श्रीमती भगाएर लैजाने व्यक्तिलाई काट्न पाइने तागाधारी र नमासिन्या मतवालीमा प्रचलित जारप्रथा प्राचीन भए पनि यो परम्परा २०२० सालसम्मै वैधानिक थियो।
आजभन्दा ६४ वर्षअघि प्रकाशित इन्द्रबहादुर राईको कथासंग्रह विपना कतिपय (नवयुग नेपाली पुस्तक मन्दिर, दार्जीलिङ, इस्वी संवत् १९६१)मा १० कथा थिए, जसमा ‘जार : भएकै एउटा कथा’ पहिलो नम्बरमा थियो। त्यसको नौ वर्षपछि विपना कतिपय पुनःप्रकाशन (श्याम ब्रदर्श, दार्जीलिङ, इस्वी संवत् १९७०) भयो जसमा १३ वटा कथा थपिए। यस संस्करणमा ‘जार : भएकै एउटा कथा’ दोस्रो कथाका रूपमा संगृहीत थियो।
जगदम्बा-श्री सम्मानले सुशोभित भइसकेका दिवंगत कथाकार राईले सत्यकथाका रूपमा वर्णन गरेको र क्याम्पसस्तरीय पाठ्यक्रममा समेत समाहित ‘जार : भएकै एउटा कथा’ लाई ६ दशकपछि केही सिर्जनशील दिमागले दृश्यकथामा रूपान्तरण गर्ने आँट गरेका छन्। र, यही कथामाथि बनेको जार फिल्म वैशाख २६ गतेदेखि देशभरका हलमा चलिरहेको छ, यसले समीक्षकबाट गजबको प्रतिक्रिया पनि पाइरहेको छ।
मल्टिप्लेक्स पर्दामा गण्डक क्षेत्रबाट बसाइँ सरी तेह्रथुम पुगेका मगर र घले परिवारको वरपर घुम्ने जार काट्ने प्रथालाई जीवन्त देखाउन करसाङका निर्देशक फुर्वाछिरिङ लामाको ‘भिज्यूअल ल्यांग्वेज’ माथिको पकडले महत्त्वपूर्ण रोल खेलेको छ। कथालाई क्यानभासमा कैद गर्ने छायाकार सरवान इलावार्सुको क्षमता लोभलाग्दो छ। त्यसमाथि झुमा लिम्बू र गंगा थापाको ‘रैथाने संगीत’ ले कथामा सास भरिदिएको छ। विशेषतः रैथाने गीतसंगीतका ‘आइकन’ भइसकेकी झुमाको कथावाचन गर्ने गायनको स्वाद नै मन्त्रमुग्ध पार्ने क्षमताका कारण पार्श्वसंगीतले २०० वर्षअघिको तेह्रथुमको लिम्बू परिवेशलाई समेत जीवन्त बनाउने काम गरेको छ।
जारको केन्द्रीय भूमिकामा बलिउडमा समेत नाम कमाएकी सिक्किमेली कलाकार गीताञ्जली थापा मगर, नेपालका चिनिएका कलाकार सौगात मल्ल र अनुपविक्रम शाहीको अभिनय स्वाभाविक छ। अखिलेश राईको सम्पादन चुस्त छ, त्यसैले दृश्यकथाले दर्शकलाई कतै बोझिल बनाउँदैन। यसका बावजूद पनि खड्किएको पक्ष चाहिं के हो भने, निर्देशकले असाध्यै कम संवादमा दृश्य मार्फत नै कथावाचन गर्न खोजेका कारण मूलकथामा भएका कतिपय छुटाउनै नहुने संवाद पनि फिल्ममा छुट्न गएका छन्।
ती संवादबारे पछि कुरा गर्नेछु, पहिला म पञ्चायतकालसम्म राजपरिवार, भाइभारदार र मगर, गुरुङ लगायत केही समुदायमा जीवन्त रहेको ‘जार काट्ने’ परम्पराको ऐतिहासिकता के थियो? खोतल्ने प्रयत्न गर्नेछु। जारप्रथाको ऐतिहासिकता नबुझी जार फिल्मको गुदी नबुझिने हुनाले यस आलेखमा जारप्रथाबारे ’पब्लिक डोमेन’ मा उपलब्ध केही तथ्य तपाईंहरू समक्ष राख्ने कोशिश गर्नेछु।
