एक किशोरीको मनोदशा देखाएको उपन्यासले समग्रमा पारिवारिक, सामाजिक, सांस्कृतिकसँगै जातीय र लैंगिक जटिलताको कथा बोलेको छ।
सुम्निमा भन्ने बित्तिकै नेपाली साहित्यिक वृत्तमा बीपी कोइराला लिखित उपन्यास सुम्निमाकी शीर्ष पात्रको छाप गहिरो गरी बसेको छ। तर म लेख्दै छु अर्की एक सुम्निमाबारे। उनी हुन्, श्रद्धा घलेको उपन्यास द वेवर्ड डटर : अ काठमान्डु स्टोरीकी प्रमुख पात्र।
अंग्रेजी पढ्ने नेपाली पाठकका लागि श्रद्धाको नाम अपरिचित होइन।पत्रपत्रिकामा उनका फुटकर लेखन छरिएका छन्। सन् २०१८ मा प्रकाशित द वेवर्ड डटर उनको पहिलो आख्यान हो। जुन भारतीय प्रकाशनगृह स्पीकिङ टाइगर बूक्सबाट छापिएको हो।
२०५० र ६० को दशकको नेपाली समाज चित्रण गरिएको यस उपन्यासमा एक किशोरीको कथा छ। नेपाली साहित्यको नेपाली र अंग्रेजी दुवै लेखनमा किशोरकिशोरीका विषय विरलै भेटिन्छन्। अझ उनीहरूलाई प्रमुख पात्र बनाइएको र उनीहरूका समस्याबारे कुरा गरिएको कथानक न्यून भेटिन्छ। तर श्रद्धाले त्यही खाली ठाउँमा एउटा इँटा थप्नेगरी किशोरावस्था र त्यस उमेरमा आउने चुनौतीलाई आख्यानको धागोमा बुनेकी छन्।
किताबले किशोर मनस्थितिका उल्झन मात्र देखाउँदैन, आन्तरिक बसाइँसराइले किशोरकिशोरीमा ल्याउने सामाजिक, सांस्कृतिक र भावनात्मक समस्या पनि बताउँछ। उपन्यासले निम्न-मध्यमवर्गीय जीवन, सामाजिक दबाब, महिलाको स्वतन्त्रता, परिवारको अपेक्षा जस्ता संवेदनशील विषय उठाएको छ।
उपन्यासको प्रमुख पात्र सुम्निमा हुन्। लिम्बू किशोरी जीवनको त्यो मोडमा छिन्, जोसँग आफ्नैखाले समस्या र संघर्ष छन्। पूर्वी पहाडको निम्न-मध्यमवर्गीय परिवारका उनका बुबाआमा संघर्षमा हेलिंदै काठमाडौं आइपुगेका छन्। कठिन जीवनभोगाइबाट आएका उनीहरूका लागि छोरीको जीवन आफ्नो भन्दा सहज लाग्नु स्वाभाविकै हो। तर तुलनामा सहज लागे पनि छोरीको जीवनमा पनि चुनौतीको पहाड छ।
एक गाउँले किशोरी शहर आएर नाम चलेको निजी विद्यालयमा भर्ना हुन्छिन्। तर त्यहाँ घुलमिल हुन उनलाई गाह्रो पर्छ। काँचो उमेर र किशोरावस्थाको जटिलताले उनको मनोदशा अर्कै हुन्छ। गाउँ छाडेर शहर आएकी उनी न गाउँकी रहन्छिन् न पूरै शहरियामा ढल्न सक्छिन्। न परिवारसँग नजीक हुन्छिन्, न आफ्नो समाजसँग। न पुर्खाको रीतिरिवाजलाई राम्रो नजरले हेर्न सक्छिन्, न साथीभाइमाझ आफ्नो अस्तित्व अनुभूत गर्न। प्रेम, पढाइ, आर्थिक र सामाजिक हैसियतबीच उनी आफूलाई कतै भेट्दिनन्। आफ्नै खोजीमा दौडिरहन्छिन्।
सुम्निमाको मनोसामाजिक यात्रा
किशोरवय जीवनको त्यस्तो संवेदनशील मोड हो, जुन वेला व्यक्तिले आफूलाई आफ्नो नजरले हेर्दैन, अरू (समाज)को नजरबाट हेर्न थाल्छ। जर्मन–अमेरिकी बाल मनोविश्लेषक इरिक एच इरिक्सन (सन् १९०२–१९९४)ले ‘एट एजेज् अफ म्यान’ निबन्धमा लेखेका छन्, ‘मानव जीवनका आठ चरणमध्ये किशोरावस्था त्यस्तो चरण हो, जुन समयमा मानिसले आफूलाई समाजसँग जोडेर हेर्न थाल्छ। आफू को हुँ भन्ने प्रश्नको उत्तर उसले समाजसँग जोडिएर मात्र प्राप्त गर्छ। त्यसैले समाजमा आफूलाई नभेट्नेका लागि किशोरावस्था जटिल समय हो।’
श्रद्धाको उपन्यासकी पात्र सुम्निमा पनि आफ्नो समुदाय र परिवारमा आफूलाई पाउँदिनन्। उनलाई आफ्नो सामाजिक र सांस्कृतिक पहिचान आफ्नो लाग्दैन। त्यो अन्तर्घुलनको कमीका कारण उनलाई आफैंप्रतिको दृष्टिकोण पनि नकारात्मक बन्न जान्छ।
