संसारका विभिन्न देशका खण्डित आवाज बाेकेका कथामा आधारित पाँच दर्जनभन्दा बढी फिल्म काठमाडौंमा प्रदर्शन गर्न लागिएको छ, किम्फ मार्फत।
कजाखस्तानको फिरन्ते समुदायकी एक महिलालाई जंगली बाजलाई तालीम दिने इच्छा लाग्छ। तर यो पेशा पुरुषले मात्रै अँगाल्दै आएका हुन्छन्। त्यसका लागि महिलाले गरेको संघर्षको कथालाई हमिद सरदारले फिल्ममा उतारेका छन्। त्यही फिल्म द वे अफ द इगल काठमाडौं आइपुगेको छ।
गृहयुद्धले सबै नागरिक प्रभावित हुन्छन् नै। बर्माको रुबीखानीमा काम गर्ने एक जना कलाकारलाई गृहयुद्धले पारेको प्रभावको कथालाई समेटेर तयार भएको छ, रुबी हन्टर्स । बर्माको यही फिल्म एशिया प्रिमियरका लागि काठमाडौं आइपुगेको छ।
तमिलनाडुमा उपल्लो जात मानिएको समुदायकी एक युवती प्रेममा पर्छिन्। तर उनले प्रेम गरेका युवक तल्लो जात मानिएको समुदायका हुन्छन्। युवतीको परिवार र समाजले मायाजालबाट छुटाउन धामीझाँक्री लगाउँछन्, अनेक उपाय अपनाउँछन्। त्यही कथालाई तमिल फिल्मकर्मी पीएस विनोथराजले कोट्टुकाली मा उतारेका छन्। यो फिल्म पनि तमलिनाडुबाट काठमाडौं आइपुगेको छ।
यस्तै, नेपालको अन्तरजातीय प्रेमको कथालाई नेपाली फिल्मकर्मी सौरभ घिमिरेले संग्स अफ लभ एन्ड हेट नाम दिएका छन्। छाउपडीको पीडालाई सजा सुनुवारले छाउ फिल्ममा उतारेका छन्। जहाँ महीनावारी हुँदा छाउपडीमा बस्न बाध्य दुई नेपाली युवतीको पीडा महसूस हुन्छ। यी र यस्तै खण्डित आवाजका कथा काठमाडौंमा प्रदर्शन गर्न लागिएको छ, काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा।
फिल्म छाउ को दृश्य।
जेठ १४ देखि १८ गतेसम्म चल्ने किम्फमा ३० देशका ६५ वटा फिल्म देखाइँदै छन्, जहाँ विभिन्न किसिमले खण्डित आवाजलाई कथामा समेटिएको छ। त्यसैले किम्फको २२औं संस्करणको नारा नै ‘खण्डित आवाज, जोडिंदै कथाहरू’ दिइएको छ।
यस पटक किम्फमा फरक स्वादका फिल्म हेर्न सकिनेछ। विगतमा प्रायः पर्वतसँग सम्बिन्धत विषयवस्तुमा आधारित फिल्मले प्राथमिकता पाउँदै आएकामा यस पटक भने अलि फराकिलो बनाइएको किम्फ फाउन्डेशनकी अध्यक्ष रम्यता लिम्बू बताउँछिन्। “किम्फ विगतका वर्षहरूमा अलि बढी हिमाल, पहाडका कथा, संस्कृति र वातावरण झल्काउने र पर्वतारोहणमा केन्द्रित हुन्थ्यो,” लिम्बू भन्छिन्, “अहिले त्यतिमा मात्रै सीमित छैन, विशेषगरी नेपाली विषयवस्तु र कथासँग मिल्दोजुल्दो विषयवस्तु भएका फिल्ममा चासो दिएका छौं।”
