नेपाल शब्दको स्रोत तथा उत्पत्तिबारे फरक विश्लेषण गरेर गएका ऐतिहासिक ज्ञानमणि नेपालको अन्वेषण र साधनाले नेपाली इतिहासका अनेक अँध्यारा पन्ना खोलिदिएका छन्।
गोविन्द न्यौपाने
इतिहास तथ्य–प्रमाणमा आधारित हुन्छ। दस्तावेज र अभिलेख्य प्रमाणका आधारमा ऐतिहासिक घटनाको आलोचनात्मक विमर्श गरिन्छ। नेपालको इतिहास लेखनलाई प्रामाणिक बनाउन योगदान गर्ने एक ऐतिहासिक हुन्, ज्ञानमणि नेपाल (विसं १९८९ वसन्त पञ्चमी – २०८१ जेठ १)।
जीवनको अधिकांश समय उनले इतिहासको अन्वेषण, अरूले लेखेका इतिहासको त्रुटि संशोधन र शुद्ध्याइँ तथा लेखनमा खर्चिए। इतिहास र वाङ्मयको अध्ययन–अनुसन्धान उनले गरेको साधनाबाट नेपाली इतिहास लेखनको खुड्किलो थपिएको छ।
ज्ञानमणिले हजुरबुबा वैयाकरण नेपाल (पण्डित) र बुबा भानुभक्त नेपालबाट संस्कृत शिक्षाको प्रारम्भिक ज्ञान घरमै प्राप्त गरेका थिए। पछि उनले भोजपुर टक्सारस्थित भाषा पाठशालामा विशेषगरी संस्कृत, वेद र रुद्री जस्ता विषय पढेका थिए (मेरो गुरुकुलीय शिक्षा र सहपाठी , ज्ञानमणि नेपाल, ज्ञानगुन प्रकाशन, २०५४, पृष्ठ १२)।
त्यसपछि उनी भोजपुरकै गोगने पाठशालामा भर्ना भए, जहाँ उनका मामा जयदेव अधिकारी शिक्षण गर्थे। त्यहाँ उनले मध्यमासम्मको अध्ययन गरे। त्यस वेला संस्कृतका पण्डित नयराज पन्तले काठमाडौंमा संस्कृत पाठशाला चलाइरहेका थिए। भारतको बनारसमा अध्ययन गरी विसं १९९५ मा नेपाल फर्केर उनले महाबौद्धस्थित आफ्नै घरमा गुरुकुलीय परम्परा अनुसार पढाउने पाठशाला खोलेका थिए।
ज्ञानमणिका मामा जयदेव र लक्ष्मीप्रसाद पोखरेल नयराजका साथी थिए। सोही साथी सम्बन्धका कारण ज्ञानमणिले नयराजको पाठशालामा आएर पढ्ने अवसर पाए। लक्ष्मीप्रसाद पोखरेलका छोरा पेशलकुमार नयराजको पाठशालामा पढ्दै गरेको हुनाले पनि उनलाई त्यहाँ आउन थप पृष्ठभूमि बन्यो।
विसं २००४ देखि २०१२ सम्म ज्ञानमणिले गुरुकुलीय पाठशालामा पढे। उक्त आठ वर्षमा नयराजले तयार गरेकोे पूरै पाठ्यक्रम ज्ञानमणिले पूरा गरे। गुरुकुलमा पढ्ने धेरै विद्यार्थीमध्ये पाठ्यक्रम पूरा गर्ने एक मात्र शिष्य ज्ञानमणि हुन् भन्ने कतिपय विद्वान्को भनाइ रहे पनि यस तर्कलाई नयराजका छोरा एवम् ऐतिहासिक महेशराज पन्तले ज्ञानमणिको निधनपछि लेखेको लेखमा खण्डन गरेका छन् (‘शहरमा ढुक्कले लेखपढ गर्नु सम्भव छैन’, महेशराज पन्त, कान्तिपुर–कोसेली , २०८१ जेठ १२)।
