हिजो ‘लाहुर’ जान मरिहत्ते गर्ने समुदायलाई आज ज्ञान उत्पादनको ‘नशा’ किन चढिरहेको छ? यसको समाजशास्त्रीय अध्ययन त भएको देखिंदैन, तर यो प्रवृत्तिले देखाइरहेको संकेत चाहिं अध्ययन-मननयोग्य छ।
हिजो लेखपढ गर्नुभन्दा ‘लाहुर’ जान मरिहत्ते गर्ने समुदायमा बढिरहेको ज्ञान आर्जनमाथिको अभिरुचि बुझ्न मैले केही समयदेखि विभिन्न समुदायका अध्येतासँग कुराकानी गर्दै आएको थिएँ, यही वेला विष्णुदत्त आङ्बुहाङले ‘लिम्बू समुदाय र लिम्बुवान सम्बन्धी अध्ययन-अनुसन्धान’ गर्न आफ्नो जायजेथा बेचेर आएको पैसाबाट लिम्बुवान अध्ययन केन्द्रलाई एक करोड रुपैयाँ दान दिएको घोषणा गरे।
लिम्बूहरूको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको मातहत खोलिएको लिम्बुवान अध्ययन केन्द्रले आफ्नो भाषा, धर्म, संस्कृति, इतिहासमाथि अध्ययन-अनुसन्धान गर्दै आएको छ। ललितपुरमा आफ्नै भवन भएको चुम्लुङमा मदन पुरस्कार विजेता भगिराज इङ्नामको नेतृत्वमा रहेको केन्द्रले नियमित रूपमा बौद्धिक छलफल आयोजना गर्ने, लिम्बूसँग सम्बन्धित मुद्दामा अनुसन्धान गर्ने/गराउने र त्यसका निम्ति आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। केन्द्रले स्रोतकेन्द्रका रूपमा पुस्तकालयको स्थापना समेत गरेको छ।
अध्ययन केन्द्रका निम्ति २०७३ सालमा विष्णुदत्तले आफू र श्रीमतीको नाममा ‘विष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार’ र ‘विष्णुदत्त-सरस्वती आङ्बुहाङ अनुसन्धानवृत्ति’ स्थापना गरी अहिले अक्षयकोषको रकम एक करोड (२०७३ सालमा ३० लाख, पछि २० लाख र अहिले थप ५० लाख) रुपैयाँ पुर्याइदिएका हुन्। यो अक्षयकोषबाट हरेक वर्ष ‘लिम्बू र लिम्बुवान’ माथि अध्ययन गर्न चाहने दुई अध्येतालाई जनही ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरिन्छ भने हरेक दुई-दुई वर्षमा लिम्बूमाथि लेखिएको उत्कृष्ट पुस्तकलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिन्छ।
यस वर्ष इतिहासकार दिवगंत कृष्णविक्रम नेम्वाङको कृति लिम्बू इतिहास : तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध लाई पुरस्कृत गरिएको छ। हाल सपरिवार क्यानडामा बसोबास गरिरहेका नेपाल सरकारका पूर्व अधिकृत समेत रहिसकेका व्यक्तिलाई आफ्नो जायजेथा बेचीबेची किन आफ्नो जातिमाथि अध्ययन-अनुसन्धान गराउने विचार फुर्यो भनी मैले विष्णुदत्तलाई प्रश्न गरेको थिएँ। उनले ‘पछाडि पारिएको लिम्बू समुदाय’ लाई आफ्नो अस्तित्वप्रति सचेत गराउन जवानीमा कमाएको पैसा जीवनको उत्तरार्धमा लगानी गर्न पाउँदा गर्व लागेको बताएका छन्। त्यसबारे उनीसँग गरिएको कुराकानी तल भिडिओमा छ, सुन्नुहोला।
VIDEO
पछिल्लो कालखण्डमा आफ्नो समुदायको इतिहास आफैं उत्खनन गर्ने लगन, प्राज्ञिक लेखन र बौद्धिक विमर्शका निम्ति सम्मेलनको आयोजना गर्ने अभ्यासलाई लिम्बू लगायत समुदायले आन्दोलनकै रूपमा लगिरहेका छन्। हिजोसम्म अधिकार माग्न भाषणबाजीमा मात्र सीमित यी समुदाय अहिले एक कदम अगाडि बढी सप्रमाण राज्यसँग आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्, जुन नितान्त नवीन छ। विष्णुदत्त त्यही आन्दोलनको एक हिस्सा बनिदिएका हुन्। यो एकाएक बनेको होइन। यसको लामो पृष्ठभूमि छ। मैले ताप्लेजुङमा राज्य विरुद्ध भइरहेको मुक्कुमलुङ संघर्षमा गोली थाप्न तयार त्यहाँका पढैया युवाहरूको ‘मोटिभेशन’ भित्र अनौठो उन्माद महसूस गरेको थिएँ। शायद त्यस्तो उन्मादका स्रोत माथि चर्चा गरिएका अभ्यास पो हुन् कि?
