सदियौंदेखि हिमाली क्षेत्रका बासिन्दाको दैनिक व्यवहारको अभिन्न अंग बनेको धूपी पछिल्लो समय अवैध निकासी र जलवायु संकटका कारण नाशिने चिन्ता बढेको छ।
अन्नपूर्ण दोस्रो हिमालमा घाम झुल्किंदै छ। अघिल्लो साँझ हिउँ फुसफुसाएकाले भ्राका गाउँमा चिसो केही बढेको छ। तैपनि बिहानीपखको चिसो छल्दै ७२ वर्षीया आनी टासी लामा माला जप्दै छिन्।
मनाङको मनाङ ङिस्याङ गाउँपालिका-५ स्थित तीन हजार ४७५ मिटरको उचाइमा रहेको भ्राका गाउँकी लामाको बिहानी समय ध्यानमै बित्छ। २५ वर्षको उमेरमा आनी बनेकी उनी हरेक बिहान उठेर माला जप्दै, पाठ गर्दै माने घुम्ने र साङ बाल्ने गर्छिन्। साङलाई स्थानीय भाषामा फर भनिन्छ।
धूपी, पल्लु, खाम्साङ, तीतेपाती लगायत वनस्पतिका हाँगा र पातलाई काटेर, सुकाएर मिश्रण बनाएको धूलो हो, साङ। साङमा धूपी भने अनिवार्य राख्नुपर्छ। धूपी मात्रलाई पनि स्थानीय बासिन्दाले साङका रूपमा बाल्छन्। मनाङका बासिन्दा साङलाई फर र स्युक्री पनि भन्छन्।
आनी टासी लामा।
साङ बाल्नु लामा सहित मनाङवासीका लागि महत्त्वपूर्ण कार्य हो। विश्व शान्तिको कामना गर्दै हरेक दिन उनी साङ बाल्छिन्। बलिरहेको साङबाट मगमग बास्ना फैलिन्छ। साङ बाल्नाले वातावरण शुद्ध र पवित्र हुने मनाङ-मुस्ताङ लगायत हिमाली जिल्लाका बासिन्दाको विश्वास छ। लामा पनि भन्छिन्, “साङ बाल्दा हाम्रो वातावरण पवित्र हुन्छ।”
साङका लागि आवश्यक पर्ने धूपी समुद्री सतहबाट तीन हजार मिटरको उचाइमाथि पाइन्छ। यो हिमाली क्षेत्रका बासिन्दाका लागि महत्त्वपूर्ण छ। उनीहरू गाउँभन्दा केही टाढाको जंगलबाट धूपी ल्याउने गर्छन्।
आनी टासी लामा पनि महीनाको एक पटक भ्राका गाउँबाट एक घण्टामा पुगिने ताङ्केमा जान्छिन्, पाठ जप्दै। फर्किंदा पनि पाठ गर्दै साङ लिएर गाउँ पुग्छिन्। गाउँ वरपरको धूपी भने टिप्न पाइँदैन। गाउँबाट पर गएर धूपी ल्याउने उहिल्यैदेखिको चलन रहेको उनी सुनाउँछिन्।
साङका लागि धूपीका पात टिप्न मनाङका गाउँमा छुट्टाछुट्टै ठाउँ तोकिएको छ। त्यही अनुसार स्थानीय बासिन्दा समय मिलाएर धूपीका पात ल्याउँछन्। यो परम्परा सयौं वर्षदेखि चल्दै आएको छ।
भ्राका गाउँमा रहेको ७०० वर्ष पुरानो कग्युप गुम्बाको तीन वर्षदेखि ४८ वर्षीय कर्मा छिरिङ गुरुङ रेखदेख गरिरहेका छन्। अन्नपूर्ण दोस्रो हिमालतिर फर्किएको गुम्बामा उनी प्रत्येक दिन साङ बाल्छन्। “साङले वातावरण शुद्ध बनाउँछ। नराम्रा चिजहरूलाई हटाइदिन्छ,” गुरुङ भन्छन्, “गुम्बासँगै गाउँका घर घरमा साङ बालिन्छ।”
कग्युप गुम्बामा साङ बाल्दै कर्मा छिरिङ गुरुङ।
