लूटपाटको नयाँ ‘ट्रेन्ड’ देखिएको छ, जसमा ‘एउटा कल गर्छु’ भन्दै मोबाइल मागेर भाग्ने र त्यसपछि मोबाइल एपबाट खातामा रहेको पैसा ट्रान्सफर गर्ने गरिएको छ।
११ वर्षदेखि काठमाडौंमा ट्याक्सी चलाउँदै आएका बुटवलका दुर्गा शाक्य गत चैत २३ गते साँझ पौने ६ बजेतिर चाबहिलको ओम अस्पताल अगाडि यात्रु पर्खिरहेका थिए। मोटरसाइकल चढेर आएका एक युवकले सोधे, “दाइ, ठमेल जाने हो? ठमेलको होटलमा मान्छे छ। चाबहिलै आएर फेरि होटलमा फर्किने हो।”
ट्याक्सी चालक दुर्गाले ‘हुन्छ’ भने। लगत्तै बाइकवालाले यताबाट होटलमा फोन गरिदिने र त्यहीं गएर यात्रु चढाउनुपर्ने सुनाए। त्यो पनि उनले स्विकारे।
त्यसपछि बाइकवालाले आफ्नो मोबाइल बिग्रेको भन्दै होटलमा रहेको मान्छेलाई फोन गर्न दुर्गासँग मोबाइल मागे। नाइँनास्ती गर्ने कुरै थिएन, उनले बाइकवालालाई मोबाइल दिए।
नम्बर डायल गरेर बाइकवालाले मोबाइललाई कानमा हेलमेटभित्र घुसाए। ‘हेलो, हेलो’ भन्दै बाइक ‘स्टार्ट’ गरेर हुइँकिए। “मेरो ट्याक्सी जतातिर फर्किएको थियो, त्यसको उल्टो दिशातिर मोबाइल लिएर गयो,” उनी भन्छन्, “मैले पछ्याउन सकिनँ।”
तत्कालै दुर्गाले सुकेधारा प्रहरी प्रभाग पुगेर मोबाइल चोरी भएको भन्दै खोजबिनका लागि निवेदन दिए। त्यसको पर्सिपल्ट नेपाल टेलिकमबाट सोही नम्बरको नयाँ सिम कार्ड निकाले।
त्यसपछि पो थाहा भयो, मोबाइल मात्र लगेको रहेनछ, ब्यांक खातामा रहेको रकम पनि निकालिसकेछ। यात्रुले अनलाइनबाट तिरेको पैसा दुर्गाले नबिल ब्यांक वा ई-सेवाको खातामा जम्मा हुने मेसो मिलाएका थिए। “मोबाइल लग्नेले मेरो ब्यांक खाता र ई-सेवामा जम्मा भएको पैसा समेत उडाइदिएछ,” उनी भन्छन्।
ब्यांक खातामा १० हजार ७०० रुपैयाँ थियो। त्यस्तै, ई-सेवामा दुई हजार १६० रुपैयाँ थियो। दुवै खातामा भएको १२ हजार ८६० रुपैयाँ ट्रान्सफर गरेर लगेछ।
डेढ वर्षअघि मात्रै दुर्गाले ४२ लाख रुपैयाँमा विद्युतीय ट्याक्सी किनेका थिए। ११ लाख रुपैयाँ नगद बुझाएका उनले सात वर्ष मासिक किस्ता बुझाउनुपर्छ। “किस्ता तिर्ने पैसा नबिल ब्यांकको खातामा जम्मा गर्ने गरेको थिएँ,” उनी भन्छन्, “धन्न खातामा पैसा नै त्यत्ति थियो, नत्र सबै चोरिने रहेछ।”
त्यसपछि उनले प्रहरीमा पूरक जाहेरी दिए। बाइकवालाले लगेको मोबाइलबाट ‘मोबाइल ब्यांकिङ’ मार्फत खातामा रहेको पैसा ट्रान्सफर गरेर लगिएको उल्लेख गरेका छन्।
आजभोलि प्रायः धेरैले मोबाइल ब्यांकिङको सुविधा लिएका हुन्छन्। ब्यांक नगई हातहातै मोबाइलबाट आर्थिक कारोबार गर्न सजिलो हुने भएकाले मोबाइल ब्यांकिङको सुविधा लिनेको संख्या बढिरहेको छ। तर ब्यांकहरूले डिजिटल कारोबारको सुरक्षा प्रणाली भरपर्दो नबनाउँदा डिजिटल ठगी बढ्दै गएको छ।
पछिल्लो समय त मोबाइल खोसेर त्यसैबाट व्यक्तिको खातामा भएको पैसा पनि लूटपाट गर्ने नयाँ ‘ट्रेन्ड’ देखिएको छ। काठमाडौंको महाराजगन्ज प्रहरी वृत्तले मोबाइल चोरीको आरोपमा नवराज सुनुवारलाई पक्राउ गरेपछि यस्तो प्रवृत्तिको खुलासा भएको हो। नवराजले प्रहरीलाई दिएको बयानमा त उनले यो विधिबाट थुप्रै व्यक्तिको ब्यांक खाताबाट पैसा निकालेको पाइएको छ।
