राजनीतिक, जातीय वा धार्मिक स्वार्थ समूहहरूले पुरातात्त्विक प्रमाणलाई दुरुपयोग गर्दै इतिहासको गलत व्याख्या गरिदिंदा त्यसले असहिष्णुता बढाउन र हिंसा भड्काउन भूमिका खेलिदिन सक्छ।
सुरेश ढकाल
इतिहास भनेको विगत कालमा एकपछि अर्को गरी भएका घटना–परिघटनाको शृंखला हो जसले हामीलाई वर्तमानसम्म ल्याइपुर्याएको छ। इतिहासले नै हामी अहिले बाँचिरहेको जीवन र जगत् सम्भव बनाएको छ। यो हामी के हौं, को हौं र कसरी यहाँसम्म आइपुग्यौं भन्ने वृत्तान्त पनि हो। इतिहास हिंडेको बाटो बुझ्न सके मात्र वर्तमानलाई चाहे जस्तो भविष्यतर्फ उन्मुख गराउन सकिन्छ। अर्थात्, भविष्यमुखी हुनका लागि विगत कालको ज्ञान पूर्व शर्त हो।
इतिहास केवल राजा-महाराजाका वंशावली, तिनका जीवन र कामसँग सम्बद्ध तिथिमिति होइन। यो त मानव सभ्यता र संस्कृतिका बदलिंदै आएका गति र दिशाको साक्षी पनि हो, जसले ती बदलावका कारण आममानिसमा परेको प्रभाव र नवनिर्मित दृष्टिकोणहरू उजागर गर्छ।
हरेक राष्ट्र, राज्य, भूखण्ड वा जातिका लागि उसको प्राचीन इतिहास अवश्य नै महत्त्वपूर्ण हुन्छ। जुन अनुपातमा तत्तत् क्षेत्रका प्राचीन इतिहासबारे अध्ययन भएको हुन्छ, त्यस अनुसार ज्ञान भने हुँदैन वा ज्यादै न्यून हुन्छ। यसको मूल कारण पुरातात्त्विक अध्ययनविधि महँगो र कठिन हुनु, समय र स्रोत धेरै लाग्नु र उच्च तहको दक्षता आवश्यक पर्नु हो। राजनीतिक आयामले पनि पुरातत्त्वको अध्ययनलाई प्रभावित पारिरहेको हुन्छ। हामी नेपालको इतिहासबारे जुन रूपमा जानकार छौं, प्रागितिहासबारे उत्तिकै अनभिज्ञ छौं। दुई हजार वर्षयताको इतिहास जति थाहा छ, दुई हजार वर्षभन्दा अघिको इतिहासबारे दशांश पनि थाहा छैन। मतलब– हामी जति पुरानो समयतिर जान्छौं, त्यति कम जानकारी पाउँछौं।
इतिहासबारेका हाम्रा कतिपय अवधारणा अनुमानित नभएर अनुसन्धान र विश्लेषणबाट प्राप्त निष्कर्ष हुन्। त्यसैका आधारमा विगत समयबारेका सामान्यीकरण गरिएका ज्ञान हामीसँग हुन्छन्। नयाँ नयाँ उत्खनन, अनुसन्धान र विश्लेषणले यस्ता ज्ञानलाई स्थापित र समृद्ध बनाउँछन्। तर कतिपय अवस्थामा नयाँ ज्ञानको प्राप्तिसँगै स्थापित ज्ञानको खारेजी पनि हुन सक्छ। जस्तो- सृष्टिको सिद्धान्त सम्बन्धमा कुनै समयको स्थापित ज्ञान थियो– यो चराचर जगत् कुनै देवता वा अलौकिक ईश्वरीय शक्तिले रचना गरेको हो। पछि वैज्ञानिक अनुसन्धानले पत्ता लगायो– चराचर जगत्को निर्माण त उद्विकासको क्रमिक तर जटिल प्रक्रिया मार्फत भएको रहेछ।
उद्विकासवादी सिद्धान्तको मान्यता थियो– मानव समाजको विकासक्रम एकरेखीय र सिंढीबद्ध थियो, यो एक चरण पूरा गरेर अर्को उन्नत चरणमा प्रवेश गर्दथ्यो, आदि। तर पछिल्ला अध्ययनले यस्ता सरलीकृत कथ्यले मानव विकासका चरणान्तरणको सम्पूर्ण कथा नबताउने भन्दै बहुल र चक्रीय उद्विकासका सम्भावनातर्फ इंगित गरेको देखिन्छ। नयाँ नयाँ अध्ययनले इतिहासबारेका नयाँ तथ्यको सम्भावनालाई सधैं खुला राखेका हुन्छन्। यसको अर्थ हो– हालसम्मका ज्ञान र मान्यता अन्तिम सत्य होइनन्, अस्थायी र तात्कालिक हुन् जुन नयाँ ज्ञानको प्राप्तिसँगै झनै समृद्ध वा विस्थापित पनि हुन सक्छन्।
