लादिप्माको जीवनका उकाली ओरालीको साक्षी बन्दै गरिएको ‘प्याउली’को पाठकीय सफर सानदार हुनेमा कुनै शंका छैन।
अस्मिता विष्ट
मानिसले यात्रा गरिरहेकै हुन्छ, सपना पछ्याएर होस् या यादहरूबाट धकेलिएर। यो यात्रामा सँगै लिएर हिड्छ, आफन्तजन र प्रेमिल पलहरू। भेट्छ, नयाँ अनुहार, स्पर्श र अनुभूति। यात्राका क्रममा कतिपय प्रेमिल र प्रगाढ बनिसकेका सम्बन्ध पनि टुट्छन्। त्यसपछि स्मृतिपटमा रहन्छन् त केवल श्यामश्वेत तस्वीरजस्ता लाग्ने क्षणहरू।
जीवन-यात्राका तिनै तितामिठा सम्बन्ध, छुटिगएका क्षणहरू समेटेर बालिका बान्तावाले लेखेकी छन्, प्याउली। यो उपन्यासमार्फत बान्तावाले पाठकलाई ५० वर्ष अघिको पूर्वी नेपालको भोजपुरका बिभिन्न स्थान र झापाको पृथ्वीनगर सयर गराउँछिन्। यो यात्रामा देख्न पाइन्छ, त्यो समयको जीवन्त तस्वीर।
‘प्याउली’मा कोरिएको तस्वीरमा भूगोल, संस्कृति र इतिहास झल्किन्छ। त्यहाँका मानिसले भोगेको दुःखको अविच्छिन्न शृंखला र सपनाको साक्षी हुन पाउँदा पाठक एकै पटक हर्षको पहाड उक्लन्छ र विस्मातको गर्तमा डुब्छ। उपन्यासका सहायक पात्र मार्फत लेखकले यी ठाउँ र त्यहाँको संस्कृतिलाई रोचक ढंगले पस्किएकी छन्।
उपन्यासको प्रमुख पात्र लादिप्मा जन्मिनुभन्दा केही वर्षअघि बुबाआमा ढाकरमा अटेसम्मका घरका सामान तथा ढाकरमा अटाउन नसकेका सपना र रहरका भारी बोकेर भोजपुरबाट पृथ्वीनगर बसाइँ सर्छन्। मधेश झरेपछि ‘चामलको भात खान पाइन्छ, राम्रो लुगा लगाउन पाइन्छ’ भन्ने सपना देखेका थिए। तर, कसरी दुःखको भुमरीमा परे भन्ने सजिव वर्णन गरिएको छ, राईमाइली पात्र मार्फत।
लोग्नेले बसाइँ सर्नुअघि देखाइएको सपना पूरा नभएपछि राईमाइली प्रश्न गर्छिन्, ‘खै कहाँ छ लोग्नेले भनेको त्यो सुख? कहाँ छ चामलको भात? खै राम्रा लुगा?’
पाँच दशकअघि सुखको खोजीमा थातथलो, आफन्तजन, साथीसंगी, वस्तुभाउ छोडेर हिड्दाको कथालाई सरल भाषामा पस्किएकी छन् बान्तावाले। भाषा सरल छ, तर यसको बनोट भने अत्यन्तै खँदिलो छ। उपन्यासमा प्रमुख दुई वटा ‘प्लट’ समानान्तर ढंगले अघि बढ्छन्। लादिप्मा एक वर्ष नपुग्दै दोस्रो लोग्ने उप्मिहाङसँग सम्बन्धविच्छेद गर्न भोजपुरको जिल्ला अदालत बाहिर निवेदन लिएर उभिरहेको दृश्यको वर्णनबाट उपन्यासको शुरूआत गरिएको छ। अन्त्यबाट गरिएको शुरुआतले प्रमुख पात्रको जीवन नियाल्ने हुटहुटीे बढाएको छ।
पुरानो स्वेटर उधारे झैं विस्तारै विस्तारै अघि बढेको छ, लादिप्माको जीवनयात्रा। उध्रिदै गएका ‘प्लट’का मसिना धर्सामा प्रतिबिम्वित हुँदै जान्छन्, आदिम्माका दुःख, संघर्ष र अदम्य सहासका कथा। उम्मिहाङ र लादिम्माको प्रेम कथालाई बीचमै बिच्छेद गराएर लादिप्माको जन्म र बालवयलाई आख्यानको मुख्य केन्द्र बनाउँदै बढेको ‘प्याउली’मा कथानक चाखलाग्दो छ। फलतः साधारण कथाले पनि असाधारण कौतुहुलता पैदा गर्न सफल भएको छ।
