जारी, जार र आँखा चलचित्रमा कथालाई डोर्याउने मौलिक संगीत सिर्जना गरेर दर्शकलाई नयाँ स्वाद पस्केका संगीत मर्मज्ञ गंगा थापा मगर विना प्रचार जसरी ‘एथ्नोम्युजिक’ मा साधना गरिरहेका छन्, त्यसले नेपाली संगीत क्षेत्रलाई नै भव्य आकारमा ढालिरहेको देखिन्छ।
यदि तपाईंले कवि उपेन्द्र सुब्बाको निर्देशनमा दुई वर्षअघि बनेको चर्चित चलचित्र जारी हेर्नुभएको छ भने त्यसमा राखिएको गीत र पार्श्वसंगीतमा अहिलेसम्म सुनिरहेको भन्दा निकै पृथक् धुन भुल्नुभएको छैन होला, जुन संगीत कर्मलाई ‘ओरिजिनल स्कोर’ भनिंदो रहेछ। लिम्बू समुदायमा प्रचलित जारी परम्परालाई मौलिक धुनमा हिंडाउने त्यही संगीतका कारण पनि जारी ले धेरै दर्शकको मन जित्यो। निर्देशकलाई भरपुर सन्तुष्टि दियो। निर्माताको खल्ती भरिदियो। परिणाम हाम्रो सामु छ, जारी को सिक्वेलमा धमाधम काम चलिरहेको भनिंदै छ। जारी बनेको एक वर्षपछि त्यस्तै संगीत अभ्यास गरिएको चलचित्र आयो, आँखा । किन हो कुन्नि, दर्शकलाई हलसम्म धेरै दिन तान्न नसकेको यस चलचित्रलाई समीक्षकहरूले चाहिं निकै रुचाएका थिए। बागमती किनारमा बसोबास गर्ने सुकुम्बासी परिवारहरूको कथा कहने यसको ‘ओरिजिनल स्कोर’ गर्ने पनि गंगा नै थिए। भन्नु परेन, यो संगीत पनि पृथक् थियो। हालसालै नेपाली सिनेउद्योगलाई सोचमग्न बनाएको चलचित्र जार चलेर गयो। इन्द्रबहादुर राईले ६ दशकअघि लेखेको जार काट्ने कथामा आधारित जार चलचित्रमा पनि ‘ओरिजिनल स्कोर’ गंगाकै थियो। यस चलचित्रमा कथावाचनका रूपमा जसरी संगीतको प्रयोग गरिएको छ, नेपाली सिनेक्षेत्रका निम्ति त्यसलाई नवीन प्रयोग ठानिएको छ।
जार , जारी र आँखा मा ध्वनि मार्फत कथावाचन गर्ने क्षमता प्रदर्शन गरेका संगीत साधक गंगा चाहिं ‘लाइमलाइट’ मा कतै देखिंदैनन्। सांगीतिक परिदृश्यमा कतै नदेखिएका तर अद्भुत काम गरिरहेका गंगालाई खोज्दै म गत साता मानभवन, ललितपुरस्थित उनको साधना केन्द्रमा पुगेकी थिएँ। कथा बमोजिम जारको संगीत सिर्जना गर्न पूरै तीन वर्ष लागेको गंगा बताउँछन्। जार को संगीत सिर्जनाबारे उनी भन्छन्, “मैले स्क्रिप्ट पढें। पात्रहरूको संसार कल्पना गरें र प्रत्येक पात्रका निम्ति थीम बनाएँ– बाघको गर्जनदेखि हरेक पात्रको मनोविज्ञान बुझेर ध्वनि निर्माण गरें।” उनको कुरा सुनेपछि मलाई के लाग्यो भने, दुई सातामा संगीत तयार पार्न चाहने हाम्रा चलचित्र निर्माता राम्रो संगीत सिर्जना गर्न तीन-तीन वर्ष किन कुर्दा हुन्? त्यसैले पनि होला, नेपाली चलचित्रमा संगीत र पार्श्वसंगीतले कथाको बोझ नै थेग्न सकिरहेका छैनन्। पहिलो भेटमै गंगाको व्यक्तित्व र उनको कर्मले मेरो रुचि जगाउँदै गइरहेको थियो। मैले गंगाको संगीत यात्राबारे कुरा कोट्याउन शुरू गरिहालें।
मातृत्वको बल