जिल्ला अदालत, काठमाडौंमा दायर अभियोगपत्र अनुसार नवराजले २० वटाभन्दा बढी मोबाइल चोरेको र त्यसपछि मोबाइलमा भएको ‘ब्यांकिङ एप’ खोलेर खातामा भएको रकम पनि ट्रान्सफर गरेका छन्। यो पैसा आफ्ना साथीको खाता वा मनी ट्रान्सफर कम्पनीमा ट्रान्सफर गरेर झिक्ने गरेको बताएका छन्।
यस बापत मनी ट्रान्सफर पसललाई ‘कमिशन’ दिने गरेको पनि उनले प्रहरीलाई बताएका छन्। ‘आफूलाई पायक पर्ने जुनसुकै मनी ट्रान्सफर पसलहरूमा पुगी चोरी गरिएका मोबाइलहरूको मोबाइल ब्यांकिङमा भएको रकम ट्रान्सफर गरी तिर्नुपर्ने कमिशन बापतको रकम तिर्दै आएको थिएँ,’ अदालतमा दर्ता अभियोगपत्रमा नवराजको भनाइ उद्धृत गरिएको छ।
मनी ट्रान्सफर पसललाई ‘कमिशन’ दिएर पैसा झिक्ने गरेको तथ्यले यो अपराध सानो घेरामा मात्र सीमित नरहेको सहजै अनुमान लगाउन सकिने अनुसन्धानमा संलग्न प्रहरी बताउँछन्। तर नवराजले यस विधिबाट कति रकम चोरे भन्ने प्रहरी अनुसन्धानले उधिन्न सकेको छैन। उनले चाेरेका २० वटाभन्दा बढी मोबाइलमा भएका ब्यांकिङ एपबाट पैसा झिकेको बयान दिए पनि यसबाट कति रकम ट्रान्सफर गरे भन्ने खुलेको छैन।
प्रहरीमा नवराज विरुद्ध मोबाइल चोरीका चार वटा जाहेरी परेका छन्। यसमध्ये एउटा मोबाइलबाट भने पैसा समेत चोरिएको देखिएको छ। नवराज तिनै बाइकवाला हुन्, जो चाबहिलमा ट्याक्सी चालक दुर्गासँग होटलमा फोन गर्ने भन्दै मोबाइल मागेर बाइक हुइँक्याउँदै भागेका थिए।
बाइक पनि चोरीकै
काठमाडौंका कमल थापा गत चैत १९ गते राति बूढानीलकण्ठमा एक जना साथीको जन्मदिन मनाएर घर फर्किंदै थिए। बसुन्धरामा आइपुग्दा घरबाट फोन आयो। मोटरसाइलबाट ओर्लिएर फोनमा कुराकानी गर्दै थोरै पर पुगे।
फोन राखेपछि फर्केर हेर्दा मोटरसाइकल देखेनन्। “राति अवेलासम्म कहाँ गएको भन्दै घरबाट फोनमा गाली गरेपछि हल्का प्रेसरमा थिएँ,” उनी भन्छन्, “त्यही तनावले चाबी पनि मोटरसाइकलमै छोडेर कुरा गर्दै यताउता गरेछु। फोन राखेर हेर्दा त मोटरसाइकल थिएन।”
रोकेकै ठाउँबाट मोटरसाइकल हराएपछि उनी चकित बने। केहीबेर यताउता खोजबिन पनि गरे। तर पत्तो लागेन।
भोलिपल्ट उनले महाराजगन्ज प्रहरी वृत्तमा आफ्नो ‘यामाहा एमटी-१५’ मोटरसाइकल चोरिएको उजुरी दिए। यो मोटरसाइकलकाे खरीद मूल्य पाँच लाख ४२ हजार रुपैयाँ छ।
चोरीको यही मोटरसाइकल चढेर नवराजले मोबाइल चोर्ने र मोबाइलमा रहेको मोबाइल ब्यांकिङ एपमा छिरेर पैसा निकाल्ने गरेको खुलेको छ। गत चैत २३ गते चाबहिलमा दुर्गाको मोबाइल मागेर भाग्दा ट्याक्सीमा रहेको क्यामेराले नवराजको फोटो खिचेको थियो। त्यही फोटो दुर्गाले प्रहरीलाई दिएका थिए।
प्रहरीले वैशाख ५ मा नवराजलाई भक्तपुरबाट मोटरसाइकल सहित पक्राउ गरेको थियो। त्यति वेलासम्म उनले मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरिसकेका थिए।
