माटाका भाँडा बनाएर मानिसको जीवन सहज बनाउन श्रम-सीप खर्चने कुमालहरू विगतमा राज्यबाट भोगेका सास्ती र उत्पीडनकै कारण अहिलेसम्म पनि सीमान्तीकृत छन्।
राजकुमार दिक्पाल
माटाका भाँडा बनाउनु कुमाल जातिको मूल पहिचान हो। संस्कृतको ‘कुम्भकार’ शब्द अपभ्रंश भएर कुमाल बनेको मानिन्छ। कुम्भको अर्थ घैंटो र कारको अर्थ गर्ने/बनाउने भन्ने हुन्छ।
कुमालमध्ये नेवार सम्प्रदायभित्रकाले आफ्नो थर प्रजापति र मधेशी सम्प्रदायकाले पण्डित लेख्ने गरेका छन्। जयस्थिति मल्लको पालामा बसाइएको थितिमा कुमाल जातिको व्यवस्थाबारे उल्लेख छ। त्यसमा ‘माटाका भांडा बनाई सरकारलाई दस्तुर दिएर बेचनू। सुतक १० दिन बार्नू। पुरोहित गुभाल वा आचार गर्नू’ (प्राचीन नेपाल संख्या १७-कात्तिक २०२८ः२) भनी लेखिएको छ। तर यो व्यवस्था उपत्यकामा रहेका नेवार कुमाल (प्रजापति)का हकमा लागू भएको हो।
ऐतिहासिक पत्रहरूमा कुमाल र नेवार कुमाल भनी छुट्टाछुट्टै उल्लेख गरिएको पाइन्छ। यस लेखमा भने आफूलाई प्रजापति र पण्डित नभई कुमाल वा कुम्हाल मात्र लेख्ने जातिको इतिहास खोतल्ने प्रयास गरिएको छ। किनकि प्रजापतिहरू नेवारमा र पण्डितहरू मधेशीमा सूचीकृत छन्। कुमालहरू चाहिं आदिवासी-जनजातिमा छुट्टै अस्तित्व र पहिचान सहित सूचीकृत छन्।
थारूसँग निकट?
कुमालहरू दार्चुला, डोल्पा र जाजरकोट बाहेक बाँकी सबै जिल्लामा आवाद छन्। तुलनात्मक रूपमा दोलखा, भोजपुर, धादिङ, गोरखा, नवलपरासी, संखुवासभा, पाल्पा र पर्वतमा उनीहरूको आवादी बढी छ। राष्ट्रिय जनगणना, २०७८ अनुसार कुमालहरूको संख्या एक लाख २९ हजार ७०२ छ। उनीहरूको छुट्टै मातृभाषा छ।
कुमालहरूको पूर्वी नेपालतिरको आवादी खुल्ने २१३ वर्षअघिको एक रुक्का इतिहासकार भगिराज इङ्नामले लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (२०७७ः३१४-१५)मा प्रकाशन गरेका छन्। विसं १८६८ असार वदी ३० शुक्रबारका दिन जारी गरिएको अरुण पूर्व र कनका टिस्टापूर्वका विभिन्न जातिले राज्यलाई बुझाउनुपर्ने उपहारबारे दायित्व तोकेर पठाइएको उक्त रुक्कामा कुमालहरू पनि परेका छन्।
पूर्वी नेपालतिर कुमालहरूको आवादी खुल्ने रुक्काको नक्कल। स्रोत : भगिराज इङ्नाम
कुमालभित्र खत्री, ठिन्ठिने खत्री, बगाले, अर्घाली, खिसुली, प्यूठानी, सप्लुङे, कइर, पोख्रेल, ओग्रेली, लाहुरे खत्री, राना, मगराते, गोहुङ्गे, पोस्थरे, साप्कोटा, बढघरे, हर्दिया थर हुन्छन्। यस्तै राङ्ग, डोर्याउने, माझकोटे, साविगे, राजपुत, बोसखरे, हदौली, वरिखोर, चप्कोटे, गोर्सने, मसुको, अडमइया मुसके, पाल्पाली, पर्वते, स्याङ्जाली, नयाँ चाउतारे राना आदि पनि कुमालका थर हुन्। कुमालहरू सामाजिक र आर्थिक रूपमा सीमान्तीकृत जातिभित्र पर्छन्।