स्थानीय बासिन्दा कर्मा छिरिङ घले पनि घरमा नियमित साङ बाल्ने गरेको सुनाउँछन्। ५४ वर्षीय घले सानै छँदादेखि घरमा साङ बालेको देखेको स्मरण गर्छन्। “उहिल्यै बाजेबज्यैबाट साङ बाल्न सिकियो,” उनी थप्छन्, “कुनै शुभकार्य हुँदा पहिले साङ बाले राम्रो हुने, देउता खुशी हुने भनिन्थ्यो। त्यसैको विश्वास गरियो।”
मनाङको साङ कडा र राम्रो हुने गरेको उनी सुनाउँछन्। बाहिरको साङको बास्ना नै फरक हुने घलेको अनुभव छ।
हिमाली क्षेत्रका बासिन्दाका लागि साङ बाल्नु जीवनको हिस्सा नै हो। आमनागरिक मात्र होइन, पेशाकर्मी, व्यापारी, व्यवसायीका लागि पनि यो नियमित कार्य बन्न पुगेको छ। मनाङ गाउँकी पर्यटन व्यवसायी ५१ वर्षीया ओङमा गुरुङ साङ बाल्ने बानी नै बसेको बताउँछिन्। “बिहान उठेर साङ नबालुन्जेल के भएन जस्तो हुन्छ। साङ बाल्नै पर्छ, बानी नै भइसक्यो,” उनी भन्छिन्।
अवैध निकासीको डर
केशमाया तामाङ २० वर्षअघि गोरखाबाट मनाङ आइन्। मनाङ आउनुअघि उनलाई साङ बाल्नेबारे थाहा थिएन। अहिले वेलावेला भ्राका गाउँमाथि धूपी रहेका ताङ्के, कोर्चे पुग्छिन्। फर्किंदा एक डोको साङ लिएर आउँछिन्।
साङका लागि धूपीका पात टिप्दै केशमाया तामाङ।
यसरी वनबाट ल्याएको साङ केही आफू राख्छिन्, केही छरछिमेकीलाई पनि दिन्छिन्। सधैं साङ बाल्ने गरेको बताउँदै तामाङ भन्छिन्, “घरमा साङ बाल्न टुट्दैन।”
केशमाया जस्तै रोजगारका लागि गोरखा, धादिङ लगायत जिल्लाबाट थुप्रै मनाङ पुगेका छन्। उनीहरू पनि साङ बाल्न अभ्यस्त भइसकेको बताउँछन्। रोजगार, व्यापार, व्यवसायका लागि मनाङ आउनेको संख्या बढ्दो छ।
यससँगै मनाङबाट बाहिरिने क्रम पनि उस्तै छ। पहिल्यैदेखि मनाङवासी रोजगार, व्यवसायका लागि शहर झर्दै आएका थिए। पोखरा, काठमाडौं, चितवन झर्ने क्रम त यथावत् नै छ, अहिले विदेश जाने पनि उत्तिकै छन्।
धूपीका पात टिप्न जंगलतिर गइरहेका भ्राका गाउँका बासिन्दा।
बसाइँसराइले गर्दा मनाङको जनसंख्या बढ्न सकेको छैन। राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालकै सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङ हो। मनाङमा देशको कुल जनसंख्याको ०.०१९ प्रतिशत अर्थात् पाँच हजार ६५८ जनाको बसोबास छ।
अर्कातिर, स्थानीय बासिन्दा विशेषत: जाडो छल्न बेसी झर्छन्। बेसी झर्दा तथा शहर र विदेशमा रहेका आफन्त भेट्न जाँदा मनाङबाटै धूपीको पात लग्ने गरेका छन्।
भ्राकाकी ८२ वर्षीया जन्देन गुरुङ छोरीसँगै गाउँमा बस्दै आएकी छन्। कुनै समय गाउँभरि हुने आफन्तजन अहिले शहरतिर बसाइँ सरेका छन्। उनी पनि आफन्त भेट्न काठमाडौं पुग्छिन्। गाउँको कोसेलीका रूपमा साङ लग्ने गरेको सुनाउँछिन्।
साङका लागि ल्याइएको धूपीका पात देखाउँदै जन्देन गुरुङ।
