सन् २०१४ मा सगरमाथा आरोहणका क्रममा हिमपहिरो खस्दा पतिवियोग भोगेकी निमा डोमाले यसको पाँच वर्षपछि सर्वोच्च शिखर टेक्दै श्रीमान्को अधुरो सपना पूरा गरिन्। उनै निमा हिमाल आरोहणबाट बाँच्ने आधार नभेटेपछि अमेरिकामा संघर्ष गर्दै छिन्।
१८ अप्रिल २०१४ मा १६ जना आरोहीको टोली सगरमाथा शिखरतर्फ उक्लिंदै थियो। बिहान साढे ६ बजेतिर १९ हजार फिटस्थित खुम्बु आइसफलमा हिमपहिरो खस्दा टोलीका सबै सदस्य पुरिए। सगरमाथाकै काख खुम्जुङमा जन्मिएका छिरिङ ओङ्चु त्यही हिमपहिरोमा अस्ताए।
पहिलो पटक सगरमाथाको चुली चुम्न हिंडेका छिरिङको शव त्यही साँझ हेलिकोप्टरले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ खुम्जुङको आँगनमा पुर्यायो। सामुन्नेमा श्रीमान्को शव देखेपछि निमा डोमालाई लाग्यो, सहारा मात्र गुमेन, जीवन नै सकियो!
३ वर्षीया छोरी र ६ वर्षीय छोरा टुहुरा भएका थिए। त्यसपछिका दुई वर्ष निमा घर बाहिरको संसारमा निस्किइनन्।
शेर्पाहरूको बाँच्ने आधार बनेको सगरमाथाले उनको बाँच्ने सहारा खोसेको थियो। सगरमाथाको इतिहासमा यति धेरै मानिसको ज्यान लिने त्यो सबैभन्दा ठूलो दुर्घटना थियो। पथप्रदर्शक शेर्पाहरू सगरमाथाको पश्चिमी भागबाट खसेको बरफका ठूल्ठूला टुक्रामा पुरिएका थिए। बरफका टुक्रा ३४.५ मिटरसम्म बाक्ला र १४.३ किलोसम्म गह्रुंगा थिए।
दुई दिदी र एक दाइकी कान्छी बहिनी निमा सगरमाथाबारे सुन्दै हुर्किइन्। बुबा आङ्छुवी शेर्पा भरिया, पथप्रदर्शक हुँदै सगरमाथा आरोही भए। आरोहणपछि फर्कंदा बुबा चकलेट ल्याइदिन्थे। आरोहणका कुरा सुनाउँथे। तर उनलाई सगरमाथा आरोहणका कुराभन्दा चकलेटले खुशी दिन्थ्यो।
निमाले एड्मन्ड हिलरी स्कूलमा कक्षा ८ सम्म पढिन्। त्यसपछि विद्यालय जान पाइनन्। विद्यालय छाडेपछि सन् २००५ मा छिरिङ ओङ्चुसँग विवाह गरिन्। ट्रेकिङ गाइडको काम गर्ने छिरिङ महीनौंपछि घर फर्कन्थे। उनी चाहिं चुलोचौको र खेतबारीको काममा व्यस्त हुन्थिन्।
बुबा आङ्छुवी शेर्पाले सन् १९९३ मा सगरमाथा आरोहण गरिसकेका थिए। पति छिरिङले पनि ससुराकै पदचाप पछ्याए। तर उनी विफल भए। सगरमाथाको शिखर ताकेर घरबाट बिदाबारी भएर निस्केका उनी हिउँको बाटामा सधैंका लागि अस्ताए। निमाको जीवनको कालो दिन थियो त्यो।
विवाह हुनुअघि उनी विद्यालय बिदा भएको समयमा भरिया भएर नाम्चे पुग्थिन्। बुबाले हिमालबाट फर्कंदा ल्याउने चकलेटले लोभ्याएर उनमा थाहै नपाई भरिया हुने रहर पलाएको थियो। तर कुनै दिन हिमाल चढिएला भनेर सोचेकै थिइनन्।
हिमाल हेरेर धीत नमर्ने शेर्पा पुरुषहरू सगरमाथाको शिखर टेक्ने सपना सजिलै बुन्थे। तर शेर्पा महिला, त्यसमाथि एकल महिलाका लागि सगरमाथा टेक्ने सपना दुरूह थियो। निमा तिनैमध्ये एक थिइन्।
सगरमाथाले जीवनको सहारा खोसेका खुम्बु पासाङल्हामु गाउँपालिकामा मात्र उनी जस्ता २०० एकल महिला थिए। खुम्जुङ गाउँमा ३० जनाभन्दा बढी थिए। १८/१९ वर्षको उमेरमा एकल भएका महिलाहरू झैं गर्भमै टुहुरा भएका बालबालिका थुप्रै थिए। सन् १९८० को दशकमा आरोहणमा जाँदा श्रीमान् गुमाएका ५० वर्षमाथिको उमेर समूहका महिला पनि थिए।