प्रसिद्ध मानवशास्त्री डोरबहादुर विष्टले मुख्यगरी २२ जातिलाई समेटेर तयार पारेको चर्चित कृति सबै जातको फूलबारी मा कुमाललाई छुट्टै जातिका रूपमा उल्लेख गरेका छैनन्। यसबाट लामो समयदेखि छुट्टै अस्तित्व र पहिचान बोक्दै आएका कुमालहरू ओझेल परेको देखिन्छ।
इतिहास शिरोमणि बाबुराम आचार्यले भने कुमालहरूलाई थारू जातिको एक शाखाका रूपमा प्रस्तुत गरेका छन्। उनले प्राचीनकालको नेपाल (२०६०ः४३)मा थारूहरू तराईको पूर्वदेखि पश्चिमसम्म फैलिएर रहेको र उनीहरूभित्रै कुमाल र दनुवार गरी दुई थरी उपसमूह प्रसिद्ध भएको जनाउँदै उनीहरू प्राचीनकालमै महाभारत पर्वतमाला पार गरेर वर्तमान नेपालको पहाडी प्रदेशमा आवाद हुन पुगेको उल्लेख गरेका छन्।
मासिन्या मतुवाली
जंगबहादुर राणा बेलायत भ्रमणबाट नेपाल फर्केपछि विसं १९१० मा मुलुकी ऐन लागू गरे जसले अपराधमा जात अनुसार दण्डको व्यवस्था गर्यो। ऐनमा हाल आदिवासी जनजातिमा सूचीकृत खासगरी पहाडी समुदायलाई ‘मतुवाली’ भनी लेखिएको छ। मतुवालीलाई पनि ‘मासिन्या’ र ‘नमासिन्या’ भनी दुई वर्गमा छुट्याइएको छ। कुमाललाई मासिने मतुवालीमा पारिएको थियो।
तत्कालीन कानून तथा न्याय मन्त्रालयले प्रकाशन गरेको श्री ५ सुरेन्द्रविक्रम शाहदेवका शासनकालमा बनेको मुलुकी ऐन (२०२२ः३६७) पल्टाउँदा ‘मासिन्या ज्यू अमालिले लिन्याको’ महलमा ‘भोट्या चेपाङ माझि दनुवार हायु दरै कुमाल पहरि गैह्र मासिन्या जात’ भन्ने उल्लेख भएकाले यी जातिलाई मासिनेमा राखिएको स्पष्ट हुन्छ। त्यस वेला ‘मासिन्या मतुवाली’ भनी किटान गरिएका आदिवासी जनजाति समूह नै आज पनि सीमान्तीकृत जातिका रूपमा संंघर्ष गरिरहेका छन्। इतिहासमा कुमालहरूले शासक वर्गबाट प्रशस्तै सास्ती बेहोर्नुपरेको थियो।
जातीय उत्पीडन
कुमालहरूले भोगेको जातीय उत्पीडनको एउटा ऐतिहासिक घटना यस्तो छ-
विसं १९७२ माघमा रञ्जितनाथ योगीका कुले नामका एक छोराको कान चिरिन्छ। नाथ सम्प्रदायमा यस्तो परम्परा छ। पछि ती बालक जोगिनीबाट नभई कुमालनीबाट जन्मेको पत्ता लागेपछि विवाद हुन्छ। त्यहाँका जोगी मण्डलको महत्त्वपूर्ण अखडा रतननाथमा जाहेरी पर्छ। दोषी ठहर्याइएकाहरूले विसं १९७१ फागुन १९ गते बुधबार तोकिए अनुसारको सजाय भोग्ने ‘कायलनामा’ गर्छन्। तिनैमध्येका प्यूठान भित्रिकोट दाङ्खा बस्ने हिरानाथ र भीमनाथले गरेको कागजमा ‘रंजित नाथको छोरो कुले भन्ये कुमालनीवाटको छोरो हुनाले दां प्युठाना मण्डलका जोगीले अचलमानै ठेकेका थिये पाल्पा ईलाकेरिणी भैरौनाथ वस्ने दुर्गानाथ जोगीलाई मेरो छोरा कुलेको कान्चीरि देउ भनि रंजित नाथले भन्दा यो कुमाल्नीवाटको छोरा हो. दां प्युठान मण्डलवाट ठेकेको हो भनि हामिले स्मेत न भनेको र कान्चीरनामा मत हामिले स्मेत् दियेको हुनाले आडर तिथि भित्रमा वारापंथको तजविजको सजाय सहुला’ भन्ने उल्लेख छ।
