तृष्णा दुःखको कारण हो। अतः तृष्णालाई निर्मूल गरेपछि दुःखबाट मुक्ति मिल्छ। तृष्णाको बन्धन तोडिएमा दुःख स्वतः हराउँछ। यही नै वास्तविक सुखको अवस्था हो।
आचार्य दयानिधि
सत्यको आकार र प्रकार कस्तो होला? यो प्रश्न आफैंमा अमूर्त लाग्छ। धेरैले भन्छन्- समय र सन्दर्भ अनुसार सत्यमा हुन सक्छ विविधता। बुद्धले जम्मा चार प्रकारका सत्यमाथि चर्चा गर्नुभएको छ। के हुन् ती?
दुःख, दुःखसमुदय, दुःखनिरोध र दुःखनिरोधको मार्ग। हो, यिनै चार सत्यलाई भनिन्छ, चतुरार्य सत्य। पालिमा ‘चत्तारि अरिय सच्चानि’ भन्दा पनि त्यही बुझ्नुपर्छ। सबैका लागि अविपरीत एवं अकाट्य भएकाले यिनलाई सत्य भनिएको हो।
क्लेशहरू नै अरि (शत्रु) हुन्। त्यस्ता क्लेशरूपी अरिलाई हनन गर्ने व्यक्ति नै अर्हत् हो। र, त्यही नै आर्य हो (अभिधानप्पदापिकाटीका) । मुक्त हुन क्लेशलाई जित्नुपर्छ। ‘अर’ को अर्थ जानु वा प्रवेश गर्नु भन्ने पनि हुन्छ। दर्शनमार्गमा प्रवेश गरी दुर्गतिको बाटो सधैंका लागि बन्द गरेको व्यक्ति आर्य हो। त्यस्तो आर्यले यथार्थ रूपमा अनुभव गर्ने सत्य नै आर्यसत्य हो।
महासतिपट्ठानसुत्त लाई प्राथमिक स्रोतका रूपमा आधार बनाई यस आलेखमा दुःख र त्यसको कारणबारे चर्चा गरिनेछ।
दुःख सत्य
बुद्धका अनुसार जन्मनु, बूढो हुनु र मर्नु दुःख हो। रोग र शोकले पीडित भई उदास र हैरान हुनु पनि दुःख नै हो। अप्रिय कुरा भेटिनु र प्रिय कुरा छुट्नु दुःख हो। चाहेको नपाउनु दुःख हो। समग्रमा पञ्चस्कन्ध नै दुःख हो (मज्झिमनिकाय, सच्चविभङ्गसुत्त) ।
दुःखको वस्तुगत वर्गीकरण
जन्म दुःख हो : जन्म केलाई भनिन्छ? प्राणीहरू विभिन्न रूपमा अस्तित्वमा आउँछन्। उत्पन्न हुन्छन्। गर्भमा प्रवेश गर्छन्। नयाँ आकारप्रकारमा उदाउँछन्, अभिनिवर्तन गर्छन्। स्कन्धहरूको उत्पत्ति हुन्छ, इन्द्रियका विभिन्न द्वारहरू प्राप्त गर्छन्। यही समग्रता नै जन्म हो (महासतिपट्ठानसुत्त) ।
जरा (बूढो हुनु) दुःख हो : जराको अर्थ हो, वृद्धावस्था। प्राणीहरू विभिन्न योनिमा जन्मेपछि बूढो हुने प्रक्रिया चलिरहेको हुन्छ। जीर्ण हुन्छन्। दाँतहरू टुट्छन् र झर्छन्। कपाल फुल्छ, गाला चाउरिन्छ। आयु सकिंदै जान्छ र परिपक्व हुन्छन् इन्द्रियहरू पनि। यही हो वृद्धावस्था, दुःखको एक रूप।
मरण दुःख हो : अस्तित्वबाट च्युत हुनु मरण हो। वर्तमान योनिबाट विमुख हुन्छन्, अलग हुन्छन् र विलोप हुन्छन् प्राणीहरू जीवनगतिबाट। मृत्यु, मरण, काल आउनु र स्कन्धहरू छुट्टिनु जीवन अन्त्यकै पर्यायहरू हुन्। व्यक्तिको कलेवर छिन्नभिन्न हुन्छ र विच्छेद हुन्छ जीवनबाट। समग्रमा यही हो मरण, दुःखको एक रूप।
शोक दुःख हो : के हो शोक? व्यक्ति हुन्छ व्यसनले युक्त, पीडापूर्ण तनावमा पर्छ। प्रताडित हुन्छ चिन्ताबाट। चिन्तामा डुब्छ, विलाप गर्छ। मनमा सुर्ता छाउँछ र हालत खराब हुन्छ। यही हो शोक।