आफ्ना चेलाहरूलाई इतिहास लेखनमा योग्य बनाउनुपर्छ भन्ने नयराजको अभीष्ट भएकाले प्राचीन लिपि, गणित र ज्योतिषशास्त्र लगायत विषयको पनि ज्ञान दिइएको थियो। पाठशालामा ज्ञानमणिका सहपाठी भोलानाथ पौडेल, धनवज्र वज्राचार्य थिए। उनीहरूले संयुक्त रूपमा कौटिल्यको अर्थशास्त्र , रघुवंश , इतिहास संशोधनपत्रहरू (संस्कृत सन्देश मा प्रकाशित) लगायत पुस्तकको प्रकाशन गरिसकेका थिए (इतिहास संशोधनको प्रमाण–प्रमेय , जगदम्बा प्रकाशन, विसं २०१९, पृष्ठः ६०,६१)।
त्यस क्रममा ससाना विद्यार्थी मार्फत इतिहास संशोधन किन लेखाएको भन्ने प्रश्न पनि नउठेको होइन। त्यस प्रश्नको जवाफमा नयराजले इतिहास सिकाउने पाठशाला पनि नभएको अवस्थामा आफ्ना शिष्यलाई सानैदेखि इतिहास विधाको ज्ञान दिंदै जाँदा भविष्यमा उनीहरू निष्पक्षतापूर्ण इतिहास लेख्न सक्षम हुनेछन् भन्ने बताएका थिए (ऐजन, पृष्ठः ५९)।
पछि गएर नयराजको पाठशालाकै पाठ्यक्रम अनुसार भोलानाथले ललितपुरको लुभुमा खोलेको पाठशालामा पढ्ने विद्यार्थीले २००९ साल असोजदेखि नै इतिहास संशोधनपत्रहरू प्रकाशन गर्न थाले। ज्ञानमणिले धनवज्र र अन्य समकालीनहरूसँग मिलेर संशोधनपत्रहरू प्रकाशन गरेको देखिन्छ। २०१० सालदेखि योगी नरहरिनाथको अगुवाइमा छापिन थालेको मासिक प्रकाशन संस्कृत सन्देश को तेस्रो अंकमा ज्ञानमणिले धनवज्रसँग मिलेर लेख लेखेको देखिन्छ। यो क्रम पाँचौं अंकसम्म चल्यो। पछि धनवज्रसँग मिलेर दुई ठूला पुस्तक ऐतिहासिक पत्रसंग्रह र जयरत्नाकर नाटक नेपाल सांस्कृतिक परिषद्बाट प्रकाशन गरे (मेरो गुरुकुलीय शिक्षा र सहपाठी , पृष्ठ २१)।
गुरुकुल छोडेपछि
२०१२ सालमा ज्ञानमणिले पाठशालामा अध्ययन पूरा गरेपछि उनी भोजपुर फर्किए। नयराजकै पाठ्यक्रम र शैलीमा आधारित रहेर भोलानाथले लुभुमा पाठशाला खोलेको उनले देखेको थिए। उनले पनि त्यही शैली अनुसार भोजपुरमा पाठशाला खोलेर पढाउन थाले। लगभग आठ वर्ष चलेपछि पञ्चायती शासकको कुदृष्टिका कारण पाठशाला बन्द भयो।
नयराजको अग्रसरतामा २०१८ सालमा संशोधन-मण्डल स्थापना भयो। यसको दुई वर्षपछि संघसंस्था दर्ता ऐन अनुसार दर्ता भयो। नेपालको इतिहास लेखनमा भएका त्रुटि र तथ्यगत गडबडी संशोधन गर्ने र प्रामाणिक बनाउने उद्देश्यले उक्त संस्था स्थापना गरिएको थियो। ऐतिहासिक तथ्य र प्रमाणका आधारमा इतिहासको परिशीलन गर्नुपर्ने संस्थाको मूल सिद्धान्त थियो। विभिन्न विदेशी विद्वान्बाट नेपालको इतिहास लेखनको शुरूआत भए पनि नियोजित उद्देश्य, शासकको प्रभाव, सीमित समय र भाषा लगायत कारणले उनीहरूका लेखाइमा गलत व्याख्या र त्रुटि देखिन्छ। यस विषयलाई गुरु नयराजले राम्ररी बुझेका थिए।
