बौद्ध धर्मका शीलको पालना गर्दा अहिलेको समयमा जीवनलाई सहज बनाउन सहयोग पुग्ने र चित्त शान्त हुने अष्टशील अनुसरण गर्नेहरू बताउँछन्।
सामान्यतया बुद्धको शिक्षा अनुरूप जीवनयापन गर्न अभ्यास गर्नेहरूले अष्टशीलमध्ये पहिला पाँच शील अर्थात् पञ्चशील पालना गर्छन्। त्यसभन्दा पनि गहिरिएर अभ्यास गर्नेहरूले थप तीन गरी अष्टशील पालना गर्छन्।
पञ्चशील पालनाका लागि बौद्ध धर्म नै अपनाउनुपर्छ भन्ने छैन। कसैले ‘म बौद्ध धर्म मान्दिनँ, तर पञ्चशील चाहिं पालन गर्छु’ पनि भन्न सक्ने अध्येताहरू बताउँछन्।
हुन पनि शील भनेको अनुशासन हो। स्वच्छन्दताको वकालत गरिने आजको संसारमा शील पालन गर्नु भनेको आफूलाई बाँध्नु झैं महसूस हुन सक्छ। तर गहिरिएर विचार गर्दा शीलरहित जीवन केही समयका लागि वा केही व्यक्तिका लागि आनन्ददायक भए पनि दीर्घकाल र बहुजनका लागि हानिकारक नै हुन्छ।
बौद्ध धर्मका अष्टशील पालनाका प्रण
प्राणी हिंसाबाट विरत रहने शिक्षापद ग्रहण गर्दछु।
नदिएको लिने (चोरी गर्ने) कार्यबाट विरत रहने शिक्षापद ग्रहण गर्दछु।
काम मिथ्याचारबाट विरत रहने शिक्षापद ग्रहण गर्दछु।
झूटो बोल्नबाट विरत रहने शिक्षापद ग्रहण गर्दछु।
मद्यपान, मादकपदार्थ सेवन तथा प्रमाद उत्पन्न गराउने चिजहरूबाट विरत रहने शिक्षापद ग्रहण गर्दछु।
विकाल (मध्याह्नपछि)को भोजनबाट विरत रहने शिक्षापद ग्रहण गर्दछु।
नाचगान, वाद्यवादन, अशोभनीय मेला अवलोकन, माला धारण, सुगन्ध लेपन तथा सिंगारपटार तथा आभूषण धारण आदिमा विरत रहने शिक्षापद ग्रहण गर्दछु।
उच्चाशयन (खाट, पलङ, गद्दा जस्ता उच्च स्थानमा सुत्न) तथा मान्यजनभन्दा उच्च आसनमा बस्नमा विरत रहने शिक्षापद ग्रहण गर्दछु।
बुद्ध जीवित हुँदा पनि भेट्न आउने धेरैजसो मानिस त भिक्षुत्व ग्रहण गरेर धर्ममा प्रवेश गर्नेभन्दा पनि शील लिएर पालन गर्ने गृहस्थहरू नै हुन्थे। यसरी शीलको मात्र अभ्यास गर्दागर्दै धेरैले स्रोतापन्न (श्रावकयान अनुरूप सत्यको पहिलो दर्शन लाभको अवस्था), सकृदागामी (दोस्रो तहको दर्शन लाभको अवस्था) तथा अनागामी (तेस्रो तहको दर्शन लाभको अवस्था) पार गरेका उदाहरणहरू बुद्धका जीवनीसँग सम्बन्धित कथाहरूमा पाइन्छन्।
अर्हत् हुनलाई भने भिक्षुत्व नै धारण गर्नुपर्ने उल्लेख छ। शील लिंदा एकै पटक पञ्चशील नै नलिएर शुरूमा एक-दुई शील मात्रै लिएर अभ्यास गर्दै तिनमा परिपक्व भएपछि थप शील लिने गरिएको पनि बुद्ध सम्बन्धी कथामा पाइन्छ।