त्यसैले यस पटक फिल्म छनोटमा पनि दायरा फराकिलो पारिएको छ। खण्डित आवाजलाई बल दिने किसिमका फिल्मलाई प्राथमिकता दिइएको छनोट समितिका सदस्यहरू बताउँछन्। वास्तविक जीवनमा आधारित वृत्तचित्र, पर्वतीय र वातावरणसँग सम्बन्धित फिल्म छनोट गरिएको किम्फ व्यवस्थापक एवं छनोट समिति सदस्य निशिता थापा मगर बताउँछिन्। यससँगै महिलाका विषयवस्तुमा आधारित फिल्म र वृत्तचित्र पनि छनोट भएको मगरको भनाइ छ।
यस पटकको किम्फमा चिनियाँ फिल्म पनि हेर्न पाइने भएको छ। नेपाल र चीन मित्रताको ७०औं वार्षिकोत्सवको अवसरमा तिब्बतमा बनेका फिल्म प्रदर्शन गरिंदै छन्। दुई देशबीचको समानता झल्काउने ६ वटा फिल्म देखाइने आयोजकले जनाएको छ।
किम्फमा वृत्तचित्र सम्बन्धी कार्यशाला पनि हुँदै छ। यस अन्तर्गत दक्षिणएशियाली क्षेत्रका नौ जनालाई जेठ १० गतेदेखि प्रशिक्षण दिन थालिएको छ। जेठ १४ गतेसम्म चल्ने प्रशिक्षणमा पाकिस्तानी फिल्मकर्मी अनम अब्बमस, भूटानी निर्देशक अरुण भट्टराई र भारतीय फिल्मकर्मी रिन्टु थोमस प्रशिक्षक छन्।
किम्फको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलन तथा छलफलमा सहभागी कलाकार।
कार्यशालामा सहभागी प्रशिक्षार्थीले किम्फमा आफ्नो प्रस्तुति राख्नेछन्। उत्कृष्ट तीन जनालाई चलचित्र विकास बोर्ड, किम्फ फाउन्डेशन र नेपाल फिल्म इनिसिएटिभबाट चार हजार ५०० अमेरिकी डलर पुरस्कारको व्यवस्था छ।
त्यस्तै, कथाहरू र ब्रिटिश काउन्सिलको संयुक्त आयोजनामा कटकथा कार्यशालामा सहभागी महिला निर्देशकको प्रस्तुति रहनेछ। महोत्सवकै अवसरमा निकोन युवा फोटोग्राफी र फिल्म मेकिङ कार्यशाला पनि हुनेछ। योसँगै ठमेलस्थित कला सलोनमा तस्वीर प्रदर्शनी राखिएको छ।
किम्फ आफ्ना कथा देखाउने, सुनाउने र फिल्म क्षेत्रका विषयमा छलफल गर्ने चौतारी भएको अध्यक्ष लिम्बूको भनाइ छ। “विभिन्न देशका फिल्म र फिल्मकर्मीको अनुभव सुन्ने, सिक्ने र बहस-छलफल गर्ने अवसर पनि हो,” लिम्बू भन्छिन्।
यस वर्ष बिट्वीन द माउन्टेन एन्ड द स्काई को प्रदर्शनसँगै किम्फ शुरू हुनेछ। जेरेमी पावर रेगिम्बलको निर्देशन रहेको यो फिल्म सीएनएन हिरो बनेकी समाजसेवी म्यागी डोएनको जीवनमा आधारित छ।
पछिल्लो संस्करणमा राष्ट्रिय सभा गृहलाई रोजेको किम्फ यस पटक भने ठमेल सरेको छ। छाया सेन्टर, एस्ट्रेक पार्क र जीएए हलमा फिल्म प्रदर्शन गरिनेछ।
किम्फमा प्रदर्शन गरिएका विभिन्न विधाका उत्कृष्ट फिल्मले विगतमा झैं नगद पुरस्कार पनि पाउनेछन्। अन्तर्राष्ट्रिय श्रेणीमा उत्कृष्ट फिल्मलाई एक हजार ५०० अमेरिकी डलर, उत्कृष्ट वृत्तचित्रलाई एक हजार अमेरिकी डलर र उत्कृष्ट आख्यानलाई एक हजार ५०० अमेरिकी डलर नगद पुरस्कार दिइनेछ।
त्यस्तै, उत्कृष्ट माउन्टेन र एड्भेन्चर्स फिल्मलाई एक हजार अमेरिकी डलर र उत्कृष्ट इसिमोड पर्वतीय फिल्मलाई एक हजार अमेरिकी डलर प्रदान गरिनेछ।