द्रभानका एक साथीले सानो लट्ठी पनि समातेका थिए। त्यो समूहमा पाँच-सात जना थिए। यात्रुको खल्ती काटेर उम्किन खोज्ने बित्तिकै चन्द्रभानले साथीको लट्ठी खोसेर पाकेटमारको हातमा हिर्काए। पैसा फ्याट्टै खस्यो। “यो चोर हो, तपाईंहरूको खल्ती काटेको छ यसले,” चन्द्रभान ती दम्पतीलाई भनेको सम्झिन्छन्, “दुवै जनाले मुखामुख गरेर हेरे। आफ्नो खल्ती छामछुम गरे, साँच्चिकै काटेको रहेछ भनेर छक्क परे।”
आफ्नो पाकेटबाट पैसा निकालेको थाहै नपाएका दम्पती पैसा फिर्ता पाएपछि खुशी भए। चन्द्रभानसँग चिनजान गरे। नेपालकै रहेछन्, क्याप्टेन जहरसिंह थापा र उनकी पत्नी।
भारतीय गोर्खा सेनाबाट अवकाश पाएपछि क्याप्टेन थापा घर फर्किंदै थिए। उनी सुर्खेतको वीरेन्द्रनगरस्थित जन माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पनि रहेछन्। हिंड्ने वेला क्याप्टेन थापाले ‘बीएस्सीको विद्यार्थी हुनुहुँदो रहेछ। हाम्रो विद्यालयमा आवश्यक पर्यो भने तपाईंलाई सम्झनेछु’ भन्दै चन्द्रभानको परिचय र ठेगाना डायरीमा टिपे।
रेलमा भएको क्याप्टेन थापासँगको त्यही भेट चन्द्रभानको जीवनको ‘टर्निङ पोइन्ट’ बन्यो। “केही समयपछि पढाइ सकेर घरमै बसिरहेकोे थिएँ, सुर्खेतबाट क्याप्टेनको चिठी आयो,” पुराना दिन सम्झिंदै चन्द्रभान भन्छन्, “चिठीमा सुर्खेत बोलाइएको थियो। तर म गइनँ। किनकि मलाई शिक्षक बन्न मन थिएन।”
तराईमा जन्मे-हुर्केका उनले पहाडमा उकालीओराली गर्ने त सोचेकै थिएनन्। झन् पहाडका दुःखका कुरा सुनेर दिक्क मानेका थिए। न सुर्खेत गए न त चिठीको जवाफ नै फर्काए। थप पढाइ गर्ने कि जागीर खोज्ने भन्ने सोचविचारमै थिए।
चिठी आएको केही दिनपछि एक अपरिचित मान्छे पहाडबाट आइपुगे, चन्द्रभानको घरमा। “क्याप्टेनले बोलाएर ल्याउनू भनेर पठाएका रहेछन्। विद्यालयमा पढाउन आउनू भनेर गाडीभाडा पनि पठाएका थिए,” उनी त्यो दिन सम्झिन्छन्, “पहाडतिर जानै मन थिएन। जान्नँ पनि भनेको थिएँ, तर घरका मान्छेले जिद्दी गरेर सुर्खेत पठाए।”
सुर्खेतमा औलो नियन्त्रण निरीक्षक भएर काम गरिसकेका जेठान इन्द्रगमन पाण्डेयले जोडबल गरे। त्यसमा आमाबुबाले पनि सही थापे।
यो २०४० माघको कुरा हो। अहिले पनि ६७ वर्षीय चन्द्रभान ‘सुर्खेत गएँ’ भन्दैनन्, ‘घरका मान्छेले पठाए’ नै भन्छन्। हुन पनि भर्खरै पढाइ सकेर आएको छोरालाई आमाबुबा धर्मपाल र सुदामती पाण्डेयले जागीरमा पठाएका थिए, पहाडतिर।
त्यति वेलाको जन माध्यमिक विद्यालय। तस्वीर स्रोत : गोविन्द कोइराला
