प्रदीप नेपाल बिदा हुँदा हामीले सिद्धान्तनिष्ठ सुवर्ण र जनपक्षीय साहित्यका सुन्दर शिल्पी सञ्जय थापालाई पनि गुमायौं।
सुशील प्याकुरेल
२०३४ सालदेखि भूमिगत संगठन को-अर्डिनेशन केन्द्रको गतिविधिमा संलग्न भए पनि प्रदीप नेपालसित मेरो चिनारी भने २०४६ सालको संयुक्त जनआन्दोलनबाट स्थापित बहुदलीय प्रजातन्त्रको पछि भएको हो। यद्यपि मेरो उनीसित योभन्दा अगाडि भेट नभएको होइन। २०३५ सालको विद्यार्थी आन्दोलनले देशव्यापी जनआन्दोलनको स्वरूप लिन थालेपछि राजा वीरेन्द्रले २०३६ जेठ १० गते जनमत संग्रहको घोषणा गरे। २०३७ वैशाख २० मा जनमत संग्रह सम्पन्न भयो। जनमत संग्रहको घोषणा र मतदानको केही पछिसम्म करीब डेढ वर्ष नेपालमा राजनीतिक वातावरण अलिक खुकुलो र खुला भयो। दलहरूले आफ्नो नामको अगाडि प्र. अर्थात् प्रतिबन्धित लेखेर सभा-जुलूस गर्ने छूट पाए। यसै समयलाई उपयोग गर्दै २०३५ सालमा संगठित गरिएको नेपाल कम्युनिस्ट पार्टी (माले)ले जनताको बीचमा पुग्ने र जनसमर्थनका आधारमा संगठन निर्माण गर्ने नीति लियो। त्यही नीति अनुरूप साहित्यकार कुन्ता शर्माको सम्पादनमा प्रकाशित हुँदै गरेको साहित्यिक पत्रिका संकल्प को नाममा ‘संकल्प गीति’ कार्यक्रमको आयोजना हुन थाल्यो। यसै वेला म र प्रकाश काफ्ले उद्योग पत्रकारिता र शिक्षण पेशामा संलग्न हुँदै हेटौंडामा राजनीतिक गतिविधि अगाडि बढाउँदै थियौं। संकल्प गीति कार्यक्रमलाई मकवानपुरका विभिन्न क्षेत्रहरूमा पुर्याउने र विगतदेखि नै माले समर्थकको राम्रो आधार रहेको हेटौंडा वरिपरि संगठन विस्तार गर्ने र जनतामा चेतना फैलाउने योजना बन्यो। यसै सन्दर्भमा हेटौंडामा रामेश, अरिम, मञ्जुल, कुन्ता, रामकृष्ण दुवाल, प्रमोद हमाल, जेबी टुहुरे आदिसित भेट गर्ने अवसर जुट्यो।
त्यस बखत नै मैले ‘सुवर्ण’ भन्ने व्यक्तिसित चिनजान गर्ने अवसर पाएँ। सुवर्ण परोक्षमा रामेश, मन्जुर र जेबीसित सरसल्लाह गरिराखेका हुन्थे। त्यस ताकाका हाम्रा पार्टी सम्पर्क कमरेड वरुण (मुकुन्द न्यौपाने)ले कमरेड सुवर्णलाई पार्टी कमरेड भनी परिचय गराएका थिए। पार्टी कमरेड भनेपछि कुन स्तरको वा कताको भनी सोध्ने गरिन्नथ्यो।
२०३७ वैशाख २० मा सम्पन्न जनमत संग्रहमा पञ्चायतको जित घोषणापश्चात् पञ्चायती निर्दलीय व्यवस्था विरुद्धको संघर्षका लागि संयुक्त जनआन्दोलनको आवश्यकताबारे पार्टीहरू पुनर्विचार गर्न बाध्य भए। जनआन्दोलनको सम्भावनालाई अगाडि बढाउन खुला संगठनको निर्माण गर्ने नीति बनायो। जनमत संग्रहको खुकुलो कालमै शिक्षक संगठन र मजदूर संगठनहरू निर्माण भइरहेका थिए। यसले जनआन्दोलनको आधार तयार हुँदै थियो। यसै बखत वीरगन्जका पत्रकार गोपाल गोतामेको घरमा बद्रीप्रसाद खतिवडा, प्रकाश काफ्ले लगायतको उपस्थितिमा मानव अधिकार हननको विषयलाई विश्व समक्ष प्रसारित गर्न नेपालको पहिलो मानव अधिकार संस्था ‘मानव अधिकार संरक्षण मञ्च’ को स्थापना भयो। लगत्तै पछि २०४१ माघमा संयुक्त