हिमाली क्षेत्रमा निम्तिएको संकटप्रति अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार बनाउने, हिमालमा परोक्ष-प्रत्यक्ष रूपमा आश्रित देशी-विदेशी समुदायलाई यसप्रति अपनत्व जगाउँदै संरक्षणमा हातेमालो गराउने अवसर बन्नुपर्ने सगरमाथा संवाद पट्यारलाग्दो भाषण गर्ने थलो बन्न पुग्यो।
श्रवण शर्मा
जलवायु परिवर्तनले निम्त्याएको विश्वव्यापी तापमान वृद्धिसँगै समग्र हिमाली क्षेत्र पर्यावरणीय राजनीतिको चेतावनीयुक्त विषयवस्तु बन्न पुगेको छ। हिमालयको देश नेपालले गत जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गरेर त्यो चेतावनीलाई औपचारिक रूपमा देशको सीमाभन्दा बाहिर पनि फैलाइदिएको छ।
संवादको सबैभन्दा ठूलो उपलब्धि यसैलाई मान्नुपरेको छ। जबकि यो अन्तर्राष्ट्रिय जमघट हिमाली क्षेत्रमा बढ्दो संकट नेपाल सहितका हिमाली देशको मात्र नभएर समग्र संसारकै सरोकार रहेको बुझाउने र संकटको कारकका रूपमा देखिएका शक्तिराष्ट्रलाई यसको न्यूनीकरणमा जिम्मवार बनाउने दिशामा थप उपलब्धिमूलक सावित हुनुपर्थ्यो।
सरकारले सगरमाथा संवादको घोषणा गर्दा नै हिमाली क्षेत्रप्रति गहिरो हार्दिकता रहेको मेरो मनमा एउटा सुरम्य तर विस्मयकारी सभाको दृश्यचित्र प्रकट भएको थियो। स्मरणमा रहेका सगरमाथा संवादका पूर्वाधार, विविध पक्षबाट गरिएका प्रयत्नहरू आँखै अगाडि सिनेमाको रील जसरी घुमेका थिए। वर्षौंदेखिको अपेक्षा मूर्त रूपमा ठिंग उभिएर भनिरहेको थियो, ‘समय आउँछ।’ भौगोलिक र भौगर्भिक दृष्टिले हिमालय पृथ्वीको एक भूक्षेत्र मात्र मानिएला। तर हाम्रा हकमा यो भावनात्मक संवेगको मनोवैज्ञानिक संरचना हो जसले एकैपटक सारा नेपालीलाई भावुक, उत्तेजित वा शान्त बनाउने क्षमता राख्छ।
उत्पत्तियताका ६ करोड वर्षमा हिमालयले यस क्षेत्रको प्राणी-जीवनसँग अन्योन्याश्रित सम्बन्ध बनाएको छ। दक्षिणएशिया, चीन, थाइल्यान्ड, म्यानमारसम्मका हिमालयवेष्टित सभ्यताहरूको विविधतामा यसको अतुल्य योगदान छ। प्राणी, वनस्पति र जलचरको प्राकृतिक थातथलो निर्धारण गर्ने श्रेय हिमालयलाई नै जान्छ। हिमालहरू जति सुरम्य छन्, तिनीहरू उभिएको धर्तीका आधार पनि उत्तिकै मजबूत छन्। तराई, चुरे पर्वत र मध्यपहाडी शृंखला हिमालयका आधारस्तम्भ हुन्। यिनले हिमालयलाई सुन्दर र संरक्षित बनाउन योगदान गरिरहेका छन्।
पूर्वको कञ्चनजंघादेखि पश्चिमको अपीसम्म तरेली परेका हिमशृंखलाका फेदमा सांस्कृतिक र जातीय विविधताको अनुपम उदाहरण छ। हिमालयको सुन्दरता रसास्वादन गर्ने/गराउने श्रेय शेर्पाहरूलाई जान्छ जसले सगरमाथाको चुचुरोसम्म पैदलमार्ग अन्वेषण गरेका थिए। कञ्चनजंघा र मकालुका फेदमा लिम्बू र राई, सगरमाथाका फेदमा शेर्पा र राई, लाङटाङ र गौरीशंकरका फेदमा तामाङ र ह्योल्मो, धौलागिरि र अन्नपूर्णको फेदमा गुरुङ, मगर, थकाली र लामा तथा पूर्वदेखि पश्चिमसम्मको पहाडी र मैदानी भागमा ब्राह्मण, क्षेत्री र मधेशीको बाक्लो जनघनत्व छ।