त्योसँगै उनलाई आफ्नो सामाजिक र आर्थिक हैसियत तथा ग्रामीण पृष्ठभूमिले अझ जटिलता थप्छ। न गाउँलाई बोकेर हिंडेको घर आफ्नो लाग्छ न त शहर र उच्च वर्गलाई बोकेको विद्यालय आफ्नो लाग्छ। साथीभाइको माझमा आफू उनीहरू जस्तो नभएको बोधले पिरोल्छ, घरमा बहिनी जस्तो पढाइमा अब्बल नहुनुले। त्यही कारण उनी आफ्ना समस्या न परिवारलाई सहजै भन्न सक्छिन् न साथीभाइलाई।

उपन्यास पढ्दा एउटा पात्रको भोगाइ देखिन्छ। तर समग्रमा यसले जातीयता, लैंगिकता र वर्गका कारण एक किशोरीले भोग्नुपरेको मनोसामाजिक जटिलताबारे बोलेको छ।
किशोरकिशोरीले आफूलाई बुझ्न र आफूबारे धारणा बनाउनमा जातीयता र लैंगिकताले ठूलो अर्थ राख्छ। सुम्निमाको सन्दर्भमा त्यही भएको देखिन्छ। बहुसंख्यक साथीहरूभन्दा आफ्नो पहिचान फरक हुँदा उनलाई म को हुँ भन्ने प्रश्नले सताउँछ। त्यस्तै, आमाबुबाले ‘तिमी छोरी हौ, छोराभन्दा कम हौ’ नभने पनि परिवारका अन्य सदस्यहरूले त्यस्तो अनुभूति गराउँछन्। उनलाई म त कहींको पनि होइन, केही पनि होइन भन्ने महसूस गराइदिन्छ।
साथीसँगको सम्बन्ध
साथीसँगको सम्बन्धको हिसाबले पनि किशोर उमेर संवेदनशील मानिन्छ। यही उमेरमा साथीसँगको सम्बन्ध भावनात्मक रूपमा घनिष्ट हुन शुरू हुन्छ। अर्कातिर, यही उमेरमा हुने असल वा खराब संगतले जीवनको लय नै तलमाथि पारिदिन्छ।
साथीभाइसँग हाम्रो सम्बन्ध सहज छ वा छैन भन्ने कुराले पनि किशोर अवस्थालाई एउटा प्रवाहमा राख्छ। श्रद्धाले उपन्यासमा यही विषय आफ्नो पात्र मार्फत भनेकी छन्। जातीय, सामाजिक र आर्थिक हिसाबले आफ्ना साथीभाइभन्दा फरक स्थानमा रहेकी सुम्निमाका लागि त्यही पहिचान नै साथीभाइसँग नजिकिन नसक्नुको कारण बन्छ। शारीरिक तथा यौनिक रूपमा पटक पटक उत्पीडनमा पर्दा पनि उनी कसैलाई भन्न सक्दिनन्। उनी आफ्नै प्रेमी र शिक्षकबाट उत्पीडित बन्न पुग्छिन्।
पारिवारिक महत्त्वाकांक्षाको दबाब
आर्थिक अवस्था कमजोर भए पनि सुम्निमाका बुबाआमाकोे पारिवारिक र सामाजिक पृष्ठभूमिले एक हदको प्रतिष्ठा बोकेको हुन्छ। उनीहरू ठान्छन्, उनीहरूको प्रतिष्ठाको विरासत जोगाएर अघि बढाउने काम सन्तानको हो। त्यसको भार दुई छोरीमा बाल्यकालदेखि नै थोपरिन्छ।
पढाइमा राम्रो नभएका कारण सुम्निमालाई त्यो महत्त्वाकांक्षाको बोझ झनै कठिन बन्न पुग्छ। स्कूले शिक्षाको अन्तिम परीक्षामा उनी दोस्रो श्रेणीमा उत्तीर्ण भएपछि उनका बुबाआमा छोरीले आफूहरूको नाक काटेको निष्कर्ष बनाउँछन्। परिवारले थोपरेको महत्त्वाकांक्षाको भारले उनलाई परिवारसँग झन् टाढा बनाउँछ। जुन समयमा उनलाई परिवारको आडभरोसा चाहिन्थ्यो, त्यो समयमा एक्ली हुन्छिन्। किशोरवयमा परिवारले मनोभाव नबुझिदिंदा र उल्टै दबाब/अपेक्षाको भारी बोकाउँदा उनीहरूको जीवन कति पीडादायी बन्न पुग्छ भन्नेबारे उपन्यासले झकझक्याउँछ। अत: किशोर पाठकले पढ्न मिल्ने र अभिभावकले पनि पढ्नुपर्ने आख्यान हो।
उपन्यासमा पात्रहरूको चित्रण मिहिन ढंगले गरिएको छ। भाषा सरल छ। किशोर उमेरको संवेदनशील र जटिल मनोसामाजिक समस्यालाई आख्यानमा ढाल्नु सजिलो काम पक्कै होइन। अझ लैंगिकता, जातीयता र आर्थिक अभावमा आफ्नो अस्तित्वको खोजीमा रुमलिएको पात्रको भावदशा केलाउनु चुनौतीपूर्ण लेखन हो। जुन चुनौती छिचोल्न श्रद्धा सफल देखिएकी छन्।
यस किताबले नेपाली किशोरबारे लेखिएको साहित्य समृद्ध पार्न एउटा थुँगा थपेको छ।