जनआन्दोलनलाई अगाडि बढाउने उद्देश्य सहित राजनीतिक क्षेत्रमा सहकार्यका लागि ‘प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च’ को स्थापना गरियो। म मञ्चको महासचिवको हैसियतमा बढी राजनीतिक गतिविधिमा लाग्न थालें। पञ्चायती व्यवस्था विरुद्ध विभिन्न व्यक्तिहरूलाई संगठित गर्दै संयुक्त रूपमा आन्दोलनको विकासको परिस्थिति तयार गर्नु थियो तसर्थ काठमाडौंमा रहनुपर्ने आवश्यक भयो।
२०५० सालमा नेकपा (एमाले)ले काठमाडौंको सिफलमा आयोजना गरेको संसदीय उपचुनाव लक्षित चुनावी सभामा विद्यादेवी भण्डारी र प्रदीप नेपाल (सूर्य अंकित फेटा बाँधेका)। तस्वीर : विकास रौनियार
निर्दलीय पञ्चायत विरुद्धका पर्चा-पोस्टर र गुप्त प्रकाशन समेत छपाइ गर्ने उद्देश्यका साथ काठमाडौंको नरदेवीमा सुनकोशी छापाखाना स्थापना गरिएको थियो। अर्धभूमिगत पारामा सञ्चालन हुँदै गरेको छापाखानालाई व्यापारिक रूपमा सञ्चालन गर्दै प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको काम अगाडि बढाउने जिम्मा पाएँ।
नरदेवीको एउटा अँध्यारो छिंडीबाट छापाखाना कालीमाटीको ठूलो भवनमा सारियो। त्यहाँबाट वामपन्थी खेमाका साप्ताहिक पत्रिकाहरू दृष्टि , छलफल , प्रकाश आदि छापिन थाले। यसै सिलसिलामा पार्टीका तर्फबाट वाम पत्रिकाहरूको रेखदेख र सरसल्लाहका लागि एक जना व्यक्तिले भेट्ने सूचना आएको केही दिनपछि ती व्यक्तिसित भेट भयो। उनले हात मिलाउँदै ‘म सञ्जय थापा’ भनी आफूलाई चिनाए। परिचित व्यक्ति सुवर्णले अर्को परिचित नामबाट आफ्नो परिचय दिंदा म छक्क परें। सुवर्णको साहित्यिक नाम नै रहेछ सञ्जय थापा। सञ्जय थापाका लेखनहरू मैले धेरै पढिसकेको थिएँ। भूमिगत कालमा सञ्जय थापाका रचना पढ्नु आवश्यक मानिन्थ्यो।
सुवर्ण र सञ्जय थापा एकै व्यक्ति भए पनि काम भने फरक। सञ्जयको भूमिकामा फरासिलो, लचिलो तर सुवर्णको भूमिकामा निर्णय कार्यान्वयनमा सम्झौता नगर्ने कठोर व्यक्तिका रूपमा मैले अनुभव गर्न थालें। सञ्जयसितको भेट बाक्लिएसँगै सुवर्णसित भने पातलो हुँदै गयो, हाम्रो कार्यक्षेत्र फरक भएकाले। राजनीतिक संघर्षका योजनाहरू र आन्दोलनका कार्यहरूको तालमेलमा सुवर्णसँग बढी काम हुन्थ्यो भने पत्रकारिता, लेख आदि विषयमा सञ्जय थापासँग।
२०४७ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भएपछि भने मैले प्रदीप नेपाललाई चिन्ने मौका पाएँ। सञ्जय थापाले नै एकदिन आफूलाई प्रदीप नेपाल भनी चिनाए। प्रजातन्त्रको खुला वातावरणमा हामी मित्रमा परिणत हुन थाल्यौं। प्रदीप नेपालसितको सामीप्य बढ्दै जाँदा सुवर्ण भने धूमिल हुन थाल्यो। प्रदीप नेपालसितको सम्बन्ध राजनीतिक सहित पारिवारिक बन्न पुग्यो। पछि मात्र थाहा भयो– सुवर्णको सम्पर्कका लागि र सूचना आदानप्रदानको माध्यम बनेकी बिन्ती मिस त झुमा देवान रहिछन् र प्रदीप नेपालको अर्धांगिनी।