आमाबुबाको कुरा मानेर केही समयका लागि कपिलवस्तुको हथियागढबाट सुर्खेतको वीरेन्द्रनगर पुगेका चन्द्रभान २०४० फागुन १ गते जन माविमा हाजिर भए। त्यसपछि त सुर्खेतमै रमाए। उनलाई शिक्षकको जागीर छोडेर घर फर्किन मनै लागेन। “पहाडमा शिक्षकलाई खूबै मान-सम्मान गरिंदो रहेछ। मलाई पनि विद्यार्थी र अभिभावकले मान-सम्मान गरे,” वीरेन्द्रनगर बसाइका दिन सम्झिंदै चन्द्रभान भन्छन्, “स्थानीय बासिन्दाको सद्भावले नै पहाडमा टिकाइराख्यो।”
कक्षाकोठामा भाषाको उल्झन
वीरेन्द्रनगरस्थित जन मावि त्यतिवेलै चर्चित थियो, राम्रो पनि। वीरेन्द्रनगर सानो बजार थियो। बजार नजीकै विद्यालय। निकै टाढाबाट विद्यार्थी पढ्न आउँथे।
चन्द्रभानले विज्ञान र गणित पढाउन त शुरू गरे, तर भाषा समस्या बन्यो। भारतमा लेखपढ गरेका उनी हिन्दी बोल्थे। “मलाई राम्ररी नेपाली आउँदैनथ्यो,” उनी शुरूआती दिन सम्झिन्छन्।
स्थानीय बासिन्दा हिन्दी बुझ्थे, राम्ररी बोल्थे। शिक्षक र विद्यार्थी पनि हिन्दी बुझ्थे। तैपनि कक्षाकोठामा नेपाली बोल्नुपर्थ्यो। “कुनै कुनै शब्द उच्चारण गर्दा कहिले अर्थको अनर्थ लाग्थ्यो। विद्यार्थीका साथै शिक्षकले निकै सहज रूपमा बताइदिन्थे,” उनी सुनाउँछन्।
विद्यार्थीको सदाचार र सम्मान गर्ने संस्कारले निकै मोहित पारेको सम्झिन्छन्। साथै, अभिभावकले पनि निकै आदर-सत्कार गर्थे। त्यसैले भाषाको समाधान गर्न अभिभावकसँग सम्पर्क बढाउँदै लगे। विद्यालयमा पनि शिक्षक र विद्यार्थीसँगै कुराकानी गर्न थालेको बताउँछन्। “शिक्षकहरूको सल्लाहमा नियमित गोरखापत्र पढ्न शुरू गरें। ऐतिहासिक उपन्यास पढ्न थालें। त्यसपछि भाषाको समस्या समाधान भयो,” उनी मुस्कुराउँदै भन्छन्, “पछि त विद्यार्थीलाई ट्यूसन पनि पढाउन शुरू गरें।”
शुरूआतमा पढाउन समस्या भएको थियो। किनकि उनले शिक्षण सम्बन्धी कुनै तालीम लिएका थिएनन्। पाठ्यसामग्रीको हिसाबले जानकारी त थियो, तर कसरी पढाउने भन्ने थाहा थिएन। पढाइमा बलियो भएकाले नै निर्धक्कसँग पढाउन थालेको र बिस्तारै आत्मविश्वास बढेको उनी सुनाउँछन्।
चार महीनापछि ‘प्राइमरी एजेकुशन प्रोजेक्ट’ शुरू भयो। यो कार्यक्रम सुर्खेत सहित ६ जिल्लामा सञ्चालन भएको थियो। यस कार्यक्रमले शिक्षकलाई तालीम दिन्थ्यो। विज्ञान विषयमा आधारभूत तालीमका लागि प्रधानाध्यापकले चन्द्रभानलाई नै पठाए। त्यो तालिम राखियो, जुम्लाको सिंजामा। “एकातिर तालीममा जान पाएकाले खुशी थिएँ, अर्कातिर हिमालतिर जानुपरेकाले चिन्ता थियो,” उनी सिंजा बसाइ सम्झिँदै भन्छन्, “करीब तीन महीनाको तालीम थियो, रमाइलै भयो।”
