पोखरालाई हरित शहर बनाउने नारा दिएर महानगरले वातावरण दिवसको अवसरमा वृक्षरोपण अभियान शुरू गरे पनि यसअघि वरपीपलका रुख ठुटै पार्नेहरूलाई भने कारबाहीको दायरमा नल्याएर छूट दिएको छ।
वातावरण दिवसको अवसर पारेर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जेठ २१ मा ‘ग्रीन पोखरा, क्लिन पोखरा’ महाअभियान अन्तर्गत वृहत् वृक्षरोपण र सरंक्षण अभियान शुरू गरेका छन्। अभियानको शुरुआत गर्दै मेयर अचार्यले पोखराको हेम्जामा फूल रोपेका छन्।
यस अभियानमा फलफूल तथा रैथाने ३८ प्रजातिका दुई लाख २६ हजार बोटबिरुवा रोप्ने लक्ष्य राखिएको छ। तर, गत माघमा पोखराका सय वर्ष पुराना वरपीपलका रुख ठुटो बनाउनेहरूलाई भने अहिलेसम्म कानूनी कारबाहीको दायरमा ल्याइएको छैन। बरु उनीहरूले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधि, नेता, प्रहरी, प्रशासनका व्यक्तिहरू सहभागी भइरहेका छन्।
गिज्याइरहेका वरपीपल
घरअगाडिको पुरानो चौताराको रुख ठुटै पार्ने गरी काटेको देखेपछि पोखरा महानगरपालिका-१४ का प्राध्यापक हेमन्त ढकाल झस्किए। तत्कालै उनले वडा कार्यालयमा खबर गरे। तर, केही वास्ता गरिएन। त्यसपछि महानगर कार्यालयमा जानकारी दिए। महानगरले पनि बेवास्ता गर्यो।
वातावरण संरक्षणकर्मी समेत रहेका ढकाल त्यसै बस्ने कुरा थिएन। उनले ठुटै पारेको रुखको तस्वीर सामाजिक सञ्जालमा राखे। त्यसपछि भने एकाएक महोल बदलियो, काटिएका रुखबारे जनचासो बढ्न थाल्यो। पोखरा महानगरमाथि पनि दबाब पर्यो।
ति रुख आफूलाई धर्मगुरु भनेर चिनाउने विजय कृष्णमूर्तिको नेतृत्वमा रहेको मानव सेवा फाउन्डेशनले काटेको थियो। पोखरामा महायज्ञ गर्नका लागि वरपीपलका पुराना रुख निमोठेका थिए। पोखराको वडा नं ६, १३ र १४ का दर्जनौं वरपीपलका रुखलाई ठुटै बनाइएको थियो। त्यसका लागि पोखरा वडा नं. ६ को वडा कार्यालयले अनुमति दिएको देखिएको थियो।
यसरी काटिएका ३३ वटा रुखको काठ नेपाल ट्रस्टको स्वामित्वमा रहेको रत्न मन्दिर परिसरभित्र राखिएको थियो। पछि दबाब बढेपछि महानगरले रत्न मन्दिरको ताला फोडेरै करीब १०२ वटा काठमा गोलिया जफत गरेको थियो।
चौतर्फी दबाब परेपछि मेयर आचार्यले रुख काट्नेलाई कारबाही गर्ने र फेवाताल छेउ गर्न खोजिएको कोटिहोम गर्न नदिने अडान लिए। अर्कातिर, धर्मगुरु भनेर चिनाउने विजय कृष्णमूर्तिले ‘धर्मका लागि अधर्म गर्न पनि पछि नहट्ने तर कोटिहोम गरेरै छाड्ने’ भन्दै अड्डी लिए। विवाद चर्किदै गयो।
कोटिहोमका लागि फागुन २३ मा मानव सेवा फाउन्डेशनले बाराहीघाटमा भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप नै भएको थियो। झपडमा केही घाइते पनि भएका थिए।
त्यसपछि फागुन २४ मा महानगर, जिल्ला प्रशासन कार्यालय र मानव सेवा फाउन्डेशनका संस्थापक विजय कृष्णमुर्ति सहित बसेर छलफल गरेका थिए। पोखरामा कोटिहोम गर्न दिने तर फेवा तालछेउ नगर्ने सहमति भएको थियो।
त्यही सहमतिका आधारमा अहिले पोखरा-१७ मा कोटिहोम चलिरहेको छ। जहाँ दैनिक सयौं भक्तजन पुगिरहेका छन्। राजनीति दलका नेता, मन्त्री, सेलिब्रेटी लगायत पनि पुगेका छन्। तर, वरपीपल ठुट्याउनेलाई कारबाहीको दायरमा ल्याउने प्रयास भएको छैन।
अनुसन्धानमै तीन महीना
पुराना वरपीपलका रुख ठुटै पारेको भन्दै जनस्तरबाट कारबाहीका लागि दबाब आएपछि मेयर आचार्यले सार्वजनिक कार्यक्रमहरूमै कानूनी दायरमा ल्याउने प्रतिबद्धता जनाए। तत्कालै काठ बरामद गर्न लगाए। तर, रुख काट्नेलाई कारबाही प्रक्रिया अघि बढाएन। बरु वनको विषय भन्दै डिभिजन वन कार्यालयलाई जिम्मा लगायो।