यस्तै ती बालकको कान चिर्ने काम गरेका दुर्गानाथले ‘रञ्जितनाथ समेत तीन जना र अरू नाम थाहा नभएका दुई-चार जनाले आफूलाई ती बालक कुमालनीबाट जन्मेको छोरो हो भनी कुनै जानकारी नदिएकोले आफूले जोगिनीकै छोरा होलान् भनी कान चिरिदिएको र यदि कुमालनीको छोरा भएको थाहा भएको भए उनको कान चिरिदिने थिइनँ’ भन्ने कागज गर्दै ‘यो गल्तीबाट तोकिएको सजाय भोग्न तयार भएको’ उल्लेख गरेका छन्।
दाङ-प्यूठान क्षेत्रका नाथ सम्प्रदायका रञ्जितनाथले कुमाल महिलालाई विवाह गर्दा जन्मेका बालकको कान चिरिएको उक्त विषयमा ठूलो कचहरी बसेको र त्यसमा संलग्न भनिएका व्यक्तिहरूले तजबिज अनुसारको सजाय भोग्न तयार भई गरिदिएको जवानबन्दी कागज योगी नरहरिनाथले इतिहास प्रकाशका सन्धिपत्र सङ्ग्रह भाग १ (२०५५ः४८३)मा प्रकाशमा ल्याएका छन्।
त्यस क्षेत्रको रतननाथ जोगी मण्डलका लागि कुमालहरूले पहिल्यैदेखि घडा बुझाउनुपर्ने चलन थियो। योगी (२०५५ः४६५)ले प्रकाशन गरेको विसं १८७९ फागुन सुदी ७ रोज २ को पत्रमा ‘देउषुरिका कुमाल्याहरूके पुर्जि उप्रान्त श्रीरतन्नाथ थानमा मामुलीका घडा साल ७८ का वन्दवस्त वमोजिम घडा दिनु आफुले लिआयाको दस्तुर पनि लिनु घडा वोकन्या कुरा तिमिहरूले वोकि पुर्याउनु पर्दैन गोसाईहरू आफैले वोकि लैजान्या छन्’ उल्लेख छ।
भाउजू बेहोरे प्राणदण्ड
कुनै वेला नेपालमा भाउजूसँग विवाह वा करणी गरे जाति अनुसार फरक फरक सजायको व्यवस्था थियो। जुम्ली, लेप्चा, लिम्बू र किरात (राई) बाहेकलाई भाउजू बेहोर्ने अनुमति थिएन। भाउजू बेहोरे प्राणदण्ड पाउने जातिमा कुमाल पनि पर्थ्यो।
‘भाउजू विराउ’ गर्दा कुन जातिलाई कस्तो सजाय गर्ने भन्नेबारे राजा राजेन्द्रविक्रम शाहले विसं १८९३ साल असार सुदी ७ रोज ४ मा एक रुक्का जारी गरेका थिए। महेश सी. रेग्मीले रेग्मी रिसर्च सेरिज - वर्ष ३ अंक १ (सन् १९७१ डिसेम्बरः१-२)मा प्रकाशन गरेको उक्त रुक्का अनुसार मगर, गुरुङ, नेवारले भाउजू विराउ (करणी वा बिहे) गरे उनीहरूको लिंग काटिन्थ्यो। बलामी, माझी, दनुवार, सुनुवार, मुर्मी, भोटे, चेपाङ, पहरी, वाराही, कुम्हाल, वरामुको भने ज्यानै लिइन्थ्यो। यस्तो ‘अपराध’ मा बाहुनलाई जातपतित गर्ने, क्षेत्री-ठकुरीको पनि लिंग काट्ने र दलितलाई ज्यान सजाय गरिने रुक्कामा उल्लेख छ। ‘जंगली मुलुकका’ भनेर लिम्बू, किराती (खम्बू राई), जुम्ली र लेप्चालाई भने विधवा भाउजू बेहोर्ने छूट दिइएको थियो।
भाउजू बेहोरे कुमाल लगायतलाई ज्यान सजाय दिने व्यवस्था गर्न जारी गरिएको रुक्का। स्रोत : भगिराज इङ्नाम