बौद्धिक योगदान
लिम्बूमाथि अध्ययन-अनुसन्धान गर्ने संस्था लिम्बुवान अध्ययन केन्द्र मात्र होइन। मानवशास्त्र र भाषाशास्त्रका विद्यार्थी डीवी आङ्बुङ्को नेतृत्वमा खोलिएको मुन्धुम एकेडेमीले लिम्बूमाथि कैयौं यस्ता अनुसन्धान गरेको छ, जुन राज्यले समेत गर्न सकिरहेको छैन या चाहेको छैन। यसपालि पुरस्कृत अनुसन्धानमूलक कृति लिम्बू इतिहास : तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध (२०८०) मुन्धुम एकेडेमीले नै प्रकाशन गरेको हो। त्यसैगरी, एकेडेमीले भगिराज इङ्नामको लिम्बुवानका अभिलेख सङ्ग्रह (२०८१), लिम्बू नामकोष (२०८१) र कृष्णविक्रम नेम्वाङको इतिहास पहिचानः प्राचीन नेपाल, किरात र लिम्बू इतिहास जस्ता अनुसन्धानात्मक कृति प्रकाशन गरिसकेको छ।
यसरी अध्ययन-अनुसन्धानमा संगठित लगानी लिम्बूहरूमा जति अन्य समुदाय देखिंदैन। तर प्रयत्न चाहिं भइरहेको देखिन्छ। जस्तै- मगर समुदायका प्राज्ञिक र बौद्धिक व्यक्तित्वहरूको संगठित अभ्यासमा मगर अध्ययन केन्द्रले केही समय शोधमाला जर्नल प्रकाशन गर्थ्यो जुन आर्थिक अभावका कारण दशौं अंकपछि बन्द भएको छ। डा. गोविन्द थापाको नेतृत्वमा २०५९ सालमा खोलिएको यस संस्थाबाट मगर समुदाय सम्बन्धी करीब दुई दर्जन जति पुस्तक तथा जर्नल प्रकाशित छन्, जुन राज्य र अध्येताका निम्ति राम्रा स्रोत सामग्री हुन सक्छन्। यही संस्थाको उत्प्रेरणाले हुन सक्छ, नेपाल मगर संघले हरेक वर्ष दुईदिने ‘मगर प्राज्ञिक सम्मेलन’ आयोजना गर्ने गरेको छ, जसमा मगर सम्बन्धी भइरहेका अनुसन्धानमाथि छलफल चलाइन्छ। यो प्राज्ञिक सम्मेलनलाई निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति केशरजंग बराललाई कुलपति बनाई संघकै मातहत ‘मगर प्राज्ञिक परिषद्’ बनाइएको छ। बराल अहिले यो संस्थाबाट पनि किनारा लागेकाले उनको ठाउँमा प्राध्यापक श्यामु थापालाई निमित्त बनाइएको इतिहास अध्येता मनोज घर्ती सुनाउँछन्।
मगर जातिमाथि अध्ययन गर्न भनी खोलिएको छविलाल चिदी मगर* नेतृत्वको ‘मगर प्राज्ञिक समूह’ ले अनुसन्धानात्मक पुस्तक मगर जातिको राजनीतिक इतिहास (भोजविक्रम बुढा मगर, २०७१) प्रकाशित गरेको छ भने डा. नरमाया थापा अध्यक्ष रहेको ‘मगर आदिवासी प्राज्ञिक प्रतिष्ठान’ ले विद्यालयमा पढाइने मगर भाषाको पाठ्यक्रम बनाउने काम गरेको छ। अहिले देशभर सात वटा पालिकाका विद्यालयमा मगर भाषा पढाइन्छ। यही संस्थाको सक्रियतामा नेपाल खुला विश्वविद्यालयले यसै सालदेखि बीएमा ‘मगर स्टडीज’ शुरू गरेको छ, जसमा ६० जना विद्यार्थी भर्ना भइसकेका संस्थाका महासचिव डा. विष्णु सिंजाली सुनाउँछन्। प्राज्ञिक काम भइरहेको बताउने नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य समेत रहेका सिंजाली भन्छन्, “मेरो अध्यक्षतामा मगर लेखक संघले मगर अध्ययन जर्नल ३ अंक निकालेको छ, चौथोको तयारी गरिरहेका छौं। संघले १६ वटा जति किताब प्रकाशन गरेको छ।”