मानिसको दुःख मुक्तिको पहिलो खुड्किलोका रूपमा बुद्धले बनाएका शील जतिसक्दो धेरै पालन गर्नुलाई बौद्ध समुदायमा गर्व तथा सम्मानका रूपमा लिइन्छ। भिक्षुका लागि २२७ र भिक्षुणीका लागि ३११ शील निर्धारण गरिएका छन्। त्यस्तै, गृहस्थलाई भने कम्तीमा पनि पञ्चशील पालन गर्न प्रोत्साहन गरिन्छ।
पञ्चशील पालना गर्दै गएपछि जीवनमा परेका सकारात्मक प्रभावबाट उत्साहित हुनेहरूले जीवनभर र नसक्नेले कम्तीमा पनि औंशी, पूर्णिमा, अष्टमी, दशमी जस्ता तिथिमा अष्टशील पालना गर्छन्। खासगरी तिथि हेरेर अष्टशील पालना गर्ने प्रचलन बौद्ध धर्मभित्रको पनि श्रावकयानमा लोकप्रिय छ।
श्रावकयानकै एक मात्र जीवित हाँगा थेरवाद परम्पराको अभ्यास गर्ने व्यक्तिहरू काठमाडौं उपत्यकामा भेटिन्छन्। विशेषगरी नेवारी बौद्ध समुदायमा तिथि हेरी अष्टशील पालना गर्ने व्यक्ति भेटिन्छन्। तीनै जिल्लाका एक-एक जनाले अष्टशील पालनाको अनुभव सुनाएका छन्।
अष्टशील पालनाले जीवन सहज
दुई दाजुसँगै सानो परिवारमा आमाले हुर्काएकी मंगलदेवी शाक्यलाई विवाह भएर १२ जनाको परिवारमा जाँदा भातभान्साको कामले अत्यास लाग्यो। बौद्ध विहारमा बुद्ध पूजा गर्न र प्रवचन सुन्न जाने परिवारमा भातभान्साबाट छुटकारा पाउने एउटै बाटो देखिन्, विहार जानु। दुवै परिवार शाक्य नै भए पनि माइतीमा विहारको संरक्षण र भन्ते (भिक्षु)लाई दान दिने बाहेक विहारमा गएर बुद्ध पूजा गर्ने तथा प्रवचन सुन्ने चलन थिएन।
नयाँ घरमा भने दुई जना जेठाजु भिक्षु भइसकेको र परिवारका अन्य सदस्य पनि विहारमा गई प्रवचन सुन्ने, शील लिने र पालन गर्ने प्रचलन थियो। त्यसैले मंगलदेवीले ‘विहार जान्छु’ भन्दा परिवारले सहज रूपमै लियो।
मंगलदेवी शाक्य। तस्वीरहरू : दुर्गा लामिछाने
भर्खर १८ वर्ष कटेकी मंगलदेवीले विहारमा गएर बुद्धको शिक्षा लिंदा लाभ होला भन्ने सोचेकै थिइनन्। विहारमा बसुन्जेल आँखा चिम्लेर भन्तेको प्रवचन सुन्दासुन्दै कुन वेलादेखि मन जोडियो, पत्तै भएन।
प्रवचनको शुरूमै भन्तेले पञ्चशीलका एक-एक शील भन्ने र श्रद्धालुले दोहोर्याउने गर्छन्। यससँगै पञ्चशील लिइन्छ र शील पालना गर्ने कार्य बुद्ध र बुद्धको शिक्षामा व्यक्तिको श्रद्धा र विश्वासका आधारमा हुन्छ। पञ्चशीलमा क्रमशः प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने, झूटो नबोल्ने र लागूपदार्थ, मादकपदार्थ जस्ता मात लगाउने चिजको सेवन नगर्ने पर्छन्।