कञ्जनजंघाको मुनिपट्टि तराईमा राजवंशी, सतार, मेचे र धिमालहरू बस्छन्। सगरमाथामुनिको समथर फाँटमा थारू, चौधरी, झा, यादव, शाह, राजपूत सहितका मधेशीको ठूलो संख्या छ। त्यसैगरी अन्नपूर्ण र धौलागिरिमुनि थारू, मधेशी, मगर, गुरुङ, क्षेत्री-ब्राह्मण बस्छन्। साइपाल र अपीमुनि ब्राह्मण, क्षेत्री र दलितहरूको बाक्लो बसोबास छ। तल समथर फाँटमा थारूहरू छन्। प्रकृतिप्रति यी सबै समुदायका मौलिक चिन्तनपद्धति र व्यावहारिक कौशलहरू पाइन्छन्।
शेर्पाहरू सगरमाथालाई ठूलो देवता मान्छन्। हिमालयलाई देवताका रूपमा ग्रहण नगर्ने समुदाय पनि यहाँबाट बगेर आएका नदी पुज्छन्। हिमालयका हिउँ र यहाँबाट निस्सृत नदीले नेपालको जमीनमुनिको पानी पुनर्भरण गरेको सबैले मान्दै आएका छन्। यी सबै समुदाय प्रकृतिपूजक हुन्। रूख, पत्थर, पानी र जमीनको पूजा गर्छन्। प्रत्येक समुदायका छुट्टै तर विस्मयकारी प्रचलन छन्। ती संस्कृति हुन्। सगरमाथा संवाद जस्तो बृहत् अर्थको विशेष कार्यक्रममा यी सांस्कृतिक पहिचान र धरोहरले प्रस्फुटनको मौका पाए कि पाएनन् भन्ने कुराले कार्यक्रमको गहिराइ र रणनीतिक सापेक्षता उजागर गर्छ।
मलाई लागेको थियो, सगरमाथा संवादमा हिमालसँग प्रत्यक्ष-परोक्ष रूपले आश्रित समुदायका विशिष्ट सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन्। कैयौं पटक सगरमाथा चढेका कामिरिता, स्पीडकाजी शेर्पा सहितका आरोही र गाइडहरू ‘सेभ हिमालय, सेभ आवर राष्ट्रिय गौरव, सेभ ग्लेसियरस, सेभ नदी, सेभ प्राणी तथा वनस्पति’ लेखिएका प्लेकार्ड बोकेर भव्य हलको प्रवेशद्वारसम्म लामबद्ध हुनेछन्। हिमालयको फेदमा आआफ्ना सांस्कृतिक धरोहर जोगाएर जीवनको रथ तानिरहेका विभिन्न समुदाय लिम्बू, राई, तामाङ, ह्योल्मो, गुरुङ, मगर, मधेशी, थारू, नदी सभ्यतामा जीवनको सार्थकता पहिल्याएका राजी, माझी, दनुवार, बोटे आदि पनि हिमाली प्रभावको सांस्कृतिक प्रस्तुति सहित त्यहाँ सहभागी हुनेछन्।
यसो गर्दा हिमालय नेपालको जीवनपद्धतिको अभिन्न हिस्सा रहेको झलक देखाउँदै नेपालीहरूलाई यो महान् अभियानमा साथसाथ हिंडाउन सकिन्थ्यो। अर्कातिर यसले तराई, पहाड र हिमालका अन्तर्निहित सम्बन्धमा ताजगी ल्याउँथ्यो। तराईले चुरे, चुरेले मध्यपहाड र मध्यपहाडले हिमालयको भार थामिरहेको वैशिष्ट्यलाई सरल रूपमा प्रदर्शन गर्न सक्थ्यो। तर सगरमाथा संवाद यी कुनै काम नगरी केवल भाषण गर्ने थलो बन्यो। भाषण पनि गुरुआमाले चार कक्षाका विद्यार्थीलाई बाख्राको निबन्ध पढाए जस्तो। यस्तो हुन गएको संवाद सचिवालयलाई ज्ञान नभएर हो वा कार्यक्रमलाई सत्ताका शिखर पुरुषहरूको भाषणकेन्द्रित प्रयोगशाला बनाउने आदेश तामेली मात्र गरिएकाले हो, उनीहरू नै जानून्।