जार र जारखत
प्रज्ञा नेपाली बृहत् शब्दकोशमा ‘जार’ लाई ‘पोइल गएकी स्त्रीको पहिलो पतिले नयाँ चाहिंलाई भन्ने शब्द। अर्काकी विवाहिता पत्नीसँग सम्भोग गर्ने व्यक्ति। उपपति, नाठो।’ भनी अर्थ्याइएको छ। यसरी ‘अर्काकी श्रीमती भगाउने वा चोर्ने व्यक्तिलाई जारसाधु’ भनिन्थ्यो। शब्दकोश अनुसार आफ्नी श्रीमती भगाए बापत जारसाधुले पूर्व पतिलाई तिर्नुपर्ने विवाह खर्च बापतको रकमलाई ‘जारखत’ वा ‘जारीखर्च’ भनिन्छ भने यसरी जारखत तिर्नेलाई ‘जारीवाल’ भनिन्छ।
जारप्रथामाथि उपेन्द्र सुब्बाद्वारा लिखित दुई वर्षअघि बनेको र व्यावसायिक सफलता पनि पाएको फिल्म जारीमा लिम्बू समुदायमा प्रचलित ‘जारखत’ देखाइएको थियो। राईले लेखेको मगरको कथा जार चाहिं त्योभन्दा एक कदम अगाडि छ। यसमा पूर्व पति हर्षजित राना मगर जारखतमा मात्र सन्तुष्ट हुँदैन, उसले पञ्चभलादमीमाझ गोर्खाराजको हुकुम भन्दै रुद्रमान घले विरुद्ध ‘जार काट्ने’ अधिकार नै प्रयोग गर्ने अनुमति माग्दछ।
प्रज्ञा शब्दकोशले जार काट्ने प्रथालाई ‘विवाहिता स्वास्नी लाने जारलाई मूलपतिले जारीखत बापत काट्दा ज्यानमारा दोष नलाग्ने अर्थात् जार मार्ने प्राचीन व्यवस्था’ भनेको छ। इतिहास खोतल्दै जाँदा ‘जार काट्ने’ प्रथा पहाडे समुदायमा उहिल्यैदेखि चलेको देखिन्छ। यो प्रथा बमोजिम मल्लकालमा एक जना राजा समेत काटिएका छन् भने राणाकालमा अर्काे राजा मारिएका छन्।
ललितपुरको भैंसेपाटी-१८ मा ‘जार काटेको मार्ग’ नै छ। त्यो चोकमा कुनै वेला जार काटिएकोले त्यसको नामकरण ‘जार काटेको मार्ग’ राखिएको ऐतिहासिक कथा सहित लेखक धनकुमारी सुनारले वर्णन गरेकी छन्।
इतिहासका विद्यार्थीलाई थाहा नै छ, पाटनमा राजकाजमा अग्रणी ६ प्रधानहरूको शक्ति असाध्यै ठूलो हुन्थ्यो। राजा विश्वजित मल्लले तीनै ६ मध्येका एक प्रधानकी बुहारी मैजुलाई मन पराउँछन् र जारीखत तिरी रानी बनाउँछन्। ७ सेप्टेम्बर १७६० का दिन (२६५ वर्षअघि) मच्छिन्द्रनाथ दर्शनबाट फर्किएका राजा तिनै मैजुसँग बसी दरबारको झ्यालबाट बाहिरी दृश्य हेरिरहेका हुन्छन्।
ती दुईलाई देखी पूर्व पतिको पारा चढ्छ र तलबाट ढुंगा प्रहार गर्छन्। राजालाई लाग्दैन। राजाले उनलाई पक्रन पठाउँछन्। त्यहाँबाट भागेका ती पूर्व पति हतियार सहित आफ्ना दाजुभाइहरू लिई आउँछन् र आफ्नो जार विश्वजितलाई काट्छन्। तर यहाँ ध्यानयोग्य तथ्य के छ भने, विश्वजित अर्थात् जारलाई नियमपूर्वक नकाटेकाले ती पूर्व पति भागेर मधेश पस्छन्। (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पृष्ठ २६३)