नवराजले मोबाइल चोरेको भन्दै प्रहरीमा दर्ता भएका चार वटा उजुरीमध्ये तीन वटा यही मोटरसाइकलको चोरीपछि लुटिएको पाइएको छ। नवराजले गत चैत १९ मा मोटरसाइकल चोरेको चार दिनपछि चैत २३ मा दुर्गाको मोबाइल लुटेका थिए। त्यसपछि वैशाख १ मा अमिन मगरको र वैशाख ५ मा प्रेम तामाङको मोबाइल लुटेको पाइएको प्रहरीले जनाएको छ।
अमिनले भाडाको निजी कार चलाउँदै आएका छन् भने प्रेम ट्याक्सी चालक हुन्। दुवै जनासँग भने ‘इमर्जेन्सी छ’ भनेर मोबाइल मागेका थिए। फोन नम्बर डायल गरेर कानमा लगाएपछि मोटरसाइकल हुइँक्याएर भागेका थिए। “पठाओ, इन्ड्राइभ जस्ता राइड शेयरिङ चलाउने ट्याक्सी, मोटरसाइकललाई लक्षित गरेर मोबाइल लुट्ने र मोबाइल ब्यांकिङ मार्फत पैसा लुट्ने गर्दो रहेछ,” महाराजगन्ज वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन थापा भन्छन्।
यसरी चोरिएको मोबाइलबाट खातामा भएको पैसा त ट्रान्सफर गरेर लग्थे नै, मोबाइल पनि सस्तोमा बेच्ने गरेका थिए। दुर्गाले ४३ हजार रुपैयाँमा किनेको ओप्पोको मोबाइल नवराजले कपनमा हजामको काम गर्ने सुरेन्द्र ठाकुरलाई १० हजार रुपैयाँमा बेचेका थिए। प्रहरीले मोबाइल किनेका सुरेन्द्र विरुद्ध पनि मुद्दा चलाएको थियो। त्यस्तै, नवराजबाट चोरीको मोबाइल किनेका अर्का एक नाबालकलाई भने प्रहरीले मुद्दा चलाएन।
मोटरसाइकल र मोबाइल चोरीको कसूरमा जिल्ला अदालत, काठमाडौंले नवराजलाई प्रत्येक मुद्दामा तीन महीना कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। न्यायाधीश सुमनकुमार न्यौपानेको एकल इजलासले जेठ १ मा कैद सजायको फैसला सुनाएपछि उनी जेलमा छन्।
थुनामुक्त भए लगत्तै फेरि अपराधमा
सिन्धुलीका नवराज काठमाडौंमा परिवारसँगै बस्थे। आमा दुई वर्षअघि रोजगारीका लागि विदेश गएपछि बुबा र दाजु गाउँ फर्किए। आफूलाई भने कलेज पढ्न भक्तपुरस्थित आफन्तको जिम्मामा छोडिएको नवराजले प्रहरी र अदालतमा बताएका छन्।
उनी चाबहिलको टेक्सस इन्टरन्याशनल कलेजमा पढ्दै थिए। भक्तपुरदेखि कलेज पुग्न टाढा भएकाले चाबहिलमै साथीसँग बस्न थालेको उनले बताएका छन्।
एकदिन उनको मोबाइल हरायो। नयाँ मोबाइल किन्न पैसा भएन। “आपत् परेको बहाना बनाएर ट्याक्सी चालकको मोबाइल मागेर भागें,” १९ वर्षीय नवराजले भनेका छन्, “चार-पाँच महीनासम्म पक्राउ नपरेपछि यो काम गर्दा राम्रो फाइदा हुने ठानें।”
तर मोबाइल लिएर भागेको पाँच महीनापछि पक्राउ परे। त्यति वेला नाबालक नै भएकाले उनलाई भक्तपुरस्थित बाल सुधारगृहमा राखिएको थियो। केही महीनापछि थुनामुक्त भए।
सुधारगृहमा बस्दा पनि उनको आनीबानी सुधारिएन। बरु निस्किएपछि पुरानै अपराधमा योजनाबद्ध रूपमा लागेको पाइएको छ। “म छुटिसकेपछि त्यही काम गर्ने भनी हिंडेको थिएँ। तर पैदलै सम्भव नहुने भएकाले एक महीनाअघि बसुन्धराबाट मोटरसाइकल चोरी गरेको हुँ,” नवराजले भनेका छन्।
कमजोर आर्थिक अवस्था र अभिभावकको निगरानीबाट टाढा भएपछि नवराज गलत बाटोमा लागेको देखिएको डीएसपी थापा बताउँछन्। यसरी लूटपाटको शृंखला मच्चाउने नवराज एक्लै हुन् कि यसमा अरू पनि संलग्न छन् भन्ने यकीन भएको छैन। मनी ट्रान्सफर पसललाई पनि ‘कमिशन’ दिने गरेका नवराजको बयानबाट भने लूटपाटको नयाँ ‘ट्रेन्ड’ देखिएको छ।