मगर महिला संघ, रुपन्देहीले गएको मंसीरमा दुईदिने ‘मगर साहित्य महोत्सव’ आयोजना गरेर देशभरबाट मगर समुदायमाथि बौद्धिक र प्राज्ञिक बहस सञ्चालन गर्यो। त्यहाँ भएका छलफललाई उतारेर पुस्तक प्रकाशन गर्ने तयारी भइरहेको आयोजक समितिका एक सदस्य सुनाउँछन्। आश्चर्य लाग्ला, यो सबै गर्न सरकारले यी संस्थालाई सुको लगानी गरेको छैन भने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट समेत यिनले ‘प्रोजेक्ट’ ल्याएको देखिंदैन वा सकेका छैनन्। यस्ता कार्यमा सघाउन आर्थिक रूपमा विदेशमा श्रम गरिरहेका आआफ्ना समुदायका व्यक्तिको ठूलो योगदान देखिन्छ भने प्राज्ञिक रूपमा आआफ्ना समुदायबाट निस्किएका प्राज्ञिक र बौद्धिक व्यक्तित्वको त्यति नै ठूलो हात देखिन्छ।
गत वर्ष नेपाल प्रज्ञा-प्रतिष्ठानका तत्कालीन प्राज्ञ अमृत योन्जन तामाङको निम्तोमा बौद्धस्थित तामाङ राष्ट्रिय पुस्तकालय पुग्दा थाहा भयो, राज्य र शिक्षामा सीमान्तीकृत भनिएका तामाङहरूले ज्ञान आर्जनमा निकै लगानी गरिसकेका रहेछन्। बौद्ध तामाङ कल्याण गुठीले उपलब्ध गराएको एउटा फ्ल्याटमा विभिन्न समुदायमाथि लेखिएका/गरिएका अध्ययनको सँगालो थुपार्न अमृत योन्जनको टीमलाई आफ्नो समुदायले ५० लाख रुपैयाँ दान दिइसकेको थियो। आफ्नो समुदायलाई शिक्षित र चेतनशील बनाउन तामाङ समुदायले गरिरहेको यस्तो लगानीबाट राज्य लाभान्वित भएको मेरो संज्ञानमा छैन, किनभने समाजमा भइरहेका यस्ता परिवर्तनबारे राज्यसंयन्त्रलाई चासो नै छैन।
तामाङ राष्ट्रिय पुस्तकालय लगायत संस्थाहरूको सहकार्यमा हरेक वर्ष आयोजना हुने ‘तामाङ ज्ञान महोत्सव’ बाट तामाङले बौद्धिक जनशक्ति पनि पर्याप्त उत्पादन गरिरहेको देखिन्छ, जुन समाज अध्येताका निम्ति अध्ययनको विषय हुन सक्छ। पुस्तकालय र ज्ञान महोत्सवसँग जोडिएकी अस्मिता म्यागेजिनकी सम्पादक लक्ष्मी रुम्बा भन्छिन्, “हामीले एथ्निक अध्ययनका निम्ति पुस्तकालय खोल्ने प्रस्ताव राख्दा सयौं तामाङहरू सहयोग गर्न तम्तयार भए।”
बौद्धिक स्वीकार्यता