राजेन्द्रविक्रमकै समयमा विसं १९०३ जेठ वदी ११ रोज ६ मा अर्को रुक्का जारी गरियो जसमा भाउजू विराउ गर्दा पहिले ज्यानकै सजाय रहेका ६ जातिका हकमा यो व्यवस्था संशोधन गरिएको छ। इतिहासकार इङ्नाम (२०७७ः२०२-५)ले प्रकाशन गरेको उक्त रुक्कामा ‘भाउजु विराउ गर्ने षस मगर सिपाहि सरहका भाट् गुरुँ घले सुनुवार इ ६ जातलाई लिंग काटनु’ भन्ने व्यवस्था गरिएको छ। तर यसमा पनि ‘वलामि माझी दनुवार मुर्मि भोट्या चेपां पहरि दरै कुमाल वरामु हायु रोहानीपुन् प्रजा जात गैह्रलाइ मासनु’ नै भनिएको छ।
यसबाट पनि कुमाल जातिलाई हेर्ने राज्यको दृष्टिकोण कस्तो रहेछ भन्ने बुझ्न सकिन्छ।
जोगी पाल्ने बाध्यता
पृथ्वीनारायण शाहको समयमा एक प्रसिद्ध योगी थिए, भगवन्तनाथ। पश्चिम क्षेत्र जित्न पृथ्वीनारायण शाहले यिनै योगी मार्फत सल्यानका राजा श्रीकृष्ण शाहसँग सम्पर्क स्थापना गरेका थिए। यिनै योगीको सम्पर्क सूत्रबाट सल्यानका युवराज रणभीम शाहसँग पृथ्वीनारायणले छोरी विलासकुमारीको विवाह गरिदिएका थिए।
पछि पृथ्वीनारायणले योगी भगवन्तनाथको जोगी-मण्डलको पालनपोषणको दायित्व उनै गरीब र सीमान्तीकृत आदिवासी जनजाति समूहको थाप्लोमा हालिदिए। यस्तो दायित्व बोक्नेमा घरैपिच्छेका कुमाल पनि परे।
योगी (२०५५ः४३४)ले प्रकाशमा ल्याएको पृथ्वीनारायण शाहको कान्तिपुर मुकामबाट विसं १८२७ कात्तिक सुदी १५ रोज ७ मा जारी मोहरको बेहोरा यस्तो छ-
आगे गोसाञि...जिके हाम्रा मुलुक भरिको जोगीहरूको भंडल्याई चह्रायुँ माझि कुमाल दनुवार दरौई थारु पहरि कुसहरि थामि हायु सुनुवार चवाँग ज्वलहा कुशुल्या नेवार्या कुमाल एती जातका घरही एक एक १।१ आना दस्तुर दिनु साज विहान षान दिनु जोगीका षतछितकाके डंडकुंड मोरो अपुताली महामंडलिको षानु मंडलिले लीनु दुवार्या उमराले लिनु एस हिसावले दुवार्या उमराले तिराई दिनु।
राजा प्रतापसिंह शाहको समयमा पनि यही विषयमा लालमोहर जारी गरियो। सबै बेहोरा उस्तै छ। ऐतिहासिक दिनेशराज पन्तले पूर्णिमा पूर्णांक १७ (वैशाख-असार २०२५ः३४-३५)मा प्रकाशमा ल्याएको विसं १८३३ अगहन (मंसीर) सुदी ८ रोज ४ मा जारी यस मोहरमा ‘जो छेकथुन गर्ला सो अप्सरिया होला’ भनी जोगी-मण्डलीका लागि तोकिएको दस्तुर नदिनेलाई कारबाही गर्ने चेतावनी पनि दिइएको छ।
राजा रणबहादुर शाहको पालामा पनि विसं १८५३ अगहन (मंसीर) सुदी ११ रोज ७ मा यस्तै प्रकारको मोहर जारी गरियो (योगी, २०५५ः६६९)।
यी ऐतिहासिक तथ्य निफन्दा माटाका भाँडा बनाएर मानिसको जीवन सहज बनाउन श्रम-सीप खर्चने कुमालहरू विगतमा राज्यबाट भोगेका सास्ती र उत्पीडनकै कारण अहिले पनि सीमान्तीकृत रहन बाध्य भएको बुझिन्छ।