भूमिगत जलभण्डारको अत्यधिक दोहन र पानी पुनर्भरणमा सघाउने तालतलैया मासिंदै जाँदा बाँकेमा पानीको अभाव बढ्दै गएको छ।
बाँकेको बैजनाथ गाउँपालिका–३, रामनगरकी विष्णु बादीलाई चार-पाँच वर्षअघिसम्म खानेपानीको दुःख थिएन। घरमा रहेको नल्का (हातेपम्प) बाट पानी आउँथ्यो। तर त्यसयता पानी सुक्दै जाँदा अहिले त ठप्पै भएको छ।
आफ्नोमा पानी सुकेपछि उनी छिमेकीको हातेपम्पको पानी मागेर चलाउँछिन्। “तर छिमेकीले पनि कहिलेकाहीं नल्काको हत्ता नै खोलेर राख्छन् र आपत् पर्छ,” उनी भन्छिन्।
उनी सहित तीन घरपरिवार उनकै हातेपम्पमा निर्भर थिए। त्यो सुकेपछि खानेपानी जुटाउनु उनीहरूका लागि संघर्ष जस्तै बनेको छ। बिहान उठ्ने बित्तिकै पानी जुटाउने चिन्ताले पिरोल्ने गरेको उनी सुनाउँछिन्।
खानेपानी लिन दिनहुँ दुई किलोमिटर टाढाको सार्वजनिक हातेपम्पमा पुग्नुपर्ने बाध्यता छ। वरिपरिका जमीनभन्दा होचो ठाउँमा रहेकाले पर्याप्त पानी आउने हातेपम्पको पानी पिउन मात्र उपलब्ध हुन्छ। नुहाउन र लुगा धुन भने भाडाको अटो चढेर दुई-तीन किलोमिटर टाढा पर्ने चिसापानी खोलासम्म जानुपर्छ।
“खानेपानी एकैचोटि धेरै ल्याउन सकिंदैन। कामको चापका कारण कहिलेकाहीं आफूले नभ्याउँदा बच्चालाई पनि पठाउनुपर्ने बाध्यता छ। हाम्रो समस्या कसले देख्छ र सुन्छ?”
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२, बेलासपुरका दीपक मल्ल पनि पानीको अभाव खेपिरहेका छन्। वडामा रहेको मरघटिया ताल मासिएपछि पानीको समस्या शुरू भएको उनको भनाइ छ।
“ताल भएको वेला बस्तीका सबै नल्कामा प्रशस्त पानी आउँथ्यो। उपमहानगरले ताल मासेपछि पानीको समस्या शुरू भयो,” उनी भन्छन्।
बेलासपुरको मरघटिया ताल पुुरेर त्यहाँको करीब ६ कट्ठा सार्वजनिक जग्गामा २०७८ सालमा एभिएशन म्यूजियम स्थापना गरिएको थियो। १० वर्षसम्म उक्त जग्गा उपयोग गर्न दिनेगरी उपमहानगरपालिका र म्यूजियम सञ्चालन गर्ने वेद उप्रेती ट्रस्टबीच सम्झौता भएको थियो। विद्यार्थीलाई हवाई ज्ञान दिने, पर्यटन प्रवर्द्धन पनि गर्ने भन्दै पुरानो जहाज ल्याएर एक करोड ८० लाख रुपैयाँ लगानीमा स्थापना गरिएको म्यूजियम सञ्चालनको दुई वर्षमै बन्द भयो। ताल मास्ने पालिकाको उल्टो बाटोले स्थानीयवासीलाई प्यास थमाइदियो।
नेपालगन्ज उपमहानगरपालिका-१२, बेलासपुरतालस्थित ताल पुरिएको ठाउँ, जहाँ एभिएशन म्यूजियम स्थापना गरिएको थियो।
बाँकेमा भूमिगत पानीको सतह घट्न थालेपछि पानीको अभाव गहिरिंदै गएको छ। पछिल्ला केही वर्षमा बाँके जिल्लामा २३७ वटा साना-ठूला तालतलैया मासिएका छन्। राष्ट्रिय ताल संरक्षण विकास समितिले ११ वर्षअघि गरेको अध्ययनमा आधारित उक्त तथ्यांक चार वर्षअघि सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्रिय ताल संरक्षण विकास समितिको तथ्यांक अनुसार ताल धेरै मासिएका जिल्लामध्ये बाँके तेस्रो स्थानमा पर्छ। सन् १९९२ देखि २००१ सम्म नापी विभागद्वारा प्रकाशित टोपो नक्शा अध्ययन गरेर उकेशराज भुजू लगायतको टोलीले राष्ट्रिय ताल संरक्षण विकास समितिका लागि गरिएको अध्ययनमा बाँकेमा २४३ वटा प्राकृतिक ताल रहेको निष्कर्ष निकालेको थियो। तर तीमध्ये २३७ वटा साना-ठूला तालतलैया मासिइसकेका छन्।