स्याङ्जाको बाडखोलामा ६ सन्तानमध्ये कान्छा छोराका रूपमा जन्मिएका गंगालाई सानैदेखि धुनहरूले तान्थ्यो। कहिलेकाहीं भावुक गीत गुनगुनाउँथे। त्यो सुनेर आमा साइँली मगर्नी उनलाई ‘विरही’ भनेर बोलाउँथिन्। चार वर्षकै उमेरमा पोलियो संक्रमणले पक्षाघात भएपछि गंगाको पढाइ पनि प्रभावित भयो, केही वर्ष विद्यालय जान सकेनन्। आफू अशिक्षित भए पनि साइँली छोराछोरीलाई पढाउनुपर्छ भन्नेमा सचेत थिइन्। त्यसैले गंगाका तीन दिदीबहिनीलाई मात्र स्कूले शिक्षा दिइनन्, गंगालाई पनि काठमाडौं ल्याई ‘एसओएस चिल्ड्रेन्स भिलेज’ मा भर्ना गरिदिइन्। गंगा सम्झिन्छन्, “मेरी आमालाई गाउँलेले छोराबेचुवा समेत भने। तर आमाले सुन्या नसुन्यै गरिदिनुभयो।”
भांकुर बाजा बजाउँदै।
शुरूमा त गंगालाई पनि एक्लै काठमाडौंमा छाडेर फर्कने आमाको व्यवहारबाट रिस उठ्यो। एक्लोपनले उनलाई असाध्यै अत्याउँथ्यो। आमाले परिवारसँग छुट्याएर किन यस्तो एकान्तमा ल्याएर राखिदिएकी होलिन् भन्ने सोच्थे। तर साइँली पहिलेदेखि नै गंगाको आत्मविश्वास बढाउन अनेक अभ्यास गराउँथिन्। अशक्तताले मनोबल कमजोर बनाउँछ भनी आफूसँगै डाँडा उक्लन लगाउँथिन्। त्यसैले पनि गंगालाई आमाको कमी असाध्यै खड्किइरहेको थियो। जब गंगा १५ वर्षका भए, उनले आमासँग मनमा गुम्सेर बसेको आक्रोश पोखे। आमाको जवाफ थियो, “बाबु, तलाईं मैले गाउँघरमा अपमान सहन नपरोस् भनी यहाँ ल्याएर राखेकी हुँ।” एक गाउँलेले गंगाको खिल्ली उडाएको सुनेपछि साइँलीले काठमाडौं ल्याउने निर्णय गरेकी रहिछन्। त्यसपछि बल्ल गंगाले आमाको निस्वार्थ भाव बुझे र त्यसपछि कहिल्यै आमालाई प्रश्न उठाएनन्। उनी भन्छन्, “मेरी आमाले यो सबै नसोचिदिएको भए आज म जहाँ छु, यहाँ हुने थिइनँ। मेरो व्यक्तित्व निर्माण नै यही संस्थामा हुन गयो।”
‘इथ्नोम्युजिक’ को खोज
गंगाका निम्ति काठमाडौं धुनसँग खेल्ने प्रयोगशाला भइदियो। उनले यहीं भेटेरान गायक/संगीतकार राम थापालाई भेटे, उनीबाट गितार सिके। पछि थापाकै संगीत शिक्षालयमा गितार पढाउन थाले। ‘संगीत बाहेक के काम गर्छस?’ भनी सोध्ने हाम्रो समाजमा फार्मेसीमा डिप्लोमा गरेका उनले सँगीहरूसँग मिली कुपन्डोलमा सन् २००१ मा फार्मेसी खोले, तर व्यवसाय चलेन। उनी भन्छन्, ‘मैले आमाको पैसा डुबाएँ।” त्यसपछि उनले बाटो मोडेर संगीतमै फर्कने निधो गरे। सन् २००३ मा पाटन क्याम्पसबाट प्लस टू सकाए र काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा भर्ना भए। त्यहाँ संगीत अध्ययन गर्न थाले।
गंगा राम्रा विद्यार्थी थिए, संगीतमा लगाव थियो। उनले सन् २००७ मा लन्डनको प्रतिष्ठित स्कूल ‘ओरिएन्टल एन्ड अफ्रिकन स्टडीज (एसओएएस)’ मा छात्रवृत्ति पाए। यस अवसरले उनको संगीत र संस्कृतिप्रतिको बुझाइलाई नै परिवर्तन गर्यो। त्यहाँ उनले ‘इथ्नोम्युजिक’ (कुनै खास जातजाति, संस्कृति वा समुदायसँग जोडिएको परम्परागत संगीत)बारे गहिरो ढंगले बुझ्न पाए। उनले त्यहाँ विश्वभरका विभिन्न जातजातिका ब्यान्डका प्रस्तुति हेर्न, सुन्न पाए। उनीहरूसँग संगत गर्न पाए। त्यसले उनलाई सोच्न बाध्य बनायो। उनले आफैंलाई प्रश्न गरे– हाम्रो पनि त बहुसांस्कृतिक समाज हो। त्यहाँ यस्ता संगीत किन सिर्जना गर्न सकिंदैन?