शहर झरेका मनाङवासीले धार्मिक कार्य र संस्कृति जोगाइराख्न पनि साङ बाल्दै आएका छन्। त्यसैले गाउँबाट काठमाडौं जाँदा एक बोरा जति साङ लग्ने गरेको उनी बताउँछिन्। “साङ नबाले चित्त बुझ्दैन। तल (काठमाडौं) झरे पनि साङ बाल्छु। आफन्तलाई उपहार पनि लैजान्छु, मलाई खुशी लाग्छ,” उनी भन्छिन्।
जन्देन जस्तै मनाङवासी साङ लिएर शहरतिर झर्छन्। साङ बाल्नै पर्ने धार्मिक विश्वासका कारण आफन्तलाई फापर, गहुँको पिठोसँगै साङ पनि लगिदिने गरेका छन्।
हिमालबाट बेसी झर्दा मनपरी धूपी (साङ) काटेर ल्याउन भने पाइँदैन। स्थानीय बासिन्दाले मनपरी धूपी काटेर ल्याउँदा अवैध बेचबिखनको जोखिम बढेपछि निर्यातमा कडाइ गर्न थालिएको हो।
अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने मनाङ जिल्लाबाट धूपी ल्याउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)बाट छोडपुर्जी लिनुपर्छ। संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ का आधारमा हाल प्रतिव्यक्ति वार्षिक १० किलोग्रामसम्म धूपीको पात लैजान पाउने व्यवस्था गरिएको छ। “अन्नपूर्ण क्षेत्रमा भएकाले धूपीलाई व्यापारिक प्रयोजनका लागि लैजान पाइँदैन,” एक्याप प्रमुख रविन कडरिया भन्छन्, “स्थानीय समुदायका लागि धूपीले निकै महत्त्व राख्छ। त्यसैले घरायसी प्रयोजनका लागि पहिले तीन केजी मात्र लैजाने व्यवस्था थियो, पछि बढाएर १० केजीसम्म बनायौं।”
भ्राका गाउँमा साङ बाल्दा निस्केको धूवाँ।
एक्यापका अनुसार यस वर्ष वैशाख महीनामा मात्र चार हजार ४९० किलोग्राम धूपीको पात मनाङबाट बाहिर लगिएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार किलोग्राम निर्यात भएको थियो। त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा एक हजार ५९३ किलोग्राम र २०७८/७९ मा एक हजार ४८८ किलोग्राम धूपीको पातको निर्यात भएको तथ्यांक छ।
कानूनी दायरामा ल्याउँदै धूपीका पातलाई २०६६ सालदेखि निर्यात गर्न दिने व्यवस्था मिलाइएको हो। शुरूआतमा तीन किलोग्राम लैजान पाइन्थ्यो। स्थानीय बासिन्दाले धार्मिक प्रयोजनका लागि नै धेरै धूपी लैजान थालेपछि भने २०७९ सालदेखि १० किलोग्राम निर्यात गर्न पाउने प्रावधान राखिएको कडरिया बताउँछन्।
यसका लागि स्थानीय जनप्रतिनिधिले पनि ‘लबिइङ’ गरेका थिए। मनाङ ङिस्याङ गाउँपालिका-५ का पूर्व वडाध्यक्ष कर्मा गुरुङ तीन किलोग्रामभन्दा बढी धूपीका पात लैजान लागेको आरोपमा २०७९ सालमा लमजुङबाट पक्राउ परे। “तीन केजीभन्दा बढी लैजान पाउने अवस्था थिएन। अरूको धूपी मेरो भन्ने भएपछि समातियो। केही समय तारेख धाएपछि छुटें,” उनी भन्छन्, “एक्यापको नियम पुरानो थियो। त्यसैले मैले नै आएर छलफल बढाएको हुँ। तीन केजीले हामीलाई पुग्दैन भनेर १० केजी बनायौं।”
साङ बाल्दै पूर्व वडाध्यक्ष कर्मा गुरुङ।