तालतलैया मासिंदै जाँदा भूमिगत पानीको सतह घटेर अहिलेको अवस्था आएको जानकारहरू बताउँछन्। खानेपानी तथा सरसफाइ कार्यालय, नेपालगन्ज–बाँकेका सूचना अधिकारी तथा प्राविधिक अधिकृत खगेन्द्र खत्रीका अनुसार तालतलैया वर्षाको पानी सञ्चित गरेर जमीनभित्र पुर्याउने प्राकृतिक प्रणाली हुन्। त्यही भूमिगत पानी नल, हातेपम्प वा बोरिङ मार्फत तानेर प्रयोग गरिन्छ। “जब ताल सुक्छन्, पानी जमीनमुनि पुग्दैन र पुनर्भरण प्रक्रिया अवरुद्ध हुन्छ। यही कारणले बाँके क्षेत्रमा पानीको संकट बढिरहेको छ,” उनी भन्छन्।
बाँकेमा ८३ दशमलव ८४ प्रतिशत घरधुरीको खानेपानीको स्रोत भूमिगत पानी हो। यस क्षेत्रमा पहिल्यैदेखि भूमिगत पानीमाथिको निर्भरता उच्च छ। जिल्लामा रहेका जलाशय सौन्दर्यका प्रतीक मात्र नभई भूमिगत पानीको पुनर्भरण गर्ने मुख्य स्रोत थिए। तर जमीनमुनिको पानीको अत्यधिक दोहन भइरहने र पुनर्भरणमा सघाउने तालहरू मासिएर भूमिगत पानीको सतह घटिरहने समस्या बाँकेवासीले भोग्न थालेका हुन्।
भएका ताल पनि संकटमा
नेपालगन्ज उपमहानगरपालिकाभित्रको कान्ति ताल पछिल्लो समय अस्तित्वको संकटमा छ। यो ताल २०७८ सालमा नौ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। २५ बिघा क्षेत्रफलमा फैलिएको ताल संरक्षणको अभावमा सुक्दै गएको छ।
ताल जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण थियो। हरेक वर्ष विभिन्न देशबाट आगन्तुक चराहरू आउने ताल क्षेत्र विश्वमै दुर्लभ सारस सहित ३२ प्रकारका चराको वासस्थान थियो। साथै, तीन प्रकारका कमल फुल्ने ताललाई पर्यावरणविद्हरूले जैविक विविधता र चरा अवलोकनस्थलका रूपमा विकास गर्न सकिने सम्भावना औंल्याएका थिए। तर पछिल्लो समय ताल क्षेत्रमा चराको संख्या घट्दै गएको छ। माछा मार्ने, माछापालन व्यवसाय गर्ने जस्ता गतिविधिका कारण तालको सुन्दरता र पर्यावरणीय प्रणाली बिथोलिंदै गएको छ।
कान्ति ताल : पानी विनाको ताल बन्दै। इन्सेटमा केही वर्षअघिसम्म तालमा देखिने गरेको चराको चलखेल।
नेपालगन्ज उपमहानगरपालिका-१ मा रहेको वाटरपार्कको अवस्था पनि दिनानुदिन खस्किंदै गएको छ। ६५ बिघा क्षेत्रफलमा निर्माण गरिएको पार्कमा १० बिघा तालका रूपमा छ। बाँकी क्षेत्रमा आधुनिक बस्ती बनाउने योजना अघि सारिएको छ। पर्यटकीय आकर्षणका लागि मोटरबोट सञ्चालन गरिएको तालको संरक्षणमा ध्यान नदिइँदा यहाँको पानी प्रदूषित हुँदै गएको छ।
नेपालगन्ज उपमहानगरपालिका-१ मा रहेको वाटरपार्क।