छोराछोरीलाई पढाइदिने दाता भेटिएपछि उनी दुई वर्षपछि सन् २०१६ मा काठमाडौं पुगिन्। वेलावेला शेर्पा विधवाहरू भेला हुन्थे र एकअर्कालाई सहयोग गर्थे। तिनीहरूमध्ये केही नेपाल पर्वतारोहण संघको रक र आइस क्लाइम्बिङ तालीममा सहभागी भएका थिए। आफू जस्तै एकल महिला पीडा भुल्दै जीवनमा अघि बढेको देख्दा उनमा पनि हिम्मत भरिन थाल्यो।
“भेलामा सहभागी भएपछि एकल महिला त म मात्र रहेनछु भन्ने लाग्यो। अब घरमा रोएर बस्न हुँदैन भन्ने सोचें,” उनले सुनाइन्।
उनलाई पदयात्रा र पर्यटनको क्षेत्रमा काम गर्ने संस्था आङ हिमालयनका आङछिरिङ लामाले सगरमाथा चढ्न हौसला दिए।
यी विभिन्न ऊर्जा र ढाडस पाएपछि उनले हिमाल आरोहण गर्ने सोच बनाइन्। उनी जुनिपर फन्डसँग जोडिइन्, जुन कोषले उच्च हिमाली भेगमा मृत्यु भएका श्रमिकको परिवारलाई सहयोग गर्छ।
त्यसको केही समयपछि उनी नेपाल पर्वतारोहण संघले दिएको ४५ दिनको पर्वतारोहण तालीम लिइन्।
उनले शुरूमा चुलु इस्ट (६,५८४ मिटर) हिमाल चढिन्। त्यसपछि सगरमाथा चढ्ने हिम्मत बटुलिन्। तर उनीसँग त्यसका लागि पैसा थिएन। अर्की एकल महिला फुरा दिकीले पनि सगरमाथा चढ्ने योजना बनाएकी थिइन्। रकम जुटाउने अभियानमा निमालाई उनले पनि साथ दिइन्।
निमा काठमाडौंबाट खुम्जुङ गइन्। आर्थिक सहयोगका लागि महिला समूहलाई गुहारिन्। देउसी-भैली खेलिन्। संघसंस्था र आफन्तका अगाडि हात फैलाइन्। सबैले गच्छे अनुसार सहयोग गरे। ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैं केही समयमै पैसा जुट्यो। त्यसपछि सगरमाथातर्फ हानिइन्। त्यो सगरमाथा, जसले उनको आडभरोसा र सहारा खोसेको थियो।
केही दिनमा सगरमाथाको आधारशिविर पुगिन्। त्यहाँ केही दिन अभ्यास गरिन्। सगरमाथाको चुचुरो चुम्ने लक्ष्य सहित बढ्नुअघि आधारशिविरमा चाहिने जति लुगा मात्र प्याक गरेर लगिन्। सगरमाथाबाट शव आए पनि छोराछोरीले सुरक्षित रूपमा सामान पाऊन् भन्ने उनको चाहना थियो।
उनी हिउँ छिचोल्दै अघि बढ्दै गइन्। कहीं डोरीको सहाराले उक्लिन्थिन्। कतै जोखिमपूर्ण पहिरोबाट जोगिंदै सजग पाइला चाल्थिन्। त्यसरी अघि बढ्दै गर्दा सोच्थिन्, श्रीमान्ले कति दुःख गरेर परिवार पालेका रहेछन्। त्यो सम्झँदा उनी भक्कानिन्थिन्। आँखाबाट आँसुका धारा बग्थे, तर मन दरो बनाएर अघि बढ्थिन्।
महिलाले पनि हिमाल चढ्न सक्छन् भनेर विगतमा सगरमाथाको चुली चुमिसकेका महिलाहरूले सन्देश दिइसकेका थिए। समाजलाई निमाले थप सन्देश दिनु थियो– एकल महिलाहरू पनि हिमाल चढ्न सक्छन्। उनीसँग श्रीमान्को अधुरो सपना पूरा गर्ने दृढ अठोट पनि थियो।
आफू हिंडिरहेको बाटामै श्रीमान् पनि हिंडेका थिए भन्ने सम्झँदा उनी रुन्थिन्। पहिरोमा पुरिएर जहाँ उनका श्रीमान्को मृत्यु भएको थियो, त्यहाँ पुगेपछि त उनले आफूलाई सम्हाल्नै सकिनन्। त्यहाँ निकै बेर रोइन्। हिउँले पुरेपछि श्रीमान्को सास जान कति पीडा भयो होला? श्रीमान्ले उद्धारका लागि गुहार माग्दा कसैले उनको आवाज सुन्यो कि सुनेन होला? यस्ता थुप्रै प्रश्नले उनको मन हपक्क बनाए, हिउँको त्यो कठ्याग्रिंदो चिसोमा।
सानी छँदा बुबाले हिमालबाट फर्कंदा ल्याएको चकलेट उनलाई झलझली याद आउँथ्यो। बुबाले मुठीभरि चकलेट दिंदै भन्थे, “छोरीका लागि हिमालबाट चकलेट टिपेर ल्याएको हुँ।”