हाम्रो प्राज्ञिक तथा बौद्धिक जगत्मा एउटा प्रचलन छ, ज्ञानको केही प्राधिकारी निर्क्योल गर्ने र त्यही ज्ञानलाई शाश्वत ठान्ने। जबकि पुरातात्त्विक अध्ययनमा पछिल्ला तीन–चार दशकमा भएका उपलब्धि त्यसअघिका भन्दा महत्त्वपूर्ण र विगत कालबारेका हाम्रा धारणालाई आमूल रूपमा परिमार्जन गराउने खालका छन्। विगतको राजनीतिक एवं वैचारिक पक्षधरताबारे समेत यसअघि नभएका बहस भएका छन्। अबको मानवशास्त्रीय पुरातात्त्विक अध्ययन त्यसतर्फ उन्मुख हुनु अनिवार्य छ।
कतिपय मान्यता यसरी स्थापित छन् कि ती विश्वव्यापी संकथन एवं ज्ञानका रूपमा परिचित छन्। ग्रेवर र वेंग्रो (२०२२)को अध्ययनमा शिकारी युगमा सबै समान थिए (आदिम साम्यवाद) तर कृषि युगपछि शुरू भएको निजी सम्पत्ति र पितृसत्ताले शिकारी युगको देनका रूपमा रहेका समृद्धि, खुशी, समानता र भाइचाराको अन्त्य भयो भन्ने जस्ता रुमानी धारणा पूर्ण सत्य होइनन्। कृषिको शुरूआत नै मानव जातिको ठूलो भूल थियो भन्ने जस्ता व्याख्या भावनात्मक हुन्। पछिल्लो समयका अध्ययनले त्यस्तो मतलाई खारेज गर्छन्। शुरूआती कृषिमा निजी सम्पत्तिको अवधारणा स्पष्ट रूपमा भेटिंदैन। त्यस्तै, शुरूआतका नगरसभ्यता समानताको अवधारणामा समतावादी संरचना सहित बनेका थिए भन्ने उदाहरण पनि छन्। सिन्धुघाटी सभ्यता त्यसको उदाहरण हुन सक्छ।
जरा जेलिएको रूख
पुरातत्त्वको अध्ययनले धेरै ठूल्ठूला परिवर्तन गराउन सक्दैन। यसले वर्तमान विश्वका संकटहरू, जस्तै- जलवायु परिवर्तन आदिको नकारात्मक असर कम गर्न सक्दैन। चलिरहेका युद्धलाई विराम लगाउन पनि सक्दैन। न त पूँजीवादको विनाश गर्न र उन्नत विकल्प दिन सक्छ। त्यसो भए पुरातात्त्विक ज्ञानको सार्थकता के? क्रिस्टोफर टिली भन्छन्, “पुरातत्त्व अध्ययनले वर्तमान विश्वलाई आलोचनात्मक ढंगबाट बुझ्न र आवश्यक कार्यको खाका बनाउन सहयोग गर्दछ” (मग्वाइर, २००८ )। यसले समुदायको अर्थपूर्ण इतिहास निर्माणमा सघाउँछ। पुरातत्त्व वर्तमानबाट अलग्गिएको विगतको रूखो अध्ययनको विषय पटक्कै होइन। पुरातात्त्विक अध्ययन वर्तमान सामाजिक–राजनीतिक सन्दर्भसँग जोडिएको हुन्छ। मग्वाइर (२००८) भन्छन्, “पुरातत्त्व सधैं राजनीतिक हुन्छ।”