बिलौना/परिदेव दुःख हो : के हो परिदेव अर्थात् बिलौना? व्यक्ति रुन्छ, विलाप गर्छ। कहिले विनाशकारी हानि हुन्छ त कहिले कुनै कुराले पिरोल्छ। अनि चिल्लाउँछ, रोइकराइ गर्छ मान्छे। यो हो बिलौना। र, स्वयं बिलौनापूर्ण अवस्था पनि हो दुःखको एक रूप।
दुःख दु:ख हो : के हो दुःख? शारीरिक दुखाइ र शारीरिक अप्रियता दुःख हो। शरीरमा सम्पर्कबाट उत्पन्न हुने पीडादायी र अप्रिय अनुभूति यस सन्दर्भमा दुःख हो।
दौर्मनस्य/हैरानी दुःख हो : मनको सम्पर्कबाट उत्पन्न हुने मानसिक पीडा र मानसिक अप्रियता हो हैरानी। दौर्मनस्य यस सन्दर्भमा पारिभाषिक शब्द हो। मनमा कुनै कुरा बिझाउँदा उत्पन्न हुने पीडादायी र अप्रिय अनुभूति हो दौमर्नस्य, दुःखको एक रूप।
उपायास/निराशा दुःख हो : कुनै विनाशकारी हानि वा अन्य पीडाले ग्रस्त व्यक्तिको दुःख, कष्ट र संकटपूर्ण अवस्था हो उपायास।
अप्रियसँग भेटिनु दुःख हो : रूप, शब्द, गन्ध, रस र स्पर्श। यी हुन् पाँच विषय। अनिच्छित, आनन्द नदिने र मन नरमाउने विषय पनि प्राप्त हुन्छन् जीवनमा। त्यस्ता विषय, जो हुन्छन् व्यक्तिका लागि अनर्थकारी। गर्दैनन् हित व्यक्तिको। पार्छन् अप्ठ्यारो, र बन्छन् प्रत्युत्पादक। त्यस्ता विषय भेटिनु, घनिष्ट हुनु वा एकाकार हुनुपर्ने अवस्था दुःख हो।
प्रिय कुरा छुट्नु दुःख हो : इच्छित, आनन्द दिने र मन रमाउने विषय प्राप्त गर्ने चाहना हुन्छ जीवनमा। त्यस्ता विषय, जो हुन्छन् व्यक्तिका लागि अर्थकारी। गर्छन् हित व्यक्तिको। पार्दैनन् अप्ठ्यारो। र, बन्छन् उत्पादक। त्यस्ता विषय नभेटिनु, तीसँग घनिष्ट हुन नपाउनु वा सँगै रहन नपाउने अवस्था दुःख हो। जस्तो कि छुट्टिनुपर्छ आमाबाबासँग। भाइबहिनी र मित्र-अमात्यहरू पनि टाढिन्छन् समयसँगै।
चाहेको नपाउनु दुःख हो : जन्मने स्वभाव भएका व्यक्तिलाई लाग्न सक्छ, ‘अहो, हाम्रो जन्मने स्वभाव नभएको भए जन्मन पर्दैनथ्यो।’ तर त्यसरी इच्छा गर्दैमा पूर्ति हुने होइन। वृद्ध हुने व्यक्तिलाई पनि लाग्न सक्छ, ‘अहो, हाम्रो बूढो हुने स्वभाव नभएको भए पर्दैनथ्यो बुढ्यौलीमा पर्न।’ तर त्यसरी इच्छा गर्दैमा पूर्ति हुने होइन।
त्यस्तै, मरण, शोक र बिलौनाका सन्दर्भमा पनि व्यक्तिलाई त्यस्तै लाग्न सक्छ। तर त्यस्तो दुःखमा पनि इच्छा गर्दैमा नपरिने होइन। न त सकिन्छ दुःख, दौर्मनस्य र उपायसबाट इच्छाकै आधारमा अलग हुन। त्यसरी नै बुझ्नुपर्छ अप्रियसँगको मिलन र प्रियसँगको वियोगका सन्दर्भमा पनि। त्यसैले बुद्ध भन्नुहुन्छ, ‘चाहेको नपाउनु दुःख हो।’
संक्षेपमा पाँच उपादान स्कन्ध नै दुःख हो। स्कन्धको अर्थ हो, थुप्रो वा राशि। बौद्ध मान्यता अनुसार जीवन भौतिक एवं मानस एकाइहरूको गठजोड हो। भौतिक पक्षमा रूप पर्दछ। यसका अनेक प्रकार हुन्छन्। मानस पक्षमा वेदना, संज्ञा, संस्कार र विज्ञान पर्दछन्। जीवन भन्नु यिनै पाँच कुराहरूको परिमाण सहितको परिणाम हो।