उनी हिमालमा चकलेट टिप्न पाइने कल्पिएर रमाउँथिन्।
तर आफैं हिमालमा पुगेपछि देखिन्, त्यहाँ त आरोहीले छोडेका प्लास्टिक र खानेकुराका खोस्टा मात्र थिए। त्यति वेला मात्र थाहा पाइन्, बुबाले हिमाल चढ्न छोरीले नरोकोस् भनेर झूट बोलेका रहेछन्।
श्रीमान् र बुबाले बेहोरेको हिमाल आरोहणको कष्टकर यात्रामा हेलिंदै गइन् उनी। अन्तत: २३ मे २०१९ मा उनले सगरमाथाको चुचुरोमा पाइला टेकिन्। सारा दुःख र पीडा बिर्सिएर खुशीले रोइन्। फुरा दिकी उनीसँगै रोइन्।
फुरा दिकीसँग निमा (बायाँ)।
आफूलाई अभागी ठान्ने निमाले आफूलाई भाग्यमानी ठानेको दिन थियो त्यो। सधैं पतिवियोग र अभावमा आँसु बगाएकी निमाका आँखा फेरि एक पटक निथ्रुक्क भिजे। उनी चिच्याइन्। कराइन्। डाँको छोडेर रोइन्।
सगरमाथाको टाकुरामा चढेको त्यो पल सम्झँदै उनले सुनाइन्, “म जीवनमा दुई पटक निकै रोएँ। पहिलो पटक श्रीमान्को मृत्युमा। दोस्रो पटक श्रीमान्को अधुरो सपना पूरा गरेको दिन।”
सगरमाथाको चुलीमा टेक्दाको दिन उनको जीवनकै अविस्मरणीय घटना हो। “त्यो दिन म कसरी बिर्सिन सक्छु र, जुन दिन म सबै पीडा बिर्सेर खुशीमा रोएकी थिएँ,” उनी भन्छिन्।
सगरमाथापछि उनले अन्य थुप्रै हिमालको सफल आरोहण गरिन्। धीत नमर्नेगरी आफूभित्र प्रगाढ भएको आरोहणको नशा छोडेर अमेरिका हानिने भनी निमाले कहिल्यै सोचेकी थिइनन्। एसएलसी दिएका छोरा पेम्बा छेतेन र ९ कक्षामा अध्ययनरत छोरी निमा याङ्जीको सुखद भविष्यको चिन्ताले ४० वर्षको उमेरमा उनी अमेरिका पुगेकी हुन्।
नेपालमा छँदा छोराछोरी उनलाई हिमाल नचढ्न आग्रह गर्थे। उनीहरू भन्थे, “बुबा हिमालमै बित्नुभयो। तपाईं पनि नरहे हाम्रो अवस्था के होला?”
“हिमाल चढेपछि धेरै पैसा पाइन्छ। त्यही पैसाले तिमीहरूलाई पढाउँछु,” उनी सम्झाउँथिन्।
उनी सगरमाथा चढेर फर्किइन्। तर आर्थिक अभाव उस्तै रह्यो। सगरमाथापछि आमाडब्लाम, चोलात्से, आइसल्यान्ड र लोबुचे हिमाल चढिन्।
कोलोराडोको शेर्पा रेस्टुरेन्टमा एक साँझ भएको भेटमा निमाले भनिन्, “छोराछोरीकै लागि यहाँ छु। समयसँगै बाटो परिवर्तन हुँदो रहेछ, मेरो हकमा पनि त्यही भयो।”
अमेरिकाबाट फर्केर बाँकी जीवन नेपालकै पर्वतारोहणमै बिताउने उनको चाहना छ।
जेठाजु ओङगेल शेर्पाको कपडाको कम्पनी छ, यूएस शेर्पा। निमा त्यही ब्रान्डकी एम्बेस्डर हुन्। त्यही ब्रान्डको निम्तामा पहिलो पटक सन् २०२२ मा अमेरिका आएकी उनी केही महीनापछि फर्केकी थिइन्।
सगरमाथा चिनाउने र त्यहाँको पर्यटनलाई चलायमान बनाउने आरोही र पथप्रदर्शक शेर्पालाई राज्यले उचित सम्मान नदिएकामा उनको गुनासो छ। उनी भन्छिन्, “लडाइँमा मारिने सिपाहीलाई सरकारले शहीद घोषणा गर्छ। उसको परिवारलाई राहत तथा क्षतिपूर्ति दिन्छ। देशको पर्यटन प्रवर्द्धनमा खट्ने क्रममा मृत्युवरण गर्ने आरोही र पथप्रदर्शक शेर्पालाई राज्यले सम्मान गर्नु पर्दैन? उनीहरूका परिवारलाई राहत वा क्षतिपूर्ति दिनु पर्दैन?”
छुट्ने वेला उनले अर्को प्रश्न गरिन्, “सगरमाथा चिनाउने शेर्पाहरू देश किन छोडिरहेका छन्? सरकारले कहिले सोधीखोजी गर्ला?”
- कोलोराडो, अमेरिका।