हामी कुनै वृक्षको विशालता देख्छौं, तर त्यसको जराको गहिराइ बिचार्दैनौं। सामान्य नियम के भने, जरा जति तलसम्म फैलिएका हुन्छन् त्यति नै रूखहरू अग्लिन्छन्, बलिया हुन्छन्। तिनलाई सानोतिनो हुरीले ढाल्न सक्दैन। जुन रूखको जरा भित्रसम्म गएको हुँदैन, त्यो झाँगिए वा अग्लिए जस्तो देखिए पनि सानोतिनो हावाले नै ढल्न सक्छ। इतिहास रूखको बाहिरी रूप हो भने प्रागितिहास त्यसको जरा। जरा जति गाँसिएका हुन्छन्, रूख हुँदैनन्। आज विश्वमा देखिएका मानव समुदायका विविधता यथार्थ हुन्, तर विगतमा तिनका जरा गाँसिएका थिए भन्ने जान्नु उत्तिकै महत्त्वपूर्ण हुन्छ। मानवशास्त्रीय पुरातत्त्व अध्ययनको एउटा उद्देश्य सोही यथार्थ मनन गर्नु पनि हो। पुरातत्त्वले मानव समाज र संस्कृतिको लामो अवधिको उद्विकासीय वृत्तान्त तयार पार्छ।
मानवशास्त्रको एक विधाका रूपमा पुरातत्त्व अब विवरण मात्र नभएर व्याख्याको विषय पनि हो। तर एकाध सन्दर्भलाई छोड्दा नेपालमा पुरातत्त्व अझै विवरण तयार पार्ने तहमै सीमित देखिन्छ। विधागत सिद्धान्त र अवधारणाका आधारमा पूर्ण विश्लेषण नहुँदा पुरातत्त्वको विवरण कहिलेकाहीं एकांगी र गलत व्याख्याको शिकार भइदिन सक्छ। राजनीतिक वा गैरविधागत क्षेत्रका व्यक्तिले उनीहरूका निहित स्वार्थ अनुरूप पुरातात्त्विक प्रमाण वा इतिहासको दुरुपयोग गर्न सक्छन्। यस्तो प्रवृत्तिले आममानिसलाई आफ्नै इतिहासप्रति गलत मान्यता बनाउन दुष्प्रेरित गरिरहेको हुन्छ। यही गलत व्याख्या राजनीतिक, जातीय वा धार्मिक स्वार्थ समूहहरूले गरिदिंदा असहिष्णुता बढाउने र हिंसा भड्काउने काम हुन सक्छ।
सिद्धान्तको व्याख्या
मानवशास्त्र व्याख्यात्मक विषय हो। त्यसैले पुरातात्त्विक अध्ययन पनि व्याख्यात्मक विज्ञान हो। भनिन्छ– जसरी प्रकाशको सहयोग विना कुनै वस्तु देख्न सकिंदैन, त्यसरी नै सैद्धान्तिक अवधारणाको सहायता विना सामाजिक यथार्थको व्याख्या गर्न सकिंदैन। त्यसैले सिद्धान्त प्रकाश जस्तै हो। यो दृष्टिकोणबाट हेर्दा विगत कालको अध्ययन पनि विषयगत हुन सक्ने भयो। त्यसले यसको सामाजिक-राजनीतिक पक्षलाई स्थापित गर्ने भयो। यहाँसम्म कि अध्येताको सामाजिक-राजनीतिक पक्षधरता समेत अपेक्षित रहने भयो। तर यसो भन्दैमा पुरातात्त्विक अन्वेषण, उत्खननका जटिल प्रक्रिया र अध्ययन पद्धतिका विशिष्ट कौशलमा सम्झौता गरिनु हुँदैन। परम्परागत पद्धतिमा अभ्यस्त विद्वान्हरू जो अध्ययन-अनुसन्धानको वस्तुगत पक्षलाई मात्र प्राथमिकता दिन्छन् र विवरणात्मक दस्तावेजीकरणमा मात्र चासो राख्छन्, उनीहरूलाई यो अवधारणा असहज लाग्न सक्छ।
पुरातात्त्विक अध्ययनहरू विवरणात्मकसँगै व्याख्यात्मक र समीक्षात्मक पनि हुनै पर्छ। खासगरी मानवशास्त्रीय पुरातत्त्वविद्हरूको आलोचना पुरातात्त्विक अध्ययनलाई समृद्ध बनाउने ध्येयले भएका कारण त्यो ध्येयलाई अर्थपूर्ण बनाउन पनि अबको अध्ययन आत्मसमीक्षात्मक हुुन जरूरी छ।
हालसम्म प्राप्त पुरातात्त्विक प्रमाणले नेपालमा प्रागैतिहासिक मानव बसोबासका प्रशस्त संकेत देखाएका छन्। तर प्राचीन मानव र संस्कृतिबारे व्यवस्थित तवरले अध्ययन-अनुसन्धान भएका छैनन्। पुरातत्त्वबारे केही पुस्तक त लेखिएका छन्, तर ती मूलतः विवरणात्मक छन्। व्याख्यात्मक र थप विश्लेषणात्मक पुस्तक लेखिन आवश्यक छ।
