नेपालमा संकटापन्न अवस्थामा रहेको डल्फिनले कोशी नदीमा बच्चा हुर्काउँदै गरेको पाइएको छ।
कोशीमा जेठ १५ देखि १८ गतेसम्म भएको चारदिने डल्फिन गणनाका क्रममा वयस्क माउले बच्चा डुलाउँदै गरेको संरक्षणकर्मीले देखेका हुन्। डल्फिन गणकले दुई वटा बच्चा हुर्किंदै गरेको फेला पारेका छन्।
डल्फिन गणनाका क्रममा २२ डल्फिन भेटिएका छन्। गत वर्ष गणना गर्दा कोशीमा १९ वटा डल्फिन देखिंदा बच्चा फेला परेका थिएनन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा डल्फिन संरक्षित स्तनधारीका रूपमा सूचीकृत छ।
त्यसअघि २०८० सालमा बच्चा बाहेक १७ वटा डल्फिन फेला परेका थिए। दुई वर्षमा कोशीमा पाँच वटा डल्फिन थपिएको पाइएको छ। डल्फिनसँग बच्चा पनि रहेकाले नेपालमै जन्माएर हुर्काउने क्रममा रहेको हुन सक्ने गणकहरूको अनुमान छ।
कोशीमा बच्चासँगै देखिएको डल्फिन।
राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकृत वीरेन्द्र गौतम डल्फिन सफा पानीमा आहाराको खोजीमा उत्तरतर्फ बहने भएकाले भारतबाट बगेर आएका नभई नेपालमै जन्मिएका बच्चा हुनुपर्ने बताउँछन्। कोशी नदीमा दक्षिण भारततर्फ बगेर जाने र उतैबाट आउने भएकाले गणनामा शतप्रतिशत सही तथ्यांक आउँदैन।
गणनाका क्रममा १५ वटा वयस्क, पाँच वटा अर्धवयस्क र दुई वटा बच्चा गरी २२ वटा डल्फिन रेकर्ड गरिएको छ। सन् २०१७ को गणनामा कोशी, कर्णाली, नारायणी र मोहना नदीमा गरेर नेपालमा ५२ वटा डल्फिन रेकर्ड भएको थियो।
भारतको गंगा नदीबाट उत्तरतर्फ बगेर नेपालका साना खोलामा पनि यदाकदा डल्फिन फेला पर्ने गरेका छन्। केही वर्षअघि मोरङको कटहरीस्थित जुडी खोलामा ठूलो आकारको माछा ठानेर स्थानीय बासिन्दाले भालाले हानेर डल्फिन मारेका थिए।
कोशीमा देखिएको डल्फिन।
प्रकृति संरक्षण कोष कोशी केन्द्रका प्रमुख समेत रहेका गौतमका अनुसार नदीमा डुंगा र किनारबाट डल्फिनको गणना गरिएको हो। डल्फिन देखिने खास स्थानहरूमा गणक बसेर नियालेका थिए।
यस वर्ष कोशी ब्यारेजको उत्तरी र दक्षिणी क्षेत्रमा मात्र डल्फिन देखिएका छन्। ब्यारेजको उत्तरी क्षेत्रमा कोशीटप्पु वन्यजन्तु आरक्ष पर्छ। सप्तरीको गोबरगाडा आसपासमा मात्र ६ वटा डल्फिन फेला परेका छन्। “कोशी ब्यारेजको ढोकाबाट आवतजावत गर्न असहज हुने भएकाले डल्फिन आहाराको खोजीमा उत्तरतर्फ नै बग्ने गर्छन्,” गौतम भन्छन्।
ब्यारेजभन्दा उत्तरमा डल्फिन देखिने गरे पनि यस वर्ष गणकले फेला पारेनन्। “हामीले हिउँदको सिजनमा विदेशी पर्यटकलाई डुलाउँदा ब्यारेज उत्तरको क्षेत्रमा पनि डल्फिन देखाउने गरेका छौं,” कोशी पन्छी समाजका अध्यक्ष चक्र तिम्सिना भन्छन्।
कोशीमा माछा मार्नेहरूले लगाउने जालका कारण पनि डल्फिनको संख्या बढ्न नसकेको संरक्षणकर्मी बताउँछन्। कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादव मलाहा समुदायसँग हातेमालो गर्न नसके डल्फिनको संख्या बढाउन गाह्रो हुने बताउँछन्। “उत्तरतर्फबाट दक्षिण बगेर गएका डल्फिन ब्यारेजबाट बगेर फर्कन सक्दैनन्,” यादव भन्छन्, “जालमा डल्फिन पर्दा मार्ने गरेका छन्, करेन्ट लगाएर पनि मारिन्छ।”
डल्फिन गणनामा खटिएको टोली।
कोशी ब्यारेजमा ‘फिस ल्याडर’ नभएकाले पनि डल्फिन र माछा अडिने ठाउँ नभएको उनको भनाइ छ।
आरक्ष कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, कोशी पन्छी समाज, हिमाली नेचर, कोशी बर्ड अब्जर्भेटरी लगायत संस्था डल्फिन गणनामा सहभागी थिए। डल्फिनको गणना पानीमा डुंगाबाट र किनारबाट गरिएको थियो।
एकै ठाउँमा नरहने भएकाले गणकले खास खास स्थानमा तीन घण्टासम्म बसेर डल्फिन नियालेका थिए। एक ठाउँमा देखिएका डल्फिन अर्को ठाउँमा गणना नहोस् भनेर सतर्कता अपनाइएको कोषका अधिकृत गौतम बताउँछन्।