शीलहरूको पालनामा बिस्तारै बानी लाग्दै गएको ललितपुरको पाटनस्थित उकु बहालकी ६९ वर्षीया मंगलदेवीको अनुभव छ। “सानैदेखि शाकाहारी हुँ। एउटा कमिला पनि पानीमा डुब्न लागेको देखे बँचाउने बानी भएकाले प्राणी हिंसा नगर्ने त मेरो पहिलेदेखिकै स्वभाव थियो,” उनी भन्छिन्, “सबैभन्दा चिप्लिने चाहिं झूटो नबोल्ने शीलमा हो। कसैलाई दुःख दिन्छु भनेर भन्दा पनि ख्यालठट्टामा धेरै झूटो बोलिने रहेछ।”
पञ्चशीलमा बानी पर्दै गएपछि अष्टशील पनि पालन गर्न मंगलदेवीलाई मन लाग्न थाल्यो। पञ्चशीलका पाँच शीलमै थपिने अन्य तीन शीलहरू दिनको १२ बजेपछि भोजन नगर्ने, नाचगान, वाद्यवादन, अशोभनीय मेला अवलोकन, माला धारण, सुगन्ध लेपन एवं सिंगारपटार तथा आभूषण धारण आदि नगर्ने र विलासी आसन वा मान्यजनभन्दा उच्च आसनमा नसुत्ने/नबस्ने हुन्। “पञ्चशीलमा बसेपछि बिस्तारै बिस्तारै आफू र अरूलाई दुःख दिने धेरै कुरा हट्दै जान्छ,” उनी भन्छिन्, “अझ अष्टशीलमा बस्दा त जीउ नै हलुका, मन पनि शान्त भइराखेको हुन्छ।”
यसबाट मन शान्त भएको पनि उनले अनुभव गरेकी छन्। “पञ्चशीलले हिंसा गर्ने, चोर्ने, व्यभिचार गर्ने, लट्ठ्याउने चिजहरू खाने जस्तो नराम्रो कामबाट रोक्छ। अनि झूटो बोल्नबाट पनि रोक्छ,” मंगलदेवी थप्छिन्, “अष्टशीलमा बसेपछि त कुन वेला खाने, कस्तो ठाउँमा सुत्ने/बस्ने, सिंगारपटार र रामरमितामा लाग्ने समय र त्यसले मनमा ल्याउने चञ्चलताबाट पनि जोगाउँछ। यिनै कुराको प्रभाव हो जस्तो लाग्छ।”
औंशी, पूर्णिमा, अष्टमी, दशमी जस्ता तिथिमा अष्टशील पालना गरिन्छ। शीलमा बसेको दिनमा मात्र हो कि अरू दिन पनि दिनचर्या सहज हुन्छ? “अष्टशीलमा बसेको दिनको १२ बजेपछि नखाने, सिंगारपटार अनि रमाइलो नगर्ने चाहिं सबैलाई सधैं गर्न अलिक गाह्रो छ,” उनी भन्छिन्, “सुत्ने बस्ने भनेको त हामी जस्तो साधारण मान्छे सधैं उस्तै गरी हो, राजा-महाराजाको जस्तोमा होइन, त्यसैले खासै फरक पर्दैन।”
पुण्य प्राप्तिका लागि अष्टशील
भक्तपुरको इटाछेंकी ९१ वर्षीया इन्द्रमाया शाक्य (बज्राचार्य) पनि अष्टशील पालना गर्छिन्। स्थानीय मुनि विहारको नजीकै बसोबास भएकाले उनको परिवारको विहारप्रति अपनत्वसँगै भिक्षु-भिक्षुणीप्रति श्रद्धा थियो। बुद्ध पूजामा सहभागी हुनु, भिक्षु-भिक्षुणीलाई दान दिनुका साथै विहारको मर्मतसम्भारमा भौतिक तथा आर्थिक सहयोग गर्नु उनको परिवारमा सामान्य प्रक्रिया थियो। जसले गर्दा सानैदेखि उनलाई विहार, भिक्षु-भिक्षुणी तथा बुद्धप्रति गहिरो लगाव थियो।