नेपालमा पुरातात्त्विक अध्ययनमा थुप्रै सीमा छन्। विधागत प्राज्ञिक र प्राविधिक तालीमका लागि संस्था, स्रोत, सुविधा र सम्भावनाहरूको अभाव टड्कारो छ। त्यसैले पुरातात्त्विक र ऐतिहासिक सम्पदा संरक्षणमा पर्याप्त काम हुन सकेको छैन।
शिक्षाको कमीकमजोरी, संरक्षणको महत्त्वबारे चेतना अभाव, मानवीय अतिक्रमण र राज्यको उदासीनता आदि कारणले प्राचीन र पुरातात्त्विक सम्पदा (पुरातात्त्विक अवशेष सहित)को विनाश निरन्तर भइरहेको छ। अर्कातिर प्राकृतिक विपत्तिले पनि यस्ता सम्पदा नाशिइरहेछन्। तर प्राकृतिक विनाशका कारण हुने जनधनको क्षतिको आयतन ठूलो हुने कारणले पुरातात्त्विक सम्पदा र स्रोतको विनाशप्रति खासै चासो देखिंदैन।
भ्रमको थुप्रो
नेपाली प्रागितिहासका सन्दर्भमा हामीमा धेरै भ्रम पनि छन्। पर्याप्त अध्ययन विनाका दाबीले इतिहासलाई गौरवान्वित बनाउँदैनन्, बरु इतिहासको भ्रष्टीकरण गर्छन्। नेपालको प्रागितिहासबारे हालसम्म भएका अध्ययन-अनुसन्धान प्रारम्भिक चरणमै रहे पनि यसबाट नेपालको हालको सरहदभित्र करीब दुई लाख वर्षदेखि मानव (आदिपुर्खाहरू) बसोबास रहेका प्रमाण भेटिएका छन्। तर कुन कुन प्रजाति बसोबास गरेका थिए भन्नेबारे ठोकुवा गर्न सकिने तहको अध्ययन हुन बाँकी छ। प्राप्त पुरातात्त्विक अवशेष, शिल्पकृतिहरू कुन समूहले बनाएको थियो भन्नेबारे पनि पर्याप्त प्रमाण छैनन्। तिनाउ नदीमा भेटिएको रामापिथेकसको बंगाराको अवशेषका आधारमा एक करोड १० लाख वर्ष पहिले नै नेपालमा मानव बस्ती थियो भन्ने तर्क प्राज्ञिक वा पुरातात्त्विक अध्ययनका हिसाबले मान्य होइन। अर्थपूर्ण तथ्य उजागर गर्न नसके पनि त्यो महत्त्वपूर्ण पुरातात्त्विक अवशेष भने हो।
मानव जातिले आज पाएका उपलब्धिका आधार विगतमा हाम्रै पुर्खाले निर्माण गरिदिएका हुन्। अत्याधुनिक वैज्ञानिक आविष्कार नै किन नहुन्, तिनीहरू क्रमशः विकसित हुँदै आएका आदिम आविष्कारका उच्चतम अवतार हुन्। जसरी प्रागैतिहासिक पाषाण–औजारहरू संस्कृतिका आधार थिए, खास खाले उत्पादन प्रणालीका निर्धारक थिए, त्यसरी नै आजका अत्याधुनिक र उच्चस्तरका आविष्कारले खास खाले उत्पादन सम्बन्ध बुझ्ने आधार प्रदान गरिरहेका हुन्छन्। यो पनि मानवशास्त्रीय पुरातत्त्वको जिम्मेवारीभित्रको सवाल हो। त्यस खाले बौद्धिक अभ्यास हाम्रो सन्दर्भमा विकास हुन सकेको छैन।
मान्छे बुझ्ने मार्क्सवादी विधा
पुरातात्त्विक मानवशास्त्रीहरू मूलतः संसारका बारेमा ज्ञान हासिल गर्न, मानवको पुरा अवस्थिति थाहा पाउन चाहन्छन्। यसका लागि अवलोकन, अन्वेषण, उत्खननदेखि पुरातात्त्विक अध्ययनको लामो र जटिल प्रक्रिया अपनाउँछन्। तर ज्ञान निर्माणको त्यस्तो प्रक्रियाबारे विवाद र बहसहरू छन्। बहस खासगरी विधि, ज्ञानमीमांसा वा ज्ञान-पद्धतिशास्त्रका बारेमा हुने गर्छन् जुन स्वाभाविक पनि छ। यी बहस पनि संसारलाई कसरी बुझ्ने र बदल्ने भन्ने विषयसँग नै सम्बद्ध छन्।