हो, यही प्रश्नले गंगालाई नेपालको रैथाने गीतसंगीतभित्र घोत्लिन बाध्य बनायो। यही अनुभूतिले गंगालाई नेपाली लोकसंगीतलाई विश्वमाझ प्रामाणिक रूपमा प्रस्तुत गर्ने प्रेरणा दियो। उनले ध्वनि उत्पादन, संगीत संरचना र वाद्ययन्त्रहरूको सूक्ष्म अध्ययन शुरू गरे। “त्यसपछि मात्र मैले बुझें, हाम्रो संगीतमा विशिष्ट व्यवस्थापनको कमी रहेछ,” उनी भन्छन्, “तपाईं दोहोरी गीतहरूबाट स्वर हटाइदिनुस्, सबै उस्तै सुनिन्छ। म नेपाली ध्वनि सिर्जना गर्न चाहन्थें, त्यसैमा घोत्लिएँ। जसलाई मौलिक स्कोर भनिन्छ।”
यलम्बर बाजाका साथमा।
लन्डनले गंगालाई विविध सांगीतिक समुदायसँग जोड्यो। अन्तर्राष्ट्रिय ब्यान्डहरूसँग प्रदर्शन गर्दै उनले सांस्कृतिक आदानप्रदानको अनुभव बटुले। “जब तपाईं अन्य समुदायका लागि बजाउनुहुन्छ, उनीहरूले तपाईंको संगीतमा रोचक तत्त्व महसूस गर्छन्,” उनी भन्छन्, “त्यसरी मैले नेपाली संगीत विश्वमाझ प्रस्तुत गर्न सिकें।” गंगाले त्यहाँबाट स्नातकोत्तर गरेपछि यहाँको ‘इथ्नोम्युजिक’, रैथाने र मौलिक स्कोरमा काम गर्न नेपाल फर्किए, सन् २०१९ मा। शुरूमा दुई वर्षका निम्ति फर्किएका गंगा अहिले स्थायी रूपमै नेपालमा बसी संगीत कर्म गर्ने योजनामा रमाइरहेका छन्।
मौलिक स्कोर
मौलिक स्कोर कुनै चलचित्र, टेलिभिजन शो, भिडिओ गेम, थिएटर वा अन्य मिडियाका लागि विशेष रूपमा रचना गरिएको मौलिक संगीत हो, जसले कथाको भावना, दृश्य वा माहोललाई वास्तविक स्वरूप प्रदान गर्छ। यो पहिले रेकर्ड गरिएको वा अन्य स्रोतबाट लिइएको संगीतभन्दा फरक हुन्छ। अन्तर्राष्ट्रिय सन्दर्भमा यो शब्द प्रायः फिल्म संगीतको क्षेत्रमा प्रयोग हुन्छ, जस्तै- हलिउड फिल्महरूमा हान्स जिमर वा जोन विलियम्सले बनाएका स्कोरहरू। यी स्कोरहरू कथालाई गहिराइ दिन र दर्शकको ‘फिलिङ’ लाई प्रभावकारी बनाउन रचिन्छन्। गंगाले यसरी नै स्कोर गर्दै आएका छन्। उनी भन्छन्, “मैले रैथाने गीत मात्र गर्ने हैन, रैथाने संगीतलाई नबिगारी आधुनिक लयमा ढाल्ने गर्छु। आफूलाई रैथाने संगीतकार भन्न रुचाउँदिनँ। तर काम चाहिं रैथानेमै गर्छु।”
नेपाल फर्किएपछि सन् २००९ मा गंगाले एउटा ब्यान्ड खोले, जुन २०१३ मा नाम्लोका रूपमा विकसित भयो। सात सदस्यीय यस समूहले गरेको सिर्जनाले ध्यान खिच्यो। नाम्लोको प्रदर्शन नवीन सांस्कृतिक सेतु निर्माण गर्ने क्षमताका लागि प्रशंसित भयो। गंगा भन्छन्, “हामीले नेपाली दर्शकका लागि मात्र नभई अन्तर्राष्ट्रिय समुदायका लागि पनि बजायौं। हामीले नेपाली संगीतको सम्भावना देखायौं।”
VIDEO