त्यसपछि त उनको पढाउने गति बढिहाल्यो। विद्यार्थी पनि उनलाई नै राम्रो मान्न थाले। विज्ञान र गणित पढाउने शिक्षकका रूपमा उनको चर्चा हुन थाल्यो। थप तालीमका अवसर पनि जुट्दै गए।
२०४८ सालमा हो, ‘साइन्स मास्टर ट्रेनर (एसएमटी)’ कार्यक्रम सकिंदै थियो। त्यो कार्यक्रमको अवधि सकिन लागेकाले मूल्यांकन गर्न संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को टोली आएको थियो। त्यसमा थिए, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रामशरण महत। चन्द्रभानले बाँसको हवाईजहाज बनाएका थिए। “जहाज हेरेर सबै खुशी भए,” उनी उत्साहित हुँदै भन्छन्।
शिक्षणका क्रममा पाएका प्रमाणपत्र पल्टाउँदै चन्द्रभान पाण्डेय।
जहाजसँगको त उनको अर्को सम्झना पनि छ। २०४५ सालमा राजा वीरेन्द्रको सुर्खेत सवारी भयो। त्यति वेला राष्ट्रिय विज्ञान शैक्षिक प्रदर्शनी आयोजना गरिएको थियो। त्यति खेर पनि उनले जहाज बनाएका थिए। “जहाज हेरेर राजा वीरेन्द्र निकै प्रभावित हुनुभयो। त्यो जहाज लिएर काठमाडौं फर्किनुभयो,” उनी सम्झिन्छन्, “त्यो प्रदर्शनीले त मलाई चर्चित बनायो।”
सुर्खेतका सास्ती
शिक्षक चन्द्रभानसँग पहाड यात्राको रमाइलो मात्र होइन, गाह्रोसाह्रोका पनि उत्तिकै सम्झना छन्। पहिलो त तलब पाउनै मुश्किल हुन्थ्यो। विद्यालय आर्थिक संकटमा थियो। “समयमा तलब आउँदैनथ्यो,” उनी भन्छन्, “विद्यालयले नगर विकास समितिबाट ऋण लिएर शिक्षक-कर्मचारीलाई तलब खुवाउँथ्यो।”
उनले राम्रो गर्दै र अवसर पाउँदै गएपछि सहकर्मीले पनि ईर्ष्या गर्न थाले। २०४६ सालको एउटा घटना अझै उनको मनमा गढेर बसेको छ। उनी एसएमटी तालीमका लागि काठमाडौं आए। विद्यालय व्यवस्थापन समितिले त पठाएको थिएन, केन्द्रबाटै बोलाइएको थियो। पछि सहकर्मी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी रिसाए।
त्यति वेलासम्म उनको परीक्षणकाल नै चलिरहेको थियो। विद्यालय व्यवस्थापन समितिको सिफारिश विना तालीममा गएको भन्दै हटाउने योजना बन्यो। उनलाई ‘अहिलेसम्मको कामका लागि धन्यवाद’ भन्दै चिठी पनि थमाइयो। उनी कर्णाली क्षेत्रमा मात्र होइन, काठमाडौंमा पनि परिचित भइसकेका थिए। केन्द्रबाटै नहटाउने निर्देशन गएपछि जागीर जोगिएको उनी सुनाउँछन्।