कार्ल मार्क्सको विश्वप्रसिद्ध उक्ति ‘दार्शनिकहरूले संसारलाई फरक ढंगबाट व्याख्या त गरे, तर मूल कुरो त्यसलाई बदल्नु हो’ भन्ने अवधारणाबाट मानवशास्त्रीय–पुरातत्त्व मुक्त हुन सक्दैन। अबको मानवशास्त्रीय-पुरातत्त्वको ध्येय त्यतातिर पनि हुनुपर्छ। मार्क्सवादी, नव-मार्क्सवादी, नारीवादी, आदिवासी, उत्तर-प्रक्रियात्मक पुरातत्त्वको दृष्टिकोणबाट प्रक्रियात्मक र विवरणात्मक पुरातत्त्वको आलोचना पनि हुँदै आएको छ। यस क्षेत्रका विज्ञ, अध्येता, अनुसन्धाताले यसतर्फ ध्यान दिनु जरूरी छ। विश्व पुरातत्त्वसँग संवाद गर्ने सामर्थ्य बनाउने प्रयत्न हुनुपर्छ।
यसरी हेर्दा परम्परागत र औपचारिक परिभाषाको पुरातत्त्व व्यवस्थित तवरबाट मूर्त सांस्कृतिक (शिल्पकृति) उत्खनन र विश्लेषण गरेर विगतको अध्ययन गर्ने विधा हो। पुरातत्त्वको मूल उद्देश्य त्यो मूर्त संस्कृतिको उत्खनन, विवरण निर्माण र वर्गीकरण गर्नु जसका माध्यमले विगतको सामाजिक स्वरूप र व्यवहार थाहा पाउनु हो। पुरातात्त्विक अध्ययन विगत कालको अध्ययन त हो नै, वर्तमानको सामाजिक-राजनीतिक क्रियाकलाप पनि हो। त्यस्तो सचेतनापूर्ण क्रियाकलाप वास्तविकतामा सम्पन्न गरिनुभन्दा पहिले मानिसको चेतनामा वा काल्पनिकीमा निर्माण हुन्छ। त्यस्तो सामाजिक-राजनीतिक क्रियाकलापको वैचारिक आधार हुन्छ। अन्ततोगत्वा त्यस्तो क्रियाकलापको एक मात्र उद्देश्य अधिकतम मानवोचित संसार निर्माण गर्ने हुनेछ।
पुरातात्त्विक स्थल तिलौराकोटमा गरिएको उत्खनन। फाइल तस्वीर : ज्ञानिन राई
अमेरिकी लेखक जेरेड म्यासोन डायमन्डको सन् १९९८ को पुलित्जर पुरस्कारप्राप्त पुस्तक गन्स, जर्म्स एन्ड स्टील : द फेट्स अफ ह्युमन सोसाइटी (१९९७) तथा मानवशास्त्रका प्राध्यापक डेविड ग्रेवर (हाल स्वर्गीय) र तुलनात्मक पुरातत्त्वका प्राध्यापक डेविड वेंग्रोको द डन अफ एभ्रिथिङ, अ न्यू हिस्ट्री अफ ह्युमानिटी (२०२१) त्यस्ता उदाहरण हुन् जसले हामीलाई मानव जातिको विगत, हामी कहाँबाट आयौं भन्ने परम्परागत धारणाप्रति आलोचनात्मक हुन मात्र सिकाउँदैनन्, विगतलाई हेर्ने क्रान्तिकारी दृष्टिकोण पनि प्रदान गर्छन्।
यिनले हामीले सुनिरहेको, पढिरहेको इतिहासबारे कतिपय परम्परागत कथाभन्दा बिल्कुलै भिन्न तस्वीर देखाउँदै आमूल संशोधनको आग्रह गर्छन्। महत्त्वाकांक्षी, सुस्पष्ट र विचारोत्तेजक यी पुस्तक पुरातात्त्विक अध्ययन अर्थात् मानव विगतको अध्ययन कसरी गर्न सकिन्छ र किन गर्नुपर्छ भन्ने सवालको सबैभन्दा ताजा प्रमाण पनि हुन्। अबको हाम्रो अध्ययन, अनुसन्धान र व्याख्या त्यसतर्फ उन्मुख हुनु आवश्यक छ।
(मानवशास्त्री ढकालको पुस्तक इतिहासअघिको इतिहास : सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त को दोस्रो संस्करण बजारमा आएको छ। यो आलेख त्यही पुस्तकको अंश हो।)
यी पनि पढ्नुहोस्