१८ वर्षको उमेरमा इटाछेंका हर्षबज्र बज्राचार्यसँग विवाह भएपछि भने उनको दिनचर्या नै बदलियो। विहार र बौद्ध धर्मसंस्कृतिसँग कहींकतै व्यवहार नजोडिएको नयाँ परिवारमा महिलालाई घर बाहिर जानु पनि त्यो वेला वर्जित रहेको उनी बताउँछिन्।
इन्द्रमाया शाक्य (बज्राचार्य)।
एक पटक उनी बिरामी परिन्। औषधिमूलो र झारफुक गर्दा पनि निको भएन। यो कुरा उनको माइतीछेउको मुनि विहारका भिक्षु रत्नज्योतिसम्म पुग्यो। उनले इन्द्रमायालाई विहारमा बोलाउन लगाए। विभिन्न पाठ गर्दै जाँदा निको भएको इन्द्रमाया सुनाउँछिन्।
त्यसपछि विहारमा हुने पूजा, धर्म देशना जस्ता कार्यमा सहभागी हुन थालिन्। “म त घरका मान्छेले जाऊ नभने पनि छिटोछिटो काम सक्थें, अनि गइहाल्थें,” इन्द्रमायाले नेवारीमै बोलेको बुहारी सुशीला बज्राचार्यलेले नेपालीमा उल्था गरिन्।
विहार जाँदा दानका लागि केही लिएर जाने परम्परा छ। तर विहार जानै अनुमति नपाइने परिवारबाट दानका लागि केही लैजान दिने कुरै भएन। त्यसैले बिहान-बेलुका प्रयोग गर्ने चामलको भाँडोबाट अलिकति चामल लिएर विहार जाने गरेको उनी सुनाउँछिन्। “त्यो पनि कसैले गलत सोच्ने हो कि भनेर डराउनुपर्थ्यो,” इन्द्रमाया सम्झिन्छिन्, “घरै बसेर फुर्सदको समयमा नेपाली टोपीमा धागो भर्ने काम पाइन्थ्यो। त्यही काम गरेर आएको पैसा विहारमा दान गर्न थालें।”
उनले बिस्तारै पञ्चशील पालना गर्न थालिन्। त्यसले मन शान्त बनाएको उनी सुनाउँछिन्। “घरका बच्चादेखि बुढासम्मलाई गर्नुपर्ने सबैथोक गरेर विहार जान्थें। पञ्चशील सधैं पालन गर्थें,” उनी भन्छिन्, “श्रीमान् बितेपछि विशेष तिथिहरूमा अष्टशील पनि पालना गर्न थालें।”
उमेर बढ्दै गएपछि भने एउटा शील मात्रै पालना गर्न गाह्रो भएको उनको अनुभव छ। “बूढी भयो, तागत चाहिन्छ भनेर आजकल बुहारीले मासुको झोलसँग, अन्डासँग भात दिन थालेकी छ। म ल्याऊ भन्दिनँ। उनीहरूले कर गरेकाले खाइदिन्छु,” उनी भन्छिन्, “अष्टशील लिनेदिनहरूमा त अहिले पनि खाने गरेको छैन। यो बाहेक अरू सबै शील पालना गर्न गाह्रो छैन।”
अष्टशील लिएको दिन खानपिनमा पनि ध्यान दिने गरेको उनी सुनाउँछिन्। दिउँसो साढे ११ बजेतिर खाना खान्छिन्। त्यसपछि बेलुका बुद्ध पूजा गरिसकेपछि दूध वा अरू केही झोल खाएर सुत्ने गरेको उनी बताउँछिन्। यो उमेरमा उनलाई अष्टशील पालना गर्न कतिको गाह्रो हुन्छ? ९१ वर्षीया इन्द्रमाया भन्छिन्, “गाह्रो छैन। अहिले पनि नुहाएपछि आफ्नो लुगा आफैं धुन्छु, सकेसम्म बुहारीलाई दिन्नँ। छतमा भएका फूलको स्याहार त गर्छु। अष्टशील पालना गर्न के गाह्रो छ र?”