त्यतिवेला डिभिजन वन कार्यालय र महानगरबीच क्षेत्राधिकारका विषयमा अलमल भएको थियो। त्यसपछि पोखरा महानगरले डिभिजन वन कार्यालयलाई आवश्यक कारबाही गर्न भन्दै पत्राचार गरेको थियो। फागुन २३ मा वन कार्यालयले अनुसन्धान अधिकृत खटाएको थियो। अहिले पनि दुई जना अनुसन्धान अधिकृतले घटनाको अध्ययन-अनुसन्धान गरिरहेको वन कार्यालयको भनाइ छ।
गत माघमा ठुटो पारिएको रुख।
अनुसन्धानमा खटिएका राजेन्द्र शर्मा केही दिनमा प्रतिवेदन तयार हुने बताउँछन्। “प्रतिवादीहरू धेरै छन्, समय लागि हाल्छ नि!,” शर्मा भन्छन्, “अब केही दिनमा सरकारी वकीललाई बुझाउँछौ, अध्ययनमै भएकाले धेरै भन्नुमिल्दैन।”
तीन महीना बितिसक्दा पनि अध्ययन-अनुसन्धान पूरा भएको छैन। यसमा स्थानीय बासिन्दा र संरक्षणकर्मी शंका जनाइरहेका छन्। डिभिजन वन कार्यालय, कास्कीका प्रमुख कोमलराज काफ्ले भने अनुमतिविना रुख ठुट्याउने कारबाहीको दायरामा ल्याइने बताउँछन्। अबको एक सातामा सरकारी वकीलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइने काफ्लेको भनाइ छ।
संरक्षणकर्मीको चासो
रुख जोगाउन गण्डकीमा हाल प्रदेश वन ऐन, २०८० र नियमावली २०८१ कार्यान्वयनमा छन्। प्रदेश सरकारले नै २०७५ सालमै वरपीपल, सिमल तथा चौतारो संरक्षण ऐन पनि ल्याएको थियो। ऐनमा प्राकृतिक तथा ऐतिहासिक महत्त्वको कुनै वर, पीपल, सिमल र चौतारालाई बिगार्न, मास्न वा हटाउन नपाउने व्यवस्था छ। तैपनि महानगरले वरपीपल ठुटो पार्नेलाई कारबाही गर्नुको सट्टा यो विषय डिभिजन वन कार्यालयतिर सार्यो।
संरक्षणकर्मीले त्यतिवेलै शंका जनाएका थिए। तीन महीनासम्म अनुसन्धान प्रतिवेदन नआउँदा झन आशंका बढेको नागरिक समाजका अगुवा रामबहादुर पौडेल बताउँछन्। “अहिलेसम्म अनुसन्धान प्रतिवेदन नआउनुमा आंशका लागेको छ। छिट्टोभन्दा छिट्टो प्रतिवेदन बाहिर ल्याएर दोषीलाई कारबाही गर्नुपर्छ,” पौडेल भन्छन्, “वातावरणको संरक्षण गर्न र मास्नेहरूलाई कडा कारबाही हुन्छ भन्ने देखाउन पनि यसलाई उदाहरण बनाउनुपर्छ।”
सरंक्षणकर्मी ढकाल पनि पोखराका रुख ठुटो पार्नेलाई कानूनी कारबाही गरेर नजीर स्थापित गर्नुपर्ने बताउँछन्। त्यतिवेला हाँगा छिमल्ने नाममा पुराना रुख नै काट्ने मनसाय सहित ठुट्टो पारिएको सुनाउँछन्। “हाँगा छिमल्नु राम्रो हो, तर यसलाई व्यवस्थित बनाएर, कसले कसरी गर्ने भन्नेबारे महानगरले ध्यान दिनुपर्छ,” उनी भन्छन्।
पोखरा महानगरको वन तथा वातावरण शाखाका प्रमुख निर्मलमानसिंह भण्डारी रुख काट्नेलाई कारबाहीको दायरामा ल्याउनका लागि शुरूमै पत्राचार गरिसकेको प्रतिक्रिया दिन्छन्। जफत गरिएका काठ अहिले पनि महानगरले सुरक्षित राखेको बताउँदै भण्डारी भन्छन्, “दोषीलाई कारबाही गर्नुपर्छ।”
त्यस्तै, पोखरा र यहाँको सिमसार क्षेत्र, जलाधार संरक्षणका लागि स्थानीय सरकारले चासो दिनु आवश्यक भएको प्राध्यापक ढकालको भनाइ छ। उनी भन्छन्, “स्थानीय सरकारले वृक्षरोपण गरेर मात्र हुँदैन, भएका पुराना रुखहरूको संरक्षण पनि गर्नुपर्छ।”
संरक्षणकर्मीका अनुसार, वातावरण दिवसका नाममा वृक्षरोपण गर्नु राम्रो हो। त्यस सँगसँगै विरुवा जोगाउनु पनि पर्छ। अझ भएका रुखको संरक्षण र तिनलाई नाश गर्न उद्दत व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन पनि उत्तिकै जरुरी छ।
यो पनि पढ्नुहोस् : मासिए चौतारा, ढले वरपीपल