यस्तै, नेपालगन्ज-६ मा रहेको फूलटेक्रा तलाउमा अहिले छिपछिपे मात्रै पानी छ। तलाउको किनारमा स्थानीयवासीले फोहोर फाल्ने गरेका छन्। वडा नम्बर १८ मा रहेको लग्दवा तलाउ एक समय ठूलो क्षेत्रफलमा फैलिएको थियो। अहिले मानव बस्तीको अतिक्रमणका कारण खुम्चिएको छ। यस्तै, बाँकेका नानापुर तलाउ, डुडुवाको बनकट्टा ताल, फुटाहा ताल, रानी तलाउ, तेरी ताल र सुतैया तालको अवस्था पनि दयनीय छ।
नेपालगन्ज-६ स्थित फूलटेक्रा तलाउ।
भूमिगत पानीको घट्दो सतह
राष्ट्रिय जनगणना, २०७८ अनुसार बाँकेको जनसंख्या ६ लाख तीन हजार ३९३ छ। यसमध्ये १६ दशमलव १६ प्रतिशत अर्थात् ९७ हजार जनताले मात्र खानेपानी आयोजना अन्तर्गतको पानी उपभोग गरिरहेका खानेपानी तथा सरसफाइ कार्यालय बाँकेको तथ्यांक छ।
बाँकी ८३ दशमलव ८४ प्रतिशत अर्थात् करीब पाँच लाखभन्दा बढी बासिन्दा डीप बोरिङ, मोटर, हातेपम्प, इनार जस्ता भूमिगत पानी र बजारमा उपलब्ध जारको पानीमा निर्भर छन्।
खानेपानी आयोजनाले पनि डीप बोरिङबाट निकालेकै पानी वितरण गर्दै आएको छ। भूमिगत जलभण्डारको अत्यधिक दोहन र पानीको पुनर्भरण प्रणालीमा अवरोध हुँदा भूमिगत पानीको सतह घट्ने क्रम तीव्र भएको खानेपानी तथा सरसफाइ कार्यालय, नेपालगन्जका प्राविधिक अधिकृत खत्री बताउँछन्।
मानव बस्तीको अतिक्रमणका कारण खुम्चिएको नेपालगन्ज-१८ मा रहेको लग्दवा तलाउ।
अर्कातिर, वर्षाको प्रणालीमा परिवर्तन आएर छोटो अवधिमा धेरै वर्षा हुने अस्वाभाविक प्रवृत्ति तथा शहरी क्षेत्रमा सबैतिर कंक्रिटका संरचनाका कारण वर्षाको पानी जमीनमा सोसिन नपाउँदा पानी पुनर्भरणको प्राकृतिक प्रक्रियामा असर परेको छ। तालतलैया मासिंदै जाँदा बाँके क्षेत्रमा भूमिगत पानीको तह बर्सेनि औसतमा दुई मिटरको दरले घटिरहेको उनी बताउँछन्।
“ताल मासिनु भनेको पानीको मुहान नै मासिनु हो। विशेषगरी तराई क्षेत्रमा तालतलैयाको भूमिगत पानी पुनर्भरणमा ठूलो भूमिका हुन्छ,” खत्री भन्छन्, “जमीनमाथि नदी जस्तै जमीनमुनि ‘बाइ–लेयर’ प्रणालीमा पानी प्रवाह भइरहेको हुन्छ। तर जब सतहका जलस्रोत सुक्न थाल्छन्, भूमिगत नदीहरू पनि सुक्दै जान्छन्।”
समाधान के?
प्राविधिक अधिकृत खत्रीको भनाइमा पानीको संकट समाधान गर्न पानी पुनर्भरण प्रविधिमा काम गर्नुपर्छ।
उनका अनुसार खानेपानी आयोजना अन्तर्गत डीप बोरिङ गरिएको क्षेत्रमा पानी पुनर्भरणका लागि सानो पोखरी बनाउने गरिएको छ। पछिल्लो समय ती पोखरी संरक्षणको अभावमा मासिंदै गएका छन्।
“ताल नहुनु र वर्षाको पानी संकलन तथा सञ्चित नगर्नु भूमिगत जलस्रोत सुक्ने प्रमुख कारण हो। यसैले स्थानीय सरकारहरू तालतलैयाको संरक्षण र पुनःस्थापनामा गम्भीर हुनुपर्छ,” उनी सुझाव दिन्छन्। यसका साथै घर घरमा साना पोखरी तथा आँगनमा पानी सोस्न सक्ने गरी बनाइयो भने त्यसले पुनर्भरणमा योगदान भएर भूमिगत पानीको तह घट्न दिंदैन।