अहिले पनि उनी बिहार पुग्छिन्, परिवारसँगै। अष्टशील नलिए पनि उनको परिवारका सदस्यले विहारलाई दान, सहयोग गर्दै आएका छन्। “विहारमा एक जना मात्र भिक्षु हुनुहुन्छ। उहाँको चुलो पनि छैन। हामी सबै मिलेर पालैपालो खाना लगेर खुवाउँछौं। यसले पुण्य हुन्छ,” उनी भन्छिन्, “अष्टशील पालन गर्दा पनि पुण्य हुन्छ।”
सानैमा पाएको संस्कार
दिदीसँगै ऋषिनी बस्न विहार लैजाँदा काठमाडौंकी उमादेवी मानन्धर सात वर्षकी मात्र थिइन्। आमाबुबा र परिवारका अन्य सदस्यलाई छोड्नुपरे पनि दिदी र गाउँकै दुई दिदीबहिनी पनि सँगै भएकाले गाह्रो भएन। त्यसमाथि अरू वेलामा परिवारसँगै विहार आउँदा चिनिराखेकै भिक्षु र भिक्षुणीको संरक्षण रहेकाले अप्ठ्यारो लागेन।
बौद्ध धर्मावलम्बी नेवार समुदायमा विहारको परिधिभित्र दशशील पालना सहित शील, समाधि र प्रज्ञाको अभ्यास गराउने परम्परा छ। पहिले पहिले तीन महीनासम्म ऋषिनी राख्ने परम्परा थियो। उनको पालासम्म आइपुग्दा १२ दिनमा टुंग्याइन्थ्यो। दैनिक बुद्ध पूजा गराउने, शील लिन लगाउने, ध्यान गराउने, बौद्ध शिक्षा र बुद्ध सम्बन्धी कथा सुनाउने गरिन्छ। “त्यो वेला म सानै थिएँ, ध्यान के हो, थाहा थिएन। जे जे गर भन्यो खुरुखुरु गर्थें,” ५२ वर्षीया उमादेवी भन्छिन्, “अहिले बुझ्दा पो थाहा भयो, श्वासमा ध्यान दिनुपर्ने, आनापाना ध्यान गराउनुभएको रहेछ। सती पठानको विषयमा पनि बुझाइएको रहेछ।”
अष्टशील पालनाका क्रममा ध्यानमग्न उमादेवी मानन्धर।
ऋषिनीवास सकेर घर फर्किएपछि पनि विहारमा बस्दा सिकेका अभ्यासले निरन्तरता पायो। घरमै बनाइएको बौद्ध चैत्यमा हजुरआमासँगै पूजा गर्ने, औंशी, पूर्णिमा, अष्टमी जस्ता तिथिमा अष्टशीलमा बस्ने गर्न थालिन्। सानै उमेरमा भोजनमा समेत नियन्त्रण हुनेगरी शीलमा बस्नु कत्तिको गाह्रो हुन्थ्यो? उमादेवी भन्छिन्, “हुँदैनथ्यो। १२ बजेअघि जति पनि खान मिलिहाल्थ्यो। १२ बजेपछि पनि दुग्धजन्य पदार्थ बाहेक अन्य तरल पदार्थ खान मिलिहाल्थ्यो। आज अष्टशील है भनेपछि मनले त्यसलाई दोहोर्याइरहने गर्दा भोक पनि नलाग्दो रहेछ।”
