सामाजिक सञ्जालबाट मन मिलेर विवाह गरेका सर्लाहीका रोहित गुप्ता र मोरङकी कञ्चन रौनियारको परिवार दाइजोको कारणले विखण्डन हुँदा मुद्दा मामिलामा अल्झिरहेको छ।
व्यवस्थापन संकायबाट कक्षा १२ पास गरेकी सुन्दरहरैंचा-१२, मोरङकी कञ्चन रौनियारको फेसबूकमा एकदिन फ्रेन्ड रिक्वेस्ट आयो। रिक्वेस्ट पठाउने व्यक्ति थिए, सर्लाही नयाँरोडका रोहित गुप्ता। कञ्चन र रोहित फेसबूकमा साथी बने। कुराकानी बाक्लिँदै गयो। दुवैले एकअर्कालाई मन पराउन थाले।
२०७८ सालको फागुनमा रोहितको परिवार कञ्चनको घरमा विवाहको प्रस्ताव लिएर पुग्यो। त्यति वेला उनी व्यवस्थापन संकायमा स्नातक दोस्रो वर्षमा अध्ययन गर्दै थिइन्। रोहित र उनको परिवार राम्रै लागेपछि कञ्चनको परिवारले पनि प्रस्ताव स्विकार्यो।
केटापक्षले त्यति वेलै टीकाटालो गरेर बेहुली लैजाने बरु बिहेभोज खुवाउने खर्च ब्यांक खातामा पठाइदिन प्रस्ताव गर्यो। तर कञ्चनको परिवारले मानेन। विवाह गरेरै छोरी पठाउने निधो भए बमोजिम २०७९ वैशाख १९ गते टीकाटालो र असार १० गते विवाहको साइत जुर्यो।
शुरूमा ‘केही चाहिंदैन’ भनिरहेकाहरूले तिथि पक्का भएपछि भने विवाह सुविधासम्पन्न होटलमा गर्नुपर्ने, खानाको परिकार र गरगहना आफूहरूको रोजाइ अनुसार हुनुपर्ने माग अघि सारे। केटापक्षले नाम तोकेरै सुन्दरहरैंचास्थित ‘नेपालिरिका होटेल’ मा विवाह गर्नुपर्ने माग राख्यो। तर कञ्चनको परिवारले त्यहाँ हुने खर्च बेहोर्न नसक्ने जनाएपछि केही कम खर्चिलो ‘पानस पार्टी प्यालेस’ मा बिहेभोज गर्ने सहमति भयो।
त्यसपछि केटापक्षको मागसूची बढ्दै जान थाल्यो। विवाह खर्च भन्दै ३१ लाख रुपैयाँ मागियो। “बुहारीलाई गहना, भोज, विवाह खर्चका लागि ३१ लाख चाहिं दिनुपर्छ। यो दाइजो होइन, विवाह खर्च मात्र हो भन्नुभयो,” कञ्चन सुनाउँछिन्, “पहिला केही नलिने भन्नुहुन्थ्यो, अहिले चाहिं दाइजो माग्नुहुन्छ भनेर मेरो बुबाले भनेपछि अलि अलि वादविवाद पनि भयो।”
कञ्चनको परिवारलाई केटापक्षको माग चित्त बुझेको थिएन। तर विवाहको तिथि तय भइसकेको र आफन्तलाई पनि जानकारी गराइसकेकाले विवाह रद्द गर्ने आँट गरेन। त्यसपछि दुवै पक्षबीच दाइजोको मोलमोलाइ शुरू भयो। केटापक्षले टीकाटालो अगावै बिहेखर्चका नाम १५ लाख रुपैयाँ दिनै पर्ने अडान राख्यो। सोही अनुसार केटीपक्षले १५ लाख रुपैयाँ नगद बुझाएपछि वैशाख १९ गते ‘पानस पार्टी प्यालेस’ मा टीकाटालो भयो।