जार काट्ने भन्दैमा त्यसै काट्न पाइँदैनथ्यो। जसले पायो त्यसले पाउँदैनथ्यो। त्यसका पनि नियम थिए। त्यसको चर्चा पछाडि गर्नेछु।
राजा विश्वजितको घटनालाई आधार बनाई इतिहासकार महेशराज पन्तले ‘नेवार मल्ल राजपरिवार तथा नेवार भारदारहरूमा जार काट्ने चलन थियो। पोइल गएकी स्वास्नीलाई नाक काटी धपाइदिन्थे’ भनी लेखेको प्रसंगलाई अर्का इतिहासकार कृष्णविक्रम नेम्वाङले पनि उद्धृत गरेका छन्। (कृष्णविक्रम नेम्वाङ, इतिहास पहिचान : प्राचीन नेपाल, किरात र लिम्बू इतिहास, पृष्ठ १५४)
स्वास्नीको नाक काट्ने ‘सजाय’ चाहिं रामप्रति आसक्त रावणकी बहिनी शूर्पणखाको नाक लक्ष्मणले काटिदिएको रामायणकालीन कथासँग मेल खान्छ। नेपालको पहिलो लिखित कानून ‘मुलुकी ऐन’ विसं १९१० पुस ७ गते राजा श्री ५ सुरेन्द्रविक्रम शाह र प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाको पालामा लखपति झा र लेसपति झाले मनुस्मृति लगायत हिन्दूशास्त्रका आधारमा तयार पारेकाले त्यसभित्र यस्ता दण्डव्यवस्था पर्नु स्वाभाविक थियो। तर यस ऐनमा जार काट्ने प्रावधान भए पनि ‘स्वास्नीको नाक र चुल्ठो काट्ने प्रथाजनित चलन’ लाई भने अदल नम्बर २८ मा निषेध गरिएको छ। त्यहाँ लेखिएको छ, ‘साधुले जार काटे पनि नकाटे पनि, स्वास्नीको नाक चुल्ठो काट्न हुँदैन।’ ( प्रा. अमन श्रेष्ठ र रविन सुवेदी, जंगबहादुरको मुलुकी ऐन १९१०)
रोचक के छ भने, जारप्रथालाई कानूनी स्वरूप दिने जंगबहादुर स्वयंकै छोरीले समेत जारीखतबाट गुज्रनुपरेको इतिहास छ। यो जंगबहादुर शक्तिशाली प्रधानमन्त्री भएको वेलाको कथा हो। जंगबहादुरले छोरी सेतीमैयाँको बिहे कप्तान वक्रवार शाहीसँग गरिदिएका हुन्छन्। यी सेतीमैयाँलाई अछामी राजाले घरबाटै भगाएर लैजान्छन्। ती राजा काठमाडौं आएको मौका छोपी कप्तान वक्रवारले इन्द्रचोकमा हत्या गर्छन्। समयावधिभित्र जार काटेर मारेको हुनाले शाहीले कुनै सजाय भोग्नुनपरेको पुरुषोत्तमशमशेर जबराले श्री ३ हरूको तथ्य वृत्तान्तमा उल्लेख गरेका छन्। (पृष्ठ २२८) तर जार काट्ने क्याप्टेन शाही आफैं चाहिं १९३८ सालको पर्वमा टेकुमा काटिनुपरेको रेवतीरमण खनालले नेपालको कानूनी इतिहासको रूपरेखामा उल्लेख गरेका छन्। (पृष्ठ २८५)
जंगबहादुर आफूले पनि विवाहिता सालीलाई जबर्जस्ती ल्याई ‘जारखत’ गरेका छन्। विसं १८९४ मा तत्कालीन प्रधानमन्त्री जनरल भीमसेन थापाको पतन हुँदा थापाहरूसँग नजीकको साइनो भएका जंगबहादुर कुँवरका बुबा काजी बालनरसिंह कुँवरको पनि सर्वस्वहरण हुन्छ। त्यति वेला तन्नेरी जंगबहादुर सेकेन्ड लेफ्टिनेन्ट हुन्छन्। उनी पनि बर्खास्तीमा पर्छन्। सत्ताच्युत भएपछि कुँवर परिवारको बिचल्ली हुन्छ। ऋणमा डुबेका जंगबहादुर हातमुख जोर्न भौंतारिंदै बनारससम्म पुग्छन्।