संसारमा आठ हजार मिटरमाथिका हिमाललाई आश्चर्य मानिन्छ। नेपालमा आठ हजार मिटरभन्दा उच्च १४ हिमाल छन्। तिनलाई अन्तर्राष्ट्रिय रूपमा सूचीबद्ध गर्ने र औपचारिक पहिचान दिने ठूलो अवसर पनि बन्न सक्थ्यो, यो विश्वस्तरीय जमघट।
सूचनाको उपेक्षा, मीमांसामा जोड
नेपालमा पाँच हजार मिटरमाथिका हिमालका आधिकारिक सूचनाहरू राख्ने खासगरी शेर्पा मात्र हुन्, तिनमा पनि हिमालको शिखरमा पुगिसकेकाहरू। हिमनदी र हिमताललाई पनि सबैभन्दा नजीकबाट उनीहरूले नै पढेका छन्। अनि यस्तो परम्परागत ज्ञान प्रणाली पुस्तान्तरण हुँदै आएको छ। त्यही ज्ञानका आधारमा उनीहरूले हिमाली पर्यावरणमा प्राप्त जैविक विविधता, जंगली जनावर र चिसो पानीमा रहने जलचरले पर्यावरण सन्तुलनमा पुर्याइरहेको योगदानको फेहरिस्त तयार पारेका छन्। सगरमाथा संवादले त्यो ज्ञानको अपनत्व लिएको देखिएन।
पर्यावरणीय तत्त्वहरूलाई पृथ्वीको पश्चिमी गोलार्द्धको सरकार, व्यवसाय र विकास इन्जिनीयरिङले लामो समयसम्म उपभोग्य वस्तुका रूपमा मात्र लिइरहेको कालक्रममा नेपाली समाज ठूलो नदी देखिने ठाउँमा गएर संसारी माईको पूजा गरिरहेको थियो। खडेरीबाट छुटकारा पाउन पानीका मूलमा भ्यागुताको बिहे गराउने र नागका निम्ति हल्लुँडो गाडिदिने गरिन्थ्यो। मानिस र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई हजारौं वर्षको आत्मबोधी अनुभवले सिद्धान्तमा बाँधिदिएको छ। उदाहरणका लागि सन् १९५३ मा सगरमाथाको पहिलो सफल आरोहणपूर्व नै खुम्बु क्षेत्रका शेर्पाहरूले सगरमाथाको स्वरूप, भावभंगी र सगरमाथा चुचुरोसम्म पुग्ने सहज र सरल पैदलयात्राको फूटप्रिन्टको आत्मिक प्लट मनमा कोरिसकेका थिए।
यस पृष्ठभूमिमा सगरमाथा संवादले हिमाल संरक्षणका परम्परागत सूत्र संसार समक्ष प्रस्तुत गर्न सक्नुपर्थ्यो। मानवीय मनोविज्ञान, संस्कृति र आचरणमा हिमाली प्रभावका मनोवैज्ञानिक सञ्चेतनालाई भावी पिढी र समुदायको ज्ञान संग्रहका रूपमा उजागर गर्न सकिन्थ्यो। यो कार्यक्रम त्यस्तो प्रस्थापना हुन सक्थ्यो जसबाट जलवायु परिवर्तन वा सांसारिक तापमान वृद्धि र त्यसका असरको दक्षिणएशियाली भाष्य निर्माण गर्न सकिन्थ्यो। अझ प्रस्ट भन्दा त्यसले नेपाली भाष्य बनाउँथ्यो। पृथ्वीको एक कुनाको वातावरणीय सन्तुलन अर्को कुनाको सन्तुलनसँग अन्योन्याश्रित छ।