स्कूल, कलेज, बिहेबारी र बालबच्चा जन्मिएपछि भने उनको अष्टशील पालनाको क्रम रोकियो। तैपनि सानैदेखिको अभ्यासले १२ बजेपछि खाना खान नहुने बाहेक अन्य शीलहरू लगभग जीवनशैली झैं बनिसकेका थिए। पछिल्लो पाँच वर्षयता भने हरेक पूर्णिमामा अष्टशीलमा बस्दै आएको बताउँछिन्। “हाम्रो बोली ‘अटोपाइलट’ मोडमा चलिरहेको हुन्छ। कसैको गुनासो गरिरहने, कसैको कडा बोल्ने बानी हुन्छ। रोक्न खोज्दा पनि घरगृहस्थीमा भएको मानिसको यस्ता कुरा फुत्किन सक्छन्,” अष्टशीलमा बस्दाको फाइदा सुनाउँदै उनी भन्छिन्, “म आज अष्टशीलमा छु है भन्ने कुराले अलिकति फुत्किने बित्तिकै सजग गराउँछ र आफूलाई नियन्त्रण गर्न थालिन्छ।”
अष्टशीलमध्येको छैटौं शीललाई त उनी स्वास्थ्यसँग जोड्छिन्। जतिखेर पनि खाने गर्दा एकातिर आवश्यकभन्दा बढी खाइन्छ र अनेक रोग लाग्छन् भने अर्कोतिर आलस्य जागेर उत्पादकत्व र सिर्जनशीलता घट्ने उनको भनाइ छ। “आजभोलि १६ घण्टा पेट खाली राख्ने ‘इन्टरमिटेन्ट फास्टिङ’ गर्दा स्वास्थ्यमा राम्रो प्रभाव पर्ने कुरा आउने गरेको छ नि! यो कुरा त २५ सय वर्ष पहिल्यै भगवान् बुद्धले अष्टशीलमा राखिसक्नुभएको थियो,” उनी भन्छिन्।
अष्टशील पालन गर्दा शरीर र वचनलाई अनुशासित बनाउन मद्दत पुग्ने उनको अनुभव छ। अष्टशीलको सधैं पालन गर्दा आफू र अरूको पनि जीवन धेरै सरल, शान्त र सुखी हुने उनको मत छ। सधैं नसके विशेष तिथिमा मात्रै पालना गर्दा पनि मनमा असल कुराको बीज रोपिने उनी सुनाउँछिन्।
व्योम कुसुमा बौद्ध धर्म संघका सहायक धर्माचार्य ईश्वरचन्द्र विद्यासागर श्रेष्ठ पनि अष्टशीलले सहज रूपमा जीवनयापन गर्न सहयोग पुर्याउने बताउँछन्। सधैं अष्टशील पालना गर्न सम्भव नभए पनि तिथिमा गर्दा उपयुक्त हुने उनको भनाइ छ। “नाचगान, शृंगार, आभूषण जस्ता कुराबाट अलग रहने शीलले चित्त (मन) एकाग्र गर्न मद्दत गर्छ भने विकाल भोजन नगर्नेले आलस्य, आसक्ति जस्ता कुराबाट जोगाउन मद्दत गर्छन्,” उनी भन्छन्।
भगवान् बुद्धको शिक्षाको साधक हुँ भन्न पनि कम्तीमा अष्टशील पालना गरेको हुनुपर्ने उनको तर्क छ। “बुद्ध भगवान् मन पर्ने तर उहाँले दिनुभएको शील पालन नगर्ने व्यक्ति भगवान् बुद्धको ‘फ्यान’ जस्तो मात्रै हुन्छ,” उनी थप्छन्, “पञ्चशील पालन गर्ने व्यक्ति अनुयायीसम्म हुन्छ र अष्टशील पालन गर्ने चाहिं भगवान् बुद्धको धर्मको साँच्चिकै साधक हुन्छ।”