दुई वर्ष भौंतारिएर फर्कंदै गर्दा (विसं १८९६) बाटामै आफ्नो श्रीमती प्रसादलक्ष्मीले छोरा भीमजंग कुँवरलाई जन्म दिंदादिंदै सुत्केरी अवस्थामै मृत्यु भएको खबर सुन्छन्। जंगबहादुर काठमाडौं आई ससुराली पुग्छन् र ससुरा काजीप्रसाद सिंह बस्नेतसँग साली सिद्धिगजेन्द्रलक्ष्मीको हात माग्छन्। ससुरा बस्नेतले ‘अनपढ, मान-जागीर नभएको, बन्द व्यवसाय नगर्ने र उनकै कारण आफ्नो छोरीको सुत्केरीमा स्याहार नपुगी मृत्यु भएकाले’ जंगबहादुरलाई छोरी दिनु त परको कुरा उल्टै अपमानित गरी फर्काउँछन्। त्यसरी ससुरालीबाट अपमानित भई फर्किएका जंगबहादुरले आफू प्रधानमन्त्री भएपछि घरजम गरिसकेकी सालीलाई जबर्जस्ती दुलही बनाउँछन्। त्यति वेलाको घटना विवरण यस्तो छ-
जंगबहादुर आफू शक्तिशाली प्रधानमन्त्री भएपछि ससुरा काजी प्रसादसिंह बस्नेतले आफूलाई धिक्कारी लाञ्छना समेत लगाएको स्मरण गरी एकदिन जंग हात्ती चढी सिद्धिगजेन्द्रलक्ष्मीको घरको झ्यालबाट भित्र पसी निजको लोग्नेलाई घरको थाममा बाँधिदिए। जंग घरभित्र पसेको चाल पाई सिद्धिगजेन्द्रलक्ष्मी सुकुलभित्र बेरिई लुकी बसिन्, तर जंगले सो थाहा पाई सुकुलभित्रबाट साली सिद्धिगजेन्द्रलक्ष्मीलाई समाती तानी आफ्नो थापाथली दरबार भित्र्याएपछि जंगले तत्कालीन कानून बमोजिम जारलाई ‘जारी’ समेत तिरे। १०४ वर्षे राणाशासनको जग हाल्ने जंगबहादुरले सिद्धिगजेन्द्रलक्ष्मी सहित विभिन्न जात र भिन्न पृष्ठभूमिका ४२ जना ‘महारानी’ भित्र्याएको देखिन्छ। (पुरुषोत्तमशमशेर जबरा, श्री ३ हरूको तथ्य वृत्तान्त, पृष्ठ २२३-२२७)
यसरी शक्तिशालीहरूले नै विवाहिता छोरीहरू घरभित्रैबाट जबर्जस्ती उठाउन थालेपछि नेवारहरूले मल्लकालमा आफ्ना छोरीचेली जोगाउने उपाय निकालेको रोचक प्रसंग शिवहरि घिमिरेले ‘होचो ढोका : परम्परित मिथक र संस्कृतिको खोजमूलक कथन’ लेखमा वर्णन गरेका छन्। उनका अनुसार राजाको सास्ती विरुद्ध बोल्ने साहस कसैको हुँदैनथ्यो। त्यसैले तिनले घरको दैलो होचो बनाउन थाले। किनकि राजाहरू शिर निहुर्याएर कसैको घरभित्र छिर्दैनथे। यस्ता घर देखेका ह्यामिल्टन पनि भन्छन्, ‘दरबारमा बाहेक काठमाडौंका राम्रा भनिएका घरका कोठाहरू समेत एकदमै होचा थिए।’ (कृष्णविक्रम नेम्वाङ, इतिहास पहिचान : प्राचीन नेपाल, किरात र लिम्बू इतिहास, पृष्ठ १५५)
अछूतले जार हाने मृत्युदण्ड