नेपाल सरकारले हिमालयलाई केवल आरोहीहरूबाट पैसा उठाउने ठाउँका रूपमा दोहन गरिरह्यो। जबकि पर्यावरणीय रूपमा सचेत शेर्पा र यस क्षेत्रमा कार्यरत संस्था र व्यक्तिहरूले धेरै अघिदेखि नै हिमालयको भविष्यबारे चिन्ता प्रकट गरिरहेका थिए। सन् २००९ मै हिउँ पग्लिएपछि सगरमाथामा देखिएको कालो पत्थर काठमाडौं ल्याइएको थियो। हिमालको वस्तुगत अवस्था बोध गराउन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका तर्फबाट उक्त पत्थरको टुक्रा उपहारका रूपमा अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामालाई हस्तान्तरण गरिएको थियो। उति वेला समाचारहरूले भनेका थिए, ‘नेपालका प्रधानमन्त्रीले सगरमाथाको ढुंगो लिएर आएका छन् र संसारलाई देखाउन चाहन्छन् कि हिमालय पग्लिरहेको छ।’
२०६६ मंसीर १९ मा कालापत्थरमा बसेको मन्त्रिपरिषद् बैठक। तस्वीर: एएफपी
यसपूर्व नेपाल सरकारले सगरमाथाको कालापत्थर (१८,५१२ फिट)मा मन्त्रिमण्डल बैठक आयोजना गरेको थियो। हिमाल जोगाउने अभियानमा सरकारी संलग्नताको पहिलो शृंखला थियो यो। पर्यटन क्षेत्रले भने सगरमाथामा मानवीय हस्तक्षेपले ल्याएका विद्रूप नतीजा पहिल्यैदेखि सार्वजनिक गरिरहेकै थियो। सन् २००८ मै यही पंक्तिकारले हिमालयको अहरणीय कानूनी अधिकारको वकालत शुरू गरेको थियो। सन् २०१२ मा सिंहदरबारस्थित राष्ट्रिय सभाको पुरानो हलमा तत्कालीन संविधानसभाका १०० भन्दा बढी सभासद्सँग ‘सेभिङ द हिमालयज्’ विषयमा बृहत् छलफल आयोजना गरिएको थियो। संविधानसभाका सभासद्द्वारा निर्मित लुज फोरम ‘पार्लियामेन्ट्री फोरम अन क्लाइमेट चेन्ज’ सँग भएका अनगिन्ती छलफलको आयोजकका नाताले म भन्न सक्छु कि हिमाल जोगाउने सवालमा नेपाल सरकारभन्दा धेरै अघि नै संसद्, गैरसरकारी संस्था तथा व्यवसायीबाट सचेत प्रयत्न हुन थालेको हो।
यी सबै प्रयत्नका साझा निष्कर्षलाई उपयोग गरेको भए सगरमाथा संवादले राष्ट्रिय मनोविज्ञान तयार पार्न सक्थ्यो। पहिलो सगरमाथा संवाद त कालापत्थरको मन्त्रिमण्डल बैठक नै थियो। तर त्यो प्रयत्नको ‘फलोअप’ त्यसपछि कतै भएन। हालैको कार्यक्रमले पनि कालापत्थरबाट थालिएको अभियानको सही अर्थमा अपनत्व लिएको देखिएन।
हिमालको कुरा गर्दा यसको प्रकृति, मानव, वनस्पति र जलचर सभ्यता, जैविक विविधता आदि पक्षलाई संरक्षणका रणनीतिमा सँगसँगै अघि बढाउनुपर्छ। कारण– हिमाल भौगोलिक रूपमा आफ्नै पैतालामा उभिए पनि यसको सांस्कृतिक महत्त्व मानिस, प्रकृति, वनस्पतिसँगको आन्तरिक सम्बन्धमा निहित छ। यो पानीको स्रोत हो र ‘पर्माफ्रस्ट’ को जीवनदाता। हिमालको फेदमा जमिरहेको बाक्लो तुषारो र हिउँबीच प्राकृत सम्बन्ध छ। तुषारोले हिमालको फेदलाई चिसो पारिरहन्छ र हिउँले तुषारोको जीवनचक्र सञ्चालनमा सहयोग गर्छ। तुषारोले तल्लो भेगका भिराला पाखाका झाडी, बुट्यान र खेतीयोग्य जमीनलाई चिसो पारिरहन्छ। यही चिस्यानका कारण अन्नबाली र वनस्पतिको जीवनचक्र सञ्चालित छ जसबाट मानिस र जनावरले पोषिलो खाद्य तत्त्व प्राप्त गरेका छन्। सगरमाथा संवादको एउटा विषय तुषारो संरक्षणमा तत्काल गर्न सकिने कार्यहरू हुनुपर्थ्यो। तब संवादमा उपस्थित अन्तर्राष्ट्रिय प्रतिनिधिहरू यस नवनिष्कर्षका साक्षी हुने थिए।
