भिसा प्रतिबन्धले नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा आवेदन दिन पुनर्विचार गर्न बाध्य बनाएको छ भने उनीहरू अन्य देशतर्फ मोडिंदै छन्।
अमेरिकी शिक्षा प्राप्त गर्ने सपना देखिरहेका हजारौं नेपाली विद्यार्थी ट्रम्प प्रशासनले लगाएको भिसा प्रतिबन्धले आफ्नो भविष्य अनिश्चित बनेसँगै अन्य मुलुकको विकल्प खोज्न बाध्य छन्।
नेपाली विद्यार्थीको उच्च शिक्षाका लागि अमेरिका लामो समयदेखि प्रमुख गन्तव्य मानिंदै आएको थियो। अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने मुलुकको सूचीमा नेपाल दसौं स्थानमा थियो। तथापि हाल सो संख्यामा उल्लेखनीय गिरावट आएको छ। हाल अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको कुल संख्या १६ हजार ४८२ छ। गत वर्ष अमेरिकामा अध्ययनका लागि करीब आठ हजार नेपाली विद्यार्थीले शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्शन सर्टिफिकेट’ (एनओसी) प्राप्त गरेका थिए।
भारत, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया, बेलायत र जापान पनि नेपाली विद्यार्थीका लागि लोकप्रिय गन्तव्यमध्ये पर्छन्। अध्ययनका लागि भारत जाने नेपालीको स्पष्ट तथ्यांक नभए पनि यस वर्ष दुई नेपाली महिला विद्यार्थीको मृत्युको घटनासँगै त्यहाँ जाने विद्यार्थीको संख्यामा पनि सामान्य गिरावट आएको छ।
अमेरिकी विदेश विभागले आफ्ना दूतावासलाई अर्को सूचना प्रकाशन नहुन्जेल नयाँ भिसा आवेदकलाई भिसा जारी नगर्न परिपत्र गरेको छ। उक्त निर्देशनमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मन्त्रालयले आवेदकका सामाजिक सञ्जालका गतिविधिको जाँच प्रक्रिया विस्तार गरिने उल्लेख गरेका छन्।
भिजिट भिसाका लागि आवेदन दिने सहित अन्य नयाँ आवेदकलाई रोक लगाइएको भए पनि यसअघि नै अन्तर्वार्ताको मिति तय भएका विद्यार्थीलाई भने प्रक्रिया अगाडि बढाउने अनुमति दिइएको छ।
“हाम्रा धेरै विद्यार्थी नयाँ प्रतिबन्धबाट प्रभावित छन्, तर पहिले नै विद्यार्थी भिसाका लागि आवेदन दिएकाहरूले भने अन्तर्वार्ताको मिति पाएका छन्,” काठमाडौंमा कार्यरत एक कलेज परामर्शदाताले हामीलाई बताए।
यसैबीच, यसअघि नै अमेरिका पुगिसकेका एवं कुनै गल्ती नगरेका विदेशी विद्यार्थी पनि नयाँ नीतिको कडा निगरानीको चपेटामा परेका छन्। असुरक्षाको भावना बढ्दै जाँदा अधिकांश अमेरिकी कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्थानीय यात्रा गर्दा समेत पासपोर्ट तथा अन्य आवश्यक कागजात साथमा राख्न सल्लाह दिएका छन्।
“हामीलाई पुनः यहाँ फर्किन दिइन्छ वा दिइँदैन भन्ने निश्चित नभएकाले म र मेरा साथीहरू यसपालिको गर्मी बिदामा घर गएनौं, त्यसैले हामी नियाग्रा फल्स मात्र गयौं,” ओहायोमा रहेकी एक नेपाली स्नातक विद्यार्थीले भनिन्। यस रिपोर्टका निम्ति अन्तर्वार्ता लिइएका अधिकांश विद्यार्थीले जस्तै उनले पनि सम्भावित परिणामको डरले नाम खुलाउन चाहिनन्।
नेपाली विद्यार्थीले सतर्कता अपनाएका छन्। धेरैजसो विद्यार्थीले भिसा रद्द हुने तथा यात्रा प्रतिबन्धको डरले गर्मी बिदामा घर नफर्किने निर्णय गरेका छन्। यसैबीच, अस्थायी संरक्षित स्थिति (टीपीएस) पाएका सात हजारभन्दा बढी नेपाली ५ अगस्टसम्म या त नेपाल फर्कनुपर्नेछ या त निष्कासनको सामना गर्नुपर्नेछ। गत हप्ता ओम्नी एअरबाट ३७ जनालाई काठमाडौं फर्काइएको थियो।