१९१० सालको कानूनमा जार हान्ने अधिकार सबैलाई थिएन। जुन जातिमा पुर्खादेखि नै ‘जार हान्ने’ चलन थियो, त्यो जातिले मात्र ‘जार काट्न’ पाउँथ्यो। अर्थात्, तागाधारी र नमासिन्या जातले मात्र जार काट्न पाउँथ्यो। जार काट्ने कानूनी प्रावधानबारे रेवतीरमण खनाल लेख्छन्, ‘जारी मुद्दामा तागाधारी र मतवाली जातमध्ये पहिलेदेखि जार काटी आएकाले पछि मुलुकी ऐनमा पनि जार काट्न पाउने गरिएको थियो। तर जार काट्न पाउनेले पनि आफ्ना हाडगोत्रका भाइ, उपाध्याय ब्राह्मण, दुई लिंगका जैसी बाहुन र आफ्ना छोरीज्वाइँले जारी गरेमा जार काट्न हुँदैन। त्यस्ताले जार काटेमा ज्यान मारेको सजाय हुन्छ।’ (नेपालको कानूनी इतिहासको रूपरेखा, पृष्ठ २८५)
मुलुकी ऐनको अदल नम्बर दुईमा ‘ब्राह्मणलाई हाने ब्रह्महत्या र हाडगोत्रकालाई हाने गोत्रहत्या लाग्ने हुनाले तिनलाई जार हान्न निषेध गरिएको थियो। अदल नम्बर ३८ मा जार हान्न नपाउने जातिबारे प्रस्ट लेखिएको छ। भनिएको छ, ‘पानी नचल्ने र छिटो हाल्नुपर्ने स्वास्नीको पानी चल्नेसम्मका जातले जारी गर्यो भने उसको जात जाने हुनाले जारी खतको सजाय गर्न गराउन पाउँदैन, राजखत ठहर्छ।’
यो नियम उल्लंघन गर्नेलाई ठूलो सजायको व्यवस्था थियो। मुलुकी ऐन, १९१० को अदल नम्बर ३४ भन्छ, ‘अैनले जार काट्न नहुनेलाई, कसैले जार काटेछ भने, काट्ने काटिने जात भए काटी मारिदिनु, नकाटिने जात भए दामल गर्नू, अरू सजाय गरेको भए जुन कुरो गरेको छ उसै अैन बमोजिम सजाय गर्नू।’ (प्रा. अमन श्रेष्ठ र रविन सुवेदी, जंगबहादुरको मुलुकी ऐन, पृष्ठ ५८७)
यसरी नियम उल्लंघन गरी जार काटेमा मृत्युदण्डको सजाय पाउनेमा मासिन्या मतवाली, पहाड र मधेशका दलित, मुसलमान र म्लेच्छ पर्थे भने नकाटिने जातमा चाहिं नमासिन्या मतवाली पर्थे। १९१० सालको कानूनलाई जातिगत रूपले तीन भागमा विभाजन गरिएको थियो। सबैभन्दा उपल्लो स्थानमा तागाधारी त्यसपछि मतवाली र अन्तिममा शूद्र (अछूत)को कानूनी हैसियत हुन्थ्यो। जाति वर्गीकरण बमोजिम सजाय निर्धारण गरिन्थ्यो। मतवाली पनि मासिन्या र नमासिन्या थिए। नमासिन्या जातिमा मगर, गुरुङ, राई, लिम्बू, सुनुवार पर्दथे भने मासिन्यामा थारू, तामाङ, भोटे (शेर्पा) थिए।
तर गोरखा राज्यसँग अन्तिम समयसम्म लड्ने लिम्बू र पूर्वका याक्खालाई राणाकालसम्म ‘मासिन्या जाति’ मै राखिएको थियो। गोरखा राज्य र लिम्बुवानबीच विसं १८३१ मा सम्झौता भएपछि पनि यो कायमै थियो। तर पछि लिम्बू र याक्खा समुदायले ‘भोट र मधेशको युद्धमा वीरता र मिहिनेत देखाएको’ भन्दै विसं १९१७ मा यी दुई जातिलाई ‘१९११ देखि जात उकासिएर मासिन्याबाट नमासिन्या जातिमा उकासिदिएको’ भन्दै लालमोहर दिएको देखिन्छ। लालमोहरमा उप्रान्त यी दुई जातिलाई ‘जीउ मास्न वा मृत्युदण्ड दिन’ बन्देज गरिएको छ। (लीलाबहादुर तुम्बाहाम्फे, याक्थुम साप्मुन्धुम : लिम्बू र लिम्बूवान इतिहास, लालमोहर)