यस्तै, सगरमाथा संवादले तराई र हिमालयको सम्बन्ध जोड्ने र पर्यावरणीय चक्र सञ्चालनमा सघाउने तत्त्वहरू बिथोलिन नदिने प्रतिबद्धता जनाउनुपर्थ्यो। तराईको घना वन त्यहाँ बहने तातो हावालाई चिस्याउँदै पर्यावरणीय चक्र निरन्तर राख्नमा महत्त्वपूर्ण छ। चुरे पर्वतले पहाड र तराईको जीवनचक्र र परस्पर सम्बन्धलाई प्राकृतिक सहजता प्रदान गरिरहेको छ। तर नेपाल सरकार चुरे वनमा भौतिक पूर्वाधारका योजना ल्याइरहेको छ। चुरे दोहन गरी गिट्टी बिक्री गर्ने सपना देख्दै छ। निजगढका २४ लाख रूख काटेर एअरपोर्ट बनाउने विग्रहकारी योजना फिर्ता लिइएको छैन। जंगल फाँडेर बनाइने केबलकार सरकारको प्राथमिकतामा परिरहेछ।
विदेशी सरोकार
सन् २०१९ को अक्टोबरमा टुलेन विश्वविद्यालयमा भएको सम्मेलनका क्रममा मेक्सिकोका एक चर्चित गायकले यो पंक्तिकारलाई सोधेका थिए, ‘के सगरमाथा खत्तम भइसकेको हो ?’ सन् १९७२ मा सगरमाथा बेसक्याम्प पुगेका उनी यस हिमशृंखलाप्रति भावुक छन्। यस्ता अरू पनि थुप्रै विदेशी छन्, जो नेपालप्रति चासो र सद्भाव राख्छन्।
नेपालको पर्यटन वा भौगोलिक बनोटका प्रकाशित प्रारूपहरू स्वीश नागरिक टोनी हागनले कोरिदिएका ‘फूटप्रिन्ट’ नै हुन्। तिनैलाई पछ्याएर हामी काम गरिरहेछौं, पर्यटकहरू बाटो नापिरहेका छन्। उनी हिंडेको गोरेटोमा बेनी-जोमसोम मोटरबाटो बनेको छ। यस पंक्तिकारसँग हागनले भनेका थिए, “नेपालले आफ्नो सुन्दरता जोगाउने काम गर्नुपर्छ।” यस्तोमा बाबुको पदचाप पछ्याउँदै नेपालसँग जोडिएकी उनकी छोरी क्याट्रिन सगरमाथा संवादको आकर्षण हुन सक्थिन्। कम्तीमा मेरा लागि उनको भूमिका खोजीको विषय थियो।
यस बाहेक अमेरिकन अल्पाइन क्लब, आल्प्स पर्वत श्रेणीसँग सम्बन्धित क्लबहरू, एन्डिज् पर्वत शृंखला सम्बद्ध संस्थाहरूसँग अनुभव आदानप्रदान गर्न सकिन्थ्यो।
पछिल्लो समय प्रसिद्ध समाचार पोर्टल द गार्डियन ले नेपाल र हिमालयका विषयमा प्राथमिकतासाथ समाचार र विश्लेषण प्रकाशन गर्दै आएको छ। यी समाचार संस्थाका प्रतिनिधिलाई कार्यक्रममा सहभागी गराइनै पर्थ्यो। न्यूयोर्क टाइम्स , योमोरी सिम्बुन , एएफपी , अल–जजीरा , सीएनएन , डिडब्ल ू आदि समाचार संस्थाको उपस्थितिले सगरमाथा संवादको गरिमा बढाउँथ्यो।