भूमिगत जलस्रोत विज्ञ रमेश गौतमका अनुसार भूमिगत जलस्रोतलाई पुनर्भरण गर्ने सबैभन्दा प्राकृतिक र प्रभावकारी माध्यम तालतलैया हुन्। भूमिगत जलस्रोतलाई ‘डाइनामिक रिजल्ट’ वा ‘रिन्यू रिजल्ट’ भनिन्छ, जुन निकाल्ने र फेरि भर्ने प्रक्रिया निरन्तर चलिरहन्छ। यो प्रक्रिया ‘भर्टिकल प्रकुलेसन’ बाट हुन्छ, अर्थात् माथिबाट खसेको पानी जमीनमा सोसिएर भूमिगत तहमा पुग्छ।
पहिले हरबखत पानी पाइने नेपालगन्ज उपमहानगरपालिका-१२ मा अहिले सुक्खा छ।
बाँकेमा भर्टिकल प्रकुलेसनको प्रक्रिया प्रभावकारी रूपमा हुन नसकेको गौतम बताउँछन्। उनका अनुसार आकाशबाट खसेको पानीमध्ये १५ प्रतिशत मात्र भूमिगत तहमा पुग्छ, २५ प्रतिशत पानी गर्मी याममा बाफ बनेर उड्छ र बाँकी पानी सतहबाटै बगेर जान्छ।
गौतमका अनुसार भूमिगत जलभण्डार सिञ्चित गर्ने महत्त्वपूर्ण माध्यम तालतलैया मासिएका कारण बाँके क्षेत्रमा जल पुनर्भरण प्रक्रिया कमजोर हुँदै गएको छ। तालतलैया नभएपछि वर्षा याममा पर्ने अधिकांश पानी सतहबाट बगेर जान्छ, र भूमिगत जलको तह भरिन पाउँदैन।
बढ्दो शहरीकरण र जमीनको दुरुपयोगले पानी पुनर्भरणलाई थप चुनौती दिएको छ। भूमिगत पानी पुनर्भरणको प्रक्रिया भर्टिकल प्रकुलेसन बाहेक अरू माध्यमबाट सम्भव नभएको गौतम बताउँछन्। विगतमा धान खेतीबाट करीब ४० प्रतिशत पानी पुनर्भरण हुन्थ्यो। तर पहिले खेती गरिने जमीन प्लटिङमा परिणत भइरहेका छन्।
भूमिगत जलभण्डारका तीन तहमध्ये सर्वसाधारणले हातेपम्पबाट पानी निकाल्ने तह सबैभन्दा माथिल्लो तह हो। यो तह सुलभ र सस्तो माध्यम हो। तर जब माथिल्लो तह सुकेर तल्लो तहबाट पानी निकाल्नुपर्ने अवस्था आउँछ, त्यसमा अत्यधिक खर्च र प्रविधिको आवश्यकता हुन्छ। यो आमनागरिकको पहुँच बाहिरको कुरा हुन जान्छ। घरायसी उपभोक्ताले प्रयोग गर्दै आएको भूजल तहलाई पछिल्लो समय पानी उद्योगी, होटल व्यवसायी र स्वीमिङ पुल सञ्चालन गर्ने व्यवसायीले अत्यधिक प्रयोग गरिरहेका कारण त्यो सतह सुकेको गौतम बताउँछन्।
उनका अनुसार गुरुयोजना विना गरिएको विकास र शहरीकरणले पानीको संकट झनै गहिरो बनाएको छ। स्थानीय सरकारले तालतलैया पुरेर विकास पूर्वाधार र बस्ती निर्माण गर्नु प्रकृतिको नियम विपरीत रहेको उनी औंल्याउँछन्।
“कुन ठाउँमा ताल बनाउने, कहाँ बस्ती बसाउने भनेर प्रकृतिले नै निर्धारण गरेको हुन्छ, तर हामी प्रकृतिलाई छेडखानी गर्दै छौं,” गौतम भन्छन्, “प्रकृतिले दिएको सन्तुलनलाई हामीले जोगाउन सक्नुपर्छ। नयाँ प्राकृतिक जलभण्डार बनाउन सक्दैनौं भने कम्तीमा पनि भएकालाई नमासौं।”
पानीको सतह घट्दा पानीको अभावसँगै वातावरणीय असन्तुलन पनि देखिने भएकाले निकै संवेदनशील हुनुपर्ने उनको सुझाव छ। नेपालगन्जमा बढ्दो गर्मीको पृष्ठभूमिमा उनी भन्छन्, “भूमिगत पानीको सतह घट्दै गयो भने बिरुवाका जराले पानी भेट्दैनन्, जसले गर्दा तापक्रम झनै बढ्छ। तालतलैया संरक्षण गरियो भने पानी पुनर्भरण हुन्छ, तापक्रम सन्तुलनमा आउँछ, र सिंगो वातावरणमा सकारात्मक प्रभाव पर्छ।”