उपादानको अर्थ हो, क्लेश। यी पाँच स्कन्ध जब क्लेशयुक्त हुन्छन् तब दुःख उपादान स्कन्ध भनिन्छन्। जस्तो कि रूप उपादान स्कन्ध, वेदना उपादान स्कन्ध आदि। जीवन नै यी पाँच स्कन्धको उपज भएकाले सारमा पाँच उपादान स्कन्ध नै दुःख हो।
दुःखको विषयगत वर्गीकरण
बुद्धले दुःखलाई तीन किसिमबाट विभाजन गर्नुभएको छ। ती हुन्- दुःखदुःख, विपरिणाम दुःख र संस्कारधर्म दुःख। तिस्सो दुक्खता- दुक्खदुक्खता, सङ्खारदुक्खता, विपरिणामदुक्खता।(दीघनिकाय, सङ्गीतिसुत्त) ।
दुःखदुःख
जन्मदेखि मृत्युसम्म प्राणीले अनेकौं दुःख भोग्दछ। शारीरिक एवं मानसिक दुःखका कारण विक्षिप्त बन्छ मान्छे। कहिले रोगले ग्रस्त हुन्छ। र, दुख्छ। कहिले वृद्धावस्थाका स्वाभाविक समस्या भोग्न विवश हुन्छ। कहिले चाहेको पाइन्न भने कहिले पाएको चाहिन्न। र, दु:खी हुन्छ।
कहिले आफन्त छुट्छन् त कहिले वरिपरि शत्रुहरू जुट्छन्। त्यसैले झन् दुःखी हुन्छ। यस्ता दुःख नै दुःखदुःख हुन्। एउटा दुःख हटायो, अर्काे दुःख आइहाल्छ। दुःखको यो निरन्तर शृंखला अविरल चलिरहेको हुन्छ।
विपरिणाम दुःख
दुःखबाट मुक्त हुने चाहना सबैको हुन्छ। यो स्वाभाविक पनि छ। एउटा दुःखलाई हटाउने प्रक्रियाको परिणामस्वरूप अर्काे दुःख आउनु विपरिणाम दुःख हो। रोग लाग्छ, औषधि खान्छौं। त्यसको ‘साइड इफेक्ट’ देखिन्छ। गर्मी हुन्छ, विभिन्न उपकरणले बनाएको चिसो खान्छौं। त्यसले फेरि स्वास्थ्यमा समस्या ल्याउँछ। यी र यस्तै कुरा विपरिणाम दुःखका उदाहरण हुन्।
संस्कारधर्म दुःख
कारणहरूको सहकार्यले बनेका कुरालाई संस्कार भनिन्छ। संस्कारको वास्तविक स्वभाव नै त्यसको धर्म हो। मनले सधैं सुख चाहन्छ। दुःख हाम्रा लागि अस्वाभाविक लाग्छ। यो स्विकार्न सक्दैनौं कि दुःख हरेक वस्तुको स्वभाव हो। सृष्टिका हरेक वस्तु परिवर्तनशील छन्। तिनको गर्भमा दुःख लुकेको हुन्छ। र, तिनले समस्याको स्थायी समाधान दिन पनि सक्दैनन्।
हामी हरेक कुरा वस्तुको स्वभाव विपरीत अपेक्षा गर्छाैं। सधैं नयाँपन, सधैं सुख र सधैं एकनास हाम्रा आशाका अन्त्यहीन सीमा हुन्। र, त्यसो हुन सर्वथा असम्भव छ। अतः वस्तुको स्वभाव विपरीत अपेक्षा गर्दा पाइने दुःख नै संस्कारधर्म दुःख हो।
दुःखको कारण सत्य
कारण सत्यलाई दुःखसमुदय सत्य पनि भनिन्छ। दुःखसमुदय भनेको दुःखको कारण हो जसका कारण दुःखको उदय हुन्छ। दुःख के कारणले उत्पन्न हुन्छ त? बुद्धको उत्तर छ- तृष्णा। हामीलाई प्रिय कुरा पाउन र जोगाउन मन लाग्छ। जो पनि अप्रिय कुराबाट अलग हुन चाहन्छ। यही हो तृष्णा।