समुद्री किनारका देशहरू भावनात्मक रूपमा हाम्रै जस्तो तर भौतिक रूपमा हाम्रो भन्दा फरक चेतावनी सामना गरिरहेका छन्। हामीले हिउँ पग्लिएको कुरा गरिरहँदा न्यूजिल्यान्ड, अस्ट्रेलिया, इन्डोनेशिया चाहिं बढेको समुद्री सतहले निम्त्याउन सक्ने दुष्परिणामबाट त्रस्त छन्। इक्वेडर, कोलम्बिया र ब्राजिल अमेजन नदी र अमेजन रेन फरेस्टको भविष्यसँग चिन्तित छन्। सगरमाथा संवाद साझा भविष्यमा पुर्याउने यी मुद्दामा ती देशसँग हातेमालो गर्ने बिन्दु हुन सक्थ्यो।
स्वीट्जरल्यान्ड र अस्ट्रिया आल्प्स पर्वत श्रेणीको भविष्यप्रति चिन्तित छन्। एन्डिज् पर्वत श्रेणीलाई जोगाउन कोलम्बिया, इक्वेडर, पेरु, बोलिभिया, चिले, अर्जेन्टिना र पारग्वे वन विस्तारको महाप्रयत्न गर्दै छन्। यसका लागि रैथाने प्रजातिका लाखौंलाख रूख रोप्ने काम भइरहेको छ। रैथाने प्रजातिले प्राकृतिक वन बनाउँछ। तर नेपालमा सामुदायिक वन नापेर वनको क्षेत्रफल निकालिंदै छ।
आल्प्स पर्वतमा मानवीय हस्तक्षेप कम गर्ने र मुख्य संरक्षण क्षेत्र पहिल्याउने काम भइरहेको छ। स्वीट्जरल्यान्डका सांसदले आल्प्सको जीवन कायम राख्न कानूनी प्रबन्ध हुनुपर्ने विधेयक मस्यौदा गरी संसद्मा पेश गरेका छन्। अमेजन जंगलका हकमा पनि रूख काट्न नपाइने र अमेजन नदीमा फोहोर फाल्न नपाइने नियम कडाइसाथ लागू गरिंदै छ।
सगरमाथाबाट फोहोर ओसारिंदै ।
सम्मेलनमा नेपालले जलवायु परिवर्तन के हो/होइन भन्ने शास्त्रीय व्याख्यातिर नलागी संसारलाई संक्षिप्त तर सटीक आह्वान गर्नुपर्थ्यो। त्यो आह्वानमा आधुनिक प्रविधि हस्तान्तरण, आरोहीहरूले थुपारेको फोहोर व्यवस्थापन, विकसित देशले पर्यावरणमा पुर्याएको नकारात्मक प्रभावको जिम्मेवारीबोध गर्नुपर्ने आदि कुरालाई जोड दिइनुपर्थ्यो। अरू देशका प्रतिनिधिहरू जलवायु परिवर्तन र सांसारिक तापमान वृद्धिका शास्त्रीय पाठ घोक्न नभएर नेपालले संसारलाई गर्ने अपीलमा साक्षी बस्न र ऐक्यबद्धता जनाउनकै निम्ति आएका हुन्।
पानी पोखेर गिलास चाट्ने प्रवृत्ति
चरम विकसित देशहरूको स्रोतप्रतिको भोक नै जलवायु परिवर्तन र सांसारिक तापमान वृद्धिको प्राथमिक कारण रहेको पुष्टि भइसकेको छ। ती देशले आफ्नो समग्र सम्पत्तिको सानो हिस्सा विकासोन्मुख र अल्पविकसित देशमा चारो जसरी बाँड्दैमा जिम्मेवारी पूरा गरेको आत्मश्लाघा पालिरहेका छन्। प्राकृतिक स्रोतमा उनीहरूको दबाबले उत्पन्न परिस्थितिको जिम्मेवारी तिनैले वहन गर्नुपर्छ भन्ने मुद्दा समुद्री किनारका देशले उठाइरहेका छन्। हिमाली देशले पनि उठाउन सक्नुपर्छ।
नेपाल औद्योगिक देशहरू चीन र भारतको बीचमा छ। यिनका औद्योगिक प्रविधि प्रकृति-प्रतिकूल र कार्बन उत्सर्जन गर्ने किसिमका छन्। यस्तोमा नेपालले सगरमाथा संवाद मार्फत औद्योगिक उत्पादनमा प्रकृति-अनुकूल ‘ब्रान्डिङ’ को माग राख्न सक्थ्यो। दुवै देशका उद्योगले निस्सृत गर्ने तापका कारण हिमालयमा नकारात्मक प्रभाव परिरहेको कुरा भन्न डराउनुपर्ने थिएन।