संशोधन-मण्डलमा ज्ञानमणि भने आबद्ध थिएनन्। नयराजको प्यारो चेला भएर पनि उनी संस्थामा किन अटाएनन् भनेर कतिपय विद्वान्को प्रश्न रहेको देखिन्छ। हुन पनि संशोधन-मण्डलबाट प्रकाशन हुने इतिहासप्रधान पत्रिका पूर्णिमा मा ज्ञानमणिको एउटै लेख प्रकाशित छैन।
आफ्नो साधना कक्षमा ज्ञानमणि।
ऐतिहासिक दिनेशराज पन्तका अनुसार संशोधन-मण्डलको दर्ता हुनुभन्दा आठ वर्षअघि नै ज्ञानमणि भोजपुर फर्किसकेका कारण यो संस्थाको सदस्य हुन छुट्न पुगेका हुन्। संशोधन-मण्डल बाहिरका सदस्यहरूको लेख छपाउने नियम नभएकाले पूर्णिमा मा ज्ञानमणिका लेख नछापिएको अर्का ऐतिहासिक नयनाथ पौडेलको भनाइ छ।
२०३२/३३ सालतिर ज्ञानमणि फेरि काठमाडौं आए। इतिहासको अध्ययन र अन्वेषणमा लगनशील भएर लागे।
विद्वान्सँग खटपट
प्राज्ञिक जीवनमा ज्ञानमणिका विभिन्न विद्वान्सँग खटपट भएको पाइन्छ। विद्यार्थी जीवनमा आफ्नै गुरु नयराजसँग कतिपय कुरामा विवाद भएको कुरा उनका समकालिक साथीहरू र उनकै लेखबाट थाहा हुन्छ। उनले मेरो गुरुकुलीय शिक्षा र सहपाठी पुस्तकमा गुरुसँग खटपट परेको लेखेका छन् (पृष्ठ २२, २३)। उनको यो भनाइबारे नयराजले कुनै टीकाटिप्पणी गरेको हालसम्म प्रकाशनमा आएको छैन।
ज्ञानमणि २०३५ सालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एशियाली अनुसन्धान केन्द्र (सिनास)मा आबद्ध भए। तर लामो समय स्थायी हुन नसक्दा उनको मन पिरोलिएको थियो। उनी अगावै २०२७ साउन २६ देखि त्रिविमा करार सेवाबाट जागीर शुरू गरेका धनवज्रले २०३० भदौमा उपप्राध्यापक सरहको स्थायी पदमा नियुक्ति पाएका थिए। समान योग्यता भएर पनि धनवज्रले त्रिवि सिनासमा स्थायी जागीर पाउँदा आफू भने स्थायी हुन नसकेको र त्यसमा धनवज्र कारक रहेको भन्दै उनले तिक्तता पोखेका छन्। धनवज्रले चाहेको भए आफूले सिनासमा प्राध्यापक वा सहप्राध्यापकको पद पाउने थिएँ भनी उनले लेखेका छन् (मेरो गुरुकुलीय शिक्षा र सहपाठी , पृष्ठः ९२)। प्राध्यापक हुने ठूलो इच्छा भए पनि ज्ञानमणिसँग विश्वविद्यालय तहको प्रमाणपत्र नभएकाले उनको इच्छा अधुरै रहेको हुन सक्छ।
ज्ञानमणिले आफ्नो असफलतामा धनवज्रप्रति असन्तुष्टि पोख्नु अशोभनीय भएको नयनाथले टिप्पणी गरेका छन्। ज्ञानमणिले त्रिविमा दर्खास्त दिएर असफलता पाएपछि साथीलाई दोष लगाएर आफ्नो वेदना कम गरे पनि दिवंगत भइसकेका धनवज्रको सम्झना गर्ने निहुँमा मित्रनिन्दा गर्नु प्राज्ञलाई नसुहाउने नयनाथको भनाइ छ। (एकदामको चारमाना चामल , नयनाथ पौडेल, २०६३, पृष्ठः २३, २४)।
आफ्ना कृतिले मदन पुरस्कार नपाएको भनी ज्ञानमणिले पिरलो गरेकामा पनि नयनाथले टिप्पणी गरेका छन्। कसलाई पुरस्कृत गर्ने वा नगर्ने भन्ने कुरा निर्णायक मण्डलको हातमा हुने हुँदा यसरी दुःखी हुनु प्राज्ञलाई सुहाउने कार्य नभएको तर्क नयनाथको छ (ऐजन, १८)।