यी सबै अभ्यासका कारण पनि होला, पञ्चायतकालसम्म काठमाडौं र गोरखा राज्यको आँखाबाट हेरिने र तदनुरूप विश्लेषण गरिने इतिहास लेखनको ढर्रा केही वर्षयता करीब करीब उल्टिन पुगेको छ। जित्ने शासकको गौरवगान गाउँदै लेखिने परम्परागत इतिहास व्याख्यानमाथि प्रश्न उठाउनेहरूले यस्तो लेख्य ढर्रालाई ‘खस-आर्य पहाडे बाहुन पुरुषको नजरियाबाट बयान गरिने’ दृष्टिकोणका रूपमा पनि व्याख्या गर्ने गरेका छन्। यस्तो परम्परागत संकथन २०६९ सालमा मदन पुरस्कार प्राप्त राजन मुकारुङको दमिनी भीर बाट तोडिएको मानिन्छ। यो उपन्यास खस नेपाली भाषाले मानक मान्दै आएको शब्दविन्याससँग मेल नखानेगरी लेखिएको पूर्वी पहाडको किराती समुदायको जनजीवनमा आधारित उपन्यास थियो।
त्यसपछि निलम कार्की ‘निहारिका’ लिखित विद्रोही पात्र योगमायाको संघर्षकथा योगमाया ले २०७४ सालमा मदन पुस्कार प्राप्त गरेपछि समाज चित्रणको नयाँ अध्यायले बाटो समातेको व्याख्या गर्न थालियो। धर्मका नाममा महिलामाथि हुने विभेद विरुद्ध भोजपुरमा योगमायाको नेतृत्वमा संगठित महिला विद्रोहले तत्कालीन धार्मिक ठेकेदारलाई मात्र नभई त्यसको संरक्षणकर्ता राज्यलाई समेत चुनौती दिएको थियो। ‘योगमाया’ नेपाली धर्तीमा उदाएको मौलिक महिला मुक्ति आन्दोलन थियो। त्यसमाथि लेखिएको उपन्यासलाई नेपाली साहित्यको सबैभन्दा ठूलो सम्मान प्रदान गरिनुलाई हिजो राज्यले लादेको वर्णव्यवस्थाको कुरूप पक्षलाई तिरस्कार गरिएको संकेतका रूपमा हेरियो।
यसलाई समाज परिवर्तनको मानकका रूपमा पनि व्याख्या गर्न सकिन्छ। किनभने त्यही ढर्रामा २०७७ सालमा भगिराज इङ्नामद्वारा संकलित लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले मदन पुरस्कार जित्न सफल भएको थियो। इङ्नामले संकलन गरेका दस्तावेजले लिम्बू र उनीहरूको भूमि लिम्बुवान रक्षार्थ तिनले गरेका संघर्षका कथाहरू कहन्थे। यो किताब समाजलाई शासकको नभई जनताको आँखाबाट हेर्ने लेख्य परम्पराको गतिलो निरन्तरता थियो, जसलाई देशको सबैभन्दा ठूलो सम्मानले सुशोभित गरियो।
कम्तीमा नेपाली समाजका विविधतालाई स्विकार्ने यस्तो सदाशयता दुई दशकअघिसम्म कल्पना पनि गर्न सकिंदैनथ्यो। यस्तो परिवर्तनलाई हामीले देशमा उठेको जागरणका रूपमा पनि बुझ्न सक्छौं। यसले विभिन्न समुदायलाई निकै उत्साहित बनाएको देखिन्छ। तिनलाई आफ्नो जाति, धर्म, संस्कृति, इतिहास लेखनमा अध्ययन-अनुसन्धान गर्न उत्प्रेरित गरिरहेको छ।
त्यसैले इतिहास लेखनको अभ्यास पहिला जस्तो शासकको आँखाबाट नभई जनस्तरबाट पनि हुन थालेको छ। देशको सबैभन्दा सम्मानित र पुरानो संस्था मदन पुरस्कार गुठीले समयको गतिलाई पहिल्याउन सके पनि यही संस्थाको सिको गर्दै खुलेका विभिन्न नामधारी संस्थाले चाहिं यस्तो गतिशीलतालाई अझै बुझ्न सकिरहेको देखिंदैन।
*छविलाल चिदी हुनुपर्नेमा अन्यथा भएकाले सखेद सच्याइएकाे -सम्पादक