उपन्यासमा पूर्वी नेपालका राई र लिम्बूले बोल्ने ‘डाइलेक्ट’को प्रयोगले मिठास मात्र थपेको छैन, घटना तथा पात्रमाथिको विश्वसनीयता समेत बढाएको छ। जस्तो भोकले कराइरहेका बाख्रालाई घाँसपानी हाल्दै सुब्बेनी साइँली थकथकाउँछिन्, “घाँस-पानी पनि पो दिएको छैन पो। घर छोडेर हिँडेपछि यस्तै गर्छ र त, कतै जुङ जस्तो मन लाग्दैन मलाई। जस्तो छोडेर ग’को तेस्तै पो र’छ।”
सुब्बेनी साइँलीको गनगन सुनेर सुब्बा ब्युँझिन्छन्। उनी सम्हालिँदै बोल्छन्, “आरे हौ आइपुगेको पो? मो त निधाइगोएछु नि हौ बुढी। अनि उता सफल पारेर आइस् त?”
यस्ता संवाद प्रशस्त प्रयोग गरिएका छन्। लादिप्मा आमाबुवा राई भाषामा नै संवाद गरिरहेको भेटिन्छन्। त्यसको नेपालीमा व्याख्या गरिएको छैन। जसले गर्दा गैरबान्तावा पाठकलाई केही अप्ठ्यारो महसूस पक्कै हुनेछ।
उपन्यासमा कविता पनि प्रशस्तै पढ्न पाइन्छ। त्यस्तै, चिठी र फेसबूकका स्ट्याटस् समेत समाविष्ट गरिएका छन्। जसले विद्यागत विविधता झल्काउँछ।
पात्रको दृष्टिकोणबाट पनि ‘प्याउली’लाई गहन उपन्यास मान्न सकिन्छ। पात्रहरू कथा र परिवेशसँग मेल खाने खालका छन्। समाजमा स्थापित मूल्य मान्यतालाई प्रतिबिम्बित गर्दै कथानकलाई अघि बढाउन भूमिका खेलेका छन्।
लादिप्मालाई सहनशील नारीको रुपमा उभ्याउन राई माइलीले अनेकन कोसिस गर्छिन्। छोरीलाई अनेक संस्कार सिकाउँछिन्। त्यही परम्परागत संस्कारले गर्दा १६ वर्षमै आमा बन्छिन्, लादिप्मा। त्यसका लागि सहेको, भोगेको दुःख भने ठिटलाग्दो छ।
हरेक दिन बिहान ४ बज्नुअघि नै उठ्नु, घरको सम्पूर्ण काम गर्नु। घरआँगन सफा गर्नु, गोबर सोहोर्नु, वस्तुभाउको लागि घाँस-कुँडो तयार पार्नु, परिवारको भात भान्छा तयार गर्नु र सुत्केरी व्यथा चुपचाप सहनु। सुत्केरी व्यथाले छटपटाउँदा समेत घरका अन्य सदस्यले सुन्लान भनेर सिरानीले मुख छोपेर बसिरहनु। उनको दैनिकी पढ्दा उद्वेलित बनाउँछ।
लादिप्माले विवाह पश्चात पाएको दुःखको वर्णनले फ्रान्सेली लेखक सिमोन डि बुआले ‘विवाह संस्था महिला शोषणको मुख्य कारक तत्व हो’ भनेर दिएको अभिव्यक्ति चरितार्थ हुन्छ। विवाहपछि लादिप्माको दुःखको अनन्त शृंखला शुरू भएको छ। १६ वर्षकै उमेरमा बिहे हुन्छ, पतिको घरमा दासी जस्तो भएर काम गर्छे। दूधे बालक सासूको जिम्मा लगाएर दिनभर गार्मेन्ट उद्योगमा काम गर्छे। अनि कर्तव्यनिष्ठ बुहारी बनेर तलब सासूलाई बुझाउँछे।