त्यसैगरी नेपालले आफ्ना प्रतिबद्धताको सूची बनाई तिनको कार्यान्वयन गर्न अत्यावश्यक सहयोगका लागि अन्तर्राष्ट्रिय समुदाय र छिमेकी राष्ट्रहरूसँग अपेक्षा व्यक्त गर्न सक्थ्यो। कार्बन सञ्चिति र पर्यावरणीय क्षतिको पुनर्भरण बापत प्राप्त हुने रकम खर्चन विशेष परियोजना र क्षेत्र निर्धारण गरिनु अपरिहार्य थियो। यससँगै पर्यावरण संरक्षणका लागि उन्नत र अत्याधुनिक प्रविधि हस्तान्तरण, जलवायु परिवर्तनजन्य विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय बजारका लागि समेत प्रतिस्पर्धी जनशक्ति उत्पादनका निम्ति पर्यावरणीय उच्च शिक्षा जस्ता विषय प्राथमिकतामा पर्नुपर्थ्यो।
नेपालमै पनि हिमालको फेदमा वन फाँडेर बाटो, केबुलकार बनाउने क्रम बढ्दो छ। सगरमाथा संवादमा हिउँ पग्लिएको, हिमनदी हिमतालमा परिवर्तन हुँदै गएको, ठूला नदी सुक्दै गएकामा चिन्तित सुनिएका प्रधानमन्त्रीले पाथीभरामा प्रस्तावित केबलकार परियोजना फिर्ता, संरक्षण क्षेत्रमा खोलिएका रिक्रिएशन सेन्टर सहितका निर्बाध चलिरहेका व्यवसायलाई प्रतिबन्ध लगाउनुभए बल्ल कार्यक्रमको सार्थकता पुष्टि हुनेछ। एकातिर चिन्ता देखाए जस्तो गर्ने, अर्कातिर हिमालका फेदमा थोत्रा ट्रकको ताँती लगाइरहने, जंगल फाँडेर तथाकथित विकास परियोजना लागू गर्ने प्रपञ्च जारी राखे सगरमाथा संवाद निरर्थक प्रमाणित हुनेछ।
त्रिशूली नदी ।
हिमालय र सगरमाथाको अस्तित्वसँग दक्षिणएशियाकै जीवनदायिनीका रूपमा रहेका नदीहरूको पनि भाग्य र दुर्भाग्य सन्निहित छ। विद्युत् उत्पादन वा अन्य कुनै बहानामा नदीको प्राकृतिक स्वरूप छिन्नभिन्न पारिदिने तथाकथित विकासमा ‘ब्रेक’ नलगाए यस्ता संवाद गरेकै भरमा हिमालय जोगिंदैन। बगिरहेको नदीबाट उत्पन्न हुने ओसले वातावरणमा चिसो कायम गर्छ। ओस त्यस्तो तत्त्व हो जसले कृषि, वन, वनस्पतिको जीवन सञ्चालन गर्छ। तापलाई चिस्याउँछ र वातावरण अनुकूल राख्छ। सबै नदी एकैपटक सुके ओस उत्पादन हुनेछैन। नदीको ओसले तराई र पहाडी वातावरण चिस्याइराख्ने काम गर्छ। वरिपरिको वातावरण चिसो भए नै हिमालयको वातावरण चिसो हुने हो। हिमाल हिमवत् भइरहनुमा नदी, जंगल, तुषारो, वन, चिसो हावा, अनुकूल मौसम, मानव गतिविधि सबैको देन रहन्छ।
ताल, अग्ला पहाड, उपत्यका, खोंच, घाँसे मैदान यी सबैको प्राकृतिक जीवनचक्र सुरक्षित भए मात्र हिमालय सुरक्षित हुने हो। लाखौं सूक्ष्म जीव, सयौं प्रकारका जंगली जनावर, लाखौं प्रजातिका वनस्पति, तिनको पुनर्जन्म र फैलावट, प्राकृतिक उद्विकासको चक्रीय प्रणाली हिमाली सभ्यताका आयाम हुन्। तिनलाई हस्तक्षेप गरेर हिमालय जोगाउने रटान लगाउनु भनेको पानी पोखेर गिलास चाट्दै तिर्खा मेटाउन खोजे जस्तो हो।
यी पनि पढ्नुहोस् :