त्यति वेला मासिन्या मतवालीलाई ‘जीउ मास्न र मृत्युदण्ड’ दिइने कानूनी व्यवस्था थियो भने नमासिन्या जातिलाई मृत्युदण्ड दिइँदैनथ्यो।
२०७८ सालमा प्रकाशित इतिहासकार कृष्णविक्रम नेम्वाङले आफ्नो पुस्तक इतिहास पहिचान : प्राचीन नेपाल, किरात र लिम्बू इतिहासमा लिम्बू समुदायमा जारी उठाउने प्रचलन भए पनि जार काट्न पाउने प्रथा थियो/थिएन भनी किटानका साथ भन्न प्रमाण नभएको लेखेका छन्। त्यति वेला लिम्बू मासिन्या जातिमा परेकाले पनि लेखकलाई त्यस्तो लागेको हुन सक्छ। त्यसमाथि जारीप्रथाबारे लेखकले आधार मानेका लिम्बू अध्येता लिओनेल कप्लानले पनि आफ्नो पुस्तक पूर्वी नेपालमा लिम्बू जातिको किपट र सामाजिक फेरबदलमा जारखत उपर एउटा अध्याय नै लेखे पनि ‘जार काट्ने’ प्रचलनबारे प्रस्ट नलेखेका कारण पनि उनलाई त्यस्तो अन्योल भएको हुन सक्छ। (पृष्ठ १४०-१४५)
तर २०८१ चैतमा प्रकाशित ऐतिहासिक दस्तावेज संग्रह (लीलाबहादुर तुम्बाहाम्फे, याक्थुम साप्मुन्धुम : लिम्बू र लिम्बुवान इतिहास)मा भने तत्कालीन नेपाल सरकारले लिम्बू सुब्बालाई ‘थिति बसाउन’ लेखेको दस्तावेजमा लिम्बूलाई पनि ‘जार हान्ने’ कानूनी अधिकार दिएको देखिन्छ। यो कस्य रुक्का १९१२ साउन अर्थात् लिखित कानून बनेको दुई वर्षपछि दिइएको छ। विसं १९११ मा नमासिन्यामा जात बढुवा भएपछि लिम्बूले पनि ‘जार हान्ने’ अधिकार पाएको देखिन्छ। (लीलाबहादुर तुम्बाहाम्फे, याक्थुम साप्मुन्धुम : लिम्बू र लिम्बूवान इतिहास, लालमोहर)
माथि उल्लेख भएको अदल नम्बर २ मा व्यवस्था भएको ‘हाडनाताले जारी गरेमा नलाग्ने’ कानूनको पछाडि ती समुदायमा विद्यमान वैवाहिक परम्परा थिए, जसका कारण यो कानून बनाइएको थियो। जस्तै- भीमसेन थापाको पालासम्म पाँच थपौलाका जैसीहरूमा मामाकी छोरी बिहे गर्ने चलन थियो। यो परम्परा मगर र ठकुरीमा अहिले पनि छ। त्यो चलनलाई अन्य ठाउँका जैसीहरूले हेय दृष्टिले हेरेर बिहेवारी पनि प्रभावित भएपछि पाँच थपौलाका जैसीहरूले यो परम्परा हटाइमाग्न सरकार समक्ष अपील गरे। त्यो अपील बमोजिम भीमसेन थापाले १८८७ पुसमा यो रीतमाथि बन्देज लगाइदिएका थिए।