सँगसँगै संघर्ष गर्दागर्दै लादिप्माको जीवनमा आएको परिवर्तन पनि लोभलाग्दो छ। उनको संघर्ष र सफलताको कथाले प्रत्येक संघर्षशील महिलालाई प्रेरणा र उर्जा प्रदान गर्नेछ। कैयौं नेपाली महिला (विशेषगरी वैदेशिक रोजगारमा रहेका) ले ‘प्याउली’मा आफ्नो छवि देख्न सक्नेछन् भने अन्य पाठकले समाजमा संघर्षरत लादिप्मा जस्ता पात्रको दुःख महसूस गर्नेछन्।
बान्तावाको लेखकीय कौसलता उपन्यासमा पात्रहरूको चरित्र चित्रणमा झल्किन्छ। लिङ्गको परम्परागत मान्यतालाई भत्काइएको छ। लादिप्मालाई साहसी, स्वनिर्भर र आत्मविश्वासले भरिपूर्ण पात्रको रुपमा चित्रण गरिएको छ भने प्रशान्त र उप्मिहाङलाई अनिश्चित प्रवृतिको परनिर्भर र कमजोर पात्रक रुपमा चित्रण गरिएको छ। आँट, साहस, स्वनिर्भरता जस्ता गुण मानिसका जन्मजात नभएर समाज निर्मित र समाजद्वारा लिङ्ग विशेषमा थोपरिएका विशेषण मात्र हुन भन्ने नारीवादी दार्शनिक एवं लैंगिता सम्बन्धी अध्येता जुडिथ बट्लरको भनाइलाई ‘प्याउली’ उपन्यासमा पात्र मार्फत चरितार्थ गरिएको छ।
उपन्यासमा इतिहासको समेत झल्को पाइन्छ। झापाको पृथ्वीनगरमा पुनर्वास योजना अन्तर्गत नयाँ बस्ती बसाइएको थियो। सीमा सुरक्षालाई ध्यानमा राखेर अवकासप्राप्त सेनालाई प्राथमिकता दिइएको थियो। यो योजनामा सर्वसाधारणलाई पनि सामेल गरेर प्रत्येक परवारलाई तीन बिघाको दरले जग्गा विरतण गरिएको थियो। सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, ताप्लेजुङ, पाँचथर, इलाम हुँदै भारतको असम, मणिपुरदेखि समेत पृथ्वीनगरमा बसाइँ सराई भएको थियो। त्यसलाई समावेदश गरेर उपन्यासले इतिहासको स्वाद पस्किएको छ।
त्यस्तै, राजा वीरेन्द्र देश दौडाहमा जाने गरेका थिए। गाउँ गाउँसम्म पुग्थे। तथापि, त्यतिवेला राजा र जनताबीचको दूरी कस्तो थियो भन्ने लादिप्माको अभिव्यक्तिबाट प्रष्ट हुन्छ। राजालाई गाउँमा देखेपछि उनी भन्छिन्, ‘राजारानी पनि अरु मान्छे जस्तै हुने रहेछ नि दादा!’ यसरी स-साना घटना उल्लेख गरेर लेखकले त्यसवेलाको मानिसको अबोधपन देखाएकी छन्।
तैपनि उपन्यासमा केही सीमा अवश्य छन्। उप्मिहाङको बाल्यकाल वर्णनमा चाहिने भन्दा ज्यादा पृष्ठ खर्चिइएको छ। उप्मिहाङको विद्यालयको गतिविधि पट्यारलाग्दो छ। लादिप्माको स्कूले दैनिकीको वर्णनले उपन्यास पठनलाई निरन्तरता दिन सकस पार्ने खालको छ।
हङकङ शहरको वर्णन पढ्न आतुर पाठकलाई शब्द खर्चिन लेखकले गरेको कञ्जुस्याइँले निरास बनाउँछ। कतिपय संवाद र वर्णन ‘क्लिसे’ लाग्छन्। त्यस्तै, उपन्यासले समाजको यथार्थ पस्किएको छ। तर साहित्यमा जीवन दर्शनको पुट खोज्ने र परिस्कृत भाषा पढ्न अभ्यस्त पाठक भने प्याउलीको सरलताबाट केही निरास हुन सक्छन्। तथापि, समग्रमा लादिप्माको जीवनका उकाली ओरालीको साक्षी बन्दै गरिएको ‘प्याउली’को पाठकीय सफर सानदार हुनेमा कुनै शंका छैन।