२०७३ चैत २३ गतेको कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले ‘गायब पारिएको दस्तावेज’ शीर्षक आलेखमा ज्ञानमणिका चोरिएका कृतिहरूबारे चर्चा गरेका छन्। ज्ञानमणि आफैंले पनि सिनासमा काम गर्दा आफूले लेखेर दराजमा राखेका दस्तावेज र पाण्डुलिपि हराएको तथा चोरी भएको बताउने गरेका थिए। तर त्यस सम्बन्धमा सिनासका तत्कालीन पदाधिकारी तथा उनका सहकर्मीहरूले फरक विचार व्यक्त गरेका छन्।
देवेन्द्रको लेखमाथि नयनाथले २०७३ फागुन २३ गते कान्तिपुर कै पाठकपत्र स्तम्भमा खण्डन लेखेका छन्। ज्ञानमणिका दस्तावेज साँच्चै चोरी भएका थिए भने उनी जस्ता निर्भीक र जुझारु व्यक्तिले त्यस वेला नै किन आवाज उठाएनन् त भनी उनले प्रश्न गरेका छन्। प्राध्यापक पदमा स्थायी हुने दौडमा लागेका ज्ञानमणिले पदाधिकारीहरूलाई नचिढ्याउन यस विषयमा मौनता साँधेको पनि हुन सक्ने आशंका उनले व्यक्त गरेका छन्।
सिनासबाट दस्तावेज चोरी भएको भन्नेबारे त्रिविका तत्कालीन पदाधिकारी प्रा.डा. प्रेम खत्रीसँग जिज्ञासा राख्दा यो हुनै नसक्ने कुरा हो भनी यस पंक्तिकारलाई बताएका थिए (२०८० फागुन १ गतेको संवाद)।
पुरातत्त्वविद् तारानन्द मिश्रलाई पनि ज्ञानमणिले आफ्नो किताब चोरीको आरोप लगाएका छन्। तिब्बती तीर्थयात्री धर्मस्वामीको यात्रा वृत्तान्तलाई ज्ञानमणिले अनुवाद र व्याख्या गरेर नेपाल प्रज्ञा–प्रतिष्ठानमा बुझाएको, त्यहाँबाट तारानन्दलाई समीक्षा गर्न पठाइएको र लामो समयपछि सो पुस्तक तारानन्दकै नामबाट प्रकाशन भएको ज्ञानमणिको मुखबोलीलाई आधार मानेर पत्रकार विमल आचार्यले अन्नपूर्ण पोस्ट् मा लेखेका थिए (ज्ञानमणि नेपालको महाभारत , २०७६ माघ २५)। तारानन्द जीवित छँदै दाबी किन गरिएन, दिवंगत भएपछि चोरीको आरोप किन लगाइयो भन्ने प्रश्न सदाका लागि अनुत्तरित रहनेछ।
विद्वान् कमलप्रकाश मल्लसँग विशेषगरी महेशराज पन्तको वैचारिक छलफल बढी जोडिएको देखिन्छ। नयराजका चेला भएका नाताले कमलप्रकाशले ज्ञानमणिलाई पनि शुरूमा प्राज्ञिक र पछि त निकै तल्लो तहमा झरेर आलोचना गरेका छन्। ज्ञानमणिले संस्कृत शब्द निपबाट नेपाल शब्दको व्युत्पत्ति भएको भन्ने तर्कलाई ‘लिच्छविकालमा ८० प्रतिशतभन्दा बढी स्थाननाम संस्कृत भाषाका छैनन् भने के आधारमा नेपाल देशको नाम मात्र संस्कृत शब्दमा हुन्छ’ भनी प्रश्न गरेका थिए। ज्ञानमणिका लामो गन्थन भ्यागुताको बासी तर्क मात्र हो भन्ने उनको टिप्पणी थियो।