असार १० मा धूमधामसँग विवाह भयो। केटापक्षको माग अनुसार केटालाई सुनका तीन वटा औंठी, ब्रास्लेट, सिक्री, कानमा हिराको मुन्द्री र कञ्चनलाई नेकलेस, रानीहार, तीन वटा औंठी दिइएको थियो। साथै, फ्रिज, टीभी, किङसाइज बेड, डाइनिङ टेबल, ड्रेसिङ टेबल, ग्लास टेबल, वाशिङ मशिन, हिटर, गिजर, माइक्रोवेभ, सोफा, ग्यास, क्लिनर, लत्ताकपडाहरू ट्रकमा लादेर मोरङबाट सर्लाही पठाइएको थियो।
खर्च धेरै भए पनि मन पराएको मान्छेसँग विवाह गर्न पाउँदा कञ्चन खुशी थिइन्। तर त्यो खुशी लामो समय टिकेन। विवाह भएको दुई महीना नबित्दै कञ्चनले ‘दाइजो कम ल्याएको’ भन्ने कचकच सुन्नुपर्यो।
दाइजोको निरन्तर दबाब
केटापक्षले छोराका निम्ति बुहारी नभई माइतीमा भएको सम्पत्तिमा आँखा लगाएको रहेछ भन्ने कञ्चनले दुई महीना नबित्दै पत्तो पाइसकेकी थिइन्। विवाह भएको दुई महीना नबित्दै सासूले घर पछाडि रहेको खाली जग्गामा नयाँ घर बनाउन माइतीबाट पैसा मागेर ल्याउन दबाब दिइन्।
कञ्चनले सुनेको नसुन्यै गरेपछि सासूले ‘रोहितका लागि ५० लाख दाइजो लिएर आउनेहरू थिए’ भन्दै कचकच गर्न थालिन्। यसरी दिनदिनै दाइजोको दबाब बढ्दै गयो। सासूससुराले छोरालाई ‘अर्को विवाह गरी दाइजो लिएर आइज’ भन्दै उक्साउन थालेपछि त्यही निहुँमा रोहितले कञ्चनलाई कुटपिट गर्न थाले।
दाइजोको कुराभन्दा पनि श्रीमान्को अर्को विवाहको कुराले कञ्चनलाई असह्य पीडा भयो। यतिन्जेल कञ्चनको विवाह दर्ता समेत गरिएको थिएन। हरेक दिनजसो परिवारमा यस्ता कुरा चलेपछि कञ्चनले आफ्ना पीडा माइतीलाई पोखिन्।
त्यसपछि बुबाआमा छोरीको घर सर्लाही आइपुगे। आफूले सके जति दाइजो दिइसकेको, बाँकी दिनसक्ने पैसा नभएको भन्दै दम्पतीले छोरीमाथि हिंसा नगर्न अनुरोध गरेर फर्किए। तर रोहितको परिवारले गर्दै आएको घरेलु हिंसामा कुनै कमी आएन।
२०७९ सालको तिहारमा कञ्चनको मोबाइल समेत नियन्त्रणमा लिइदिएपछि उनको माइतीसँगको सम्पर्क टुट्न गयो। छोरीसँग सम्पर्क नभएपछि छठ सकिने बित्तिकै कञ्चनका बुबा आत्तिंदै सर्लाही पुगे। छोरीको दयनीय अवस्था देखेपछि सँगै लिएर फर्कन खोजे। तर सासूससुरा र श्रीमान्ले ‘छोरी लैजाने भए मंगलसूत्र घरमै छाड्नुपर्ने’ भनेपछि कञ्चनका बाउछोरी मंगलसूत्र छाडी त्यहाँबाट निस्किए। कञ्चन सुनाउँछिन्, “बुबाले उनीहरूको शर्त मानेर मलाई लिएर हिंड्नुभयो। मैले लगाएको मंगलसूत्र फुकालेर सासूको हातमा राखी रातको १ बजे मोरङका निम्ति गाडी चढ्यौं।”
माइतीमा आए पनि रोहित र सासूससुराले फोनमा झैझगडा गर्ने गरेको उनी सुनाउँछिन्। त्यसपछि उनी बुबाआमालाई लिई सर्लाही पुगिन्। त्यसपछि पनि परिवारले दिने यातना कम भएन।