नेपालीमा यसलाई तिर्सना भनिन्छ भने पालिमा तण्हा। एकै जन्ममा सबै चाहना पूरा हुँदैनन्। पूरा भएका चाहनाबाट पनि नयाँ तृष्णा पैदा हुन्छ। त्यही तृष्णा नै दुःखचक्रको इन्धन बन्छ। यही नै दुःखको कारण हो। तृष्णाको आनन्द र अनुरागसँग घनिष्टता छ। र, यो तत्तत् विषयको ग्रहणार्थ बारम्बार उत्पन्न हुन्छ। तृष्णालाई बुद्धले तीन किसिमले विभाजन गर्नुभएको छ। ती हुन्- कामतृष्णा, भवतृष्णा र विभवतृष्णा।
प्रकृतिका आधारमा तृष्णा
कामतृष्णा : इन्द्रियद्वारा ग्रहण गरिने वस्तुप्रतिको तिर्सना कामतृष्णा हो। प्रिय लाग्ने रूप, शब्द, स्वाद, गन्ध र स्पर्शको खोजीमा नै प्राणी भौंतारिइरहेको हुन्छ। त्यस्ता विषयको उपभोग गरिसकेपछि बारम्बार तिनलाई पाउने चाहना बढ्छ। हाम्रोे सम्पूर्ण जीवन तिनै विषयको खोजी र पूर्ति गर्दागर्दै सकिन्छ। कति भोगिएका हुन्छन्, कति भर्खरै थालिएका हुन्छन् त कति योजनामा हुन्छन्। यही दौडधूपको बीचमा मृत्यु आउँछ।
भवतृष्णा : भवको सामान्य अर्थ हो संसार। यही संसारमा रमाइरहने चाहना धेरैको हुन्छ। सामान्य अवस्थामा त यो जायज पनि हो। तर अवश्यम्भावी मृत्युलाई स्वीकार गर्न नसक्नु चाहिं तिर्सना हो। सन्निकट मृत्युको ज्ञान हुँदाहुँदै पनि व्यक्ति त्यसलाई स्वीकार गर्न चाहन्न। आफू बाँचेको परिवेशप्रति मनमा आसक्ति भइरहनु नै भवतृष्णा हो। यो पनि दुःखको कारण मानिएको छ।
विभवतृष्णा : भवतृष्णाको उल्टो विभवतृष्णा हो। जीवन र संसारप्रति वितृष्णा पैदा हुनु पनि एक किसिमको तृष्णा हो। केही कुरामा नफरत भएपछि त्यसलाई निमिट्यान्न पार्ने सोच आउँछ। जब त्यसो गर्न व्यक्ति असमर्थ हुन्छ तब आत्महत्याको बाटो समेत रोज्न पुग्दछ। विभव भन्नाले सम्पत्ति पनि बुझिन्छ। भौतिक सुखको मात्र रहर हुनु पनि विभवतृष्णा हो। यसैका लागि मानिसले अनेक कर्म गर्दछ। त्यही क्रममा बढ्दै गएको आकांक्षाका कारण व्यक्तिले दुःख प्राप्त गर्दछ।
काम, भव र विभवतृष्णाको कारण नै दुःखको उत्पत्ति हुन्छ। लक्षणका आधारमा पनि तृष्णा तीन किसिमका हुन्छन्- मोह, राग र द्वेष। मोह भन्नाले अज्ञान बुझिन्छ। अज्ञानका कारण प्रिय लाग्ने कुराप्रति हुने आसक्ति राग हो। अप्रिय कुराप्रति टाढा रहने चाहना द्वेष हो।
अन्त्यमा, हामीले तृष्णालाई दुःखको कारणका रूपमा चिन्यौं। त्यसको उत्पत्ति र स्थितिबारे चर्चा गर्यौं। यहाँ फेरि दोहोर्याऔं, कार्यरूप दुःखको अन्त्य कारणभूत तृष्णाको निरोधबाट मात्र सम्भव छ। निरोधको अर्थ हो रोक्नु। दुःखलाई रोक्नु नै दुःखनिरोध हो। दुःखलाई रोक्न कारणलाई रोक्नुपर्छ। तृष्णा दुःखको कारण हो।
अतः तृष्णालाई निर्मूल गरेपछि दुःखबाट मुक्ति मिल्छ। तृष्णाको बन्धन तोडिएमा दुःख स्वतः हराउँछ। यही नै वास्तविक सुखकोे अवस्था हो। यो अवस्थालाई निर्वाण भनिन्छ। निर्वाणको अवस्था पूर्णतः दुःखनिरोध भएको अवस्था हो। त्यसका लागि आर्य अष्टांगिक मार्गको अभ्यास नै बुद्धका उपदेशको मूल सार हो।
(लेखक लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक हुन्।)