“उच्च शिक्षाका लागि अमेरिका सबैभन्दा बढी खोजिने गन्तव्यमध्ये एक हो, तर यो प्रतिबन्धले निश्चित रूपमा उज्ज्वल विद्यार्थीलाई असर गर्नेछ,” काठमाडौंस्थित किङ्स कलेजका नरोत्तम अर्याल भन्छन्।
खासगरी, २०२५ को शैक्षिक सत्रका लागि आईभी लिग कलेज (अमेरिकाको उत्तर-पूर्वी क्षेत्रमा रहेका आठ निजी र प्रतिष्ठित कलेज)मा भर्ना भएका नेपाली स्नातक विद्यार्थीलाई विकल्प खोज्न भनिएको छ। यस्तै, यस वर्षको विद्यार्थी छनोट प्रक्रियामा ट्रम्प प्रशासनको हस्तक्षेपको कारण देखाउँदै सम्पूर्ण फुलब्राइट विदेशी छात्रवृत्ति बोर्डले बुधबार राजीनामा दिएको छ। फुलब्राइट छात्रवृत्तिमा रहेका केही नेपाली विद्यार्थीले छात्रवृत्ति वितरणमा अवरोध, ढिलाइ र छात्रवृत्ति रद्द समेत भएको जनाएका छन्।
शुरूमा हार्वर्ड विश्वविद्यालयमा भर्ना भएका विदेशी विद्यार्थीका लागि मात्र विद्यार्थी भिसा प्रतिबन्ध रहेको थियो। तर पछि सबै चिनियाँ विद्यार्थी तथा हाल आएर सबै विद्यार्थीका लागि यो नीति विस्तार गरिएको छ। कोलम्बिया विश्वविद्यालय जस्ता विदेशी विद्यार्थीको सक्रिय भर्ना गर्ने विश्वविद्यालयले भर्नादरमा तीव्र गिरावटको सामना गरिरहेका छन्। यसले उनीहरूको वित्तीय स्थिरता र विविधतालाई खतरामा पारेको छ।
कोलम्बिया विश्वविद्यालयकी भारतीय महिला पीएचडी विद्यार्थीको भिसा अमेरिकी विदेश मन्त्रालयले रद्द गरिदिएको थियो। गाजामा इजरायली सैन्य आक्रमणबारे सामाजिक सञ्जालमा गरेका पोस्टका आधारमा आफूलाई लक्षित गरिएको उनले बताइन्।
सामाजिक सञ्जालमा हुने राजनीतिक सक्रियताको परीक्षणले गोपनीयता र अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा गम्भीर चिन्ता बढाएको छ, खासगरी जुन देशमा यस्ता अधिकारहरू स्वाभाविक मानिन्थे।
धेरै विद्यार्थीलाई तीव्र गतिमा गाडी चलाएको कारणले वा पार्किङ टिकट (सवारीसाधनको गैरकानूनी पार्किङ गरे बापत लाग्ने दण्ड) पाएको कारण उनीहरूको भिसा रद्द गरिएको भनी इमेल मार्फत सूचित गरिएको छ। तर आपराधिक रेकर्ड नभएका अन्य विद्यार्थी पनि यसबाट प्रभावित छन्। नेपाली सहित अन्तर्राष्ट्रिय विद्यार्थीमा निष्कासनको ठूलो भय व्याप्त छ।
शिक्षाका लागि अमेरिका जाने अधिकांश नेपालीका लागि यो यात्रा उच्च जोखिमको लगानी हो। उनीहरू प्रायः मध्यमवर्गीय परिवारबाट आउने गर्छन् भने शुल्क तिर्नका लागि छात्रवृत्ति, काम गर्दै अध्ययन गर्ने कार्यक्रम, ऋण वा कतिपय अवस्थामा पारिवारिक सम्पत्ति बेच्ने जस्ता कुरामा निर्भर हुन्छन्।
अधिकांश नेपाली विद्यार्थी विज्ञान, प्रविधि, इन्जिनीयरिङ तथा गणित जस्ता विषय अध्ययन गर्छन्। यसले उपलब्ध गराउने विस्तारित वैकल्पिक व्यावहारिक प्रशिक्षण अवधिले उनीहरूको शिक्षालाई आवश्यक पर्ने आर्थिक खर्च जोहो गर्न सहयोग पुर्याउँछ। तर अमेरिका शिक्षा एवं मानवीय मामिलामा पछि हट्ने प्रवृत्ति देखा परेसँगै विद्यार्थी भिसामा हाल लगाइएका कडा नियन्त्रणका बावजूद बेलायत र क्यानडा जस्ता देश पनि थप आकर्षक बन्दै गएका छन्।