मैले भोगेका सुवर्ण र सञ्जयभन्दा प्रदीपलाई पृथक् भेटें। नेकपा (माले)का तत्कालीन नेताहरूमा प्रदीप नेपालले मात्र कम्प्युटर चलाएको देखेको हो। आधुनिक यन्त्रहरूको समुचित उपयोग गर्न नसक्ने र वैज्ञानिक आविष्कारलाई जनताको पक्षमा लगाउन नसक्ने व्यक्ति कसरी कम्युनिस्ट हुन्छ हुने बारम्बार भनिरहन्थे प्रदीप।
२०४९ सालमा सुवास नेम्वाङ राष्ट्रिय सभा सदस्य हुँदा हाम्रो सल्लाहमा फागुन ३ गते उच्चस्तरीय मानव अधिकार आयोग गठन गरियोस् भन्ने संकल्प प्रस्ताव दर्ता गराए, तर नेपाली कांग्रेसका सांसदहरूको नकारात्मक मतदानले सो प्रस्ताव पारित भने भएन। पछि त्यही प्रस्तावको परिणाम भयो– मानव अधिकार आयोग ऐन।
२०५१ सालको मध्यावधि चुनावको घोषणापत्र टाइप गर्दै गरेका प्रदीप नेपालको कोठामा म पुगेको थिएँ एकदिन। त्यतिखेर नेकपा (एमाले)को कार्यालय बागबजारमा थियो। मानव अधिकार सम्बन्धी राष्ट्रिय आयोगको स्थापना हुनुपर्छ भन्ने प्रस्तावलाई हराइए पनि मानव अधिकार आयोगको स्थापनाको मुद्दा समाप्त भएको थिएन। नेकपा एमालेले आफ्नो घोषणापत्रमा मानव अधिकार आयोग स्थापना गर्नुपर्नेछ भन्ने कुरो उल्लेख गर्नुपर्छ भन्ने हाम्रोबीच कुराकानी भयो। प्रदीपले घोषणापत्रमा समावेश टाइप गरे, ‘… मानव अधिकार सम्बन्धी राष्ट्रिय आयोगको स्थापना गरी त्यसलाई वैधानिकता प्रदान गरिनेछ।’ (नेकपा एमालेको चुनाव घोषणापत्र-२०५१ , पेज ३०)
२०५१ सालमा काठमाडौं बल्खुस्थित एमालेको केन्द्रीय कार्यालयमा भएको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री मनमोहन अधिकारीको मन्तव्य टिपोट गर्दै प्रदीप नेपाल। तस्वीर : विकास रौनियार
२०५१ सालको चुनावमा नेकपा (एमाले) संसद्मा पहिलो दल बन्न पुग्यो। मनमोहन अधिकारीको प्रधानमन्त्रित्वमा एमालेले सरकार बनायो। त्यो सरकारका कानूनमन्त्री भए सुवास नेम्वाङ अनि सञ्चारमन्त्री प्रदीप नेपाल। सुवास कानूनमन्त्री हुनुलाई हामीले अवसरका रूपमा लियौं र प्रदीप नेपाल सञ्चारमन्त्री हुनु झनै सहयोगी अवसर प्राप्त भयो। त्यस ताका सरकारमा गएका मन्त्रीहरूले सम्बन्धित विषयका ज्ञाता र काम गरिरहेकाहरूसित छलफल र सहयोग लिने प्रचलन थियो। अहिले जस्तो कर्मचारीको भरमा मात्र रहने थिएनन्। यस विषयमा फोनमा कुरा हुनासाथै प्रदीपले मलाई बिहानै मन्त्री निवासमा बोलाए। म उनको निवासमा पुग्दा सुवास त्यहीं थिए। गजबको संयोग जुरेको थियो। जसले संकल्प प्रस्ताव टेबल गरेका थिए, उनै कानून बनाउने ठाउँमा पुगेका थिए।
सुवासले हाम्रो बीचमा सल्लाह भए अनुसार कानून सुधार आयोगका अध्यक्ष तीर्थमान शाक्यलाई राष्ट्रिय मानव अधिकार आयोग विधेयक ड्राफटमा काम थाल्न भने।
आयोग विधेयकको ड्राफ्टमा मानव अधिकारकर्मीहरू छलफलमै रहेको समयमा अचानक मनमोहन सरकार ढल्न पुग्यो। तर संयोग नै मान्नुपर्छ, सुवास नेम्वाङको प्रस्तावलाई असफल बनाउने नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्यहरूमध्येबाटै महेश आचार्यले मानव अधिकार आयोग ऐन विधेयक राष्ट्रिय सभामा फेरि दर्ता गरे।