दाइजोकै कारण यातना बढ्दै गएपछि कञ्चन माइती नेपालको सर्लाही शाखामा पुगिन्। परिवारले दाइजो माग्दै आफूलाई दुःख दिएको भन्दै रौनियार समाज र स्थानीय बुद्धिजीवीसँग न्यायको याचना गरिन्। कञ्चन भन्छिन्, “गण्यमान्यले बिहान र बेलुका सासूको जीउ थिचिदिनू, जे भए पनि सहेर बस्नू भन्नुभयो। त्यसपछि मेरा बुबाले तिमी यहाँ सुरक्षित छैनौ, हिंड भनेर मलाई लिएर फर्कनुभयो।”
अस्ट्रेलिया योजना
विवाह भएको पहिलो साल कञ्चन ‘साउने पानी’ छल्न माइती गएकी थिइन्। त्यही वेला रोहितले उनलाई अंग्रेजी परीक्षाको तयारी गराउन ‘ग्रो मोर कन्सल्टेन्सी’ मा भर्ना गरिदिएका थिए। घरबाट निकालिएपछि उनले माइतीमै रहेर तयारी गरिरहेकी थिइन्। तीन महीनाको तयारीपछि माघ ६ गते परीक्षाको दिन आयो। यस अवधिमा दाइजोको कुरा उठाउन छाडिएको थियो।
परीक्षामा कञ्चन पास भइन्। पास भएको थाहा पाउने बित्तिकै रोहितले ‘केटिएम कन्सल्टिङ ग्रूप’ बाट अस्ट्रेलियाका निम्ति प्रक्रिया अघि बढाइदिए। कञ्चनले विवाह दर्ता गरेर दुवै जनाको ‘ट्राई’ गरौं भन्दा रोहित तयार देखिएनन्। सासूससुरा पनि विवाह दर्ता गर्न आलटाल गरिरहेका थिए। कञ्चन भन्छिन्, “त्यतिन्जेल हाम्रो विवाह दर्ता गरिएको थिएन। उहाँले मेरो भिसा लागिसकेपछि मात्र विवाह दर्ता गरेर आफ्नो पनि अप्लाई गर्ने कुरा गर्नुभयो।”
त्यसपछि विदेश जान माइतीमा पैसा माग् भन्दै परिवारले दबाब दिन थालेको उनी सुनाउँछिन्। कञ्चनको माइतीलाई फोन गरेर पैसा नदिए छोरीले दु:ख पाउँछे भन्दै धम्की दिन थालियो। त्यसपछि कञ्चनका मामाले पाँच लाख र फुपाजूले पाँच लाख रुपैयाँको चेक दिए। कञ्चनका बुबाले तीन किस्ता गरी ज्वाइँलाई ६ लाख नगद बुझाए।
पहिला ससुराली नगई इटहरीमा बसी कञ्चनलाई अंग्रेजी परीक्षा दिन लगाएका रोहितले कञ्चन विदेश जाने भएपछि एक महीना ससुराली बसेर सबै कागजात मिलाउन थाले। सबै कागजात मिलाएर दुवै जना काठमाडौं हिंडे।
२०८० वैशाख १९ गते कन्सल्टेन्सीले कञ्चनले पढ्न चाहेको कलेजले उनको ‘प्रोसेस’ अस्वीकार गरेको मेसेज पठायो। मेसेज देख्ने बित्तिकै रोहितले थप्पड हानेको कञ्चनको भनाइ छ।
त्यसपछि रोहित एक्लै सर्लाही फर्किए। कञ्चन पनि सँगै फर्किन खोज्दा रोहितले मानेनन्। उनी सम्झिन्छिन्, “जबसम्म भिसा लाग्दैन, तबसम्म घर नफर्किनू भनेर उहाँ एक्लै घर फर्किनुभयो।”
रोहितकी सानिमाका छोराले कञ्चनलाई फेरि अर्को विश्वविद्यालयमा प्रक्रिया मिलाउन सहयोग गरे। कञ्चन ‘चार्ल्स डार्बिन विश्वविद्यालय’ मा आवेदन दिई सर्लाही फर्किइन्। तर उनको घरफिर्तीबाट कोही खुशी थिएनन्। रोहित कञ्चनलाई घरीघरी भन्थे, “एक पटक रिजेक्ट भइसक्यो, फेरि पनि रिजेक्ट हुन्छ होला। यहाँ किन आएको?”