सुर्खेतमा उनले भोगेको समस्या हो, खानपिन। तराईको ब्राह्मण समुदायका चन्द्रभानको माछामासुमा रुचि थिएन। सुर्खेतमा माछामासु नै बढी पाइन्थ्यो। “उत्पादन कम हुने भएकाले सागसब्जी एकदम कम हुन्छ, माछामासुको परिकार नै बढी हुन्छ,” चन्द्रभान हाँस्दै भन्छन्, “सुर्खेतमा तरकारीमा केही नयाँ परिकार बनाउनु छ भने ‘बिहान आलु र प्याज खानु, साँझ प्याज र आलु खानु’ भनिन्थ्यो अर्थात् शब्दको हेरफेर मात्रै।”
उनले भोगेको अर्को कठिनाइ हो, सुर्खेत-कपिलवस्तु यात्रा। नेपालगन्जबाट सुर्खेत बस चल्थ्यो। तर यात्रा गर्न निकै कठिन हुन्थ्यो। वीरेन्द्रनगरदेखि नेपालगन्जसम्म करीब ११४ किलोमिटर रत्न राजमार्गमा यात्रा गर्दा पूरै दिन लाग्ने उनी सुनाउँछन्। “सुर्खेत- नेपालगन्ज बसभाडा ८५ रुपैयाँ थियो भने कम्तीमा आठ घण्टा लाग्थ्यो,” चन्द्रभान हवाई यात्रासँग दाँज्दै भन्छन्, “जहाजको ८० रुपैयाँ भाडा थियो, १५ मिनेटमै पुर्याउँथ्यो। तर टिकट काट्न निकै सकस हुन्थ्यो।”
आममानिसले प्रायः टिकटै पाउँदैनथे। सरकारी कर्मचारीलाई पनि साह्रै कठिन हुन्थ्यो। शिक्षकलाई भने सहज हुने गरेको उनी सुनाउँछन्। “जहाजका दुई सीट सरकारका हुन्थे। सीडीओ कार्यालयमा फोन गरेपछि शिक्षकको नाममा टिकट राखिदिन्थे,” उनी सम्झिन्छन्, “टिकटको पैसा आफैंले तिर्नुपर्ने भए पनि ठूलो सुविधा पाए जस्तो लाग्थ्यो।”
सुर्खेतमा हिन्दी बोल्नेहरू पनि थिए। कहिलेकाहीं उनीहरूसँगै हिन्दीमा कुराकानी, हँसीमजाक गर्थे। उपत्यका भएकाले उनीहरू सुर्खेतलाई सुटकेश भन्ने गर्थे। “सुर्खेत त सुटकेश हो, यहाँ आएपछि बन्द भए जस्तै हुन्छ,” चन्द्रभान हाँस्दै भन्छन्, “जतिसुकै अप्ठ्यारो भए पनि म सुटकेशमा बन्द भएँ।”
उहिलेका स्कूल, अहिलेका स्कूल
२०४६ सालको अन्त्यतिर उनी स्थायी शिक्षक भए। त्यसपछि विद्यार्थीलाई पढाउनेसँगै शिक्षकलाई पढाउने जिम्मेवारी पनि थपियो। विभिन्न तालीम लिएका उनलाई प्रशिक्षक बनाउन ‘साइन्स एजुकेशन डेभलपमेन्ट प्रोजेक्ट’ ले भूमिका खेल्यो। यस कार्यक्रममा विद्यालय व्यवस्थापन समितिले उनलाई सिफारिश गर्यो। यस अन्तर्गत उनले रुकुम, रोल्पा, डोल्पा, डडेल्धुरा र कञ्चनपुरमा काम गरे।
अहिले नमूना बनेको जन उच्च मावि। तस्वीर : जन नमुना माविको फेसबूक
त्यसपछि सुर्खेत, दैलेख र जाजरकोटमा ‘मोबाइल ट्रेनर’ भएर काम गरे। उनी शिक्षकलाई तालीम दिन जिल्ला जिल्ला पुग्न थाले। कर्णालीका सबै जिल्ला पुगेर प्रशिक्षण दिए। धेरैजसो स्कूलमा पुगे। कक्षाकोठामा विद्यार्थी र तालीम केन्द्रमा शिक्षकलाई पढाए।
शिक्षण पेशाबाट २०७१ सालमा अवकाश पाए। पश्चिमी पहाडका कुनाकाप्चा चहारेका उनी अवकाशपछिको समय कृष्णानगरमै बिताइरहेका छन्। हिजोआझ घरायसी कामकाजमा व्यस्त छन्, तरकारी र फूल रोप्छन्, गोडमेल गर्छन्। तीन दशक शिक्षण पेशामा बिताएका उनले आफ्नो घरलाई ‘शिक्षक सदन’ नाम दिएका छन्।