सन् २०२४ मा बेलायती विश्वविद्यालयमा नेपाली विद्यार्थीको भर्नामा ६३ प्रतिशतको वृद्धि देखिएको छ। अर्को लोकप्रिय गन्तव्य बन्दै गरेको जापानमा सन् २०२४ सम्म ६४ हजार ८१६ नेपाली विद्यार्थी भर्ना भएका छन्।
अमेरिकी विद्यार्थी भिसामा गरिएको बढ्दो कडाइबाट चीन, हङकङ र मलेशिया यसअघि नै लाभ उठाउने अवस्थामा छन्। हङकङका कैयौं विश्वविद्यालयले प्रभावित विद्यार्थीलाई विना शर्त भर्ना गर्ने प्रस्ताव गरिरहेका छन्। यस्तै, मलेशियाली संस्थाहरू पहिले अमेरिका जाने योजना बनाएका एशियाली विद्यार्थीहरूलाई लक्षित गरिरहेका छन्। अमेरिकामा चीन र भारतका क्रमशः तीन लाख ३० हजार र दुई लाख ८० हजार विद्यार्थी छन्, तर चिनियाँ विद्यार्थीको संख्यामा गत वर्ष तीव्र गिरावट आएको छ।
यस बाहेक अबुधावीस्थित न्यूयोर्क विश्वविद्यालय, दुबईस्थित जर्जटाउन र दोहास्थित नर्थवेस्टर्न जस्ता अमेरिकी विश्वविद्यालयका शाखा क्याम्पसका भर्ना आवेदनमा वृद्धि भएको छ। खाडी क्षेत्रका विश्वविद्यालयले अमेरिका जान खोज्ने विद्यार्थीलाई समायोजन गर्न तीव्रतर पूर्वाधार विस्तार गरिरहेका छन्।
नेपालका शैक्षिक संस्था पनि अमेरिकी भिसा प्रतिबन्धलाई कम्तीमा नेपाली स्नातक विद्यार्थीलाई नेपालमै राख्ने अवसरका रूपमा हेरिरहेका छन् भने यस क्षेत्रका विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्न सकिने आशामा छन्।
“धेरै विद्यार्थी आफ्नो स्नातक डिग्री नेपालमै पूरा गरेर पछि स्नातकोत्तरका लागि विदेश जाने विकल्प रोज्न सक्छन्,” किङ्स कलेजका अर्याल भन्छन्, “नेपालमा नवप्रवर्तन र अवसरका हिसाबले पनि गुणस्तरीय उच्च शिक्षाको आवश्यकता त थियो नै, त्यसैले यो अन्य देशमाथिको हाम्रो परनिर्भरता घटाउने उपयुक्त समय पनि हुन सक्छ।”
भारत र चीनबीचको नेपालको रणनीतिक अवस्थितिले गर्दा अमेरिकी नीतिमा भएको परिवर्तनले नेपाललाई संवेदनशील बनाउँछ। अमेरिकाको एक प्रमुख सहयोगी भारत पनि सम्भावित विद्यार्थी यात्रा प्रतिबन्धको अमेरिकी निगरानीमा छ। अन्तर्राष्ट्रिय विद्यार्थी भर्नाबाट पछि हट्ने अमेरिकी प्रवृत्तिको फाइदा उठाउन चिनियाँ विश्वविद्यालयले नेपाली प्रतिभालाई थप छात्रवृत्ति प्रस्ताव गरिरहेका छन्।
उता, अमेरिकी विश्वविद्यालयहरूले विद्यार्थी भिसा प्रतिबन्धलाई अदालतमा चुनौती दिएका छन्। बोस्टनको एक संघीय अदालतले हार्वर्डमाथि लगाइएको पूर्ण प्रतिबन्ध रद्द गरेको छ भने विदेश मन्त्रालयले विद्यार्थी तथा एक्सचेन्ज भिजिटर भिसाको प्रक्रिया पुनः शुरू गर्न आदेश दिएको छ।
राष्ट्रपति ट्रम्प आफ्ना कतिपय कठोर कार्यकारी आदेशबाट पछि हटे जस्तै विद्यार्थी भिसा प्रतिबन्धबाट पनि पछि हट्ने आशा कतिपयले अझै गरिरहेका छन्।
तर भिसा प्रणालीको उतारचढाव र अमेरिकाको शिक्षा प्रणाली तथा बसोबासको दीर्घकालीन अनिश्चितताले गर्दा संसारभरका विद्यार्थीले वैकल्पिक योजना बनाउन थालेका छन्।
अर्याल भन्छन्, “विदेशी मुलुकको नीति उनीहरूको आवश्यकता अनुसार परिवर्तन हुने भएकाले अत्यधिक निर्भरता कहिल्यै उचित थिएन। हामीले विद्यार्थीलाई नेपालभित्रै राख्नका लागि उच्च शिक्षाका विभिन्न अवसर एवं विकल्प सिर्जना गर्न काम गर्नुपर्छ।”
(नेपाली टाइम्सबाट सन्दीप थापाले गरेको अनुवाद। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)