त्यसैगरी विसं १८९३ मा भीमसेन थापाले सबै समुदायमा प्रचलित भाउजू बेहोर्ने प्रचलनमाथि पनि रोक लगाउने आदेश जारी गरे। त्यसमा उपाध्याय ब्राह्मण, सन्न्यासी र गोतिया भाई क्षत्रिय जातले भाउजू करणी गरे जातपतित गरी चार पाटा मुडी देशनिकाला गरिदिने र क्षत्रिय राजपूत, गुरुङ, मगर लगायत जातले करणी गरे लिंग काटिदिने र ‘अछूत’ हरूले करणी गरे ज्यान लिनू भनी आदेश दिइएको छ। यो नियम किराती लिम्बू, लाप्चा र जुम्लीको हकमा भने लागू नहुने भनिएको छ। यी समुदाय आफ्नो परम्पराप्रति कट्टर हुने हुनाले विद्रोहमा उत्रेलान् भनी प्रतिबन्ध नलगाइएको हुन सक्ने इतिहासकार चित्तरञ्जन नेपालीको विश्लेषण छ। लिम्बूमा रहेको सानीआमा बेहोर्ने प्रथा चाहिं मुख्तियार रंगनाथ पाण्डेले १८९६ मा हटाइदिए। (चित्तरञ्जन नेपाली, जनरल भीमसेन थापा र तत्कालीन नेपाल, पृष्ठ १७२-१७३)
तर भाउजू बेहोर्ने परम्परामा चाहिं राज्यले लामो समय रोक लगाउन सकेन। नमासिन्या जातिले सरकार समक्ष पुनर्विचार गर्न अपील गरेपछि १९०६ मा ‘मतवाली जातिले भाउजू राख्न पाउने’ प्रथालाई निरन्तरता दिइएको छ। (भगिराज इङनाम, लिम्बूवानको ऐतिहासिक दस्तावेज सङग्रह)
लिखित कानून बन्दासम्म यी प्रथाहरू अझै जीवित थिए। त्यसैले हाडनाताभित्र जार काट्न नपाइने प्रावधान बनाइएको देखिन्छ।
जार हान्ने विधान
१९१० को ऐनले जार हान्ने पतिलाई निकै अधिकार दिएको अदल नम्बर १५ को यो प्रावधानबाट प्रस्ट बुझ्न सकिन्छ। त्यहाँ लेखिएको छ,
काट्न हुने जारलाई जार काटी मार्छु भने पनी साधु (जार हान्ने पति) को खुसि। मुडी जनै हुनेको जनै झिकी नहुनेलाई उसै नरक गाइको मासु बाहेक अरू अभक्ष खुवाई जात पतित गरी छाड्छु भनेपनी साधुको खुसि। अैन बमोजिमको अँश सर्वस्व लिई वा विवाह खर्च लिई छाड्छु भनेपनी साधुको खुसि। पैताला चटाई छाड्छु भनेपनी साधुको खुसि। टाङ्मुनि छिराई छाड्छु वा गाउँ बाहिर गरी छाड्छु भनेपनी साधुको खुसि। सजाय केही नगरि छाड्छु भनेपनी साधुको खुसि। (प्रा. अमन श्रेष्ठ र रविन सुवेदी, जंगबहादुरको मुलुकी ऐन १९१०, पृष्ठ ५८५)
जार हान्ने वेला काट्ने र काटिनेको दूरी १०० कदमको हुन्थ्यो। दुवैलाई एकसाथ छाडिन्थ्यो। पञ्चभलादमीले ‘काट्’ भनेपछि मात्र जार हान्न पाइन्थ्यो। जार भागेपछि साधुले लगारी भेट्टाएमा एकचोट मात्र काट्न दिंदा जार भागेमा वा चोट हान्दा नमरेमा जारलाई अरू सजाय गर्न पाइँदैनथ्यो। जहाँतहीं जार काट्न पाइँदैनथ्यो।
कचहरीमा थुनी राखेको जार काट्नेलाई सर्वस्वहरण गरी ६ वर्षको कैद हुन्थ्यो। बाटैमा जार काट्नेलाई १०० रुपैयाँ दण्ड लाग्दथ्यो। अदल नम्बर २६ बमोजिम यदि जारले हानेको प्रहार नखपी जारी गर्ने व्यक्तिले प्रत्याक्रमण गरी पूर्व पतिको हत्या गर्यो भने उसलाई ज्यान मुद्दामा सजाय दिइन्थ्यो। जार हान्दा माथि उल्लेख गरिएका राजा विश्वजित मल्ललाई घेराबन्दीमा पारी मारे झैं काट्न पाइँदैनथ्यो। त्यसबारे अदल नम्बर १७ मा भनिएको छ,