चरित्रहत्या
कञ्चनको अस्ट्रेलिया ‘प्रोसेस’ असफल भएपछि रोहितको परिवारले पन्छाउन खोजेको उनको आरोप छ। कञ्चनलाई जानकारी नदिईकन अंशबन्डा गरिसकेको थियो। यो कुरा थाहा पाएपछि कञ्चन कानूनको सहारा लिन इलाका प्रहरी कार्यालय, हरिवन पुगिन्। उनको विवाह दर्ता नभएकाले न्यायिक समितिमा निवेदन दिन सल्लाह दिइयो।
उनी त्यहाँ पुगेपछि भने परिवारले अर्को लाञ्छना लगायो। चरित्रहत्या हुने गरी अनेकथरी आरोप लगाइयो। न्यायिक समितिले यस्तो आरोपलाई महत्त्व दिएन र ‘कुनै किसिमको शारीरिक हिंसा नगर्न र बिरामी पर्दा उपचार गराउन’ आदेश दिई मिलापत्रको कागजात बनायो।
मिलापत्रमा हरिवन नगरपालिका-११ का वडाध्यक्ष र रोहितको परिवारले हस्ताक्षर गर्नै बाँकी थियो। त्यही वेला वडाध्यक्ष सेख मेबुले कञ्चनलाई ‘केही काम छ’ भन्दै केही पर रहेको क्लिनिकमा पुर्याए। त्यहाँ उनको गर्भ परीक्षण गर्न ‘प्रेग्नेन्सी किट’ थमाइयो। उनले दुई दिनदेखि मासिकश्राव भएकाले परीक्षण गर्न इन्कार गरिन्। तर उनको कुरा पत्याइएन।
त्यहाँबाट फर्किएर उनले न्यायिक समितिका मान्छेलाई वडाध्यक्ष र रोहितको परिवारले जबर्जस्ती गरेको कुरा सुनाइन्। त्यस्तो गलत हर्कतप्रति सबैले विरोध जनाए। त्यसपछि मिलापत्र नै हुनसकेन।
दुई दिनपछि रोहित र उनको परिवारसँग मिलापत्र गर्ने भन्दै उपमेयरले कञ्चनको ज्यानको सुरक्षाका लागि माइतीमै जान सल्लाह दिइन्। दुई दिनपछि फर्कंदा घरमा तालाचाबी लगाइएको थियो। रोहितको परिवार कोही थिएन।
न्यायिक समितिले यो विषय मिलाउन नसक्ने भन्दै कञ्चनलाई अदालत जान सल्लाह दियो। त्यति वेला पनि अदालतले सम्बन्धविच्छेद गरिदिने हो कि भन्ने डरले उनी अदालती प्रक्रियामा नलागेर माइत फर्किइन्। उता रोहित भने सम्बन्धविच्छेदका लागि अदालत पुगिसकेका थिए।
त्यसपछि कञ्चन पनि अदालतको ढोका ढकढक्याउन पुगिन्। उनले जिल्ला अदालत, सर्लाहीमा घरेलु हिंसाको मुद्दा हालिन् र घरमा बस्न पाउनुपर्ने माग गरिन्। अदालतले घरमै बस्ने पाउने आदेश दियो। कञ्चन त्यो आदेश बोकी दुई जना प्रहरीको साथ लागी घर गइन्। तर सासूससुराले ‘अंशबन्डा भइसकेको र छोरा आफूहरूसँग नरहेको’ कारण देखाई कञ्चनलाई घरमा नराख्ने अडान लिए।
कञ्चन फेरि माइत फर्किइन्। २०८० को छठपछि कञ्चन फेरि इलाका प्रहरी कार्यालय, हरिवन पुगिन्। प्रहरीले बैठक राखेर ‘घरमा बस्ने वातावरण मिलाइदिन’ भन्दै कञ्चनलाई घर पठाइदियो। घर पुग्दा रोहितको परिवार थिएन। उनी फेरि प्रहरीकहाँ पुग्दा ‘१५ दिनपछि आउनू’ भनी पठाइयो। यसरी पटक पटक म्याद दिंदादिंदै तीन महीना बित्यो। तर कञ्चन घरमा बस्न पाइनन्।
जिल्ला अदालतको आदेश विरुद्ध रोहितको परिवार उच्च अदालत गयो। २०८० चैतमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिँदै जिल्ला अदालतको आदेशमा रोक लगायो। त्यसपछि कञ्चनसँग माइत बस्नुको विकल्प थिएन।
मुद्दैमुद्दा
त्यसपछि कञ्चनले अंश र माना चामलको मुद्दा हालिन्। उताबाट अंशबन्डा गरिसकेको भन्ने प्रत्युत्तर आयो। त्यस विरुद्ध उनले अंश बदर र मिलापत्र बदरका साथै जालसाजीको मुद्दा पनि हालिन्। उच्च अदालतले पनि अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएन। उनलाई घर जाने बाटो पनि खुल्यो।
तैपनि उनी एक्लै घर जान सकिनन्। घरमा बस्ने व्यवस्था मिलाइदिन प्रहरीलाई आग्रह गरिन्, प्रहरीले उनलाई सहयोग गरेन।