गंगाले किरातको यलम्बरदेखि थारूको तालसम्म नेपालका विविध संगीत परम्पराको अनुसन्धान शुरू गरे, गर्दै छन्। उनी भन्छन्, “म कुनै समुदायका लागि गीतसंगीत रचना गर्नुअघि त्यसको संगीत सिक्छु। यो सम्बन्धित समुदायप्रतिको ध्वनिलाई सम्मान गर्दै विश्वमाझ प्रस्तुत गर्ने तरीका हो। यसले नेपालको सांस्कृतिक सम्पदालाई जोगाउँदै यसको सीमा विस्तार गर्न सघाउँछ। “४० भन्दा बढी म्युजिक भिडियोमा उनको काम रहेको छ। सुजन चापागाईं जस्ता युवाका चलेका गीतहरूमा समेत उनले संगीत दिएका छन्। “म पश्चिमी वा भारतीय ध्वनिको नक्कल गर्दिनँ,” उनी भन्छन्, “म नेपाली ध्वनिको खोजी गर्छु, जुन हाम्रो परम्परामा जरा गाडेका र कर्णप्रिय छन्।”
ज्ञान हस्तान्तरण
नेपाल र नेपाली संगीतको मर्मज्ञ उनकी अमेरिकन श्रीमती आइलिन जियोभाना ओनिल अध्ययनताका लन्डनमै भेटिएकी हुन्। सँगै संगीत पढ्ने क्रममा गंगा र आइलिनको विचार मिल्यो र ती दुवै नेपालमा संगीत कर्ममा लिप्त छन्। ओनिल संगीतमा दुई-दुई वटा विधामा स्नातकोत्तर हुन्। श्रीमतीलाई नेपाल औधी मन पर्ने हुनाले पनि गंगालाई स्थायी रूपमै नेपालमा बस्न एउटा बलियो आधार भइदिएको छ। सन् २०१९ मा नेपाल फर्किएपछि कोभिडले केही वर्ष अवरोध गरे पनि यी दम्पतीलाई आफ्नो उद्देश्यबाट विचलित बनाएन। उनीहरूले सन् २०२१ मा ‘नाम्लो म्युजिक हब’ स्थापना गरे। पहिला ब्यान्डका रूपमा खोलिएको यसले पछि संगीत पनि सिकाउन थाल्यो। अहिले यो शिक्षालयमा ७० जना देशी-विदेशी विद्यार्थीले ‘इथ्नोम्युजिक’ सिकिरहेका छन्।
श्रीमती आइलिनका साथ गंगा।
यत्रो सकारात्मक चर्चाका बावजूद गंगाको यात्रा चुनौतीरहित भने छैन। नेपालको संगीत उद्योगमा म्युजिक प्रोड्युशर र ध्वनि उत्पादक जस्ता भूमिकालाई औपचारिक मान्यता नै छैन। “हामीसँगको ‘स्कोर’ लाई कपीराइट शीर्षकका रूपमा पनि राखिएको छैन,” उनी गुनासो गर्छन्, “सबैलाई संगीतकार भनिन्छ, तर मैले त संगीत बनाउने मात्र होइन, ध्वनि निर्माण नै गर्ने हो।” उनी नेपाली चलचित्र उद्योगमा चलिआएको परम्पराको आलोचना पनि गर्छन्। गंगा भन्छन्, “चलचित्र निर्माण गर्नेले भिजुअलमा खर्च गर्छन्, तर संगीत १५ दिनमा चाहिन्छ भन्छन्। गुणस्तर संगीतका लागि त समय नभई हुँदैन।”
यी चुनौतीका बावजूद गंगा आशावादी छन्। नाम्लो म्युजिक हब मार्फत संगीत पढिरहेका नयाँ पुस्ताले भोलि यी सबै बाधाअड्चनसँग लड्नेमा उनी आशावादी छन्। गंगा थापाको कथा सहनशीलता, सांस्कृतिक गर्व र कलात्मक नवीनताको कथा हो। स्याङ्जामा भावुक गीत गाउने बालकबाट नेपालको ध्वनिगत पहिचानलाई आकार दिने एथ्नोम्युजिकोलोजिस्टसम्मको यात्रामा उनले नेपालका विविध समुदायको आत्मालाई मूर्त रूप दिएका छन्। जार , जारी र आँखा का स्कोरहरू र नाम्लो मार्फत गरेका कामले नेपाली संगीतलाई उँभो मात्र लगाएको छैन, नयाँ पुस्तालाई आफ्नो सम्पदा अँगाल्न प्रेरित पनि गरेकाले गंगा साँचो अर्थमा नेपाली समाजका ‘आइकन’ हुन् भन्दा अतिशयोक्ति नहोला।