जारलाई दाजुभाई इष्टमित्र गैह्रले हुलहुज्जत गरी वा घेरा दिई वा पाशो लगाई लडाउने वा समातेर जार कटायो भने, त्यसमा संलग्न हुनेहरूलाई ५/५ वर्षको सजाय गर्नू।
हाम्रो समाजमा परम्परादेखि चल्दै आएको मृत्युदण्डको स्वरूप ‘जार काट्ने प्रथा’ लाई नेपालको पहिलो लिखित कानूनले लिपिबद्ध गरे पनि माथि उल्लेख गरिएको जारले गर्न सक्ने जारखत सम्बन्धी पाँच प्रकारका स्वनिर्णयमध्ये ‘जार काट्ने’ निर्णय पक्कै पनि अन्तिममा प्रयोग गरिन्थ्यो होला। त्यसैले होला, पहिलो कानूनले पनि जार काट्ने प्रथालाई निरुत्साहित गर्न खोजेको देखिन्छ। अदल नम्बर १० मा लेखिएको छ,
जो सुकै जातले जोसुकैको जारी गरेमा जार नकाटी त्यसै छोड्ने मानिस जो हो, मानिस काट्नु ठुलो पाप लाग्ने हुनाले जार नकाटी अैन बमोजिम अरू सजाय गरी गराई वा केही नगरी त्यसै छाड्ने मानिस नामर्द ठहर्दैन, जमामर्द बुद्धिमान कुलको धर्म रक्षा गर्ने ठहर्छ, जार काट्ने मानिस बुद्धिमान ठहर्दैन। (जंगबहादुरको मुलुकी ऐन १९१०, पृष्ठ ५८४, ५८५ र ५८६)
त्यसैले पनि होला जार हान्ने प्रथा २०१९ चैतमा जारी भएको नयाँ मुलुकी ऐनपछि हटाइएको छ।
अन्त्यमा फिल्मकै कुरा
इतिहासको यति कथावाचनपछि आईबी राईको कथा पढ्नेहरूले हर्षजित राना मगरको तत्कालीन मनोविज्ञान र उनको विवेकमाथि पक्कै मन्थन गरिसक्नुभयो होला। मैले शुरूमै चर्चा गर्न छाडेको प्रसंग यहाँनेर उप्काउन चाहन्छु। जारमा निर्देशकले जसरी राईको कथालाई संवादभन्दा दृश्य मार्फत सम्झाउन कलात्मक बल लगाएका छन्, त्यो गजब छ। तर कथाकारले बुनेको ‘क्लाइमेक्स संवाद’ फिल्ममा छुट्नु चाहिं निकै खड्किएको विषय भइदिएको छ। त्यसैले कथाकारको संवाद र टुंग्याउनी जस्ताको तस्तै :
हर्षजित : यसको लागि (जोइ) तैंले आफूलाई बाघको मुखमा होमिदिइस् भने तँ मर्द होस्। मैले भन्दा तैंले माया गरेको रहेछस्। मलाई तँदेखि क्रोध छैन। यहाँ जंगलमा अक्षता-टीको छैन। मैले यही दुबो लगाइदिएर तिमेरु दुईलाई लोग्ने-स्वास्नी बनाइदिन्छु। अब तँ मेरो आफ्नै भाइ भइस्। अब तिमेरुलाई फर्काएर लैजान्छु।
रुद्रमान : हामीलाई घरको ढोका थुनिएको छ। देशको बाटो बन्द छ। आफ्नो जात विना देशमा बाँच्न सकिन्न। दाज्यू! यता कता हाम्रो लागि एउटा बाटो अघि देखे जस्तो लाग्छ। उ हाम्रो बाटो त्यही हो।
खोला झरेर गएकामा तल एक ठाउँमा लडेर साँखु बनेको थियो। भारीतारी बोकेर दुई पुरुष दुई स्त्री त्यही रूख टेकेर मुग्लानको बाटो लागे। फेरि लगत्तै एउटा गल्लावालले एक लर्कै रिगरुटहरू त्यतैबाट लग्यो।