त्यस्तै, लिच्छविकाल विशाल नेपाल थियो भन्ने ज्ञानमणिको भनाइलाई कमलप्रकाशले शारीरिक अपांगतामा होच्याउने शब्द जोड्दै ‘लंगडो तर्क’ भनी आलोचना गरेका थिए (नेपालका इतिहास संशोधकहरूको उत्थान र पतन , कमलप्रकाश मल्ल, नेपाल संवत् १११५, पृष्ठ १९, २०)।
‘प्रदीप्त प्राज्ञ’
महेशराज पन्तले भने झैं नेपालको इतिहासको परिशीलनमा ज्ञानमणि साधक हुन्। आधुनिक शिक्षा पढेका विचारकहरूले आरोप लगाए झैं गुरुकुलीय शिक्षा आर्जन गरेका उनलाई आधुनिक इतिहासको वाद, विचार वा दर्शन थाहा भएन होला। तर नेपालको इतिहास लेखनमा उनी सिद्धहस्त शिल्पी हुन् भन्न धक मान्नु पर्दैन।
विशेषतः नेपालको इतिहासका तीन वटै काल (लिच्छवि, मल्ल र शाह) बारे ज्ञानमणिले प्रशस्त कलम चलाएका छन्। नेपाल शब्दको निरूपणमा उनको महत्त्वपूर्ण योगदान छ। अबका सयौं वर्षपछिका इतिहास अध्येताका लागि नेपाल शब्दको व्याख्या गर्न उनले एउटा बलियो आधारभूमि तयार पारेका छन्। दिवाकर आचार्य लगायतका अध्येताले पनि उनकै लेखलाई आधार बनाएर आफ्नो दृष्टिकोण अगाडि सारेका हुन्। त्यसकारण उनले नेपाल चिनाए भन्दा अन्यथा नहोला।
अघिल्ला पुस्ताका इतिहास अध्येताहरूले शासकको इतिहास मात्र लेख्ने गरेको आरोप पछिल्ला पुस्ताका आलोचकहरूले लगाउने गरेका छन्। योगमाया न्यौपानेको इतिहासमाथि परिशीलन गरेर ज्ञानमणिले त्यस आरोपलाई चिरिदिए। त्यस्तै, शासकका इतिहास लेख्ने क्रममै उनले तीसँग जोडिएका नागरिकको इतिहास लेखेर आफूलाई फरक कित्तामा उभ्याए। नेपालको अन्धकार युग भनेर मानिने पूर्वमध्यकालको इतिहास लेखेर त्यस तर्कलाई पनि खण्डन गरिदिए।
उनको काम इतिहासको खोजीमा मात्र सीमित छैन, साहित्य र संस्कृतिमा पनि उनले महत्त्वपूर्ण योगदान पुर्याएका छन्। विशेषतः महिरावणवध , भैरवानन्द नाटक, पृथ्वीन्द्रोदय जस्ता महाकाव्यको व्याख्या र विवेचना गरेर नेपाली साहित्यको इतिहासको अध्ययनमा पनि आफ्नो उपस्थिति जनाएका छन्। नेपालको आद्य-इतिहासदेखि गणतन्त्रसम्मका ऐतिहासिक पक्षबारे कलम चलाएर उनले आफ्नो क्षमता उजागर गरेका छन्।
त्रिविको प्रा.डा. हुने अवसर नपाए पनि वा विभिन्न मानपदकबाट विभूषित नभए पनि उनी आफैंमा प्रदीप्त प्राज्ञ हुन्, जसलाई कुनै उपाधि वा प्रशस्तिको लेपन गरिरहनु जरूरी छैन। बरु जरूरी छ, उनका अप्रकाशित कृतिहरूको खोजी तथा संकलन गरी प्रकाशन गर्नु, उनले छाडेर गएका कृतिको अध्ययनबाट मुलुकको इतिहास जान्नु, अतिशय प्रशंसा र अतिशय आलोचनाको सीमाभन्दा माथि उठेर समालोचना गर्नु। यही नै उनीप्रतिको सच्चा सम्मान हुनेछ।
यी पनि पढ्नुहोस्