पूर्व वडाध्यक्ष गुरुङ आफ्नो समुदायका लागि धूपी नभई नहुने सामग्री रहेको बताउँछन्। अहिले सबै जना शहरबजारतिर भएकाले लैजानै पर्ने बाध्यता रहेको उनको भनाइ छ। पुराना नियमलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै एक्याप पनि समुदायसँगै जानुपर्नेमा उनी जोड दिन्छन्।
संरक्षणकर्मी भने स्थानीय बासिन्दाका नाममा अरूले धूपीको अवैध बेचबिखन गर्न सक्ने चिन्ता जनाउँछन्। यस्तै चिन्ता स्थानीय बासिन्दा कर्मा छिरिङ गुरुङको पनि छ। “बाहिरबाट आएकाहरूले अवैध रूपमा धूपी काटेर बेचबिखन गर्ने जोखिम छ,” उनी भन्छन्।
जलवायु संकटको प्रभाव
वातावरणविद्हरू जलवायु परिवर्तनले हिमाली क्षेत्रमा एकातिर विपद्का घटना बढिरहेकाले चुनौती थपिएको बताउँछन् भने अर्कातिर बालीनाली सप्रिइरहेकाले सकारात्मक प्रभाव औंल्याउँछन्। पछिल्लो दशकको तथ्यांक हेर्दा मनाङमा वर्षा धेरै हुन थालेको छ। सन् २०२१ मा मनाङमा सबैभन्दा धेरै ८४८ मिलिमिटर वर्षा भएको थियो। त्यो वर्ष मनाङमा आएको बाढी र पहिरोले ठूलो क्षति पुगेको थियो।
धूपी र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल।
यस वर्ष मनाङमा वैशाख महीनाको मध्यतिर मात्र हिउँ पर्यो। त्यसअघि हिउँद हिउँविहीन रह्यो। हिउँ नै कम पर्न थालेपछि हिमाली ठाउँ झन् सुक्खा हुने जोखिम बढेको छ। जसको असर वनस्पति र बालीमा पर्छ। “सुक्खा भएसँगै बोटबिरुवा सप्रिन समय लाग्छ,” एक्याप प्रमुख कडरिया भन्छन्।
हिमाली क्षेत्रमा मात्र पाइन्छ, धूपी। यसको वैज्ञानिक नाम ‘जुनिपरस इन्डिका’ हो। यो प्रजातिको धूपी मनाङमा पाइन्छ।
मनाङका धूपीबारे अध्ययन गरेका वनस्पतिविद् रामप्रसाद चौधरी मनाङका हिमाली क्षेत्रका वनका लागि ‘जुनिपरस इन्डिका’ महत्त्वपूर्ण रहेको बताउँछन्। स्थानीय समुदायलाई धार्मिक रूपमा नभई नहुने धूपी उच्च हिमाली भेगका लागि भने स्थानीय वनस्पति रहेको चौधरी सुनाउँछन्। विभिन्न अध्ययनले पनि धूपी प्रजातिका वनस्पतिको पुनरुत्पादन निकै कम हुने देखाएको छ।
मनाङको भ्राका गाउँ।
वनस्पतिविद् चौधरीले सन् २०२० मा गरेको अध्ययनले भने मनाङ क्षेत्रमा धूपीको पुनरुत्थानको सम्भावना देखाएको छ। अध्ययनले भनेको छ, ‘कठोर पारिस्थतिकीय अवस्था र मानवीय दबाबबीच पनि जुनिपर इन्डिका (धूपी)ले सफल रूपमा आफ्नो प्रजातिको पुनरुत्पादन गरिरहेको छ।’
तीव्र रूपमा विकास हुने जरा र शुष्कता सहने प्रकृतिका कारण सुक्खा र ढुंगायुक्त जमीनमा पनि धूपी उम्रिन सक्ने वनस्पतिविद् चौधरी बताउँछन्। तथापि धूपी मासिने जोखिम रहेको उनको भनाइ छ। चौधरी भन्छन्, “स्थानीयले प्रयोग गर्दा धूपीमा कमी आउँदैन, तर व्यावसायिक रूपमा काट्न शुरू गरियो भने धूपी मासिने जोखिम हुन्छ।”
(मोंगाबे बाट अनूदित।)