शिक्षक सदनमा शिक्षाका कुरा गर्दा भने उनी निराश देखिन्थे। अहिले शिक्षण प्रणाली नै बिग्रिसकेको उनको भनाइ थियो। तराई, पहाड र हिमालमा पठनपाठनको अनुभव भएका चन्द्रभान सरकारी विद्यालयको गुणस्तर खस्किएको बताउँछन्। “हाम्रो पालामा गुणस्तरीय शिक्षाका लागि प्रयत्न हुन्थ्यो। अहिले विद्यार्थीको संख्याको कुरा भइरहेको छ, पढाइको कुरै छैन,” उनी भन्छन्।
शिक्षाको गुणस्तर खस्किनुमा उनी सरकारी नीतिसँगै शिक्षकको पनि दोष देख्छन्। दैनिक शिक्षण योजना बनाएर कक्षामा प्रवेश गर्नुपर्ने शिक्षकले पूर्व तयारी नै नगर्ने गरेको उनी सुनाउँछन्। शिक्षक पनि सिर्जनात्मक हुनुपर्ने उनको भनाइ छ।
अभिभावकका पनि कमजोरी देखेका छन्। बालबालिकाको रुचि के छ, के पढाउँदा असल मान्छे बन्छ भन्नेभन्दा पनि के पढाउँदा धेरै पैसा कमाउन सक्छ भन्नेतिर अभिभावक ध्यान गइरहेको उनी सुनाउँछन्।
तराईदेखि हिमालसम्मका विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र व्यवस्थापन समिति पहिला जस्तो नरहेको उनको गुनासो छ। आजभोलि सबैभन्दा बढी विद्यालय व्यवस्थापन समितिका कारण पढाइमा समस्या भइरहेको उनी बताउँछन्। “नाम र जिम्मेवारीको हिसाबले विद्यालय बनाउन दिएको व्यवस्थापन समितिले नाम विपरीत काम गरिरहेको छ,” उनी भन्छन्।
पत्नी निर्मला पाण्डेयसँगै कपिलवस्तुस्थित घरमा चन्द्रभान पाण्डेय।
आमनागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सरकारी विद्यालय नै सुधार्नुपर्ने उनको मत छ। निजी क्षेत्रका विद्यालय जति राम्रा भए पनि देशको समग्र शैक्षिक स्तरमा सुधार्न पर्याप्त नहुने उनी सुनाउँछन्।
अहिले जस्तो विज्ञान र प्रविधिको विकास नभएको त्यस समयमा पनि शैक्षिक गुणस्तर राम्रो रहेको उनको भनाइ छ। अहिले पढाइ झन् राम्रो हुनुपर्नेमा खस्किँदै गएकामा चिन्ता जनाउँछन्।
शिक्षक सदनमा फुर्सदिलो भएर बसिरहँदा विद्यार्थी र विद्यालय देखेर बढ्ने चिन्तालाई भने विगतका सम्झनाले मत्थर पार्छन्। शिक्षक र प्रशिक्षक भएर पहाड र हिमालतिर चहार्दाका अनेकौं स्मृति ताजै लाग्छन्। सुर्खेत सम्झनामा आइरहने गरेको उनी सुनाउँछन्। “सुर्खेतको गुणे चामलको भात र काफल, दैलेखको सुन्तला र जुम्लाको स्याउ त बिर्सिनै सक्दिनँ,” चन्द्रभान भन्छन्, “१० रुपैयाँमा बोराभरि सुन्तला पाइन्थ्यो। घ्यू र मह निकै स्वादिला हुन्थे।”