आफ्नो घोषणापत्रमा उल्लेख भएको कुरो अर्को दलले अगाडि बढाउँछ भन्ने त्यसलाई सहयोग गर्नुपर्छ भन्ने हाम्रो भनाइमा प्रदीप नेपाल दृढ भएर उभिए, यद्यपि नेकपा एमालेका कतिपय सांसदहरू नेपाली कांग्रेसलाई त्यो अवसर दिनुहुन्न भन्ने पक्षमा थिए। किनभने नेकपा एमालेका तर्फबाट मानव अधिकार आयोग स्थापनाका लागि गरिएको प्रस्तावलाई कांग्रेसका सदस्यहरूले विफल बनाइदिएका थिए। तर प्रदीप नेपालले आफ्नो पार्टीमा दृढतापूर्वक यस विषयलाई अगाडि बढाए। परिणामत: माथिल्लो सदनमा दर्ता भएको निजी विधेयकका रूपमा राष्ट्रिय मानव अधिकार आयोग विधेयक तल्लो सदनबाट पनि पारित भयो। र, मानव अधिकार आयोग ऐन निर्माण भयो २०५३ सालमा। यसरी नेपालको मानव अधिकार आन्दोलनलाई कानूनी मान्यता र संस्थागत रूप दिने काममा प्रदीप नेपालको ठूलो योगदान रहेको छ।
२०४९ सालमा थाई एयर दुर्घटनामा प्रकाश काफ्लेको निधन भएपछि मेरो विचलित अवस्थामा मलाई काममा लागिराख्न प्रेरणा, ढाडस र सहयोग गर्ने व्यक्ति थिए प्रदीप। २०५१ सालमा प्रदीप सञ्चारमन्त्री भएपछि मानव अधिकारवादी संस्थाहरूलाई आवश्यक टेलिफोन र फ्याक्स उपलब्ध गराउन शुरूआत गराए। नेपालमा पहिलो पटक रेडियो नेपाल बाट मानव अधिकार कार्यक्रमको शुरूआत पनि गराए। मानव अधिकारकर्मीलाई उचित सम्मान दिनुपर्छ भन्ने प्रदीपको दृढ विश्वास थियो। उनले दिवंगत भएका नेपालको पहिलो मानव अधिकार संस्थाका संस्थापक महासचिव प्रकाश काफ्ले अंकित हुलाक टिकटमा आफैं टाँचा लगाए। पछि हृषीकेश शाहको पनि चित्र अंकित हुलाक टिकट प्रकाशन भयो। वाम विचारका मानव अधिकारकर्मी र संस्थाबीच सहकार्य बढाउँदै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको क्षेत्रमा काम गर्न मानव अधिकार सञ्जाल ‘मानव अधिकार तथा सामाजिक न्याय मञ्च ‘अलायन्स’ को स्थापनामा पनि प्रदीप नेपालको संलग्नता थियो। तर त्यस बखत ‘अलायन्स’ पार्टीको भ्रातृ संगठन थिएन। स्वतन्त्र अस्तित्व थियो अलायन्सको।
२०६० सालतिर प्रदीपलाई टाउकाको नशा सम्बन्धी रोगले च्याप्न थाल्यो। टाउकाको अप्रेशन भयो। स्वास्थ्य बराबर कमजोर हुन थाल्यो। तर उनको लेखन र मानसिक अवस्था उत्तिकै सक्रिय थियो। प्रदीपले न त सुवर्णलाई छोड्न सके न त सञ्जयसित बिदा लिए। दुइटैलाई साथसाथै हिंडाउने प्रयास गरिराखे, तर शिथिल बन्दै गएको शारीरिक अवस्थाले उनलाई साथ दिएन। मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादका प्रखर प्रवक्ता थिए प्रदीप। हकी स्वभावका प्रदीप नबिराउनू नडराउनू भन्ने उक्तिको दृढ प्रयोगकर्ता थिए। सक्रियताका पर्याय बनेका प्रदीपलाई हामीले गुमाएका छौं। सँगसँगै सिद्धान्तनिष्ठ सुवर्ण र जनपक्षीय साहित्यका प्रखर हस्ती सञ्जय थापालाई पनि गुमायौं। नेपालको क्षितिजबाट राजनीतिक नेता सुवर्ण, साहित्यकार सञ्जय र राष्ट्रिय नेता प्रदीप एकैपटक अस्ताएका छन्। श्रद्धाञ्जली!
यो पनि पढ्नुहोस्
प्रदीप नेपाल : दुई फोटोले बुनेका स्मृति