कञ्चन २०८१ असार १९ गते एक्लै घर गइन्। घर पुग्नासाथ सासूससुरा र नन्दहरू मिलेर कुटपिट गर्न थाले। उनलाई कुटपिट गरेको थाहा पाएर छिमेकीले प्रहरी बोलाइदिए। कञ्चन सुनाउँछिन्, “बुहारीलाई मिलापत्र गरेर राख्ने कि दाइजोको कसूरमा कारबाही चलाऊँ भनेर प्रहरीले चेतावनी दिएपछि खान, लाउन, बस्न दिने र बिरामी हुँदा उपचार गरिदिने शर्तमा मिलापत्र गरियो। तर मिलापत्र गरेर घर पुग्ने बित्तिकै फेरि दाइजोकै निहुँमा कुटपिट गर्न थाले।”
त्यसपछि कञ्चनले दाइजो उत्पीडनको मुद्दा हालिन्। प्रहरीले दाइजोको कसूरमा कञ्चनका ससुरालाई पक्राउ गर्यो। सासू र श्रीमान् फरार भए। ससुरा पक्राउ परेपछि रोहितका आफन्तको धम्की शुरू भयो।
उताबाट कञ्चनमाथि साइबर क्राइमको मुद्दा हालियो। कञ्चन भन्छिन्, “मैले नन्दले बोलेको फोनको धम्की फेसबूकमा पोस्ट गरेकी थिएँ। उनले मलाई आफ्नो दाइले घरमा राख्नुपरे झुन्ड्याएर मारिदिने भन्दै फोनमा धम्क्याएकी थिइन्। कतै मलाई मारिदिए आत्महत्याको घटना नबनाइयोस् भनेर आफ्नो सुरक्षाका लागि मैले पोस्ट गरेकी थिएँ।”
उनीहरूबीच आरोपप्रत्यारोपको सिलसिला भने रोकिएन। रोहितले कञ्चन सुतेको फोटो सामाजिक सञ्जालमा ‘रक्सी खाएर ढलेको’ भन्दै पोस्ट गरे। त्यस विरुद्ध कञ्चनले जिल्ला अदालत, मोरङमा साइबर क्राइमको मुद्दा हालिन्। प्रहरीले पक्राउ गरेर केही दिन हिरासतमा राखेपछि रोहित गल्ती स्वीकार गरेर एक लाख रुपैयाँ धरौटीमा रिहा भए।
रिहा भएको केही दिनपछि एकाएक एउटा कागज निस्कियो, कञ्चनको विवाह दर्ताको। काभ्रे नमोबुद्ध नगरपालिका-४ मा विवाह दर्ता गरिएको सो कागजले रोहितसँग विवाह गर्नुअघि नै काभ्रेका सबिन श्रेष्ठसँग कञ्चनको विवाह भइसकेको भन्ने देखाउथ्यो।
खासमा कञ्चनलाई कानूनी झमेलामा फसाउन त्यस्तो फर्जी कागज बनाइएको रहेछ। झूटो विवाह दर्ता गराएर आफ्नो चरित्रहत्या गरेको भन्दै कञ्चनले रोहित र उनका आफन्त सन्तोष गुप्ता विरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता गराइन्। अदालतले सम्बन्धित वडामा बुझ्न लगाउँदा त्यहाँ सबिन श्रेष्ठ र कञ्चन रौनियारको विवाह सम्बन्धी रेकर्ड नभेटिएपछि अदालतबाट रोहितलाई पक्राउ पुर्जी जारी भएको छ। तर, रोहित पक्राउ परेका छैनन्।
कञ्चन आफ्ना आमाबुबाका साथ लिई सर्लाहीको घरमा बसिरहेकी छन्। रोहितको परिवार भने बाहिर बसिरहेको छ।
ससुरा सत्येन्द्र गुप्ता भने कञ्चनले झूटो आरोप लगाएर फसाएको बताउँछन्। उनी दाइजो नलिएको दाबी गर्छन्। बरु ऋण गरेर बुहारीलाई नौ तोला सुनको गहना बनाइदिएको उनको भनाइ छ। “हामीलाई झूटा आरोप लगाएको हो, कुनै पनि तिलक (दाइजो) लिएका छैनौं। उसको परिवारले पलङ, दराज, कुर्सीहरू दिएको थियो, त्यो त्यहीं घरमै छ। अस्ट्रेलिया जाने भनेर कञ्चनका मामा र फुपाजूले चेकबाट दिएको पाँच-पाँच लाख कञ्चनकी आमाको खातामा फिर्ता गरिदिएको हुँ,” सत्येन्द्र भन्छन्।
कञ्चनको चरित्र ठीक नभएकाले दाम्पत्य जीवन बिग्रिएको सत्येन्द्रको आरोप छ। “विवाह दर्ता पनि आफूहरूले पहिले नै गरिदिनेभन्दा कञ्चनका दाइले पहिला मेरी बहिनी अस्ट्रेलिया पुगोस्, अनि त्यसपछि गरौंला भनेकाले नगरिएको हो,” उनी भन्छन्।
यसबारे बुझ्न रोहितसँग पटकपटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन। उनका बुवाले सत्येन्द्रले पनि रोहितसँग सम्पर्क गराउन नसकिने प्रतिक्रिया दिए।